शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७२५ - लिखत बदर

भाग: १५ साल: २०३० महिना: बैशाख अंक:

निर्णय नं. ७२५           ने.का.प. २०३०

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सि.

माननीय न्यायाधीश श्री झपटसिंह रावल

सम्वत् २०२८ सालको दे.फु.नं. १६०

फैसला भएको मिति : २०२९।५।३०।५ मा

निवेदक : का.जि.ठमेल बस्ने जगतनारायण श्रेष्ठ मरी मु.स.गर्ने रामकृष्ण श्रेष्ठ

विरूद्ध

विपक्षी : ऐ.ऐ.बस्ने अष्टमाया मानन्धर्नी

मुद्दा : लिखत बदर

(१)   हकवालाले हेरविचार नगरी राखेकोमा अचलमा दसौंद बाँकी राखी अरू सबै आफ्नो खुस गर्न पाउने ।

            वादीले चिदिमायाको हेरविचार गरे नगरेको के हो भन्ने तर्फ दावी अनुसार आफ्नो जेठो छोरा रामकृष्णलाई निज चिदिमाया को सँग साथमा राखी हेरविचार गरी आएको भन्ने कुराको लिखित सबूद कुनै पनि वादीले दिन गुजार्न सकेको पाइएन वादीका साक्षीको बकाई हेर्दा ति साक्षीहरूमा बुद्धिबहादुरले वादीले हेरविचार गरे नगरेको थाहा छैन भनेको र तुइलालले हेरविचार गरेकै हो भनी किटान साथ भन्न नसकी रामकृष्णले हेरविचार गरे होला जस्तो लाग्छ भनेको । पूर्णहरि, पूर्णप्रसाद, चन्द्रकृष्ण ३ जनाले रामकृष्णलाई चिदिमायाकै घरमा राखी हेरविचार गरी आएको भनी बकेका भए पनि तत्काल प्रचलित विधवा अंशधनको १ नं.२ दफामा हकवालाले उसको लोग्ने छँदा जस्तै गरी हेरविचार इज्जत साथ राखेको रहेछ भन्नेउल्लेख भएकोमा पूर्णहरिले आमा नाता पर्ने चिदिमाया हुनाले आफ्नू खर्च नगरी वादीले र मसमेतले हेरविचार गरी आएको भन्ने र चन्द्रकृष्णले चिदिमायाको बाली र आसामी रामकृष्णबाटै उठ्ती गराई हेरविचार गरी आएको भन्नेसम्म बकेको भई उक्त विधवा अंश धनको १ नं.दफा २ बमोजिम लोग्ने छँदा जस्तै गरी हेरविचार गरी इज्जत साथ राखेको भन्ने निजहरूको बकाइबाट खुल्न नआएको पूर्णप्रसादको हकमा रामकृष्णले हेरचाह गरी आएको मैले देखेको ४।५ बर्ष जति भयो भन्ने निजको बकाई ०८ सालदेखि नै हेरविचार गरी आएको भन्ने वादी दावीसँग मेल नखाई फरक परेकोसमेत बाट लिखत सबूदको अभावमा ती साक्षीहरूको उपरोक्त बकाईसम्मको आधारमा वादीले चिदिमायालाई लोग्ने छँदाको जस्तै गरी हेरविचार इज्जत साथ राखेको भन्ने ठहराउन मिल्ने देखिएन उक्त विधवा अंश धनको १ नं.को २ दफा अनुसार हकवालाले हेरविचार नगरी राखेकोमा अचलमा दसौंद बाँकी राखी अरू सबै आफू खुसी गर्न पाउने प्रष्टै छ ।

(प्र.नं. १०)

(२)   तत्काल प्रचलित विधवा अंश धनको १ नं.२ दफा : दसौंद बाँकी राख्न पर्नेमा, प्रत्येक अचल सम्पत्तिमा छुट्टाछुट्टैको हिसावले दसौंद बाँकी राख्नु नपर्ने, जम्मा अचल सम्पत्तिमा दसौंद बाँकी राखे हुने ।

            चिदीमायाले अष्टमायालाई गरी दिएकी फार्छे लिखत बदर हुने नहुने के हो भन्नेतर्फ दसौंद बाँकी राख्नु पर्ने अंक जुन घर फार्छे लिखत गरी दिएको छ त्यसैबाट छुट्याउन पर्ने हो वा अरू अचल सम्पत्ति भएकोमा त्यसबाट छुट्याए पनि हुने के हो भन्ने प्रश्न उठेको छ । यस सन्दर्भमा हेर्दा तत्काल प्रचलित विधवा अंश धनको १ नं.२ दफामा अचल सम्पत्तिमा दसौंद बाँकी राखी अरू सबै आफ्नो खुसी गर्न पाउँछे भन्ने उल्लेख भएको पाउँछौं, प्रत्येक अचल सम्पत्तिबाट छुट्टाछुट्टैको हिसाबले दसौंद बाँकी राख्नुपर्ने बोली नपरेको हुँदा जम्मा अचल सम्पत्तिमा दसौद बाँकी राखे हुने उक्त ऐनको मनसाय प्रष्ट छ वादीतर्फका विद्वान अधिवक्ताले नजीर दिनुभएको दे.फु.नं. १४० को निवेदक श्रीलाल पाध्या विरूद्ध भगिरथसमेतको जग्गा जालसाजी मुद्दामा ०१९।११।१३।२ को फुल बेञ्चबाट जुन निर्णय भएको छ त्यसमा पनि जो भएको जग्गाको जम्मा अंकबाट खेतमा माटो मुरीको हिसाबले र पाखामा तिरोको हिसाबले खण्डे भाग छुट्याएको देखिएकोले त्यस नजीरले वादी पक्षलाई कुनै मद्दत गर्न सक्तैन ।

 (प्र.नं. ११)

निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे

विपक्षी तर्फबाट : अधिवक्ता लवदेव भट्ट

उल्लिखित मुद्दा :

फैसला

     प्र.न्या. रत्नबहादुर बिष्ट

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ को महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई यस बेञ्च समक्ष पेश हुन आएको छ ।

      २.    मुद्दाको तथ्य यसप्रकार छ : मेरो बाबु जगतबहादुर र प्रतिवादी चिदीमायाको लोग्ने कृष्णबहादुर २ भाइ हुन बाबुहरू ७०।७१ सालमै बण्डा गरी बेग्लै बसी आएको कान्छा बाबु कृष्णबहादुर २००८ सालमा परलोक भएपछि चिदीमायाको छोरा छोरी जिवित नहुँदा निज कान्छा बाबुको कृया दागबत्ती मैले नै गरी ०८ सालदेखि मेरो छोरा रामकृष्णलाई चिदीमायाको सँगसाथमा राखी हेरविचार गरी इज्जत साथ राखेको म जेठाजुको छोरा छँदाछँदै मलाई कुनै कुराको थाहा नदिई निजको हकको का.जि.ठमेलको नं.१६।४८ को घर रू.२५०००। मा चिदिमाया बिक्री गर्ने अष्टमाया लिने भई २०।३।१४।४ मा फार्छे पास गराई लिए दिएछन् विधवा अंश धनको १ नं.को २ दफाले हकदारको मञ्जूरी बेगर सबै खुस गर्न नपाउने हुँदा उक्त लिखत बदर गरिपाउँ भन्ने जगतनारायणको फिरादपत्र ।

      ३.    ७८।३।२१।२ मा चल अचल श्रीसम्पत्ती अफिसमा बण्डा गरी आफ्नो भोग चलन गरी आएको मेरो छोरा नभएकोले लोग्ने कृष्णबहादुरको दागबत्ती काजकृया म आफैंले गरेकी हुँ वादीले कहिले पनि मलाई हेरविचार गरेको छैन मैले व्यवहार चलाउन र ऋण तिर्न ठमेलको घर बेचेकी हुँ मेरो घरको अलावा केही जग्गा जमीनहरू सबै अचल सम्पत्ति बिक्री गरेकी छैन रू.२५०००। मा ऋण तिर्न व्यवहार चलाउनलाई बाँकी राखी रू.२५०००। मा नक्सालको घर किनेकी थिएँ हकवालाले निखनेको हुँदा अर्को घर किन्न सो रूपैयाँ बाँकी नै राखेकी छु वादीको कथनमा सत्यता नभएकोले वादी दावीबाट फुर्सद गरिपाउँ भन्ने चिदीमायाको प्रतिवादी ।

      ४.    चिदिमायालाई वादीले कहिले पनि हेरविचार गरेको छैन चिदिमायाले पूर्ण अधिकार भएको घर सुफत मोल तिरो फार्छे पास गराई लिएकी हुँ भन्नेसमेत अष्टमायाको प्रतिवादी ।

      ५.    वादीले चिदीमायालाई हेरविचार गरेको भरलाग्दो सबूद गुज्रन नआएको वादी चिदीमायाको अचल सम्पत्तिमा निजका नाउँमा दर्ता कायम नै रहेको जग्गा घरहरू बिक्री गरेको घरको दसौंद भन्दा बढी नै अचल जग्गाहरू बाँकी नै देखिन आएकोले विधवा अंश धनको १ नं.को २ दफाले अधिकार दिएको प्र.चिदीमायाले बिक्री गरेको र प्रतिवादी अष्टमायाले किनेकी देखिँदा घर किने बेचेको लिखत बदर गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने काठमाडौं जिल्ला अदालतको २२।५।२३।४ को फैसला ।

      ६.    सो उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन परेकोमा चिदीमायाको हेरविचार भई निमित्त छोरालाई राखेको भन्ने भनाई भएकोमा लोग्ने छँदैका हिसावसँग हेरविचार गरी भई परी आएको व्यवहारिक काम गरी आएको भन्न खुद वादीले सकेको देखिएन आफ्नो हकको घर चिदीमायाले बेचे पनि अर्को घर तुरुन्तै किनिसकेकीसमेत बाट इन्साफ शुरुको मनासिव ठहर्छ भन्ने बागमती अञ्चल अदालतको ०२४।५।१६।६ को फैसला ।

      ७.    सो उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन परेकोमा ०२७।१।१३।१ को डिभिजन बेञ्चबाट निर्णय हुँदा वादीले हेरविचार गरेको सबूद पुग्न नआउने र बिक्री भएको घर पनि ४५ बर्ष पुगी सकेकी चिदिमायाले कृष्णबहादुरको आर्जनको अचल सम्पत्ति बिक्री गरेको पेस भएको लिखतबाट देखिएको यस अवस्थामा तत्काल प्रचलित विधवा अंश धनको १ नं.का दफा (२) ले अचल दसौंद बाँकी राखी अरू सबै आफू खुस गर्न पाउने देखिएकोले उक्त लिखत रू.२५०००। मध्य रू.२५० चिदिमायाबाट अष्टमायाले ऐन बमोजिम असूल गर्न पाउने भई बाँकी सयकडा ९० फार्छेपत्र सदर हुन्छ बाँकी राख्नुपर्ने दसौंद अरू जेथाबाट पनि बाँकी रहेकै छ भनी प्रतिवादीहरूले चिदिमायाको दर्ताको जग्गाको फाँट पेस गरेको भए पनि सो घरको दसौंदमा कति जग्गा राख्नु पर्ने हो प्रष्ट खोल्न नसकेकोले बिक्री भएको घरमा सयकडा १० अष्टमायाको हक पुग्न सक्दैन बा.अं.अ.को इन्साफ केही उल्टी हुन्छ भन्नेसमेत ०२७।१।१३।१ को डिभिजन बेञ्चबाट निर्णय भएको ।

      ८.    यसमा वादी चिदिमायाको हकवाला हो भन्ने कुरामा विवाद नभएकाले वादीले प्रतिवादी चिदिमायाको हेरविचार गरे नगरेको र चिदिमायाले अष्टमायालाई पास गरी दिएको फार्छे लिखत बदर हुने नहुनेसम्म कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

      ९.    वहसको लागि उपस्थित हुनु भएको वादीतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले चिदिमायाको घरमा वादीको छोरा रामकृष्ण बसी हेरविचार गरी आएको प्रमाणित भएको छ अरू जग्गा जमीन छ भन्ने कुरा प्रतिवादीमै फाँट खुलाई देखाउन सक्नुपर्ने नसकेकोमा देवानी मुद्दामा अदालतले सम्पत्तिको यकिन गरी मुल्याङ्कन गराउने कुरा आउँदैन दे.फु.नं. १४० श्रीलाल पाध्या भागीरथसमेतको जग्गा जालसाजी मुद्दामा विधवाले बाँकी राख्नु पर्ने खण्ड खेतको खेतमै पाखाको पाखामै छुट्याई ०१९।११।१३।२ को फुल बेञ्चबाट निर्णय भएको छ । हेरविचार गरेको स्थितिमा तत्काल प्रचलित विधवा अंश धनको ऐन बमोजिम ३ खण्डको १ खण्ड जुन घर बेचेको छ त्यसैबाट बदर हुनुपर्छ भन्नेसमेत र प्र.अष्टमायातर्फका विद्वान अधिवक्ता श्री लवदेव भट्टले चिदिमायालाई वादीले हेरविचार गरेको पक्का प्रमाण पुर्‍याउन वादीले सकेको छैन हेरविचार नगरेकोमा दसौंद बाँकी राखी अरू आफू खुसी गर्न पाउनेमा दसौंद भन्दा बढी मूल्यको जग्गा जमीन बाँकी नै हुँदा मेरो पक्षले गराई लिएको फार्छे लिखत पुरै सदर हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।

      १०.    वादीले चिदिमायाको हेरविचार गरे नगरेको के हो भन्ने तर्फ दावी अनुसार आफ्नो जेठो छोरा रामकृष्णलाई निज चिदिमाया को सँग साथमा राखी हेरविचार गरी आएको भन्ने कुराको लिखित सबूद कुनै पनि वादीले दिन गुजार्न सकेको पाइएन वादीका साक्षीको बकाई हेर्दा ति साक्षीहरूमा बुद्धिबहादुरले वादीले हेरविचार गरे नगरेको थाहा छैन भनेको र तुइलालले हेरविचार गरेकै हो भनी किटान साथ भन्न नसकी रामकृष्णले हेरविचार गरे होला जस्तो लाग्छ भनेको । पूर्णहरि, पूर्णप्रसाद, चन्द्रकृष्ण ३ जनाले रामकृष्णलाई चिदिमायाकै घरमा राखी हेरविचार गरी आएको भनी बकेका भए पनि तत्काल प्रचलित विधवा अंशधनको १ नं.२ दफामा हकवालाले उसको लोग्ने छँदा जस्तै गरी हेरविचार इज्जत साथ राखेको रहेछ भन्नेउल्लेख भएकोमा पूर्णहरिले आमा नाता पर्ने चिदिमाया हुनाले आफ्नू खर्च नगरी वादीले र मसमेतले हेरविचार गरी आएको भन्ने र चन्द्रकृष्णले चिदिमायाको बाली र आसामी रामकृष्णबाटै उठ्ती गराई हेरविचार गरी आएको भन्नेसम्म बकेको भई उक्त विधवा अंश धनको १ नं.दफा २ बमोजिम लोग्ने छँदा जस्तै गरी हेरविचार गरी इज्जत साथ राखेको भन्ने निजहरूको बकाइबाट खुल्न नआएको पूर्णप्रसादको हकमा रामकृष्णले हेरचाह गरी आएको मैले देखेको ४।५ बर्ष जति भयो भन्ने निजको बकाई ०८ सालदेखि नै हेरविचार गरी आएको भन्ने वादी दावीसँग मेल नखाई फरक परेकोसमेत बाट लिखत सबूदको अभावमा ती साक्षीहरूको उपरोक्त बकाईसम्मको आधारमा वादीले चिदिमायालाई लोग्ने छँदाको जस्तै गरी हेरविचार इज्जत साथ राखेको भन्ने ठहराउन मिल्ने देखिएन उक्त विधवा अंश धनको १ नं.को २ दफा अनुसार हकवालाले हेरविचार नगरी राखेकोमा अचलमा दसौंद बाँकी राखी अरू सबै आफू खुसी गर्न पाउने प्रष्टै छ ।

      ११.    चिदीमायाले अष्टमायालाई गरी दिएकी फार्छे लिखत बदर हुने नहुने के हो भन्नेतर्फ दसौंद बाँकी राख्नु पर्ने अंक जुन घर फार्छे लिखत गरी दिएको छ त्यसैबाट छुट्याउन पर्ने हो वा अरू अचल सम्पत्ति भएकोमा त्यसबाट छुट्याए पनि हुने के हो भन्ने प्रश्न उठेको छ । यस सन्दर्भमा हेर्दा तत्काल प्रचलित विधवा अंश धनको १ नं.२ दफामा अचल सम्पत्तिमा दसौंद बाँकी राखी अरू सबै आफ्नो खुसी गर्न पाउँछे भन्ने उल्लेख भएको पाउँछौं, प्रत्येक अचल सम्पत्तिबाट छुट्टाछुट्टैको हिसाबले दसौंद बाँकी राख्नुपर्ने बोली नपरेको हुँदा जम्मा अचल सम्पत्तिमा दसौद बाँकी राखे हुने उक्त ऐनको मनसाय प्रष्ट छ वादीतर्फका विद्वान अधिवक्ताले नजीर दिनुभएको दे.फु.नं. १४० को निवेदक श्रीलाल पाध्या विरूद्ध भगिरथसमेतको जग्गा जालसाजी मुद्दामा ०१९।११।१३।२ को फुल बेञ्चबाट जुन निर्णय भएको छ त्यसमा पनि जो भएको जग्गाको जम्मा अंकबाट खेतमा माटो मुरीको हिसाबले र पाखामा तिरोको हिसाबले खण्डे भाग छुट्याएको देखिएकोले त्यस नजीरले वादी पक्षलाई कुनै मद्दत गर्न सक्तैन ।

      १२.   चिदिमायाको नाउँमा दर्ता रहेको बाँकी जग्गा जमीनले बिक्री भएको घरको दसौंद पुग्ने नपुग्ने के हो भन्ने शंका उठेकोमा सो जग्गाको मूल्य यति भन्ने मिसिलबाट खुल्न आएको देखिँदैन तापनि बिक्री गरेको घरको दसौंद भन्दा बढी नै अचल जग्गाहरू बाँकी नै देखिन आएको भनी शुरुले ठहर गरेकोमा वादीले पुनरावेदन गर्दा सो जग्गाहरू दसौंद भन्दा घटी यतिमात्र मूल्यको छ भनी पुनरावेदनमा जिकिर लिन सकेको छैन चिदिमायाले बिक्री गरेको घरको मूल्य रू.२५०००। को दसौंद रू.२५००। मात्र हुनेमा यही घर बिक्री मध्येको मेरो रूपैयाँबाट मिनाकुमारी भन्ने नन्दकुमारीको नामबाट घर खरीद गराई लिएकोसमेत हुँदा मेरो रूपैयाँँ दिलाई पाउँ भनी चिदिमायाले यो मुद्दा परी सकेपछि शिवप्रसाद समेतका नाउँमा नालेस गरेकी घर बिगो भराई पाउँ भन्ने मुद्दामा चिदिमाया मरी म नगीचको हकदार जेठानी भनी रत्नमायाले सकार गरी निजले प्रतिवादी शिवप्रसादसमेत बाट रू.२५०००। बिगो भरी पाउने ठहरी का.जि.अ.बाट ०२५।१२।२५।२ मा र सोही सदर गरी बागमती अञ्चल अदालतबाट ०२८।१२।३।५ मा फैसला भइराखेको देखिन्छ उक्त रू.२५०००। अलावा आधा भन्दा बढी रू.१५०००। यो घर बिक्री मध्येकै रूपैयाँ रत्नमायाले भरी पाउने भई राखेकी र निज रत्नमाया मेरो एकाघर किसानी आमा भन्ने यो मुद्दाको फिरादपत्रमा लेखेको देखिएकोसमेत हुँदा हकवालाको भाग बाँकी नराखी दावीको घर बिक्री गरेको भन्न मिल्ने देखिएन ।

      १३.   तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट चिदिमायाले अष्टमायालाई बिक्री गरेकी घरको फार्छे लिखत बदर गरिपाउँ भन्ने वादीको दावी पुग्न सक्तैन वादीको दावी नपुग्ने ठहराएको शुरु का.जि.अ.को सदर गरी बागमती अञ्चल अदालतले २०२४।५।१६।६ मा छिनेको इन्साफ मनासिव ठहर्छ उक्त घर बिक्रीको फार्छे लिखतमा सयकडा १० बदर हुने ठहराएको तर्फसम्म ०२७।१।१३।१ को डिभिजन बेञ्चको इन्साफ मिलेको नदेखिँदा केही उल्टी हुन्छ अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

निवेदक प्रतिवादी अष्टमाया मानन्धर्नी के निजले मुद्दा दोहर्‍याएमा लाग्ने कोर्टफी रू.१। एक ०२९।३।१५।४ मा दाखिल गरेकी देखिँदा सो रू.१ एक वादी जगतनारायणको सकार गर्ने रामकृष्ण श्रेष्ठबाट भराई पाउँ भनी कोर्टफी ऐन, २०१७ को संशोधित दफा १५(११) बमोजिम ३ बर्ष भित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी कानून बमोजिम लगत दिनु..................१

०२७।१।१३।१ को डिभिजन बेञ्चको फैसलाले तत्कालिन बागमती अञ्चल अदालतका अञ्चल न्यायाधीश घनानाथ उपाध्यायको उल्टीको रेकर्ड राख्ने गरेको लगत काटी दिनु भनी जनरल विभागमा सूचना दिनु....................२

नियमबमोजिम मिसिल बुझाई दिनु....................३

 

न्या. प्रकाशबहादुर के.सी.

न्या. झपटसिंह रावल

 

हामीहरूको सहमती छ ।

 

इति सम्वत् २०२९ साल भाद्र ३० गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु