निर्णय नं. ७१६ - अंश

निर्णय नं. ७१६ ने.का.प. २०३०
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२८ सालको देवानी फुल बेञ्च नम्बर १९१
फैसला भएको मिति : २०२९।८।२७।३ मा
निवेदक : का.जि.बत्तिसपुतली बस्ने मुरारीशमशेर ज.ब.रा.समेत
विरूद्ध
विपक्षी : ऐ.ऐ.बस्ने मनोरमा राणा
मुद्दा : अंश
(१) लोग्ने स्वास्नीको ४ नं.को अवस्थामात्र देखाई नालेस गरेको नभई अंशबण्डाको १० नं.को आधारमा नालेस गरेमा उक्त अंशबण्डाको १० नं.भित्र पर्न आउने, लोग्ने स्वास्नीको महलको ६ नं.को हदम्याद नलाग्ने ।
सर्वप्रथम लोग्ने स्वास्नीको ६ नं.का म्यादभित्रको वादीको नालेस नभएको भन्ने निवेदक प्र.तर्फका विद्वान अधिवक्ताको मुख्य जिकिर भएको हकमा वादीले नालिस गर्दा लोग्ने स्वास्नीको ४ नं.मा उल्लेख भए बमोजिममात्र कसूर देखाई सोही ४ नं. बमोजिम अंश छुट्याई पाउँ भनी दावी गरेको भए सोही महलको ६ नं.को हदम्याद लाग्ने पनि प्रश्न उठ्ने थियो तर वादीले नालेस गर्दा लोग्ने स्वास्नीको ४ नं.को मात्र अवस्था देखाई सो ४ नं.अन्तर्गत अंशमा दावी गरेकी नभई मलाई कुटपिट गरी खान लाउन नदिई घरबाट निकाला गरेको हुँदा अंशबण्डाको १० नं. बमोजिम फिराद गर्न आएको छु भनी अंशबण्डाको १० नं.को आधारमा नालेस गरेकी र उक्त अंशबण्डाको १० नं.हेर्दा छोरा स्वास्नीलाई खान लाउन नदिई राख्न पनि हुँदैन इज्जत आमद अनुसार खान लाउन दिनै पर्छ नदिए अंश दिनु पर्छ भन्ने उल्लेख भएकोबाट मुख्य खान लाउन नदिएको भन्ने कुराले वादीको नालेस दावी उक्त अंशबण्डाको १० नं.भित्र पर्न आउने देखिन्छ त्यसकारण लोग्ने स्वास्नीको ६ नं.को हदम्याद लाग्ने भन्न मिलेन ।
(प्र.नं. ९)
निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे
विपक्षी तर्फबाट : अधिवक्ता लवदेव भट्ट
उल्लिखित मुद्दा : (टिकादेवी थपेनी वि.पवित्रा कुमारी, अंश)
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ को महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई आई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।
२. मुद्दाको तथ्य यसप्रकार छ : विपक्षी मुरारीशमशेरको म विवाहिता श्रीमती हुँ म बाट २ छोरा पैदा भइसकेपछि धन भन्ने लक्ष्मीलाई सौता ल्याएपछि १९।३।१५ का दिन पति र सौताले कुटपिट गरी निकाल्नु भयो कुटपिट गरी खान लाउन नदिई निकालेका दिनदेखि बगैंचामा सानो घरमा बसेको छु । मलाई कुटपिट गरी खान लाउन नदिई घरबाट निकाला गरेको हुँदा अंशबण्डाको १० नं. बमोजिम फिराद गर्न आएको छु । अंशबण्डा गर्नु पर्ने विपक्षी २ जना र मेरा छोरा २ मसमेत ५ जना हुँदा मानो छुट्टिएको १९।३।१५ कायम गरी २ छोराको विवाह खर्च पर सारी मेरो १ भाग अंश दिलाई पाउँ भन्नेसमेत वादी ।
३. वादी ल्याईता हुन् निजबाट २ छोरा जायजन्म भए पनि निजकै सल्लाहबाट लक्ष्मीराज्यलाई विवाह गरेको हामी सबै सगोलमै छौं वादीलाई कुटपिट गरी निकाला गरेको होइन निज हाम्रो बगैचाका घर बङ्गलामा नै बसेकी छ आजसम्म खाइलाईरहेकी छन् मेरो अचल सम्पति आजसम्म निजकै जिम्मा छ उनको जीवनको निर्वाह, छोराहरूको शिक्षा दिक्षा पनि हाम्रै सगोलको सम्पत्तिबाट भइरहेको हुँदा अंश दिन नपर्ने भएकोले नालेस खारेज गरिपाउँ भन्ने समेत प्र.मुरारीशमशेर ज.ब.रा.१ धन भन्ने लक्ष्मीराज्य लक्ष्मी राणाको संयुक्त प्रतिवादी ।
४. वादीमा मलाई कुटपिट गरी खान लाउन नदिई निकाले, सौता ल्याए भन्ने कुरा लेखिएको, लोग्ने स्वास्नीको ६ नं.ले निर्देशित गरेको म्यादभित्र फिराद दिएको पाइएन । प्र.ले खान लाउन नदिएकोमा मैले यस किसिमले खाएको छु भनी वादीको लिखत देखिएको प्रतिवादिकै कम्पाउण्ड भित्रको बङ्गलामा छुट्टै बसेको देखिएको, प्र.ले खान लाउन दिन मञ्जूरी गरेको देखिएकोले वादी दावी नपुग्ने भन्नेसमेत का.जि.अ.बाट फैसला भएको ।
५. सो फैसलामा चित्त बुझेन भन्ने वादीको पुनरावेदन परेकोमा वादीले आफ्नो भाग अंश छुट्याई लिन पाउने देखिन्छ वादीले भिन्न बसेको भनेको मिति १९।३।१५ लाई अघि वा पछिको भन्ने प्र.को जिकिर नभएकोले सोही मिति मानो छुट्टिएको ठहर्ने हुनाले सो भन्दा अघिल्लो दिन १९।३।१४सम्मको श्रीसम्पत्तिको तायदाती लिई वादीतर्फ र छोरासमेत ३ अंश प्रतिवादीतर्फ मुरारीशमशेर र लक्ष्मीसमेतको २ भाग गरी ५ अंशियार देखिनाले ५ भागको १ भाग वादी मनोरमा राणालाई अंशबण्डा छुट्याई दिनु भनी का.जि.अ.मा पठाई दिनु भन्ने बागमती अञ्चल अदालतबाट फैसला भएको ।
६. सो इन्साफमा चित्त बुझेन भन्ने मुरारीशमशेरको र लक्ष्मीको पुनरावेदन परेकोमा वादी पक्ष प्र.मुरारीशमशेर राणाको अर्को श्रीमती भएको पनि प्रतिवादीको लेखबाट देखिएको, वादी मनोरमा र प्रतिवादी पुनरावेदक छुट्टाछुट्टै बसी राखेको पनि दुवै पक्षको लेखबाट देखिएकोले यस्तो स्थितिमाा लोग्ने स्वास्नीको ४ नं.ले आफ्नो अंश छुट्याई लिन पाउने अधिकार प्रदान गरेको देखिएको । हदम्याद तर्फ जुन विषयमा दावी लिएको छ सो विषयमा व्यवस्था भएको हदम्याद लागू हुन जाने र अंश छुट्याई नपाएसम्म जहिलेसुकै पनि अंशको खोजी गरी दावी गर्न सक्ने हुनाले त्यस्तोमा लोग्ने स्वास्नीको ६ नं.का म्यादभित्र नालेस नपरेकोले खारेज हुन्छ भन्न नमिल्ने हुँदा वादीले अश पाउने भनी बागमती अञ्चल अदालतले निर्णय दिएको मनासिव, शुरुको इन्साफ उल्टाई अंशबण्डा छुट्याई दिने ठहराई अञ्चल अदालतबाट फैसला गर्दा अंशबण्डाको २० र २३ नं. बमोजिम रीत पुर्याई तायदाती लिई वादीले अंशबण्डा पाउने बिगोसमेत उल्लेख गरी फैसला गर्नु पर्ने सो अञ्चल अदालतले उल्लेख गरेको देखिएन । अञ्चल अदालतबाटै बण्डापत्रसमेत खडा गरी दिनु भनी बा.अञ्चल अदालतमा पठाई दिनु भन्ने डिभिजन बेञ्चबाट २८।२।२६ मा निर्णय भएको ।
७. यसमा दावी बमोजिम वादीले अंश पाउने नपाउने के हो, पाउने भए मानु छुट्टिएको मिति कुन कायम हुने हो, सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
८. बहसमा उपस्थित निवेदक प्रतिवादहरू तर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले लोग्ने स्वास्नीको ४ नं. बमोजिम अंश पाउनालाई ऐ.६ नं.का म्यादभित्रको नालेस हुनुपर्छ । सो ६ नं.को म्यादभित्रको वादीको नालेस छैन लोग्नेको कुनै घरमा पनि बस्न नदिई निकाला गरेको भन्न नसकी बगैंचाको घरमा बसी आएको भनी वादीले नै लेखेकी छन् । त्यसबाटै घरमा बस्न नदिई निकाला गरेको मान्न मिल्दैन खान लाउन नदिएको पक्का प्रमाण वादीले गुजार्न सकेकी छैनन् । त्यसकारण वादीलाई मेरो पक्षले अंश दिनु कर लाग्दैन अंश दिनु नपर्ने भएपछि मानु छुट्टिएको मिति कायम गर्न जरुरत छैन भन्नेसमेत र वादीतर्फका विद्वान अधिवक्ता श्री लवदेव भट्टले मेरो पक्षले अंशबण्डाको १० नं. बमोजिम अंशमा दावी गरेको हुँदा लोग्ने स्वास्नीको ६ नं.को हदम्याद लाग्ने प्रश्नै आउँदैन बसिराखेको घरबाट निकाली खान लाउन नदिएका मेरा पक्षको साक्षी बकाईसमेत बाट प्रमाणित भइराखेकै छ । मानु छुट्टिएको लिखत पास नभएकोले नालेस परेको अघिल्लो दिनलाई मानु छुट्टिएको मिति कायम गरी मेरो पक्षले अंश पाउनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
९. सर्वप्रथम लोग्नेस्वास्नीको ६ नं.का म्यादभित्रको वादीको नालेस नभएको भन्ने निवेदक प्र.तर्फका विद्वान अधिवक्ताको मुख्य जिकिर भएको हकमा वादीले नालिस गर्दा लोग्ने स्वास्नीको ४ नं.मा उल्लेख भए बमोजिममात्र कसूर देखाई सोही ४ नं. बमोजिम अंश छुट्याई पाउँ भनी दावी गरेको भए सोही महलको ६ नं.को हदम्याद लाग्ने पनि प्रश्न उठ्ने थियो तर वादीले नालेस गर्दा लोग्ने स्वास्नीको ४ नं.को मात्र अवस्था देखाई सो ४ नं.अन्तर्गत अंशमा दावी गरेकी नभई मलाई कुटपिट गरी खान लाउन नदिई घरबाट निकाला गरेको हुँदा अंशबण्डाको १० नं. बमोजिम फिराद गर्न आएको छु भनी अंशबण्डाको १० नं.को आधारमा नालेस गरेकी र उक्त अंशबण्डाको १० नं.हेर्दा छोरा स्वास्नीलाई खान लाउन नदिई राख्न पनि हुँदैन इज्जत आमद अनुसार खान लाउन दिनै पर्छ नदिए अंश दिनु पर्छ भन्ने उल्लेख भएकोबाट मुख्य खान लाउन नदिएको भन्ने कुराले वादीको नालेस दावी उक्त अंशबण्डाको १० नं.भित्र पर्न आउने देखिन्छ त्यसकारण लोग्ने स्वास्नीको ६ नं.को हदम्याद लाग्ने भन्न मिलेन ।
१०. आफुले अर्की स्वास्नी ल्याएपछि वादीका आमा छोराहरू भिन्दै घरमा बसोबास गरिरहेको भन्ने कुरा प्रतिवादी मुरारीशमशेरले स्वीकार गरेको प्रतिवादी लेखाईबाट देखिन्छ । वादी दावी अनुसार खान लाउन नदिई घरबाट निकाला गरेको हो होइन भन्ने तर्फ साक्षीहरूको बकाई हेर्दा वादीका साक्षी त्रिलोचनले १९।३।१५ गते प्रतिवादी मुरारीशमशेरले मनोरमालाई कुटी निस्की भनी हिर्काइरहेको देखेको हुँ बङ्गलामा मनोरमालाई राखी दिनु भनेको मैले सुनेको हुँ भन्ने र विष्णुमणी सिग्देलले ०१९।३।१५ गते मुरारीशमशेरको क्याम्पमा हल्ला भइराखेको नचिनेका मानिसलाइ सोध्दा मुरारीशमशेरले मनोरमालाई कुटपिट गरेको भनेका र मनोरमालाई छुट्टै राखी दिनु भनी मुरारीशमशेरले भनेको सुनेको हुँ भन्नेसमेत बकेका र प्रतिवादीहरूका साक्षी हरिबहादुर, अम्बिरबहादुर संखरबहादुरले कुटपिट गरी मनोरमालाई निकालेको होइन वादी छोरासमेत लिई छुट्टै बङ्गलामा बसेकी छिन मनोरमालाई मानाचामल दिएको छ भनी बकेका पाईन्छ, प्रतिवादीले निकालेको नभए लोग्नेको साथ छोडी छोराहरूसमेत लिई वादी बेग्लै घरमा बस्नुपर्ने कारण के थियो सो खुलाउन नसकेको र मानाचामल दिने गरी आएको छ भनी प्रतिवादीहरूले नै भन्न लेख्न नसकेकोमा मानाचामल दिएको छ भनी बक्ने प्रतिवादीका साक्षीहरूको बकाई प्रतितलायक देखिँदैन यस्ता लोग्नेले खान लाउन दिएनन् अंश दिलाई पाउँ भन्ने स्वास्नीको दावी परेकोमा बेग्लै घरमा बसेकी स्वास्नीलाई आफूले इज्जत आमद अनुसार खान लाउन दिइराखेको भए त्यस कुराको पक्का सबूद प्रतिवादीले गुजार्न पर्ने गुजार्न सकेको नदेखिँदा अंशबण्डाको १० नं. बमोजिम वादीले अंश पाउने नै देखिन्छ ।
११. अब मानु छुट्टिएको मिति कुन कायम हुने भन्ने तर्फ साबिक मुलूकी ऐन रजिष्ट्रेशनको ३ हालको रजिष्ट्रेशनको १ नं. बमोजिम मानो छुट्टिएको लिखत रजिष्ट्रेशन पास भए गरेको नदेखिएकाले यस्तो अवस्थामा टिकादेवी थपेनी पवित्राकुमारीको अंशमुद्दामा फुल बेञ्चबाट प्रतिपादित सिद्धान्त अनुसार नालिस परेको ०२५।३।३२ को अघिल्लो दिन ऐ.३१ गते मानो छुट्टिएको मिति कायम हुन्छ । वादीले अंश पाउने ठहराएकोसम्म इन्साफ ०२८।२।२३।१ को डिभिजन बेञ्चको मनासिवै छ । मानो छुट्टिएको मिति २५।३।३१ कायम गरी अरू ०२८।२।२३।१ को डिभिजन बेञ्चको फैसला बमोजिम गर्नु भनी शुरु मिसिल बागमती अञ्चल अदालतमा पठाई दिनु निवेदक प्रतिवादीहरूले मुद्दा दोहर्याएमा लाग्ने कोर्टफी राखेकाले अरू केही गर्नु परेन । नियमबमोजिम मिसिल बुझाई दिनु ।
न्या. विश्वनाथ उपाध्याय,
न्या. धनेन्द्रबहादुर सिंह
हामीहरूको सहमती छ ।
इति सम्वत् २०२९ साल मार्ग २७ गते रोज ३ शुभम् ।