शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७३२ - रजिष्ट्रेशन पारित गरिपाउँ

भाग: १५ साल: २०३० महिना: बैशाख अंक:

निर्णय नं. ७३२                 ने.का.प. २०३०

फुल बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री मीनबहादुर थापा

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०२९ सालको दे.फु.नं. १२१

फैसला भएको मिति : २०२९।११।१७।४

पुनरावेदक : जि.रूपन्देही तप्पे हाठी मौजे दवौलीया बस्ने कल्याणचन्द्र उपाध्या

विरूद्ध

विपक्षी : ऐ.मङ्गलापर बस्ने नन्दप्रसाद कठौरिया थारु

मुद्दा :रजिष्ट्रेशन पारित गरिपाउँ

(१)   चल सम्पत्ति राजीनामा गरिदिएको लिखत रजिष्ट्रेशन पारित गर्न नपर्ने ।

            तसर्थ उपरोक्त उल्लिखित कारणले जग्गा राजीनामा दिएको देखिन नआई मिलसम्म राजीनामा दिएको देखिएकोले त्यस्तो चल सम्पत्ति राजीनामा गरिदिएको लिखत प्रचलित मुलूकी ऐन रजिष्ट्रेशनको १ र ३ नं.ले रजिष्ट्रेशन पारित गर्न नपर्ने रजिष्ट्रेशन पारित गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहराएको मिति ०२९।५।३० को डिभिजन बेञ्चको मा.न्या.श्री चन्द्रप्रसाद प्रधानको राय मनासिव छ । शुरु जि.अ.र अञ्चल अदालतको इन्साफ उल्टी भएकोले तपसील बमोजिम लगत दिई मिसिल नियमबमोजिम बुझाई दिनू ।

(प्र.नं. १०)

पुनरावेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल

विपक्षी तर्फबाट : अधिवक्ता लवदेव भट्ट

फैसला

            न्या. वासुदेव शर्मा

            १.     प्रस्तुत मुद्दा ०२९।५।३० को डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी रायबाझी फैसला भई निर्णयार्थ नियमबमोजिम आज यस बेञ्च समक्ष पेस हुन आएको रहेछ ।

            २.    मुद्दाको तथ्य यसप्रकार छ : विपक्षीले एकमुष्ट रू.१६५००। लिई मिति ०२४।१२।२९ मा आय टिकटसमेत टाँसी सही गरी दिएको मिल र जग्गासमेतको राजीनामा पास गरी नदिएकोले पारित गरिपाउँ भन्नेसमेत वादी नन्दुप्रसादको फिरादपत्र ।

            ३.    वादीले हाम्रो मिल खरीद गरी लिँदा मिल म सितको मोल बुझी लिई मिलको हक छोडेको लिखत वादीलाई २४।१२।२९ मा गरी दिएको हो । त्यस बखत जग्गा हाम्रा नाउँमा दर्तै नभएको हुँदा हामीले राजीनामा गर्न मिल्ने भएकोले घर जग्गाको राजीनामा गरेको छैनौं मिल अचल सम्पत्ति होइन चल सम्पत्तिको राजीनामा पास गर्न नपर्ने हुनाले हामीले पास गरी दिनुपर्नेसमेत होइन भन्नेसमेत कल्याणचन्द्र १ ईश्वरचन्द्रसमेतको एउटै प्रतिवादी ।

            ४.    मिल स्थापना बारेका मिसिलबाट कल्याणचन्द्रले मेरै हक भोगको जग्गा भनी लेखी मिल स्थापित भएको देखिनाले वादीलाई राजीनामा दिँदा मेरो हकमा जग्गा थिएन । पछिमात्र राजीनामा लिएको भन्ने झुठ्ठै इन्कार गरेको देखिनेमा पनि जग्गाासमेतको मिल राजीनामा दिइसकेपछि जग्गा दिएको हैन भन्ने प्रमाण पुर्‍याउन पछिमात्र उत्तर साँधमा रहेको ढोढेबाट राजीनामा खडा गरेको देखिन आउने जग्गा राजीनामा दिएको नभई मिलमात्र भए सो मिल यत्ति समय टायम म्यादमा उठाई लैजाने भन्ने शर्त लेखिएको हुन र यता मेरो जग्गाबाट मिल हटाई पाउँ भन्ने प्रतिवादी तर्फबाट उजूर गरेका हुनपर्ने सो भए गरेको देखिएन, पास गर्नु नपर्ने भए २ प्रति लिखत हुन नपर्नेसमेत प्रमाणबाट लिखतमा लेखिएको ४ किल्लाभित्रको जग्गामा भएको मिल रजिष्ट्रेशनको नं.१ को दफा १ अनुसार पास गरिदिनुपर्ने ठहर्छ भन्नेसमेत रूपन्देही जि.अ.को फैसला ।

            ५.    चित्त बुझेन भन्ने प्र.कल्याणचन्द्र, ईश्वरचन्द्रको पुनरावेदन परेकोमा लिखत हेर्दा यति ४ किल्ला भित्रको जग्गामा रहेको मिल भन्ने लेखिएको जग्गा बाहेक भन्ने बोली परेका नदेखिएको र रजिष्ट्रेशनको १ नं.१ दफाले बिक्री गरी वा हक छाडिदिएको लिखत पास गराउनुपर्ने हुँदा वादी दावीको लिखत पास हुन ठहराएको सुरुको मनासिव ठहर्छ भन्ने लु.अञ्चल अदालतको फैसला ।

            ६.    चित्त बुझेन भन्ने पुनरावेदक कल्याणचन्द्रसमेतको पुनरावेदन परेकोमा डिभिजन बेञ्चबाट निर्णय हुँदा वादीको दावा रजिष्ट्रेशन पास गरिपाउँ भन्नेमात्र छ कोर्टफी पनि रजिष्ट्रेशन पारितको मात्र तिरेको हुनाले रजिष्ट्रेशन पारित हुने हो होइन सो कुरामासम्म विचार गर्नु पर्ने देखिन्छ । जग्गाको हकबेहक गर्न दावा छैन राजीनामा लिखतमा जग्गाको किल्लासमेत खुलाई लेखिएपछि माथि लेखिएको भन्ने वाक्य रहेकोबाट पहिले उल्लेख भएको जग्गा र मिलसमेत समाबेस गराएको छ जग्गा लिखतमा परेन भन्दा जग्गाको हकबेहक हुन जान्छ लिखतमा जग्गा लेखिएमा पारित गर्नु पर्ने देखिन्छ, पारित नगर्ने लिखत लेखिएको भए २ प्रति लिखत गरिदिएको हुन नपर्ने २ प्रति लिखत गरिदिएको, लेखिएको मिलको लइसेन्स लिँदा उखडाबाट हाम्रो हक भएको जग्गा भनेकोमा यो राजीनामा भएपछि सँधियार ढोढेबाट प्रतिवादीले राजीनामा लिएकोबाट जग्गा छुट्याउने उद्देश्य गरेको सिद्ध हुन्छ । पछि गराएको लिखतले अघिको लिखतको हक छुटाइन सक्तैन । उल्लेख भएअनुसार जायसम्म लेखिएको राजीनामा हुँदा पारित गर्ने गरेको इन्साफ मनासिव भन्ने मा.न्या.श्री ब्रम्हदत्त तेवारीको राय र लिखत व्यहोरा हेरिएमा ४ किल्ला भित्रको जग्गामा मसिन जडान गरी धान कुट्ने तेल पेल्ने आँटा र दालको काम गर्न पाउने २०।१२।२४ मा म कल्याणचन्द्रको नाउँबाट भए पनि ईश्वरचन्द्रका नामबाट साझेदारी भई भोगको हाम्रो हक भोग दर्ता चलनको हरू कसैको हक नलाग्ने १९ हर्स पावरको कुपर मिल त्यसको सम्पूर्ण सामान हलर पेसरसमेतको मिलको हक छोडी राजीनामा गरी दिएँ भन्ने व्यहोरा लेखिएको देखिन्छ । हलर पेसरसमेत खोलिएको लिखतमा यत्ति तिरो लग्ने यति जग्गा राजीनामा भयो भनी जग्गाको कुरै उल्लेख छैन रजिष्ट्रेशन पास गर्ने व्यहोरा पनि सो कागजमा उल्लेख भएको छैन वादी नन्दप्रसादले ईश्वरी चन्द्रसमेत उपर यसै लेनदेनको विषयलाई लिई ठगीमा नालेस गरेको मुद्दा पनि वादीले हारी आजै यस डिभिजन बेञ्चबाट फैसला भएको छ । त्यसकारण मिल रहेको जग्गा राजीनामा गरी दिएको हो भन्न मिल्दैन । लिखतमा अचल सम्पत्ति नलेखिएकोले रजिष्ट्रेशन पास गरिपाउँ भन्ने वादी दावी पुग्दैन भन्ने मा.न्या.श्री चन्द्रप्रसाद प्रधानको राय भएको रहेछ ।

            ७.    पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित हुनु भएको विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले जग्गा राजीनामा दिएको होइन मिलसम्म राजीनामा गरिदिएको जग्गा राजीनामा दिएको भए यो दर्ताको यो यति तिरो लागेको यति जग्गा राजीनामा दिएँ भन्ने लेखिनु पर्ने नभएको मिलसम्मको राजीनामालाई जग्गासमेत राजीनामा दिएको भनी पास गरिदिन गरेको राय मिलेको छैन भन्नेसमेत र विपक्षी वादी तर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री लवदेव भट्टले प्रतिवादीले मिल जडान गर्न दिएको दर्खास्त र भएको सरजमीनबाट जग्गा प्रतोवादीहरूको हकको जग्गामा मिल रहेको देखिएको सो राजीनामा दिँदा जग्गाको ४ किल्लादेखि राजीनामा गरिदिएको मिलापत्र राजीनामा गरिदिएको भए जग्गाको ४ किल्ला लेखिनुपर्ने थिएन । जग्गाको ४ किल्ला लेखी राजीनामा गरिदिएकोले जग्गासमेत राजीनामा गरिदिएको हुँदा राजीनामा पारित हुनुपर्छ पारित नगर्ने गरी गरेको राय मिलेको छैन भन्नेसमेत यस बेञ्च समक्ष बहस प्रस्तुत गर्नु भएको छ ।

            ८.    प्रस्तुत मुद्दामा मुख्यतः वादीले पारित गरिपाउँ भनी दावी लिएको राजीनामा लिखत पारित हुने नहुने के रहेछ त्यस कुराको नै निर्णय दिनुपर्ने देखियो, त्यसतर्फ विचार गर्दा पारित गरिपाउँ भनेको लिखत हेरिएमा यति ४ किल्ला भित्रको जग्गामा बी.एच.पी.१९।२१ पावरको मसिन जडान गरी धान कुट्ने तेल पेल्ने आँटा र दालको काम गर्न पाउने गरी हामी दुवैको नाउँबाट कल्याणेश्वर राइस आयल एण्ड फ्लावर मिलबाट फर्म रजिष्ट्रेशन भइरहेको हाम्रो हकभोग दर्ता चलनको अरू कसैको हक नलाग्ने उपरोक्त १९ हर्ष पावरको कुपर मिल र त्यसको सम्पूर्ण सामान हलर स्पेलरसमेतको एकमुष्ट भुक्तान बुझी लिई आजैका मितिदेखि सो मिलको हक छाडी राजीनामा लेखिदिएँ भन्ने व्यहोराको राजीनामा देखिएको सो राजीनामाको उक्त व्यहोराबाट यो यति तिरो लाग्ने यति जग्गा राजीनामा दिएको भन्ने जग्गा राजीनामाको कुनै कुरा उल्लेख भएको नदेखिने सो राजीनामा एकमुष्ट भुक्तान बुझी लिई आजैका मितिदेखि सोे मिलको हक छाडी राजीनामा लेखिदिएँ भन्ने लेखिएकोबाट नै मिलसम्म राजीनामा दिएको भन्ने देखिएकोले जग्गा राजीनामा दिएको भन्ने देखिन आएन ।

            ९.    प्रचलित मुलूकी ऐन रजिष्ट्रेशनको १७ नं.मा जग्गा जमीनको रजिष्ट्रेशन गर्दा जुन जग्गाको लिखत रजिष्ट्रेशन हुने हो सो जग्गामा दिनेको हक पुगेको प्रमाण तिरो तिरेको रसिद बेगर रजिष्ट्रेशन गर्न गराउन हुँदैन, दाखिल भएको प्रमाण वा रसिदसमेत राखी रजिष्ट्रेशन गरी दिई प्रमाण वा रसिद लिखत गराई लिनेलाई सोधी दिनु पर्छ भन्ने र ऐ.ऐ.को ३० नं.मा रजिष्ट्रेशन भएको लिखतबाट श्रेस्तामा दाखिल खारेज गर्नु पर्ने कुरा भए दाखिल खारेज गरी दिनु पर्छ भन्नेसमेत व्यवस्था भएको देखिन्छ । यदि वादीलाई प्रतिवादीले मिल रहेको जग्गासमेत राजीनामा गरी दिएको भए उक्त रजिष्ट्रेशन पारित गर्ने कानूनी व्यवस्था अनुसार यो यति यस ठाउँमा तिरो गर्नु पर्ने अथवा लाग्ने यो श्रेस्तामा यति नम्बरमा दर्ता श्रेस्ता भएको यो यति जग्गा भन्नेसमेत प्रष्ट खुलाई लेखी जग्गाको हक पुगेको प्रमाणका रसिदसमेत साथै राखी जग्गासमेत राजीनामा गरी दिएँ भनी लेखी दिएको हुनुपर्ने सो नभई मिल जडान भएको मिलकोसम्म विवरण उल्लेख गरी आजका मितिदेखि सो मिलको हक छाडी दिएँ भन्ने राजीनामा लेखी दिएको देखिएकोले जग्गा राजीनामा दिएको भन्न मिल्ने देखिएन मिलसम्म राजीनामा गरी दिएको देखिएकोले जग्गासमेत राजीनामा दिएको भन्ने वादीतर्फका विद्वान अधिवक्ताको बहस युक्तीसंगत देखिएन ।

            १०.    तसर्थ उपरोक्त उल्लिखित कारणले जग्गा राजीनामा दिएको देखिन नआई मिलसम्म राजीनामा दिएको देखिएकोले त्यस्तो चल सम्पत्ति राजीनामा गरिदिएको लिखत प्रचलित मुलूकी ऐन रजिष्ट्रेशनको १ र ३ नं.ले रजिष्ट्रेशन पारित गर्न नपर्ने रजिष्ट्रेशन पारित गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहराएको मिति ०२९।५।३० को डिभिजन बेञ्चको मा.न्या.श्री चन्द्रप्रसाद प्रधानको राय मनासिव छ । शुरु जि.अ.र अञ्चल अदालतको इन्साफ उल्टी भएकोले तपसील बमोजिम लगत दिई मिसिल नियमबमोजिम बुझाई दिनू ।

           

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम इन्साफ शुरु र अञ्चलको उल्टी भएकोले देहायको कलममा देहायबमोजिम गर्नु भनी रूपन्देही जि.अ.मा लेखी पठाउन कानूनबमोजिम लगत दिने.....................१

रूपन्देही जि.अ.को ०२७।२।२६ को फैसलाले देहायको कलममा देहायबमोजिम गर्ने गरेकोमा हाल सो बमोजिम गर्नु परेन देहायबमोजिम लगत काटी दिने.१, वादी नन्दुप्रसाद कठरीया थारु के कोर्टफी रू.१०। प्रतिवादीबाट भराई दिने गरेकोमा हाल भराई दिन नपरेकोले सो लगत काटी दिने.१, वादीको लिखत पासगरी दिन पूर्जि गरी दिने गरेकोमा हाल सो बमोजिम केही गर्नु पर्दैन२

प्रतिवादी कल्याणचन्द्र इश्वरचन्द्र के देहायको कलममा देहायबमोजिम गर्ने....................२

सरु जि.अ.ले लाग्ने गरेको कोर्टफी रू.१०। प्रतिवादीले शुरु जि.अ.मार्फत ०२७।३।२६ मा अञ्चल अदालतमा पुनरावेदन गर्दा पुनरावेदन साथ धरौट दाखिल गरेको भन्ने पुनरावेदनमा लेखेको हाल फिर्ता पाउने हुँदा फिर्ता लिन आए कानूनको रीत पुर्‍याई प्रतिवादीलाई बराबरका दरले फिर्ता दिने १, पुनरावेदन गर्दा अञ्चल अदालतमा राखेको कोर्टफी रू.१५० र स.अ.मा राखेको कोर्टफी रू.१।५० समेत जम्मा रू.३। कोर्टफी प्रतिवादी जिती वादीबाट भराई पाउने हुँदा नेपाल कोर्टफी ऐन, २०१७ को दफा १५ को म्याद ३ बर्ष भित्र वादीको जायजात देखाई दर्खास्त परे वादीबाट प्रतिवादीलाई बरावरका दरले भराई दिने २

इन्साफ उल्टीमा देहायको व्यक्तिको रिकर्ड राख्न स.अ.जनरल विभागमा लेखी पठाउने.........................३

रूपन्देही जि.अ.को जि.न्या.तुंग ध्वज खाण १, लुम्बिनी अञ्चल अदालतको का.मु.अं. न्या. गणेशप्रसाद वझा १

 

न्या. मीनबहादुर थापा,

न्या.सुरेन्द्रप्रसाद सिंह

 

उक्त रायमा सहमती छ ।

 

इति सम्वत् २०२९ साल फाल्गुन १७ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु