निर्णय नं. १२८१ - हाल आवादी

निर्णय नं. १२८१ ने.का.प. २०३६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हेरम्बराज
सम्वत् ०३४ सालको दे.पु.नं. ७०
फैसला भएको मिति : ०३६।७।२९।५ मा
पुनरावेदक : जि. स.प्र.श्रीपुर पञ्चायत वार्ड नं. १ बस्ने सोभीकेवार यादव समेत
विरूद्ध
विपक्षी : जि. सप्तरी प्र.खालिसा मौजे मनकोली बस्ने भोला साहुतेली समेत
मुद्दा : हाल आवादी
(१) प्रमाणमा आएका पहिले नै ठहर भइसकेका छुट्टाछुट्टै मिसिलहरूमा भएका निर्णयहरूमा पुनरावेदनबाट कुनै विचार गर्न नमिल्ने ।
(प्रकरण नं. १२ )
पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
आदेश
न्या. हेरम्बराज : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत सोभीकेवार यादव समेतको निवेदनमा सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३३।६।२५ का आदेशानुसार पुनरावेदनको अनुमति प्राप्त भई पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य निम्न अनुसार छ :
२. सप्तरी खालिसा मौजे सखी १ मौजे लक्ष्मीपुर रामपुर १ मौजुर बन्धा १ समेत ३ मौजाको अं.जग्गा बिगाहा ११०० कोशी कटानमा परी हाल उकास भएको आवादलायक हुँदा हामी साविक आसामी हुँदा टप्पु सरह पोत बुझाउने गरी ११ सालका बालीदेखि हामी १४० जनाका नाउँमा दर्ता गरिपाउँ भन्नेसमेत आफ्ना हकमासमेत मिश्रीलाल खेडवारको तोकसहित विन्ति पत्र बमोजिम कारवाई गरिपाउँ भन्नेसमेत मिश्रीलाल खेडवारको ०११।१२।२४ को बयान ।
३. टप्पुसरह पोत ठेकी दिन जग्गा पजनीको १९ नं. ले नहुने समसरह सकार नगरी पोत घटाई टप्पु सरह सकार गरेकोले उक्त ऐनबाट निजहरूलाई यो जग्गा पाउँदैन जग्गा पजनीको ३४ नं. बाट साविकवाला रैतीको हक टुटिसकेको जग्गा पजनीको १९ नं. बमोजिम कबुल गरेको अरू मानिसलाई उनीहरूकै मिसिलबाट कबुल बमोजिम ऐन सवालको रीत पुर्याई दिने गरी यो पर्चा हाजिर रहेका मिश्रीलाललाई सुनाई यो मिसिल तामेलीमा राख्ने भन्ने समेत हनुमानगर मालको ०१३।८।५ को पर्चा ।
४. सो पर्चामा चित्त बुझेन भन्ने समेत मंगल मंडर धानुक समेत जना ८० को वारेस भई आफ्ना हकमा समेत मिश्रीलाल खेडवार ग्वारको ०१३।१०।२४ को पुनरावेदन १ विश्वनाथ पाठक समेत जना २१ को तारिख भई आफ्ना हकमा समेत रामचन्द्र मिश्र ब्राम्हणको ०१३।११।१५ को पुनरावेदन अपील १ सप्तरी गोश्वारामा परेको रहेछ ।
५. लेखिएका प्रमाण परिबन्ध तथा अ.बं.१०६ जग्गा पजनीको १९ नं. समेतले अपिलाटहरूको हकदैया लाग्न सक्दैन ०८।१२।१९ गते र ०१०।८।१५ गतेका गजेट प्रकाशित भएको सरकारको निर्णय र जग्गा पजनीको १९ नं. बमोजिम सबूद समसरह तिरो असूल तहसील गर्ने गरी मालबाट बन्दोवस्त गरेको अपिलाटहरूको शुरू उजूरी बदर गरेको समेत हनुमान नगर मालको इन्साफ मनासिवठहर्छ भन्नेसमेत ०१८।११।२ को सप्तरी गोश्वाराको फैसला ।
६. सो फैसलामा चित्त बुझेन भन्ने समेत मङ्गलमंडर धानुक समेत जना ७८ को वारेस भई आफ्ना हकमा समेत मिश्रीलाल खेडवार यादवको १ असर्फी प्रसैला यादवको वारेस भई आफ्ना हकमा समेत जनकलाल प्रसैला ग्वारको १ श्यामनन्द मिश्र समेत जना ३ को वारेस भई आफ्ना हकमा समेत रमानन्द मिश्रको १, महादेव मिश्रको १, ईन्द्रनारायण मिश्र ब्राम्हण समेत जना ६ को वारेस भई आफ्ना हकमा समेत रामचन्द्र मिश्रको १ समेत आयकर अदालतमा परेको अपीलपत्र पुनरावेदन ।
७. जग्गा हाल आवादी पाउने र जिमिदारी पाउने ठहर भई आएको व्यक्तिहरू समेतलाई छलफल निमित्त झिकाई पेश गर्नु भन्ने समेत आयकर अदालतको ०२९।८।२६ को ओदश ।
८. उक्त मौजा कोशी प्रोजेक्ट भित्र परेको जमीन भारत सरकारका नाउँमा लिजमा दिएको भन्ने जनाउने गरी १९ डिसेम्बर १९६६ मा निर्णय भएको कुरा अर्थ मन्त्रालय मालपोत विभागबाट आई मिसिल सामेल रहेको ०२३।१२।८ को पत्रबाट र ०१४ सालको देखि नै भारत सरकारको तर्फबाट मालपोत दाखिल गरेको कुरा कोष तहसीलका पत्र साथ आएको विशेष मुआर्जन कार्यालयको पत्रबाट देखिन आएकोले जुन जग्गा हाल आवादीमा पाउँ भन्ने दरखास्तवालाको माग थियो सो जमीन नै कोशी प्रोजेक्ट भित्र परी बाँकी रहन आएको नदेखिनाले हाम्रा नाउँमा दर्ता गरिपाउँ भन्ने दरखास्तवालाको पुनरावेदन जिकिर पुग्न नसकी निजहरूले नपाउने ठहराएको सम्म इन्साफ सप्तरी गोश्वाराको मनासिव छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको ०३२।२।१४ को फैसला ।
९. सो फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत सोभीकेवार यादव समेतको गोपीकृष्ण खेडवार यादवको निवेदन मधेश माल सवालको ११५ दफा अनुसार अघिल्लो दरखास्तवालाले हाल आवादीमा जग्गा नपाई पछिल्लो दरखास्तवालाले पाउने ठहराएको माल गोश्वाराको फैसला यथावत राखी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट फैसला भएकोले सो मधेश सवालको कानूनी व्यवस्थाको प्रत्यक्ष तथा गम्भीर त्रुटि हुन गएकोले पुनरावेनको अनुमति दिएको छ भन्नेसमेत स.अ.डिभिजन बेञ्चको ०३३।६।२५ को आदेश ।
१०. पुनरावेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली तथा विपक्षीतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले गर्नुभएको बहस सुनियो, प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन सो कुराको निर्णय दिनु परेको छ ।
११. यसमा निर्णयतर्फ हेर्दा मिश्रीलाल समेतले हाल आवादीमा लंबरी दर्ता गरिपाउँ भनी सप्तरी गोश्वारामा चढाएको विन्तीपत्रमा २०११ साल फाल्गुण २७ गते रोज ५ मा भएको तोक बमोजिम कारवाई चलेकोमा निजहरूले हाल आवादीमा नपाउने ठहराई हनुमाननगर मालबाट २०१३।८।५।३ मा पर्चा भएको रहेछ । त्यस उपर वन कुन वरही समेत जवान ८० को वारेस भई आफ्ना हकमा समेत मिश्रीलालले असर्फी ग्वार समेत २१ को वारेस भई आफ्ना हकमा समेत रामचन्द्र मिश्रले पुनरावेदन दर्ता गरेकोमा सप्तरी गोश्वारबाट २०१८।११।२।३ मा फैसला भएको देखिन्छ । यस उपर मंगलमंडर धानुक समेत जवान ७८ को हकमा वारेस भई आफ्ना हकमा समेत मिश्रीलाल र असर्फी प्रसैली यादवको वारेस भई आफ्ना हकमा समेत जनकलाल प्रसैला ग्वारले महोदर मिश्रले र खड्मान सिंह राजभण्डारीले वारेस भई आफ्ना हकमा समेत रामचन्द्र मिश्रले आयकर अदालतमा पुनरावेदन दर्ता गरेको देखियो । आयकर अदालतबाट राप्ती माल तथा गोश्वाराको फैसलामा प्रमाण लगाएका कागजातहरू सो कोशी हवानमा परेको जग्गा भारत सरकारले लिँदा के कस्तो सम्झौता भई लिने दिने गरेका छन् । यस सम्बन्धमा श्री ५ को सरकारको निर्णय भएको मिसिल र जग्गा हाल आवादीमा पाउने र जिमिदारी पाउने ठहर भई आएका व्यक्तिहरूलाई छलफलमा झिकाउनु भन्ने ०२१।८।२६।२ मा आदेश भएको रहेछ । पुनरावेदकहरूले भोला साहूलाई विपक्षी भने पनि हाल आवादीमा दरखास्त गर्दा अरूहरूलाई पक्ष बनाएको देखिएन साथै माल अड्डाले कारवाई गरी हक बेहकमा सुनाई पक्ष बनाएको पनि प्रस्तुत मिसिलबाट देखिँदैन त्यसकारणले कस्को दरखास्तको मिति अगाडिको हो कसले हाल आवादीमा पाउने हो भनी दुई थर मध्ये एक थरलाई हाल आवादीमा बन्दोबस्त गर्ने प्रकारको यो मुद्दा देखिन आएन । पूर्वाञ्चल क्षेत्रीय अदालतले प्रमाण लगाएको ०२३।१०।२३ को पत्र श्री ५ को सरकारको ०२५।११।१८ को निर्णय अनुसार यस्तो जग्गा हाल आवादीमा बन्दोबस्त गर्न नहुने देखिएकोले निजहरूले नपाउने ठहराएको सम्म सप्तरी गोश्वाराको इन्साफ मनासिव ठहराई पू.क्षेत्रीय अदालतबाट ०३२।२।१४ मा फैसला गरेको देखियो ।
१२. प्रमाणमा आएका पहिले नै ठहर भइसकेका छुट्टाछुट्टै मिसिलहरूमा भएका निर्णयहरूमा प्रस्तुत पुनरावेदनबाट कुनै विचार गर्न नमिल्ने भएको समेत पुनरावेदकहरूको जिकिर उपयुक्त देखिएन । इन्साफ पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चबाट ठहराई छिनेको ०३२।२।१४ को फैसला मनासिव छ नियम बमोजिम गरी बुझाई दिनु ।
म सहमत छु ।
न्या. धनेन्द्रबहादुर सिंह
इति सम्वत् ०३६ साल कार्तिक २९ गते रोज ५ शुभम् ।