शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७२६ - अपुताली जग्गा खिचोला

भाग: १५ साल: २०३० महिना: बैशाख अंक:

निर्णय नं. ७२६            ने.का.प. २०३०

फुल बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री रंगनाथ उप्रेती

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०२९ सालको दे.फु.नं. १८४

फैसला भएको मिति :      २०३०।१।१५।६

निवेदक : मोरङ प्रमानगढ मौजे दुलारी गच बनरझुला बस्ने सोमे थारुको मुद्दा सकार गर्ने ठकनी थरुनी

विरूद्ध

विपक्षी : ऐ. डंग्राहा गा.पं. वार्ड नं. १ बस्ने मुसहरू मारी थारु गोरेलाल माझी थारुसमेत

मुद्दा : अपुताली जग्गा खिचोला

(१)   अपुतालीको ८ नं.मा उल्लेख भएको हकवाला भन्ने शब्द ३ पुस्ता भित्रकैलाई मात्र संकेत गर्छ भन्न नमिल्ने ।

      उक्त अपुतालीको ८ नं. मा हकवाला र छोरी छैनन् भने मर्नेको अपुताली छोरीको छोराहरूले खान पाउँछन भन्ने लेखिएको त्यसमा ३ पुस्ता भित्रको भन्ने नभए पनि पहिले सोही अपुतालीको ३ नं.मा सँग बसेका तीन पुस्तासम्मका हकवाला कोही छैनन् र भिन्न भई बसेका लोग्ने स्वास्नी छोरा वा छोराको छोराले हेरचाह नगरी छोरी वा छोरी ज्वाईले स्याहार सम्भार गरी पालेको रहेछ भने चल जति सबै अचलमा आधा छोरी ज्वाईले अपुताली खान पाउने उल्लेख गरी सो पछि ८ नं.मा हकवाला र छोरी नभएकोमा छोरीको छोराले अपुताली खान पाउने लेखिएको उक्त ८ नं.मा उल्लेख भएको हकवाला भन्ने शब्दले ३ पुस्ता भित्रकैलाई मात्र संकेत गर्छ भन्ने पुरनतर्फका विद्वान वरिष्ठ अधिवक्ताको मुख्य बहस जिकिर भएको हकमा उक्त ३ नं.छोरी र छोरी ज्वाईले हेरविचार गरेकोमा निजहरूले अपुताली खान पाउने कुरालाई ८ नं. हकवाला छोरी नभएकोमा छोरीको छोराले अपुताली खान पाउने कुरालाई लिई बनेको भई ति दुबै नम्बरको अवस्था फरकफरक भएको र उक्त ८ नं. मा आश्रित भएकोसमेत नहुनाले उक्त ८ नं. मा उल्लेख भएको हकवाला भन्ने शब्दले ३ पुस्ता भित्रकैलाई मात्र संकेत गर्छ भन्ने विद्वान वरिष्ठ अधिवक्ताको उपरोक्त बहस जिकिरमा सहमत हुन मिलेन उक्त ८ नं.मा उल्लेख भएको हकवाला भन्ने शब्द भित्र वादी सो मै पर्न आउने नै देखिएकोले मर्ने वुटनीको अपुतालीमा छोरीको छोरा पुरनको हक पुग्न नसक्ने प्रष्ट हुन्छ ।

(प्र.नं. १३)

(२)   वादी प्रतिवादीको पेटबोलीमा लेखिएको मानिस नबुझी मुद्दा नछिनिने देखिएमा प्रमाणका तवरले अड्डाबाट बुझ्न नहुने प्रतिवादी सहकारणी देखिन आएमा तारिखमा राखी फैसला गर्नुपर्ने ।

            पुरन चौधरी दर्तावाला भए पनि निज उपर वादीले उजूर नगरेकोले वादी दावा नपुग्ने भन्ने डिभिजन बेञ्चले ठहर गरेको हकमा अ.बं.१३९ नं.मा वादी प्रतिवादीका पेटबोलीमा लेखिएको मानिस नबुझी मुद्दा नछिनिने देखिएमा प्रमाणका तवरले अड्डाबाट बुझ्न नहुने र प्रतिवादी सरह कारणी देखिन आएमा प्रमाणसमेत खुलाई बयान लिई कारणी सरह नै तारेखमा राखी फैसला गर्नु पर्नेसमेत व्यवस्था भएको र उक्त ऐन बमोजिम निज पुरनलाई शुरुले नै पेटबोलीबाट बुझी कारणी सरह बयान गराई तारेखमा राखी फैसला गर्दै ल्याएकोसमेत देखिएकोले निज पुरन उपर उजूर नगरेको भन्ने दोष लगाउन मिल्ने देखिएन । वुटनीको अपुतालीको जग्गा पुरनका नाउँमा दर्ता गराई सकेको देखिन आएको भए पनि अपुताली हकबेहकमा ०२४।८।२९।६ मा यो मुद्दा परी सकेपछि हकवाला कोही नभएको भनी यो मुद्दा पर्दापर्दै ०२५।१।१।७ मा दर्ता गराएको कुराले यो मुद्दामा हकबेहकको निर्णय दिनलाई कुनै असर पुर्‍याउन नसक्ने हुँदा त्यसतर्फ अरू विचार गरिरहनु परेन ।

(प्र.नं. १४)

निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल

विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता कुन्ज विहारीप्रसाद सिंह

उल्लिखित मुद्दा :

फैसला

     न्या. धनेन्द्रबहादुर सिंह

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ को महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।

      २.    मुद्दाको तथ्य यसप्रकार छ : मेरो बाजे २ भाइमा जेठा हनुमान कान्छा नन्दराम हनुमानका छोरा जेठा महानन्द माइला जियालाल कान्छा छतृसमेत ३ भाइ महानन्दको छोरा जेठो भठी माइला म कान्छा कनथु भएको जियालाल छतृको सन्तानै नभई मरेको नन्दरामको छोरा विद्यानन्द विद्यानन्दको छोरा लालचन, लालचनकी स्वास्नी बुटनी भई निज बुटनी मेरो ३ पुस्ता भित्रकी बुहारी नाताकी हुन मेरो दाजु भाइमा म मात्र जीवित भएको भाविको छोरा विपक्षी मुसहरू र मुसहरूको छोरा गोरेलाल भतिजा नाति नाताको भई मर्नेतर्फ ४ पुस्तामा पर्न आएका बुहारी वुटनीको २४।७।२६ गते मृत्यु भई ३ पुस्ताभित्रको हकवाला मैले काजकृयासमेत गरेको निजको अपुताली मैले खान पाउनेमा वुटनीका नाउँको दर्ताको जग्गासमेत हामी नै लिन्छौं खान्छौ भनी प्रतिवादीहरूले खिचोला गरी वुटनीको धनमाल चौपायासमेत कब्जा गरेकाले जग्गामा खिचोला मेटाई धन मालसमेत बिगो रू.५०७५। दिलाई भराई पाउँ भन्नेसमेत वादी ।

      ३.    मुल पूर्खा झंगारु माझी निजको छोरा जेठो मंगलुको छोरा हनुमान महानन्द, महानन्दको छोरा जेठा म मुसहरूको पिता भब्बी माझी माईला वादी सो भाइ र कान्छा कारे माझी भएको किसनको छोरा मधु, मधुको छोरा विद्यानन्द, विद्यानन्दको छोरा लालचन्द लालचनकी स्वास्नी वुटनी भएकी वुटनी मरी अपुताली पर्न आएको सम्पति छोरा नभई छोरी लगनी थरुनीबाट जन्मेको सन्तान पुरन भई निजले खाएकोमा हामीहरू उपर झुठ्ठा उजूर गरेको हो भन्नेसमेत प्रतिवादी ।

      ४.    वादी ३ पुस्ता भित्रको हकवाला होइन वुटनीको अपुताली छोरीको छोरा मेरो हक पुग्ने भई खाएको छु भन्नेसमेत पुरनको बयान ।

      ५.    वादी र वुटनी ४ पुस्ताको देखिएको ३ पुस्ताको हकवाला र छोरी नभए छोरीको छोराले खान पाउँछ भन्ने अपुताली ८ नं.मा लेखिएको जिमिदारको प्रतिवेदनबाट वुटनीको जग्गा छोरीको छोराका नाउँमा दर्ता भएको देखिएको वादी ३ पुस्ता भित्रको हकवाला नदेखिएकोले वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने मोरङ जिल्ला अदालतको ०२५।१२।२५ को फैसला ।

      ६.    सो उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

      ७.    वुटनीको अपुताली मेरो हक भई भोगेको भनी बयान गर्ने वुटनीको छोरी तर्फको नाति पुरन उपर वादी दावा नभएको जग्गा पुरनले आफ्नो नाउँमा दर्ता दाखिल खारेज गराई लिइसकेको देखिएको दर्ता बदर गरिपाउँ भन्ने दावी नभएकोले वादी दावी नभएको कुरामा इन्साफ बोल्न नमिल्नेसमेत हुँदा इन्साफ शुरुको मनासिव ठहर्छ भन्ने कोशी अञ्चल अदालतको ०२६।३।२५।४ को फैसला ।

      ८.    सो उपर पनि चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

      ९.    वादिले दावा गरेको अपुताली कसको हकको हो भनी निर्णय गर्नु परेकोले वादीको उजूर गरेको प्रतिवादीहरूले अपुतालीमा हाम्रो हक पनि छैन भोगेको पनि छैन भनी भनेका पुरन दर्तावाला भए पनि निज उपर उजूर परेको नहुनाले इन्साफ शुरुको सदर गरेको अञ्चल अदालतको मनासिव छ भन्ने ०२६।१०।१७।६ को डिभिजन बेञ्चको फैसला ।

      १०.    यस बेञ्च समक्ष निवेदक वादीतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले अपुतालीको १ नं.मा हकवाला भनेको ३ पुस्तासम्मको पुरुषातर्फको हाँगामा सबैभन्दा नजिकको अंशियार हुन्छ भन्ने लेखिएको छ मेरो पक्ष ४ पुस्ताको हकवाला भन्ने विपक्षीहरूले मानेकै छन् हकवाला र छोरी छैनन् भनेमात्र अपुतालीको ८ नं. बमोजिम छोरीको छोराहरूले अपुताली खान पाउने हो अपुतालीको ३ नं.सोही नम्बरमा लेखिएको अवस्थामामात्र लागू हुनेसमेत हुँदा उक्त ३ नं. प्रस्तुत मुद्दामा लाग्ने अवस्था छैन दावी बमोजिमको अपुतालीमा मेरै पक्षको हक कायम हुनुपर्छ भन्नेसमेत र प्रतिवादी पुरन चौधरीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंहले अपुतालीको ८ नं.को अर्थ गर्नालाई पहिले ३८ त्यसपछि ८ दुवै नम्बर एकै साथ पढ्नु पर्छ पहिले ३ नं.मा सँगबसेका ३ पुस्तासम्मका हकवाला कोही छैनन् र भिन्न बसेका लोग्ने स्वास्नी छोरा वा छोरीको छोराले हेरचाह नगरी छोरी वा छोरी ज्वाईले स्याहार संभार गरी पालेको रहेछ भने चल जति सबै अचलमा आधा छोरी ज्वाईले अपुताली खान पाउने उल्लेख गरी सो पछि ८ नं.हकवाला र छोरी नभएकोमा छोरीको छोराले अपुताली खान पाउने नै लेखिएकोले ८ नं.मा हकवाला भन्नेमात्र उल्लेख भएको शब्दले ३ पुस्तासम्मकै हकवालालाई संकेत गर्छ वादी ३ पुस्ता भित्रको हकवाला नभएकोले अपुतालीको ८ नं.अनुसार छोरीको छोरा मेरो पक्षले अपुताली खान पाउने हो भन्नेसमेत बहस गर्नु भयो ।

      ११.    यसमा मर्ने वुटनीको अपुताली ३ पुस्ता भित्रको हकवाला मैले खान पाउनेमा प्रतिवादी मुसहरू गोरेलालहरूले कब्जा गरेकाले खिचोला मेटाई धनमालसमेतको बिगो रू.५०७५। दिलाई भराई पाउँ भन्ने दावी लिई वादीले नालेस गरेकोमा प्रतिवादी मुसहरू गोरेलालहरूले सो अपुताली हामीले नै खान पाउने हो भन्नेसमेत जिकिर लिन नसकी छोरीको छोरा पुरनले खाएको भन्ने प्रतिवादीमा उल्लेख गरेका र पुरन पेटबोलीबाट बुझिएकोमा वादी ३ पुस्ता भित्रको हकवाला नभएकोले छोरीको छोरा मैले खान पाउने भन्ने बयानमा जिकिर लिई वादी र पुरनको बीचमा विवाद खडा हुन आएकोले सो अपुताली वादी या पुरन कसले खान पाउने हो भन्ने कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

      १२.   कस्तोलाई हकवाला मान्ने भन्ने सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा अपुतालीको १ नं.मा हकवाला भनेको सात पुस्तासम्मको पुरुषतर्फको हाँगामा सबैभन्दा नजिकको अंशियार हुन्छ भन्ने उल्लेख भएको पाइन्छ पेटबोलीबाट बुझिएको पुरनले बयान गर्दा वादी सोमै मर्ने वुटनीको ३ पुस्ता भित्रको भन्ने कुरामा इन्कार गरे पनि ४ पुस्ता भित्रको हो भन्ने कुरा स्वीकार गरी बयानमा लेखाएकोले ४ पुस्ताकै भए पनि उपरोक्त अपुतालीको १ नं. अनुसार मर्ने वुटनीको हकवाला मानिने कुरामा कुनै शंका रहेन ।

      १३.   उक्त अपुतालीको ८ नं.मा हकवाला र छोरी छैनन् भने मर्नेको अपुताली छोरीको छोराहरूले खान पाउँछन भन्ने लेखिएको त्यसमा ३ पुस्ता भित्रको भन्ने नभए पनि पहिले सोही अपुतालीको ३ नं.मा सँग बसेका तीन पुस्तासम्मका हकवाला कोही छैनन् र भिन्न भई बसेका लोग्ने स्वास्नी छोरा वा छोराको छोराले हेरचाह नगरी छोरी वा छोरी ज्वाईले स्याहार सम्भार गरी पालेको रहेछ भने चल जति सबै अचलमा आधा छोरी ज्वाईले अपुताली खान पाउने उल्लेख गरी सो पछि ८ नं.मा हकवाला र छोरी नभएकोमा छोरीको छोराले अपुताली खान पाउने लेखिएको उक्त ८ नं.मा उल्लेख भएको हकवाला भन्ने शब्दले ३ पुस्ता भित्रकैलाई मात्र संकेत गर्छ भन्ने पुरनतर्फका विद्वान वरिष्ठ अधिवक्ताको मुख्य बहस जिकिर भएको हकमा उक्त ३ नं.छोरी र छोरी ज्वाईले हेरविचार गरेकोमा निजहरूले अपुताली खान पाउने कुरालाई ८ नं.हकवाला छोरी नभएकोमा छोरीको छोराले अपुताली खान पाउने कुरालाई लिई बनेको भई ति दुबै नम्बरको अवस्था फरकफरक भएको र उक्त ८ नं.मा आश्रित भएकोसमेत नहुनाले उक्त ८ नं.मा उल्लेख भएको हकवाला भन्ने शब्दले ३ पुस्ता भित्रकैलाई मात्र संकेत गर्छ भन्ने विद्वान वरिष्ठ अधिवक्ताको उपरोक्त बहस जिकिरमा सहमत हुन मिलेन उक्त ८ नं.मा उल्लेख भएको हकवाला भन्ने शब्द भित्र वादी सो मै पर्न आउने नै देखिएकोले मर्ने वुटनीको अपुतालीमा छोरीको छोरा पुरनको हक पुग्न नसक्ने प्रष्ट हुन्छ ।

      १४.   पुरन चौधरी दर्तावाला भए पनि निज उपर वादीले उजूर नगरेकोले वादी दावा नपुग्ने भन्ने डिभिजन बेञ्चले ठहर गरेको हकमा अ.बं.१३९ नं.मा वादी प्रतिवादीका पेटबोलीमा लेखिएको मानिस नबुझी मुद्दा नछिनिने देखिएमा प्रमाणका तवरले अड्डाबाट बुझ्न नहुने र प्रतिवादी सरह कारणी देखिन आएमा प्रमाणसमेत खुलाई बयान लिई कारणी सरह नै तारेखमा राखी फैसला गर्नु पर्नेसमेत व्यवस्था भएको र उक्त ऐन बमोजिम निज पुरनलाई शुरुले नै पेटबोलीबाट बुझी कारणी सरह बयान गराई तारेखमा राखी फैसला गर्दै ल्याएकोसमेत देखिएकोले निज पुरन उपर उजूर नगरेको भन्ने दोष लगाउन मिल्ने देखिएन । वुटनीको अपुतालीको जग्गा पुरनका नाउँमा दर्ता गराई सकेको देखिन आएको भए पनि अपुताली हकबेहकमा ०२४।८।२९।६ मा यो मुद्दा परी सकेपछि हकवाला कोही नभएको भनी यो मुद्दा पर्दापर्दै ०२५।१।१।७ मा दर्ता गराएको कुराले यो मुद्दामा हकबेहकको निर्णय दिनलाई कुनै असर पुर्‍याउन नसक्ने हुँदा त्यसतर्फ अरू विचार गरिरहनु परेन ।

      १५.   तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट वादी दावी बमोजिम मर्ने वुटनीको अपुतालीको घरजग्गाको हकमा निज वुटनीको वादी सोमै भन्दा नगिचको हकवाला अरू भएको दखिन नआएकोले वादी सोमै मरी मुद्दा सकार गर्ने ठकनीको हक कायम हुने ठहर्छ । घर जग्गा बाहेक वादी दावीको अरू चल सम्पत्तिको हकमा वादीको दावी र वादीकै साक्षीहरूको बकाईसमेत बाट पुरनले लिए खाएको भन्ने देखिन नआएको र प्रतिवादी मुसहरू गोरेलालले कब्जा गरी लिएको भनी निजहरू उपर वादीले दावी लिएको भए पनि वुटनीको अपुताली पुरनले खान पाउने भनी सो अपुतालीको घर जग्गा नखोज्ने निज प्रतिवादीहरूले चल सम्पत्तिमात्र कब्जा गरे लिए हुनन् भन्ने कुराको भरपर्दो सबूद कुनै नभएकोबाट प्रतिवादी मुसहरू गारेलालले लिए खाएको ठहराउन पनि नमिल्नेसमेत हुँदा चल सम्पत्तिको हकमा वादी दावी पुग्न सक्तैन मर्ने वुटनीको अपुतालीको घर जग्गाको हकमा वादीको दावी पुग्न नसक्ने ठहराएतर्फ ०२६।१०।२७।६ को डिभिजन बेञ्चको इन्साफ नमिलेको र चल सम्पत्तिको बिगोको हकमा वादी दावी नपुग्ने ठहराएको उक्त डिभिजन बेञ्चको इन्साफ मनासिवै छ अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

वादी सोमै मरी मुद्दा सकार गर्ने ठकनी थरुनीके निजबाट दाखिल भएको देहाए वमोजिम कोर्टफी मध्ये निजले जितेको घर जग्गातर्फको मोल बिगो रू.७३०७।५० हुन आउने देहाय बमोजिम कोर्टफी प्रतिवादी पुरन चौधरी थारुबाट भराई पाउँ भनी कोर्टफी ऐन, २०१७ को संशोधित दफा १५(११) बमोजिम ३ बर्ष भित्र दर्खास्त दिन आएमा दस्तुर केही नलिई भराई दिनु भनी कानून बमोजिम लगत दिनु......................१

नालेस गर्दा ०२८।८।२९।६ मा मोरङ जिल्ला अदालतमा दाखिल गरेको रू.४७५।३० मध्ये रू.३१२।३० शुरु उपर पुनरावेदन गर्दा ०२६।१।१६।२ मा कोशी अञ्चल अदालतमा ऐ.रू.७१।३० मध्ये रू.४६।८६ सर्वोच्च अदालतमा पुनरावेदन गर्दा ०२६।४।२८।३ मा ऐ.रू.७१।३० मध्ये रू.४६।८६

मुद्दा दोहर्‍याउँदा सर्वोच्च अदालतमा दाखिल गरेको रू.२०।३० मध्ये निजले हारेको चल धनमालतर्फको बिगोको निजलाई लाग्ने कोर्टफी रू.१६।३० कटाई बाँकी रू.६।

सोमेको मुद्दा सकार गर्ने ठकनीके मुद्दा दोहर्‍याउँदा शुरु कोर्टफी रू.४७५।३० को कोर्टफी ऐन, २०१७ को दफा १९ बमोजिम सयकडा १० ले रू.४७।५३ कोर्टफी लाग्नेमा ०२९।२।२३।३ मा रू.२०।३० मात्र लिएको देखिनाले नपुग रू.२५।२३ प्रतिवादी पुरन चौधरीबाट असूल भए निजबाट र निजबाट असूल हुन नसके वादी सोमैको मुद्दा सकार गर्ने ठकनीबाट कानूनबमोजिम असूल गर्नु भनी ऐ.....................२

मोरङ जिल्ला अदालतका तत्कालिन जि.न्या.गणेशप्रसाद वझाको इन्साफ केही उल्टीको रिकर्ड राख्न सर्वोच्च अदालत जनरल विभागमा सूचना दिनु...............................३

मिसिल नियमबमोजिम बुझाई दिनु.............................४

 

न्या. रङ्गनाथ उप्रेती

न्या. विश्वनाथ उपाध्याय

न्या. धनेन्द्रबहादुर सिंह

 

हामीहरूको सहमती छ ।

 

इति सम्वत् २०२९ साल कार्तिक १५ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु