निर्णय नं. ७२७ - लेनदेन

निर्णय नं. ७२७ ने.का.प. २०३०
फुल बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री मीनबहादुर थापा
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०२८ सालका देवानी फु.नम्बर १४४
फैसला भएको मिति : २०३०।१।२२।६
निवेदक : ल.पु.जि. लुभु इटाफल बस्ने रत्नकुमारी लेखिएको रणकुमारी कार्कीनी
विरूद्ध
विपक्षी : ऐ.ऐ.चाँगाथली बस्ने कर्णबहादुर खत्री क्षेत्री
मुद्दा : लेनदेन
(१) लखबन्धकी लिखतको स्थित पहिलेको भोग वा दृष्टि जुनबाट सरेर आएको हो सो सरह नै हुने ।
तत्काल प्रचलित साहू आसामीको २ (क) नं.अध्ययन गरी हेर्दा भोग वा दृष्टिबन्धक लेखाई लिएकोमा भोगबन्धकीमा १ बर्ष र दृष्टिबन्धकीमा २ बर्षभित्र बन्धकी लिएको अचल सम्पत्ति चलन गर्नू वा चलन गर्न नदिए चलन चलाई माग्न नालेस दिनुपर्ने सो नगरेमा लिखत कपाली सरह हुने व्यवस्था भएको पाउँछौँ । उक्त ऐनमा लखबन्धकीको कुरा उल्लेख नभए पनि सोही साहू आसामीको ३१ नं.मा भोगबन्धक वा दृष्टिबन्धक लिई राख्नेले तमसुक बमोजिमको वा त्यसभन्दा घटि लिई अर्कोलाई लखबन्धकी दिन लिन पाउने व्यवस्था भएको र त्यसरी लखबन्धकी लिखत गरी दिए लिएकोमा पहिलेको भोगबन्धक वा दृष्टिबन्धक र पछिको लखबन्धक लिखतको मूल रूपमा फरक हुने र भोग वा दृष्टिको हैसियत बदलिने नभई पहिले जुन रूप र हैसियत छ सोही रूप र हैसियतमा भोगबन्धक वा दृष्टिबन्धक साहूमा रहेको हक दायित्व लखबन्धक साहूमा सर्नेसमेत हुनाले लखबन्धकी लिखतको स्थिति पहिलेको भोग या दृष्टि जुनबाट सरेर आएको हो सो सरह नै हुने कुरा प्रष्ट हुन्छ । त्यसकारण लखबन्धकीको हकमा उक्त ऐनको व्यवस्था लगू नहुने भन्न मिल्ने देखिँदैन लखबन्धकी लिएको जग्गा पहिलेको भोगबन्धकी सरह १ बर्षभित्र साहूले चलन गर्न वा चलन चलाई माग्न नालेस नदिएको भएमा उक्त साहू आसामीको २ (क) नं.अनुसार उक्त लखबन्धकी लिखत कपाली सरह हुने कुरामा कुनै शङ्का छैन ।
(प्र.नं. ९)
(२) जसलाई रूपैयाँ दिई लिखत गराई लिएको हो उसैउपर कपाली थैलीमा नालेस गर्नु पर्ने ।
अब लखबन्धकी लिखत उपरोक्त साहू आसामीको २ (क) नं.अनुसार कपाली हुन आएकोमा त्यस्तो लिखतको थैली भराई माग्न लखबन्धकवाला साहू वादीले पहिले भोगबन्धकी दिने वा पछि लखबन्धकी दिने कस उपर नालेस गर्न पर्ने हो भन्ने प्रश्न उपस्थित हुन्छ यस प्रश्नको निराकरणको लागि साविक साहू आसामीको ३१ हालको लेनदेन व्यवहारको २९ नं.हेर्दा लखबन्धक परेको चल अचल अघि भोग दृष्टिबन्धक राख्नेले रूपैयाँ तिरी निखन्न जाँदा घटि लिई लख सारेकोमा आफूले बन्धक दिएको ठाउँमा तह–तहसम्म गई निखन्न जानु पूरा लिई लख सारेकोमा पछिल्ला साहूकहाँ निखन्न गए पनि हुन्छ भन्ने निखन्ने कुरासम्मको लागि व्यवस्था भएको पाइन्छ लखबन्धकी लिखत लखबन्धकीकै रूपमा कायम रहेको नभई उपरोक्त साहू आसामीको २ (क) नं.अनुसार कपाली हुन आएको र भोगबन्धकी लिई मैले भोग गरी आएको जग्गा लखबन्धक दिएको छु भनी लखबन्धकी लिखतमा लेखिएको भएपछि भोगबन्धकी लिखतले पहिलेकै रूप लिने र जग्गा भोगबन्धकी नै कायम हुने अवस्था पर्न आउने र कपाली हुन आएको लखबन्धकी लिखतको साहू वादीको पहिले भोगबन्धकी दिने आसामीसँग कुनै सम्बन्ध नरहने हुँदा निजउपर थैलीमा नालेस गर्नु पर्ने भन्न मिल्ने देखिँदैन जसलाई आफूले रूपैयाँ दिई लिखत गराई लिएको हो उसैउपर कपाली थैलीमा नालेस गर्नु पर्ने प्रष्टै छ ।
(प्र.नं. ११)
निवेदक तर्फबाट : अधिवक्ता सर्वज्ञरत्न तुलाधर
विपक्षी तर्फबाट : अधिवक्ता रामगोपाल श्रेष्ठ
उल्लिखित मुद्दा : ( दे.फु.नं. ११३ वादी ठूली खड्केनी प्रतिवादी भिमबहादुर खड्का, मुद्दा : सावाँ ब्याज भराई पाउँ)
फैसला
न्या. वाशुदेव शर्मा
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) बमोजिम दोहर्याई दिनू भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमाङ्गी बक्स भई दोहरिएकोबाट आज यस बेञ्चसमक्ष पेस हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यसप्रकार छ : विपक्षीले मसँग रू.१०००। कर्जा लिई विपक्षी आफूले धनबहादुरसँग रू.१०००। मा भोगबन्धकी लिई भोग चलन गरी आएको लुभु मौजाको सि.नं.११०१ को खेत मुरी ९ जग्गा २०१२।८।३० मा मलाई लखबन्धकी पास गरी दिई जग्गा विपक्षीले भोग गरी आएको ब्याज माग्दा नदिई पचाई खाने नियत गरेको जग्गा पनि चलन गर्न नसक्दा कपाली हुन गएकाले लिखत पास भएका मितिले आजतक १० बर्षको सयकडा १० ले ब्याज रू.१०००। र सावाँ रू.१०००। समेत भराई दिलाई पाउँ भन्नेसमेत रणकुमारीको फिरादपत्र ।
३. धनबहादुरले भोगबन्धकी दिएको जग्गा वादीसँग रू.१०००। लिई लखबन्धक लेखिदिएको जग्गा वादीले नै भोग गरेको थिएन कपाली नै भएको भए पनि वादीले आसामी उपर नालेस गरी मैले लिएको भोगबन्धकी लिखत नकरा भएमा मात्र मेरो नाउँमा उजूर लाग्ने हो ब्याज खाने गरी मलाई रूपैयाँ दिएको भए लखबन्धक लेखाई लिने नै थिइनँ म उपर झुठ्ठा उजूर गर्नको कारण के त भने भूमिसुधारमा १४ नं.फाराममा आसामी धनबहादुरले खाई देखाइदिए भन्ने रिसबाट मउपर झुठ्ठा फिराद गरेकी हुन भन्नेसमेत कर्णबहादुरको प्रतिउत्तरपत्र ।
४. जग्गा भोगबन्धकी दिएदेखि प्र.कर्णबहादुरले नै चलन गरेको हो २० सालसम्म कर्णबहादुरले नै भोग गरेको हुन । २० साल आषाढदेखि तिमीहरूले नै कमाई गर खाउ भनी निज कर्णबहादुर कान्छा बाबु भएकाले हामीलाई नै दिएको हुँ । २० सालदेखि बाबु धनबहादरले कमाई भोगी आएको छ भन्नेसमेत धनबहादुरको छोरा वारेस नरबहादुरले गरेको बयान ।
५. २० साल आषाढदेखि तिमी खाउ भनी कर्णबहादुरले दिएकोले भोगी आएको छु भन्ने धनबहादुरको बयान र भूमिसधार टोलीमा धनबहादुरले खाइदिएको छु भन्ने प्रतिवादीमा उल्लेखसमेत भएकोले लख दिएको जग्गा वादीले भोग गर्न पाएको रहेछ भन्न भएन लिखत गरी लिए खाएमा प्रतिवादी सावितै भएकोले सावाँ रू.१०००। र बर्ष १० को ब्याज रू.१०००। समेत रू.२०००। प्र.कणैबहादुरले वादीलाई तिर्नुपर्ने ठहर्छ भन्नेसमेत ल.पु.जि.अ.को जि.न्या. प्रेमप्रसादबाट भएको फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी कर्णबहादुरको पुनरावेदन परेकोमा भोगवाला साहूले लखबन्धक लेखिदिएपछि सो जग्गा भोग गर्न दायित्व वादीकै हुने र लख दिएको जग्गा कच्चा ठहरी भोग गर्न नपाएको भएमात्र लख दिने आसामीउपर वादीको दावी मनासिव देखिनेमा त्यस किसिमसँग जग्गा भोग गर्न नपाएको भन्ने वादीको दावीबाट देखिन नआएकोमा यस्तो स्थितिमा कपाली सरह दिलाई पाउँ भन्ने भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत बागमती अञ्चल अदालतले हदमुनि गरी छिनेको फैसला ।
७. इन्साफ जाँची पाउँ भन्ने रणकुमारीको निवेदन परेकोमा इन्साफ जाँच गरिदिनू भन्ने हुकुम प्रमाङ्गी बक्स भई आई ०२८।१।९।५ को डिभिजन बेञ्चमा पेस हुँदा लेनदेन व्यवहारको ३ नं. बमोजिम लखबन्धकी कपाली हुन सक्छ सक्दैन भनी विचार गर्नु परेको छ । उक्त ३ नं.लखबन्धकीबारे नलेखिएकोले उक्त ३ नं.लाग्न सक्ने देखिएन लखबन्धकको बारेमा लेनदेन व्यवहारको २९ नं.मा पछि लिनेले अघिको भन्दा बढ्ता थैली लिएको र करार लेखेको सदर हुँदैन भन्ने लेखिएकोले पूरा लिई लख सारेकोमा भन्ने पछिल्ला साहूकहाँ निखन्न गए पनि हुने व्यवस्था रहेकोले आसामीले लखबन्धकी साहूलाई थैली तिरी निखनी लिनपाउने देखिन्छ । यसबाट लखबन्धकी साहू रत्नकुमारीको र आसामी धनबहादुरको छुट्टै व्यवहार हुने र लख दिएको नाताले कर्णबहादुरले लिन पाउने र दिनपर्ने अवस्था देखिँदैन बन्धकी जग्गालाई नै भोग गर्छु भन्ने इरादाले रणकुमारीले यो थैली दिएको छ भोगबन्धकी जग्गा कर्णबहादुरले भोग गरेको भनी वादीले फिरादमा लेखेको र धनबहादुरले बयानमा २०२० सालसम्म कर्णबहादुरले भोग गरेको हुन् भनी लेखेकोले भोग लिने साहुले भोग चलन गरिसकेको जग्गालाई साहूले चलन नगरेका भनी कपाली बनाई आसामी धनबहादुरसँग कपालीमा दावी लाग्ने अवस्था परेन भोगबन्धकीमा चढिसकेको जग्गालाई लखबन्धक साहूले भोग नगरी कपाली बनाई थैलीमा दावा नलाग्ने धनबहादुरउपर लखबन्धकी साहू रत्नकुमारीले थैली भरी पाउने हुँदैन लखबन्धकी लिने साहूले भोगबन्धकी साहूले जस्तै चलन गर्न पाउनेमा थैली भराई पाउँ भनी वादीले दावी गरेको ठहर्न सक्तैन, अञ्चल अदालतको इन्साफ मनासिव छ भन्ने फैसला भएको ।
७. यस बेञ्च समक्ष निवेदक वादी रणकुमारीतर्फबाट विद्वान अधिवक्ता श्री सर्वज्ञरत्नले भोगबन्धकीमा जग्गा भोग गर्ने साहूले अर्कोलाई लखबन्धक दिएकोमा भोगबन्धकी साहूको हक दायित्व लखबन्धकी साहूमा सर्ने र त्यस्तो लखबन्धकी लिखतको स्थिति भोगबन्धकी सरह नै हुने हो मेरो पक्षले जग्गा भोग चलन गर्न नपाएकोले तत्काल प्रचलित साहू आसामीको २क नं. बमोजिम लिखत कपाली हुने र विपक्षी कर्णबहादुरबाट थैली भराई लिन पाउने प्रष्टै छ । दावी बमोजिम भरी पाउनुपर्छ भन्नेसमेत र विपक्षी कर्णबहादुरतर्फबाट विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठले उक्त साहू आसामीको २क नं.भोग वा दृष्टिबन्धकीको हकमासम्म लागू हुने हो त्यसमा लखबन्धकीका कुरा उल्लेख नभएकोले लखबन्धकीको हकमा लाग्न सक्तैन मेरो पक्षबाट लखबन्धक लेखाई लिएपछि जग्गा वादीले भोग चलन गरेकोसमेत बाट वादी दावी बमोजिम थैली मेरो पक्षबाट भराई लिन पाउने होइन भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
८. यसमा दावी बमोजिम थैली वादीले भरिपाउने नपाउने के हो भन्ने कुराको निर्णयको लागि भोग वा दृष्टिबन्धकमा जग्गा भोग गर्ने साहूबाट अर्कोले लखबन्धक लेखाई लिएकोमा त्यस्तो लखबन्धकी साहुको हकमा तत्काल प्रचलित साहू आसामीको २क नं.को व्यवस्था लागू हुन्छ हुँदैन भन्ने विवादग्रस्त प्रश्न उपर नै सर्वप्रथम विचार गर्नु पर्ने हुन आउँछ ।
९. तत्काल प्रचलित साहू आसामीको २ (क) नं.अध्ययन गरी हेर्दा भोग वा दृष्टिबन्धक लेखाई लिएकोमा भोगबन्धकीमा १ बर्ष र दृष्टिबन्धकीमा २ बर्षभित्र बन्धकी लिएको अचल सम्पत्ति चलन गर्नू वा चलन गर्न नदिए चलन चलाई माग्न नालेस दिनुपर्ने सो नगरेमा लिखत कपाली सरह हुने व्यवस्था भएको पाउँछौँ । उक्त ऐनमा लखबन्धकीको कुरा उल्लेख नभए पनि सोही साहू आसामीको ३१ नं.मा भोगबन्धक वा दृष्टिबन्धक लिई राख्नेले तमसुक बमोजिमको वा त्यसभन्दा घटि लिई अर्कोलाई लखबन्धकी दिन लिन पाउने व्यवस्था भएको र त्यसरी लखबन्धकी लिखत गरी दिए लिएकोमा पहिलेको भोगबन्धक वा दृष्टिबन्धक र पछिको लखबन्धक लिखतको मूल रूपमा फरक हुने र भोग वा दृष्टिको हैसियत बदलिने नभई पहिले जुन रूप र हैसियत छ सोही रूप र हैसियतमा भोगबन्धक वा दृष्टिबन्धक साहूमा रहेको हक दायित्व लखबन्धक साहूमा सर्नेसमेत हुनाले लखबन्धकी लिखतको स्थिति पहिलेको भोग या दृष्टि जुनबाट सरेर आएको हो सो सरह नै हुने कुरा प्रष्ट हुन्छ । त्यसकारण लखबन्धकीको हकमा उक्त ऐनको व्यवस्था लगू नहुने भन्न मिल्ने देखिँदैन लखबन्धकी लिएको जग्गा पहिलेको भोगबन्धकी सरह १ बर्षभित्र साहूले चलन गर्न वा चलन चलाई माग्न नालेस नदिएको भएमा उक्त साहू आसामीको २ (क) नं.अनुसार उक्त लखबन्धकी लिखत कपाली सरह हुने कुरामा कुनै शङ्का छैन ।
१०. लखबन्धकी लिखत गराई लिएपछि वादीले जग्गा चलन गरे नगरेको के रहेछ भन्ने हकमा प्रतिवादी कर्णबहादुरले जग्गावादीले नै भोग चलन गरेकी थिइन भनी प्रतिवादीमा जिकिर लिएको र निजका साक्षी बलराम डिल्लीबहादुर २ जनाले १३ सालदेखि १९ सालसम्म जग्गा वादीले नै चलन गरेको भनी बकेको भए पनि मुख्य आसामी धनबहादुरले २० सालसम्म जग्गा कर्णबहादुरले नै भोगकोले पछि तिमी नै कमाई गरी खाउ भनी कर्णबहादुरले दिएकोले मैले भोगी आएको छु जग्गा वादीको भोग चलनमा छैन भनी बयान गरेको र वादीका साक्षी इन्द्रबहादुर, भिमबहादुर, नेत्रबहादुरसमेत ३ जनाले जग्गा वादीले भोग गरेको छैन भनी बकी दिएकोसमेत बाट प्रतिवादी र निजका साक्षीको भनाई अनुसार जग्गा वादीले भोग गरेकी भन्ने कुरा साँचो मान्न मिलेन वादी दावीअनुसार जग्गा वादीले चलन नगरेको नै देखिन आउँछ ।
११ अब लखबन्धकी लिखत उपरोक्त साहू आसामीको २ (क) नं.अनुसार कपाली हुन आएकोमा त्यस्तो लिखतको थैली भराई माग्न लखबन्धकवाला साहू वादीले पहिले भोगबन्धकी दिने वा पछि लखबन्धकी दिने कस उपर नालेस गर्न पर्ने हो भन्ने प्रश्न उपस्थित हुन्छ यस प्रश्नको निराकरणको लागि साविक साहू आसामीको ३१ हालको लेनदेन व्यवहारको २९ नं.हेर्दा लखबन्धक परेको चल अचल अघि भोग दृष्टिबन्धक राख्नेले रूपैयाँ तिरी निखन्न जाँदा घटि लिई लख सारेकोमा आफूले बन्धक दिएको ठाउँमा तह–तहसम्म गई निखन्न जानु पूरा लिई लख सारेकोमा पछिल्ला साहूकहाँ निखन्न गए पनि हुन्छ भन्ने निखन्ने कुरासम्मको लागि व्यवस्था भएको पाइन्छ लखबन्धकी लिखत लखबन्धकीकै रूपमा कायम रहेको नभई उपरोक्त साहू आसामीको २ (क) नं.अनुसार कपाली हुन आएको र भोगबन्धकी लिई मैले भोग गरी आएको जग्गा लखबन्धक दिएको छु भनी लखबन्धकी लिखतमा लेखिएको भएपछि भोगबन्धकी लिखतले पहिलेकै रूप लिने र जग्गा भोगबन्धकी नै कायम हुने अवस्था पर्न आउने र कपाली हुन आएको लखबन्धकी लिखतको साहू वादीको पहिले भोगबन्धकी दिने आसामीसँग कुनै सम्बन्ध नरहने हुँदा निजउपर थैलीमा नालेस गर्नु पर्ने भन्न मिल्ने देखिँदैन जसलाई आफूले रूपैयाँ दिई लिखत गराई लिएको हो उसैउपर कपाली थैलीमा नालेस गर्नु पर्ने प्रष्टै छ ।
१२. वादीले व्याजसमेत भराई पाउँ भनी दावी गरेकोले ब्याज पाउने नपाउने के हो भन्ने तर्फ तत्काल प्रचलित रजिष्ट्रेशनको ७ नं. र हालको रजिष्ट्रेशनको ६ नं.मा लिखत बमोजिम सम्पत्ति भोग गर्न नपाएकोमा व्याजसमेत भराई लिन पाउने जुन व्यवस्था छ सो रजिष्ट्रेशन पास गराउनु पर्नेमा पास नभई कपाली हुन आएको लिखतको लागिसम्म हो यो त्यस किसिम पास नभएको कारणबाट कपाली हुन आएको नहुनाले उक्त ऐन लाग्ने कुरै भएन साहू आसामीको २ क.नं.अनुसार कपाली हुन आएको लिखतको थैलीमा वादीको दावा हुनाले यसमा उक्त साहू आसामीको २क नं.नै लागू हुने त्यसमा व्याजसमेत पाउने उल्लेख नभएको जुन लखबन्धकी लिखत छ त्यसमा लखबन्धकी लेखिदिएको केही व्यहोराले कच्चा ठहर्यो भन्ने साहूको थैली ऐन बमोजिम मेरो घरानाबाट बुझाउँला भन्नेसम्म लेखिएको व्याजसमेत बुझाउँला भन्ने शर्त नरहेकोले तत्काल प्रचलित साहू आसामीको ५ नं.हालको लेनदेन व्यवहारको ६ नं.ले पनि ब्याज पाउन नसक्ने हुँदा व्याजमा वादीको दावा पुग्नसक्ने देखिँदैन । यस्तै दे.फु.नं. ११३ वादी ठूली खड्केनी प्रतिवादी भिमबहादुर खड्काको सावाँ ब्याज भराइपाउँ भन्ने मुद्दामा ०२९।९।८।६ को फुल बेञ्चबाट ब्याज नपाउने गरी निर्णय भइराखेको पनि छ ।
१३. तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट सावाँ रू.१०००। मात्र वादीले प्रतिवादी कर्णबहादुर बाट भरिपाउने र व्याजको हकमा नपाउनेमा वादीले बढी दावा गरेकोसमेत ठहर्छ । व्याज समेत भराई दिने गरेको शुरु ललितपुर जिल्ला अदालतको र वादी दावा नै पुग्न नसक्ने ठहराएको बागमती अञ्चल अदालत तथा ०२९।१।९।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन, अरू तपसील बमोजिम गर्नू ।
तपसील
वादी राकुमारी कार्की क्षेत्रीको शुरु ल.पु.जि.अ.को ०२३।९।१८।२ को फैसलाले प्रतिवादी कर्णबहादुरबाट भराई दिने गरेको शुरु कोर्टफी रू.१००। अरू दस्तर रू.६५। समेत जम्मा रू.१००।६५ बागमती अञ्चल अदालतको ०२६।१।१८।४ को फैसलाले लगत कट्टा गरिदिने गरेको मानो अनुसार गर्नु पर्दैन सो रू.१००।६५ मध्ये रू.५०।६५ मा को लगत काटी रू.५०। को लगत कायमै राख्नु र सो रू.५०। भराई पाउँ भनी दर्खास्त दिएमा प्रतिदवादी कर्णबहादुरले शुरु उपर पुनरावेदन गर्दा बागमती अञ्चल अदालतमा धरौट दाखिल गरेको रू.१००। मध्येबाट सो रू.५०। दस्तूर केही नलिई भराई दिनू । उक्त बागमती अञ्चल अदालतको फैसलाले पूरै धरौट रू.१००।६५ प्रतिवादी कर्णबहादुरलाई फिर्ता दिने गरेको लगत काटी वादीलाई भराउने रू.५०। कटाई बाँकी धरौट रू.५०। प्रतिवादी कर्णबहादुरलाई कानूनबमोजिम फिर्ता दिनू भनी का.जि.अ.तहसिल फाँटमा लगत दिनू....................१
ऐ.ऐ.कै प्रतिवादी कर्णबहादुरबाट भराई दिने गरेको बिगो रू.२०००। बागमती अञ्चल अदालतको २६।१।१८।४ को फैसलाले लगत कट्टा गरी दिने गरेकोमा सोअनुसार गर्नु पर्दैन । उक्त रु. २००० मध्य रू.१०००। मात्रको लगत काटी रू.१०००। को लगत कायमै राख्नू भनी ऐ.ऐ.....................२
बाग्मती अञ्चल अदालतको ०२६।१।१८।४ को फैसलाले ललितपुर जिल्ला अदालतका तत्कालिन जि.न्या.प्रेमप्रसादको पूरै इन्साफ उल्टीको रिकर्ड राख्ने गरेकोमा इन्साफ केही उल्टी मात्रको रिकर्ड राख्नू भनी बागमती अञ्चल अदालतलाई सूचना दिनू...................३
प्रतिवादी कर्णबहादुर खत्री क्षेत्री के निजले शुरु उपर पुनरावेदन गर्दा बागमती अञ्चल अदालतमा दाखिल गरेको कोर्टफी रू.१५। मध्ये रू.७।५० वादी रणकुमारीबाट भराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५ (११) बमोजिम ३ बर्षभित्र दर्खास्त दिएमा दस्तूर केही नलिई भराई दिनू भनी का.जि.अ.तहसित फाँटमा लगत दिनू............४
वादी रणकुमारी कार्कीनी के निजले मुद्दा दोहर्याउँदा ०२८।१०।१०।२ मा सर्वोच्च अदालतमा दाखिल गरेका कोर्टफी रू.१० मध्ये रू.५। कोर्टफी ऐन, २०१७ को संशोधित दफा (१५ ११) बमोजिम ३ बर्षभित्र दर्खास्त दिएमा दस्तूर केही नलिइ भराई दिनू भनी ऐ..........................५
नियमबमोजिम मिसिल बुझाइदिनू...........................६
न्या. मीनबहादुर थापा
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३० साल बैशाख २२ गते रोज ६ शुभम् ।