निर्णय नं. ७३३ - जग्गा

निर्णय नं. ७३३ ने.का.प. २०३०
फुल बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
सम्वत् २०२७ सालको दे.फु.नं. ९४
फैसला भएको मिति : २०२९।६।१६।२
निवेदक : गुल्मी तोलाकोत बस्ने चन्द्रवीर थापा मगर
विरूद्ध
विपक्षी : ऐ.प्रैयांपाटा बस्ने डम्बरबहादुर थापा मगरसमेत
मुद्दा : जग्गा
(१) लिखतको जग्गा कच्चा भएकोबाटमात्र जालसाज ठहर्ने नभई जालसाजी काम कुरा गरेको सबूद पुग्न आउँदामात्र जालसाजी ठहर्ने ।
रु. २००० को राजीनामामा लेखिएको ४ किल्ला भने झगडा परेको नं.नं.९।१०।११।१२।१३ को जग्गामा मिल्न भिड्न आएकोले पहिले रणबहादुरले रू.६०० मा राजीनामा लिएको जग्गा नं.नं.१४ को भएकोमा पछि डम्बरबहादुरबाट रणबहादुरले रू.२००० मा राजीनामा गराई लिँदा बढी र फरक फरक किल्ला लेखी डम्बरबहादुरको नाममा दर्ता नभएकोमा डम्बरबहादुरको नाममा रू.१५ तिरो दर्ता भएको भनी झुठ्ठा कुरा लेखी झगडा परेको नं.नं.९।१०।११।१२।१३ को जग्गालाई किल्ला भित्र पारी राजीनामा दिए लिएको रहेछ भन्ने प्रमाणित हुन्छ रणबहादुरले रू.६०० मा जुन जग्गा राजीनामा गराई लिएको हो सोही जग्गासम्म पछि अर्कोलाई राजीनामा दिन पाउने हक हुने हो रू.६०० मा राजीनामा लिएको जग्गा नं.नं.९।१०।११।१२।१३ को नभएपछि सो जग्गा राजीनामा दिन पाउने डम्बरबहादुरको हक भएको देखिँदैन सो रू.२०००। को राजीनामा बेदामे जालसाजी भनी वादीले उजूर गरेकोमा जालसाजी नठहरी लुम्बिनी अञ्चल अदालतसमेत बाट फैसला भएको भए पनि लिखतको जग्गा कच्चा भएकोबाटै मात्र जालसाज ठहर्ने नभई जालसाजी काम कुरा गरेको सबूद पुग्न आउँदामात्र जालसाज ठहर्नेमा वादी दावीबमोजिम बेदामे लिखत पास गरेकोसमेत नदेखिएकोले जालसाज नठहर्ने भन्ने आधारमा उक्त फैसला भएकोले सो लिखत जालसाज नठहरेको कारणलेमात्र जग्गामा बमबहादुरको हक पुग्न आउने हुँदैन खास गरी परेको झगडा नं.नं.९।१०।११।१२।१३ को जग्गा वादीको भनी प्रतिवादीहरूले पनि स्वीकारै गरेको न.नं.२९ २९/१२९/२ मा कित्ता मिलेकोसमेत हुँदा वादीकै दर्ता हकको रहेछ भन्ने प्रष्ट हुन आएको छ ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे
विपक्षी तर्फबाट : अधिवक्ता लवदेव भट्ट
उल्लिखित मुद्दा :
फैसला
न्या. वासुदेव शर्मा
१. प्रस्तुत मुद्दामा ०२५।१०।१७।५ को डिभिजन बेञ्चबाट भएको इन्साफ दोहर्याई पाउँ भन्ने वादी चन्द्रवीर थापा मगरको निवेदन परेकोमा व्यहोरा साँचो भए यो मुद्दा एकपटक फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गरी छिनी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफका विशेष जाहेरी विभाग राजदरवार मार्फत ०२७।४।२८।४ को हुकुम प्रमांगी बक्स भई यस बेञ्च समक्ष पेस हुन आएको छ ।
२. मुद्दाको तथ्य यसप्रकार छ : मेरो नाममा तिरो रू.।८१।१ मा दर्ता भएको पूर्व बलबहादुर बसेको घरको करासो आँगन र आँगन मुनीको बारे पाटो ठाडो डाँडो पश्चिम देउरालीबाट वन जाने मूल बाटो उत्तर पैयांपाटाबाट वनमा जाने तेर्छो डहर भक्तिरामको आवादी बाहेक दक्षिण मुखिया थरबाट देउराली जाने तेर्छो बाटो यति ४ किल्ला भित्रको तोलाकोट घरबारी पाखो मध्ये तिरो रू.।८ लाग्ने पूर्व निज बलबहादुर बसेको घरको करासो आँगन र आँगन मुनीको बारे पाटो ठाडो डाँडो पश्चिम मेरै पाखो जग्गा ठूलो नागढुड्डो उत्तर भक्तिराम, दलामीको पाखो दक्षिण पनि मेरै घडेरीको चाउके पाटा यति ४ किल्ला भित्रको पाखो जग्गामा मैले लगाएको २१ सालको मकै बाली लुटेकाले मैले मुद्दा दिएकोमा पैयांपाटो भन्ने पाखो सरश्वताका नाममा तिरो रू.१।५६।१ लागी दर्ता भई ८४ सालमा मुद्दा परी मतिमई कोठहरेको मतिमइको छोरा कर्णबहादुरले नरीस्वरलाई भोगबन्धकी दिई कर्णबहादुरले बाग्लुङ माल मार्फत रू.६०० को राजीनामा १२।१।२१ मा पास गरी रणबहादरलाई दिई त्यसपछि रणबहादुरको दाजु डम्बरबहादुरले ०२०।१।१ मा रू.२००० को राजीनामा पास गरी बमबहादुरलाई दिई भोगेको भनी मेरो जग्गा दावी गरी प्रतिउत्तर दिएछन् र जग्गातर्फ नालेस दिनु भनी पर्चा गरी सुनाएको र राजीनामाको नक्कलसमेत सारी लिई हेर्दा कर्णबहादुरले रणबहादुरलाई दिएको जग्गा छुट्टै भएकोमा विपक्षी डम्बरबहादुरका नाउँमा दर्र्तै नभएको जग्गामा मेरा नाममा दर्ता छ भनी ४ किल्ला फरक पारी डम्बरबहादुर दिने बमबहादुर लिने भई जालसाजी राजीनामा गरी दिए लिएको देखिएको हुँदा जालसाजी तर्फ छट्टै नालेस गरी जग्गातर्फ यो नालेस गरेको छु उक्त जग्गा मेरो हक सदर थामी पाउँ भन्नेसमेत वादी ।
३. वादीको दर्ताको जग्गा म बमबहादुरको जग्गादेखि पश्चिमपट्टि छ वादीलाई नै साक्षी राखी कर्णबहादुरले नरिश्वरलाई रू.१५०। मा १०।९।१४ मा बन्धकी दिएको र पछि बन्धकीबाट पास गरी रू.६०० मा रणबहादुरलाई कर्णबहादुरले ०१२।१।२० मा पास राजीनामा गरी दिई सो राजीनामाबाट हक हुने रणबहादुरको दाजु डम्बरबहादुरले रू.२०००। लिई ०२१।१।१ मा बमबहादुरलाई राजीनामा पास गरी दिएको पतिराम दर्ता मध्येको जग्गामा दावी गरी झुठ्ठा उजूर गरेको हो भन्नेसमेत बमबहादुर भाया बलबहादुर थापा नरिश्वर थापा डम्बरबहादुर थापासमेतको प्रतिवादी ।
४. नक्सा नं.९।१०।११।१२।१३ को जग्गामा झगडा परेको मध्ये नं.नं.४ को घर आँगन र नं.नं.१२।१३ को जग्गा नरिश्वरबाट १०।१२।३ मा रू.२५ मा राजीनामा लिएको भनी प्रतिवादीले पेस गरेको राजीनामो र वादीले किल्ला लेख्दा बलबहादुर बसेको घर भनी वादीमै लेखाएको सो राजीनामा जालसाजी मुद्दामा सद्दे ठहरी छिनिएकोबाट राजीनामा लिनु दिनु गरेको रहेछ भन्ने देखी पश्चिम कर्णवीरको साँधसमेत र चन्द्रवीर थापाको आवादीसमेत ४ किल्ला भित्रको रू.७।१ तिराको घर जग्गा लिनु दिनु गरेको त्यसबाट नं.नं.४ आँगन नगीचको घर र नं.नं.१२।१३ को जग्गा राजीनामा गरेको भनी प्रतिवादीले बहसमा भनेको सो राजीनामाको किल्ला नक्सामा भिड्दा उत्तर भक्तिरामको जग्गासमेतको साँध मिलेको धनी नरिश्वर ऋणी कर्णवीर भएको रू.१५०। को ०१०।१२।२४ को बन्धकीमा वादी साक्षी बसेको भनी प्र.ले फट्टा पेस गरेको सो लिखतमा पनि चन्द्रवीरको जग्गा भनेको नं.नं.७।८।२९ समेतको जग्गा र भक्तिरामको भनेको नं.नं.२ को जग्गा देखिएको त्यसमा वादी साक्षी बसेकै छैन भन्न नसकी सहिछाप नमिले कीर्ते मिले जालसाजी हो भन्ने अनुमानी लेखेकोले वादी साक्षी बसेको होइन भन्न नसकिने भई झगडा परेको जग्गा प्रतिवादीको रहेछ भन्ने सिद्ध हुने । रू.६०० र २००० को राजीनामाको किल्ला केही फरक परे पनि झगडा परेको जग्गा वादीको हो भन्ने सबूद गुजार्न नसकेकोसमेत हुँदा नं.नं.९।१०।११।१२।१३ को जग्गा प्रतिवादी बलबहादुर, बमबहादुरको राजीनामा पाई हक भोग भएको देखिने ठहर्ने हुँदा जग्गा खिचोला गरे भन्ने वादी दावी पुग्न सक्तैन भन्ने अर्घाखाँची तथा गुल्मी इस्मा जिल्ला अदालतको ०२३।४।२८।६ को फैसला ।
५. सो उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन परेकोमा रू.६००। को र रू.२०००। को राजीनामा किल्ला नमिलेको रू.६००। को राजीनामा लेखिएको झगडा परेको नं.नं.२ को भक्तिरामको जग्गादेखि दक्षिणपट्टिको नं.नं.९।१०।११।१२।१३ को जग्गामा मिल्न नआएको हुँनाले झगडा परेको जग्गामा हकै नपुगेको डम्बरबहादुरले रू.२०००। को लिखत गर्दा झगडा परेको जग्गा किल्ला भित्र पर्ने गरी लेखी दिएको देखिएकोले झगडा परेको जग्गा हकै नभएको डम्बरबहादुरबाट राजीनामा लिई प्रतिवादी बमबहादुरको हक हुन्छ भन्न मिलेन प्रतिवादीले नरिश्वरबाट रू.२५। मा घरधुरी रू.।१ तिराको जग्गा राजीनामा लिएकोमा पश्चिम किल्ला कर्णवीरको आवादी साँध घरबाट जाने तेर्सो र आँगन मुनीको बाटाको गलछीरा र चन्द्रवीरको आवादी भन्ने लेखिएको सो राजीनामा लिखतबाट देखिएकोले सो लिखतमा साँध लेखिएदेखि भित्र नं.नं.३ प्रतिवादीको गोठ घर र नं.नं.४ को आँगनमात्र पर्न आउने भएको हुनाले रू.।१ तिराको जग्गा र जग्गाको घरधुरी आँगन झगडा परेको जग्गादेखि छुट्टै पूर्वतर्फ भएको सो जग्गामा वादीको दावा पनि नभएको हुँदा सो रू.२५। को राजीनामाबाट पनि प्रतिवादीको झगडा परेको जग्गामा हक नदेखिएको हुनालेसमेत वादीको जग्गामा हक नपुग्ने डम्बरबहादुरले राजीनामा दिएको र सो राजीनामाको आधारमा प्रतिवादीले वादीको जग्गामा खिचोला गरेको ठहर्छ शुरु इन्साफ उल्टी हुन्छ भन्ने लुम्बिनी अञ्चल अदालतको ०२४।२।१७।४ को फैसला ।
६. लुम्बिनी अञ्चल अदालतले हद मुनि गरी छिनेको इन्साफ हुकुम प्रमांगीबमोजिम जाँचीने भई ०२५।१०।१७।५ को डिभिजन बेञ्चमा पेस हुँदा वादीले दावा गरेको जग्गा वादीको हक भोग दर्ता किल्ला भित्रको भन्ने कुनै सबूद वादी तर्फबाट गुजार्न नसकेको र प्रतिवादीले गराई लिएको राजीनामा जालसाजी भन्ने तर्फ जालसाजी नठहरी फैसला भएकोले प्रतिवादीहरूको लिखत व्यवहार साँचै देखिन आउने चन्द्रमायाको दर्ताको घर जग्गा नं.नं.५।७।८।२९, २९।१ र २९।२।३० मा देखिएको नक्साबाट ठाडो रेखा कान्लो आँठाले छुट्याई १ नं.९।१०।११।१२।१३ को झगडा परेको जग्गा नक्सामा पूर्वतर्फ छुट्टै देखिएको सो जग्गा वादीको भए उपरोक्त हिसाबले काल्ना आँठा छुट्टी रहनु नपर्ने र त्यसतर्फको वादीको जग्गा प्रतिवादीहरू मिली लिनु दिनु गरी वादीको हक छुट्याउन खोजेको भए सोही ठाँउको नं.नं ५।७ को जग्गा पनि आफ्नो किल्ला भित्र पारी लिनु दिनुपर्ने सो नभई १ नं.५।७ को जग्गा नक्सामा निकै पूर्वतर्फसम्म गएकै र सो जग्गामा झगडा पनि नदेखिएको हुँदा आफ्नो हक भोग दर्ता भित्रको जग्गा भित्रै प्रतिवादी बमबहादुरलाई डम्बरबहादुरले राजीनामा गरी दिएको मिसिल प्रमाणबाट देखिन आएकोले झगडा परेको नं.नं.९।१०।११ र त्यस मुनीको सानो टुक्रा आँठो भित्रको नं.नं.१२।१३ को जग्गा प्रतिवादीको देखिन ठहर्न आएकोले वादी दावी पुग्न सक्तैन शुरु जिल्ला अदालतको इन्साफ गल्ती ठहर्छ भन्ने निर्णय भएको ।
७. यसमा झगडा परेको नं.नं.९।१०।११।१२।१३ को जग्गा मेरो नाममा तिरो रू.।१८।१ दर्ता मध्ये तिरो रू.।८ को मेरो हकको भन्ने वादीको दावी र पतिरामका नाउँमा रू.।५० दर्ता भएको कर्णबहादुरले रू.६०० मा १२।१।२० मा भएको कर्णबहादुरले र रणबहादुरको एकाघरको दाजु डम्बरबहादुरले रू.२०००। मा २०।११ गते बमबहादुरलाई राजीनामा पास गरी दिई हाल बमबहादुरको हक भएको भन्ने प्रतिवादी जिकिर भई विवाद उठेको रहेछ दुवै पक्षको दावी जिकिरको दर्तामा ४ किल्ला नखुलेकोले दर्ताबाट यहाँसम्म यसको भनी जग्गाको साँध छुट्टिन सक्ने स्थिति भएन आफ्नो जग्गाको ४ किल्ला खुलेको कुनै पनि लिखत सबूद वादी पक्षबाट पेस दाखिल हुन नआएको र प्रतिवादी तर्फबाट ४ किल्ला खुलेको राजीनामा लिखतसमेत पेस भइरहेको हुँदा सोसमेतका प्रमाणहरूको मुल्याड्ढन गरी झगडा परेको जग्गा वादी या प्रतिवादी कसको हक पुग्ने हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
८. बहसमा उपस्थित हुनु भएका निवेदक वादीतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले बमबहादुरले दिएको राजीनामामा जग्गाको क्षेत्रफल खुलेको छैन रू.६००। को पहिलेको राजीनामा र रू.२०००। को पछिको राजीनामाको ४ किल्ला मिल्दैन रू.६००। को राजीनामाको किल्लाले झगडा परेको जग्गा नपक्रेकोमा पछि २०००। को राजीनामा झगडा परेको जग्गासमेत पक्रने गरी किल्ला थपेको छ रू.६००। को राजीनामा किल्लाबमोजिम जग्गामात्र पछि लिनु दिनु गर्न पाउने हो त्यसकारण झगडा परेको जग्गा मेरो पक्षको कायम हुनुपर्छ भन्नेसमेत र प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री लवदेव भट्टले वादी १० सालको भोगबन्धकीमा साक्षी बसेको छ ६००। को भन्दा २०००। को राजीनामा बढी जग्गा पक्रने गरी किल्ला राखेको छैन पहिलेको किल्लामा अरू प्राकृतिक साथ किल्ला थपेकोसम्म हो रू.२०००। को राजीनामा जालसाजी नठहरी फैसला भएकोसमेत हुँदा सो राजीनामाको किल्ला कायमै रही जग्गा मेरो पक्ष बमबहादुरको कायम हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
९. कर्णबहादुरबाट रू.६००।–मा रणबहादुरले राजीनामा गराई लिएकै जग्गा रू.२०००। मा बमबहादुरलाई राजीनामा गरी दिए लिएको भन्ने प्रतिवादीहरूको जिकिर भएकोले उक्त दुई राजीनामाको ४ किल्ला परस्पर मिल्ने नमिल्ने के रहेछ भनी भिडाई हेर्दा रणबहादुर शाह भएको रू.६००। को राजीनामामा पूर्व साहूकै घर पश्चिम चन्द्रवीरको आवादी उत्तर नरिश्वरको आवादी दक्षिण साहुकै बारी भन्ने र बमबहादुर शाह भएको रू.२०००। को राजीनामा पूर्व साहुकै घरको करासो पश्चिम चन्द्रवीरको पाखो ठूलो ढुङ्गा उत्तर भक्तिरामको पाखो दक्षिण चन्द्रवीरको पाखो भन्ने लेखिएको भई पश्चिम किल्ला चन्द्रवीरको पाखो भनेसम्म मिले पनि त्यसमा ठूलो ढुङ्गा भन्ने थपिएको र अरू ३ किल्ला एकदमै फरक फरक लेखिएको देखिन आयो ।
१०. कर्णबहादुरबाट रणबहादुरले राजीनामा लिएको रू.६००। को राजीनामाको जग्गा नं.नं.१४ को हो भनी नक्सामा वादीले देखाएको सो रू.६००। को राजीनामाको ४ किल्ला नं.नं.१४ भिडाई हेर्दा दक्षिण साहूकै बारी भनेको नक्सामा खुल्न नआए पनि पूर्व साहुकै घर भनेको साहु रणबहादुरको घर नं.नं.१६ मा र पश्चिम चन्द्रवीरको आवादी भनेको नं.नं.२९।२।३० मा उत्तर नरिश्वरको आवादी भनेको नं.नं.२१ मा भई उक्त ३ किल्ला दुरुस्तै मिले भिडेको पाईन्छ उक्त रू.६००। को राजीनामाको ४ किल्ला झगडा परेको नं.नं.९।१०।११।१२।१३ मा मिल्ने नमिल्ने के रहेछ भनी भिडाई हेर्दा चन्द्रवीरको आवादी पाखो तलदेखि माथिसम्म भई सो १ किल्ला मिल्नु स्वाभाविकै भए पनि अरू ३ किल्ला कत्ति पनि मिल्न भिड्न आउँदैन ।
११. सो नं.नं.१४ को जग्गा रणबहादुर डम्बरबहादुरको भन्ने नक्सामा जनिएकोमा सो जग्गा अरू नै यो यति तिरो छुट्टै हो भन्न प्रतिवादीहरूले नसकेका र पतिराम दर्ताको जग्गा कर्णबहादुरले रणबहादुरलाई राजीनामा दिएको भन्ने प्रतिवादीहरूको भनाई र पतिरामको नाममा रू.।५० दर्ता भएको दर्ता उतारबाट देखिएकोमा सो मध्ये रू.।३४ को जग्गा राजीनामा दिएको पछि बाँकी तिरोको जग्गा सो राजीनामाको जग्गा साँधमै हुनुपर्नेमा नं.१४ कै साँध कित्ता मिलानमा नं.नं.२२।२३ मा पतिरामको जग्गा भनी नक्सामा जनिएकोसमेत हुँदा रू.६००। को राजीनामाको जग्गा नं.नं.१४ कै रहेछ भन्ने प्रष्टै हुन्छ झगडा परेको नं.नं.९।१०।११।१२।१३ को जग्गा कर्णबहादुरबाट राजीनामा दिए लिएको भन्ने कुरा राजीनामाको किल्ला नक्सासमेतको प्रमाणहरू कतैबाट पनि समर्थित हुन सकेको पाइंदैन ।
१२. रु. २००० को राजीनामामा लेखिएको ४ किल्ला भने झगडा परेको नं.नं.९।१०।११।१२।१३ को जग्गामा मिल्न भिड्न आएकोले पहिले रणबहादुरले रू.६०० मा राजीनामा लिएको जग्गा नं.नं.१४ को भएकोमा पछि डम्बरबहादुरबाट रणबहादुरले रू.२००० मा राजीनामा गराई लिँदा बढी र फरक फरक किल्ला लेखी डम्बरबहादुरको नाममा दर्ता नभएकोमा डम्बरबहादुरको नाममा रू.१५ तिरो दर्ता भएको भनी झुठ्ठा कुरा लेखी झगडा परेको नं.नं.९।१०।११।१२।१३ को जग्गालाई किल्ला भित्र पारी राजीनामा दिए लिएको रहेछ भन्ने प्रमाणित हुन्छ रणबहादुरले रू.६०० मा जुन जग्गा राजीनामा गराई लिएको हो सोही जग्गासम्म पछि अर्कोलाई राजीनामा दिन पाउने हक हुने हो रू.६०० मा राजीनामा लिएको जग्गा नं.नं.९।१०।११।१२।१३ को नभएपछि सो जग्गा राजीनामा दिन पाउने डम्बरबहादुरको हक भएको देखिँदैन सो रू.२०००। को राजीनामा बेदामे जालसाजी भनी वादीले उजूर गरेकोमा जालसाजी नठहरी लुम्बिनी अञ्चल अदालतसमेत बाट फैसला भएको भए पनि लिखतको जग्गा कच्चा भएकोबाटै मात्र जालसाज ठहर्ने नभई जालसाजी काम कुरा गरेको सबूद पुग्न आउँदामात्र जालसाज ठहर्नेमा वादी दावीबमोजिम बेदामे लिखत पास गरेकोसमेत नदेखिएकोले जालसाज नठहर्ने भन्ने आधारमा उक्त फैसला भएकोले सो लिखत जालसाज नठहरेको कारणलेमात्र जग्गामा बमबहादुरको हक पुग्न आउने हुँदैन खास गरी परेको झगडा नं.नं.९।१०।११।१२।१३ को जग्गा वादीको भनी प्रतिवादीहरूले पनि स्वीकारै गरेको न.नं.२९ २९/१२९/२ मा कित्ता मिलेकोसमेत हुँदा वादीकै दर्ता हकको रहेछ भन्ने प्रष्ट हुन आएको छ ।
१३. तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट झगडा परेको नं.नं.९।१०।११।१२।१३ को जग्गामा प्रतिवादीहरूको दावी जिकिर पुग्न सक्तैन सो जग्गा वादीको दर्ता कायम गरी त्यसमा प्रतिवादीहरूले खिचोला गरेकोसमेत ठहराई लुम्बिनी अञ्चल अदालतले ०२४।२।१७ मा छिनेको इन्साफ मनासिव ठहर्छ । सो जग्गा प्रतिवादीको ठहराएको २५।१०।२७।५ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन अरू तपसीलबमोजिम गर्नु ।
तपसील
वादी चन्द्रवीर थापा के निजले दाखिल गरेको कोर्टफी र दस्तूरसमेत रू.३३।७५ लुम्बिनी अञ्चल अदालतको २४।२।१७।४ को फैसलाले प्रतिवादीबाट भराई दिने गरेको डिभिजन बेञ्चको ०२५।१०।१७।५ को फैसलाले उक्त ३३।७५ भराउनु नपर्ने असूल भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिने गरेकोमा उक्त डिभिजन बेञ्चको फैसला बमोजिम गर्नु पर्दैन लुम्बिनी अञ्चल अदालतको फैसला बमोजिम लगत कायमै राख्नु भनी कानूनबमोजिम लगत दिनू......................१
वादी चन्द्रवीर थापा के निजले मुद्दा दोहर्याउँदा राखेको कोर्टफी रू.३।२५ प्रतिवादी बम्वबहादर थापा, बलबहादुर थापा, नरिश्वर थापा, डम्बरबहादुर थापा जना ४ बाट बराबरका दरले भराई पाउँ भनी कोर्टफी ऐन, २०१७ को संशोधित दफा १५ (११) बमोजिम ३ बर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी ऐ.ऐ.........................२
२५।१०।१७।५ को डि.बे.को फैसलाले लुम्बिनी अं.अ.का तत्कालिन अञ्चल अदालतका तत्कालिन अञ्चल न्यायाधीश झपटसिंह रावलको इन्साफ उल्टिएको रेकर्ड राख्ने गरेको लगत काटी दिनु भनी स.अ.जरनल विभागमा सूचना दिनु.........३
नियमबमोजिम मिसिल बुझाई दिनु...........................४
न्या. प्रकाशबहादुर के.सी.,
न्या. चन्द्रप्रसाद प्रधान
हामीहरूको सहमती छ ।
इति सम्वत् २०२९ साल आश्विन १६ गते रोज २ शुभम् ।