शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७२८ - जग्गाबाली

भाग: १५ साल: २०३० महिना: बैशाख अंक:

निर्णय नं. ७२८           ने.का.प. २०३०

फुल बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री जयदेव भट्ट

सम्वत् २०२८ सालको देवानी फुल बेञ्च नम्बर ११०

फैसला भएको मिति : २०२९।१०।२०।३

निवेदक : गुल्मी लेहाङ बस्ने टिकाराम भण्डारी जोशीको स्वास्नी दुर्पदा जैस्यानी

विरूद्ध

विपक्षी : ऐ.बस्ने गनपति भण्डारी जैशीको स्वास्नी धनकला जैस्यानी

मुद्दा : जग्गाबाली

(१)   तत्कालिन प्रचलित बाली झगडाको २० नं.जग्गा तेरो मेरो हकबेहकमा दावी गरी मुद्दा चलाई राखेकोमा बालीमा तत्काल प्रचलित बालीको झगडाको २० नं.अन्तर्गत वादीको नालेस लाग्न सक्ने अवस्थाको नदेखिने ।

      वादीको पहिले दावी २००७ सालदेखि २०१६ साल तकको बालीको हकमा मेरो तिरो रू.१।६ को जग्गामा ।२५ गनपतिले दर्ता गराएको बदर गरिपाउँ भनी टिकारामले २००६ सालमा मेरो नाउँमा नालेस दिर्र्र्ई जग्गाको आयस्ता बालीसमेत खाएको आखिर पश्चिमाञ्चल उच्च अदालतबाट ०७।३।२८ मा फैसला हुँदा जग्गा मेरै दर्ता हक भोग सदर थामी वादीको उजूर खारेज भएकोले मेरो हक ठहर्न आएको जग्गाको उपरोक्त सालको बाली बिगो भराई पाउँ भनी वादीले दावी लिएको रहेछ । हाल यो मुद्दाको प्रतिवादी टिकाराम वादी र वादी गनपति प्रतिवादी भई पहिले परेको दोहरा दर्ता लगत कट्टा गरिपाउँ भन्ने मुद्दामा पश्चिमाञ्चल उच्च अदालतबाट भएको ०१७।३।२८।२ को फैसला हेर्दा मेरो तिरो रू.१।६।१ मध्ये रू.।२५ तिरो गनपति ९४ सालमा दर्ता गराएको बदर गरिपाउँ भन्ने टिकारामको दावी भएकोमा ९४ सालमा दर्ता भई मोठ खडा भएको कुरामा दर्ता बदर गरिपाउँ भन्ने २००८ सालमा उजूर गरेको वादी दर्ता गरी इन्साफ दिन मनासिव नपर्ने भनी वादी खारेज गरेको भए पनि जग्गाको हकमा कुनकुन जग्गा ककस्को ठहर्छ उजूर परेकै बखत निर्णय हुन्छ हाल इन्साफ गरी जग्गा छुट्याउनु अपीलको गल्ती ठहर्छ भनी जग्गा हकबेहकमा निर्णय नभएको र सर्वोच्च अदालत डिभिजन बेञ्चबाट पनि सोही सदर भई ०१९।८।४।२ मा फैसला भएको देखिन आयो । जग्गामा झगडा पर्दा मामिला फैसला नभई हक नछुटी रहेको बालीमासम्म तत्काल प्रचलित बालीका झगडाको २० नं.अनुसार सो मामिला छिनिएको १ बर्षभित्र नालिस लाग्न सक्ने हो उपरोक्त उल्लेख भए बमोजिम पहिले परेको दोहरा दर्ता मुद्दामा पश्चिमाञ्चल उच्च अदालतसमेतको फैसलाबाट वादीको रू.२५ तिराको जग्गा यहाँनेर ठहर्छ भनी जग्गा तेरो मेरो हकबेहकको निर्णय नभएको र जग्गा तेरो मेरो हकबेहकमा यस मुद्दामा दावी गरी मुद्दा चलाइराखेकोले ०७ सालदेखि ०१६ सालतकको बालीमा तत्काल प्रचलित बालीका झगडाको २० नं.अन्तर्गत वादीको नालेस लाग्न सक्ने अवस्था देखिएन ।

(प्र.नं. ११)

निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल

विपक्षी तर्फबाट : अधिवक्ता गङ्गाप्रसाद उप्रेती

फैसला

     न्या. धनेन्द्रबहादुर सिंह

      १.     प्रस्तुत मुद्दा डिभिजन बेञ्चले ०२७।१।१०।५ मा छिनेको दोहर्‍याई पाउँ भनी प्रतिवादी पक्षले चढाएको निवेदनपत्र जाहेर हुँदा व्यहोरा साँचो हो र अब फुल बेञ्चबाट मुद्दा हेरी छिनिँदा हारे पनि फेरि दोहर्‍याई पाउँ भनी विन्ती गर्ने छैनौं भन्ने कागज गर्छन् भने गराई डिभिजन बेञ्चबाट फैसला भएको मिसिल झिकी एकपटक फुल बेञ्चबाट दोहर्‍याई हेरी कानूनबमोजिम गरी छिनिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट विशेष जाहेरी विभाग राजदरवार मार्फत् ०२८।४।१८।३ मा हुकुम प्रमाङ्गी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेस हुन आएको छ ।

      २.    मुद्दाको तथ्य यसप्रकार छ : पूर्व रोकडी खोलो पश्चिम पदेराको ठाडो खोल्सी उत्तर तुल्सीरामसमेतको र मेरै किनुवा जग्गा दक्षिण अन्यायावालाको घर माथिको ढिक र लेकनाथका जग्गा यति ४ किल्ला भित्रको मेरो नाउँमा तिरो रू.१।६।१ मध्ये रू.।२५ दर्ता भएको दापदमार भन्ने जग्गा टिकारामले मेरो हो निजको दर्ता बदर गरिपाउँ भनी जग्गामा दावी खिचोला गरी २००६ सालमा मेरो नाउँमा नालेस दिएको मुद्दा पश्चिमाञ्चल उच्च अदालतबाट जग्गा मेरै हक दर्ता भोग सदर थामी वादीको उजूर खारेज गरेको गुल्मी राज्य अदालतको इन्साफ मनासिव भनी ०१७।३।२८ गते फैसला भएको हुनाले ०७ सालदेखि ०१७ सालतक निजले जवरजस्ती खाई आएको आयस्ता बालीमा ऐनले अन्तिम फैसला भएका मितिले १ बर्षभित्र नालेस गर्न पाउने र यो ०१७ सालको मकैबाली ०१७।५।२९ गते निज अन्यायवालाले लुटपिट गरी जग्गामासमेत दावी खिचोला गरेकाले फिराद दिन आएको छु जम्मा बालीको बिगो रू. ८५८०। अन्यायावालाबाट भराई उक्त जग्गा छुट्याई खिचोला मेटाई चलनचलाई मेरो हकभोग थामी पाउँ भन्नेसमेत गनपतिको वादी ।

      ३.    प्रतिवादीका नाउँमा तामेल भएको म्याद गुज्री प्रतिवादी नपरेको ।

      ४.    वादी दावीको तिरो रू.।२५ को दापदमार भन्ने जग्गा दोहरा दर्ता गरे भन्ने टिकारामको दावी खारेज भई वादीले जितिपाएको पश्चिमाञ्चल उच्च अदालत र सर्वोच्च अदालतको फैसलाबाट देखिन आएको प्रतिवादीले प्रतिवादी नदिई पैरवी छाडी बसेको वादीका साक्षी र सर्जमिनबाट जग्गा प्रतिवादीले भोग गरेको र बाली लुटेको देखिन आएकोसमेत हुँदा वादीले दावी बमोजिम बाली बिगो भरिपाउने र ०१७ सालको बाली लुटी जग्गामा खिचोला गरेकोसमेत ठहर्छ भन्ने ०२१।१।२।३ को इलाका अदालत गुल्मीको फैसला ।

      ५.    बीच बीचमै म्याद तामेल गरी रू.८५८०। बिगो भराई दिने फैसला गरेकाले मर्का पर्‍यो भनी दुर्पदाले चढाएको निवेदनपत्रमा पहिले बक्स भएका हुकुम प्रमाङ्गी बमोजिम कैफियत रिपोर्टसमेत जाहेर हुँदा रुल नियमबमोजिम गरी एकपटक इन्साफ जाँची कानूनबमोजिम गर्नू भन्ने ०२२।२।५।२ को हुकुम प्रमाङ्गी बक्स भएको ।

      ६.    पश्मिाचमाञ्चल उच्च अदालत र सर्वोच्च अदालतसमेत बाट भएको फैसलाले अरू जग्गाको हकबेहक नभई पाल्पा अपीलले गरेको हकबेहक बदर भई सिर्फ ०४ सालको नम्बरी दर्ता भएको गनपति गुरुदत्तको दर्ता ।१२।२ को जग्गाको मात्र तहकिकात भएको देखिएको सोही जग्गाको आयस्ता बालीमा दावी गरेको भए पनि नम्बरी दर्ताबाट धनपति रू.।१२।२ दर्ता भन्ने देखिएको वादी गनपतिको धनपतिबाट रू.।१२।२ मात्र दर्ता भएकोमा रू.।२५ तिरेको जग्गा भनी दावी गरेको उचित भन्न नमिल्ने र सो ०४ सालको दर्ता तिरो रू.।२५ को लगत काटी दिने ठहर भएको देखिएकोले हकबेहक नभएको जग्गाको वा हकबेहक भई वादीको नाममा दर्ता भएको तिरोको लगतै काटी दिने भएको जग्गाको बालीसमेत वादीले पाउने अधिकार प्राप्त हुन नसक्नेसमेत हुँदा वादीको दावा नाजायज र शुरुको निर्णय गल्ती ठहर्छ भन्नेसमेत लुम्बिनी अञ्चल अदालतको २२।९।५।२ को फैसला ।

      ७.    सो इन्साफमा चित्त नबुझी मर्का परेकोले म्याद थामी पुनरावेदन लिई दिनू भन्ने वा इन्साफ जाँची दिनू भन्ने प्रमाङ्गी पाउँ भनी वादी पक्षको विन्तिपत्र परेकोमा व्यहोरा साँचो भए मिसिल झिकाई एकपटक इन्साफ जाँची निर्णय गरी दिनु भन्ने ०२४।१०।९।३ को हुकुम प्रमाङ्गी बक्स भएको ।

      ८.    अघि झगडा परी बदर भएको जग्गा र हाल झगडा परेको जग्गा यौटै नभई हाल झगडा परेको जग्गा नं.४७।४८।४९।५०।५२।३२।२९ एकै मिलान देखिएको प्रतिवादीले वादीको ९४ सालको रू.।२५ दर्ताको जग्गा नं.६०।६२ को देखाएको छन् तापनि वादीको अरू ।८१ दर्ताको जग्गा नं.नं.६३ मा वादीको घर भई सो घरको वरिपरि नं.नं.६०।६१।६२। समेतको जग्गा भई घरबारी ८१ को र रू.।२५ को हाल झगडा परेको जग्गा उक्त नं.४७ समेतको जग्गा वादीकै देखिन आएको प्रतिवादीको दर्ताको अघि फैसलाले बदर भएको र हाल झगडा परेको जग्गाको आठाना छुट्टाछुट्टै भई प्रतिवादीको जग्गा उक्त लेखिएबमोजिमको छुट्टाछुट्टै देिखन आएकोले वादीको जग्गामा प्रतिवादीले मेरो भनी खिचोला गरेको देखिने र बाली विषयमा साक्षी सर्जमिनले वादीको भोगचलनको जग्गामा प्रतिवादीले लुटी लगेको हो भनी बकी दिएकोले वादीको रू.।२५ तिराको जग्गामा प्रतिवादीले बाली खाएको र लुटपिट गरेका ठहराई बाली बिगो भराई दिने गरेका इन्साफ शुरुको मनासिव छ । लुम्बिनी अञ्चल अदालतको इन्साफ गल्ती ठहर्छ भन्ने ०२७।१।१०।५ को डिभिजन बेञ्चको फैसला ।

      ९.    यसमा दावी बमोजिम पहिलेको मुद्दा पर्दाको अवस्थाको ०७ सालदेखि १६ सालतकको बाली बिगो वादीले भरी पाउने नपाउने के हो वादीको रू.२५ तिराको जग्गा कुन हो र वादीको जग्गामा प्रतिवादी खिचोला गरी ०१७ सालको बाली लुटेको हो होइन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

      १०.    निवेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले दोहरा दर्ता गरेको लगत काटी पाउँ भनी मेरो पक्षले ०८ सालमा दिएको मुद्दामा ०१७।३।२८।२ मा फैसला हुँदा यो मुद्दाको वादीले ९४ सालमा दर्ता गरेको रू.।२५ तिरोको लगत काटी पाउँ भन्ने तर्फ दावीमा ९४ सालको दर्ता बदर गरिपाउँ भन्ने ०८ सालको वादी दर्ता गरी इन्साफ दिन मनासिव नहुँदा खारेज हुने र कुनकुन जग्गा के कसको ठहर्छ उजूर परेकै बखत निर्णय हुन्छ भन्ने ठहर भएको छ वादीको रू.।२५ दर्ता कायम भएको जग्गा यहाँनेरको भनी जग्गामा हकबेहक गरी झगडा परेको जग्गा वादीको हक ठहर्‍याई जिताई फैसला गरेकै छैन । जग्गा तेरो मेरो हकबेहकमा वादीले नै यो मुद्दा चलाई राखेकासमेत हुँदा ०७ सालदेखि १६ सालतकको बालीमा तत्काल प्रचलित बालीका झगडाको २० नं. बमोजिम वादीको दावी नै लाग्ने सक्तैन वादीको रू.।२५ दर्ताको जग्गा नं.५६ को ठाडो सुका खोल्सी र नं.नं.६२ को बारको बीचमा नं.नं.६०।६१ मा छुट्टा देखिएकै छ । नं.नं.५६ खोल्सी नं.नं.५५ नयाँ घटेको साँधको किल्ला रही मेरो पक्षको नाममा खेत मुरी ३ दर्ता भएको र अघि परेको मुद्दामा मेरो पक्ष टिकारामको जग्गा भरलाको ठाडो खोल्सीदेखि पश्चिमपट्टि छ भनी हालको वादीले नै भने लेखाएकोसमेत हुँदा हाल झगडा परेको जग्गा मेरो पक्षकै घरबारी भित्रको भन्ने प्रष्टै देखिएको छ भन्नेसमेत र वादीतर्फका विद्वान अधिवक्ता श्री गङ्गाप्रसाद उप्रेतीले पहिले परेको मुद्दामा मेरो पक्षको रू.।२५ तिरो दर्ता कायम राखी फैसला भएपछि मेरो पक्षले जितेको होइन भन्ने प्रश्नै आउँदैन मुद्दा चल्दै गई आखिर मेरो पक्षले जिती अन्तिम फैसला भएपछि मुद्दा चल्दाको अवस्थाको विपक्षीले खाई राखेको बालीमा तत्काल प्रचलित बालीका झगडाको २० नं.ले दावी गर्न पाउने प्रष्ट छ । नं.नं.६०।६१ को जग्गा मेरो पक्षको छुट्टै घरबारी दर्ता मध्येको हो अघिको मुद्दामा मेरो पक्षले हालको प्रतिवादीको जग्गा भरलाको ठाडो खोल्सीदेखि पश्चमपट्टि पर्छ भनेको मात्र छैन सो भरलाको ठाडो खोल्सी पश्चिम र मेरो बारीको ढिकदेखि दक्षिण पर्छ भन्ने लेखेको छ सो किल्लाभित्र विपक्षीको जग्गा छुट्टै भएको नक्साबाट देखिएको छ झगडा परेको जग्गा मेरै पक्षको दर्ता हकको हो भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।

      ११.    वादीको पहिले दावी २००७ सालदेखि २०१६ साल तकको बालीको हकमा मेरो तिरो रू.१।६ को जग्गामा ।२५ गनपतिले दर्ता गराएको बदर गरिपाउँ भनी टिकारामले २००६ सालमा मेरो नाउँमा नालेस दिर्र्र्ई जग्गाको आयस्ता बालीसमेत खाएको आखिर पश्चिमाञ्चल उच्च अदालतबाट ०७।३।२८ मा फैसला हुँदा जग्गा मेरै दर्ता हक भोग सदर थामी वादीको उजूर खारेज भएकोले मेरो हक ठहर्न आएको जग्गाको उपरोक्त सालको बाली बिगो भराई पाउँ भनी वादीले दावी लिएको रहेछ । हाल यो मुद्दाको प्रतिवादी टिकाराम वादी र वादी गनपति प्रतिवादी भई पहिले परेको दोहरा दर्ता लगत कट्टा गरिपाउँ भन्ने मुद्दामा पश्चिमाञ्चल उच्च अदालतबाट भएको ०१७।३।२८।२ को फैसला हेर्दा मेरो तिरो रू.१।६।१ मध्ये रू.।२५ तिरो गनपति ९४ सालमा दर्ता गराएको बदर गरिपाउँ भन्ने टिकारामको दावी भएकोमा ९४ सालमा दर्ता भई मोठ खडा भएको कुरामा दर्ता बदर गरिपाउँ भन्ने २००८ सालमा उजूर गरेको वादी दर्ता गरी इन्साफ दिन मनासिव नपर्ने भनी वादी खारेज गरेको भए पनि जग्गाको हकमा कुनकुन जग्गा ककस्को ठहर्छ उजूर परेकै बखत निर्णय हुन्छ हाल इन्साफ गरी जग्गा छुट्याउनु अपीलको गल्ती ठहर्छ भनी जग्गा हकबेहकमा निर्णय नभएको र सर्वोच्च अदालत डिभिजन बेञ्चबाट पनि सोही सदर भई ०१९।८।४।२ मा फैसला भएको देखिन आयो । जग्गामा झगडा पर्दा मामिला फैसला नभई हक नछुटी रहेको बालीमासम्म तत्काल प्रचलित बालीका झगडाको २० नं.अनुसार सो मामिला छिनिएको १ बर्षभित्र नालिस लाग्न सक्ने हो उपरोक्त उल्लेख भए बमोजिम पहिले परेको दोहरा दर्ता मुद्दामा पश्चिमाञ्चल उच्च अदालतसमेतको फैसलाबाट वादीको रू.२५ तिराको जग्गा यहाँनेर ठहर्छ भनी जग्गा तेरो मेरो हकबेहकको निर्णय नभएको र जग्गा तेरो मेरो हकबेहकमा यस मुद्दामा दावी गरी मुद्दा चलाई राखेकोले ०७ सालदेखि ०१६ सालतकको बालीमा तत्काल प्रचलित बालीका झगडाको २० नं. अन्तर्गत वादीको नालेस लाग्न सक्ने अवस्था देखिएन ।

      १२.   दोस्रो दावी मेरो रू.२५ तिरोको जग्गामा खिचोला गरी १७ सालको मकैबाली लुटपिट गरे भन्ने हकमा वादी गनपतिका सो रू.।२५ तिरोको जग्गा कुन हो भन्ने विवादतर्फ नै मुख्य रूपले विचार गर्नु पर्ने हुन आएको छ । ०२६।१०।२३।५ मा भएको नक्सा हेर्दा नं.नं.५६ को ठाडो खोल्सीदेखि पूर्वतर्फ नं.नं.४७।४८।५० समेतको गोठ जग्गा मेरो तिरो रू.।२५ को हो प्रतिवादीले मेरो तिरो रू.।२५ भनी देखाएको नं.नं.६०।६१ को जग्गा नं.नं.६३ मेरो तिरो रू.।८१।१ को छुट्टै घरबारी दर्ता मध्येको हो भनी वादीले र सो नं.नं.४७।४८।५० को जग्गा गोठसमेत तिरो रू.।८१।१ भित्रैको मेरो हो वादी गनपतिको रू.।२५ दर्ताको जग्गाको नं.नं.६०।६१ को हो भनी प्रतिवादीले जिकिर लिएको पाइन्छ, मेरो सोही दर्ता तिरोको पाखोमा पेद्दी खेत मुरी ।३ दर्ता गराएको भन्ने प्रतिवादी टिकारामको लेखाई भएको सो खेत मुरी ।३ दर्तामा कुनकुन ४ जिल्ला लेखिएको रहेछ भनी प्रमाणको मिसिल सामेल रहेको ९८ सालको मोठ दर्ता उतार हेर्दा पूर्व साँगुखोला पश्चिम ठाडो सुका खोल्सी उत्तर नयाँ घटेको साँध दक्षिण गौरास्वर भँडारीको बारीको ढिक यति ४ किल्ला रही खेत मुरी ।३ दर्ता भएको देखिन आयो सो खेत दर्ताको ४ किल्ला भित्रैमा पर्ने हाल झगडा परेको नं.नं.४७।४८।५० समेत वादीको ९४ सालको दर्ता रू.।२५ तिराको भए निज वादीले तत्काल प्रचलित जग्गा मिच्नेको २१ पजनीको ३४ नं.को म्याद २ बर्षभित्र नालेस गरी प्रतिवादी टिकारामको सो खेत दर्ता बदर गराउन सक्नुपर्ने सकेको देखिन आएन ।

      १३.   यसको अतिरिक्त यो मुद्दाको प्रतिवादी टिकारामले जग्गा खिचोलामा २००६ सालमा नालेस गर्दा पश्चिम मेरै घरबारी सुका ठाडो खोल्सी परीको बार वर्राको रुख भन्ने किला हाली बारसम्मको जग्गा मेरो दर्ता तिराभित्रको भनी नालेसमा दावी गरेको ठाडो खोल्सी परीको बार भनेको हालको नं.नं.६२ मा भएकोमा विवाद नभएको वादी गनपतिको रू.।२५ तिरोका भनी प्रतिवादीले देखाएको नं.नं.६०।६१ को जग्गा प्र.टीकारामले भनेकोमा सो बारको किल्ला भित्रैमा पर्न आउने नक्साबाट देखिन्छ सो नं.नं.६०।६१ को जग्गा मेरो छुट्टै दर्ता तिरो रू.।८१।१ को नं.नं.६३ को घरबारी भित्रैको हो भनी उपरोक्त २००६ सालमा परेको मुद्दाको प्रतिवादीमा जिकिर लिन वादी गनपतिले नसकी पनेरो खोल्सीदेखि पूर्वको जग्गा मरो हो भन्नेसम्म जिकिर लिएको र नं.नं.६०।६१ पनि नं.नं.६३ वादीको घरबारी दर्ता भित्र के नं.नं.६३ र नं.नं.६०।६१ को बीचमा नं.नं.६२ को बार लगाई जग्गा छुट्याउनु पनि नपर्नेसमेत हुँदा नं.नं.६०।६१ को जग्गा मेरो तिरो रू.।८१।१ को नं.नं.६३ का घरबारी भित्रैको भन्ने वादीको जिकिर समर्थित हुन आउँदैन, त्यसकारण वादीको ९४ सालको रू.।२५ तिरो दर्ताको जग्गा नं.नं.६२ को बारदेखि पूर्व नं.नं.५६ को पँधेराको सुका ठाडो खोल्सीदेखि पश्चिम तर्फको नं.नं.६०।६१ को नै रहेछ भन्ने नक्सासमेतको प्रमाणबाट प्रष्ट हुन्छ ।

      १४.   तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट ०७ सालदेखि ०१६ सालतकको बाली बिगो भराई पाउँ भन्ने तर्फ र नं.नं.४७।४८।५० समेतको जग्गा गोठ मेरो रू.।२५ तिरोको भन्ने तर्फसमेत वादी दावी पुग्न सक्दैन जग्गा वादीको ठहर्न नआएपछि सो जग्गाको १७ सालको बाली लुटी जग्गामा खिचोला गरे भन्ने तर्फसमेत वादीले झुठ्ठा उजूर गरेको र झगडा परेको सो जग्गा गोठसमेत प्रतिवादी टिकारमकै दर्ता हक भोगको कायम हुनेसमेत ठहर्छ प्रतिवादीले वादीको जग्गामा खिचोला गरी बाली लुटेकोसमेत ठहराई दावी बमोजिम बाली बिगो भराई दिनेसमेत गरी ०२७।१।१०।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन, पहिले परेको दोहरा दर्ता मुद्दामा पश्चिमाञ्चल उच्च अदालतसमेत बाट फैसला हुँदा गनपति गुरुदत्तले रू.१२।२ दरले २००१ सालमा दर्ता गराएको लगत काटी दिने ठहर भइसकेको जग्गा पनि मेरो भनी हाल यो मुद्दाको नक्सासमेतमा वादीले जिकिर उठाएतर्फ अघि नै निर्णय भइसकेकोमा यस मुद्दाबाट केही बोलिरहनु परेन, अरू तपसील बमोजिम गर्नू ।

 

तपसील

देहायका मानिस के लुम्बिनी अञ्चल अदालतको २२।९।५।२ को फैसलाले गर्ने गरेको देहाए बमोजिम डिभिजन बेञ्चको ०२७।१।१०।५ को फैसलाले नलाग्ने लगत कट्टा गरिदिने गरेकामा उक्त डिभिजन बेञ्चका फैसला बमोजिम गर्नु पर्दैन लुम्बिनी अ.ंअ.को फैसलाबमोजिम लगतकायम राख्नु भनी लुम्बिनी अं.अदालतलाई लेखी पठाउन कानूनबमोजिम लगत दिनू..........१

वादी गणपति भण्डारी के जरिवाना रू.८५८ । साक्षी ऋषिराम भण्डारी के ऐ.रू. १

वादी गणपति भण्डारी जैसीको मुद्दा सकार गर्ने धनकला भडार्नीके जग्गा खिचोला तर्फ झुठ्ठा उजूर गरेका तिरो रू.।२५ को तत्काल प्रचलित दण्ड सजायको २८ नं.सयकडा ६ ले हुने मोल बिगो रू.४।१६ को तत्काल प्रचलित जग्गा मिच्नेको २२ नं. सयकडा २।५० ले रू.।११ एघार पैसा जरीवाना हुन्छ वारेस हुँदा असूल गर्न ऐ.............................२

प्रतिवादी टिकाराम भण्डारी जैसी के इलाका अदालत गुल्मीको ०२१।१।२ का फैसलाले गर्ने गरेका जरिवाना रू.१५६।११ नलाग्ने नै हुँदा सो फिर्ता लगत कट्टा गर्ने गरेको लुम्बिनी अञ्चल अदालतको २२।९।५।२ को फैसला बमोजिम लगत कयम राख्नू सो जरिवाना फिर्ता लगत कट्टा गरी दिने गरेका लुम्बिनी अञ्चल अदालतको फैसला बमोजिम लगत काटी शुरु फैसलाको लगत कायम राख्नू भनी ०२७।१।१०।५ को डिभिजन बेञ्चको फैसला बमोजिम गर्नु नपर्ने हुँदा सो डिभिजन बेञ्चको फैसला बमोजिमको लगत काटिदिनू भनी ऐ........................३

निवेदक दुर्पदा भण्डारी जैसी के मुद्दा दोहर्‍याउँदा राखेको कोर्टफी रू.८६।३२ विपक्षीहरू धनकल जैस्यानीबाट भराई पाउँ भनी कोर्टफी ऐन, २०१७ को दफा १५।११ बमोजिम ३ बर्ष भित्र दर्खास्त दिएमा दस्तूर केही नलिई भराई दिनू भनी.............................४

वादी गणपति भण्डारी जैसी के शुरु ई.अ.मुल्मीको ०२१।१।२ का फैसला बमोजिम प्रतिवादी टिकारामबाट भराई दिने गरेको बिगो रू.८५८०। भराउनु नपर्ने हुँदा सो बिगोको लगत काटी दिने गरेको लुम्बिनी अञ्चल अदालतको २२।९।५।२ को फैसला बमोजिम लगत कायम राख्नु उक्त बिगोको लगत कायमै राख्ने गरेको ०२७।१।१०।५ को डिभिजन बेञ्चको फैसला बमोजिमको लगत काटी दिनु भनी ऐ.........................५

नियमबमोजिम मिसिल बुझाइदिनू..........................६

 

न्या. हेरम्बराज

न्या. जयदेव भट्ट

 

हामीहरूको सहमती छ ।

 

 

इति सम्वत् २०३९ साल मार्ग २० गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु