निर्णय नं. ७६० - कर्म थकाली

निर्णय नं. ७६० ने.का.प. २०३०
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री मीनबहादुर थापा
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२९ सालको दे.फु.नं. १६४
फैसला भएको मिति : २०३०।५।२९।६ मा
निवेदक : का.जि.इन्द्रचोक चोखाछेंगल्ली बस्ने बोधानन्द राजोपाध्या, दिनेशानन्द राजोपाध्यासमेत
विरूद्ध
विपक्षी : का.जि. बाङ्गेमुढा बस्ने रमेशानन्द राजोपाध्या
मुद्दा : कर्म थकाली
(क) हुकुम प्रमांगीमा कानूनबमोजिम गर्नु भन्ने शर्त राखी निर्णय गर्नु भन्ने उल्लेख भएकोमा निर्णय गर्दा कानूनकै आधार लिनुपर्ने कुरा उक्त प्रमांगीकै व्यहोराबाट प्रष्ट हुने ।
(ख) नाता सम्बन्ध कायम गर्ने फौज्दारी विषयको कुरा र कर्म थकालीको हक दुई पक्ष बीच न्यायिक निर्णय गर्नु पर्ने प्रश्न उपस्थित हुन आएको अध्यक्ष गुठी संस्थानको अधिकारक्षेत्र भित्र नपर्ने ।
यसमा पुर्खाले इन्द्रचोक चोखाछें गल्लीमा इष्टदेवताको आगम स्थापना गरी राखेको हाम्रो कुलमा चलेको सनातन रीतिथिति शास्त्रलेसमेत थकालीद्वारा हरेक कार्य हुनुपर्ने म विपक्षीहरू सबैको काका हुनाले कुल घरको कर्म थकाली भएबाट मद्वारा नै चल्ने चलाउने गरी आएकोमा विपक्षीहरूले रोकी धर्मकृति चलाउनमा बाधा पुर्याई थितिरीतिमा खलल पारे भन्नेसमेत रमेशानन्दले चढाएको विन्तिपत्रमा गुठीको कुरा भएकोले गुठी संस्थानको अध्यक्षले बुझी कानूनबमोजिम निर्णय गरिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२३।२।१९ मा हुकुम प्रमांगी बक्स भई सो हुकुम प्रमांगीबाट अधिकार प्राप्त भएको भनी अध्यक्ष गुठी संस्थानबाट ०२४।५।१८।२ मा हकबेहक समेतको निर्णय गर्नु भएकोमा गुठी संस्थानका अध्यक्षले हेर्न नहुने मुद्दा हेरी निर्णय गर्नु भएकोले चित्त बुझेन भन्नेसमेत प्रतिवादी पक्षको निवेदन परेको र उक्त निवेदनपत्रसमेतको व्यहोरा जाहेर हुँदा गुठी संस्थानले हेर्न पाउने नपाउने के रहेछ बुझी रुल नियमबमोजिम निर्णय गरी दिन भन्ने यस अदालतको नाउँमा ०२५।१०।२९।३ मा हुकुमको प्रमांगी बक्स भई आई ०२८।१।१३।२ को डिभिजन बेञ्चले बक्स भएका हुकुम प्रमांगी बमोजिम निर्णय गर्ने अधिकार अध्यक्ष गुठी संस्थानलाई भएकै देखिएकोसमेत भनी निर्णय गरे उपर दोहर्याई यस बेञ्चमा पेस हुन आएको रहेछ । प्रस्तुत मुद्दा अध्यक्ष गुठी संस्थानले निर्णय दिन पाउने अधिकारक्षेत्र भए नभएको के हो भन्ने कुरामा नै हाल मुख्य विवाद भएकाले त्यसतर्फ हेर्दा बक्स भएको ०२३।२।१९ को हुकुम प्रमांगीबाट अध्यक्ष गुठी संस्थानलाई बुझ्ने अधिकार प्राप्त भएको भए पनि निर्णय दिने कुराको हकमा उक्त प्रमांगीमा कानूनबमोजिम भन्ने शर्त राखी कानूनबमोजिम निर्णय गरी दिनु भन्ने उल्लेख भएकोले निर्णय गर्दा कानूनकै आधार लिनुपर्ने कुरा उक्त प्रमांगीकै व्यहोराबाट प्रष्ट हुन्छ । अध्यक्ष गुठी संस्थानको निर्णय दिन पाउने अधिकारक्षेत्र भए नभएको के रहेछ भन्ने हकमा सो कुल घरको कर्म थकाली भन्ने वादी रमेशानन्दको दावी भएकोमा वादी हाम्रो भैयादै होइनन् निजसँग हाम्रो नाता नै छैन भन्नेसमेत प्रतिवादीहरूले जिकिर लिई मुख्य नाता सम्बन्धको कुरामा आपत्ति उठाएको भएपछि कहिले वादी रमेशानन्द प्रतिवादीहरूको काका नाता पर्ने एकै बंशका हुन् होइन भन्ने नाता कायम गर्ने सम्बन्धी फौज्दारी विषयको कुराको र त्यसपछि सो आगम देवताको पूजाआजासमेत कर्म थकालीको हक वादीको भए नभएकोसमेत कानूनबमोजिम दुई पक्षका बीच हकबेहक सम्बन्धी न्यायिक ठहर निर्णय गर्नु पर्ने प्रश्न उपस्थित हुन आएको यस्तो निर्णय गर्ने कुरा कानूनले अध्यक्ष गुठी संस्थानको अधिकारक्षेत्र भित्र नपर्ने हुनाले अध्यक्ष गुठी संस्थान आफैंले ठहर निर्णय गर्न नमिल्ने कानूनबमोजिम अदालतमा नालेस गरी हकबेहक गराउनु भनी सुनाई दिनुपर्ने थियो सो अनुसार नगरी अध्यक्ष गुठी संस्थान आफैंले हकबेहकको ठहर निर्णय गरेको अनधिकृत देखिँदा अ.बं.३५ नं. बमोजिम बदर हुने ठहर्छ । उक्त निर्णयलाई कायम राख्ने गरी ०२८।१।१३।२ को डिभिजन बेञ्चले छिनेकोसमेत मिलेको देखिएन, निवेदक प्रतिवादी बोधानन्द राजोपाध्या र दिनेशानन्द राजोपाध्याले मुद्दा दोहर्याउँदा ०२९।१।१३।२ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रू.१। यस मुद्दाबाट इन्साफ ठहर नहुने भएकाले नलाग्ने हुँदा कानूनबमोजिम फिर्ता दिनु भनी का.श्रे.अ.तहसील फाँटमा लगत दिन नियमबमोजिम मिसिल बुझाई दिनु ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट :
विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे
उल्लिखित मुद्दा :
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२८।१०।४।२ को हुकुम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : मसमेतका पुर्खाले का.ई.इन्द्रचोक चोखाछेंगल्लीमा श्री श्वेत देवता स्थापना गरी राखेको पूजाआजासमेत जो हुनु गर्नु पर्ने काम कर्म थकाली मार्फत भई आएको म हाम्रो कुल घरको थकाली भएदेखि मद्वारा नै पूर्ववर्त चलिआएको ०२१।२२ सालमा याम टायमको पर्व र जन्मजयन्ती पूजा गर्नालाईसमेत विपक्षीहरूले साँचो नदिई थितिरीतिमा खलल पारी धर्म लोप गर्न आँटेकाले प्रहरीको मद्दत मागी पर्व जन्मजयन्ती पूजा गर्नु पर्ने बाध्य गराए, सनातन धर्म थाम्ने प्रबन्ध गरिपाउँ भन्नेसमेत चढाएको विन्तिपत्रमा बुझी रुल नियमबमोजिम गर्नु गराउनु भन्ने हु.प्र.भई बागमती अञ्चलाधीश कार्यालयमा गएकोमा राजगुठीमा दर्ता भएको नदेखिनाले दुनियाँ गुठी हुँदा नालेस गरी पुर्पक्ष गराई माग्नु भनी सूचना दिए शान्ति सुरक्षाको निमित्त बर्षैपिच्छे प्रहरीमा निवेदन गरी गुहार मागी रहनु पर्ने अवस्था परेकोले तुरुन्त जो बुझ्नु पर्ने बुझी सनातन धर्ममा आघात नपर्ने गरी २३ साल जेष्ठ ३ गतेमा हुने वर्षे बन्धो जन्मजयन्ती पूजा चलाउन लगाउनु भन्नेसमेत प्रमांगी बक्स गरिपाउँ भनी रमेशानन्द राजोपाध्याले चढाएको निवेदनपत्रमा लेखिएको व्यहोरा श्री ५ महाराजाधिराजका हजूरमा जाहेर हुँदा गुठीको कुरा भएकाले व्यहोरा साँचो भए गुठी संस्थानको अध्यक्षले बुझी कानूनबमोजिम गरी निर्णय गरी दिनू भन्ने गुठी संस्थानका नाउँमा २३।२।१९।४ मा हुकुम प्रमांगी बक्स भएको ।
३. कर्म थकालीले पूजा गर्ने र हाललाई म कर्म थकाली भएको हुँदा मैले पूजाआजा चलाउनु पर्नेमा खिचोला गरी पूजा गर्न नदिएको व्यहोरा निवेदनमा लेखिएको छ पूजा गर्ने विषयमा बन्देजको कागज भएको छैन भन्नेसमेत रमेशानन्दको कागज ।
४. हामी दाजुभाइ बाहेक उक्त देवस्थलमा पूजा गर्न र कर्मसमेत चलाउन नहुने निज रमेशानन्द हामीहरूको दाजुभाइ र फुकीसमेत होइन निज रमेशानन्दको कुल घर का.इ.देउपाटन दज्याठा टोल घर हुँदा देउपाटनमा निजको श्वेत देवता खडा नै भएकोले हाम्रो श्वेत देवता स्थानमा पूजाआजा गराउनु हाम्रो मञ्जुर पनि छैन गर्न पनि नहुने भन्नेसमेत बोधानन्द राजोपाध्याको कागज ।
५. इन्द्रचोक स्थित श्री इष्टदेवताको आगम दुवै पक्षको पुर्खाले स्थापना गरेको भई सो आगममा पसी काम गर्ने अधिकार निवेदक रमेशानन्दलाई समेत भएको निज काका पर्ने हुनाले कर्म थकाली भई काम गरी आएकोमा विपक्षीहरूले साविक बमोजिम आगममा पसी धार्मिक कृत्य चलाउन नदिई जबरजस्ती रोकी थितिरीतिमा खलल पारेको ठहर्छ साविक बमोजिम कर्म थकाली भई काम चलाउन निवेदक रमेशानन्दले पाउँछन् बोधानन्द दिनेशानन्दलाई रू.५। जरिवाना गर्ने पुनरावेदनको म्याद दिन नमिल्ने भन्नेसमेत श्री अध्यक्ष गुठी संस्थानबाट ०२५।५।१८।२ मा निर्णय भएको छ ।
६. उक्त निर्णय भएको सम्बन्धमा बोधानन्दको निवेदन परेकोमा गुठी संस्थानको प्रतिवेदनसमेतको व्यहोरा जाहेर हुँदा गुठी संस्थानले हेर्न पाउने नपाउने के रहेछ बुझी रुल नियमबमोजिम निर्णय गरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट सर्वोच्च अदालतका नाउँमा ०२५।१०।२९।३ को हुकुम प्रमांगी बक्स भएको ।
७. गुठी संस्थानका अध्यक्षले निर्णय गर्न पाउने नपाउने बारेमा यस्तो निर्णय गर्नालाई कानूनको आधार नदेखाई श्री ५ महाराजाधिराजबाट ०२३।२।१९।४ मा बक्सेको हुकुम प्रमांगी विशेष जाहेरी विभाग मार्फत आएको देखिएको छ सो प्रमांगीमा लेखिएको व्यहोरा श्री ५ महाराजाधिराजका हजूरमा जाहेर हुँदा गुठीको कुरा भएकोले व्यहोरा साँचो भए गुठी संस्थानको अध्यक्षले बुझी कानूनबमोजिम गरी निर्णय गरी दिनु भन्ने बोली परेको देखियो गुठी संस्थानका अध्यक्षका नाउँमा बक्सेको हुकुम प्रमांगी बमोजिम निर्णय गर्ने अधिकार श्री बडा गुरुज्यू अध्यक्ष गुठी संस्थानलाई छ यस्तो अधिकार बमोजिम निर्णय गर्न पाउने देखिन्छ सो इन्द्रचोकमा स्थापित इष्टदेवता रमेशानन्दका पुर्खादेखिको इष्टदेव स्थापित आगम घरमा घुस्न निज रमेशानन्दले चलिरहुनपर्ने अवस्था पनि देखिँदैन निजलाई जबरजस्ती रोकेका रहेनछन् भन्न मिल्ने देखिँदैन सो इष्टदेवताको आगम दुवै पक्षका पुर्खाले स्थापना गरेका भई सो आगममा पसी काम गर्ने अधिकार निवेदक रमेशानन्दलाई समेत भएको भन्नेसमेत उक्त निर्णयमा उल्लेख भएको छ गुठी संस्थानले जरिवाना तोकेकोलाई असूल गराउने साधन रहेनछ कानूनमा अधिकार नभए पनि हु.प्र.बाट प्राप्त भएको निर्णय गर्ने अधिकारले सजाय तोकेको देखिन्छ र त्यस्तो सजाय असूल गर्ने प्रवन्ध नभएकोमा त्यस्तो जरिवाना असूल भएको भए फिर्ता र असूल नभएको भए अब असूल गर्नु हुँदैन भन्नेसमेत ०२८।१।१३।२ को डिभिजन बेञ्चको फैसला ।
८. यस बेञ्च समक्ष रमेशानन्दतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले सर्वोच्च अदालतका नाउँमा बक्स भएको हुकुम प्रमांगीमा ऐनले अथवा कानूनले गुठी संस्थानले हेर्न पाउने नपाउने के रहेछ भन्ने नभई गुठी संस्थानले हेर्न पाउने नपाउने के रहेछ भन्ने उल्लेख छ गुठी संस्थानका नाउँमा पहिले बक्स भएको हुकुम प्रमांगीबाट गुठी संस्थानका अध्यक्षले बुझी निर्णय गरी दिन पाउने अधिकार प्राप्त भएकैले कानूनले गुठी संस्थानले हेर्न पाउने अधिकार नभएको भन्ने प्रश्न आउँदैन डिभिजन बेञ्चबाट उचित निर्णय भएको कायम हुनुपर्छ भन्ने बहस प्रस्तुत गर्नुभयो ।
९. यसमा पुर्खाले इन्द्रचोक चोखाछें गल्लीमा इष्टदेवताको आगम स्थापना गरी राखेको हाम्रो कुलमा चलेको सनातन रीतिथिति शास्त्रलेसमेत थकालीद्वारा हरेक कार्य हुनुपर्ने म विपक्षीहरू सबैको काका हुनाले कुल घरको कर्म थकाली भएबाट मद्वारा नै चल्ने चलाउने गरी आएकोमा विपक्षीहरूले रोकी धर्मकृति चलाउनमा बाधा पुर्याई थितिरीतिमा खलल पारे भन्नेसमेत रमेशानन्दले चढाएको विन्तिपत्रमा गुठीको कुरा भएकोले गुठी संस्थानको अध्यक्षले बुझी कानूनबमोजिम निर्णय गरिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२३।२।१९ मा हुकुम प्रमांगी बक्स भई सो हुकुम प्रमांगीबाट अधिकार प्राप्त भएको भनी अध्यक्ष गुठी संस्थानबाट ०२४।५।१८।२ मा हकबेहक समेतको निर्णय गर्नु भएकोमा गुठी संस्थानका अध्यक्षले हेर्न नहुने मुद्दा हेरी निर्णय गर्नु भएकोले चित्त बुझेन भन्नेसमेत प्रतिवादी पक्षको निवेदन परेको र उक्त निवेदनपत्रसमेतको व्यहोरा जाहेर हुँदा गुठी संस्थानले हेर्न पाउने नपाउने के रहेछ बुझी रुल नियमबमोजिम निर्णय गरी दिन भन्ने यस अदालतको नाउँमा ०२५।१०।२९।३ मा हुकुमको प्रमांगी बक्स भई आई ०२८।१।१३।२ को डिभिजन बेञ्चले बक्स भएका हुकुम प्रमांगी बमोजिम निर्णय गर्ने अधिकार अध्यक्ष गुठी संस्थानलाई भएकै देखिएकोसमेत भनी निर्णय गरे उपर दोहर्याई यस बेञ्चमा पेस हुन आएको रहेछ । प्रस्तुत मुद्दा अध्यक्ष गुठी संस्थानले निर्णय दिन पाउने अधिकारक्षेत्र भए नभएको के हो भन्ने कुरामा नै हाल मुख्य विवाद भएकाले त्यसतर्फ हेर्दा बक्स भएको ०२३।२।१९ को हुकुम प्रमांगीबाट अध्यक्ष गुठी संस्थानलाई बुझ्ने अधिकार प्राप्त भएको भए पनि निर्णय दिने कुराको हकमा उक्त प्रमांगीमा कानूनबमोजिम भन्ने शर्त राखी कानूनबमोजिम निर्णय गरी दिनु भन्ने उल्लेख भएकोले निर्णय गर्दा कानूनकै आधार लिनुपर्ने कुरा उक्त प्रमांगीकै व्यहोराबाट प्रष्ट हुन्छ । अध्यक्ष गुठी संस्थानको निर्णय दिन पाउने अधिकारक्षेत्र भए नभएको के रहेछ भन्ने हकमा सो कुल घरको कर्म थकाली भन्ने वादी रमेशानन्दको दावी भएकोमा वादी हाम्रो भैयादै होइनन् निजसँग हाम्रो नाता नै छैन भन्नेसमेत प्रतिवादीहरूले जिकिर लिई मुख्य नाता सम्बन्धको कुरामा आपत्ति उठाएको भएपछि कहिले वादी रमेशानन्द प्रतिवादीहरूको काका नाता पर्ने एकै बंशका हुन् होइन भन्ने नाता कायम गर्ने सम्बन्धी फौज्दारी विषयको कुराको र त्यसपछि सो आगम देवताको पूजाआजासमेत कर्म थकालीको हक वादीको भए नभएकोसमेत कानूनबमोजिम दुई पक्षका बीच हकबेहक सम्बन्धी न्यायिक ठहर निर्णय गर्नु पर्ने प्रश्न उपस्थित हुन आएको यस्तो निर्णय गर्ने कुरा कानूनले अध्यक्ष गुठी संस्थानको अधिकारक्षेत्र भित्र नपर्ने हुनाले अध्यक्ष गुठी संस्थान आफैंले ठहर निर्णय गर्न नमिल्ने कानूनबमोजिम अदालतमा नालेस गरी हकबेहक गराउनु भनी सुनाई दिनुपर्ने थियो सो अनुसार नगरी अध्यक्ष गुठी संस्थान आफैंले हकबेहकको ठहर निर्णय गरेको अनधिकृत देखिँदा अ.बं.३५ नं. बमोजिम बदर हुने ठहर्छ । उक्त निर्णयलाई कायम राख्ने गरी ०२८।१।१३।२ को डिभिजन बेञ्चले छिनेकोसमेत मिलेको देखिएन, निवेदक प्रतिवादी बोधानन्द राजोपाध्या र दिनेशानन्द राजोपाध्याले मुद्दा दोहर्याउँदा ०२९।१।१३।२ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रू.१। यस मुद्दाबाट इन्साफ ठहर नहुने भएकाले नलाग्ने हुँदा कानूनबमोजिम फिर्ता दिनु भनी का.श्रे.अ.तहसील फाँटमा लगत दिन नियमबमोजिम मिसिल बुझाई दिनु ।
हामीहरूको सहमती छ ।
न्या. मीनबहादुर,
न्या. विश्वनाथ उपाध्याय
इति सम्वत् २०३० साल भाद्र २९ गते रोज ६ शुभम् ।