निर्णय नं. ७२० - जग्गा हटक

निर्णय नं. ७२० ने.का.प. २०३०
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२७ सालको दे.फु.बे.नं. १०६
फैसला भएको मिति : २०२९।७।१५।३ मा
निवेदक : सल्यान वगाड गौरी कटेरी बस्ने हर्कसिं कँवरको सकार गर्ने उज्यालो कँवर्नीसमेत
विरूद्ध
विपक्षी : ऐ.बस्ने जि.भोलाप्रसाद बुडासमेत
मुद्दा : जग्गा हटक
(१) ल्याप्चे सहिछाप अप्रष्ट भएको कागज प्रमाण लाग्न नसक्ने ।
मिसिल हेर्दा गिमीले नन्दलाललाई राजीनामा गरी दिएको खेतहरू गिमीको लोग्ने जोखेका भागबण्डामा परेको भन्ने कुरा वादीहरूले पनि स्वीकार गरी राखेको पाइन्छ । गिमीको लोग्ने जोखेले हाम्रो बाबु थुमालाई रू.९० मा ९५।१।१५।४ मा राजीनामा गरी दिएकोबाट जोखेको भागबण्डाको खेतसमेत हाम्रो बाबु थुमाको नाममा दर्ता भई भोग तिरो गरी आएको भन्ने वादी पक्षको मुख्य भनाई भएको हकमा सो ९५।१।१५।४ को राजीनामामा लागेको कारणीको ल्याप्चे सहिछाप ज्यादै अप्रष्ट भएको भनी विशेषज्ञले लेखी दिएकोबाट तत्काल प्रचलित कागज जाँचको २० हालको कागज जाँचको ५ नं.ले त्यस्तो कागज प्रमाण लाग्न नसक्ने हुँदा त्यस कागजका आधारमा जोखेको जग्गा हक टुटेको भन्न मिलेन ।
(प्र.नं. ९)
(२) एकको भागमा परेको अन्य प्रमाणबाट देखिन्छ भने त्यस्तो जग्गा अर्कै अंशियारको नाममा दर्ता रहन गएकोमा कानूनबमोजिमको लिखत बेगर दर्तावालको भन्न मिल्ने नदेखिने ।
झगडा परेको खेत ९८ सालको मोठमा थुमाका नाममा दर्ता भएको धेरै बर्षको तिरो तिरेको रसिद पनि निज थुमाकै नाममा भएकोले कसो हो भन्ने तर्क उठेको हकमा सो जग्गा गिमीको लोग्ने जोखेको भागबण्डाको होइन भन्न वादीहरूले नसकेको र एकाको अंश भागमा परेको अन्य प्रमाणबाट देखिन्छ भने त्यस्तो जग्गा अंश भाग पाउनेले आफ्नो नाममा नामसारी नगराई अर्को अंशियारकै नाममा दर्ता कायम रहन गएकोमा जस्को अंश भाग हो उसको हक टुटेको कानून बमोजिमको लिखत बेगर दर्ता र जस्का नाममा दर्ता छ उसकै नामबाट चल्ने तिरो भरोको रसिदसम्मको नाताले दर्तावालाको हक पुग्ने भन्न मिल्ने देखिँदैन । यस्तै दे.फु.नं. १४२ वादी षडानन्द पाध्या विरूद्ध हरिभक्तसमेतको जग्गा जालसाजी मुद्दामा ०२९।२।२४।३ को फुल बेञ्चबाट निर्णय हुँदा सतिदेवीको अंश भागमा परेको जग्गा निजले आफ्नो नाममा नामसारी नगराई खडानन्दको नाममा दर्ता कायम राखेको भए पनि अंशियार मध्येको वादीको नाममा दर्ता कायम रहेकोसम्म नाताले जग्गा वादीको हकको भन्न ठहराउन मिल्दैन तिरोको हकमा दर्तावालाकै नामबाट तिरो बुझाई रसिद लिएको पनि हुन सक्छ सतीदेवीको हक कायम भइराखेको जग्गा तिरो तिरेको रसिद वादीको नामको हुँदैमा वादीको हुन पनि सक्दैन भन्ने ठहर भइराखेको पनि छ ।
(प्र.नं. १०)
विपक्षी तर्फबाट : अधिवक्ता सुधानाथ पन्त
उल्लिखित मुद्दा : ( दे.फु.नं. १४२, षडानन्द पाध्य वि.हरिभक्तसमेत, मुद्दा जग्गा खिचोला)
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ को महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।
२. मुद्दाको तथ्य यसप्रकार छ : जेठो हामीहरूको बाबु थुमा, माइलो प्रतिवादी गिमीको लोग्ने जोखे, कान्छो फते ३ भाइ ८७ सालमा भिन्न भई जोखेको भागबण्डामा परेको मुरी ।६।१७ निजले रू.९०। मा हाम्रो बाबु थुमालाई राजीनामा गरी दिई सो बाबु थुमाको भागमा परेकोसमेत खेत खला ५ बाबु थुमाका नाममा ९८ सालको मोठमा दर्ता भई भोगी आएको बाबु थुमा २०१५ सालमा र जोखे २०१६ सालमा परलोक भएको जोखेकी स्वास्नी गिमीले बाबु थुमाको नाममा दर्ता भए मध्ये प्रत्येक खलामा आधि आधि गरी मो.नं.७ को खेत मुरी ।३६ मध्ये ।१।१० मो.नं.४ को खेत मुरी ।१५ मध्ये ।३।८४ मो.नं.८ को खेत मुरी ।१० मध्ये ।१।५ मो.नं.१२ को खेत मुरी ।५ मध्ये ।१।५ मो नं.३४ को खेत मुरी ।५।७।४ मध्ये ।।१० समेत जसमा खेत मुरी ।७।१८।४ मिति ०१७।२।७।६ मा आफ्नो नाममा नामसारी दर्ता गराई कामी कवर र तिमाने तौला सिं गिमी मगर्नी साक्षी बसी भा.रू.३००१ मा नन्दलाललाई ०१७।३।८।३ मा राजीनामा रजिष्ट्रेशन पास गराई दिए लिएछन् र भोलाप्रसाद नन्दलालहरूले जग्गामा खिचोला गर्न आएको हुँदा नामसारी दर्ता राजीनामासमेत बदर गरी सो जग्गा हाम्रो हक सदर कायम गरिपाउँ भन्नेसमेत वादी ।
३. जोखेको अंशको खेत थुमाका नाममा ९८ सालको मोठमा एकमुष्ठ दर्ता हुन गए पनि थुमा जोखेसमेतले तिरो तिरी भोग गरी आएको हुँदा जोखेकी स्वास्नी गिमीका नाममा नामसारी गराई गिमीले नन्दलाललाई भा.रू.३००१ मा १७।३।८ मा राजीनामा गरी दिए लिएको हो वादीको हकको जग्गा होइन राजीनामा सदर कायम राखी पाउँ भन्नेसमेत प्रतिवादी ।
४. वादीको हकको जग्गा हक नपुग्ने गिमीले नन्दलाललाई राजीनामा गरेको देखिएकोले सो बिक्री सदर हुन नसक्ने भई आफ्नो परेको थैली नन्दलालले गिमीबाट ऐन बमोजिम भराई लिन पाउने र वादीको हकको जग्गामा प्रतिवादीहरूले हटक खिचोला गरेकोसमेत ठहर्छ भन्ने इलाका अदालत सल्यानको ०१८।११।३०।३ को फैसला ।
५. सो उपर चित्त बुझेन भन्ने प्रतिवादी जि.भोलाप्रसादसमेतको पुनरावेदन परेकोमा झगडा परेको जग्गा हक नपुग्ने गिमीको हक लाग्ने भनी जालसाजबाट झुक्याई दर्खास्त दिन लगाएकोसमेत भनी वादी हर्क सिंको अर्को उजूर परेको जालसाजी मुद्दामा जालसाज नठहरी आज फैसला भएको र जग्गा गिमीकै हकको देखिनाले वादीहरूको दावी पुग्न सक्तैन वादीहरूले झुठ्ठा दावी गरेको र शुरु इन्साफ उल्टी हुने ठहर्छ भन्नेसमेत तत्कालिन जि.अ.सल्यानबाट ०२१।२।१२।२ मा फैसला भएको ।
६. सो उपर चित्त बुझेन भन्ने वादीहरूको पुनरावेदन परेकोमा जालसाजी मुद्दाको मिसिल सामेल रहेको जोखु कवँर आगे भई ९५।५।१५।४ मा वादीको बाबु थुमालाई गरी दिए भनेको लिखतमा लागेको शिर पुछारको कारणीको ल्याप्चे सही भिडाउनालाई भित्री रेखा अप्रष्ट हुँदा भिड्ने नभिड्ने यकिन राय दिन नसकिने भन्ने विशेषज्ञको राय भएकोले त्यस्तो लिखत कागज जाँचको ५ नं.ले प्रमाण नलाग्ने हुँदा उक्त कागज सद्दे कीर्तेमा बयान गरेतर्फ विचार गरिरहनु परेन वादीले ०१७।८।३ मा मालमा दर्खास्त गर्दा कान्छी आमा गिमी कवर्नीको नाममा नामसारी दा.खा.भई नन्दलाल बुढालाई बिक्री भएको बाहेक भन्ने बोली परेको उक्त दर्खास्त झुक्याई जालसाज गरे भनी यिनै वादी हर्क सिंले दिएको जालसाजी मुद्दामा झुक्याएको नठहरी आज यस बेञ्चबाट फैसला भएको र वादी हर्के सिंले विपक्षीहरूको भनाईमा लागी झुठ्ठा दर्खास्त गर्नु पर्ने प्रयोजन नभएकोले नन्दलालसमेतले जग्गामा हटक गरे भन्ने वादीको जिकिर पुग्न सक्तैन इन्साफ तत्कालिन सल्यान जिल्ला अदालतको मनासिव छ भन्ने ०२५।५।१५।६ को डिभिजन बेञ्चबाट फैसला भएको ।
७. यसमा वादी दावीको जग्गा वादीहरूको हक पुग्ने होइन, वादीहरूको जग्गा प्रतिवादीहरूले राजीनामा लिनुदिनु गरी खिचोला गरेनगरेको के हो, सो कुरा निर्णय दिनुपर्ने हुन आएकोछ ।
८. वहसमा उपस्थित हुनु भएका प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले गिमीको लोग्ने जोखेको भागबण्डाको जग्गा निजले हाम्रो बाबु थुमालाई रू.९० मा ९५।५।१५।४ मा राजीनामा गरी दिएकोबाट बाबुको हक भई ९८ सालको मोठमा बाबु थुमाका नाममा दर्ता भएको भनी वादी पक्षले पेश गरेको ९५।५।१५।४ को राजीनामाको कारणीको सहिछाप प्रष्ट नबुझिने भनी विशेषज्ञले लेखी दिएकोबाट त्यस्तो कागज तत्काल प्रचलित कागज जाँचको २० हालको कागज जाँच ५ नं.ले प्रमाण लाग्न नसक्ने हुँदा गिमीको लोग्ने जोखेको भागबण्डाको जग्गामा वादीहरूको हक पुग्न सक्ने कानूनी आधार छैन । आफ्नो लोग्नेको भागबण्डा गिमीले आफ्नो नाममा नामसारी दर्ता गराई बिक्री गरेको कायम हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
९. मिसिल हेर्दा गिमीले नन्दलाललाई राजीनामा गरी दिएको खेतहरू गिमीको लोग्ने जोखेका भागबण्डामा परेको भन्ने कुरा वादीहरूले पनि स्वीकार गरी राखेको पाइन्छ । गिमीको लोग्ने जोखेले हाम्रो बाबु थुमालाई रू.९० मा ९५।१।१५।४ मा राजीनामा गरी दिएकोबाट जोखेको भागबण्डाको खेतसमेत हाम्रो बाबु थुमाको नाममा दर्ता भई भोग तिरो गरी आएको भन्ने वादी पक्षको मुख्य भनाई भएको हकमा सो ९५।१।१५।४ को राजीनामामा लागेको कारणीको ल्याप्चे सहिछाप ज्यादै अप्रष्ट भएको भनी विशेषज्ञले लेखी दिएकोबाट तत्काल प्रचलित कागज जाँचको २० हालको कागज जाँचको ५ नं.ले त्यस्तो कागज प्रमाण लाग्न नसक्ने हुँदा त्यस कागजका आधारमा जोखेको जग्गा हक टुटेको भन्न मिलेन ।
१०. झगडा परेको खेत ९८ सालको मोठमा थुमाका नाममा दर्ता भएको धेरै बर्षको तिरो तिरेको रसिद पनि निज थुमाकै नाममा भएकोले कसो हो भन्ने तर्क उठेको हकमा सो जग्गा गिमीको लोग्ने जोखेको भागबण्डाको होइन भन्न वादीहरूले नसकेको र एकाको अंश भागमा परेको अन्य प्रमाणबाट देखिन्छ भने त्यस्तो जग्गा अंश भाग पाउनेले आफ्नो नाममा नामसारी नगराई अर्को अंशियारकै नाममा दर्ता कायम रहन गएकोमा जस्को अंश भाग हो उसको हक टुटेको कानून बमोजिमको लिखत बेगर दर्ता र जस्का नाममा दर्ता छ उसकै नामबाट चल्ने तिरोभरोको रसिदसम्मको नाताले दर्तावालाको हक पुग्ने भन्न मिल्ने देखिँदैन । यस्तै दे.फु.नं. १४२ वादी षडानन्द पाध्या विरूद्ध हरिभक्तसमेतको जग्गा जालसाजी मुद्दामा ०२९।२।२४।३ को फुल बेञ्चबाट निर्णय हुँदा सतिदेवीको अंश भागमा परेको जग्गा निजले आफ्नो नाममा नामसारी नगराई खडानन्दको नाममा दर्ता कायम राखेको भए पनि अंशियार मध्येको वादीको नाममा दर्ता कायम रहेकोसम्म नाताले जग्गा वादीको हकको भन्न ठहराउन मिल्दैन तिरोको हकमा दर्तावालाकै नामबाट तिरो बुझाई रसिद लिएको पनि हुन सक्छ सतीदेवीको हक कायम भइराखेको जग्गा तिरो तिरेको रसिद वादीको नामको हुँदैमा वादीको हुन पनि सक्दैन भन्ने ठहर भइराखेको पनि छ ।
११. यिनै वादी मध्ये हरसिंगै भनिएको हर्कसिं कवँरले यो मुद्दामा झगडा परेकोसमेत थुमाका नाममा दर्ता भएको खेतहरू थुमा मरेको भनी आफ्नो नाममा नामसारी दर्ता गराउन ०१७।८।३।१ मा सल्यान मालमा दर्खास्त दिँदा आधा गिमीको नाममा नामसारी भएको बाहेक आधा मेरा हकको मेरा नाममा नामसारी गरिपाउँ भन्ने उल्लेख गरेको मालले सर्जमिनसमेत बुझी दर्खास्त जिकिर बमोजिम निजका नाममा दर्ता गरी दिने भन्ने ठहर गरी निज हारसिंगै भनिएको हर्कसिंका नाममा नामसारी दर्ता गरी दिए गराएकोसमेत रहेछ सो नामसारीको दर्खास्तसमेतमा मलाई झुक्याई सहिछाप गराएको भनी निज हर्कसिंले छुट्टै चलाएको जालसाजी मुद्दा पनि यो मुद्दा साथै पेश हुन आएकोमा जालसाज नठहरी आजै यस बेञ्चबाट फैसला भएको सो प्रमाणसमेतका आधारमा आफ्नो लोग्ने जोखेको अंश भागको आधि जग्गा थुमा मरे पछि जोखेकी स्वास्नी गिमीले आफ्नो नाममा नामसारी दिए लिएको सदर नहुने भन्न भएन ।
१२. तसर्थ उपरोक्त कारणहरूबाट हामीहरूको जग्गा राजीनामा लिनु दिनु गरी खिचोला गरेको भन्नेसमेत वादी दावी पुग्न नसक्ने ठहराई २०२५।५।१५।६ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिवै ठहर्छ । कोर्टफी राखेकाले मुद्दा दोहर्याएकोमा अरू सजाय गर्न परेन नियमबमोजिम मिसिल बुझाई दिनु ।
न्या. विश्वनाथ उपाध्याय
न्या. धनेन्द्रबहादुर सिंह
हामीहरूको सहमती छ ।
इति सम्वत् २०२९ साल कार्तिक १५ गते रोज ३ शुभम् ।