निर्णय नं. ७५६ - जालसाज

निर्णय नं. ७५६ ने.का.प. २०३०
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री झपटसिंह रावल
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२८ सालको फौ.फु.नं. ४२
फैसला भएको मिति : २०३०।४।१६।३
निवेदक : का.जि.नक्साल भगवती बहाल डेरा गरी बस्ने पराक्रमशमशेर ज.ब.रा.
विरूद्ध
विपक्षी : का.जि.त्यौड टोल डेरा गरी बस्ने कुन्जबहादुर राणासमेत
मुद्दा : जालसाज
(१) म्याद तामेल जालसाज गरेमा सजाय गरिपाउँ भन्ने मुख्य दावी भएको फौज्दारी मुद्दाबाट वादी दावी नै नभएको म्याद तामेली वेरीत भन्ने देवानी विषयको कुरामा ठहरगर्न नमिल्ने ।
यसमा दावी बमोजिम फोहरा दरवारको ढोकामा टाँसिदै नटाँसेको म्यादलाई फोहरा दरवारको ढोकामा टाँसेको भनी म्याद तामेली जालसाजी गरे नगरेको के रहेछ भन्ने कुराको निर्णयको लागि हेर्दा प्रतिवादी कुन्जबहादुरको स्वार्थसिद्धीको लागि म्याद तामेल गर्ने अर्दली झमकबहादुर, साक्षी बस्ने नं.पं.स.कृष्णलाल केदारबहादुर चिनीयाकाजिसमेतका अरू प्रतिवादीसमेत मिली जालसाज गर्नपर्ने खास कारण वादीमा लेख्न खुलाउन नसकेको र दावी बमोजिम म्याद तामेली जालसाज गरेकै हो भन्ने कुराको प्रतितलायक सबूद प्रमाण दिन गुजार्न पनि नसकेकोले ठोस सबूद प्रमाणसमेतको अभावमा जालसाज गरेको भन्न ठहराउन मिल्ने देखिएन, जालसाजी भन्ने वादी दावी पुग्न नसक्ने ठहराएतर्फ बागमती अञ्चल अदालतको सदर गरी ०२८।१।५।१ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिवै छ, म्याद तामेल जालसाज गरेमा सजाय गरिपाउँ भन्ने वादीको मुख्य दावी भएको यो फौज्दारी मुद्दाबाट वादी दावी नै नभएको म्याद तामेली वेरीत भन्ने देवानी विषयको कुरामा ठहर गर्न नमिल्ने हुँदा म्याद तामेली रीत बेरीत र अर्को म्याद दिनुपर्ने नपर्नेसमेत विचार गरिरहनु नपर्नेमा उक्त म्याद अ.बं.११० नं. को रीत पुगी तामेल नभएकोले बदर हुने र अ.बं.१७४ नं.खारेज भइसकेको हुँदा अर्को म्याद दिन नपर्नेसमेत भनी बागमती अञ्चल अदालतले ठहर गरेको र ०२८।१।५।१ को डिभिजन बेञ्चले बागमती अञ्चल अदालतको उक्त ठहर कायम राखेको मिलेको देखिएन । म्याद तामेली रीत वेरीतको कुरा यस मुद्दाबाट ठहर गर्न नमिल्ने भएकोले पहिलेको म्याद तामेली वेरीत हुँदा बदर हुने ठहरेको भन्ने कुरालाई लिई बागमती अञ्चल अदालतको ०२६।५।१।५ को फैसलामा आजका मितिले म्यादभित्र का.जि.अ.मा मुद्दा सकार गर्न इच्छा भएमा जानु भनी वादीको वारेसलाई सुनाई दिने भन्ने बढी शब्द उल्लेख गरेको कायमै राख्न नमिल्ने हुँदा ०२८।१।५।१ को डिभिजन बेञ्चले सो बढी शब्द कायम राख्न नमिल्ने ठहराएको मनासिवै छ, डिभिजन बेञ्चको फैसलामा केही परिवर्तनसम्म भएकोले मुद्दा दोहर्याएमा निवेदक वादीलाई अरू सजाय गर्नु परेन, नियमबमोजिम मिसिल बुझाई दिनू ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : अधिवक्ता गंगाप्रसाद उप्रेती
विपक्षी तर्फबाट :
उल्लिखित मुद्दा :
फैसला
न्या. विश्वनाथ उपाध्याय
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : विपक्षी कुन्जबहादुरले बुबा गोविन्दशमशेरसमेत उपर अंश मुद्दा का.जि.अ.मा चलाएकोमा बुबाको २३।९।११ गते देहावसान भएको कुरा अदालतलाई जानकारी भई उक्त अदालतबाट हकदारको नाउँमा जारी भएको ७ दिने म्याद विपक्षी कुन्जबहादुरले आफ्नो स्वार्थसिद्धीको निमित्त कोशिस पुर्याई सरकारी कर्मचरी झमकबहादुरसमेतका अरू विपक्षीहरूलाई मिलाई हात लिई बुबा गोविन्दशमशेरको नजिकको हकदार छोरा मसमेतले थाहा नपाउने गरी फोहरा दरवारको ढोकामा टाँसेको भनी टाँस्दै नटाँसेको म्यादलाई टाँसेको बहाना मिलाई बीच बीचैमा म्याद तामेल गरेको व्यहोरा लेखी लेखाई ०२४।२।२२।१ को मिति हाली सहिछाप गराई का.जि.अ.मा दाखिल गरेको रहेछ । ०२४।४।१७ गते मात्र प्रमाणका मानिसबाट थाहा हुन आयो जालसाज गरी म्याद गुजारी दिएकोमा ऐन बमोजिम सजाय गरी उक्त जालसाजी तामेली बदर गरी अर्को म्याद तामेल गराई पाउँ भन्ने वादी ।
३. अदालतबाट जारी भएको म्यादतामेल गर्ने सम्बन्धमा मलाई कुनै वास्तारहने कुरा होइन अदालत बाट कहिले कसलाई तामेल गर्न जिम्मा दिइयो ती खटिई जानेले कस्तो किसिमबाट तामेल गरी अदालतमा दाखिल गरे मलाई थाहा हुन सक्ने कुरा होइन त्यसरी मैले तामेल गराउनाको कारण पनि छैन वादीले झुठ्ठा नालेस दिएको हो भन्नेसमेत कुन्जबहादुरको प्रतिवादी ।
४. म्यादमा उल्लिखित ठेगानामै तामेली गरेकोमा ऐन बमोजिमको कर्तव्य पालन गरी साक्षी बसेको हुँ झुठ्ठा दावीबाट फुर्सद गराई पाउँ भन्ने कृष्णलाल टन्डुकारको प्रतिवादी ।
५. म्यादमा उल्लेख भएको फोहरा दरवारको ढोकामा देख्ने गरी सदस्यसमेत साक्षी राखी तामेल गरी तामेली दाखिल गरेको हुँ वादी दावा झुठ्ठा हो भन्नेसमेत अर्दली झमकबहादुरको प्रतिवादी ।
६. वादी दावीको म्याद ऐन बमोजिम रीत पुगी तामेली भएको भन्न मिल्दैन बेरीतसँग व्यहोरा नखुली तामेल भएको म्याद बदर हुने र वादी दावी बमोजिम जालसाजी गरी तामेल भएको हो कि भन्नालाई प्रतिवादीहरू सबैले जालसाजी गर्नु पर्ने प्रयोजन भए परेको सबूदबाट गुज्रन नआएकोले वादी दावी मनासिव देखिन आउँदैन वादीले झुठ्ठा दावी लिएको ठहर्छ ऐन बमोजिम भई वेरीतसँग म्याद तामेल भएको अब पुनः म्याद दिने व्यवस्था नरहेकोले आजका मितिले म्यादभित्र का.जि.अ.मा मुद्दा सकार गर्न इच्छा भएमा जानु भनी वादीलाई सूचना सुनाई का.जि.अ.लाई सूचना दिने ठहर्छ भन्ने बागमती अञ्चल अदालतको ०२६।५।१ को फैसला ।
७. सो उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।
८. म्याद अ.बं.११० नं.रीत पुगेको नदेखिनाले बदर हुने ठहराएतर्फ प्रतिवादीहरूको पुनरावेदन पर्न नआएकाले त्यसतर्फ केही विचार गर्नु परेन म्याद जालसाजी भन्ने तर्फ फिराद दावी बमोजिम कुन्जबहादुरसमेतका ४ जना बसी बीच बीचमै तामेल गरेको म्यादलाई फोहरा दरवारमा टाँसिएको हो भन्ने व्यहोरा लेखी जालसाजी गरेको भन्न मिल्ने सबूद नआएकोले जालसाजी गरे भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको र अब अर्को म्याद जारी गरिपाउँ भन्ने तर्फ मुद्दामा पैरवी गर्नेको मृत्यु भएमा हकदारलाई अड्डा अदालतबाट म्याद जारी गरी झिकाउने बारेको साविक मुलूकी ऐन अ.बं.को १७४ नं.खारेज भइसकेकोले अब म्याद जारी गर्नु नपर्ने ठहराएको इन्साफ बागमती अञ्चल अदालतको मनासिवै छ सकार गर्ने इच्छा भए आजका मितिले म्यादभित्र काठमाडौं जिल्ला अदालतमा मुद्दा सकार गर्न जानु भनी वादीलाई सुनाउने भन्ने शब्द अञ्चल अदालतको फैसलामा उल्लेख गरेकोलाई यो कानूनका आधारमा यो बमोजिम सुनाएको भन्ने कुरा फैसलामा उल्लेख भएको र त्यसरी सुनाउने कानूनमा व्यवस्था भएकोसमेत नहुनाले सो बढी शब्द कायम राख्न मिलेन भन्ने ०२८।१।५।१ को डिभिजन बेञ्चको फैसला ।
९. यस बेञ्च समक्ष निवेदक वादीतर्फका विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले फोहरा दरवार २०१९ सालमै मेरो पक्षको बुबा गोविन्दशमशेरले अमेरिकन राजदूतावासलाई बिक्री गरी अमेरिकन दुतावासले सो दरवारै भत्काइसकेको हुँदाहुँदै नभएको फोहरा दरवारको ढोकामा टाँसेको भनी म्याद तामेलीमा लेखेको व्यहोराबाटै जालसाज गरेको देखिएकोले दावी बमोजिम जालसाज गरेको कायम हुनुपर्छ र अर्को म्याद जारी गरी रीतपूर्वक तामेल गराइनु पर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नु भयो ।
१०. यसमा दावी बमोजिम फोहरा दरवारको ढोकामा टाँसिदै नटाँसेको म्यादलाई फोहरा दरवारको ढोकामा टाँसेको भनी म्याद तामेली जालसाजी गरे नगरेको के रहेछ भन्ने कुराको निर्णयको लागि हेर्दा प्रतिवादी कुन्जबहादुरको स्वार्थसिद्धीको लागि म्याद तामेल गर्ने अर्दली झमकबहादुर, साक्षी बस्ने नं.पं.स.कृष्णलाल केदारबहादुर चिनीयाकाजिसमेतका अरू प्रतिवादीसमेत मिली जालसाज गर्नपर्ने खास कारण वादीमा लेख्न खुलाउन नसकेको र दावी बमोजिम म्याद तामेली जालसाज गरेकै हो भन्ने कुराको प्रतितलायक सबूद प्रमाण दिन गुजार्न पनि नसकेकोले ठोस सबूद प्रमाणसमेतको अभावमा जालसाज गरेको भन्न ठहराउन मिल्ने देखिएन, जालसाजी भन्ने वादी दावी पुग्न नसक्ने ठहराएतर्फ बागमती अञ्चल अदालतको सदर गरी ०२८।१।५।१ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिवै छ, म्याद तामेल जालसाज गरेमा सजाय गरिपाउँ भन्ने वादीको मुख्य दावी भएको यो फौज्दारी मुद्दाबाट वादी दावी नै नभएको म्याद तामेली वेरीत भन्ने देवानी विषयको कुरामा ठहर गर्न नमिल्ने हुँदा म्याद तामेली रीत बेरीत र अर्को म्याद दिनुपर्ने नपर्नेसमेत विचार गरिरहनु नपर्नेमा उक्त म्याद अ.बं.११० नं. को रीत पुगी तामेल नभएकोले बदर हुने र अ.बं.१७४ नं.खारेज भइसकेको हुँदा अर्को म्याद दिन नपर्नेसमेत भनी बागमती अञ्चल अदालतले ठहर गरेको र ०२८।१।५।१ को डिभिजन बेञ्चले बागमती अञ्चल अदालतको उक्त ठहर कायम राखेको मिलेको देखिएन । म्याद तामेली रीत वेरीतको कुरा यस मुद्दाबाट ठहर गर्न नमिल्ने भएकोले पहिलेको म्याद तामेली वेरीत हुँदा बदर हुने ठहरेको भन्ने कुरालाई लिई बागमती अञ्चल अदालतको ०२६।५।१।५ को फैसलामा आजका मितिले म्यादभित्र का.जि.अ.मा मुद्दा सकार गर्न इच्छा भएमा जानु भनी वादीको वारेसलाई सुनाई दिने भन्ने बढी शब्द उल्लेख गरेको कायमै राख्न नमिल्ने हुँदा ०२८।१।५।१ को डिभिजन बेञ्चले सो बढी शब्द कायम राख्न नमिल्ने ठहराएको मनासिवै छ, डिभिजन बेञ्चको फैसलामा केही परिवर्तनसम्म भएकोले मुद्दा दोहर्याएमा निवेदक वादीलाई अरू सजाय गर्नु परेन, नियमबमोजिम मिसिल बुझाई दिनू ।
हामीहरूको सहमती छ ।
प्र.न्या. रत्नबहादुर बिष्ट,
न्या. झपटसिंह रावल
इति सम्वत् २०३० साल श्रावण १६ गते रोज ३ शुभम् ।