निर्णय नं. ७२४ - अंश मानाचामल

निर्णय नं. ७२४ ने.का.प. २०३०
फुल बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
सम्वत् २०२८ सालको देवानी फुल बेञ्च नम्बर १५४
फैसला भएको मिति : २०३०।९।२०।६ मा
निवेदक : का.जि.बागबजार बस्ने लक्ष्मीप्रसाद दुलाल
विरूद्ध
विपक्षी : केन्द्रिय कारागारमा थुनामा रहेकी भुवनेश्वरी बाहुनीसमेतको संरक्षक का.जि.बत्तिसपुतली बस्ने खिलकुमारी जैशीनी
मुद्दा : अंश मानाचामल
(१) लोग्नेले खान लाउन नदिएको स्वास्नीले कुनै किसिमबाट खान लाउन पाई राखेको भए पनि मानाचामल दिन पर्ने कानूनी दायित्वबाट खान लाउन नदिने लोग्नेले पन्छिन पाउँछ भन्न नमिल्ने ।
निज बौलाही भुवनेश्वरी जेलमा थुनी राखेको हुँदा निजले खान लाउन जेलबाटै पनि कानून अनुसार पाई राख्ने भएकोले खान लाउन नदिने लोग्नेबाट मानाचामल पाउँदैन कि भनी शङ्का गर्नलाई पनि प्रचलित मुलकी ऐन अंशबण्डाको १० नं.मा छोरा स्वास्नीलाई खान लाउन नदिई राख्न पनि हुँदैन । इज्जत आमद अनुसार खान लाउन दिनैपर्छ भन्ने कानूनी व्यवस्था भएको देखिएकोले सो कानूनी व्यवस्था अनुसार खान लाउन नदिएमा लोग्नेले स्वास्नीलाई खान लाउन वापतको मानाचामल दिन पर्ने कानूनी दायित्व भएको देखिन्छ । त्यस्तो बौलाहा भई उपचार निमित्त जेलमा थुनी राखेको वादी भुवनेश्वरीलाई औषधी उपचारसमेत गर्ने कर्तव्य हुने लोग्ने प्रतिवादीले खान लाउन नदिएको स्वास्नीले अरू कुनै किसिमबाट खान लाउन पाई राखेको रहेछ भने पनि उक्त कानूनी व्यवस्थाले लोग्ने स्वास्नीलाई खान लाउन निमित्त मानाचामल दिन पर्ने कानूनी दायित्वबाट खान लाउन नदिने लोग्नेले पन्छिन पाउँछ भन्न नमिल्ने हुनाले प्रतिवादीबाट भुवनेश्वरीले खान लाउन मानाचामल पाउने देखिएकोले त्यसतर्फ अरू कुनै शंङ्का गर्नु परेन ।
(प्र.नं. १०)
फैसला
न्या. बब्बरप्रसाद सिंह
१. प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट निर्णय भएको दोहर्याई पाउँ भनी निवेदक लक्ष्मीप्रसादको निवेदन परी न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ को महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।
२. मुद्दाको तथ्य यसप्रकार छ : विपक्षीसँगको मुद्दामा २०१६ साल कार्तिक १८ गते फैसला हुँदा अंशतर्फ कुनै कारवाई नगरी मानाचामल वापत रू.७२०। भरी पाउने गरेको यो साल तकको भन्ने कुनै उल्लेख नभएको विपक्षीको स्वास्नी भुवनेश्वरी १६ सालदेखि बौलाही भई निजलाई र निजको छोरा नावालख फणिन्द्रप्रसादलाई भए नभएको खर्च लगाई ऋण गरी औषधी खर्च र खाना खर्चसमेत गरी दुवैलाई पालन पोषण गरी आएको दुवैको अंश मानाचामल सरकारबाटै विपक्षीबाट दिलाई भराई नावालखको हक नपुगेसम्म सरकारकै जिम्मा राखी पाउँ भन्नेसमेत संरक्षक खिलकुमारीको निवेदनमा मुद्दा फैसला भएपछिको मानाचामल बारेमा ठाडै बुझी कानून बमोजिम गर्नु भन्ने बक्स भई आएको हुकुम प्रमाङ्गी बमोजिम कोर्टफीको हकमा पछि ठहरे बमोजिम लिने गरी हाल पक्राउ नगरी कानून बमोजिम गर्नु भन्ने स.अ.सिंगल बेञ्चबाट आदेश भएको र दे.ई.अ.बाट १६।७।१८ मा मानाचामल रू.७२०। भुवनेश्वरीले पाउने ठहरी फैसला भई भरी भराउतर्फ कारवाई चलिरहको भुवनेश्वरी मेरो बहिनी निजको छोरा फणिन्द्रप्रसाद मेरो छोरा नाता पर्ने हुन भुवनेश्वरी १७ सालदेखि मगज बिग्री १७ साल पौषदेखि जेलमा थुनी राखेको २० साल बैशाखमा औषधी गर्न झिकेको निको नभएबाट १५—२० दिनको बाद जेलमै थुनामा राखेको २३ साल बैशाख २७ गते डाक्टरको सिफारिसले जेलबाट छुटिछन् घरमा लगी उपचार गर्दा केही फाइदा भएको जस्तो थियो आफ्ना साथमा खर्च नहुँदा निज भुवनेश्वरीलाई २३ साल आश्विन ४ गतेदेखि जेलमै थुनी राखेको छ बहिनीलाई औषधी उपचार खानपान नावालख छोरालाई पनि खानापिना हेरविचार सबै मैले नै गरी आएको अघि मानाचामल मुद्दा फैसला हुँदा ७२०। मात्र भरी पाएको हुँदा सो मुद्दा परेको १४ साल चैत्र ३ गतेदेखि फैसला भएको १६।७।१८ तक मध्ये ७२०। बर्षको मानाचामलको हिसाबको कटाई बाँकी फैसला भएको दिनसम्मको सालको रू.७२०। का दरले मानाचामल भराई पाउँ फैसला भएपछि १६।७।१९ गतेदेखि अहिलेसम्मको भुवनेश्वरीलाई लत्ता कपडा औषधी उपचारको लागि मासिक रू.४०। का दरले र नावालख फणिन्द्रप्रसादलाई मासिक रू.६०। खाना खर्चको निमित्तसमेत गरी दुवै आमा छोरालाई मासिक रू.१००। का दरले आजसम्मको मानाचामल भराई औषधी उपचार खाना निमित्त मैले ऋण गरी खर्च गरेको रू.५०००। पाँच हजार मलाई कटाई बाँकी रूपैयाँ मेरै जिम्मा वा सरकारको पत्याएको जिम्मा राखी पाउँ भन्नेसमेत संरक्षक खिलकुमारीको बयान भएको ।
३. भुवनेश्वरी मेरो श्रीमती फणिन्द्र मेरो छोरा हुन् निजलाई मैले खान लाउन नदिई निकाला गरेको होइन ११ सालदेखि म तराईतर्फ गई वनपालेमा भर्ना भएर स्वास्नीलाई साथमा लाने पठाउने गर्दै थिएँ १२ साल बैशाखमा जिवनपुर चौकीबाट खर्च बर्च दिई प्लेनबाट घर पठाएको स्वास्नीलाई फकाई १५ सालमा खिलकुमारीले लगी मानाचामलमा नालेस गराइछन तेरो स्वास्नी पागल भएछ भन्ने खबर पाई जेठानलाई चिठी लेखी खिलकुमारीको पन्जाबाट छुटाई १६ सालमा म भएमा पठाई दिए औषधी गर्न लगाउँदा इनारमा फाल हाल्न गई इनारबाट झिक्नु परेको जेठानले घरैमा लगी उपचार गर्नु भएकोमा पगलीको उपद्रव बढेकोले सदर जेलमा थुनिन पुगेछ निजको मानाचामल मुद्दामा गौर अमीनी मार्फत अपील म्याद पाएको थिएँ ७ बर्षपछि यिनै खिलकुमारीको जाल परिपञ्चबाट जायजात गराउने गरेकी छ पगली ठिक नभएकोले १६ सालदेखि मेरो रमादेवीसँग सम्बन्ध भइसकेको र २१ सालदेखि काठमाडौं सरकलमा सरुवा भई अद्यपि काम गरिरहेको मौका २३ साल जेष्ठतिर पगलीलाई थुनाबाट झिकी यो मुद्दा दायर गराउने गरेपछि थुनामा रखाएकी छ छोरा फणिन्द्र पनि यही गए आषाढसम्म मेरो साथमा भएको आफ्नो गच्छेले भेटेसम्म हेरविचार औषधीसमेत गरी आएको घर तर्फ अरू हकदार प्रष्ट छँदाछँदै पोईल गई सम्बन्ध छुटी सकेको इविसमेत परेकी खिलकुमारीले जालपरिपञ्च गरी मानाचामलको बिगो कसी झुठ्ठा उजूर गर्दैमा सदर हुनुपर्ने होइन उपद्र नगर्ने भए पगलीलाई साथै राखी खान दिन मञ्जूर छ उजूर खारेज गरिपाउँ छोरा मेरै साथ भएको हुँदा मानाचामल दिनु नपर्ने भन्नेसमेत लक्ष्मीप्रसाद दुलालको बयान ।
४. मेरो बाबु लक्ष्मीप्रसाद भए पनि वीरगञ्जमा नोकरी गर्ने भएकोले मलाई हेरविचार गर्ने जेठी आमा देवकुमारी भएकोले मेरो संरक्षण गर्ने देवकुमारी भएको खिलकुमारीको उजूर अनुसार पालताल गरेको हैन भन्नेसमेत देवकुमारीको रोहवरमा नावालख फणिन्द्रप्रसादले गरेको बयान ।
५. बौलाही भुवनेश्वरीका निमित्त उजूरी अनुसार खिलकुमारीले खर्च गरेको छैन नावालख फणिन्द्रलाई उजूरी अनुसार पालताल गरेको पनि हैन । उजूरी झुठ्ठा हो भन्नेसमेत देवकुमारीको बयान ।
६. निवेदकले नावालख फणिन्द्रप्रसादको समेत संरक्षक म हुँ भन्नु भएकोमा नावालाख फणिन्द्रप्रसादले मेरो संरक्षण खिलकुमारी हुनु हुन्न भनी विरोध गरेकोले फणिन्द्रप्रसादको हकमा कारवाई चल्न नसक्ने मुद्दा फैसला भएपछिको मानाचामलमा सम्म ठाडै बुझ्ने हुकुम प्रमाङ्गी बक्स भएको हुनाले रू.५०००। खर्च भएको दिलाई पाउँ भन्नेतर्फ यसबाट कारवाई नचल्ने खिलकुमारीको बहिनी भुवनेश्वरीको यो प्रतिवादी उपर उजूर परेकोमा रा.का.दे.पै.बाट साल १ को मानाचामलको बिगो रू.७२०। भरी पाउने गरी १६।७।१८ मा फैसला भएको देखिनाले भुवनेश्रीलाई पहिले देखि नै खान लाउन नदिई निकाला गरी राखेको देखिने त्यसै अवस्था १७ सालदेखि भुवनेश्वरी मगज बिग्रेकी भन्ने देखिने खिलकुमारीले नै पालताल गरेको भन्ने बयानसमेत भएको भुवनेश्वरीको जीवन निर्वाहको लागि खान लाउनको बन्दोवस्त र औषधी उपचारसमेत गरिरहनु पर्ने प्रतिवादीले औषधी उपचारसमेत गरेको नदेखिनाले प्रतिवादी लक्ष्मीप्रसादबाट १६।७।१९ गतेदेखि २५।१२।८ गते तकको महिना १ को रू.४०। का दरले मानाचामलको बिगो रू.४५०५। भुवनेश्वरीले भरी पाउने ठहर्छ भन्नेसमेत ०२५।१२।८ को बागमती अञ्चल अदालतको फैसला ।
७. उक्त इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन परेकोमा डिभिजन बेञ्चबाट निर्णय हुँदा भुवनेश्वरी बौलाहा भई २३ साल आश्विन ४ गतेदेखि थुनिएको निज विरामी परेको बखतको मानाचामल नपाउने भनी केही शंका गर्न पनि लोग्नेबाट खाना सबै वापत पाउने मानाचामल भएको प्रतिवादीले के कसो गरी खाएको हो भनी नपाउने गर्न मनासिव नदेखिएकोले र नावालख फणिन्द्रप्रसाद उपर मुद्दा नचल्ने भएकोले भुवनेश्वरीको हकमा मानाचामल भराई पाउँ भनेको दावा मनासिव ठहराई बा.अं.अ.बाट गरेको इन्साफ मनासिव ठहर्छ भन्ने ०२६।११।३० मा निर्णय भएको रहेछ ।
८. प्रस्तुत केसमा वादी दावी बमोजिमको मानाचामल पाउने नपाउने के हो, पाउने भए कहिले देखि कुन मितिसम्मको मानाचामल भरी पाउने हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
९. तत्सम्बन्धमा विचार गर्दा २०१७ साल बैशाखदेखि वादी भुवनेश्वरी बौलाहा भएको भन्ने वादीको संरक्षक दिलकुमारीको र प्रतिवादी लक्ष्मीप्रसादसमेत वादी प्रतिवादी दुवैको भनाई भएको र केन्द्रिय कारागार कार्यालय बागमती अञ्चल काठमाडौंबाट प्राप्त जवाफबाट पनि भुवनेश्वरी २३ साल आश्विन ४ गतेदेखि बौलाहा भई औषधी उपचार निमित्त थुनामा रहेको छ भन्नेसमेत देखिन आएको छ निज बौलाही भुवनेश्वरीलाई प्रतिवादी लक्ष्मीप्रसादले खान लाउन नदिएको ठहरी रू.७२०। मानाचामलको बिगो पाउने गरी २०१६।७।१८ मा रा.का.दे.पै.बाट फैसला भएको देखिएबाट अघिदेखि वादी भुवनेश्वरीलाई प्रतिवादी लोग्नेले खान लाउन नदिएको रहेछ भन्ने देखिन आउने, सो फैसला भएपछि पनि निज बौलाही भएको वादी भुवनेश्वरीलाई प्रतिवादीले औषधी उपचार गरी खान लाउन दिएको भए खान लाउन दिएको छ भन्ने देखिने प्रमाण प्र.लक्ष्मीप्रसादले दिन सक्नुपर्ने सो नसकेकोलेसमेत वादीलाई खान लाउन दिएको नदेखिएकोले प्रतिवादीबाट वादीले खान लाउन वापतको मानाचामल पाउँदैन भन्न नमिल्ने हुँदा खान लाउन वापतको मानाचामल पाउने देखिन आउँछ ।
१०. निज बौलाही भुवनेश्वरी जेलमा थुनी राखेको हुँदा निजले खान लाउन जेलबाटै पनि कानून अनुसार पाई राख्ने भएकोले खान लाउन नदिने लोग्नेबाट मानाचामल पाउँदैन कि भनी शङ्का गर्नलाई पनि प्रचलित मुलकी ऐन अंशबण्डाको १० नं.मा छोरा स्वास्नीलाई खान लाउन नदिई राख्न पनि हुँदैन । इज्जत आमद अनुसार खान लाउन दिनैपर्छ भन्ने कानूनी व्यवस्था भएको देखिएकोले सो कानूनी व्यवस्था अनुसार खान लाउन नदिएमा लोग्नेले स्वास्नीलाई खान लाउन वापतको मानाचामल दिन पर्ने कानूनी दायित्व भएको देखिन्छ । त्यस्तो बौलाहा भई उपचार निमित्त जेलमा थुनी राखेको वादी भुवनेश्वरीलाई औषधी उपचारसमेत गर्ने कर्तव्य हुने लोग्ने प्रतिवादीले खान लाउन नदिएको स्वास्नीले अरू कुनै किसिमबाट खान लाउन पाई राखेको रहेछ भने पनि उक्त कानूनी व्यवस्थाले लोग्ने स्वास्नीलाई खान लाउन निमित्त मानाचामल दिन पर्ने कानूनी दायित्वबाट खान लाउन नदिने लोग्नेले पन्छिन पाउँछ भन्न नमिल्ने हुनाले प्रतिवादीबाट भुवनेश्वरीले खान लाउन मानाचामल पाउने देखिएकोले त्यसतर्फ अरू कुनै शंङ्का गर्नु परेन ।
११. अब कुन साल मितिदेखि कुन साल मितिसम्मको मानाचामल भरी पाउने हो डिभिजन बेञ्चले मानाचामल भराई दिने गरेको मिले नमिलेको के हो भन्ने तर्फ विचार गर्दा अघि मुद्दा परी फैसला भएपछिको मानाचामल बारेमा ठाडै बुझी कानूनबमोजिम गर्नु गराउनु भन्ने बक्स भई आएको हूकुम प्रमाङ्गी बमोजिम दायर भएको प्रस्तुत मुद्दा अघि वादीले माना भरी पाउने ठहरी फैसला भएको मिति ०१६।७।१८ गतेदेखि पछिको मिति ०१६।७।१९ गते देखिएको मानाचामल पाउने देखिन आउँछ र सो मितिदेखि बागमती अञ्चल अदालतबाट फैसला भएको मिति ०२५।१२। ८ सम्मको मानाचामलको बिगो रू.४५०५। भराई दिने गरेको इन्साफ सदर गरी डिभिजन बेञ्चबाट निर्णय भएको देखिएको वादी भुवनेश्वरीको संरक्षक खिलकुमारीले उक्त हुकुम प्रमाङ्गी बमोजिम मानाचामलको दावी लिई ०२३।१०।१४ मा गरेको बयानमा ०१६।७।१९ गतेदेखि आजसम्मको मानाचामल भराई पाउँ भन्ने दावी लिएको देखिएबाट सो वादी दावी बमोजिम बयान भएको मिति ०२३।१०।१४ गतेसम्मको मानाचामल पाउने र वादी दावी भन्दा बढी फैसला भएको मितिसम्मको मानाचामल भरी पाउँछ भन्न मिल्ने देखिँदैन, यस्तै दे.फु.नं. २२२—२२३ को अंश मानाचामल मुद्दामा वादीले दावी गरेसम्मको मानाचामल पाउने त्यसदेखि पछि फैसला हुँदा तकको मानाचामल भरी नपाउने ठहराई ०२०।८।१३ मा फुल बेञ्च निर्णय भएकोसमेत देखिएकोले प्रस्तुत मुद्दामा वादी दावी बमोजिम १६ साल कार्तिक १९ देखि बयान भएको मिति ०२३।१०।१४ गते तक ७ बर्ष २ महिना २५ दिनसम्मको वादी दावी अनुसार महिनाको रू.४०। ले हुने जम्मा रू.३४७३।३० मात्र वादीले प्रतिवादीबाट मानाचामलको बिगो भरी पाउने देखिन्छ ।
१२. तसर्थ उपरोक्त उल्लिखित कारणले वादीले आजसम्मको मानाचामल पाउँ भनी ०२३।१०।४ गते बयान भएको मितिसम्मको मानाचामलको बिगो रू.३४७३।३० मात्र भरी पाउनेमा त्यसदेखि पछिको फैसला भएको मिति ०२५।१२।८ तक २ बर्ष १ महिना २४ दिनको बिगो रू.१०३१।७० बढी मानाचामल भराई दिने गरेको बागमती अञ्चल अदालतको इन्साफ सदर गरेकोसम्म डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । अरू बागमती अञ्चल अदालतको सदर गरेको डिभिजन बेञ्चको इन्साफ मनासिव ठहर्छ । तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल नियमबमोजिम बुझाई दिनु ।
तपसील
वादी भुवनेश्वरी दुलालनीके निजले प्र.लक्ष्मीप्रसादबाट मानाचामलको बिगो रू.४५०५। बागमती अञ्चल अदालतको ०२५।१२।८ को फैसलाले भराई दिने गरेकोमा हाल माथि इन्साफ खण्डमा लेखिएबमोजिम मानाचामल को बिगो रू.३४७३।३० मात्र भरी पाउने ठहरेकोले बागमती अञ्चल अदालतको फैसला बमोजिम गर्नु परेन सो लगत काटी दिने हाल भरी पाउने ठहरेको बिगो रू.३४५३।३० भरी पाउँ भनी प्रतिवादीको जायजात देखाई नेपाल कोर्टफी ऐन, २०१७ को संशोधित दफा १५(११) को म्याद ३ बर्ष भित्र वादीको दर्खास्त परे कानूनको रीत पुर्याई प्रतिवादी लक्ष्मीप्रसादबाट वादीलाई भराई दिनु भनी कानूनबमोजिम लगत दिने.....................१
प्रतिवादी लक्ष्मीप्रसाद के देहाएको कलममा देहाय बमोजिम गर्नु भनी ऐ....................२
आदेशानुसार कोर्टफी नरही दायर भएकोमा लाग्ने कोर्टफी रू.२००।२० प्रतिवादीबाट असूल गर्ने गरी बागमती अञ्चल अदालतबाट ०२५।१२।८ मा भएको फैसला बमोजिम सो कोर्टफी रू.२००।२० प्र.लक्ष्मीप्रसादले ०२६।३।३० मा का.श्रे.अ.त.मा बुझाई सकेको देखिएको हाल वादीले मानाचामलको बिगो रू.३४७३।३० मात्र भरी पाउने ठहरेकोले सो बिगो रू.३४७३।३० को रू.२०००। को सयकडा ५ ले र अरूको सयकडा ४ को हिसावले जम्मा रू.१५८।९४मात्र कोर्टफी लाग्ने भएको सो कोर्टफी हार्ने प्रतिवादीलाई लाग्नेमा रू.२००।२० प्रतिवादीले माथि लेखिएको मितिमा बुझाई सकेकोले त्यसमा कट्टी गर्दा बढी हुन आएको रू.४१।२६ निज प्रतिवादीले फिर्ता पाउने हुँदा म्याद ३ बर्ष भित्र फिर्ता लिन आए कानूनको रीत पुर्याई फिर्ता दिने, १ मुद्दा दोहर्याए वापत लाग्ने कोर्टफी दाखिल गरेको देखिएकोले केही गर्नु परेन, २
न्या. धनेन्द्रबहादुर सिंह
न्या. चन्द्रप्रसाद प्रधान
हामीहरूको सहमती छ ।
इति सम्वत् २०२९ साल माघ २० गते रोज ६ शुभम् ।