निर्णय नं. ७६४ - डाँका

निर्णय नं. ७६४ ने.का.प. २०३०
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी
सम्वत् २०२९ सालको फौ.फु.नं. ३१
फैसला भएको मिति : २०३०।५।१९।३ मा
निवेदक : मोरङ प्र.हरिचन मौजे विश्वकर्मा घर भई हाल केन्द्रीय कारागार काठमाडौंमा थुनामा रहेको संगीर मिया
विरूद्ध
विपक्षी : श्री ५ को सरकार
मुद्दा : डाँका
(१) प्रहरीमा कुटपिट गरी सही गराएको भन्ने भई घा जाँच गराउँदा शरीरमा निल घाउसमेत परेको देखिए प्रहरीमा खुसीराजीले सावित भएको भन्न नमिल्ने ।
यसमा मुद्दा दोहर्याउने अभियुक्त संगीर मियाँ बाहेक अरूका हकमा हाल विवाद नभएकोले निज संगीर मियाँको हकमा निजले कसूर गरे नगरेको के रहेछ भन्ने तर्फ हेर्दा निज प्रहरीमा सावित भए पनि अदालतमा बयान गर्दा प्रहरीहरूले कुटपिट गरी सही गराएको भनी कसूर गरेमा इन्कार रहेको, घा जाँच गराउँदा निजको अंग शरीरमा निल घाउसमेत भए गरेको देखिएकोले प्रहरीमा खुशीराजीले सावित भएको भन्न मिलेन । जाहेरवाला कचालुकी स्वास्नी गाधो राजवंसीले पहिले प्रहरीमा कागज गर्दा निज संगीरसमेतलाई टर्च बत्तिको झल्याक झुलुक उज्यालोबाट वारदात मौकामा प्रष्ट देखे चिनेको भनेकी हकमा निजले पछि अदालतमा बयान गर्दा पचना भन्ने पाहाडचन मिर्गलाल, डल्लू सा तेली ३ जनालाई देखे चिनेको हुँ अरूलाई चिनिन भनेकीबाट निज गाधोले प्रहरी कागजमा संगीरसमेतलाई देखे चिनेको भनेकी कुरा समर्थित हुन आएन पक्राउ गर्न खोज्दा निज संगीर मियाँ आफ्नै घरभित्र भएको पटुवा थुपारेको छेडीं भित्र पस्न लागेको सोही पटुवाका छेडीं भित्र निज पस्न लागेको ठाउँमा चरेसको थाल धागोमा उनेको कम्पनी अठन्नीको माला चाँदीको चुडी साडी थालहरूसमेत भेटिएको भनी प्रहरीहरूले सो मालहरूसमेत बरामद गरी ल्याएको हकमा त्यस्तो मालहरू घरभित्रकै पटुवाको छेडिंभित्र लुकाएको र निज संगीर त्यस्तो दसी लुकाई राखेकै ठाउँमा आफू लुक्न गएकोमा फेला परेको भन्नेसमेत प्रहरी प्रतिवेदन अस्वाभाविक र सन्धिग्ध अवस्थाको देखिन आउँछ । मुख्य ति बरामद भएका मालहरू जाहेरवाला कचलुले पहिले दिएको जाहेरी दर्खास्तमा उल्लेखै नगरेकोमा पछि सनाखत कागज गर्दामात्र पहिले लेखाउन छुट भएको भनी लेखाएको साथै निजको चोरी भएको मालहरू भए चाँदीको कम्पनी अठन्नीको माला बाला जस्तो गहना सारी र दैनिक चलनमा आउने थाल जस्तो भाँडासमेत मौकाको जाहेरी दर्खास्तमा नलेखाई छुटाउनु नपर्ने र ति मालहरू मेरै हो प्रहरीले बाकस तोडी बरामद गरेकोसमेत भनी संगीरले बयान गरेकोमा सो कुरा निजको साक्षीको बकपत्रसमेत बाट समर्थित भइराखेकोले सो मालहरू कचालुको चोरी भए मध्यकै दसी हो भन्न पनि मिलेन वारदात भएको ०२४।११।९ को दिन रात म भारतको घर धर्मगञ्ज भन्ने ठाउँको मेलामा गएको भनी निजसँग बयान गरेको निजका साक्षी शकी राजवंसी, हरपुग मियाँ, रसुल मियाँ, झंगुलालसमेतले निज धर्म मेलामा गएको थियो भनी बकी दिएकोसमेत हुँदा निज संगीर निर्दोष प्रमाणित हुन्छ तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट निज संगीरले सफाई पाउने ठहर्छ निज संगीरको हकमा कसूर ठहराएको शुरु मो.जि.अ.र कोशी अञ्चल अदालतको सदर गरी ०२८।१।९।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन अरू तपसील बमोजिम गर्नु ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : वैतनिक अधिवक्ता सुरेन्द्रबहादुर प्रधान
विपक्षी तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता शोभाकर उपाध्याय
उल्लिखित मुद्दा :
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२८।१२।२१।२ को हुकुम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : २०२४ साल फागुन ९ गते राती डाँकाहरू आर्ई बन्दूक फायरसमेत गरी धनमाल डाँका गरी लगेकाले कानूनबमोजिम कारवाई गरिपाउँ भन्ने कचालु राजवंसीको जाहेरी दर्खास्तबाट कारवाई चलेकोमा पक्राउ भएका कविर मियाँ, समिद मियाँ, जकिर मियाँ, रंगीन तत्मा, संगीर मियाँको आफूसमेत भई डाँका गरेमा साविती र रामलाल तत्मा गयानन्द ठाकुर, हजान बनाई मियाँ, अवास मियाँ, मिर्गलाल राजवंसी, मतनलाल सिं गंगाईसमेतको हामीहरू डाँका गर्न गएका छैनौं भन्ने इन्कारी व्यहोराको प्रहरीका कागज भएको ।
३. कविर मियाँ, रंगीन तत्मा, रामलाल तत्मा, समिद मियाँ, गयानन्द ठाकुर, हजान जकिर मियाँ, सगिर मियाँ, मिर्गलाल राजवंसी, अवास मियाँ, मतंलाल सिं गंगाई पाहाडचन राजवंसी, डल्लु सा तेली, नलिल मियाँ, गफुर मियाँ, सामरो मियाँ, खलिल मियाँ, राजेश्वर केवट छेदुलाल राजवंसीको चइ मियाँ, कपिद मियाँ, हमिद मियाँ सिताराम यादव, भागवत यादव, मफुल मियाँ, रघुनाथ पहाडी, सविर मियाँहरू भई कचालुको घरमा डाँका गरेको सो सिद्ध हुँदा निजहरू उपर चोरीको १४ नं.४ दफाले सजाय हुने कसूर अन्तर्गत कारवाईसमेत चल्ने हुँदा सो बमोजिम कारवाई हवस शाई भन्ने पाहाडिसालाई भन्ने पहाडी बूढाको छोरा नाम थाहा नभएकाको हकमा पत्ता लगाई फेला परेका अवस्था ठहरे बमोजिम हुने गरी र विताई मियाँ, अवास मियाँका हकमा मुद्दा चलाउन सबूद नपुग्ने भन्नेसमेत प्रहरी प्रतिवेदन ।
४. प्रहरीमा कुटपिट डर त्रास देखाई सही गराएको हो मैले डाँका गरेको छैन भन्ने रंगीन तत्मा, समिद मियाँ, सागिर मियाँ, जाकिर मियाँ, कविर मियाँ, रामलाल तत्मासमेतको र सो फाल्गुण ९ गते रात म आफ्नै डेरा त्रिलोचनको घरमा छु मैले डाँका गरेको छैन भन्ने जयानन्द ठाकुर हजाम म आफ्नै घरमा छु डाँका गर्न गएको छैन भन्ने मिर्गलाल म भारतको धर्मगन्जमा मेला हेर्न गएको थिए डाँका गरेको छैन भन्ने भक्तलाल सो फागुन ९ गते अस्पतालमा छु डाँका गरेको छैन भन्ने डत्लु सा तेली, सो फाल्गुण ९ गते पोखरीयामा दाजु किसनको घरमा छु मैले डाँका गर्न गएको छैन भन्ने राजेश्वजर केवट विरामी भई अस्पतालमा थिए डाँका गर्न गएको छैन भन्ने भागवत यादव म सो फागुन ९ गते धर्मगन्ज मेलामा छु डाँका गर्न गएको होइन भन्ने म फुली मियाँ म गौरादह तर्फ गएको थिएँ डाँका गरेको हैन भन्ने सामरी मियाँ, म गौरीगन्ज गएको थिएँ डाँका गरेको हैन भन्ने गफुर मियाँ प्रेम सागर सालाको विहामा गएको थिए डाँका गरेको छैन भन्ने जलिल मियाँसमेतको अदालतमा इन्कारी बयान ।
५. वोनाई मियाँ, अवास मियाँ उपर मुद्दै नचलाएको राई भन्ने पाहाडी साइला भन्ने म पाहाडी बुढाका छोरा २ भन्ने मानिस यो गाउँको यो नाउँ गरेका भन्ने खुल्न नआएको निजहरूको नाउँ खुली आएका अवस्था कानूनबमोजिम हुने कोचा मियाँ, सिताराम यादव विदेश भारतको भन्ने लेखिएकोले निजहरू सरहदमा पक्राउ भएको बखत कानूनबमोजिम हुने पाहाडचं राजवंशी खलिल मियाँ हेतुलाल राजवंशी कफिद मियाँ हमिद मियाँ रघुनाथ पाहाडी सहिर मियाँ फरार रहेकाले अ.बं.१९० नं. बमोजिम अंश रोक्का राखी हाजिर भए वा पक्राउ भएका बखत कारवाई गर्ने कविर मियाँ, समिद मियाँ, जकिर मियाँ, रंगिन तत्मा प्रहरीमा सावित भए पनि अदालतमा बयान गर्दा प्रहरीमा कुटपिट गरी कागज गराएको भनेकाले कसो हो भन्न कुटपिट गरी कागज गराउनु पर्ने कारण नबताएको घा खत छैन भनेको वारदातको रात यस ठाउँमा छन् देखेका छौं भन्न साक्षीले नसकेको सगिर मियाँले म धर्मगन्ज मेलामा छु भनी बयान गरेको प्रहरीमा साविती कागज भएकोलाई कुटी गराएको भनेको केश फारामबाट घाउ खत देखिएको गाढोले सरजमीनमा चिनेँ भनेको अदालतमा बयान गर्दा चिनेँ भन्न नसकेको निजको साक्षीले धर्मगन्ज मेलामा छ भनेकोले प्रहरीमा भएको साविति कागज खुसिले भएको भन्ने प्रमाणबाट देखिन आउँदैन दसी तर्फ हेर्दा सगिरको घरबाट सारी थाल कम्पनी अठन्नीको माला चूरा निजको घरबाट निस्केको भन्ने कुरा निजकै बयानबाट देखिएको सो माल आफ्नै हो भन्ने सबूद नभएकोसमेत बाट कविर रंगिन रामलाल, समिद जकिर, सगिर, मिर्गलाल डल्लु गफुरले डाँका गरेकै ठहर्ने र अदालतसमेतमा इन्कारी गयानन्द मतनलाल राजेश्वर भगवन मकल सामरो जलिलले डाँका गरेको प्रमाण पुग्न नआएकोले निजहरूले डाँका गरेको नठहर्ने भन्नेसमेत मो.वि.जि.अ.को ०२६।२।३।६ को फैसला ।
६. सो इन्साफमा चित्त बुझेन भन्नेसमेत सगिर मियाँ, रंगीन तत्मा, समिद मियाँ, जकिर मियाँ, गफुर मियाँ, डल्लु सा तेली, कविर मियाँसमेत ७ जनाको पुनरावेदन ।
७. सावितिले पोल गरेको मफुलसमेतलाई सफाई दिएकोमा चित्त बुझेन भन्नेसमेत वादी श्री ५ को सरकारको पुनरावेदन ।
८. शुरुले सफाई दिएको गयानन्दसमेत कसूर गरेको सबूद आउन सकेको छैन ठोस प्रमाण बेगर डाँका गरेकै हुन भन्न न्यायोचित नपर्ने र कविर मियाँसमेत पुनरावेदक ७ जनाको हकमा निर्दोष छौं भन्ने पुनरावेदन जिकिर मनासिव नदेखिएकोसमेत हुँदा इन्साफ शूरुको मनासिव ठहर्छ भन्ने कोशी अञ्चल अदालतको ०२६।१२।१७ को फैसला ।
९. उक्त इन्साफमा चित्त बुझेन भन्ने डल्लु सा तेली सगिर मियाँ गफुर मियाँको र सफाई दिने गरेतर्फ चित्त बुझेन भन्ने वादी श्री ५ को सरकारकोसमेतको छुट्टाछुट्टै पुनरावेदन ।
१०. सफाई पाउने गयानन्दसमेतका ७ जवानले डाँका गरेको हो भन्ने सावित हुनेहरूको लेखाई र जाहेरवाला कचालुकी स्वास्नी गाधो राजवंशीको वारदातको आतुर अवस्थामा झल्याक झुलुक लाइटको उज्यालोले चिनेको भन्ने मतनलाल १ जवानको हकमासम्म उक्त भनाई देखिन आयो सबै सावितिले ती सातैजनाको नाम उल्लेख गरेका छैनन् अरू तथ्य सबूद आउन सकेको छैन बिना सबूद अपराध ठहराई सजाय दिन नमिल्ने हुँदा उक्त ७ जनाको हकमा सफाई दिने गरेको अञ्चल अदालतको निर्णय मिलेकै देखियो डल्लु गफुर मौकैदेखि इन्कार गरेको डल्लुलाई जाहेरवालाकी स्वास्नी गोधो राजवंशीले वारदातको अवस्थामा झल्याक झुलुक लाइटको उज्यालोबाट चिनेको भन्ने कुरा निश्चित र तथ्यपूर्ण आधारको मान्न मिलेन गफुरलाई सावितले पालेको भनेकोमा पनि सबै सावितिले निजको नाउँ उल्लेख गरेको छैन पोल हुँदै सोही आधारमा अपराधी सावित भयो भन्न मिल्दैन अपराध गरेको ठहराई सजाय दिनलाई सबूद प्रमाणको आवश्यक पर्न जान्छ त्यसको तथ्य सबूद प्रमाण निज गफुर डल्लुका विरूद्ध कुनै देखिन नआएकोले निजहरूलाई डाँका गरेको कसूर ठहराई सजाय दिने गरेको शुरु तथा अञ्चल अदालतको मिलेको देखिएन निज २ जनालाई सफाई दिने ठहर्दछ सगिरका हकमा डाँका चोरीको धन माल बरामद भएको हुनाले निजलाई सफाई दिने भन्ने मिलेन सजाय दिने गरेको शुरु र अञ्चल अदालतको मनासिव छ भन्नेसमेत ०२८।१।९।५ को डिभिजन बेञ्चको फैसला ।
११. यसबेञ्च समक्ष निवेदक अभियुक्त सगिरको तर्फबाट विद्वान वैतनिक अधिवक्ता श्री सुरेन्द्रबहादुर प्रधानले निज सगिरकहाँबाट डाँका चोरीको धनमाल बरामद भएको भन्ने हकमा सो धन माल चोरीको नभई निज सगिरकै हो भन्ने कुरा मिसिल प्रमाणबाट सिद्ध हुन्छ कि जाहेरवाला कचुलले पहिले दिएको दर्खास्तमा सो मालहरू उल्लेख गरेको छैन पछि दर्खास्तको सनाखत गराउँदा दर्खास्तमा लेख्न छुट भएको पनि पछि लेखाएको भए पनि त्यसलाई कायम मान्न मिल्दैन घा जाँच हुँदा प्रसस्त घा खत देखिएको छन् त्यसबाट प्रहरीले कुटपिट गरी सावित गराएको भन्ने देखिएकै छ त्यसकारण निज निर्दोष प्रमाणित हुने हुँदा सफाई पाउनु पर्छ भन्नेसमेत र वादी श्री ५ को सरकारतर्फबाट विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री सोभाकर उपाध्यायले घर घरमा डाँका भएको पिरले यो धनमाल डाँका भएको भन्ने सम्झन नसकेको पहिलेको दर्खास्त लेख्न छुट हुन नसक्ने होइन सो दर्खास्तको सनाखत गर्दा छुटेको माल खुलाएको र सो मध्यकै केही माल यो सगिरकहाँबाट बरामद भएको छ भने निजलाई निर्दोष भन्न कसरी मिल्छ घा जाँच हुँदा देखिएको भनिएको घाउखत प्रहरीले नै कुटेको भन्ने कसरी अनुमान गर्ने कुटपिटमा उजूर गर्न निजले सकेको छैन यो प्रहरीमा कसुरमा सावित भइरहेको व्यक्ति हुँदा कसूर ठहराएको डिभिजन बेञ्चको इन्साफ कायम हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नु भयो ।
१२. यसमा मुद्दा दोहर्याउने अभियुक्त संगीर मियाँ बाहेक अरूका हकमा हाल विवाद नभएकोले निज संगीर मियाँको हकमा निजले कसूर गरे नगरेको के रहेछ भन्ने तर्फ हेर्दा निज प्रहरीमा सावित भए पनि अदालतमा बयान गर्दा प्रहरीहरूले कुटपिट गरी सही गराएको भनी कसूर गरेमा इन्कार रहेको, घा जाँच गराउँदा निजको अंग शरीरमा निल घाउसमेत भए गरेको देखिएकोले प्रहरीमा खुशीराजीले सावित भएको भन्न मिलेन । जाहेरवाला कचालुकी स्वास्नी गाधो राजवंसीले पहिले प्रहरीमा कागज गर्दा निज संगीरसमेतलाई टर्च बत्तिको झल्याक झुलुक उज्यालोबाट वारदात मौकामा प्रष्ट देखे चिनेको भनेकी हकमा निजले पछि अदालतमा बयान गर्दा पचना भन्ने पाहाडचन मिर्गलाल, डल्लू सा तेली ३ जनालाई देखे चिनेको हुँ अरूलाई चिनिन भनेकीबाट निज गाधोले प्रहरी कागजमा संगीरसमेतलाई देखे चिनेको भनेकी कुरा समर्थित हुन आएन पक्राउ गर्न खोज्दा निज संगीर मियाँ आफ्नै घरभित्र भएको पटुवा थुपारेको छेडीं भित्र पस्न लागेको सोही पटुवाका छेडीं भित्र निज पस्न लागेको ठाउँमा चरेसको थाल धागोमा उनेको कम्पनी अठन्नीको माला चाँदीको चुडी साडी थालहरूसमेत भेटिएको भनी प्रहरीहरूले सो मालहरूसमेत बरामद गरी ल्याएको हकमा त्यस्तो मालहरू घरभित्रकै पटुवाको छेडिंभित्र लुकाएको र निज संगीर त्यस्तो दसी लुकाई राखेकै ठाउँमा आफू लुक्न गएकोमा फेला परेको भन्नेसमेत प्रहरी प्रतिवेदन अस्वाभाविक र सन्धिग्ध अवस्थाको देखिन आउँछ । मुख्य ति बरामद भएका मालहरू जाहेरवाला कचलुले पहिले दिएको जाहेरी दर्खास्तमा उल्लेखै नगरेकोमा पछि सनाखत कागज गर्दामात्र पहिले लेखाउन छुट भएको भनी लेखाएको साथै निजको चोरी भएको मालहरू भए चाँदीको कम्पनी अठन्नीको माला बाला जस्तो गहना सारी र दैनिक चलनमा आउने थाल जस्तो भाँडासमेत मौकाको जाहेरी दर्खास्तमा नलेखाई छुटाउनु नपर्ने र ति मालहरू मेरै हो प्रहरीले बाकस तोडी बरामद गरेकोसमेत भनी संगीरले बयान गरेकोमा सो कुरा निजको साक्षीको बकपत्रसमेत बाट समर्थित भइराखेकोले सो मालहरू कचालुको चोरी भए मध्यकै दसी हो भन्न पनि मिलेन वारदात भएको ०२४।११।९ को दिन रात म भारतको घर धर्मगञ्ज भन्ने ठाउँको मेलामा गएको भनी निजसँग बयान गरेको निजका साक्षी शकी राजवंसी, हरपुग मियाँ, रसुल मियाँ, झंगुलालसमेतले निज धर्म मेलामा गएको थियो भनी बकी दिएकोसमेत हुँदा निज संगीर निर्दोष प्रमाणित हुन्छ तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट निज संगीरले सफाई पाउने ठहर्छ निज संगीरको हकमा कसूर ठहराएको शुरु मो.जि.अ.र कोशी अञ्चल अदालतको सदर गरी ०२८।१।९।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन अरू तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी सगीर मियाँकै निजलाई गर्ने गरेको देहाय बमोजिम लाग्ने हुँदा निज हाल केन्द्रीय कारागार काठमाडौं थुनामा रहेकोले तुरुन्तै थुनाबाट छाडी देहायबमोजिम लगत कट्टा गरी दिनु भनी मो.जि.वि.अ.मा लेखी पठाउनसमेत का.जि.अ.तहसील फाँटमा लगत दिनु.....................१
शुरु मो.वि.जि.अ.को ०२६।२।३।६ को फैसलाले गर्ने गरेको जरिवाना रू.६३०६६। कैद बर्ष ६ को कलम १, कोशी अञ्चल अदालतको ०२६।१२।१७।२ को फैसलाले गर्ने गरेको जरिवाना रू.६३६।६० कैद महिना ।७।६ को कलम १
डिभिजन बेञ्चको ०२८।१।९।५ को फैसलाले गर्ने गरेको जरिवाना रू.३१६।८० कैद महिना ।३।१८ को कलम, १ देहायका साक्षीहरू के मो.वि.अ.को ०२६।२।३।६ को फैसलाले रू.५। दरले गर्ने गरेको जरिवाना नलाग्ने हुँदा असूल भएको भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिनु भनी मो.वि.अ.लाई लेखी पठाउने ऐ............................... २
प्रहरी चंगडी मौजे विश्वकर्मा बस्ने शकि राजबशी, १
ऐ.ऐ.बस्ने हरयुग मियाँ १, ऐ.ऐ.बस्ने झीगुरलाल यादव, १ सगीरको घरबाट बरामद भएको भनी प्रहरी प्रतिवेदन साथ दाखिल भएको देहायबमोजिम निज सगीरलाई नै कानून बमोजिम फिर्ता दिनु भनी ऐ.ऐ...................३
पुरानो चाँदी धागोमा उनी बनाएको कम्पनी थान ६ ऐ.ऐ.अठन्नी थान २०, चरेसको थान २, चाँदीको सिंगो पटुक्रा २ भएको १ समेत गरी चुडी थान ६ खैरो बुट्टा र सेतो बुट्टासमेत भएको सारी थान, १
तत्कालिन मो.वि.जि.अ.का.जि.न्या.गणेशप्रसाद उपाध्यायको इन्साफ केही उल्टीको रेकर्ड राख्न सर्वोच्च अदालत जनरल विभागमा सूचना दिनु.......................४
नियमबमोजिम मिसिल बुझाई दिनु..............................५
हामीहरूको सहमती छ ।
न्या. धनेन्द्रबहादुर सिंह
न्या. ब्रम्हदत्त तिवारी
इति सम्वत् २०३० साल भाद्र १९ गते रोज ३ शुभम् ।