शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७५८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: १५ साल: २०३० महिना: बैशाख अंक:

निर्णय नं. ७५८                ने.का.प. २०३०

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् ०२६ सालको रिट नम्बर २२९

आदेश भएको मिति : २०२७।९।१७।६ मा

निवेदक : हरिद्वार उपाध्यायको तर्फबाट अधिवक्ता श्री लवदेव भट्ट

विरूद्ध

विपक्षी : रूपन्देही जिल्ला अदालतसमेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)   अधिवक्ताले तोकिएको म्याद वा तारेखका दिन अदालतमा उपस्थित भई आफ्ना पक्षकातर्फबाट सो म्याद तारेखमा गर्नु पर्ने काम कारवाईहरू गरी आफ्नो पक्षको प्रतिनिधित्व गर्न माग गर्दछ भने सो पक्षको तारिख गुज्रेको भन्न नमिल्ने ।

            उपस्थित हुने अधिकारको उपयुक्त परिभाषामा विचार गर्दा सो अधिकार अन्तर्गत अधिवक्तालाई आफ्ना पक्षका तर्फबाट म्याद वा तारेखमा हाजिर भई बहस (जसमा जे रहन गर्ने कुरा समावेश छ) बाहेक सो पक्षले गर्नु पर्ने अरू जुनसुकै कार्य निजका तर्फबाट गर्न पाउने व्यापक अधिकार प्रदान भएको देखिन्छ । तसर्थ पक्ष वा निजको वारेस तोकिएको म्याद वा तारेखका दिन अनुपस्थित भए पनि अधिवक्ताले वकालतनामा बमोजिम उपस्थित हुने आफ्नो कानूनी अधिकारको उपभोग गरी आफ्ना पक्षका तर्फबाट स्वयम अदालतमा हाजिर हुन र जुन कामका लागि तारेख तोकिएको हो सो काम गर्न सक्छ भन्ने कुरा स्पष्ट छ । यस स्थितिमा कुनै अधिवक्ताले तोकिएको म्याद वा तारेखका दिन अदालतमा उपस्थित भई आफ्नो पक्षका तर्फबाट सो म्याद वा तारेखमा गर्नु पर्ने काम कारवाईहरू गरी आफ्ना पक्षको प्रतिनिधित्व गर्न माग गर्दछ भने सो पक्षको तारिख गुज्रेको भन्न मिल्दैन । वास्तवमा दफा ११ ले बहस पैरवी गर्ने अधिकारका अतिरिक्त अधिवक्तालाई उपस्थित हुने अधिकारसमेत दिनुपर्ने प्रयोजन पनि अधिवक्ता उपस्थित भएपछि पक्ष आफैं उपस्थित भए सरह मानियोस भन्ने हो तोकिएको म्याद वा तारेखका दिन कानून अनुसार अधिवक्ताद्वारा पक्षको प्रतिनिधित्व भई जुन अभिप्रायले म्याद वा तारेख तोकिएको हुन्छ सो अभिप्राय पूरा हुन्छ र अदालतको काम कारवाईमा कुनै बाधा अडकाउ पर्दैन भन्ने सम्झनु न्यायसंगत र उचित पनि होइन मुद्दामा कुन दिन के कस्तो कारवाई हुन्छ भनी पक्षहरूलाई पूर्व जानकारी दिई सो दिन पक्षलाई अदालतमा उपस्थित गराई अदालतको काम कारवाई नियमितमा ल्याउनु नै म्याद तारिख तोक्ने व्यवस्थाको मुख्य उद्देश्य हो यो व्यवस्था अदालत र मुद्दाका पक्षहरूका सुविधाको लागि नै भएको हो अनुचित रूपमा पक्षको हक हित वा दावी नै समाप्त पार्ने उदेश्यको लागि हैन । तसर्थ म्याद वा तारिख सम्बन्धी व्यवस्थाको अर्थ र प्रयोग संकुचित रूपमा गर्नु कदापी वाञ्छनीय होइन खास गरी कानून व्यवसायी ऐन, २०२५ कानूनी व्यवसायीलाई प्राप्त अधिकारको सन्दर्भमा उपस्थित भई अधिकारको व्याख्या र प्रयोग गर्दा उक्त कुराको विचार हुन अत्यावश्यक छ । यस सम्बन्धमा हाम्रो देशमा व्यवस्थापनको अनुनिक प्रकृतिको विश्लेषण गरेर हेरेको खण्डमा पनि उपयुक्त कुराहरूको पुष्टि हुन्छ मुलूकी ऐन तेश्रो संशोधन ऐन, ०२५ द्वारा अदालती बन्दोवस्तको महलको १०२ नं.र १०४ नं. मा संशोधन गरी समाहृवान र इतलायनामाको ढाँचामा गरिएको परिवर्तनबाट मुद्दामा पक्ष वा निजको वारिस भई उपस्थित हुनुपर्ने बाध्यतालाई हटाई तोकिएको म्यादमा पक्ष स्वयम वारिसद्वारा उपस्थित नभई कानून व्यवसायीद्वारा पनि उपस्थित हुन सक्ने कुरा प्रष्टरूपमा व्यवस्थित भएको छ । व्यवस्था पर्न आइरहेको यस्तो प्रकृति र खास गरी कानून व्यवसायी ऐन, २०२५ को उपयुक्त व्यवस्थाहरूको सन्दर्भमा उपस्थित हुन पाउने अधिकारको संकुचित व्याख्या गरी कानून व्यवसायीलाई उक्त अधिकारको सही अर्थमा प्रयोग गर्नबाट अदालतले बञ्चित गर्नु न्यायसंगत हुँदैन र तसर्थ कुनै मुद्दामा तारिखमा रहेको पक्ष वा निजको वारिस तारिखका दिन अनुपस्थित भए पनि कानून व्यवसायी ऐन, २०२५ को दफा ११ र वकालतनामाद्वारा पक्षबाट आफूलाई प्राप्ति उपस्थित हुने अधिकारको प्रयोग गरी अधिवक्ताले अदालतमा उपस्थित भई पक्षका तर्फबाट तारिख लिन र पक्षले गर्नु पर्ने अन्य काम कुराहरू गरी पक्षको प्रतिनिधित्व गर्न पाउँछ भन्नु पर्ने देखिन्छ । त्यसरी अधिवक्ताद्वारा कुनै पक्षको प्रतिनिधित्व गर्नु भएको अवस्थामा यो पक्षको म्याद वा तारिख गुज्रेको सम्झनु मिल्दैन ।

(प्रकरण नं. ३)

निवेदक तर्फबाट : अधिवक्ता लवदेव भट्ट

आदेश

            न्या. वासुदेव शर्मा

            १.     यसमा निवेदक हरिद्वार उपाध्यायसमेत जना ८ विरूद्ध विपक्षी रूपन्देही जिल्ला अदालतसमेत भएको रिट नं. ५२९ को मुद्दामा निवेदक हरिद्वार उपाध्यायका वारिश श्रीकृष्णकुमारलाई मिति ०२७।८।२९ को तारिख तोकिएकोमा निज वारिस विरामी परी उपस्थित हुन नसकेकोले निवेदकतर्फका विद्वान अधिवक्ता श्री लवदेव भट्टले अधिवक्ताको हैसियतले आफ्ना पक्षको तर्फबाट उपस्थित भई तारिखमा बस्न पाउँ भनी उक्त तोकिएको तारिखकै दिन सर्वोच्च अदालतका रजिष्ट्रारका समक्ष दिनु भएको निवेदनपत्र साधसोधको रूपबाट न्यायिक निर्णका लागि यस बेञ्चमा पेस हुन आएको रहेछ ।

            २.    यस सम्बन्धमा विद्वान अधिवक्ता लवदेव भट्टको निवेदनपत्र बहस र मिसिल संलग्न रहेको वकालतनामा उपर विचार गर्दा निम्नलिखित प्रश्नहरूमा यस बेञ्चबाट निर्णय दिनुपर्ने देखियो :

(१)    कुनै मुद्दामा तारिखमा रहेको पक्ष वा निजको वारिस तारिखका दिन उपस्थित भएकोमा सो पक्षका तर्फबाट नियुक्त अधिवक्ताले वकालतनामा बमोजिम त्यस अदालतमा उपस्थित भई सो पक्षका तर्फबाट तारिख लिन र पक्षले गर्नु पर्ने अन्य काम कुराहरू गरी पक्षको प्रतिनिधित्व गर्न पाउँछ वा पाउँदैन र पक्ष स्वयम वा निजको वारिस तोकिएको तारिखमा उपस्थित भई नभई वकालतनामा बमोजिम निजको तर्फबाट नियुक्त अधिवक्ता उपस्थित भई पक्षले गर्नु पर्ने काम कुराहरू गर्न मञ्जुर गरेमा सो पक्षको तारिख गुज्रेको सम्झन मिल्छ वा मिल्दैन ।

(२)   प्रस्तुत मुद्दामा पेस भएको वकालतनामामा उपस्थित हुने अधिकारीको कुनै उल्लेख नभई बहस पैरवी गर्नसमेत भन्नेसम्म देखिएकोले विद्वान अधिवक्ताको लवदेव भट्टलाई पक्षका तर्फबाट उपस्थित हुने अधिकार प्राप्त छ वा छैन ?

            उपर्युक्त पहिलो प्रश्नका सम्बन्धमा सर्वप्रथम कानून व्यवसायी ऐन, २०२५ को दफा ११ र २ को खण्ड (ग) उपर विचार गर्नु आवश्यक छ, उक्त दफा ११ मा वरिष्ठ अधिवक्ता वा अधिवक्तालाई नेपाल अधिराज्यका जुनसुकै अड्डा अदालतमा अधिकारीको समक्ष परेको मुद्दा आफ्ना पक्षका तर्फबाट उपस्थित हुने, पैरवी गर्नु र बहस गर्न अधिकार हुनेछ भन्न उल्लेख भएको छ ।

            यस प्रकार उक्त दफा ११ अनुसार अधिवक्तालाई बहस र पैरवी गर्न अधिकारका अतिरिक्त उपस्थित हुने अधिकार पनि प्राप्त छ भन्ने स्पष्ट छ यस प्रश्नमा उपस्थित हुने अधिकार भन्नाले कस्तो अधिकारलाई जनाउँछ भन्ने कुरातर्फ विचार गर्दा कानून व्यवसायी ऐन, २०२५ को दफा २ को खण्ड (ग) मा त्यस कुराको स्पष्ट व्यवस्था भएको देखिन्छ । उक्त दफा २ को खण्ड (ग) यस प्रकारको छ :

            (ग)   उपस्थित हुने अधिकार भन्नाले तोकिएको म्याद वा तारिखमा मुद्दामा पक्षकातर्फबाट अदालतमा मुद्दा हेर्ने अधिकारीका समक्ष हाजिर हुने र सो म्याद वा तारिखमा सो पक्षले गर्नु पर्ने कार्य निजकातर्फबाट गर्न अधिकारलाई सम्झनु पर्छ ।

            तर यो शब्दले बहस गर्ने अधिकारलाई जनाउने छैन ।

            ३.    उपस्थित हुने अधिकारको उपयुक्त परिभाषामा विचार गर्दा सो अधिकार अन्तर्गत अधिवक्तालाई आफ्ना पक्षका तर्फबाट म्याद वा तारेखमा हाजिर भई बहस (जसमा जे रहन गर्ने कुरा समावेश छ) बाहेक सो पक्षले गर्नु पर्ने अरू जुनसुकै कार्य निजका तर्फबाट गर्न पाउने व्यापक अधिकार प्रदान भएको देखिन्छ । तसर्थ पक्ष वा निजको वारेस तोकिएको म्याद वा तारेखका दिन अनुपस्थित भए पनि अधिवक्ताले वकालतनामा बमोजिम उपस्थित हुने आफ्नो कानूनी अधिकारको उपभोग गरी आफ्ना पक्षका तर्फबाट स्वयम अदालतमा हाजिर हुन र जुन कामका लागि तारेख तोकिएको हो सो काम गर्न सक्छ भन्ने कुरा स्पष्ट छ । यस स्थितिमा कुनै अधिवक्ताले तोकिएको म्याद वा तारेखका दिन अदालतमा उपस्थित भई आफ्नो पक्षका तर्फबाट सो म्याद वा तारेखमा गर्नु पर्ने काम कारवाईहरू गरी आफ्ना पक्षको प्रतिनिधित्व गर्न माग गर्दछ भने सो पक्षको तारिख गुज्रेको भन्न मिल्दैन । वास्तवमा दफा ११ ले बहस पैरवी गर्ने अधिकारका अतिरिक्त अधिवक्तालाई उपस्थित हुने अधिकारसमेत दिनुपर्ने प्रयोजन पनि अधिवक्ता उपस्थित भएपछि पक्ष आफैं उपस्थित भए सरह मानियोस भन्ने हो तोकिएको म्याद वा तारेखका दिन कानून अनुसार अधिवक्ताद्वारा पक्षको प्रतिनिधित्व भई जुन अभिप्रायले म्याद वा तारेख तोकिएको हुन्छ सो अभिप्राय पूरा हुन्छ र अदालतको काम कारवाईमा कुनै बाधा अडकाउ पर्दैन भन्ने सम्झनु न्यायसंगत र उचित पनि होइन मुद्दामा कुन दिन के कस्तो कारवाई हुन्छ भनी पक्षहरूलाई पूर्व जानकारी दिई सो दिन पक्षलाई अदालतमा उपस्थित गराई अदालतको काम कारवाई नियमितमा ल्याउनु नै म्याद तारिख तोक्ने व्यवस्थाको मुख्य उद्देश्य हो यो व्यवस्था अदालत र मुद्दाका पक्षहरूका सुविधाको लागि नै भएको हो अनुचित रूपमा पक्षको हक हित वा दावी नै समाप्त पार्ने उदेश्यको लागि हैन । तसर्थ म्याद वा तारिख सम्बन्धी व्यवस्थाको अर्थ र प्रयोग संकुचित रूपमा गर्नु कदापी वाञ्छनीय होइन खास गरी कानून व्यवसायी ऐन, २०२५ कानूनी व्यवसायीलाई प्राप्त अधिकारको सन्दर्भमा उपस्थित भई अधिकारको व्याख्या र प्रयोग गर्दा उक्त कुराको विचार हुन अत्यावश्यक छ । यस सम्बन्धमा हाम्रो देशमा व्यवस्थापनको अनुनिक प्रकृतिको विश्लेषण गरेर हेरेको खण्डमा पनि उपयुक्त कुराहरूको पुष्टि हुन्छ मुलूकी ऐन तेश्रो संशोधन ऐन, ०२५ द्वारा अदालती बन्दोवस्तको महलको १०२ नं.र १०४ नं. मा संशोधन गरी समाहृवान र इतलायनामाको ढाँचामा गरिएको परिवर्तनबाट मुद्दामा पक्ष वा निजको वारिस भई उपस्थित हुनुपर्ने बाध्यतालाई हटाई तोकिएको म्यादमा पक्ष स्वयम वारिसद्वारा उपस्थित नभई कानून व्यवसायीद्वारा पनि उपस्थित हुन सक्ने कुरा प्रष्टरूपमा व्यवस्थित भएको छ । व्यवस्था पर्न आइरहेको यस्तो प्रकृति र खास गरी कानून व्यवसायी ऐन, २०२५ को उपयुक्त व्यवस्थाहरूको सन्दर्भमा उपस्थित हुन पाउने अधिकारको संकुचित व्याख्या गरी कानून व्यवसायीलाई उक्त अधिकारको सही अर्थमा प्रयोग गर्नबाट अदालतले बञ्चित गर्नु न्यायसंगत हुँदैन र तसर्थ कुनै मुद्दामा तारिखमा रहेको पक्ष वा निजको वारिस तारिखका दिन अनुपस्थित भए पनि कानून व्यवसायी ऐन, २०२५ को दफा ११ र वकालतनामाद्वारा पक्षबाट आफूलाई प्राप्ति उपस्थित हुने अधिकारको प्रयोग गरी अधिवक्ताले अदालतमा उपस्थित भई पक्षका तर्फबाट तारिख लिन र पक्षले गर्नु पर्ने अन्य काम कुराहरू गरी पक्षको प्रतिनिधित्व गर्न पाउँछ भन्नु पर्ने देखिन्छ । त्यसरी अधिवक्ताद्वारा कुनै पक्षको प्रतिनिधित्व गर्नु भएको अवस्थामा यो पक्षको म्याद वा तारिख गुज्रेको सम्झनु मिल्दैन ।

            ४.    जहाँसम्म माथि उल्लिखित दोस्रो प्रश्नको सम्बन्धमा छ निवेदक हरिद्वार उपाध्याय वारिससमेत बाट पेस भएको वकालतनामामा उपस्थित हुने अधिकारको कुनै उल्लेख नभएकोले विद्वान अधिवक्ता श्री लवदेव भट्टलाई निवेदककातर्फबाट उपस्थित भई तारिख लिन वा तारेखमा बस्ने अधिकार प्राप्त छैन । किनभने शंका उठ्नु स्वाभाविक नै हो तर विद्वान अधिवक्ताले यस सम्बन्धमा वकालतनमाको वर्तमान ढाँचामा रहेको त्रुटि दर्शाई प्रस्तुत गर्नु भएको तर्कहरूका आधारमा उक्त शंकाको समाधान हुन्छ वकालतनामाको वर्तमान ढाँचालाई हेर्दा त्यस्ता उपस्थित हुने अधिकारको कुनै उल्लेख भएको पाइँदैन । कानून व्यवसायी ऐन, ०२५ को दफा ११ द्वारा प्राप्त तीन प्रकारका अधिकारहरू मध्ये बहस र पैरवी गर्ने अधिकारको मात्र उल्लेख भई उपस्थित हुने अधिकारको कुनै उल्लेख नभएकोले वकालतनामाको वर्तमान ढाँचा त्रुटिपूर्ण छ भन्ने कुरा स्पष्ट छ । यस स्थितिमा वकालतनामामा उपस्थित हुने अधिकारको उल्लेख नभएको आधारमामात्र कुनै अधिवक्तालाई आफ्नो पक्षको हितको संरक्षणार्थ अदालतमा उपस्थित भई यथोचित प्रतिनिधित्व गर्ने व्यवसायीक कर्तव्यलाई पूरा गर्नबाट बञ्चित गर्न सक्दैन आफ्नो पक्षको हितलाई ध्यानमा राखेर परी अवस्था र परिस्थिति अनुसार मुद्दामा गर्नु पर्ने जुनसुकै काम कारवाईहरू गर्न अधिवक्तालाई कानून व्यवसायी ऐनको दफा ११ ले अधिकार प्रदान गरेको छ र मुद्दाको अन्तिम किनारा नभएसम्म निजले आफ्नो पक्षको हितलाई यथासम्भव संरक्षण गर्न र त्यसलाई सही ढङ्गबाट उक्त सावधानी तत्परताको साथ प्रतिनिधित्व गर्न अभिभारा लिएको पनि हुनेछ तसर्थ वकालतनामाको ढाँचा वा लेखाइमा कुनै त्रुटि वा वेरीत भएको छ भन्दैमा कुनै पनि अधिवक्तालाई आफ्नो पक्षको यथोचित प्रतिनिधित्व गर्नबाट बञ्चित गर्नु न्याय एवं औचित्यको दृष्टिकोंणबाट उपयुक्त हुँदैन निवेदकबाट पेस भएको वकालतनामामा उल्लिखित बहस पैरवी गर्नसमेत भन्ने शब्दावलीकोसमेत शब्दबाटले पनि निवेदकले विद्वान अधिवक्तालाई बहस पैरवी गर्ने अधिकार अतिरिक्त अरू पनि अधिकार दिन खोजेको स्पष्ट हुन्छ मुद्दा मामिलाको सिलसिलामा पक्षले कुनै अधिवक्तालाई अधिवक्ताको रूपमा दिन सक्ने अधिकारहरूमा बहस पैरवीको अतिरिक्त उपस्थितिको अधिकारमात्र भएकोले माथि उल्लिखितसमेत शब्दबाट निवेदकले विद्वान अधिवक्ताको लवदेव भट्टलाई उपस्थित हुने अधिकार पनि दिन खोजेको स्पष्ट हुन्छ ।

            ५.    उपर्युक्त सबै कुराहरूको आधारमा विद्वान अधिवक्ता श्री लवदेव भट्टको ०२७।८।२९ को निवेदनपत्र उपर विचार गरी निजको निवेदनपत्र मनासिव र कानूनसंगत नै देखिएकाले निजलाई निजको निवेदनपत्र अनुसार तारिखमा राखी कारवाई गर्न वकालतनामाको ढाँचामा देखिएको त्रुटिका सम्बन्धमा नियमावलीमा यथोचित संशोधनका लागि विचार हुन यो निर्णयको प्रतिलिपि फूलकोर्टमा पेस गर्न यस निर्णयद्वारा रजिष्ट्रारलाई आदेश दिएको छ ।

 

सहमत छु ।

 

न्या.विश्वनाथ उपाध्याय

 

इति सम्वत् २०२७ साल पौष १७ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु