निर्णय नं. ७१८ - जग्गा खिचोला

निर्णय नं. ७१८ ने.का.प. २०३०
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०२६ सालको दे.फु.नं. १०२
फैसला भएको मिति : २०२९।१०।९।६ मा
निवेदक : का.प.जि.बनेपा सोधाटोल बस्ने अष्टनारायण मानन्धर
विरूद्ध
विपक्षी : ऐ.बनेपा दछुटोल बस्ने जगतमान बोडे श्रेष्ठसमेत
मुद्दा : जग्गा खिचोला
(१) भोग तिरो भइराखेको कुरामा विरोध नभए भोग तिरोबाटै जग्गामा हक पक्का भइसकेको मान्न पर्ने ।
मुख्य १९९६ सालको विर्ताको लगतमा झगडा परेको बहिबु खेत वादीको बाबु विसनारायणको नाउँमा दर्ता भएको सो दर्ता बदर गरिपाउँ भन्ने तर्फ तत्काल प्रचलित जग्गा मिच्नेको २१ जग्गा पजनीको ३४ नं.को म्याद २ बर्ष भित्र उजूर गरी बदर गराउन प्रतिवादी धनमायाले नसकेकी र ८३ सालदेखि भोग तिरो वादीतर्फबाटै भइराखेको भन्ने कुरामा विरोध नभएकोले दर्ता भोग तिरोबाटै जग्गामा वादीको हक पक्का भइसकेको मान्नु पर्ने यस स्थितिका सबूद प्रमाण सहितको भोगबन्धकीमा दिएको भन्ने प्रतिवादीहरूको मौखिक जिकिरसम्मको आधारमा भोगबन्धकी कायम गर्न नमिल्नेसमेत हुनाले अन्य विवादको कुराहरूमा विचार गरिरहनु परेन ।
(प्र.नं. १३)
निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल
विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई दोहरिएकोबाट यसबेञ्च समक्ष पेश हुन आएको छ ।
२. मुद्दाको तथ्य यसप्रकार छ : हर्षमाया मानन्धर्नीबाट मेरो बाबु बिसनारायणले राजीनामा गरी १९८३ साल माघ ४ गते रोज २ मा बनेपा अ.मालबाट बहाली पूर्जी लिई बाबु छउञ्जेल बाबुले शेषपछि मैले भोग चलन तिरो भरो गरी आएको बहिबु खेत कित्ता २ को मुरी ।९।१० के पक्का १।१५।५ गहुँ ।४।६ धान ।९।२ चार दाम ।५ बुझाउनु पर्ने सो जग्गा मध्ये पूर्व बाटो पश्चिम भालालोको खेत उत्तर जहरमानको छोरी न्हुछेमायाको खेत दक्षिण जोगराम कुर्मीको खेत हाल राजमार्ग यति ४ किल्ला भित्रको माटो पुरी ।४ को जग्गामा ०२३ साल माघ ३ गते प्रतिवादीहरूले जवरजस्ती कब्जा गरी घर बनाएकोले ऐन बमोजिम सजाय गरी सो घर निजहरूले उठाई लैजान र मेरो जग्गामा मेरै हक सदर थामी पाउँ भन्नेसमेत वादी ।
३. भालालोको खेतदेखि पूर्वको मट्टितेल, प्याट्रोल, मोबिल, डिजेल वितरण गर्न घर दोकान बनाएको माटो ।५।१० को कित्ता १ र भालालोको खेतदेखि पश्चिमको माटो मुरी ।४समेत बहिबु खेत ।९।१० र अरू खेत खला ३ समेत म जगतमानकी श्रीमती म केदारसिंकी आमा धनमाया मानन्धर्नीलाई निजकी आमा हर्षमायाले १९८२ साल जेष्ठ १७ गते दाईजोपत्र गरी दिएकी वादीको आमा पञ्चलक्ष्मी बाबु बिसनारायण धनमायाकी सानीआमा सानो बाबु भएकोले १९८२ सालमा रू.१५०। मा भोगबन्धकी दिएकी अरू खेत खला ३ घर आधि रजिष्ट्रेशन पास गरी वितरण गरी सकेकी बन्धकीमा भोग गरेकोमा भूमिसुधारमा उजूर गर्ने हो कि सल्लाहबाट छाडी दिन्छौं भन्दा भालालोको खेतदेखि पूर्वको १ कित्तामा घर बनाउन ठाउँ पुग्छ बनाउ अरू जग्गा गहुँ बाली काटेपछि चाहिए छाडी दिउँला भनेकाले पूर्वपट्टिको जग्गामा घर दोकान बनाई बसेको हो अ.बं.८२ नं.समेतले वादीको उजूर नलाग्ने हुँदा वादी खारेज गरिपाउँ भन्नेसमेत जगतमान केदारमानको प्रतिवादी ।
४. वादीमा हामीहरूको कसूर उल्लेख छैन वादी दावीको जग्गा हर्षमायाले छोरी जगतमायालाई दाईजोपत्र गरी दिएकी हो वादीको बाबुलाई राजीनामा गरी दिएको होइन भन्नेसमेत बाबुकाजी, हरिलाल, दानकाजीसमेतको प्रतिवादी ।
५. वादीले अ.मालबाट पाएको भनेको बहाली पूर्जिको हकमा सो कुनै सरकारी अड्डा नभएको जिमावालासँग मिल्नसके जैले जुन मितिको पनि गरी दिने भएकोले प्रमाण लाग्न नसक्ने र वादीले राजीनामाबाट हक भएको भनेकोमा राजीनामा देख्न सुन्न पाउँ, हर्षमायाले राजीनामा गरी दिएकै होइन भन्नेसमेत धनमायाको बयान ।
६. पेट्रोलको पम्प राख्न नपाउने गराउन लागू नहुने नालेस लागू गरी जाल परिपञ्च मिलाई नालेस माथि नालेस पारी राखेकोसमेत हुँदा खारेज गरी पेट्रोल पम्प राख्न पाउँ भनी प्रतिवादी केदारमानले श्री ५ महाराजाधिराजका हजूरमा चढाएको विन्तिपत्रको व्यहोरा जाहेर हुँदा व्यहोरा साँचो भए यस विषयमा माल कार्यालय र जिल्ला अदालतमा परेको मुद्दा सर्वोच्च अदालतले खिची बाँकी प्रमाणहरू तुरुन्त बुझी ३५ दिनभित्र ऐन बमोजिम निर्णय गरी दिनु भन्ने हुकुम प्रमाङ्गी बक्स भई आएको ।
७. प्रतिवादीबाट पेश भएको १९८२।२।१७।७ को हर्षमायाले धनमायालाई गरी दिएको दाईजोपत्र सक्कलै देखें सुनें सो बहिबु खेत हर्षमायाले राजीनामा गरी दिई भोग चलन भइराखेको जग्गा हुँदा हर्षमायाले धनमायालाई दाईजोपत्र गरी दिएकी होइन सहिछाप भिडे जालसाजी नभिडे कीर्ते हो भन्नेसमेत वादी अष्टनारायणको वा.रामकृष्णको र वादीले पेश गरेको बहाली पूर्जि सद्दे होइन बहाली पूर्जि रसिदसमेत जालसाजी कीर्ते हो भन्ने धनमायाको वारेस केदारमानको, बहाली पूर्जि रसिदहरू सद्दे नै हो भन्ने अष्टनारायणको वारेस रामकृष्णको बयान भएको ।
८. वादीबाट राजीनामा चोरी भयो भनी दाखिल हुन नसकेको प्रतिवादीले दाखिल गरेको ८२।२।१७ को दाईजोपत्रलाई हर्षमायाको सहिछाप मिले जालसाजी सहिछाप नमिले कीर्ते हो भन्ने वादीको बयान जिकिर भएको हर्षमायाको सहिछाप भिडाउन अर्को लिखत प्राप्त हुन नसकेको वादीको अनिश्चित बयानको आधारले उक्त दाईजोपत्रलाई जालसाजी वा कीर्ते भन्न नमिल्ने त्यसै दाईजोपत्रमा लेखिएको अरू घर जग्गा दाईजोपत्रले हक भोग भई कान्छा पलाञ्चोकेसमेतलाई बिक्री गरेको त्यसै लिखतले अरू घर जग्गा हक भोग भएको देखिन्छ भने त्यसमा लेखिएको झगडा परेको जग्गाको कुरा नकरा हो भन्न नमिल्ने प्रतिवादीले भूमिसुधार ७ नं.फाराममा नलेखाएको भन्नेमा त्यसतर्फ कानूनबमोजिम हुने बाहेक त्यस कारणले नै वादीको राजीनामा कायम हुने दाईजोपत्र कीर्ते जालसाजी भन्ने सबूद नभएकोले त्यसलाई प्रमाण योग्य मान्नु परेको वादीको राजीनामा पेश दाखिल हुन नआई ०६ सालमा चोरी भएकोले पूर्व १ नं.गोश्वारामा दर्खास्त दिएको छु भनेको यस मितिमा यति रूपैयाँमा राजीनामा लिएको छु भन्न नसकेको चोरी भएको भए अर्को गराई लिन सक्नु पर्ने नसकेकोले प्रमाणबाट कायम हुने राजीनामा नभएकै सिद्ध हुने राजीनामा हो भन्ने अरू प्रमाणतर्फ कानूनको रीत पुगेको दर्ता श्रेस्ता कुनै प्राप्त नभएको भोगबन्धकीमा दिएको भन्ने प्रतिवादीको जिकिर भएको भोगबन्धकीमा भोग गर्नेले तिरो बुझाई रसिद लिनु स्वाभाविकै हुँदा वादीका भनाई बमोजिम राजीनामा हो भन्ने कुनै प्रमाण नदेखिएकोले झगडा परेको जग्गामा प्रतिवादीको भोग नभई वादीको भोग देखिएकोलाई उपरोक्त उल्लेख गरे बमोजिम दाईजो दिएको कायम देखिन खाएको अवस्थामा त्यसलाई खण्डन गर्ने अर्को लिखत नभएकोले दाईजो पाउनेबाटै बन्धक लिएको सिद्ध हुने भोगबन्धकवाला साहुले भोग तिरो चलाउनु स्वाभाविकै देखिने हुँदा भोगको प्रमाणले वादीको राजीनामा हक भन्न नमिल्नेसमेत हुँदा धनमायाले पाएको दाईजोपत्र उपर निश्चित दावी नभएको कारणले लिखतहरू लाई सद्दे वा नकरा छुट्याई निर्णय गर्न नपर्ने जग्गाको हकमा वादीले राजीनामा पाएको नभई दाईजो पाउने धनमायाबाट बन्धक लिएको देखिएकोले वादी दावी नपुग्ने ठहर्छ भन्ने ०२६।२।९।५ को डिभिजन बेञ्चको फैसला ।
९. यसमा झगडा परेको बहिबु खेत हर्षमायाबाट मेरो बाबु बिसनारायणले राजीनामा गराई लिई हक भोग गरी आएको मेरो हकको भन्ने वादीको दावी र आमा हर्षमायाबाट धनमायाले दाइजोपत्र लिखत गरी पाई धनमायाको हक भएको वादीको बाबु बिसनारायणलाई रू.१५०। मा भोगबन्धकी दिई बन्धकीमासम्म वादीले भोग तिरो गरी आएको भन्ने प्रतिवादीहरूको जिकिर भई विवाद उठेको रहेछ उक्त झगडा परेको जग्गा वादी वा प्रतिवादी हर्षमाया कस्को हकको हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
१०. निवेदक वादी तर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले हर्षमायाले मेरो पक्षको बाबु बिसनारायणलाई गरी दिएको ८२ सालको राजीनामा ९६ सालमा चोरी भएकोले हुलिया दर्खास्त दिएकोसमेत भई पेस गर्न नसके तापनि बनेपा अ.मालबाट पाएको ८३।१०।४।२ को बहाली पूर्जिमा राजीनामा भन्ने जनिएकै र सो साल देखिको भोग तिरो रसिद पनि मेरो पक्षबाट पेस भएको र तिर्नको लगतमा पनि मेरो पक्षको नाममा दर्ता छ धनमायाले रू.१५०। मा बन्धकी दिएको भनेकोमा बन्धकीको दोहरीसमेतको प्रमाण कुनै पनि प्रतिवादीले पेस गरेको छैनन् दर्ता भोग तिरो मेरो पक्षकै हुँदा जग्गामा मेरो पक्षकै हक कायम हुनुपर्छ भन्नेसमेत र प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले राजीनामा चोरी भएको भए अर्को गराई लिन सक्नु पर्ने सकेको छैन नकरा बहाली रसिदसम्मको आधारमा जग्गामा वादीको हक कायम हुन सकदैन हर्षमायाले धनमायालाई गरी दिएको दाईजोपत्र पेस भएकोले त्यसबाट जग्गामा धनमायाको हक भएको सिद्ध छ र मेरो पक्षको जिकिरबमोजिम भोगबन्धकी दिएकोबाट वादीको भोग तिरो चलेको हो राजीनामा लिखत बेगर जग्गामा वादीको हक कायम हुन नसक्ने हुँदा डिभिजन बेञ्चको इन्साफ कायम हुनुपर्छ भन्नेसमेत बहस गर्नु भयो ।
११. प्रस्तुत विवादको झगडा परेको जग्गा विर्ताको लगतमा कसको नाममा दर्ता रहेछ भन्नेतर्फ पटक पटकको फुल बेञ्चका आदेशबमोजिम झिकाई आएको मे.ज.सुर शमशेर ज.ब.रा.हरूको सजिया बनेपा विर्ताको ९६ सालको दर्ता लगत हेर्दा झगडा परेको बहिबु खेत मुरी ।९।१०। प्रतिवादी धनमायाको नाममा दर्ता भएको देखिन नआई वादीको बाबु विसनारायणको नाममा दर्ता भएको देखिन आएको र ८३ साल देखिको भोग तिरोको रसिद वादीतर्फबाटै प्रमाणमा पेस भइराखेको पाईन्छ । १९८३ सालमा धनमायाले वादीको बाबु विसनारायणलाई रू.१५०। मा भोगबन्धकीमा दिएको निहुँले भोग तिरो गरी आएको भन्ने प्रतिवादीहरूको मुख्य जिकिर भएकोमा बन्धकी हो भन्ने कुरालाई समर्थन गर्न बन्धकीको दोहरीसमेत कुनै पनि लिखत सबूद प्रतिवादीहरूले दिन गुजार्न सकेका छैनन् । जग्गा वादीको बाबु विसनारायणकै नाममा दर्ता भएको कुरामा हाल बहससमेतमा दर्ता भएको कुरामा हाल बहससमेतमा प्रतिवादी तर्फबाट तथ्ययुक्त कुनै विरोध आउन पनि सकेन ।
१२. विर्ता उन्मुलन भएपछि यो झगडा परेको जग्गा आ–आफ्नो नाममा रैकरमा परिणत दर्ता गरिपाउँ भनी वादी र धनमाया दुवैले छुट्टाछुट्टै विवरण दिई धनमायाको विवरणबमोजिम निजको नाममा दर्ता गरिदिने ०२४।३।२२।५ मा पर्चा र वादीको विवरण बमोजिम निजको नाममा दर्ता गरी दिने गरी विवरणको सिरमा २४।४।२३।२ मा तोक भएको भन्ने काभ्रेपलाञ्चोक माल कार्यालयले दिएको ०२९।३।१९।१ को जवाफसमेत बाट देखिन्छ धनमायाले आफ्नो नाममा विवरण दिई दर्ता गराएको बदर गरिपाउँ भन्ने वादी अष्टनारायणले छुट्टै नालेस दिएको मुद्दा यसै साथ पेश हुन आएको छ तर वादी अष्टनारायणले आफ्ना नाममा दर्ता गराउन दिएको विवरणसमेत बदर गरिपाउँ भन्ने तर्फ प्रतिवादी धनमायाको नालेस उजूर परेको देखिन आएन ।
१३. मुख्य १९९६ सालको विर्ताको लगतमा झगडा परेको बहिबु खेत वादीको बाबु विसनारायणको नाउँमा दर्ता भएको सो दर्ता बदर गरिपाउँ भन्ने तर्फ तत्काल प्रचलित जग्गा मिच्नेको २१ जग्गा पजनीको ३४ नं.को म्याद २ बर्ष भित्र उजूर गरी बदर गराउन प्रतिवादी धनमायाले नसकेकी र ८३ सालदेखि भोग तिरो वादीतर्फबाटै भइराखेको भन्ने कुरामा विरोध नभएकोले दर्ता भोग तिरोबाटै जग्गामा वादीको हक पक्का भइसकेको मान्नु पर्ने यस स्थितिका सबूद प्रमाण सहितको भोगबन्धकीमा दिएको भन्ने प्रतिवादीहरूको मौखिक जिकिरसम्मको आधारमा भोगबन्धकी कायम गर्न नमिल्नेसमेत हुनाले अन्य विवादको कुराहरूमा विचार गरिरहनु परेन ।
१४. तसर्थ उपरोक्त उल्लेख भए बमोजिम कारणहरूबाट झगडा परेको बहिबु खेत मुरी ।९।१०। वादीकै दर्ता हक भोगको देखिन आएकोले वादीको हक भोगको जग्गामा प्रतिवादीहरूले खिचोला गरी जवरजस्ती घर बनाएकोसमेत ठहर्छ सो जग्गामा धनमायाको हक कायम गरी धनमायाबाट वादीको दावी बन्धकी लिएको ठहराई वादीको दावी नपुग्नेसमेत भनी ०२६।२।९।५ को डिभिजन बेञ्चले छिनेको ईन्साफ मिलेको देखिएन अरू तपसील बमोजिम गर्नु ।
तपसील
वादी अष्टनारायण मानन्धर के निजले नालेस गर्दा राखेको कोर्टफी रू.१४०। र मुद्दा दोहर्याउदा राखेको कोर्टफी १४। समेत रू.१५४। एकसय चवन्न प्रतिवादी देहायका मानिसबाट भराई पाउँ भनी कोर्टफी ऐन, २०१७ को संशोधित दफा १५(११) बमोजिम ३ बर्ष भित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी कानून बमोजिम लगत दिनु ..........१
का.प.जि.बनेपा दछु टोल बस्ने जगतमान वाडे श्रेष्ठ १, ऐ.सोधा टोल बस्ने बाबुकाजी मानन्धर १, ऐ.बस्ने केदार मान सिंह वाडे श्रेष्ठ १, ऐ.सोधा टोल बस्ने दानकाजी मानन्धर १, ऐ.बस्ने हरिलाल मानन्धर १,
प्रतिवादी जगतमान वाडे श्रेष्ठ केदारमान सिं वाडे श्रेष्ठहरूले झगडा परेको जग्गामा जवरजस्ती बनाएको घर, घर बनाउनेको ४ नं. बमोजिम सो घरको पञ्चकिर्तिमोल जग्गाधनी वादीवाट लिई सो घर छाड्नु वा घर भत्काई ६ महिना भित्र लगी जग्गा खाली गरी दिनु ६ महिना भित्र भत्काई नलगेमा म्याद नाघेपछि सो घर जग्गाका धनीको हुनेछ भनी प्रतिवादी वारेससमेत जगत मान श्रेष्ठलाई सुनाई दिनु .....................२
नियमबमोजिम मिसिल बुझाई दिनु.....................३
न्या. बब्बरप्रसाद सिंह
न्या. धनेन्द्रबहादुर सिंह
हामीहरूको सहमती छ ।
इति सम्वत् २०२९ साल मार्ग ९ गते रोज ६ शुभम् ।