निर्णय नं. ७१९ - जग्गा

निर्णय नं. ७१९ ने.का.प.२०३७
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री झपटसिंह रावल
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२६ सालको दे.फु.नं. ९५
फैसला भएको मिति : २०२९।१०।२३।६ मा
निवेदक : बझाङ्ग जुजीदरा दमृगाँउ बस्ने नवराज मिश्रसमेत
विरूद्ध
विपक्षी : ऐ.नौविसदरा सैनगाउँ मध्य भलाउने बस्ने मडेजमेलसमेत
मुद्दा : जग्गा
(१) जग्गाको मुख्य प्रमाण नै मोठ, श्रेस्तामा लेखिएको दर्तावाला जग्गाधनी मानिने ।
यसमा झगडा परेको कित्ता नं.२४६ को जग्गा वादी या प्रतिवादी मध्ये कस्को हक पुग्ने हो भन्ने कुराको निर्णयको लागि हेर्दा उक्त जग्गा ८९ सालको बझाङ्ग सर्पट महाजाँचको मोठमा २४६ नं.मोही गिठे चनारा भन्ने दर्ता भएको अद्यपि सो मोठ बहालै रहेको देखिन्छ बझाङ्ग राज्य अदालतमा वादी भवकेशरको र हरिशंकर कठायतको यसै जग्गामा मुद्दा परी वादी भवकेशरले जिती पाएको भन्ने बझाङ्ग राज्य अदालतको ९१।३।२७ को फैसलाको नक्कल वादी तर्फबाट पेश भएकोमा सो मुद्दाको छिनुवा मिसिल आउन नसकेको पेश भएको फैसलाको नक्कलको लेखबाट जग्गाको दर्तावाला गिठे चनारा उपर मुद्दा परेको नदेखिएको र गिठे चनारा दर्ताको जग्गा गिठेको हक छुट्ने ठहर निर्णय पनि सो फैसलाले नगरेको हुनाले त्यस्तो फैसलाको आधारबाट गिठे चनाराको हक टुटेको भन्न मिल्दैन, सो फैसलालाई आधार लिई गिठे चनाराबाट वादी भवकेशरका नाउँमा दर्ता दाखिल गर्ने गरी बझाङ्ग राज्य मालले ९६।३।१२।२ मा पर्चा गरेको र भवकेशरसँग रहेका रैतान पूर्जामा सो जग्गा भवकेशरको नाउँमा लेखी दिएको भन्ने हकमा बझाङ्ग राज्य अदालतको फैसलामा गिठेको दर्ताबाट भवकेशरलाई दर्ता दाखिल गर्ने भन्ने फैसला नभई हरिशंकरकोबाट भवकेशरले जग्गा जितेकोसम्म देखिन्छ सो फैसलालाई कार्यान्वित गर्न पर्चा गर्ने हो भने पनि हरिशंकरकै नाममा दर्ता भएको जग्गा छ भने सो जग्गासम्म भवकेशरको नाममा दाखिल खारेज गर्ने भनी पर्चा गर्न मिल्छ अदालतको फैसलामा नलेखिएको गिठे चनाराको दर्ता भवकेशरको नाउँमा सार्ने भनी पर्चा गर्न मालको अधिकार हुँदैन सो पर्चा भएको भनेको मिसिल झिकाउँदा आउन पनि नसकेको र मोठमा भवकेशरको नाउँमा गिठेबाट दाखिल खारेज हुन पनि नसकेको भवकेशरको साथमा रहेको सर्पट नापीले दिएको पूर्जामा दाखिल दर्ता हुनपर्छ भने त्यो सर्पट नापीबाटै हुन सक्ने कुरा हो सर्पट नापीबाट तयार भएको श्रेस्तामा पछि मालले थपी लेखी दिन मिल्ने पनि होइन यदि मालले दाखिल खारेज गर्नु थियो भने माल अड्डामा रहने गरी दाखिल खारेजको श्रेस्ता खडा गरी राखेको हुनु पथ्र्यो सो भएको पनि नदेखिएको हुनालेसमेत उल्लिखित बझाङ्ग राज्य मालको पर्चा र बझाङ्ग राज्य मालले भवकेशरको नाउँमा सर्पट नापीले दिएको पूर्जाको पुछारमा थपी लेखी दिएको वेरीतको श्रेस्तासमेतका आधारबाट सर्पट नापी लेख्दा गरेको मोठ बमोजिम ८९ सालदेखि अहिलेसम्म दर्ता कायम रहेको गिठे चनाराको हक दर्तामा अन्यथा हुने भन्न मिल्दैन जग्गाको मुख्य प्रमाण नै मोठ श्रेस्तामा लेखिएको दर्तावाला जग्गाधनी मानिने प्रमाण भन्नु पर्ने भएको र उसै माथि उक्त गिठे दर्ताको २४६ नं.कित्ताको जग्गामा प्रतिवादीहरूबाट घरबास गरी भोग चलन भएकोसमेत नक्साबाट देखिन आएको हुनाले गिठे दर्ताको सो कि.नं.२४६ को ठहराएको जग्गामा वादीहरूको हक पुग्न नसक्ने ठहराएको डिभिजन बेञ्चको निर्णय मनासिव देखिन्छ । कोर्टफी राखेको हुँदा मुद्दा दोहर्याएमा अरू सजाय गर्नु परेन, नियमबमोजिम मिसिल बुझाई दिनु ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल
विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे
फैसला
न्या. झपटसिंह रावल
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमाङ्गी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।
२. मुद्दाको तथ्य यसप्रकार छ : १९३७ सालमा बझाङ्गी राजा बिक्रमबहादुर सिंहबाट म भवकेशरको बाबु मोतिराम जोशीका नाउँमा सनद भई भोगी आएको ६७ सालको जाँचमा पार्के चौर मैनातोला बजेडे गोदरेलेसमेत मोतिरामका नाउँमा बालीसमेत गाउँलेको साझा भनी दर्ता भई पार्केमा आवादी जतिमा बाली आवादी बाहेकमा गोठ राखी चर्ची आएकोमा ६७ सालको जाँचमा बीरे खेटे मेणे जंगेसमेत सजिया नार्के चोर सैनातोला भन्ने कित्ता २ हरिशंकरका नाउँमा दर्ता गराएका रहेनछन् ९० सालको जाँचमा साविक कित्ता विरौटा दर्ता गराई हाम्रो पार्के चौर मैनातोलामा दावी गरी दर्ता गर्न खोजेमा हरिशंकरका नाउँमा लाल जोशी र म भवकेशरले बझाङ्ग राज्य अदालतमा उजूर गरी उक्त लेखिएको जग्गामा हरिशंकरसमेतले झुठ्ठा दावी गरेको ठहरी ९१।३।२७ गते जिती पाई म भवकेशरका नाउँमा दर्ता राखी दिनु भन्ने फैसला भएको हो नार्के चौर पाखो गिठे उप्रेलका नाउँमा दर्ता गर्न खोजेका भुल परी गिठे चनाराका नाउँमा र सैनातोला हरिशंकरकै नाउँमा दर्ता गराएको थाहा भई दाखिल खारिज गर्न भवकेशरको उजूर पर्दा ९६।३।१२ गते दर्ता दाखिल खारेज गर्ने पर्चा भई ३१ नं.मोही हरिशंकरका नाउँबाट त ३८ नं.मोही गिठे चनाराका नाउँबाट खारेज भई २,६ नं.नार्के चौर भनेको पार्केचौर के रू.७ र २५८ नं.सैनातोला भनेको मैनातोला के रू.।६६ भवकेशरका नाउँमा नामसारी दर्ता नभएसम्म सैना गाउँको तालुकदार वीरसिं गेजप्रेल जिम्मा मालपोत बुझाई रसिद लिने गरेको उजूर पर्दा दर्ता सरेपछि केही साल बझाङ्ग मालमा र केही साल गाउँको जिम्मावाललाई तिरो बुझाई रसिद लिने गरेका छौं गिठे चनाराका नाउँबाट खारेज भई भवकेशरका नाउँमा दर्ता दाखिल भएको नं.२४६ को पार्केचौर जग्गा गिठे चनारालाई मिलाई दावा गरे पाउँला भनी हामीले लगाएको बेडथाना भत्काई बालीसमेत २३।३।३ गते छप्पर हाली मिची नोक्सान गरेकाले बालीतर्फ छुट्टै नालेस गर्ने भई जग्गा तर्फ नालेस गर्न आएका छौं ठाउँठाउँमा आवादी र दर्ता भएको बाँझा जग्गामा भैंसी चरन गरी राखेको २४६ नं.चौडा गौचर पूर्व बेलधार गौचर पश्चिम खोला हेराड डगा उत्तर बेतालदेउदेखी दक्षिणको जग्गा हामीले जिती पाएको भूल परी गिठे चनाराका नाममा दर्ता भए पनि थाहा पाउनासाथ माल अड्डामा गई म भवकेशरले उजूर गरी पर्चा खडा भई पर्चा बमोजिम गिठेका नाउँबाट खारेज भई म भवकेशरका नाउँमा दर्ता दाखिल गरी भोगचलन गर्दा निजहरूले उजूर गर्न सक्नु पर्ने जितापत्र समेत बाट हामीहरूको एकलौटी हक भई हक दावासमेत नपुग्ने भएको जग्गा दावी गरेका हुनाले जग्गा हामीहरूलाई दिलाई पाउँ भन्नेसमेत वादी ।
३. वादी भवकेशरलाल जोशीसमेतको सनद मिलापत्र भएको भनेको पार्के चौर मैनातोला जेडे गोतराडोसमेतका जग्गा निजहरूके भोग पजनीमा भएको फिरादीले जिती पाएको भनेको गिठे चनारा दर्ता नं.२४६ को नार्केचौर जग्गा ८९ सालको जाँचमा गोतर पूर्व खोला दक्षिण उत्तर गौचर पश्चिमा रू.७। तिरो लागि दर्ता भएको छ तापनि हाम्रा पार्के बस्ती नगिचको जग्गा हुनाले हामीले भोगी आएको हुँदा गिठे मार्फत तिरो तिरी हामी गोपी कठायत मडे जयेल गोरेज प्रेल हरिक्चे लुहारले मोही हैसियतबाट र मनी कठायतले गिठेका घरसारी राजीनामाबाट भोगी आएका छौं भवकेशरलाल जोशीहरूको मैनातोला भन्ने जग्गा १९७ नं.को खला दक्षिणपट्टि रसिद खोलादेखि पूर्व र वजेडे भन्ने जग्गा खोजको खोलाको सिरानतर्फ र गोमारो भन्ने जग्गा खोजी गाउँखोलाको दक्षिण भरी माथि शिद्धखोलादेखि पूर्व र २४६ नं.पार्के नार्के भन्ने जग्गा अगै कठायत कर्नेज प्रेस दर्ताको २५६,२४९ नं.को जग्गादेखि पूर्व ठुलो झार जंगल पखेरा गौचर भई त्यसदेखि पूर्व दक्षिणतर्फ छ वादी दावी झुठ्ठा हो भन्नेसमेत मदेज प्रेस १४ जनाको प्रतिवादी ।
४. वादीको जग्गामा दावी गरेका छैनौं गिठे दर्ता नं.२४६ को जग्गाको हकमा हरिशंकरको राजीनामा दर्खास्तले ८९ सालको जाँचमा गौचर पूर्व खोला दक्षिण उत्तर पश्चिम पट्टी नार्के लानचौर पाखा २ कित्ता रू.७। तिरो लागी दर्ता भएको सो जग्गा म गिठेले र अगेकथे हरि विरुजैनु विरजि तमिलालसमेत ४० घरले भोग गरी मेरो तर्फबाट तिरो तालुकदारलाई बुझाउने गरेका छौं उजूर झुठ्ठा हो भन्नेसमेत गिठेसमेत ३ जनाको प्रतिउत्तर ।
५. नार्के चौर मध्ये १ पाथी विजनको गिठेको राजीनामाले भोग गरेको छु भन्ने माथे कठायत ८ सोही नार्केचौर २। पाथी विजनको जग्गा गिठेको दर्ताको नाताले भोगेको छु भन्न अगे ।२ पाथी विजनको तिरो गिठेलाई तिरो भोगी आएको छु भन्ने कथेसमेत पेटवालीबाट बुझिएकाहरूको बयान ।
६. गिठे चनारा दर्ताको २४६ नं.नार्के भन्ने पार्के चौर जग्गा वादी भवकेशरसमेतको हकको ठहर्ने गिठेसमेत ३ जनाले कसूर नगरेकोमा वादीले बढी दावा गरेको ठहर्छ भन्नेसमेत ०२४।५।१५।५ को बझाङ्ग जिल्ला अदालतको फैसला ।
७. सो उपर चित्त बुझेन भन्ने वादी भवकेशरसमेत ७ जना र प्रतिवादी मडेज प्रेससमेत १७ जनाको पुनरावेदन परेको ।
८. ९१।३।२७ को बझाङ्ग राज्य अदालतको फैसला मुताविक ९६।३।१२ को बझाङ्ग राज्य मालको पर्चा बमोजिम भनी ८९ सालको नापीको भवकेशर जोशीको नाउँको तेरिजको पुछारमै १ नं.मोही हरिशंकर ३८ नं.मोही गिठेका नाउँबाट खारेज भई यो पूर्जामा दाखिल भएको भनी कि.नं.४६ को लार्केचौर भनेको पार्केचौर सिं ।२ के रू.७। भन्ने जनिएको उक्त जग्गा माल बुझ्दा २४६ नं.सिं ।२ के रू.७। गिठे चनाराका नाममा दर्ता छ भनी जवाफ आएका जग्गा पनि खास नार्के चौरलाई पार्के लेखिएकोले वादीसँग रहेको कागजमा नार्के भन्नेलाई पार्के भनी दाखिल दर्ता भयो भन्दैमा गिठेको हक गयो भन्न मिलेन ९१ सालमा २४६ नं.को मुख्य दर्तावाला गिठेसँग झगडा परेको देखिएन । २४६ नं.को जग्गामा गिठे नै दर्ता कायम देखिँदा वादी दावी झुठ्ठा ठहर्छ भन्नेसमेत सेती अं.अ.ले हदमुनी गरी छिनेको ०२४।९।२८।६ को फैसला ।
९. सेती अञ्चल अदालतको फैसलामा जटिल कानूनी प्रश्न समावेश भएकोले हदमुनी गरी छिने उपर पुनरावेदन दिन अनुमति पाउँ भन्ने वादी नवराज मिश्रसमेतको निवेदन परेकोमा तत्कालिन माननीय श्री प्र.न्या.ज्यू बाट न्याय प्रशासन विविध व्यवस्था ऐन, ०२१ को दफा ८ को उपदफा २(१) को (ग) अनुसार पुनरावेदन दिन पाउने अनुमति भई सेती अञ्चल अदालतको फैसला उपर चित्त बुझेन भन्ने वादी नवराज मिश्रसमेतको पुनरावेदन परेको ।
१०. नापी श्रेस्तामा कि.नं.२५६ मा हरिशंकर भवकेशरको झगडा जनाएको देखिन्छ त्यसबारेमा झगडा परी फैसला भएको प्रमाण दुवै थरीबाट पेश हुन आएन बझाङ्ग राज्य अदालतको फैसला नक्कल हेर्दा नापीमा परेको उजूर किनारा गरेको भन्ने देखिँदैन मोठ कायम हुँदा मोही गिठे चनाराका नाउँमा कि.नं.२४६ मा नार्केचौर दर्ता रहेको देखिएकोले र सो मोठ बदर गराउने बारेमा कुनै कारवाही चलेको नदेखिएकोले गिठे चनाराको हकको कि.नं.२४६ देखिन्छ सो जग्गा नं.नं.१५।१६ को भनी नक्सामा जनाएकोमा निज वादीले सो कित्तादेखि फरक नं.नं.३५ को कित्ता मेरो हो भनी लेखाएकोले दुवै कित्ता एकै दर्ताले गिठे चनाराले खान पाउदैन झगडा परेकोमा जग्गा ४० नं.देखि पश्चिमपट्टि रहेको र बझाङ्ग राज्य अदालतको फैसलामा चराको खोला बेलधार पश्चिम चौर जग्गालाई पार्केचौर भनी बेग्लै भएका जग्गाको नाताले हाम्रो जग्गामा दावी गरेका हुन भनी हरिशंकरसमेतको प्रतिवादी परेकोले सो चराको खोलादेखि पश्चिमको जग्गा नार्के चौर भनी अघि नै कायम भएको देखिएकोले झगडा परेको नं.नं.१५।१६ कै देखिन्छ नं.नं.३५ को बारेमा अरूसँग झगडा नक्सामा जनाएकाले यस मुद्दाबाट केही भनी रहनु परेन नं.३५ मा गिठे चनाराले यो दर्ताको भनेको देखिएन बझाङ्ग राज्य अदालतबाट जितेको जग्गा नं.१५।१६ हो कि भनी कायम गर्नालाई सनदबमोजिम पाएको भनी वादीले जिकिर गरेको र बेतालदेउ दक्षिण बजीरको घर पूर्व सेती गाडकुँतालकी आठ थापाको कुँदु जाने बाटा नै मादुल उत्तर चौडा पश्चिम सनदमा लेखिएको किल्ला भनेकोमा सनदमा सो किल्ला नभएको र फैसलामा भएको किल्लाभित्र पनि झगडा परेको जग्गा नक्सा रूपबाट देखिन नआएको नापी श्रेस्तालाई हरिशंकरसँग झगडा जनाई सो विषयमा फैसला नभई गिठे चनाराकै नाउँमा गोठ कायम रहेको कि.नं.२४६ मा वादीको दावी पुग्ने देखिँदैन कि.नं.२४६ मा गौचर पूर्व खोला दक्षिण उत्तर गौचर दक्षिणको नार्के चौर पाखो दर्ता भएकोमा नक्सा रूपबाट झगडा परेको १५।१६ नं.मा नै मिल्न भिडन आउँछ बझाङ्ग राज्य अदालतको फैसलामा हरिशंकरको एकै मिलान नाउँ भएको नार्के चौर भन्ने भनी वादी लेखमा लेखिएको देखिएकोले साँधमा एकै नाउँको अरू जग्गा पनि रहेछ भन्ने देखिन्छ इन्साफ अञ्चल अदालतको मनासिव छ भन्ने ०२५।७।२७।३ को डिभिजन बेञ्चबाट फैसला भएको ।
११. यस बेञ्च समक्ष निवेदक वादी तर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले नार्केचौरलाई पार्केचौर मैनातोलालाई सैनातोला भनी हरिशंकरसमेतका नाउँमा दर्ता गरेको मुद्दा परी भवकेशरले जितेको ९१ सालमा हरिशंकरसमेतले गिठे चनाराका नाममा फेरि दर्ता गरेमा फेरि उजूर परी बझाङ राज्य मालबाट ९६ सालमा पर्चा भई भवकेशरकै नाममा नामसारी दर्ता हुने ठहरेको छ माल पर्चा बदर गरिपाउँ भन्ने म्यादभित्रको कसैको उजूर छैन । बझाङ्ग राज्य अदालतको फैसलाले मेरो पक्षले जितेका भन्ने कुरा प्रतिवादीहरूले मानिराखेका छन् । गिठेकै दर्ताको जग्गा फैसलासमेत बाट भवकेशरले पाएको छ भने जग्गा छुट्टाछुट्टै छ भन्ने जिकिर कसरी साँचो हुन सक्छ झगडा परेको जग्गा मेरो पक्षकै हो भन्ने कुरा अघिको फैसला पर्चा नक्सासमेत बाट प्रष्ट भएकै छ भन्नेसमेत र प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले ९६ सालको मालको पर्चा बमोजिम पूर्जाकोसम्म जनाएको देखाइएको छ मालको मोठमा जनिएको छैन गिठेकै नाममा दर्ता कायम छ हरिशंकर भवकेशरको मुद्दा परी ९१ सालमा बझाङ्ग राज्य अदालतबाट फैसला भएकोमा गिठेलाई पक्ष गराईएको छैन गिठे चनाराको नामको जग्गा भवकेशरका नाममा दर्ता गरी दिनेलाई अधिकार भएको कुरा पनि होइन दर्ता नामसारी गर्न चलन चलाउन तत्कालिन दण्ड सजायको ४७ नं.ले २ बर्षको म्याद तोकेको छ सो अनुसार गर्न नसकेको समेत भएपछि गिठे चनाराको नाममा मोठमा दर्ता कायम रहेको जग्गामा भवकेशरको हक पुग्न सक्तैन २४६ को जग्गा गिठेकै दर्ता कायम रहनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
१२. यसमा झगडा परेको कित्ता नं.२४६ को जग्गा वादी या प्रतिवादी मध्ये कस्को हक पुग्ने हो भन्ने कुराको निर्णयको लागि हेर्दा उक्त जग्गा ८९ सालको बझाङ्ग सर्पट महाजाँचको मोठमा २४६ नं.मोही गिठे चनारा भन्ने दर्ता भएको अद्यपि सो मोठ बहालै रहेको देखिन्छ बझाङ्ग राज्य अदालतमा वादी भवकेशरको र हरिशंकर कठायतको यसै जग्गामा मुद्दा परी वादी भवकेशरले जिती पाएको भन्ने बझाङ्ग राज्य अदालतको ९१।३।२७ को फैसलाको नक्कल वादी तर्फबाट पेश भएकोमा सो मुद्दाको छिनुवा मिसिल आउन नसकेको पेश भएको फैसलाको नक्कलको लेखबाट जग्गाको दर्तावाला गिठे चनारा उपर मुद्दा परेको नदेखिएको र गिठे चनारा दर्ताको जग्गा गिठेको हक छुट्ने ठहर निर्णय पनि सो फैसलाले नगरेको हुनाले त्यस्तो फैसलाको आधारबाट गिठे चनाराको हक टुटेको भन्न मिल्दैन, सो फैसलालाई आधार लिई गिठे चनाराबाट वादी भवकेशरका नाउँमा दर्ता दाखिल गर्ने गरी बझाङ्ग राज्य मालले ९६।३।१२।२ मा पर्चा गरेको र भवकेशरसँग रहेका रैतान पूर्जामा सो जग्गा भवकेशरको नाउँमा लेखी दिएको भन्ने हकमा बझाङ्ग राज्य अदालतको फैसलामा गिठेको दर्ताबाट भवकेशरलाई दर्ता दाखिल गर्ने भन्ने फैसला नभई हरिशंकरकोबाट भवकेशरले जग्गा जितेकोसम्म देखिन्छ सो फैसलालाई कार्यान्वित गर्न पर्चा गर्ने हो भने पनि हरिशंकरकै नाममा दर्ता भएको जग्गा छ भने सो जग्गासम्म भवकेशरको नाममा दाखिल खारेज गर्ने भनी पर्चा गर्न मिल्छ अदालतको फैसलामा नलेखिएको गिठे चनाराको दर्ता भवकेशरको नाउँमा सार्ने भनी पर्चा गर्न मालको अधिकार हुँदैन सो पर्चा भएको भनेको मिसिल झिकाउँदा आउन पनि नसकेको र मोठमा भवकेशरको नाउँमा गिठेबाट दाखिल खारेज हुन पनि नसकेको भवकेशरको साथमा रहेको सर्पट नापीले दिएको पूर्जामा दाखिल दर्ता हुनपर्छ भने त्यो सर्पट नापीबाटै हुन सक्ने कुरा हो सर्पट नापीबाट तयार भएको श्रेस्तामा पछि मालले थपी लेखी दिन मिल्ने पनि होइन यदि मालले दाखिल खारेज गर्नु थियो भने माल अड्डामा रहने गरी दाखिल खारेजको श्रेस्ता खडा गरी राखेको हुनु पथ्र्यो सो भएको पनि नदेखिएको हुनालेसमेत उल्लिखित बझाङ्ग राज्य मालको पर्चा र बझाङ्ग राज्य मालले भवकेशरको नाउँमा सर्पट नापीले दिएको पूर्जाको पुछारमा थपी लेखी दिएको वेरीतको श्रेस्तासमेतका आधारबाट सर्पट नापी लेख्दा गरेको मोठ बमोजिम ८९ सालदेखि अहिलेसम्म दर्ता कायम रहेको गिठे चनाराको हक दर्तामा अन्यथा हुने भन्न मिल्दैन जग्गाको मुख्य प्रमाण नै मोठ श्रेस्तामा लेखिएको दर्तावाला जग्गाधनी मानिने प्रमाण भन्नु पर्ने भएको र उसै माथि उक्त गिठे दर्ताको २४६ नं.कित्ताको जग्गामा प्रतिवादीहरूबाट घरबास गरी भोग चलन भएकोसमेत नक्साबाट देखिन आएको हुनाले गिठे दर्ताको सो कि.नं.२४६ को ठहराएको जग्गामा वादीहरूको हक पुग्न नसक्ने ठहराएको डिभिजन बेञ्चको निर्णय मनासिव देखिन्छ । कोर्टफी राखेको हुँदा मुद्दा दोहर्याएमा अरू सजाय गर्नु परेन, नियमबमोजिम मिसिल बुझाई दिनु ।
न्या. विश्वनाथ उपाध्याय,
न्या. धनेन्द्रबहादुर सिंह,
न्या. वासुदेव शर्मा,
प्र.न्या. रत्नबहादुर बिष्ट
हामीहरूको सहमती छ ।
इति सम्वत् २०२९ साल मार्ग २३ गते रोज ६ शुभम् ।