निर्णय नं. ९१७३ - सवारी ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ
फैसला मिति : २०७१।३।१९।५
०६८–CR–०१६६
मुद्दा : सवारी ज्यान ।
पुनरावेदक/वादी : कृष्णबहादुर श्रेष्ठको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : गुल्मी जिल्ला, गैंडाकोट वडा नं ७ घर भई मध्यपश्चिम पृतना मेडिकल गण महाङ्कालस्थान काठमाडौंमा अ.म.पदमा कार्यरत् ठगबहादुर कार्की
§ प्रतिवादीले मानिस मर्न सक्छ भन्ने जानी जानी लापरवाही साथ जीप चलाएको कारणले दुर्घटना भई मृतकको मृत्यु भएको पुष्टि हुन नसकेको अवस्थामा दुर्घटना भएपछि प्रतिवादीले मृतकलाई बचाउन आफ्नो कर्तव्य निर्वाह नगरी भागेको भन्ने आधारमा मात्र सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को कसुर अपराध गरेको भनी मान्न नमिल्ने ।
(प्रकरण नं. ४)
पुनरावेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री राम घिमिरे
प्रत्यर्थी/प्रतिवादीका तर्फबाट :
अवलम्बित नजीर :
सम्बद्ध कानून :
§ सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१
सुरू फैसला गर्ने :
मा.जि.न्या. श्री कुमारप्रसाद पोखरेल
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री मोहनप्रसाद घिमिरे
मा.न्या. श्री पुरूषोत्तम भण्डारी
फैसला
न्या.देवेन्द्रगोपाल श्रेष्ठ : पुनरावेदन अदालत, पाटनको मिति २०६६।७।२४ को फैसला यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रूपमा दायर भई निर्णयार्थ पेस भएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यस प्रकार छ :
मिति २०६४।१।४ गते बिहान अन्दाजी ५ बजेको समयमा मर्निङवाक्मा जानुभएको मेरो माइला बुबा वर्ष ६५ को भिमबहादुर श्रेष्ठलाई ललितपुर जिल्ला, ल.पु.उप म.न.पा.वडा नं.१५ स्थित सातदोबाटो नजिक बाटोमा पुग्दा तत्काल नम्बर थाहा नभएको गाडीले ठक्कर दिई टाउकोमा समेत गम्भीर चोट लागी घाइते भई मर्निङवाक्मा सँगै हिँडेका रामबहादुर लिम्बुले हल्ला खल्ला गरी स्थानीय मानिसहरू र प्रहरीसमेत जम्मा भई उपचारको लागि पाटन अस्पतालमा ल्याउँदा मृत्यु भइसकेको भन्ने डाक्टरहरूबाट जानकारी पाएकोले मृतक माइला बुबाको लासलाई मुर्दा घरमा राखी जाहेरी दिन आएको छु । ठक्कर दिई घाइते बनाई मृत्यु गराउने गाडीको खोजतलास गरी कानूनी कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको कृष्णबहादुर श्रेष्ठको जाहेरी दरखास्त ।
टाउकोको कपालमा रगत लागी लतपतिएको छाम्दा भित्री हड्डी खप्पर फुटेको जस्तो रहेको, निधारमा रगत लागेको, नाकबाट रगत बगी सुकेको, मुखबाट रगत निस्केको, बायाँ कानको लोतीको भाग च्याती रगत निस्किएको भन्नेसमेत व्यहोराको मृतक भिमबहादुर श्रेष्ठको लास जाँच मुचुल्का ।
मिति २०६४।१।४ गते बिहान विरामी लिई विरेन्द्र अस्पताल छाउनी, काठमाडौंमा पुर्याई छाउनी अस्पतालबाट मध्यपश्चिम पृतना मेडिकल गण महाङ्कालस्थान काठमाडौंमा आउने क्रममा कलङ्की हुँदै चक्रपथ घुम्दै कोटेश्वर हुँदै जान भनी बा.१ झ ६९७७ नं. को गाडी जीप चलाई आउने क्रममा बिहान अन्दाजी ५ बजेको समयमा ल.पु.जि., ल.पु.उप म.न.पा.वडा नं.१५ सातदोबाटो नजिक सडकमा आइपुगेको थिएँ । बिहानपख गाडीको आवत जावत कम भएको हुँदा दायाँ साइड खाली भएकोले दायाँ साइड च्यापी जान खोज्दा मैले चलाएको वा.१ झ ६९७७ नं.को गाडी पिच सडकबाट अन्दाजी ४ फिटबाहिर गई फुटपाथमा हिँडिरहेका मृतक भिमबहादुर श्रेष्ठलाई जीपको ठक्कर लागी उछिट्टिएर लड्न गएपछि म आफ्नो उक्त गाडी त्यही दायाँ मोडी कोटेश्वर हुँदै पश्चिम पृतना मेडिकल गण महाङ्कालस्थान काठमाडौंमा गई उक्त गाडी सोही गणमा राखेको हुँ । मैले चलाएको गाडीको ठक्करबाट लाग्न गएको गम्भीर चोटबाट मृतक भिमबहादुर श्रेष्ठको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी ठगबहादुर कार्कीको अनुसन्धान अधिकारीसमक्ष भएको बयान कागज ।
टाउकोमा लागेको गम्भीर चोटको कारणबाट भिमबहादुर श्रेष्ठको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको शव परीक्षण प्रतिवेदन ।
जीपको ठक्करबाट मृतक भिमबहादुर श्रेष्ठको मृत्यु भएको भन्नेसमेत व्यहोराको बुझिएका रामबहादुर लिम्बुले गरेको कागज ।
जीपले भिमबहादुर श्रेष्ठलाई ठक्कर लागी घाइते भई सोही जीपको ठक्करबाट निजको मृत्यु भएको हो भन्ने एकै मिलान व्यहोराको ललितबहादुर कार्कीसमेतको घटना विवरण कागज ।
यसमा प्रतिवादी ठगबहादुर कार्कीले चलाएको जीपले भिमबहादुर श्रेष्ठलाई ठक्कर दिई सोही चोटबाट निजको मृत्यु भएकोले निज प्रतिवादी ठगबहादुरलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३३, १४७ र १६१(२) अनुसार सजाय गरी पाउँ भन्नेसमेत व्यहोराको अभियोग मागदावी ।
मिति २०६४।१।४ गते बिहान अन्दाजी ५ बजेको समयमा मैले चलाएको बा.१ झ ६९७७ नं.को महेन्द्र जीपको ठक्करबाट भिमबहादुर श्रेष्ठको मृत्यु भएको हो । मैले कुनै जानी जानी ठक्कर दिएको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी ठगबहादुर कार्कीले अदालतमा गरेको बयान ।
भिमबहादुर श्रेष्ठ बिहान मर्निङवाक् गर्न हिँडिरहेको अवस्थामा यी प्रतिवादीले चलाएको जीप रङ साइडमा गई ठक्कर दिएका कारण निजको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको जाहेरवाला कृष्णबहादुर श्रेष्ठसमेतले गरेको बकपत्र ।
यी प्रतिवादीले रङ साइडमा गई सडकछेउमा हिँडेका मानिसलाई ठक्कर दिएर मानिस मर्न गएको कुरा स्थापित हुन आयो । अब अभियोजन पक्षले कसैले कसैको ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने जानी जानी लापरवाही गरी सवारी चलाई मानिस मर्न गएको भनी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा २ बमोजिम दावी लिएतर्फ विचार गर्दा बिहानको समयमा “मर्निङ्गवक” गर्दा मानिसहरूले बाटो काट्न लाग्दा दाहिने मोडिन परेको र सो दुर्घटना घट्न गएको अवस्था देखिन्छ । यसरी घटना घट्दाको अवस्थासमेतलाई विचार गर्दा लापरवाही गरी उपरोक्त अवस्था रहेको भन्ने नदेखिएको हुँदा वारदात हुँदाको अवस्था र परिस्थितिलाई विचार गर्दा यी प्रतिवादीउपरको उक्त दफा १६१(२) अनुसारको अपराध गरेको नठहरी ऐ.दफा १६१ (३) बमोजिमको अवस्थामा सो वारदात घट्न गएको हुँदा ऐ. दफाबमोजिम यी प्रतिवादीलाई कैद महिना ६ (छ) सजाय हुने ठहर्छ भन्नेसमेत व्यहोराको ललितपुर जिल्ला अदालतको मिति २०६४।५।१३ को फैसला ।
मौकामा तयार भएको सडक दुर्घटना प्रतिवेदनबाटसमेत यी प्रतिवादीले रङ्ग साइडमा गई दुर्घटना गराएको भन्ने देखिएको अवस्थालाई स्वीकार गर्दै निजले मौकामा र अदालतसमक्ष बयान गर्दा आफूले बायाँ साइड च्यापी गएको र मृतकलाई आफूले हाँकेको जीपले ठक्कर दिई मानिस मर्न गएको भन्ने उल्लेख गरेको तथा मृतकसँग साथै बिहान घुम्न गएका चश्मदीद रामबहादुर लिम्बुले समेत गाडीले रङ साइडमा आई ठक्कर दिएर भिमबहादुर श्रेष्ठको मृत्यु भएको हो भनी बकपत्र गरेको अवस्था र बयानलाई अदालतसमक्षको बयानमा सनाखत गराउँदा सो व्यहोरा र सहीछाप आफ्नै हो भनी स्वीकार गरेबाट निजले लापरवाहीबाट चलाएको भन्ने पुष्टि हुन्छ । यसर्थ निजलाई माग दावीबमोजिम सजाय नगरेको सुरूको फैसला सो हदसम्म बदर गरी निजलाई अभियोग दावीबमोजिम सजाय गरी पाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र ।
प्रतिवादी ठगबहादुरले चलाएको बा.१ झ ६९७७ नं. को जीपले भिमबहादुर श्रेष्ठलाई ठक्कर दिई सो चोटबाट मृत्यु भएको कुरामा विवाद देखिँदैन । अब उक्त जीपले के कसरी ठक्कर दियो त भनी मिसिल अध्ययन गर्दा सातदोबाटोबाट कोटेश्वरतर्फ जीप गुड्दा दाहिनेतर्फ रङ्ग साइड हुनेमा बिहान सडक खुल्ला भै आफ्नो साइड बायाँतर्फ स्पीडमा हिँडीरहेको अवस्थामा मर्निङवाक्मा हिँड्ने मानिस बाटो काट्दा सो दुर्घटना भएको कुरा पुष्टि हुन आयो । गाडी चलाउँदा अगाडि पछाडि हेर्नुपर्ने दायित्व चालकको दायाँ बायाँ हेरी काट्नुपर्ने दायित्व यात्रुको पनि हुनुपर्नेमा सो अनुसार दुबै पक्षबाट पालन भएको देखिन आउँदैन । उक्त घटना बाटो काट्दा भएको देखिई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) को वारदात देखिँदा सोही ऐनको सोही दफाबमोजिम ६ महिना कैद गर्ने गरी सुरू ललितपुर जिल्ला अदालतबाट भएको मिति २०६४।५।१३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६६।७।२४ को फैसला ।
प्रतिवादीले मौकामा र अदालतमा बयान गर्दासमेत बायाँ साइडबाट गाडी चलाउनुपर्नेमा गलत साइड दायाँ साइड च्यापी गाडी चलाएको कारण दुर्घटना भई मृतकको मृत्यु भएको कुरा स्वीकार गरी बयान गरेको, उक्त दुर्घटना मृतकले बाटो काट्दा भएको नभई दायाँ साइडमा हिडिरहेको अवस्थामा ठक्कर दिएको, प्रहरीमा कागज गर्ने रामबहादुर लिम्बुले अदालतमा आई बकपत्र गर्दा प्रतिवादीले चलाएको गाडी विपरीत दिशाबाट आई ठक्कर दिई टाउकोमा चोट लाग्न गएको हो भनी किटानी गरी दिएसमेतबाट प्रतिवादीको लापरवाहीजन्य कार्य भएको र सोको परिणाम सवारी दुर्घटना भई मृतकको मृत्यु भएको देखिएको अवस्थामा मिसिल संलग्न प्रमाणको उचित मूल्याङ्कन र विवेचना हुन नसकी पुनरावेदन अदालत, पाटनबाट भएको फैसला त्रुटीपूर्ण हुँदा दोहोर्याउने निस्सा प्रदान गरी उक्त फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग मागदावीबमोजिम सजाय गरी पाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको निवेदन ।
यसमा घटनास्थल प्रकृति मुचुल्का र प्रतिवादीको बयानबाट गाडी गलत साइडमा गई दुर्घटना भएको भन्ने कुरा स्थापित भएको र गाडी दुर्घटनापश्चात प्रतिवादी भागेको कुरा घटनास्थल स्केचबाट देखिएको अवस्थामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को अभियोग दावी रहेकोमा दफा १६१(३) को प्रयोग गरेको पुनरावेदन अदालत, पाटनको फैसलामा अ.बं. १८४क. नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिबन्धात्मक अवस्था अनुसार प्रमाण मूल्याङ्कनमा त्रुटी गरेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम दोहोर्याउने निस्सा प्रदान गरिएको छ । नियमानुसार गरी पेस गर्नु भन्ने मिति २०६८।४।१३ मा भएको यस अदालतको आदेश ।
नियमबमोजिम दैनिक पेसीसूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सुरू र पुनरावेदन मिसिलसमेत अध्ययन गरियो । वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री राम घिमिरेले प्रतिवादीले अनुसन्धान अधिकारी र अदालतसमक्ष बयान गर्दा गलत साइडबाट गाडी चलाएको कारण दुर्घटना भई मृतकको मृत्यु भएको कुरा स्वीकार गरी बयान गरेको, प्रतिवादी गाडी दुर्घटना पश्चातको कर्तव्य पूरा नगरी भागेको अवस्थामा उक्त कुराको मूल्याङ्कन नगरी पुनरावेदन अदालत, पाटनबाट भएको फैसला त्रुटीपूर्ण हुँदा उक्त फैसला उल्टी गरी यी प्रतिवादीलाई अभियोग मागदावीबमोजिम सजाय हुनपर्छ भन्नेसमेत व्यहोराको बहस गर्नुभयो ।
विद्वान् उपन्यायाधिवक्ताको उपर्युक्त बहससमेत सुनी पुनरावेदनसहितको मिसिल संलग्न कागजात प्रमाण अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, पाटनको मिति ०६६।७।२४ को फैसला मिलेको छ छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचारगर्दा, प्रतिवादी ठगबहादुर कार्कीले चलाएको जीपले भिमबहादुर श्रेष्ठलाई ठक्कर दिई सोही चोटबाट निजको मृत्यु भएकोले प्रतिवादी ठगबहादुरलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३३, १४७ र १६१ (२) अनुसार सजाय गरी पाउँ भन्ने अभियोग मागदावी भएकोमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिम ६ महिना कैद गर्ने गरी सुरू ललितपुर जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसलामा मुख्यतः गम्भीर कानूनी त्रुटी भएको र कानूनको गलत किसिमले व्याख्या गरेको हुँदा दोहर्याई हेर्ने निस्सा पाउँ भनी वादी नेपाल सरकारको यस अदालतमा निवेदन परेकोमा यस अदालतबाट पुनरावेदन अदालत, पाटनको फैसला दोहर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रूपमा दर्ता हुन आएको देखियो ।
३. प्रतिवादी ठगबहादुर कार्कीले चलाएको जीपले सातदोबाटोबाट कोटेश्वरतर्फ दाहिनेतर्फको सडक पेटीमा हिडिरहेका मृतकलाई ठक्कर दिई मृतक भिमबहादुर श्रेष्ठको मृत्यु भएको कुरा जाहेरी दरखास्त, घटनास्थल प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन, मौकामा तयार भएको दुर्घटना प्रतिवेदनबाट देखिएको, प्रतिवादीले अधिकारप्राप्त अधिकारी समक्ष र अदालतमा आई बयान गर्दासमेत आफूले गाडी चलाउँदा दायाँ साइड खाली भएकोले दायाँ साइड च्यापी जान खोज्दा सडक छेउमा हिडिरहेका मानिसलाई ठक्कर दिई मृतक भिमबहादुरको मृत्यु भएको भनी बयान गरेको र सो बयानलाई समर्थन हुने गरी मृतकसँग साथै घुम्न गएका चस्मदीद रामबहादुर लिम्बुले बकपत्र गरिदिएसमेतबाट मिति २०६४।१।४ गते यी प्रतिवादीले चलाएको बा.१ झ ६९७७ नं.को जीपले ठक्कर दिई भिमबहादुर श्रेष्ठ घाइते भई चोट लागी सोही चोटका कारण मृतक भिमबहादुर श्रेष्ठको मृत्यु भएको भन्ने कुरामा विवाद रहेको देखिएन ।
४. सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) मा “कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागी वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारीबाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाका कारणबाट तत्कालै वा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलमा उल्लिखित म्यादभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको नभएता पनि त्यसरी सवारी चलाउँदा कसैको ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने कुरा जानी जानी वा लापरवाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना हुन गई त्यसैको कारणबाट कुनै मानिसको मृत्यु हुनगएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ” भन्ने व्यवस्था रहेको पाइन्छ । उल्लिखित कानूनी व्यवस्थाबमोजिम अभियोग माग दावी पुष्टि हुनको लागि प्रतिवादीले मान्छे मर्न सक्छ भन्ने जानी जानी लापरवाही तवरले सवारी चलाएको कारणले दुर्घटना भई कुनै पनि मानिसको मृत्यु भएको हुनुपर्छ । तर प्रस्तुत वारदात हुँदाको अवस्थामा प्रतिवादी ठगबहादुर कार्कीले मानिस मर्न सक्छ भन्ने जानी जानी सवारी लापरवाही गरी चलाएको कारणले मृतक भिमबहादुर श्रेष्ठको मृत्यु भएको भन्ने कुराको यकीन पुष्टि हुने प्रमाण वादी पक्षबाट पेस भएको पाइँदैन । यसरी प्रतिवादीले मानिस मर्न सक्छ भन्ने जानी जानी लापरवाही साथ जीप चलाएको कारणले दुर्घटना भई मृतकको मृत्यु भएको पुष्टि हुन नसकेको अवस्थामा दुर्घटना भएपछि प्रतिवादीले मृतकलाई बचाउन आफ्नो कर्तव्य निर्वाह नगरी भागेको भन्ने आधारमा मात्र १६१(२) को कसुर अपराध गरेको भनी मान्न मिल्ने देखिएन ।
५. प्रतिवादीले अदालतमा बयान गर्दा आफूले चलाएको गाडीले ठक्कर दिई मृतक भिमबहादुरको मृत्यु भएको कुरा स्वीकार गरी स.ज.८ मा मेरो साइडमा जान लाग्दा मेरो साइडमा मानिसहरू एक्सरसाइज गर्दै थिए । त्यसैले मैले गाडी बिहानको खुल्ला बाटो हुँदा दायाँ साइड च्यापी गाडी चलाउँदा मृतक सोही ठाउँमा आएकोले ठक्कर लाग्न गएको हो भनी गरेको बयानसमेतबाट बायाँ साइडमा एक्सरसाइज गरिरहेका मान्छेलाई बचाउन दायाँ साइड च्यापी गाडी चलाउँदा मृतकलाई ठक्कर लागी चोट लाग्न गई सोही चोटको कारणले मृत्यु भएको देखिएको हुँदा यस अदालतबाट प्रस्तुत मुद्दामा दोहर्याइ हेर्ने निस्सा प्रदान गर्दा लिइएको आधारसँग सहमत हुन सकिएन ।
६. अतः माथि विवेचित आधार प्रमाणवाट यी प्रतिवादी ठगबहादुर कार्कीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिम ६ महिना कैद हुने ठहर्याएको सुरू ललितपुर जिल्ला अदालतको मिति २०६४।५।१३ को फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६६।७।२४ को फैसला मिलकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. ओमप्रकाश मिश्र
इति संवत् २०७१ साल असार १९ गते रोज ५ शुभम्
इजलास अधिकृत : मनोज श्रेष्ठ