शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७२३ - जालसाजी

भाग: १५ साल: २०३० महिना: बैशाख अंक:

निर्णय नं. ७२३           ने.का.प. २०३०

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री राजा ईश्वरीजंगबहादुर सिंह

सम्वत् २०२८ सालको फौ.फु.नं. २८

फैसला भएको मिति : २०२९।६।११।६ मा

निवेदक : जि.पर्सा प्र.जगतपुर मौजे मधुवनी बस्ने सिफती मलाईनी

विरूद्ध

विपक्षी : ऐ.प्र.नौरङ्गीयातर्फ जगतपुर मौजे हसवा बस्ने विश्वनाथ पाध्यासमेत

मुद्दा : जालसाजी

(१)   कीर्ते कागजको ऐन अन्तर्गत जालसाजीमा दावी लिई फैज्दारीमा दर्ता गरेको मुद्दामा, फिरादपत्रमा ४ खण्डको १ खण्ड पाउने अंशियारको वास्तै नगरी भन्ने लेखेकोसम्मबाट, लेनदेन व्यवहारको ऐन प्रयोगमा ल्याउन नमिल्ने ।

      म समेतको अंश हक लाग्ने जग्गा मेरो मञ्जूरी नलिई बिक्री गरेको बदर गरिपाउँ भन्ने दावी लेनदेन व्यवहारको ऐन अन्तर्गत र मसमेतका अंश हक लाग्ने जग्गा मलाई थाहा नदिई जालसाजी राजीनामा लिनु दिनु गरेको बदर गरी जालसाज गरेमा सजाय गरिपाउँ भन्ने दावी कीर्ते कागजको ऐन अन्तर्गत पर्न आउने दुई भिन्न भिन्न विषय हुन् जस्तो कि अदालती बन्दोवस्तको ९ नं.अनुसार लेनदेन व्यवहारको ऐन अन्तर्गत दावी भएको नालेस देवानी हुने र त्यस्तो नालेस दर्ता गर्दा कोर्टफी ऐन, २०१७ अनुसार लाग्ने कोर्टफीसमेत दाखिल गर्नु पर्ने हुन्छ कीर्ते कागजको ऐन अन्तर्गतको नालेस फौज्दारी हुने र त्यस्तो नालेस गर्दा कोर्टफी राख्नु पर्दैन प्रस्तुत नालेस लेनदेन व्यवहारको ऐन अन्तर्गत दावी लिई कोर्टफीसमेत राखी देवानीमा दायर गरेको नभई कीर्ते कागजको ऐन अन्तर्गत जालसाजीमा दावी लिई फैज्दारीमा दर्ता गरेकोले फिरादपत्रमा ४ खण्डको १ खण्ड पाउने अंशियारको वास्तै नगरी भन्ने लेखेकोसम्मबाट लेनदेन व्यवहारको ऐन प्रयोगमा ल्याउन नमिल्नेसमेत हुनाले प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको १० नं.या ४० नं.कुन नम्बरको हदम्याद लाग्ने हो भन्ने प्रश्नै उठ्न सक्तैन कीर्ते कागजको ३ नं.अन्तर्गतको वादी दावी हुँदा सोही ऐनको १८ नं.को हदम्याद लाग्ने प्रष्ट छ त्यसकारण नारायणी अञ्चल अदालतले लेनदेन व्यवहारको ४० नं.को हदम्याद कायम गरी म्यादभित्रको उजूरी भनी ४ खण्डको १ खण्ड राजीनामा बदर गर्ने गरेको र डिभिजन बेञ्चले लेनदेन व्यवहारको १० नं.को हदम्याद कायम गरी सो ऐनको हदम्याद नाघेको भनी त्यस आधारमा नारायणी अञ्चल अदालतको उल्टी गरेकोसमेत मिलेको देखिएन ।

(प्र.नं. १३)

निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल

विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे

फैसला

     प्र.न्या. रत्नबहादुर बिष्ट

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई यस बेञ्च समक्ष पेश हुन आएको छ ।

      २.    मुद्दाको तथ्य यसप्रकार छ : ससुरा काली वर्णको ४ छोरा मध्ये जेठा जदु माहिला मेरो लोग्ने रघुनाथ साहिँला विपक्षी हनुमान कान्छा विपक्षी सुखा हुन जेठाजु जदु र मेरो लोग्नेसमेत परलोक भइसकेपछि हनुमानका नाउँका हसवाको जग्गा विगाहा ।।२ मध्ये । कठ्ठा लिई म १५ सालमा चुलो मानो अलग गरी बसी सामिलतामा रहेको जग्गा बाली सालसाल बाँडी दिने गरेको लिई निर्वाह गरी आएको थिएँ सो । कठ्ठा जग्गा ०१९।३।५ गते मेरो छोराको नाउँमा राजीनामा गरी दिएको पास नगराई कपाली सरह गराई लिएतर्फ छुट्टै नालेस दिने छु सो जग्गासमेत विपक्षी हनुमानले आफ्नो नम्बरी भनी निज हनुमान ऋणी विश्वनाथ धनी देवमुनी सुखा साक्षी भई म ४ खण्डको १ खण्ड अंश पाउने अंशियारको वास्तै नगरी भा.रू.३२०१ थैली देखाई जग्गा विगाहा १ मिति ०१९।६।७ मा घरायसमा राजीनामा लिनु दिनु गरी ०१९।१२।२ गते पास गराई दिए लिएछन् मेरो अंश पचाउन जालसाज गरी गराई लिए दिएको बदर गरी विपक्षी ४ जनालाई जालसाज गरे गराएमा सजाय गरिपाउँ भन्नेसमेत वादी ।

      ३.    जदु र वादीको लोग्ने रघुनाथ मरेपछि जानकार लोग्नेमानिस हनुमान हुन आएको र जग्गा दर्ता पनि निजकै नाउँमा रहेकोबाट राजीनामा रजिष्ट्रेशन पास गराई लिएको जालसाज ठहर्न नसक्ने र लेनदेन व्यवहारको १० नं.लागू भएको मानिए पनि सो ऐनको म्यादभित्रको उजूर नभएकोसमेत हुँदा सोसमेत विचार भई न्याय पाउँ भन्ने विश्वनाथको प्रतिवादी ।

      ४.    दाविबमोजिमको वादीको अंशमा नै जालसाज गरेको होइन भन्नेसमेत देवमुनीको प्रतिवादी ।

      ५.    जग्गा कठ्ठा । वादीलाई एकलौटी खान दिएको भए त्यस कुराको लेख प्रमाण दिन सक्नुपथ्र्यो हामी हनुमान सहनीको एकलौटी जग्गा भएकोले विश्वनाथलाई राजीनामा रजिष्ट्रेशन पास गरी दिएको हो वादीको अंश मार्न जालसाज गरेको होइन उक्त जग्गा सगोलमै वादीको हक लाग्ने भए लिखत पास गर्दाको बखत कायम रहेको साविक साहु आसामीको ८ नं. बमोजिम ६ महिना भित्र उजूर गर्नु पर्ने सो नभए पछि उक्त लिखत सदर भइसकेको जालसाज ठहर्न नसक्ने भन्नेसमेत हनुमान सहनीको प्रतिवादी ।

      ६.    वादी अंशियार हो भन्ने कुरामा मुख मिलेकै भिन्न भएको प्रमाण पेश गर्न नसकेको साक्षी विसुन दयाल र राजवंशीले वादीसमेतको अंश लाग्ने जग्गा हो भनी लेखी दिएकोसमेत हुँदा वादीसमेतको अंश लाग्ने जग्गा विश्वनाथलाई ०१९।१२।२ मा पास गरी दिएकोमा ४ खण्डको १ खण्ड बदर हुने र प्रतिवादीहरूले जालसाज गरेको ठहर्छ भन्नेसमेत पर्सा जि.अ.को फैसला ।

      ७.    सो उपर प्रतिवादी विश्वनाथको पुनरावेदन परेकोमा वादी अंशियार होइन भन्न नसकेको एकाघर साथ सगोलमा नबसी बेगल बसेका अंशियारले आफ्नोसमेत हक लाग्ने सम्पतिमा दावी गरी दिएको नालेस लेनदेन व्यवहारको ४० नं.ले म्याद नाघेको नभई म्यादभित्रकै हुन आउने देखिएको र शुरुबाट जालसाजी ठहराएको हकमा दर्तावालाले राजीनामा गरी दिएको र थैली हाली लिनु दिनु गरी लिए दिएमा साहु र ऋणी दुवैको मुख मिलेको कुरामा निराधार जालसाजी भन्न नमिल्ने हुनाले जालसाजी लिनु दिनु गरेको ठहर्दैन वादीको अंश हक लाग्ने ४ खण्डको १ खण्ड जग्गाको राजीनामा बदर गर्ने ठहराएको शुरुको मनासिव भन्नेसमेत नारायणी अञ्चल अदालतको फैसला ।

      ८.    सो उपर प्रतिवादी विश्वनाथको पुनरावेदन परेकोमा ०२७।८।१८।५ को डिभिजन बेञ्चबाट निर्णय हुँदा अञ्चल अदालतले जालसाजी नठहराएतर्फ वादीको पुनरावेदन नपरेको हुनाले विचार गरी रहन परेन फिरादपत्रमा ४ खण्डको १ खण्ड पाउने अंशियारको वास्ता नगरी भन्ने र अंश पचाउनालाई जालसाजी गरी गराई लिए दिएको भन्ने लेखिएकोले ४ खण्डको १ खण्ड बदर हुने हो कि भन्नालाई लेनदेन व्यवहारको १० नं.अनुसार रजिष्ट्रेशन पास भएकोमा रजिष्ट्रेशन पास भएको मितिले रजिष्ट्रेशन पास गर्नु नपर्नेमा दाखिल खारेज भएको मितिले ३५ दिनभित्र उजूर गर्नु पर्ने प्रस्तुत फिरादपत्र ०२१।३।२६ मा मात्र दर्ता भएको देखिएकोले म्यादभित्रको नहुँदा ४ खण्डको १ खण्ड बदर गर्ने हुन्छ भनी ठहराउन न्यायोचित देखिएन ४ खण्डको १ खण्ड बदर गर्ने ठहराएको शुरु पर्सा जि.अ.तथा नारायणी अञ्चल अदालतको इन्साफ मिलेको देखिएन भन्ने ठहर भएको ।

      ९.    यस बेञ्च समक्ष बहसको लागि उपस्थित हुनु भएको निवेदक वादीतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले अरू अंशियारसमेतका अंश हक लाग्ने जग्गा अरूको मञ्जूरी नलिई एकजना अंशियारले मात्र बेचेकोमा उजूर गर्नालाई अंश नभई एकाघर सँग भई बसेका अंशियारको लागिमात्र लेनदेन व्यवहारको १० नं.को हदम्याद लाग्ने हो अंश नभएको तर मानु छुट्टी बेगल घरमा बसेको अंशियारको लागि उक्त लेनदेन व्यवहारको १० नं.को हदम्याद लाग्दैन यस्तोमा उक्त लेनदेन व्यवहारको ४० नं. बमोजिम २ बर्षको हदम्याद लाग्ने र सो हदम्यादभित्र मेरो पक्षको नालेस परेकै छ । डिभिजन बेञ्चले लेनदेन व्यवहारको १० नं.को हदम्याद लगाएको मिलेको छैन नारायणी अञ्चल अदालतले लेनदेन व्यवहारको ४० नं.लगाई हदम्यादभित्रकै नालेस कायम गरी ४ खण्डको १ खण्ड बदर गर्ने ठहराएको कायम हुनुपर्छ भन्नेसमेत र प्रतिवादी विश्वनाथतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले अंश नभएका अंशियारसमेतको अंश हक लाग्ने जग्गा एक जनाले बेचेकोमा उजूर गर्नालाई लेनदेन व्यवहारको १० नं.कै हदम्याद लाग्ने हो तर प्रस्तुत मुद्दामा कीर्ते कागजको ऐन अन्तर्गत जालसाजीमा वादीको दावी छ कोर्टफी राखी लेनदेन व्यवहारको ऐन अन्तर्गत वादीले नालेस गरेकी छैन फौज्दारी मुद्दालाई देवानीमा परिणत गरी इन्साफ गर्न मिल्दैन नारायणी अञ्चल अदालतले जालसाजी नठहराएकोमा वादीले पुनरावेदन नगरेकोले ४ खण्डको १ खण्ड बदर हुने प्रश्न आउँदैन भन्नेसमेत बहस गर्नुभयो ।

      १०.    यसमा कुन ऐनको हदम्याद लाग्ने हो भन्ने विवादग्रस्त प्रश्न उपर नै सर्वप्रथम विचार गर्नु पर्ने र उक्त प्रश्नको निराकरणको लागि वादीको नालेस दावी कुन ऐन अन्तर्गतको छ सो नै मुख्य रूपले हेर्नुपर्ने हुन आएको छ ।

      ११.    यस प्रश्नमा वादीको नालेस हेर्दा म ४ खण्डको १ खण्ड अंश पाउने अंशियारको वास्तै नगरी भा.रू.३२०१। थैली हाली जग्गा बिगो १ राजीनामा गरी दिए लिएछन् मेरो अंश पचाउनालाई जालसाज गरेको कुरा तिनै विपक्षीहरूबाट थाहा पाएको हुनाले नालेस दिन आएको छु मेरो अंश पचाउनालाई जालसाज गरी गराई लिए दिएको बदर गरी विपक्षी ४ जनालाई जालसाज गरे गराएमा कानूनबमोजिम सजाय गरिपाउँ भन्ने दावी लिएको पाइन्छ जुन दावी कीर्ते कागजको ३ नं.अन्तर्गत परेको देखिन आउँछ ।

      १२.   वादीले नालेस गर्दा जे जस्तो दावी लिएको छ सो दावीसम्मको कुरामा कानून बमोजिम अदालतले इन्साफ गरी दिनुपर्ने हुँदा वादीले दावी गरेकै कुरामा लागू हुने कानूनको म्यादभित्र वादीको नालेस परेको छ छैन भनी विचार गर्नु पर्ने हो वादीको दावी नै नभएको कुरामा अदालतले इन्साफ ठहर गर्न नमिल्ने हुनाले दावी बाहेकको कुरालाई लिई दावी नै नभएको विषयको ऐनको हदम्याद सम्बन्धी प्रश्न उठाई त्यसको विवेचना गरी निष्कर्षमा पुग्नु कानूनसंगत हुँदैन ।

      १३.   म समेतको अंश हक लाग्ने जग्गा मेरो मञ्जूरी नलिई बिक्री गरेको बदर गरिपाउँ भन्ने दावी लेनदेन व्यवहारको ऐन अन्तर्गत र मसमेतका अंश हक लाग्ने जग्गा मलाई थाहा नदिई जालसाजी राजीनामा लिनु दिनु गरेको बदर गरी जालसाज गरेमा सजाय गरिपाउँ भन्ने दावी कीर्ते कागजको ऐन अन्तर्गत पर्न आउने दुई भिन्न भिन्न विषय हुन् जस्तो कि अदालती बन्दोवस्तको ९ नं.अनुसार लेनदेन व्यवहारको ऐन अन्तर्गत दावी भएको नालेस देवानी हुने र त्यस्तो नालेस दर्ता गर्दा कोर्टफी ऐन, २०१७ अनुसार लाग्ने कोर्टफीसमेत दाखिल गर्नु पर्ने हुन्छ कीर्ते कागजको ऐन अन्तर्गतको नालेस फौज्दारी हुने र त्यस्तो नालेस गर्दा कोर्टफी राख्नु पर्दैन प्रस्तुत नालेस लेनदेन व्यवहारको ऐन अन्तर्गत दावी लिई कोर्टफीसमेत राखी देवानीमा दायर गरेको नभई कीर्ते कागजको ऐन अन्तर्गत जालसाजीमा दावी लिई फैज्दारीमा दर्ता गरेकोले फिरादपत्रमा ४ खण्डको १ खण्ड पाउने अंशियारको वास्तै नगरी भन्ने लेखेकोसम्मबाट लेनदेन व्यवहारको ऐन प्रयोगमा ल्याउन नमिल्नेसमेत हुनाले प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको १० नं.या ४० नं.कुन नम्बरको हदम्याद लाग्ने हो भन्ने प्रश्नै उठ्न सक्तैन कीर्ते कागजको ३ नं.अन्तर्गतको वादी दावी हुँदा सोही ऐनको १८ नं.को हदम्याद लाग्ने प्रष्ट छ त्यसकारण नारायणी अञ्चल अदालतले लेनदेन व्यवहारको ४० नं.को हदम्याद कायम गरी म्यादभित्रको उजूरी भनी ४ खण्डको १ खण्ड राजीनामा बदर गर्ने गरेको र डिभिजन बेञ्चले लेनदेन व्यवहारको १० नं.को हदम्याद कायम गरी सो ऐनको हदम्याद नाघेको भनी त्यस आधारमा नारायणी अञ्चल अदालतको उल्टी गरेकोसमेत मिलेको देखिएन ।

      १४.   जालसाजीतर्फ कीर्ते कागजको १८ नं.को म्याद २ बर्ष भित्र वादीको यो नालेस परेको भए पनि वादी दावी अनुसार जालसाज गरेको ठहरेमात्र ४ भागको १ भाग बदर हुन सक्नेमा जालसाजबाट लिनु दिनु गरेको ठहर्दैन भनी नारायणी अञ्चल अदालतले छिने उपर वादीले पुनरावेदन नगरी चित्त बुझाई बसेको देखिन आएकोसमेत हुँदा यो मुद्दाबाट ४ भागको १ भाग राजीनामा बदर हुन्छ भनी ठहराउन मिल्ने कुरै भएन जालसाजी नठहराएको नारायणी अञ्चल अदालतको फैसला उपर वादीको पुनरावेदन नपरेकोले त्यसतर्फ विचार गरिरहनु नपर्ने ठहराएतर्फ ०२७।८।१८।५ को डिभिजन बेञ्चको मनासिवै छ डिभिजन बेञ्चको फैसलामा केही परिवर्तन भएकोले मुद्दा दोहर्‍याएमा निवेदक वादीलाई केही गर्नु पर्दैन नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

न्या. वासुदेव शर्मा,

न्या. राजा ईश्वरीजङ्गबहादुर सिंह

 

हामीहरूको सहमती छ ।

 

इति सम्वत् २०२९ साल कार्तिक ११ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु