शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६१ - जालसाजी लिखत

भाग: १४ साल: २०२९ महिना: बैशाख अंक:

निर्णय नं. ६६१            ने.का.प. २०२९

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री झपटसिंह रावल

सम्वत् २०२६ सालको फौजदारी फुल बेञ्च नम्वर २६

फैसला भएको मिति : २०२८।३०।६ मा

निवेदक   : पूर्व ४ नम्वर थुंसाना मझुवा खेवाछा बस्ने जगन्नाथ उपाध्याय भट्टराई

विरुद्ध

विपक्षी    : पूर्व ४ नं.खेवाछा बस्ने कुलबहादुर थापा क्षेत्रीसमेत

मुद्दा : जालसाजी लिखत

(१)  अन्य कारणबाट लिखत सद्दे साँचो हुन आउँछ भने बारेको अंक नमिलेको कारणले सम्म वेप्रमाणिक लिखत भन्न नमिल्ने ।

          दुवै पक्षले पेश गरेको पात्रोबाट उक्त राजीनामामा लेखिएको मितिमा बारको अंक नमिलेको भन्ने जुन तर्क उठाइएको छ त्यसको हकमा बारको अंक लेख्दा भूलबाट फरक लेखिन गएको पनि हुन सक्छ । अन्य कारणबाट लिखत सद्दे साँचो हुन आउँछ भने एउटा बारको अंक नमिलेकोसम्म कारणले वेप्रमाणिक लिखत भन्न मिल्दैन ।

(प्र.नं. १९)

निवेदक प्रतिवादी तर्फबाट : अधिवक्ता सुधानाथ पन्त

विपक्षी वादी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल

उल्लिखित मुद्दा :

फैसला

          न्या.वासुदेव शर्मा

          १.   थुम साना मझुवा खेवाछा बस्ने वज्रसिंकी बुहारी हकमाया घलेनीले बाबु लोग्ने जीतबहादुरबाट रू.३७०। खाई लोग्ने मरी मेरो हक भएको भनी वज्रसिंघले दर्ता हाल मोही करे माटो मुरी ।५ मध्ये ।२।१० टिपचोर भन्ने खेत ८२।३।१६।१ मा करे घले र हर्कमायाको छोरा बलबहादुर घलेसमेत फडकेमा बसी राजीनामा गरिदिएको र रनसिं दर्ता माटो मुरी ।१।१०। उकास परी बाबा लोग्नेका पालादेखि भोगी आएको जग्गा हकै नपुग्ने बलबहादुरसँग रू.१०००। मा जगन्नाथले ०१७।९।४ मा जालसाज राजीनामा गराई ऐ.६ गते पास गराई लिएको बदर गरी हाम्रै सदर थामी पाउँ भन्ने ०१९।७।७।३ को बालकुमारी कुलबहादुर, प्रेमबहादुर थापासमेतको वादी ।

          २.   साना मझुवा खेवाछा देखि १० कोष फरकका हामीलाई कुनै कुरा थाहा छैन साहू आसामीले लेखिदेउ भनेकाले लेखी साक्षी बसिदिएका हौं । जालसाजी गरेको होइन भन्ने ०१९।९।३।३ को पूर्णप्रसाद उपाध्याय, जीतनारायण श्रेष्ठ, हे.कं.धर्मराज राईसमेतको प्रतिवादी ।

          ३.   वादीका बाबु, लोग्नेलाई घरको मुख्य व्यवहार गर्ने मेरा एकाघरकी आमा हर्कमायाले ८२।३।१६ मा राजीनामा गरिदिएको माटो मुरी ।५ मध्ये ।२।१० को जग्गा वेगल हो जगन्नाथलाई ०१७।९।४ मा रू.१०००। मा राजीनामा पास गरिदिएको जग्गा वेगल हो वादीको बाबुलाई राजीनामा गरिदिएको जग्गा जालसाजबाट जगन्नाथलाई राजीनामा गरिदिएको होइन भन्ने ०१९।१०।१६।३ को बलबहादुर घले दीपबहादुर तामाङसमेतको प्रतिवादी ।

          ४.   वादी दावीबमोजिम हर्कमायाले जीतबहादुरलाई गरिदिएको ८२।३।१६ गतेको राजीनामामा बलबहादुर साक्षी बसेको छैन । वादी दावीको जग्गा बडा बाबु करे घले र बाबु रणसिंहको अंश हुँदा करेको भाग छोरो अ‍ैमानले धर्मानन्दलाई बन्धकी दिएको रणसिंहको भाग ।२।१० का रण सिंह दर्ता १।१० को पोत जीतबहादुरले बुझी रणसिंहलाई रसिद दिएको छ । ८२ सालमा हर्कमायाबाट जग्गा राजीनामा गराई लिएको भए ८८।८९ सालको पोत रणसिंबाट र ९७ सालको पोत धर्मानन्दबाट जीतबहादुरले बुझ्नु नपर्नेमा पनि ८९ सालको जीतबहादुरको रसिदबाट त्यस समयसम्म रणसिं नै खडा देखिएको ८२ सालमा रणसिंहकी श्रीमती हर्कमायाबाट कसरी राजीनामा भयो हर्कमायाको राजीनामा गराई लिएको औ गैरी भन्ने वादी दावी झुट्टा हो भन्ने ०१९।११।१४।३ को बलबहादुर घलेको वारेस भई आफ्नो हकमा समेत जगन्नाथ उपाध्यायले दिएको प्रतिवादी ।

          ५.  बलबहादुरले दिपबहादुरलाई दिएको वारेसनामा उपर बलबहादुरले जालसाजीमा उजूर गरेको मुद्दामा सो वारेसनामा जालसाजी नठहरी आजै फैसला भएकोले मु.अ.वं.८९ नं.ले पछिल्लो जगन्नाथद्वारा बलबहादुरको हकमा गरेको प्रतिउत्तर स्वतः बदर हुन्छ भन्नेसमेत ०२०।६।२८।२ को इ.अ.भोजपुरको पर्चा ।

          ६.   ८२।३।१६ गते जीतबहादुरलाई रू.३७०। मा माटोमुरी ।५ मध्ये ।२।१० का जग्गाको हर्षमायाले गरी दिएको राजीनामाको कागज वादीहरूले कीर्ते खडा गरेका हुन् । सो कागजमा लागेको हर्कमायाको ल्याप्चे कीर्ते हो । अमृतमायाले हर्कमायालाई १९८८।३।२० गते बक्स गरिदिएको कागजमा कि.मालमा छ झिकी हर्कमायाले चन्द्रवीर समेतका नाममा करकाप गरे भनी दिएको फिरादमा निजको ल्याप्चे लागेको छ भिडाई पाउँ ठेक्काको कागज पनि कीर्ते हो भन्नेसमेत ०२१।१।२६।६ को जगन्नाथ उपाध्यायको बयान ।

          ७.  ८८।८९ सालको रसिद बाबु जीतबहादुरले रणसिंहलाई गरिदिएको होइन बाबु जीतबहादुरको हस्ताक्षर होइन जगन्नाथले कीर्ते खडा गरेको हो धर्मानन्दलाई दिएको रसिद कीर्ते बनावटी हो अक्षर फरक परेको छ । लिपी अंक मिल्दैन कीर्ते हो । सबै काम जगन्नाथले कीर्ते गरेको हो भन्नेसमेत ०२१।१।२६।६ मा वादीको वारेस टेकबहादुर थापाले गरेको बयान ।

          ८.   हर्कमायाले गरिदिएको ८२ सालको राजीनामा बलबहादुरले ठेक्का कबुलियत गरेको कागज र प्रतिवादीले प्रमाण दिएको फिरादमा लागेको ल्याप्चे जाँच हुन गएकोमा हस्ताक्षरको विशेषज्ञ छैन भन्ने र ल्याप्चे भिड्दैन भन्ने विशेषज्ञको लेखाई भएको अर्को हर्कमाया कुलंमाछ भन्ने वादी लेखाई भएको यो सालसम्म छ भन्ने नखुलेको र लिखत पनि अक्षर पर्ने गरी पोलिएको प्वाल परेको जानी जानी आगो पारी प्वाल पारेको भन्नुपर्ने मिति बन्दमा लेखिएको रोज १ पनि वादीले पेश गरेको पात्रोबाट रोज १ नदेखिने र रोज १ नै पर्छ भनी वादीले प्रमाण दिन नसकेको वादी दावीको ।१।१० को जग्गा आफ्ना नाउँमा दर्ता गराएको छ भनी वादीले लेख्न देखाउन नसकेको समेतबाट जालसाज कीर्ते गरी वादी दावीको जग्गा लिनुदिनु गरेको ठहर्दैन भन्नेसमेत ०२२।७।१३।६ को भोजपुर जिल्ला अदालतको फैसला ।

          ९.   उक्त इन्साफमा चित्त बुझेन भन्ने ०२२।८।१३।१ को कुलबहादुर प्रेमबहादुर थापासमेतको पुनरावेदन ।

          १०.  बलबहादुर आसामी जगन्नाथ साहू भई रू.२७००। मा उक्त माटो मुरी ।५ मध्ये ।२।१० को जग्गा ०१६।११।१६ गते लिनुदिनु गर्दा प्रेमबहादुरका खेत न्यावला खोल्सो नरबहादुर कृष्णबहादुरको साँध पश्चिम भन्ने लेखिएको प्रतिवादी जगन्नाथले पेश गरेको ०१६।११।१७।२ को पास राजीनामा नक्कलबाट प्रेमबहादुरको साँध भन्ने लेखिएको देखिएको कुलङ्ग तीनतामाकिकि र खेवाछाकि हर्कमाया वेगलै देखिन आएकोले वादीका लिखतको टिपचउर खेत मुरी ।२।१० माटाको प्रतिवादीको ०१७।९।४ गतेको लिखत बदर हुने र वादी दावीको खेत मुरी ।१।१० का हकमा जग्गा पजनीका ४ नं. बमोजिम गरी दर्तावाला रणसिंहको हक छुट्याई लिएको सबूद वादीले पेश गर्न नसकेको हुँदा जालसाजीबाट लिनुदिनु गरेको हो भन्ने वादी दावी पुग्न नसक्ने भन्नेसमेत ०२४।२।१२।६ को सगरमाथा अञ्चलअदालत भोजपुर बेञ्चको फैसला ।

          ११.  हदमुनि गरी छिनेको इन्साफमा चित्त बुझेन भन्ने जगन्नाथ उपाध्यायको निवेदनमा मिसिल झिकाई एकपटक इन्साफ जाँच गरिदिनु भन्ने हुकूम प्रमांगी ।

          १२.  कुलुङ तिनतामाकि र खेवाछाकि हर्कमाया एकै भए त्यस कुराको सबूद वादीले गुजार्न सक्नुपर्नेमा नसकेको वेगल हुन भनी वादीका साक्षीहरूले किटी बकी लेखिदिएबाट पनि कुलङ्ग तिनतामाको र खेवाछाकि हर्कमाया बेग्लाबेग्लै देखिन आएको बलबहादुर आसामी जगन्नाथ साहू भई रू.२०००। मा टिपचौरको माटो मुरी ।५ मध्ये ।२।१० को जग्गा ०१६।११।१६ गते लिनुदिनु गर्दा प्रेमबहादुरको खेतले छिनेको र चावला खोल्सा, नरबहादुर, कृष्णबहादुरको साँध पश्चिम भन्ने हद लेखिएको यिनै निवेदक प्रतिवादीले पेश गरेको ०१६।११।१७।२ मा पास भएको राजीनामा नक्कलबाट देखिएबाट पनि वादी दावीको जग्गा त्यसैको पूर्वपट्टि रहेछ भन्ने निर्विवाद सिद्ध हुन आएको कुलंग तीनतामाकि हर्कमायाको ल्याप्चे खेवाछाकि हर्कमाया भनेको ल्याप्चेसँग नमिल्ने स्वाभाविकै भएको खेवाछाकि हर्कमायाको ल्याप्चे ८२ सालको राजीनामासँग भिडाउन निज हर्कमाया मरिसकेको भन्ने मिसिल प्रमाणबाट देखिन आए पनि हाल निवेदकलाई राजीनामा गरिदिने हर्कमायाको छोरा वलबहादुरको ल्याप्चे र ८२ सालको राजीनामा परेको ल्याप्चे मिल्छ भनी रेखा विशेषज्ञले लेखिदिएको समेत प्रमाण परिवन्धबाट ०१७।९।४ को लिखतमध्येको ।२।१० बदर गर्ने र उकास भनेको खेत मुरी ।१।१० मा वादीको हक नपुग्ने ठहराएको सगरमाथा अञ्चल भोजपुर बेञ्चको इन्साफ मनासिव छ भन्ने ०२५।२।९।४ को डिभिजन बेञ्चको फैसला ।

          १३.  उक्त इन्साफमा चित्त बुझेन दोहर्‍याइपाउँ भनी जगन्नाथ भट्टराईको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा मुख्य खेवाछाकि हर्कमाया र तीनतामाकी हर्कमाया एकै वा वेगल के हो ? ८२।३।१६।१ को राजीनामा सम्बन्धमा विचार गर्दा प्रतिवादी जगन्नाथको ०१६।११।१६ को राजीनामामा प्रेमबहादुरको खेतले छिनेको पश्चिम भन्ने लेखेकोबाट र बलबहादुरले दिपबहादुर वारेस भई दिएको प्रतिवादी जालसाजी भनी उजूर गरेकामा जालसाजी नठहरेको सो राजीनामामा साक्षी लेखिएको छोरा वलबहादुरको सहिछाप भिड्न आएको र सोही जग्गाको १३ सालको वलबहादुरका कबुलियत वादीहरूले प्रमाण दिएको देखिन आएकोबाट वादीहरूको राजीनामा व्यवहार सद्दे साँचो भन्नुपर्ने हो कि भन्नेजस्तो देखिन आउँछ तर मूल कुरा ८२ सालको राजीनामा नै कीर्ते हो भने सो प्र.जगन्नाथको १६ सालको राजीनामामा लेखेको प्रेमबहादुरको खेतले छिनेको पश्चिम भन्ने साँध लेखाईको वाक्यांशको भरले सद्दे भन्न नहुने उसमाथि पहाडी क्षेत्रमा जग्गाको किल्ला भनेको विना वैज्ञानिक यन्त्र वेगर अंदाजीबाट लेखिने प्रचलन हुँदा त्यस किसिम लेखिएको साँध सीमाना किल्ला लेखाइका भरमा राजीनामा कागज सद्दे हुन नसक्ने र प्रतिवादी जगन्नाथले टिपचार माटो मुरी ५ मध्ये पूर्वपट्टिको मुरी २।१० प्रेमबहादुरले हदमुनीको तमसुकबाट बन्धकी खाएकोले प्रेमबहादुरको खेत भन्ने लेखिएको हो । प्रेमबहादुरको थैली बलबहादुरले तिरी राजीनामा गरिदिएको भन्ने लेखेको हुँदा बन्धकी खाँदाको बखत किल्ला लेखिँदा बन्धकी शब्द नलेखी प्रेमबहादुरको खेत भन्ने लेखिन जान पनि सक्ने र विशेष गरेर व्यवहारमा बन्धकी थैली नतिरेसम्म बन्धकी खानेको जग्गा भन्ने पनि प्रचलन हुनाले त्यस किसिमको शब्द प्रयोग गर्न पनि सक्ने त्यस्तो भरमा कीर्ते कागज हो भन्ने सद्दे हुन नसक्ने बलबहादुरको प्रतिउत्तरपत्र दीपबहादुर वारेस भई लगाएकोमा सो प्रतिउत्तर पत्रलाई बलबहादुरले जालसाजीमा उजूर गर्दा जालसाजी नठहरेकोबाट सद्दे हुने हो कि भन्नालाई पनि प्रथम सो प्रतिवादी व्यहोरामा प्र.जगन्नाथलाई राजीनामा गरिदिएको जग्गा भिन्दै हो भन्ने लेखेकोबाट प्रतिवादी जगन्नाथको १७ सालको राजीनामालाई बलबहादुरको व्यहोराबाट समर्थित हुन आएको देखिन्छ । अर्को कुरा जगन्नाथले बलबहादुरको समेत वारेस भई दिएको प्रतिवादी उपर जालसाजी भन्ने वादीहरू समेत कसैको उजूरै परेको देखिँदैन सो प्रतिवादी व्यहोरामा प्रतिवादी जगन्नाथलाई राजीनामा गरिदिएको कुरालाई जोड दिएको देखिन्छ । एकातिर त्यस्तो देखिन्छ अर्कोतिर वारेसद्वारा एक मुद्दामा बलबहादुरको २ प्रतिवादी परेको देखिएपछि कुन प्रतिवादी ठीक हो भनी निर्णय गर्नु अत्यावश्यक थियो र त्यस स्थितिमा जब स्वयं बलबहादुर आफै उपस्थित भई कागज गर्छ भने त्यसबखत निजले जुन कुरा कायम गर्‍यो सो कुरा कायम मानी कारवाई गर्नुपर्ने थियो । जालसाजीमा उजूर गर्नु भनी सुनाउने अवस्था थिएन । यस हिसाबबाट हेर्दा बलबहादुरले जगन्नाथतर्फकै राजीनामालाई मानेको देखिन्छ । तसर्थ बलबहादुरले दीपबहादुर वारेस भई दिएको प्रतिवादीलाई जालसाजी भनी दिएको उजूरी झुट्टा ठहरे पनि त्यस्तो प्रतिवादीको आधारमा कीर्ते हो भने सद्दे हुन नसक्ने सो ८२ सालको राजीनामामा बलबहादुर साक्षी बसेको भन्ने हकमा त्यस कुरालाई प्रतिवादी जगन्नाथले बलबहादुरलाई झुक्याई सहिछाप गराएको होला भन्ने लेखेको र ६८ सालको बलबहादुरको जन्म हुँदा ८२ सालमा बलबहादुर १४ वर्षको नावालक देखिन्छ भन्ने लेखेको निज बलबहादुरले अदालतमा उपस्थित भई ०२० साल वैशाख २० गते बयान गर्दा ४८ वर्षको उमेर लेखेको त्यसबाट ८२ सालमा १० बर्ष देखिने उक्त उल्लिखित दुवै कुरामध्ये जुनकुरामा नै पनि निज बलबहादुर ८२ सालमा नावालखै देखिएकोले ऐनले मान्य नहुने त्यो अवस्थाबाट प्र.जगन्नाथका लेखाइबमोजिम बलबहादुरलाई झुक्याई सहिछाप गराएकोमा बलबहादुर वादीहरूसँग मिली हर्कमायाको नामको राजीनामा बनाई हर्कमायाको नाममा अर्कै कुनै मानिसको सहिछाप गराई सो कागजमा बलबहादुर साक्षी बसी लेखी सहिछाप गरेको भन्ने देखिन आउने सो राजीनामा नकरा नै देखिने, यदि ८२ सालमा राजीनामा लिएको साँचो भए सो जग्गा जिम्मावाल जस्तो भएको जीतबहादुरले आफ्नो नाममा दाखिल खारेज दर्ता नामसारी गर्न सक्नुपथ्र्यो अथवा यही जग्गाको मात्र मालमा तिरो बुझाई लालटिकट लिन सक्नुपथ्र्यो नसकेको जुन गोश्वारा मठ रसिद छ भनी वादीले लेखेको छ यस्तो अवस्थाको जिम्मावालसँगको मुद्दामा जिम्मावालले बुझाउने मुठ रसिदको प्रमाण लाग्न नसक्ने ०१३ साल वैशाख ११ गतेको बलबहादुरको कबुलियत प्रमाण छ भनेको हकमा त्यस्तो कबुलियत निजहरू मिले जुनबखत पनि तयार हुन सक्ने र उसमाथि ल्याप्चे सहिछाप प्रष्ट नबुझिने देखिएको हुँदा वादीको हकमा ऐनले प्रमाण नआउने प्रतिवादीतर्फकै भोग रहेछ भन्ने मुख सावित हुन आउने बलबहादुरको बाबु रनसिंह ८० सालभन्दा अघि नै विदेशतर्फ गई मरेको भन्ने र विदेश गई गएर उकास भएको भनी जुन टिपचौर मुरी १।१० को कित्तामा दावी गरेको हो सो कुरा सुरुदेखि सर्वोच्च अदालत समेतले रनसिंहकै हकभोग कायम गरेको त्यसउपर समितिमा वादीहरूको निवेदन पर्न नआएको त्यसबाट पनि रनसिंह ८० सालभन्दा अघि विदेश गएको र मरेको भन्ने वादीको कायम हुन नआई प्रतिवादी जगन्नाथको लेखाई बमोजिम नेपाल सरहद घरमा परिवार सहित रहे बसेको सिद्द हुन आउने । प्रतिवादी जगन्नाथले वादीको लोग्ने बाबु जीतबहादुरले गरी दिएको ८८ सालको रसिदलाई मानेको ८९ सालको रसिदलाई कीर्ते भनेतापनि सो ८८ सालको रसिदको आकार प्रकार हस्ताक्षर दुरुस्त मिल्न भिड्न आएको त्यसबाट ८९ सालसम्म रनसिंह जीवितै देखिदा ८२ सालमा लोग्ने छंँदै स्वास्नी हर्षमायाले राजीनामा गरी दिने अवस्था नदेखिदा त्यसबाट पनि सत्य व्यवहार भन्ने नदेखिने सो ८२ सालको राजीनामा वादी बलभद्र प्रतिवादी बालकुमारी भएको जग्गा वाली मुद्दामा ०२।७।२७।२ मा यही अदालतमा पेश भई सद्दे ठहरी डिसमिस भएकोले सद्दे प्रमाणीत हुन्छ भन्ने वादीहरूको अर्को आधारको हकमा सो राजीनामाको पिठमा अड्डाको छाप नभएको अछापे भन्ने जानिएको त्यस्तो जसले पनि जुनसुकै बखत पनि प्रमाणको निमित्त बनाउन लेख्न सक्ने कुरा भएको यदि त्यो कुरा साँचो भए व्यहोरा खुलेको वादी, प्रतिवादी वा फैसलाको नक्कल प्रमाणमा ल्याउन सक्नु पर्ने नसकेकोले त्यस्ता अप्रमाणिक कुराको आधारमा ०२ सालमै अदालतमा दाखिल भएको प्रमाण लाग्न सक्ने कुरा हो भन्ने मान्न नसकिने । जुन कागजको रुप आकार प्रकार अस्वाभाविक र ठाउँ ठाउँमा पोलिएको भनिएको छ त्यो पनि राम्रो देखिँदैन उक्त उल्लिखित प्रमाणका अतिरिक्त प्रत्यक्ष प्रमाण यो छ जुन कुरा उक्त उल्लिखित प्रतिवादी जगन्नाथले हर्कमाया आमा अमृताको बकस हकको नाताले माइती तितामामा बसेको बखत चन्द्रबीरको नाउँमा नालिस दिएको फिरादपत्रको नक्कलमा लागेको ल्याप्चेलाई हर्कमायाको नामको ल्याप्चे हो भन्ने कुरा वादीहरू सर्वोच्च अदालत लगायतले मानेको देखियो, फरक यति नै छ तितामाकी हर्कमाया अर्कै व्यक्ति र खेवाछाकी हर्कमाया अर्को व्यक्ति हुँदा सहिछाप नमिल्नु स्वाभाविक हो भन्ने वादीहरू र सर्वोच्च अदालतको भनाई र यौटै व्यक्ति हुँ भन्ने प्रतिवादी जगन्नाथको लेखाई छ । यस कुरामा एउटै हुन भन्नेले अरु प्रमाण गुजारिरहन पर्ने अवस्था नपरी निजको हकमा ल्याप्चे भिडाउने कुरा बाहेक अरु प्रमाण गुजार्नु पर्ने अवस्था नभएको त्यस कुरामा प्रमाण पुर्‍याउन पर्ने दायित्व र बाध्यता वादीहरूलाई नै भएको तितामाकी हर्कमाया बेगल भए निजको लोग्ने फलाना हो माइती यहाँ हो घर फलाना ठाउँमा छ आमा बाबु भैयाद यो हो सासू ससुरा यी हुन छोरा छोरी सन्तान थिए भन्ने यी हुन् नभए यति कारणले थिएन खेवाछाकी हर्कमायाको माइती यहाँ हो । आमा बाबु फलाना हुन् भनी पृथक पृथक सबै कुरा खुलाई देखाउन सक्नुपर्ने । वादीहरू र वादीका साक्षीहरू समेतले त्यस किसिम कुनै कुरा लेख्न नसकेको यस्तो स्थितिमा सामान्य किसिमबाट तितामाकि हर्कमाया खेवाछाकी हर्कमाया बेगल हुन् भनी वादी र वादीका साक्षी तथा अञ्चल अदालत र सर्वोच्चको लेखाई उचित देखिएन । तसर्थ खेवाछाकी हर्कमाया र तितामाकी हर्कमाया एउटै व्यक्ति बलबहादुरको आमा देखिन आउँछ । तितामा वतन लेखी नालिस गरेको उक्त उल्लिखित फिरादपत्र नक्कलमा लागेको ल्याप्चे सहिछाप र ८२।३।१६।१ को राजीनामाको हर्षमायाको ल्याप्चे सहिछाप रेखा विशेषज्ञका लेखाईअनुसार मिल्न भिड्न नआएको कीर्ते राजीनामा देखिँदा त्यस्तो कीर्ते राजीनामालाई तितामाकि हर्कमाया बेगल हुँदा ल्याप्चे सहिछाप नमिल्नु स्वभाविकै हो भनी ८२।३।१६।१ को राजिनामा सद्दे ठहराई प्रतिवादी जगन्नाथले बलबहादुरबाट लिएको रू.१०००। को मिति १७।९।४ को समुचा साँचो व्यवहारको राजीनामालाई आंशिक रुपमा बदर वेकायम ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन दोहर्‍याउन आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकूम प्रमांगी बक्सेको भन्ने मौसुफका प्रमुख सचिवालय राजदरवारबाट लेखिआएको ०२६।५।३।३ को हुकूमको प्रमांगी ।

          १४.  बक्स भई आएका हुकूम प्रमांगीबमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्न र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयमा जनरल विभाग मार्फत् पठाई दिनु भन्ने तत्कालिन माननीय प्रधान न्यायाधीशज्यूको ०२६।५।४।४ को आदेश ।

          १५.  वादीको बाबु लोग्नेलाई आमा हर्कमायाले ८२।३।१६ मा र मैले जगन्नाथलाई १७।९।४ मा गरिदिएको राजीनामाको जग्गै बेगल हो भन्ने प्रतिवादी बलबहादुरको लेखाई हुनाले जग्गा एकै बेगल छुट्टाउन नक्सा गर्नुपर्ने देखिन आएको हुँदा वादीबाट पेश भएको ८२।३।१६ र प्रतिवादीबाट पेश भएको ०१६।११।१६।१, ०१७।९।४।१ को राजीनामामा लेखिएको किल्ला र जग्गा बेगल कुन कुन हो सो प्रष्ट देखिने गरी २ थर झगडीया र वडा पञ्चायत समेतको कानूनले राख्नुपर्ने मानिस राखी अ.बं.१७१ नं.का रीतपुर्‍याई चाँडो नक्सा गराई पठाई दिनु भनी उक्त राजीनामाको तारेख तोकी भोजपुर जिल्ला अदालतललाई लेखी पठाई सो भई आएपछि नियमबमोजिम पेश गर्नु भन्ने ०२७।१२।३।३ को फुल बेञ्चको आदेश ।

          १६.  यसमा तारेखमा रहेका दुवै पक्षका वारेस रोहवरमा रही ०२८।९।१६।६ मा पेश भई निवेदक प्रतिवादी जगन्नाथतर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा प्रतिवादी बलबहादुरले जगन्नाथलाई ०१७।९।४।१ मा गरिदिएको राजीनामा सदर बदर के हुने हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

          १७.  सर्वप्रथम वादीहरूबाट पेश हुन आएको हर्षमायाले गरिदिएको भन्ने ८२।३।१६।१ को राजीनामाको सम्बन्धमा हेर्दा उक्त राजीनामा आफूसमेत साक्षी बसी गरिदिएको भनी प्रतिवादी बलबहादुरले स्वीकारै गरेको र उक्त राजीनामामा बलबहादुरका नाममा लागेको र यसै मुद्दामा ०२०।१।२० को बयानमा लागेको बलबहादुरको ल्याप्चे सहिछाप मिल्छ मिल्दैन भनी विशेषज्ञलाई जँचाएकोमा मिल्छ भनी विशेषज्ञले लेखी दिएकोसमेत पाइन्छ । ८२ सालमा बलबहादुरको उमेर नपुगेको नावालक देखिएकोले त्यस्तो अवस्थामा निजको सही गराएको मान्य नहुने भन्ने तर्क उठाएको हकमा नावालकलाई साक्षी राखी सही गराएको मान्य हुने नहुने एक कुरा र साक्षी बसी सहिछाप गरेको हो होइन भन्ने अर्कै कुरा हो । बलबहादुरलाई झुक्याई सही गराएको भन्ने प्रतिवादी जगन्नाथले बयान गरेकोसमेत भए पनि सहिछाप गर्ने बलबहादुरले आफूलाई झुक्याई सही गराएका हुन भन्न कानूनबमोजिम उजूर गर्नसमेत नसकेको कुरामा निज बलबहादुरलाई झुक्याई सहिछाप गराएको भन्न मिल्ने देखिँदैन ।

          १८.  सो राजीनामामा लागेको हर्कमायाको सहिछाप कीर्ते हो सहिछाप भिडाई पाउँ भनी हर्कमायाले चन्द्रवीरसमेतका नाउँमा दिएको ९१ साल कार्तिकको फिरादपत्र नक्कल प्रतिवादी जगन्नाथले पेश गरेको र उक्त राजीनामा फिरादपत्रमा लागेको कारणीको ल्याप्चे सहिछाप मिल्छ मिल्दैन भनी विशेषज्ञलाई जँचाएकोमा मिल्दैन भनी विशेषज्ञले लेखिदिएको समेतबाट कसो हो भन्ने शंका उठेको छ तर उक्त राजीनामामा खेवाछाको वतन र फिरादपत्र नक्कलमा कुलुङीनतामाको वतन लेखिएको हर्कमाया मानिसै वेगल हो भन्ने वादीहरूको भनाई भएकोमा उक्त दुवै वतनकी हर्कमाया एउटै मानिस हो भन्ने कुराको तथ्य सबूद प्रतिवादीले गुजार्न सकेको पाईँदैन बुझिएका वादीका साक्षीहरूले खेवाछाकी हर्कमाया र तीनतामाकी हर्कमाया मानिस एउटै होइन छुट्टै हो भनी वकी दिएका छन् मुख्य वतनै फरक फरक भएको र उक्त ८२।३।१६ को राजीनामामा बर्ष ५२ की हर्कमाया भन्ने र ९१ साल कार्तिकको फिरादपत्रमा बर्ष ५० की हर्कमाया भन्ने लेखिएको भई उमेर पनि मिल्न नआएकोलेसमेत हुनाले एकै मानिस हो भन्न नमिल्ने यस स्थितिमा उक्त २ कागजको सहिछाप परस्पर नमिल्नु स्वभाविक छ ।

          १९.  दुवै पक्षले पेश गरेको पात्रोबाट उक्त राजीनामामा लेखिएको मितिमा बारको अंक नमिलेको भन्ने जुन तर्क उठाइएको छ त्यसको हकमा बारको अंक लेख्दा भूलबाट फरक लेखिन गएको पनि हुन सक्छ अन्य कारणबाट लिखत सद्दे साँचो हुन आउँछ भने एउटा बारको अंक नमिलेकोसम्म कारणले वेप्रमाणिक लिखत भन्न मिल्दैन ।

          २०.  हर्कमायाको लोग्ने रनसिंह ८९ सालसम्म जीवितै रहेको देखिनाले ८२ सालमा लोग्ने छँदै स्वास्नी हर्कमायाले राजीनामा गरी दिने अवस्था नभएको भन्ने तर्कको हकमा लोग्ने छँदै स्वास्नीले जग्गा बिक्री गरे बदर गरिपाउँ भन्ने उजूर परेको मुद्दा यो नभएको र राजीनामा दिने हर्कमायाको जग्गामा हकै नपुग्ने भन्न पनि सकेको छैन । उक्त राजीनामाको नक्कल वादी बलभद्र प्रतिवादी बलकुमारीको जग्गा बाली मुद्दामा ०२।७।२७।२ मा पेश भएको भन्ने वादी पक्षको भनाई भएको र उक्त राजीनामा सक्कल हेर्दा त्यसको पिठमा पूर्व ४ नं.भो.अ.बाट २००२।७।२७।२ मा फा.न.भन्ने लेखी अछापे भन्ने जनाएको समेत देखिन्छ पीठमा अड्डाको छाप नलागेको अछापे भन्ने जनिएको त्यस्तो जसले जुनसुकै बखत पनि प्रमाणको निमित्त बनाउन लेख्न सक्ने भन्ने पनि तर्क उठाइएको पाइयो खास गरी अड्डाको छाप नभएकोमा अछापे जनिनु स्वभाविक हुन्छ उक्त राजीनामाको नक्कल उपरोक्त मुद्दामा पेश भएकै होइन सक्कलको पिठमा आफैले लेखी कीर्ते गरेको हो भन्न प्रतिवादी जगन्नाथले नसकेको ८२।३।१६।१ को राजीनामा लिखत कीर्ते हो भन्ने कुराको पक्का सबूद पुर्‍याउन प्रतिवादी जगन्नाथले नसकेको समेत हुँदा उक्त राजीनामा हर्कमायाले गरिदिएको सद्दे नै मान्नुपर्ने हुन आएको छ ।

          २१.  आमा हर्कमायाले ८२।३।१६ मा राजीनामा गरिदिएकी खेत मुरी ।५ मध्ये ।२।१० र मैले जगन्नाथलाई ०१७।९।४ मा राजीनामा गरिदिएको खेत मुरी ।२।१० जग्गै वेगल हो भन्ने बलबहादुरको प्रतिवादी जिकिर भएको हकमा सो दुवै राजीनामामा वज्रसिंह घले दर्ता टिपचउर खेत मुरी ।५ मध्ये ।२।१० भन्ने लेखिएको छ । जग्गा वेगल भए दर्ता पनि वेगल हुनुपर्ने वेगल दर्ता छ भन्ने प्रमाण दिन निज प्रतिवादी वलबहादुरले नसकेको र ०१७।१२।३।३ को फुल बेञ्चका आदेशबमोजिम भई आएको नक्साबाट जग्गा वेगल देखिन पनि नआएकोले प्रतिवादी बलबहादुरको उपरोक्त जिकिर साँचो मान्न मिलेन ।

          २२.  मुख्यतः वज्रसिंह दर्ता खेत मुरी ।५ मध्ये ।२।१० प्रतिवादी जगन्नाथले बलबहादुरबाट ०१६।११।१७।२ मा राजीनामा रजिष्ट्रेशन पास गराई लिएको छ । निज बज्रसिंह दर्ताको खेत मुरी ।५ मध्ये ।२।१० आसामीकै हकमा बाँकी रहेको भए उक्त ०१६।११।१७।२ मा पास ०१६।११।१६।१ को राजीनामामा कुनै एक किल्ला आसामीकै हकमा बाँकी रहेको जग्गाको लेखिनुपर्ने थियो । तर उक्त राजीनामामा त्यस्तो किल्ला लेखिएको छैन बरु प्रेमबहादुर थापाको खेतले छिनेको र न्यवाखोला सो नरबहादुर कृष्णबहादुर थापाको बारी पश्चिम भन्ने किल्ला लेखी पूर्वतर्फ वादी प्रेमबहादुरको जग्गा भएको देखाएको छ । यसबाट उक्त वज्रसिंह दर्ताको खेत मुरी ।५ मध्ये ।२।१० हर्कमायाले जीतबहादुरलाई ८२।३।१६ मा राजीनामा गरी दिइसकेको भई बाँकी ।२।१०। बलबहादुरले जगन्नाथलाई ०१६।११।१६।१ मा राजीनामा गरिदिँदा उक्त दर्तामध्येको सोबाहेक अरु जग्गा बलबहादुरको हकमा बाँकी नरहेकोले किल्लामा नलेखिएको पुष्टि हुन्छ । बलबहादुरको हकमा बाँकी नै नरहेको खेत मुरी ।२।१० फेरि प्रतिवादी बलबहादुरबाट जगन्नाथले ०१७।९।६।३ मा रजिष्ट्रेशन पास गरिलिएको ०१७।९।४।१ को राजीनामा लिखत सद्दे व्यवहारको देखिन आएन ।

          २३.  तसर्थ उपरोक्त उल्लिखित कारणहरू समेतबाट झगडा परेको उपरोक्त खेत मुरी ।२।१० मेरो हक कायम हुनुपर्ने भन्नेसमेत प्रतिवादी जगन्नाथको जिकिर पुग्न सक्दैन । उक्त खेत मुरी ।२।१० सम्मको हकमा प्रतिवादी बलबहादुरबाट जगन्नाथले ०१७।९।४।१ मा गराई लिएको राजीनामामा बदर गर्नेसमेत गरी ०२५।२।९।४ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ । निवेदक प्रतिवादी जगन्नाथ पाध्या के मुद्दा दोहर्‍याएमा जग्गा हकबेहकतर्फ कोर्टफी रहेकोले जालसाजीतर्फ डिभिजन बेञ्चले सजाय गरेको नहुँदा सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चको फैसलाले गर्ने गरेको जरिवाना रू.८०।७५ को अ.बं.२०४ नं.सयकडा १० ले रू.८।८ जरिवाना हुन्छ । वारेस हुँदा असुल गर्न कानूनबमोजिम लगत दिई नियमबमोजिम मिसिल बुझाइदिनु ।

 

प्र.न्या. रत्नबहादुर बिष्ट तथा

न्या. झपटसिंह रावल

 

उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।

 

इति सम्वत् २०२८ साल पुष ३० रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु