निर्णय नं. ६५६ - जग्गा वाली

निर्णय नं. ६५६ ने.का.प. २०२९
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री जयदेव भट्ट
सम्वत् २०२७ सालको देवानी फुल बेञ्च नम्बर ११८
फैसला भएको मिति : ०२८।११।१३
निवेदक : याङरुप गङ्गा वा.बस्ने बुद्धिराज राई समेत
बिरुद्ध
विपक्षी : ऐ.ऐ. गंगावा बस्ने टेकबहादुर लिम्बु
मुद्दा : जग्गा वाली
(१) बदर गराउन नसकी अन्तिम भई बसेको कुनै पनि अदालतको फैसलाको विपरित पछि गरिएको जिकिरले बदर हुन नसक्ने ।
हालको वादीमा बढी किल्ला पक्रेकोसमेत ध्यान आकर्षित गरिएन भन्ने तर्कलाई अघिका फैसलामा उल्लेख भएका किल्ला कहाँ पर्दो रहेछ हाल वादीले पक्रेको जग्गा सो किल्ला भित्र बाहिर के रहेछ र प्रतिवादीले हाम्रो रैकर भनी इन्कार लिएको धोजे दर्ताको जग्गा कहाँ रहेछ भनी त्यसतर्फ यकिन गर्न २ थर रोहवरमा रही लेखाई देखाई सहिछाप गरेको गाउँको प्रधानपञ्च सदस्यसमेत रोहवरमा रही खडा भएको २२ सालको नक्सा हेर्दा वादीले किपट भनी लेखाएको ताप्लेजुङ अमिनिको १५ सालको फैसलामा लेखिएको मेवाखोला दोभान गजर सिं लिम्बुसमेतको साँध भन्नेसमेतका ४ किल्ला उल्लेख भएका ठाउँको नाउँ त्यो हैन सो नाउँ गरेको ठाउँ यो हो भनी प्र.जिकिर लिन नसकी अघिका फैसलामा किल्ला उल्लेख भएको नाउँको ठाउँ सोही नै हो भन्ने कुरामा प्रतिवादी पनि सहमतै भएको देखियो, सोही ४ किल्ला भित्रको जग्गालाई मेरो किपट बारी हो बुद्धिराजसँग झगडा पर्दा जितेको भनी वादीले र हाम्रो धोजे दर्ताको रैकर भनी प्रतिवादीहरूले जिकिर लिएकोमा अघि झगडा पर्दा फिरादीले जितेको जग्गा यो हैन यस बाहेक अन्यत्र यस ठाउँमा छ भनी प्रतिवादीले जिकिर लिन देखाउन नसकेका र प्रतिवादीले हारी १५ सालमा ताप्लेजुङ अमिनिबाट र सो इन्साफमा सदर भई धनकुटा अपीलबाट १६ सालमा छिनिएको फैसला बदर गराउन प्रतिवादीहरूले नसकेको न्याय प्रशासन विविध व्यवस्था ऐन, २०१८ को दफा १० को उपदफा (क) मा कुनै मुद्दामामिलामा अदालतले गरेको निर्णय अन्तिम हुनेछ र सो निर्णय त्यस मुद्दामामिलाका दुवै पक्षलाई मान्न कर लाग्नेछ भन्ने उल्लेख भएकाले उक्त फैसलाको विपरित हाल गरेको जिकिरले सो फैसला बदर हुन नसक्ने । वादीले १५ सालमा लेखाएका ४ किल्ला भित्रकै जग्गामा हाल झगडा परेको देखिए पनि अघि झगडा परी जिती पाएको जग्गा भनी वादी पक्षले र हाम्रो धोजे दर्ताको रैकर जग्गा हो भनी प्रतिवादीले जिकिर लिएको कुरा २ ठाउँमा लेखिएकाले सो मध्ये नक्सा नं.२ वादी टेकबहादुरको घर पाली खाली कटेरो भन्ने ठाउँको जग्गा फिरादीको किपट र सो बाहेक बरबोटे भन्ने जनिएको ठाउँको सिर डाँडादेखि पश्चिम मेवाखोला तर्फको धोजे दर्ता भनेको भन्ने उल्लेख भएको न.नं.३६ को जग्गा प्रतिवादीहरूको धोजे दर्ताको रैकर देखिन्छ भनी निवेदक प्रतिवादी पक्षका वकिलले छलफलमा उठाउनु भएको तर्कलाई सो बमोजिम हो भन्ने कुरा प्रतिवादीहरूले आफ्नो प्रत्यूत्तरमा जिकिर लिन नसकेको बुद्धिराजको घर भनी जनिएको ठाउँ नजिकमा धोजे दर्ता मेरो हकको भनी बुद्धिराजले भनेको भन्ने पनि जनिएको सोही ठाउँ नजिकै पिपरा रानिबाट सट्टा पाएको बारी भनी वादीले भनेको भन्ने पनि जनिएको पिपरा रानिबाट वादीले सट्टा पाएको जग्गा धोजे दर्ताको रैकरमध्येको हो भन्ने कुरा अघिका फैसलाहरूबाट देखिनाले सो ठाउँमा भएको धोजे दर्ताको रैकर जग्गाका नाताले भिर डाँडादेखि पश्चिमको न.नं.३६ को जग्गा पनि धोजे दर्ताको कायम गर्न उपरोक्त कारणले मिलेन अघिका फैसलाको वादीको दावी जैसानको रैकर बारी रुदिलाको रुख कान्ला वारपार उत्तर भन्ने लेखिएकोमा दक्षिणमा पनि दावी लिएको देखिनाले बढी दावी गरेको र अरु फिदिम अदालतको मनासिव भनी मेची अञ्चल अदालतबाट ठहर भएको बढी दावी गरेको नठहर्ने भन्ने तर्फ फिरादीले पुनरावेदन नगरेको मेची अञ्चल अदालतको इन्साफ डिभिजन बेञ्चबाट सदर गरेको भएपछि त्यसदेखि बाहेक पनि यो ठाउँको जग्गा बढी चापी किल्ला लेखेको भन्ने जिकिर नहुनाले हालको दावीमा बढी किल्ला पक्रेतर्फ ध्यान आकर्षित भएन भन्ने तर्क निराधार देखिन्छ ।
(प्र.नं. १४)
निवेदक प्रतिवादी तर्फबाट : अधिवक्ता श्री सुधानाथ पन्त
विपक्षी वादी तर्फबाट : अधिवक्ता श्री कुलराज
उल्लिखित मुद्दा :
फैसला
न्या.श्री जयदेब भट्ट
१. प्रतिवादी मध्ये बुद्धिराज राई समेतसँग रैकर किपटमा झगडा परी ०१५।९।५ मा ताप्लेजुङ अमिनीबाट ०१६।७।१३ मा किपट सदर भई मैले जिती पाएको मेवा खोला दोभान गजर सिं लिम्बु समेतको साँध पूर्व समेत ४ किल्ला भित्रको बखडे भन्ने बारी र सोही किल्ला भित्रको पुवा खोला दक्षिण समेत ४ किल्ला भित्रको जग्गा अघिदेखि बाँझो भएको ०१८ सालको बाली कमोद गर्नलाई फाँडी मकै लगाई पाकी सकेपछि ०१८।५।३० मा अन्यायवालाहरूले अरु नचिनेका २०।२५ जना खेताला ल्याई लुटपिट गरी लगेकाले कं.रु. ३००।– प्रतिवादी बुद्धिराज, जंगवीरहरूबाट र घाँस समेतको विगो कं.रु. ५०। प्रतिवादी जयनारायणबाट दिलाई भराई सजाय समेत गरीपाउँ भन्नेसमेत वादी ।
२. ५० सालका जाँचमा हाम्रा बाबु बाजे ध्वजे राई रू.२ तिरोमा दर्ता भएको ढाडवारीको छरछरे खोल्सा पूर्व समेत ४ किल्ला भित्रको गंगावा भन्ने जग्गा बाजे बाबुको शेषपछि म बुद्धिराज समेतले भोगी आएको धनवीरलाई पास गरी दिंदा यो वादीले मसमेतका नाउँमा उजूर गरेको मुद्दामा हारेको छु तापनि अपीलको तह वाँकी नै हुँदा सो मुद्दा दायरै छ । ध्वजे दर्ताको जग्गा छैन भन्छ भने सु.हर्कध्वज वादीको बाबु जंगध्वजले रामकृष्णलाई धुरी पुर्जि गरी दिंदा ध्वजे राईको रैकरवारी र थुम्कादेखि पूर्व भन्ने किल्ला बनाई वादीका बाबुले लेखेको र जसराजले हस्तवीरबाट कं.रु. ६४। खाई निजको तितेनी पाखा किपट बन्धकी लेखी दिंदा ध्वजे राईको बारी पश्चिम भन्ने जनिएको समेतबाट रैकर जग्गा देखिएकै छ । वादीको बाली लुटेको होइन भन्नेसमेत बुद्धिराज १ पंफे भनेको जाँचबहादुर राई १ तिखे भनेको चन्द्रबहादुर राई समेतको ०१८।९।३।१ को र वादीले प्रमाण दिएको रू.१००। को लिखतले मेरो धुरी खाएलको जग्गा पक्रेको छैन अन्तै जग्गा हो । यो वादीले मबाट रुपैयाँ नलिई मलाई धनी आफू ऋणी भई कं.रु. १००। को तमसुक लेखी आएमा वादीले सहि गरी उसै दिन लिखतको पछाडी मलाई सही थिचाई लगेको थियो । सो लिखतले जग्गा मैले भोगेको होइन भन्नेसमेत जयनारायणको ०१८।१–३।१ को ५० साल जाँचमा तिरो रू.३। मा धनवीर दर्ता भएको सुकनाउ मेदा भन्ने जग्गा दर्तावाला बसाइँ जाने हुँदा ५९।१०।४ मा गहन सिंलाई रू.५०। मा राजीनामा गरी दिएको गगन सिंले म समेतका बाबु हस्तवीरबाट कं.रु. १४०। खाई ६०।११।४।७ मा राजीनामा गरी दिएबाट बाबु बाजे सो खाएलमा भर्ना भई भोगी आएको थैली केही लिनु दिनु नगरी जाले पास फैसला प्रमाण दिई झगडा गरेछन्, सो कुरा हालमात्र थाहा पाएकाले त्यसमा व्यहोरा खोली जालसाजीमा उजूर गर्नेछु । बाली हामीले लुटी खाएको होइन भन्नेसमेत जंगवीर १, धनबहादुर १ समेतको ०१८।९।४।२ को प्रतिउत्तर ।
३. चंखलालको साँध उत्तर समेत किल्ला भित्रमा बाबु बाजेको किपट हुँदा भाइ अंशबाट जसबहादुरले पाई ८८ सालमा हस्तवीरलाई बन्धकी दिएको रहेछ ०१४ सालमा रू.३०। बढ लिई नरबहादुरलाई बढको कागज गरी दिएको छु भन्नेसमेत ०१९।१।३।१ को शेरबहादुरको वयान।
४. बाबु हस्तवीरले अं.कं.रू.६४। मा बन्धकी लिएको बाबुको शेषपछि मैले भोगी आएको छु, उजूर झुट्टा हो भन्नेसमेत नरबहादुरको ०१९।१।३।१ को वयान ।
५. यिनै वादी र बुद्धिराज समेतको अघि झगडा परी ०१५।९।८ मा ता.अ.बाट र ०१६।७।३ मा ई.अ.बाट समेत वादीको किपट ठहरी फैसला भएको फैसला नक्कलबाट देखिएको, वादीको फैसला नक्कलको किल्ला नक्सामा भिडाउँदा फैसलाको किल्लामा मिल्न आएको प्र.जिकिर दर्ताको रैकर जग्गा वादीले जिती पाएको किल्ला बाहेक देखिनाले वादीको फैसलाले हक भइसकेको जग्गाको वाली लुटी किचोला गरेको ठहर्ने र जय नारायण उपर वादीले प्रमाण पुर्याउन नसकेकाले वादीले बढी दावा गरेको वाली विगो रू.२४०। बुद्धिराजबाट र २४०। जंगवीर, नरबहादुरबाट वादीले भरी पाउने ठहर्छ, भन्नेसमेत ०२१।४।७।४ को फिदिम इलाका अदालतको फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन भन्ने बुद्धिराज १, जंगवीर १, नरबहादुर १, शेरबहादुर १ समेतको ०२१।५।१० को पुनरावेदन ।
७. अघिको फैसलाले वादीको किपट भई वादीले जिती पाएको र अघिका फैसलाको वादी दावीमा जय नारायणको रैकर बारी दुदीलाको रुख किल्ला वारपार उत्तर भन्ने लेखिएकोमा दक्षिणमा पनि दावी लिएको देखिनाले बढी दावी गरेको र अरु फिदिम इलाका अदालतको इन्साफ मनासिव वाली तर्फ खारेज हुने ठहर्छ भन्नेसमेत ०२२।१२।१५।२ को मेची अञ्चल अदालतको फैसला ।
८. झगडा परेको जग्गा बाहेक पूर्वपट्टिको जग्गालाई वादीको बाबु समेतले रामकृष्णलाई धुरी पुर्जि गरी दिंदा ध्वजे राईको रैकर वादी थुँकादेखि पूर्व भन्ने किल्ला लेखिएकोले ४ किल्लाको झगडा परेको जग्गा वादीको हक नपुग्ने भन्नेसमेत बुद्धिराज राई १, जंगवीर चुहान १, नरबहादुर १, शेरबहादुर १ समेतको पुनरावेदन ।
९. प्रस्तुत मुद्दामा हाल वादी दावीको जग्गामा समेत यिनै वादीसँग अघि झगडा परेको होइन भन्ने र वादीले जितिएको होइन भन्न समेत पुनरावेदकहरूले नसकेका १ पटक झगडा परी वादीले जितेको जग्गा समेत हामीहरूको हो भन्ने पुनरावेदकहरूको जिकिर सत्य साँचो रहेछ भन्ने सम्झन न्यायोचित देखिन नआउनेमा पनि यो वादी प्रतिवादीहरूको हालको ४ किल्ला र अघिको फैसलाको ४ किल्ला समेत नक्सामा भिडाई हेर्दा मिलेको देखिन आएपछि हाल झगडा परेको जग्गा हामीहरूको हुनुपर्ने भन्ने पुनरावेदकहरूको जिकिर पुग्न नसक्ने समेत हुँदा अरु मेची अञ्चल अदालतको फैसलामा लेखिएका वुँदा प्रमाण समेतबाट इन्साफ अञ्चल अदालतको मनासिव ठहर्छ भन्नेसमेत ०२५।२।१०।५ को डिभिजन बेञ्चको फैसला ।
१०. उक्त फैसला उपर दोहर्याई पाउँ भन्ने जंगवीर चुहान क्षेत्री समेतको निवेदन पर्न आएकोमा न्यायिक समितिबाट यसमा प्रमाण पेश गरेको कागजहरूको व्यहोरा हेर्दा ८६ सालको कागजमा धनवीर राईको रु. ३। को खायलमा वसेको त्यसै खायल विराएको धुरी मुरीको मेरीवा तेरा कपनी रैकर खेतको सिरानी थैली खाई दिया भन्ने र ८५।२।१४ को कागजमा चामु सिं लिम्वूको साँध र गंगावा जाने तेर्सों मूल बाटोदेखि पश्चिम थोकलवा भीरदेखि पराको खोल्सादेखि दक्षिण पूर्व खोलादेखि वाझकर्णी पूर्व लिम्बूको साँधदेखि उत्तर यति ४ किल्ला भित्रको कांला कुंली बासपाती रुख पात रैकर समेत धुरी साहारामा खानु भनी ठेकी चारदाम खाई एक थरेथरीको तमसुक लेखी तेरा घरको वेठी मिन्हा गरी दियाँ भन्ने वोली लेखिएको ०३।११।८।४ को कागजमा अघि सुब्बा बुद्धिमान लिम्बूले लेखी दिएको मेरीवा खोल्सालको खेत चंखलाल जसराज लिम्वूहरूको किपट पाखावारी ठाडो खोल्सो सो दक्षिण पुवाखोलादेखि पूर्व निजको घरवारी तिराको वारीदेखि उत्तर तेर्सो कुला पहरादेखि वारपार पश्चिमको खेतहरू बुद्धिमानले गरी दिए बमोजिम धुरीको मुरी नापी डोर आएमा नापी विरह दिउँला भन्नेसमेत व्यहोरा परेकोबाट ८६ सालको कागजमा किल्ला नलेखिएको भए पनि सो ८५।८६ सालको बुद्धिमानको कागजलाई सिरान हाली ०३।११।८।४ मा कागज गरी दिएको हुँदा ८५।८६ सालको कागजबाट ०३।११।८।४ को कागज बमोजिमको किल्ला भित्रको जग्गा भोगचलन गरिरहेको भनी कागज गरी दिएको भन्ने देखिने अथवा ८५।८६ सालको कागजलाई सिरान नहाली लेखिदिएको भए पनि ठेक्का थितिको ०४ साल फागुण १६ गते रोज ५ को तोक सदरमा उल्लिखित थितिको सदनले त्यसरी दिएको मान्य नै हुन आउने, नक्सामा पूर्णरुपेण वादी प्रतिवादीले लेखेको किल्ला र लिखतका किल्लाहरू खुलेको देखिएन, नक्सामा खुलेसम्मका किल्ला भिडाई हेर्दा अघिल्लो नक्सामा खुलेका कुनै किल्ला पछिल्लो नक्सामा नखुलेको र पछिल्लो नक्सामा खुलेका कुनै कुरा अघिल्लो नक्सामा खुलेको देखिएन र नक्साको आकार प्रकार फरक पर्नुको साथै अघिको नक्सामा लेखिएको छर–छरे खोल्सीको हाँगो ठाडो खोल्सीनै पछिल्लो नक्सामा गुम भएको र अघिल्लो नक्सामा निमोर खोल्सी मेरीवा खोलामा मिसिइन गएको हाँगो देखाइएकोमा पछि नक्सामा निमोर खोल्सी छरछरे खोल्सीमा मिल्न गएको हाँगो देखिएको छ जुन ठाडो खोल्सी अघिल्लो नक्सामा छरछरे खोल्सामा मिल्न गएको देखिन्छ यो कुरा अञ्चल अदालतबाट र सर्वोच्च अदालतबाट समेत हेरी छानविन गरेको देखिएन तापनि देखिए सम्मकै कुराबाट विचार गर्दा प्रतिवादीले प्रमाण दिएको उक्त उल्लिखित वादी टेकबहादुर समेतले गरी दिएको ०३।११।८।४ को कागजमा लेखिएको किल्ला ठाडो खोल्सो र तेर्सो कुरा पहरा पहिलेको नक्सामा देखिन्छ र त्यस किल्लाले झगडा परेको मेरीवा खोल्सा र छरछरे खोल्सा बीचको खेतलाई पक्रिन्छ तेर्सो कुला पहरा पछिल्लो नक्सामा देखिँदैन प्रतिवादीको लिखत र प्रतिवादीमा लेखेको किल्ला झगडा परेको जग्गामा मिल्न भिड्न नआउने भन्ने हकमा त्यस किसिम नमिल्ने देखिँदैन । झगडा परेको जग्गालाई छड्के कोणबाट हेर्दा पूवाखोलादेखि पूर्व र चंखलाल जसराज लिम्वूहरूको किपट ठाडो खोल्साबाट दक्षिण तेर्सो कुलो पहराबाट पश्चिम निजको घरवारी सिरानदेखि उत्तर भनी ०३।११।८।४ को लिखतमा लेखेको र प्रतिवादीमा लेखेको कुरा भिड्न मिल्न आउँछ । उक्त उल्लिखित ८५–८६ सालको बुद्धिमानले गरी दिएको कागज कायम राखी ४ किल्ला खोली वादी टेकबहादुर समेतले ३ साल फागुण ८ गते ४ मा गरी दिएको कागजको किल्लाभित्र मेरी वा खोल्सी र छरछरे खोल्सी बीचको मेरीवा खेत पर्न आउने र जुन अघिको ता.अ.र धं.अपीलको फैसलाको आधार लिएकोछ सो फैसलामा वादीले किल्ला लेख्दा मेरीवा खोला दोभान किल्ला नलेखी पुवाखोला काजीमान लिम्वुको किपट मैले किनेको दक्षिण भन्ने उत्तर किल्ला लेखेको त्यसबाट पनि मेरीवा खोला र पुवाखोलाको दोभानसम्म वादीको जग्गा पुगेको देखिएन मेरीवा खोला गजरा सिं गोवरधनको किपट पूर्व भन्ने पश्चिम किल्ला लेखेको त्यसबाट पनि मेरीवाखोला दोभानसम्म किल्ला नपुगी मेरीवा खोलाको किल्ला गजर सिं र गोवरधनको किल्ला भए ठाउँसम्ममा मात्र सिमित रहेको देखिन आउँछ । किल्ला फरक पारी आफूलाई प्रमाण पुग्ने गरी गरेको ०१०।२।१६ को तमसुक र १३।४।२५।५ को पास तमसुकको प्रमाण लाग्न नसक्ने, पास जालसाज मुद्दा र सो फैसलामा यहाँदेखि यहाँसम्मको किपट भन्ने ठहर गरेको र साँध किल्ला तोकि हारजित गरेको नभई कागज जालसाजी भन्ने तर्फ जालसाजीको सवुद नपुग्ने र ति कागजमा टेकबहादुरको किपट साँध लेखेको वादीले किपट छैन भनी प्रतिवादीले जिकिर लिन नसकेको भन्ने वुँदासम्म लगाएको आखिर चन्द्रध्वज दर्ताको रू.२। तिराको जग्गामा अधि हक खाने फिपरानीले वादी टेकबहादुरलाई सट्टापट्टा गरी दिएको जग्गा समेत सवै बुद्धिराजले विक्री गरेको देखिएको भनी कागजसम्म बदर गरेको उक्त उल्लिखित बुद्धिमान हर्षधोज जंगघाज टेकबहादुर जसराज समेतले जयनारायण हस्तवीर रामकृष्ण समेतलाई लेखी दिएको कागजहरूको निरोपण हुन नपाएको मुद्दामा भएको निर्णयले समुच्चा किल्ला कायम भई जग्गा वादीले जितेको भन्न नमिल्ने भएकोले बुद्धिराजको हकमा पनि त्यसतर्फ अपील गर्न नसकेको भन्ने वुँदा लाग्न नसक्ने देखिएको उक्त उल्लिखित नरबहादुर मानबहादुरको मेरीवा खेत बाहेक अरु जग्गा अघिको फैसलाले किपट कायम भएको भन्ने अर्थ गरी वाली लुटपिट गरेको ठहराएतर्फ हेर्दा मुख्य टेकबहादुरले गरी दिएको ३ सालको कागजमा चंखलाल जसराजको किपट पाखा बारी ठाडो खोल्सीदेखि दक्षिण भन्ने लेखिएको र ८८ सालमा जसराजले हस्तवीरलाई लेखी दिएको कागजमा धोजे राईको रैकर देखि पश्चिम भन्ने लेखिएकोले जसराजको साँधमा धोजेराइको जग्गा हुनै पर्ने अर्को कुरा अघिको मुद्दामा वादीले ०१३।४।२५।५ को कृष्णलाललाई पास गरी दिएको लिखतमा बुद्धिमानको ९४।२।४।२ को लिखतमा बुद्धिराज साक्षी वसेकोले त्यसबाट हाम्रो हक हुने भन्ने आधार लिएकोमा बुद्धिराजले सो कुरालाई सो बुद्धिमानको लिखतमा म साक्षी लेखी सहिछापको बीचमा प्वाल पारी दियो भन्ने टेकबहादुरले उजूर गरेकोमा बुद्धिराजको कीर्ते जालसाजी भन्ने प्रतिवादी परेपछि कीर्ते तर्फ र जग्गा तर्फ एकै पटक उजूर गर्नु भनी खारेज गरेमा अपील गर्न नसकेको भन्ने जिकिर लिएको देखिन्छ । त्यसपछि त्यस कुरामा नालिश उजूर गरेको देखिंदैन । त्यसबाट पनि कृष्णलाललाई लेखी दिएको बन्धकी लिखत दुवै थर मिलेमा जहिले पनि त्यस किसिमको वाक्यांश प्रयोग गरी कागज गर्न सक्नुका साथै उल्लिखित कुराबाट बुद्धिमानको नकरा कागजको आधारमा लेखिएको सो बन्धकी लिखत कुनै महत्त्व रहन नसक्ने आधारहीन व्यवहार देखिन्छ । बुद्धिराजले जिकिर लिएको कुरालाई केही खण्डन भएको देखिंदैन, मैले रू.१००।– मा लिएको बन्धकी लिखतले यो जग्गा पक्रदैन ४ किल्ला भित्रको जग्गा मेरो र जंगवीर बुद्धिराजको हो भन्नेसमेत जयनारायणले लेखेको त्यस कुरामा कहाँदेखि कहाँसम्म कुन जग्गा पर्छ छानविन गरेको देखिंदैन प्रस्तुत मुद्दामा उक्त उल्लिखित प्र.जंगवीरको मेरीवा खेतमा वादीले यो मुद्दामा दावा गरेको नदेखिएकोले निर्णय दिन नपर्ने भन्ने र प्रतिवादी जिकिर दर्ताको रैकर जग्गा वादीले जिती पाएको फैसलाको किल्ला बाहेक भई देखिनाले भन्ने बुँदा लगाएकोबाट केही हदसम्म प्रतिवादीहरूको जग्गा किल्ला वाहिर पर्छ । वादीको किल्लाले पक्रदैन भनी इन्साफ गर्नु नपर्ने भनी प्रतिवादीको कुरालाई कायम गरेकोमा वादीको पुनरावेदन परेको देखिंदैन, मिलापत्र रुपमा नमाने पनि वास्तविक न्यायको निमित्त प्रमाण लाग्न सक्ने अघिल्लो पटकको नक्सा सर्जमिनमा भएको मिल्ने विषयको मिति ०१९।१०।७।१ को कागजको अवस्थाबाट समेत प्रतिवादीहरूको लिखत प्रमाणहरू कायम हुन आउँछ र जग्गा प्रतिवादीहरूको भन्ने देखिन्छ । तसर्थ उक्त उल्लिखित ३ सालको थितिको सदन लिखत प्रमाणको आधारमा प्रतिवादीहरूको लेखाई र भोग प्रमाण कायम हुन आएको यस्तो स्थितिमा उक्त उल्लिखित किसिमबाट किपट थितिमा लाग्न नसक्ने हुँदा लगाई आधारहीन कृष्णलाललाई लेखी दिएको १३ सालको बन्धकी लिखतको आधार तथा जग्गामा झगडा नपरेको र जग्गाको हक वेहक साँध किल्लाको निर्णय नगरेको ता.अ.को १५।९।८ को र अं.अ.को १६।७।१३ को फैसलाले किपट किल्ला कायम गरेको मानी सो फैसलाको किल्ला र हालको वादीमा बढी किल्ला पक्रेको समेत ध्यान आकर्षित नगरी जग्गा वादीको हक ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन दोहर्याउन आदेश बक्सनु पर्ने भनी समितिबाट शिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकूम बक्सेको छ भन्ने मौसूफका प्रमुख सचिवालय राजदरवारबाट लेखी आएको ०२६।७।२९।६ को हुकूम प्रमांगी ।
११. बक्स भई आएका हुकूम प्रमांगीबमोजिम गर्न निमित्त फुल बेञ्चको लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी नियमबमोजिम फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने ०२६।८।१।१ को तत्कालीन मा.प्रधान न्यायाधीशज्यूको आदेश ।
१२. वादी टेकबहादुर लिम्बु प्रतिवादी बुद्धिराज राई समेतको ताप्लेजुङ अमिनीबाट ०१५।९।८।३ मा र धनकुटा अपीलबाट ०१६।७।१३।६ मा फैसला भएको पास जालसाजी मुद्दाको छिनुवा मिसिल चाँडो खोजी पत्ता लगाई पठाई दिनु भनी दुवै थरको वतन समेत प्रष्ट खुलाई सम्बन्धित जिल्ला अदालतलाई लेखी पठाई सो आएपछि नियमबमोजिम पेश गर्नु भन्ने ०२८।१०।११।३ को डिभिजन बेञ्चको आदेश ।
१३. प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी शेरबहादुर लिम्बु १ जंगवीर चुवां क्षेत्री १ नरबहादुर चुवां क्षेत्री १ बुद्धिराज राई १ समेतको वा.सनमान राई र विपक्षी फिरादी टेकबहादुर लिम्बुको वारेस हर्कप्रसाद लिम्बु समेत रोहवरमा रही २८।११।६ गते पेश भई निवेदक तर्फबाट विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले र विपक्षी फिरादीका तर्फबाट विद्वान अधिवक्ता श्री कुलराजले गर्नु भएको वहस समेत सुनी आजको निर्णय सुनाउने तारेख मुकरर भएको यस मुद्दामा अघि झगडा पर्दा पनि मैले जितेको मेरो किपट जग्गा हो प्रतिवादीले वाली लुटे जग्गा किचोला गरे भनी फिरादीले दावा गरेकोमा साहूले बन्धकी थैली बुझाएका समयमा जग्गामा लगाई राखेको वाली ऐनले साहूकै हक हुने हुँदा वाली तर्फ उजूर खारेज हुने जग्गा तर्फ ताप्लेजुङ अमिनीबाट १५ सालमा भएका फैसलामा लेखिएका ४ किल्ला भित्रको वादीको किपट जग्गालाई हाम्रो रैकर भन्ने प्रतिवादीहरूको जिकिर पुग्दैन । जग्गा वादीको ठहर्छ भनी मेची अञ्चल अदालतले छिनेको इन्साफ सदर गरी डिभिजन बेञ्चबाट २५।२।१०।५ मा निर्णय भएकोमा सो इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी पक्षहरूको निवेदन पर्दा जग्गा वादीको ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन दोहर्याउन आदेश बक्सनु पर्ने भनी न्यायिक समितिले गरेको शिफारिसमा दोहर्याई दिनु भन्ने हु.प्र.बक्स भई आएकोले फिरादीले दावा लिएको जग्गा निजका हकको हो हैन यस कुराको निर्णय दिनु पर्ने देखियो ।
जग्गा झगडा नपरेको र जग्गाको हक बेहक साँध किल्ला कायम नगरेको फैसलाले किपट किल्ला कायम गरेको मानी फैसला गरेको मिलेन भनी उठाएका तर्कलाई वादीले आफ्ना किपट जग्गाको ४ किल्ला भनी उल्लेख गरेको किल्ला पनि ताप्लेजुङ अमिनीको १५ सालको फैसलामा लेखिएका ४ किल्ला भित्रको जग्गा फिरादीको हैन भन्ने प्रतिवादीहरूको जिकिर नभई त्यस मुद्दामा आफूले हारेमा कायमै रही श्रीफ हाल बढी किल्ला पक्रेको भन्ने सम्म जिकिर लिएकाले अघि मुद्दा पर्दा फिरीदीले आफ्नो किपट जग्गा भनी लेखाएका किल्ला भित्रको जग्गामा विवाद उठाएको नदेखिनाले पक्षले विवाद नउठाएको कुरामा त्यसमा लेखिएका किल्ला कायम मानिने हैन भन्ने आसय प्रकट गर्न अघि जग्गामा झगडा नपरेको जग्गाको हक बेहक र साँध किल्ला कायम नभएको भनी त्यो जग्गा वादीको कायम गर्न नमिल्ने भन्ने तर्क युक्ति संगत मान्न सकिएन डिभिजन बेञ्चको फैसलामा वादी प्रतिवादीको हालको र अघिको फैसलाको ४ किल्ला नक्सामा भिडाउँदा मिलेको भन्ने लेखेको देखिनाले प्रतिवादीको किल्ला मानेको देखिन्छ भन्ने उल्लेख गर्दे १९ र २२ सालको नक्सा भिडाउँदा अघि र पछिको नक्सा नमिलेको अघिल्ला पटकको नक्सा सर्जमिनमा भएको मिल्ने विषयको मिति १९।१०।७।५ का नक्सा अवस्थाबाट प्रतिवादीहरूको लिखत प्रमाण कायम हुन आउँछ भन्ने दोस्रो तर्कलाई सो १९ सालको नक्सामा वादीको सहिछाप नपरेको खुल्नु पर्ने सबै कुरा नखुलेको भनी अञ्चल अदालतबाट २२ सालमा अर्को नक्सा भएकाले कानूनको विधिनै नपुगेको १९ सालको नक्सालाई नै सबूदको मुख्य आधार मानी त्यसबाट प्रतिवादीको लिखत प्रमाण कायम गर्न फिरादी समेत २ थरले सहिछाप गरी खडा भएको २२ सालको नक्साले सो कुरा समर्थन नगर्ने हुँदा यस किसिमको अधुरो र कानूनको रीत नपुगेका कागजको आधारबाट निर्णयको निष्कर्षमा पुग्न मिल्दैन ।
१४. हालको वादीमा बढी किल्ला पक्रेको समेत ध्यान आकर्षित गरिएन भन्ने तर्कलाई अघिका फैसलामा उल्लेख भएका किल्ला कहाँ पर्दो रहेछ हाल वादीले पक्रेको जग्गा सो किल्ला भित्र बाहिर के रहेछ र प्रतिवादीले हाम्रो रैकर भनी इन्कार लिएको धोजे दर्ताको जग्गा कहाँ रहेछ भनी त्यसतर्फ यकिन गर्न २ थर रोहबरमा रही लेखाई देखाई सहिछाप गरेको गाउँको प्रधानपञ्च सदस्य समेत रोहवरमा रही खडा भएको २२ सालको नक्सा हेर्दा वादीले किपट भनी लेखाएको ताप्लेजुङ अमिनीको १५ सालको फैसलामा लेखिएको मेवा खोला दोभान गजर सिं लिम्बु समेतको साँध भन्नेसमेतका ४ किल्ला उल्लेख भएका ठाउँको नाउँ त्यो हैन सो नाउँ गरेको ठाउँ यो हो भनी प्रतिवादीले जिकिर लिन नसकी अघिका फैसलामा किल्ला उल्लेख भएको नाउँको ठाउँ सोही नै हो भन्ने कुरामा प्रतिवादी पनि सहमत भएको देखियो, सोही ४ किल्लाभित्रको जग्गालाई मेरो किपट बारी हो बुद्धिराजसँग झगडा पर्दा जितेको भनी वादीले र हाम्रो धोजे दर्ताको रैकर भनी प्रतिवादीहरूले जिकिर लिएकोमा अघि झगडा पर्दा फिरादीले जितेको जग्गा यो हैन यस बाहेक अन्यत्र यस ठाउँमा छ भनी प्रतिवादीले जिकिर लिन देखाउन नसकेको र प्रतिवादीले हारी १५ सालमा ताप्लेजुङ अमिनीबाट र सो इन्साफमा सदर भई धनकुटा अपीलबाट १६ सालमा छिनिएको फैसला बदर गराउन प्रतिवादीहरूले नसकेको न्याय प्रशासन विविध व्यवस्था ऐन, २०१८ को दफा १० को उपदफा (क) मा कुनै मुद्दा मामिलामा अदालतले गरेको निर्णय अन्तिम हुने छ र सो निर्णय त्यस मुद्दा मामिलाका दुवै पक्षलाई मान्न कर लाग्नेछ भन्ने उल्लेख भएकाले उक्त फैसलाको विपरित हाल गरेको जिकिरले सो फैसला बदर हुन नसक्ने वादीले १५ सालमा लेखाएका ४ किल्ला भित्रकै जग्गामा हाल झगडा परेको देखिए पनि अघि झगडा परी जिती पाएको जग्गा भनी वादी पक्षले र हाम्रो धोजे दर्ताको रैकर जग्गा हो भनी प्रतिवादीले जिकिर लिएको कुरा २ ठाउँमा लेखिएकाले सो मध्ये नक्सा नं.२ वादी टेकबहादुरको घर पाली खाली कटेरो भन्ने ठाउँको जग्गा फिरादीको किपट र सो बाहेक बरबोटे भन्ने जनिएको ठाउँको सिर डाँडा देखि पश्चिम मेवा खोलातर्फको धोजे दर्ता भनेको भन्ने उल्लेख भएको न.नं.३६ को जग्गा प्रतिवादीहरूको धोजे दर्ताको रैकर देखिन्छ भनी निवेदक प्रतिवादी पक्षका वकिलले छलफलमा उठाउनु भएको तर्कलाई सो बमोजिम हो भन्ने कुरा प्रतिवादीहरूले आफ्नो प्रत्युत्तरमा जिकिर लिन नसकेको बुद्धिराजको घर भनी जनिएको ठाउँ नजिकमा धोजे दर्ता मेरो हकको भनी बुद्धिराजले भनेको भन्ने पनि जनिएको सोही ठाउँ नजिकै पिपरा रानीबाट सट्टा पाएको बारी भनी वादीले भनेको भन्ने पनि जनिएको पिपरा रानीबाट वादीले सट्टा पाएको जग्गा धोजे दर्ताको रैकर मध्येको हो भन्ने कुरा अघिका फैसलाहरूबाट देखिनाले सो ठाउँमा भएको धोजे दर्ताको रैकर जग्गाका नाताले भिर डाँडादेखि पश्चिमको न.नं.३६ को जग्गा पनि धोजे दर्ताको कायम गर्न उपरोक्त कारणले मिलेन अघिका फैसलाको वादीको दावीमा जैसानको रैकर बारी रुदिलाको रुख कान्ला वारपार उत्तर भन्ने लेखिएकोमा दक्षिणमा पनि दावी लिएको देखिनाले बढी दावी गरेको र अरु फिदिम अदालतको मनासिव छ भनी मेची अञ्चल अदालतबाट ठहर भएको बढी दावी गरेको नठहर्ने भन्ने तर्फ फिरादीले पुनरावेदन नगरेको मेची अञ्चल अदालतको इन्साफ डिभिजन बेञ्चबाट सदर गरेको भएपछि त्यसदेखि बाहेक पनि यो ठाउँको जग्गा बढी चापी किल्ला लेखेको भन्ने जिकिर नहुनाले हालको दावीमा बढी किल्ला पक्रे तर्फ ध्यान आकर्षित भएन भन्ने तर्क निराधार देखिन्छ ।
१५. प्रतिवादीले धोजे दर्ताको रैकर जग्गा भनी जिकिर लिई त्यसलाई पुष्ट्याइँ गर्ने सबूदको लागि देखाएको लिखतहरूमा लेखाएका किल्लाहरू हाल झगडा पर्न आएको जग्गामा भिड्न नआउने कुरा नक्साबाट प्रष्टै छ । सो नभिड्नाको कारणमा पहाडका जग्गाको विना यन्त्रद्वार गरिएको नक्सा र सो नक्सामा यो कोणदेखि यो कोणसम्म यो दिशा र यो दिशासम्म यो कोण भन्ने कुनै चिन्हद्वार छुट्टिन नसक्ने छुट्याई लेखेको पनि देखिँदैन भन्ने तर्कलाई हातले कोरेको नक्सामा नक्साको दिशा नै फरक पर्ने गरी नक्सा तयार भयो होला र त्यस्ता नक्सालाई ठीक छ भनी मुद्दाका पक्षहरू समेतले मन्जूर गरी सहिछाप गरे होला भन्ने कुरा मान्न गाह्रो पर्छ अतः यो तर्कलाई पनि युक्तिसंगत मान्न सकिएन ।
१६. अतः माथि उल्लेख भएका प्रमाणको आधारबाट हाल झगडा पर्न आएको जग्गा १५ सालको ताप्लेजुङ अमिनीको र १६ सालको धनकुटा अपीलको फैसलाको आधार लिई वादीको कायम गरेको मेची अञ्चलको सदर गरी छिनेको २५।२।१०।५ को डिभिजन बेञ्चको इन्साफ मनासिवै ठहर्छ । मुद्दा दोहर्याएमा लाग्ने कोर्टफी रू.२।३७ निवेदकहरूले दाखिल गरी सकेकोले अरु केही गर्नु परेन । मिसील नियमबमोजिम बुझाई दिनु ।
प्र.न्या.रत्नबहादुर बिष्ट,
न्या.वासुदेव शर्मा
उपरोक्त रायमा हामीहरूको सहमती छ ।
इति सम्वत् २०२८ साल फाल्गुण १३ गते रोज ६ शुभम् ।