शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७३१ - जग्गा बाली

भाग: १५ साल: २०३० महिना: बैशाख अंक:

निर्णय नं. ७३१                 ने.का.प. २०३०

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री रङ्गनाथ उप्रेती

माननीय न्यायाधीश श्री झपटसिंह रावल

सम्वत् २०३८ सालको दे.फु.नं. १०५

फैसला भएको मिति :      २०३०।१।२६।३

निवेदक : लमजुङ मौजे ४ नाला छ गाउँ बस्ने मथुरा पाध्यानी

विरूद्ध

विपक्ष : ऐ.ऐ. बस्ने जि.म. रघुनाथ पाध्यासमेत

मुद्दा : जग्गा बाली

(१)   मुडिई जोगी भएका मानिसको कृया नगरेको भन्ने दोष लगाउन मिल्ने नदेखिने ।

            यसमा वादी दावीको ३ कित्ता मध्ये सोति भन्ने खेत मुरी ।३।१५ को हकमा वादीको ससुराका दर्ता हकको हुँदा वादीकै ठहराई शुरुले छिने उपर प्रतिवादी बलराम जगदेवले पुनरावेदन नै नगरी चित्त बुझाई बसेकोसमेत देखिन आयो । अर्को सिम्ले भन्ने खेत मुरी ।३।१० को हकमा मेरो नाति नाबालक भएकोले निजले कृया गर्न सक्ने डालो बोक्ने र नसके तैंले कृया गरी खानू भनी सिम्ले भन्ने खेतमुरी।३।१० समेत रू.१००। मोल राखी नारानदत्तले प्रतिवादी जि.मु.रघुनाथलाई २०१०।१।२।३ मा राजीनामा लिखत गरी दिएको सद्दे हो भन्ने कुरा वादीले स्वीकार गरेको पाइन्छ निज रघुनाथले कृया नगरेकोले जग्गामा निजको हक नपुग्ने भन्ने वादीको मुख्य जिकिर भए पनि पछि वादीको ससुरा नारानदत्त मुडिई जोगी भएकोबाट मरेपछि जोगीको रीत माफिक भण्डारा भएको हो भन्ने प्रतिवादी रघुनाथले प्रतिवादीमा जिकिर लिएको त्यसरी मुडिई जोगी भएका मानिसको प्रतिवादीले कृया नगरेको भन्ने दोष लगाउन मिल्ने देखिएन मुख्य लिखत गरी दिने नारानदत्तले सो लिखत बदर नगराई कायम रहेको र लिखतबमोजिम जग्गा प्रतिवादी रघुनाथले भोग तिरो गरी आएको प्रमाणित हुन्छ । त्यसकारण उक्त सिम्ले भन्ने खेत मुरी ।३।१० मा वादीको दावी पुग्न नसक्ने ठहराई ०२६।६।८।४ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिवै ठहर्छ ।

(प्र.नं. १५)

फैसला

            प्र.न्या. रत्नबहादुर बिष्ट

            १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधान धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनू भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमाङ्गी बक्स भई आई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुन आएको छ ।

            २.    मुद्दाको तथ्य यसप्रकार छ : जि.मु.रघुनाथ पाध्या जिम्मा ९० सालमा जाँचमा विष्णुमायाका नाउँमा दर्ता भई मेरो ससुरा नारायणदत्तले छोडपत्र राजीनामा गरिलिई रघुनाथको बाबु तारानाथसँग मुद्दा परी प.३ नं.गोश्वाराको ९५।१२।२२ का फैसलाले ससुराकै हक ठहरेको सोती भन्ने खेत मुरी ।३।१५ को कित्ता र ससुरा नारायणदत्तका नाउँमा दर्ता भएको छाप भन्ने खेत मुरी ।६।५ को कित्ता र सिमले भन्ने खेत मुरी ।३।१० को कित्तासमेत ससुराको शेषपछि सासु चन्द्रकलाले भोगेकी निज ७५ बर्ष नाघी दौलतको हिसाब गर्न नसक्ने हुँदा घरको मुख्य जानकार म भई सो जग्गाको तिरो जि.मु.रघुनाथलाई तिरी बुझाई रसिद लिई भोग गरी आएको १८ सालको धानबाली लगाउन जोताई राखेकोमा अन्यायवालाहरू सबैले हलगोरु हली ल्याई १८।२।२५ गते धानबाली छरी १९ सालको बालीसमेत चलन गर्न नदिई बाली आफैं काटी लगेकाले १८।१९ सालको धान परालको बिगो रू.१६४०। अन्यायवालाबाट बराबर दरले दिलाई जग्गामा दावी खिचोला मेटाई पाउँ भन्नेसमेत वादी ।

            ३.    वादी दावीको दाप भन्ने खेत मुरी ।६।५ मा वादीको ससुरा नारायणदत्तले दावी झगडा गरे तापनि म चिरञ्जिवीको आमा वसन्धरी म लिलाधरको बाजे श्रीकृष्णको हक ठहरी ९३।९।२२ मा भारदारी दोस्रा फाँटबाट फैसला भई जिती भोग तिरो गरेका छौँ वादी दावी झुठ्ठा हो भन्ने चिरञ्जिवी लिलाधरको प्रतिवादी ।

            ४.    विष्णुमायाको दर्ता सोती भन्ने मुरी ।३।१५ हाम्रा बाबा तारानाथलाई हक छाडी लिखत गरी दिएकोबाट बाबाको हक भई भोग तिरो गरी आएको वादीको ससुरा नारायणदत्तसँग मुद्दा पर्दा नारानदत्तले जिते पनि भारादारीबाट बाबाले जिती ९६।५।१६ को खड्गनिसानाबाट भारादारीको इन्साफ सदर भई भोग तिरो गरी आएको ०८ सालमा भिन्न हुँदा हामीहरूको अंशमा परी भोग गरी आएकोमा ०८ सालमा भिन्न हुँदा हामीहरूको अंशमा परी भोग गरी आएका छौँ वादी दावी झुठ्ठा हो भन्नेसमेत बलराम जगदेवको प्रतिवादी ।

            ५.    नारायणदत्त मेरो सहोदर जेठा बाबु हुन निजको स्याहारसुसार मैले गरी रहेको जेठो छोरा बक्क लाटो बेहोसी कान्छो मरी नाति नावालख हुनाले म मरे नातिले कृया गर्न सके तैंले डालो बोक्नू नातिले कृया गर्न नसके तैल कृया गर्नु भन्नु भएको मैले स्वीकार गरी सिम्ले खेत ।३।१० र गौरीस्वारा खेत ११।१२।४ मध्ये ।४।२ हालैदेखि आफ्नो हक जानी तिरो भरो चलन चलाइ गर्नु भनी ०१०।१।२ गते राजीनामा लिखत गरी दिएकाले मैले भोग तिरो गरी आएको छु सो मध्ये ।३।१० कित्तामा दावी गरी झुठ्ठा उजूर गरेकी हुन् जेठा बाबु ११ साल श्रावणमा मुडिई ऐ.पौषमा परलोक भएकाले रीत माफिक भण्डारा भएको हो भन्नेसमेत जि.मु.रघुनाथको प्रतिवादी ।

            ६.    नारानदत्त आगे भएको कागज भोरमा पारेर गराएको हो रघुनाथले कृया गरेको होइन भन्नेसमेत वादी मथुराको र १० सालमा नारानदत्तले कागज गरिदिनु भएको सद्दे हो पछि निज मुडिनु भएकोले कृया गर्नु परेन भोरमा पारी गराएको होइन भन्ने जि.मु.रघुनाथको बयान ।

            ७.    वादीको ससुरा नारानदत्त मुडिएको हुँदा कृया शर्त पालना नभएकोमा कागज बदर गरिपाउँ भन्ने उजूर गरेका देखिँदैन सिमले खेतमा वादीको हक दावी पुग्न सक्तैन सोती भन्ने र दाप भन्ने खेत वादीको हकको जग्गामा प्रतिवादीहरूले खिचोला गरी बाली खाएकोसमेत ठहर्छ भन्ने इलाका अदालत पोखराको ०२१।५।१०।३ को फैसला ।

            ८.    सो इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी चिरञ्जिवी लिलाधर र वादी मथुरासमेतको पुनरावेदन ।

            ९.    दुवै पक्षको रसिद वादीको प्रतिवादीलाई प्रतिवादीको वादीलाई सुनाई बयान लिई ऐनले बुझ्नु पर्ने बुझी ठहर फैसला गरी पठाउनु भन्नेसमेत गण्डकी अञ्चल अदालतबाट २३।१।९।५ मा आदेश भई मिसिल शुरुमा गई रसिद सुनाएकोमा प्रतिवादीको रसिद जालसाजी आफ्नो सद्दे भन्ने वादी वादीको रसिद जालसाजी आफ्नो सद्दे भन्ने अरू प्रतिवादीहरूको र सो रसिदहरू मैले गरिदिएको सद्दे साँचो हो मथुरालाई रसिद दिएको दिन रैति प्रशस्त आई भिड भएकोले निजको चौडिल्लो जग्गा छुट भई दाप भन्ने भुलले लेखिन गएको हो भन्ने जि.मु.रघुनाथकोसमेत बयान भएको ।

            १०.    रसिद दिने व्यक्ति एकै भई दुवै थरलाई रसिद गरी दिए तापनि मथुरालाई दिएको रसिदमा भूलबाट दाप भन्ने लेखिन गएको कुरा जि.मु.रघुनाथले खुलाएकोबाट सो जग्गा मथुराको नभएको जालसाजबाट रसिद लिनुदिनु गरेका देखिने भई जिती पाएको आफ्नो हकको जग्गाको रसिदसमेत चिरञ्जिवी लिलाधरले पाउने भई त्यसका आधारित बाली तिरेको रसिदसमेत नदेखिँदा जालसाजी भन्ने मथुराको दावी पुग्न नसक्ने भन्नेसमेत मनाङ तथा लमजुङ जिल्ला अदालतको ०२३।९।२५।२ को फैसला ।

            ११.    सोउपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

            १२.   सोती भन्ने खेत वादीले पाउने ठहराई छिनेउपर प्रतिवादी बलराम जगदेवले पुनरावेदन नगरी चित्त बुझाई बसेकोले त्यसतर्फ विचार गरिरहनु परेन । सिमले भन्ने खेत ३।१० को हकमा वादीको ससुराको लिखतबाट रघुनाथले पाएकोमा फिरादी कायम सो कागज बदर गराउन नसकेकोले वादी दावी पुग्न नसक्ने ठहराएको इन्साफ सुरुको मनासिव छ । दापतारी भन्ने खेतको हकमा अघि हारेका मुद्दाको फिरादमा वादीको ससुराले लेखेको किल्ला र हाल सो जग्गाको वादीमा लेखेको किल्ला एकै छ दर्ता र फैसलाको जग्गा एकै हो भन्ने पुनरावेदन जिकिर हुँदा भई आएको नक्सामा किल्ला जग्गा भिडाउँदा नं.नं.१।२।३।४।६ को ४ किल्ला भित्रको जग्गा एकै देखिएको ऐ.४ किल्ला रही नारानदत्तका नाउँमा कि.नं.३१७ मा दर्ता भएको देखिनाले दापटारी र दाप भने नामबाट जग्गा बेग्लै भन्ने अर्थ आउने गरी वानीको ससुराको हक नपुग्ने गरी ९३ सालमा भारदारीबाट फैसला भएको जग्गालार्ई वादीको हक पुग्छ भन्न उचित भएन र सो जग्गा वादीको ठहराई बाली बिगो भराउने गरेका सुरुको बदासोती भन्ने जग्गा वादीको कायम हुने सिमले भन्ने जग्गामा वादीको हक नपुग्ने ठहराएको शुरु कास्की जिल्ला अदालतको औ मथुराले पेस गरेका रसिद जालसाजी ठहराएको मनाङ तथा लमजुङ जि.अ.को मनासिव ठहर्छ भन्नेसमेत गण्डकी अं.अदालतको फैसला ।

            १३.   सो उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

            १४.   सोती भन्ने खेत ।३।१५ वादीको ठहराएकोमा प्रतिवादीले पुनरावेदन नगरी चित्त बुझाई बसेकाले त्यसतर्फ केही विचार गरिरहनु परेन सिमले भन्ने खेत ।३।१० को हकमा सो खेतसमेत वादीको ससुराले गरिदिएको राजीनामाबाट मेरो हक भएको भन्ने प्रतिवादी जि.मु.रघुनाथको इन्कार र रघुनाथले जग्गा पाएकोमा फिराद कायम भएको सो बदर गराउन नसकेकोले सो जग्गामा वादीको दावी पुग्न नसक्ने । दापटारी भन्ने खेत ।६।५ को हकमा वादीले दावी गरेको दाप खेत मुरी ।६।५२ भारदारी दोस्रोको ९३।९।२२ को फैसलामा उल्लेख गरिएको दापटारी जग्गा नक्सा सरजमीन हुँदा एकै हो बेग्लै छैन भनी वादी मथुरा र प्रतिवादी चिरञ्जिवीसमेतले सहिछाप गरेको वादीका ससुराले ९१ सालको फिरादमा र वादीले १९ सालको फिरादमा लेखेको किल्ला भिडाउँदा नं.नं १।२।३।४।६ को ४ किल्लाभित्रको जग्गा एकै देखिएको सो जग्गा यही किल्ला रही नारानदत्तका नाउँमा कि.नं.३१७ मा दर्ता भएको देखिनाले दापटारी र दाप भन्ने नामबाट जग्गा बेग्लै भन्ने आउने गरी वादीका ससुराको हक नपुग्ने गरी ९३ सालमा भरादारीबाट फैसला भएको जग्गालाई हक पुग्छ भन्न नमिल्ने हुँदा सो जग्गामा वादीको हक पुग्न नसक्ने इन्साफ ०२५।३।३२।२ को गण्डकी अञ्चल अदालतको मनासिव ठहर्छ भन्नेसमेत ०२६।६।८।४ को डिभिजन बेञ्चको फैसला ।

            १५.   यसमा वादी दावीको ३ कित्ता मध्ये सोति भन्ने खेत मुरी ।३।१५ को हकमा वादीको ससुराका दर्ता हकको हुँदा वादीकै ठहराई शुरुले छिने उपर प्रतिवादी बलराम जगदेवले पुनरावेदन नै नगरी चित्त बुझाई बसेकोसमेत देखिन आयो । अर्को सिम्ले भन्ने खेत मुरी ।३।१० को हकमा मेरो नाति नाबालक भएकोले निजले कृया गर्न सक्ने डालो बोक्ने र नसके तैंले कृया गरी खानू भनी सिम्ले भन्ने खेत मुरी ।३।१० समेत रू.१००। मोल राखी नारानदत्तले प्रतिवादी जि.मु.रघुनाथलाई २०१०।१।२।३ मा राजीनामा लिखत गरी दिएको सद्दे हो भन्ने कुरा वादीले स्वीकार गरेको पाइन्छ निज रघुनाथले कृया नगरेकोले जग्गामा निजको हक नपुग्ने भन्ने वादीको मुख्य जिकिर भए पनि पछि वादीको ससुरा नारानदत्त मुडिई जोगी भएकोबाट मरेपछि जोगीको रीत माफिक भण्डारा भएको हो भन्ने प्रतिवादी रघुनाथले प्रतिवादीमा जिकिर लिएको त्यसरी मुडिई जोगी भएका मानिसको प्रतिवादीले कृया नगरेको भन्ने दोष लगाउन मिल्ने देखिएन मुख्य लिखत गरी दिने नारानदत्तले सो लिखत बदर नगराई कायम रहेको र लिखतबमोजिम जग्गा प्रतिवादी रघुनाथले भोग तिरो गरी आएको प्रमाणित हुन्छ । त्यसकारण उक्त सिम्ले भन्ने खेत मुरी ।३।१० मा वादीको दावी पुग्न नसक्ने ठहराई ०२६।६।८।४ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिवै ठहर्छ ।

            १६.    अब अर्को दाप भन्ने खेत मुुरी ।६।५ को हकमा दुवै पक्षको दावी जिकिरको दर्ता हेर्दा दाप भन्ने खेत ।६।५ कि.नं.३१७ मा वादीको ससुरा नारानदत्तका नाउँमा र प्रतिवादीतर्फ दापटारी खेत मुरी ।२।१।२ खेत कि.नं.३०९ मा प्रतिवादी चिरञ्जिवीकी आमा बसंधरीका नाउँमा १ कित्ता दापटारी खेत मुरी ।५।५ कि.नं.३०१ मा र अर्को कित्ता ऐ.दापटारी खेत मुरी ।१ कि.नं ३०५ मा प्र.लिलाधरको बाजे श्रीकृष्णका नाउँमा दर्ता भएको दर्ता उतारबाट देखिन्छ । उपरोक्त वादीतर्फ खेत मुरी ६।५। दपोट मुद्दा परी ७८।७।५ मा भएको फैसला बमोजिम जिती पाई वादीको ससुरा नारानदत्तका नाउँमा दर्ता भएको र प्रतिवादीतर्फ कि.नं.३०० मा ४० सालको जुठु पाध्याको साविक ।३।१० र कि.नं.३०१३०५ मा ४० सालको जुठु पाध्याको साबिक खेत २० गोडा रही भएको दर्ता भएको फरक फरक कित्ता देखिन आयो ।

            १७.   अघि मुद्दा परी अपील पहिला र भारदारीको फैसलासमेतले जिती पाएको भन्ने प्रतिवादी पक्षको मुख्य जिकिरको हकमा दपोटमा उजूर परी म जाहेरवालाका नाउँमा दर्ता गरी दिने ७८ साल कार्तिकमा फैसला भएको जग्गा श्रीकृष्ण बसंधरी चन्द्रकली शर्मानन्दसमेतका नाउँमा दर्ता गराएको बदर गरिपाउँ भन्ने नारानदत्तले श्रीकृष्णसमेत उपर दिएको जग्गा मुद्दामा अपील पहिलाबाट ९२।११।१४।४ मा फैसला हुँदा प्रतिवादी श्रीकृष्ण बसंधरीको नाउँमा दर्ता भएको चडिसो जग्गासम्म नारनदत्तले फैसलाबाट जिती पाएको जग्गा ठहर्छ पुरंडिही दापटारीसमेत अरू प्रतिवादीका नाउँमा दर्ता भएको जग्गामा वादीले झुठ्ठा उजूर गरेकासमेत भनी प्रतिवादी श्रीकृष्ण बसंधरीसमेतका नाममा दर्ता भएको पुरडिही दापटारीको हकमासम्म नारानदत्तको दावी नपुग्ने ठहराईएका ९२।११।१४।४ मा र सो उपर श्रीकृष्णको पुनरावेदन परेकोमा चंडिलो बाहेक दापटारीसमेतमा वादीको दावी पुग्न सक्दैन भन्ने अपीलको फैसलामा लेखिएको छँदाछँदै फैसलाको मजबून नबुझी पुनरावेदन गरेको देखिनाले इन्साफ अपीलको मनासिव ठहर्छ भनी भारदारी दोस्राबाट ०२९।९।२२।३ मा फैसला भएको र हाम्रो जग्गा नारानदत्तको नाउँमा दर्ता गरेको बदर गरिपाउँ भनी वसंधरी श्रीकृष्णले नारानदत्तको उपर दिएको अर्को मुद्दामा नारानदत्तको नाउँमा दर्ता भएको दापखेत मुरी ।६।५ समेत वादीहरूको साविक दर्ता जग्गाको गोडा लाभी प्रतिवादी नारानदत्तका नाउँमा दर्ता भएको नदेखि ७८ साल कार्तिक ५ गतेको दपोट मुद्दाको फैसला बमोजिम सर्पट नापिले सर्जमिन बुझी गरेको दर्ता बदर भन्न मनासिव नभएकोले प्रतिवादीले जिती पाएको जग्गामा वादीहरूले झुठ्ठा उजूर गरेका ठहर्छ भनी अपील पहिलाबाट ९२।११।१४।४ मा फैसला भएको मिसिलमा पेस भएको नक्कलबाट देखिन्छ ।

            १८.   उक्त फैसलाहरूको अध्ययनबाट नारानदत्तका नाउँमा दर्ता भएको दापखेत मुरी ।६।५ निजले अहारेका नभई निजको उक्त दर्ता कायम रहेको प्रतिवादी दर्ताको छुट्टै दापटारी प्रतिवादीकै ठहरेको प्रष्ट हुन्छ, वादीले नालेस गर्दा नारानदत्तका नाउँको उपरोक्त दर्तामा करवीरको पूर्व मूल गल्ली पश्चिम हुमनाथको खेत दक्षिण शर्मानन्दको खेत उत्तर भन्ने ४ किल्ला रही दर्ता भएको सो दर्ता बमोजिमकै ४ किल्लाभित्रको जग्गामाा खिचोला गरेको भनी दावी गरेकोले सो ४ किल्लाभित्रको नं.नं.५ को झगडा परेका जग्गा वादीका होइन भन्न ठहराउन दर्ता फैसलासमेतको प्रमाणबाट मिल्ने देखिएन ।

            १९.    तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट झगडा परेको नं.नं.५ को कित्ताको हकमा वादीको ससुरा नारानदत्त दर्ताको वादीको हक दापखेत मुरी ।६।५ कायम हुने र त्यसमा प्रतिवादी चिरञ्जिवी लिलाधरले खिचोला गरेकासमेत ठहराई बाली बिगो रू.४०८ निज प्रतिवादीहरूबाट वादीलाई भराई दिनेसमेत गरी इलाका अदालत पोखराले ०२१।५।१०।३ मा छिनेको इन्साफ मनासिव र उक्त दापखेतको वादीले पेस गरेको रसिद सद्दे ठहर्छ । उक्त कित्ताको हकमा वादी दावी नपुग्ने र वादीले पेस गरेको रसिद जालसाजी ठहराएतर्फ गण्डकी अञ्चल अदालत र ०२६।६।८।४को डिभिजन बेञ्चको ईन्साफ मिलेको देखिएन अरू तपसील बमोजिम गर्नू ।

 

तपसील

देहाएका प्र.के रसिद जालसाजी गरेको भनी मनाङ तथा लमजुङ जि.अ.को ०२३।९।२५।२ को फैसलाले गर्ने गरेका देहाय बमोजिम जरिवाना नलाग्ने हुँदा असूल भएको फिर्ता बाँकीको लगत कट्टा गरिदिनू भनी कानून बमोजम लगत दिनू............१

वादी मथुरा पाध्यानी के रू.।३५, प्र.रघुनाथ पाध्या के रू.।२३

वादी मथुरा पाध्यानी के गण्डकी अञ्चल अदालतको ०२१।५।१०।३ को फैसलाले शुरुको कटाई थप असूल गर्ने गरेका जम्मा जरिवाना रू.११९।५४ मध्ये वादीले जितेका दाप जग्गाको मोल बिगो ६०००। को सैकडा २।। ले हुने रू.१५०। सो जग्गाको बाली बिगो रू.४०८। को सैकडा १० ले हुने रू.४०।८० समेत जम्मा रू.१९८० को आधि रू.९५।४० र पुनरावेदन गरेको भनी जालसाजतर्फ थप गरेको रू.।१४समेत रू.९५५४ नलाग्ने हुँदा ०२५।३।३२।२ मा गण्डकी अञ्चल अदालतमा तिरे बुझाएको रू.११९।५४ मध्ये उक्त रू.९५।५४ कानूनबमोजिम फिर्ता दिनू भनी ऐ.....................२

प्रतिवादी चिरञ्जिवी लिलाधर पाध्यालाई शुरु पोखरा ई.अ.को ०२१।५।१०।३ को फैसलाले रू.२१।४० दरले गर्ने गरेको जरिवाना रू.४२।८० गण्डकी अञ्चल अदालतको ०२५।३।३२।२ को फैसलाले नलाग्ने लगत कट्टा गर्ने गरेकोमा सो अनुसार गर्नु पर्दैन शुरु फैसला बमोजिम लगत कायमै राख्नू भनी ऐ......................३

वादी मथुरा पाध्यानीले दाखिल गरेका मध्ये देहाय बमोजिम कोर्टफी प्रतिवादी चिरञ्जिवी पाध्या लिलाधर पाध्याबाट बराबरका दरले भराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५ (११) बमोजिम ३ बर्षभित्र दर्खास्त दिएमा दस्तूर केही नलिई भराइदिनू भनी ऐ...................४

पुनरावेदन गर्दा गण्डकी अञ्चल अदालतमा दाखिल गरेको रू.६०। मध्ये दाप भन्ने जग्गातर्फ बिगो रू.६०००। को सुरुमा हुने कोर्टफी रू.२६०। को सैकडा १५ ले हुने रु. ३९।, मुद्दा दोहर्‍याँदा ०२८।४।९।१ मा सर्वोच्च अदालतमा दाखिल गरेको रू.४८।५० मध्ये दावा भन्ने जग्गाको शुरु कोर्टफी रू.२६०। को दसौंद रू.२६। र बाली बिगो रू.४०८ को शूरुमा लाग्ने कोर्टफी रू.२०।४० को दसौंद रू.२।०४समेत जम्मा रू.२८।०४

वादी मथुरा पाध्यानीको गण्डकी अञ्चल अदालतमार्फत् सर्वोच्च अदालतमा पुनरावेदन गर्दा कोर्टफी नै दाखिल भएकाले गण्डकी अञ्चल अदालतले थप लिन गरेका जरिवाना रू.११९।५४ को दसौंद रू.११।९६ तारेखमा नबस्ने भनी ०२५।५।१८ मा धरौटी दाखिल गरेको नलाग्ने हुँदा कानूनबमोजिम निजलाई फिर्ता दिनू भनी ऐ.ऐ...............५

तत्कालिन इलाका अदातल पोखराका न्यायाधीश प्रचण्डराज अनिलको गण्डकी अञ्चल अदालतको फैसलाले इन्साफ केही उल्टिएको रेकर्ड राख्ने गरेको सो लगत काटिदिनू भनी गण्डकी अञ्चल अदालतलाई सूचना दिनू...................६

नियमबमोजिम मिसिल बुझाइदिनू.................७

 

न्या. रङ्गनाथ उप्रेती,

न्या.झपटसिंह रावल

 

हामीहरूको सहमती छ ।

 

इति सम्वत् २०३० साल बैशाख २६ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु