निर्णय नं. ६८४ - डाटिलाई कर्तव्य पारी मारी वेपत्ता पारे

निर्णय नं. ६८४ ने.का.प. २०२९
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री झपटसिंह रावल
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२५ सालको फैज्दारी विविध नम्बर २६
फैसला मिति : ०२८।८।१७।६
निवेदक : पु.३ वामजे बस्ने पुटि सेर्पीनीको जाहेरी परेको वादी श्री ५ को सरकार
विरुद्ध
विपक्षी : पु.३ नं.सोलुसिरुवा बस्ने मकरध्वज बस्नेत क्षेत्रीसमेत
मुद्दा : डाटिलाई कर्तव्य पारी मारी वेपत्ता पारे
(१) लाससहित अन्य सबूद नपाइएकोमा अपराध गरेको ठहराउन र सजाय गर्न न्यायसंगत नहुने ।
तसर्थ प्रतिवादीहरूले डाटीलाई कर्तव्य गरी मारे मराएको भन्ने कुराको गणेशकुमारीको लेखबाहेक अन्य कुनै तथ्य सबूद प्रमाण केही देखिन नआएको गणेशकुमारीको भनाई माथि लेखिएबमोजिम कुरा फरक परी प्रमाणमा लिन शंकायुक्त देखिएको हुनाले लाससहित अन्य सबूद नपाइएको गवाहीको लेख बयान शंकारहित हुन बेगर प्रतिवादीहरूले कसूर अपराध गरेको भनी ठहराउन र सजाय दिन न्यायसंगत भएन, कसूर ठहराई सजाय दिने गरेको काठमाडौं विशेष अदालतको ०२१।५।१३।६ को र डिभिजन बेञ्चको ०२४।१।२१।५ को फैसला मिलेको नदेखिँदा अरु तपसीलबमोजिम गर्नु ।
(प्र.नं. ३५)
वादी तर्फबाट : सरकारी वरिष्ठ अधिवक्ता जोगेन्द्रप्रसाद श्रीवास्तव
प्रतिवादी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे, अधिवक्ता गंगाप्रसाद उप्रेती
फैसला
न्या. झपटसिंह रावल
१. मकरध्वज देवीध्वज पुजिँपती भई भाइ गेल्बुलाई बेदामे राजीनामा गराई लिई बेपत्ता पारेबाट डाटीले बिरोध गरेमा पक्री ठिग्रो ठोकी थुनी छोडी दिएपछि सो कुरामा उजूर वाजुर परी निजहरूलाई भेटेमा बेइज्जत गर्ने १६ सालमा देवीध्वजलाई हात हालाहालमा पुलिसले पक्री कारवाई चलाएकोसमेत कारणबाट डाटीलाई मनाउने षड्यन्त्र गरेको त्यसैकारण मराएको कुरा यकिन हुन आउँछ । अरु कारणबाट डाटी बेपत्ता हुने कारण छैन डाटीलाई खतम पारेको छ अपराधी पत्ता लगाई पाउँ भन्ने दर्खास्त पदमे जनकेलाई पैसा दिई बसमा पारी डाटीलाई घर गाउँमा लगेछन् १९ साल आश्विन ९ गते देखि नै देवीध्वज गई बसी १० गते डाटीलाई समेत लगी जनकबहादुरकै घरमा लगी मारे मराएको गणेशकुमारीबाट थाहा पाएकी हुँ मार्नेको सहमती मकरध्वज लोकध्वज मार्ने देवीध्वज पदमे जनकबहादुर हुँ डाटीको लास कहाँ लगे के गरे मैले नदेखेकोले खुलाउन सक्तिन भन्ने पुर्टि सेर्पेनीको निवेदन सनाखत कागज ।
२. डाटी भोटेनीसमेत ३ जना १९ साल आश्विन हो गतेबार सम्झना भएन मेरो घरमा आईपुगे डाटी भोटेनीले पद्मेलाई लिन जान पर्यो भनी पद्मेलाई लिन पठाए पद्मे आएपछि सो दिनको रात परेपछि जनकबहादुरले कुराउनी पकायो र पद्मेले ज्वाहारी कोटको बगलीबाट धुलो पारेको विष बटुकाको कुराउनीमा हाली सानो छेस्काले चलाएर डाँटीलाई उठ खानेकुरा ल्याई दिएको छु भनी पद्मेले भन्यो डाटीले खाई र सुती वाक वाक गरी छाद्न थालेकोले पद्मेले मेरो घरको सानो कोदालोको पासो पटीबाट डाटी सुतिरहेको ठाउँमा दाहिनेपट्टी कञ्चटमा हान्यो अर्को चोटि हानेपछि कराउन छाडी कोराको खास्टोमा डाटीलाई बेरवार पारे भुलाएको खास्टोले पनि वेराबार पारे गोडा तलतीर टाउको मास्तिर पारेर डोकामा हाली पद्मेले बोकी लास लिएर गए भन्ने गाणेशकुमारीको ठाडो कागज ।
३. १९।६।१० गते बोलाउन आएकोले मलाई केही नभनी लोग्ने पद्मबहादुर गएका भोलिपल्ट ११ गते बाख«ा हुल्ने समयमा लोग्ने पद्मबहादुर र जनकबहादुर घर आएकोले आधा घण्टा जति बसी जनकबहादुर गए कहाँ गएको भनी सोधिन् अरु कुरा मलाई थाहा भएन डाटी मरे बाँचेकोसमेत थाहा छैन भन्नेसमेत पद्मेको स्वास्नी भगवतीको कागज ।
४. मकरध्वजले डाटीलाई विदेशमा भेटेको भन्नु भनी मलाई भनेको र जनकेको आमाले त्यस्तो बयान गरेकोले डाटीलाई पद्मे जनकेसमेतले मानिसले मारे मराएको शंका लाग्छ भन्ने नैनबहादुरको कागज ।
५. मकरध्वजको घर आउनु भनी बोलाउन पठाएकोले जाँदा किर्तिबहादुर भेट हुँदा मलाई पक्रने भयो माग्ने भए मकरध्वजलाई भनी दिनु भने २० गते बेलुका जनकबहादुर पद्मेलाई भेट्दा साँचो घरमा लगी देउ भनी दिएकोले घरमा साँचो दिई घर जान लाग्दा पक्री ल्याएको हो पद्मे जनके भागी हिंडेकोले निजहरू समेतका मानिसहरूले मारे मराएका शंका लाग्छ भन्ने गुणबहादुरको कागज ।
६. कुंलो जनकबहादुरको घरमा पुर्याई दिएको मौका कितारमिझार पनि त्यहाँ आई बसे म घरगएँ ११ गते श्राद्ध गरी चाहिने सामान लिई जनकबहादुरको घर जाँदा डाटी रहिनछ । हिजै गइसके भनेकीले सो कुरा पुर्टिलाई भनी घर गएँ डाटी जनकेको घरबाट बेपत्ता भएकीले निजको कर्तव्यबाट मारे मराएको शंका लाग्छ भन्ने नरबहादुरको कागज ।
७. जनकबहादुरले बोलाउन पठाएकोले जाँदा पद्मबहादुरलाई बोलाउन पठाएं पद्मेलाई भनेपछि निजको साथ जनकेको घर पुग्यौं डाटीसँग बेलाइति कुकुरसमेत थिए १ पटक म्वाई खाई घर फर्कें पौष ६–७ गतेतिर पुटीले पद्मेलाई बोलाउन तिमी हो भनी सोधेमा हो भने पुटि आफ्नो घरमा गई १०।१२ दिनपछि जनकेले पद्मेले डाकेको कुरा गरेछौं नभन्नु पर्ने भनेको डाटीलाई जनके पद्मेले मारे मराएको केही थाहा छैन भन्ने अखमबहादुरको कागज ।
८. म माघ १ गते घर आइपुगेको किर्तिबहादुर आई तिमी भर्खर देशबाट आएकोले डाटीबोग भन्ने जग्गामा देखेको छु भनीदिनु पर्यो भनेको नैनबहादुरले पनि डाटी रेलमा चढी जाँदै थिई भनी भनिदिनु पर्यो भनेकोमा भन्न सक्तिन भन्ने जवाफ गरे, नदेखेको कुरा लेखाई देउ भनेकोले डाटीलाई कर्तव्य गरी मारे मराएको शंका लाग्छ भन्ने भक्तबहादुरको कागज ।
९. गान्दुकबाट पौष २५ गते घर आई पुगको हुँ किर्तिबहादुरको मकरध्वजले डाटीलाई गान्द्रुकमा देखेको भनी सर्जमिन गरिदिनु पर्यो भनेका थिए सकिन भने भन्ने पद्मबहादुर कार्कीको कागज ।
१०. सबुद प्रमाण र सर्जमिनका मानिसहरूले पनि दर्खास्तका अभियुक्त मकरध्वज देवीध्वज, लोकध्वज, जनकबहादुर, पद्मे कार्कीले डाटीलाई मारे मराएको र मारेको देखि उजूर नगर्ने जनकबहादुरकी आमा गणेशकुमारी र ज्यान दवाउने कोशिस गर्ने किर्तिबहादुरसमेत उपर ज्यानसम्बन्धीका २५।२६ नं.ले मुद्दा चल्ने ठहर्याई गरेको का.मु.ई.तथा अ.प.पो.को प्रतिवेदन ।
११. डाटी मरेकी हुँदा जीवित छैन छोरा जनकबहादुरले कुराउनी पकाई बटुकोमा राखी पद्मबहादुरलाई दिए पद्मबहादुरको डाटीलाई दिई खाएपछि नाति रोएकोले नातिलाई लिई सुताउन लागें बुहारी आफ्नो कोठामा सुते जनकबहादुर पद्मबहादुर डाटीलाई कुरा गर्दै थिए डाटीले छादि वाक वाक गरेको सुनी भर्याङ्गको मुखबाट हेर्दा डाटी सुतेकी रहेछ सो ठाउँमै पद्मबहादुरले कोदालाले दाहिने कंचटबाट हानी कुटे यस्तो गर्नु हुँदैन भनी जनकबहादुरले पद्मबहादुरसँग झगडा गर्दा यसलाई मौका परे मारी दिनु भनी देवीध्वजले भनेकोले यस्तो गरेको हो भनी पद्मबहादुुरले भनेपछि निजलाई डोकोमा हाली पद्मबहादुरले बोकी लगे छोरा जनकबहादुरले कोदालो लिई कुकुर २ घिस्याउँदै लास लगेको ठाउँमा कहाँ लगी के गरे उज्यालो हुने टायम दुवै घर फर्की आएको देखेको हुँ नोटको विटा रुमालमा पोका पारी राखेकोबाट रू.५०। जनकबहादुरलाई हिस्सा दिई भुटेको च्याख्ला र काँचो मकैको च्याँख्लासमेत ।२।४ र २ माना घ्यूसहितको हर्पे सानो राडीको लम्पट पद्मबहादुरले लगे खाएको हुँ कुराउनीमा पद्मबहादुरले गोजीबाट झिकी अलिकति हाली घुस्नुको सिन्काले चलाई कपाल दुखेको औषधी भनी खुवाई दिएको सुतेकै अवस्था कोदालीले हिर्काई कर्तव्य गरी मारी दिएको हुँ कारण देवीध्वजले १५०० रुपैयाँ दिन्छु भनेको छ भनी पद्मबहादुरले भन्दा सुनेको हो भन्ने गणेशकुमारीको बयान ।
१२. कसुर गरेको छैन पद्मबहादुर टेकबहादुर, मोहनबहादुरसँग भनाभन भएको रिसले पोलाएको हो भन्ने किर्तिबहादुरको बयान ।
१३. डाटीले मसमेत उपर फौज्दारीमा रजहनिमा गरेको उजूर दायरै छ देवीध्वज बिरामी भएकोले आश्विन ९ गते डाटी गए नगएको थाहा छैन गेल्बुले जग्गा राजीनामा दिएबारे उजूरी परी जग्गा गेल्बुकै ठहरी फैसला भएकोले मकै भाँच्ने विषय झगडा भएको छैन डाटीलाई मार्न लगाउने विषय सल्लाह गरेको र मार्न लगाई दवाउन लगाएको र छोरालाई पठाएकोसमेत होइन भन्नेसमेत मकरध्वजको बयान ।
१४. डाटीलाई बेपत्ता पारे भन्नेबारे आएको डोरको विचार समेतले घुस मागेकोले बडाहाकिमबाट रुपैयाँ ल्याई पक्राउ गरेको सर्जमिनमा प्र.पं.को मित विचारीको बैनी ज्वाईं प्रोसिक्युटर भएको जालझेल गरी शंका देखाई सर्जमिन गरेको हुँ देवीध्वज दाजु भए पनि बोलचाल छैन आश्विन १० गते बाबु मकरध्वजले गर्ने श्राद्ध हुँदा गई बेलुकासम्म बसेको छु गेल्बुसँग जग्गा लिएमा डाटीले मसमेत उपर उजूर गरेको मुद्दा दायरै छ आश्विन ९ गते देवीध्वज वांती गएको छैन डाटीलाई पु.२ लगी मार्न लगाई लास दवाउने विषय सल्लाह भएको छैन भन्ने लोकध्वजको बयान ।
१५. आश्विन ९ गते देवीध्वज वाँती आएको छैन डाटी मरे जिएको र अहिले कहाँ छ थाहा छैन कर्तव्य गरी मारेको छैन जनकबहादुर र पद्मबहादुरको जग्गा मुद्दा परेबाट पद्मबहादुरलाई यसो नगरु भन्दा जालसाज गरी झुट्टा मुद्दा लगाएको हो भन्नेसमेत पद्मबहादुरको बयान ।
१६. आश्विन ९।१०।११ गते म र सासू घरमै छौं लोग्ने आश्विन ९।१०।११ मा थालचेमा थिए आश्विन ९ गते देवीध्वजसमेत मेरो घर गाउँमा आएको छैन दुहुना बस्तु नभएकोले डाटीलाई कुराउनी पकाई खान दिएको र पद्मबहादुरले कोदालोको पासोले कंचटमा हानी मारेको छैन सासुलाई सिस्नुले कुटी पिटी बयान गराएको भनी सासुले भनेको सुनेको हुँ भन्नेसमेत जनकबहादुरको स्वास्नी मानकुमारीको बयान ।
१७. १९।६।९।१० गते म बेमारी भएको अङ्खबहादुरलाई चिनेको छैन पद्मेसँग भेटघाट नभएकोले डाटी विषयको कुरा मलाई भनेको छैन आश्विन १० गतेबाट माघसम्म किर्तिबहादुरसँग भेटघाट र डाटी विषयको केही कुरा भएको छैन हामी अडर दिई डाटीलाई मारे मार्न लगाएको होइन यही उजुरवाला पुटी बेपत्ता भएमा गेल्बुले त्यम्बा सेर्पा उपर ज्यान बेपत्ता मुद्दा दिएकोमा पछि भेटाई दाखिल गरी सफाइ लिएको यिनीहरू यस्तै उजूरी दिई दुख दिने मानिस हुन् घुसदान नपाएकोले मनोमानिसँग प्रसिक्युटरले सर्जमिन तयार गराएछन् गणेशकुमारीलाई कुटपीट गरी सही गराए भन्ने थाहा भयो मनोमानी गरेको हुँ कुनै कसूर गरेको छैन भन्नेसमेत देवीध्वजको बयान ।
१८. आश्विन ११ गते पद्मबहादुरसँग भेटघाट भएको पनि छैन माघ ८।९ गते सुर्ती खरीद गर्न चिसापानी गौंडामा गएको मौका गान्तोकमा जेठान बिरामीको खबर पाई गान्तोक गई त्यहीं कुल्ली काम गरी बसी चैत्र १७।१८ गतेतिर जेठा माहिलालाई भेटी सोधी गर्दा जनकबहादुरलाई ज्यान मुद्दा लागि आमालाई पक्री लगे भनेबाट घर आउँदा रित्तो रहेछ मामालाई सोद्धा कुटपीट गरी कागजमा सही गराई पक्री लगे भन्ने सुनें २।३ दिन पछि डोर र भोटेनीसमेत भई डोरीले बाँधी झुक्याई के कागजमा हो जबरजस्ती सही गराई सर्जमिन गराई थाहा पाइन चरीकोटमा पनि सही गराए भनी आमाले भन्दा सुनें डाटीलाई मार्न सल्लाह गरेको र मसमेत भई मारेको लास दबाएको पनि छैन भन्नेसमेत जनकबहादुर कार्कीको बयान ।
१९. पञ्चायत छुटाउनेबारे काठमाडौं जान डाटी घरबाट हिंडिसकेपछि सिमको माहिला र कितार मिझार भेट्न आएको गइसके भनेबाट निजहरूले जनकको घरसम्म गई भेट गरेको सिमको माहिला पनि काठमाडौं जाने भन्ने सल्लाह भई साथै जाने कुरा गर्दा साथै जाने भएबाट कितार मिझारलाई चाँडै पठाई दिनु भनी खबर पठाई फेरि केही सामल बनाई सिमको माहिलाको सालाको साथमा पठाएको निज जाँदा हिजै गई भनी जनकेको आमा स्वास्नीले भनी दिएकोबाट १२।१५ दिनपछि फर्की आमाबाट सोधेमा उक्त व्यहोरा बताई भेट नभएको कुरा भनेबाट जनकेको घरमा गई सोधनी गर्दा देवीध्वज समेतका ४ जनाले घनले टाउकोमा हिर्काई मारी लिई गई भोलिपल्ट फर्की आई कसैसँग नभन्नु भनी चारै जना हिंडेका हुन् भन्ने जनकेको आमाले भनी भन्नेसमेत पुटी सेर्पेनीको बयान ।
२०. गणेशकुमारीको भनाईबाटै जनकबहादुर १९।६।१० गते घरै भएको देखिन आउँछ । गेल्बुबाट जग्गा लिएमा डाटीले मकरध्वजसमेतउपर रिस लिई रहेको देखिन्छ । जहाँ भेट््यो उहाँ खरानी छर्ने समेतका कारवाईहरू भएको देखिन आउँछ त्यस्तो बेइज्जत गरेमा रिसइवी पर्न आएका देखिन्छ । मकरध्वज देवीध्वज समेतले रु. १५००। जनकबहादुर पद्मबहादरलाई दिने भन्ने कुरा गणेशकुमारीको बयानबाट देखिएको हुँदा रुपैयाँको लोभ लालचा र ठूलोठालूको भनाईमा लाग्ने अवस्था परेको देखिन्छ इत्यादि कारणले लोकध्वजको षड्यन्त्रबाट जनकबहादुरको घरमा कुराउनीमा विष हाली खुवाई कोदालोको पासोले हिर्काई डाटीलाई मारी लास निजै जनकबहादुर पद्मबहादुरले लगी दवाएको ठहर्ने हुँदा ज्यान सम्बन्धीको १३ नं.को १।२ दफाबमोजिम सर्वस्व गरी जन्म कैद र देवीध्वज मकरजध्वजको हकमा ज्यान सम्बन्धीको १६ नं. ले कैद बर्ष ५ का दरले गर्ने र लोकध्वज किर्तिबहादुर गणेशकुमारी समेतले सफाई पाउने ठहर्छ भन्ने काठामाडौं विशेष अदालतको फैसला ।
२१. इन्साफमा चित्त बुझेन भन्ने जनकबहादुर, पद्मबहादुरको संयुक्त र देवीध्वज मकरध्वजको छुट्टै परेको पुनरावेदन पत्र ।
२२. लोकध्वजलाई सफाई दिने नमिल्ने किर्तिबहादुर गणेशकुमारीको हकमा पनि सफाई दिएबाट चित्त बुझेन भन्नेसमेत श्री ५ को सरकारको पुनरावेदन पत्र ।
२३. जनकबहादुर डाटीको घरमा मारिएको भन्ने गणेशकुमारीको बयान भएको छ अ.प्रो.क्यु.रिपोर्टमा पनि गणेशकुमारीको भनाइलाई साँचो ठानेको छ त्यसकारण गणेशकुमारीको कागज कुन हालतमा भएको भनी हेर्नु परेको छ । गणेशकुमारीको कागज १०।१०।२५ मा सरजमीन मुचुल्कामा २५।२६ गतेमात्र भएको छ । त्यसबाट गणेशकुमारीलाई सर्जमिनमा नराखी छुट्टै बयान गरेकोमा गणेशकुमारीले कत्तिको सावधानीबाट बयान गरेको हो विचार गर्नुछ फेरि पु.२ नं.र पु.३ नं.को तहकीकातले पनि भिन्दा भिन्दै मोड लिएको छ पूर्व ३ नं.तर्फको अभियुक्तलाई सफाई दिने पूर्व २ नं.तर्फको अभियुक्तलाई गडाउ गर्ने प्रकारका मुचुल्का छ अपराधको तहकिकातबारे ई.२ डोरमा तानातान गर्दै चलाएको कारवाईको अभियुक्त गणेशकुमारीको बयान हो बयान अदालतमा पनि भएको छ तर कागज बदर गराउन कारवाई उठाउन गणेशकुमारीले चेष्टा गरेको भए पनि सफल भएको छैन बयान प्रमाण मान्नै पर्यो बयान कस्तो हुन्छ यसको मूल्यांकन गर्दा गणेशकुमारीको बयानमा डाटीले छादेकी भन्ने भनाई छ । छाद्नाको कारण पद्मेले कुराउनीमा धुलो छर्केको कपाल दुखेको औषधी भनी खुवाएको त्यसपछि प्रहार गर्यो भनेको छ खाएको ठाउँमा आफ्नो अगाडि छाद्न थालेपछि नगिचै रहेको कुनै कुराले प्रहार गर्नु सम्भवै रहन्छ । पद्मे जनकेको परिवारसँग डाटीको मार्नु पर्नेसम्मको इवी छैन मार्ने नियत देखिएन केवल छाद्ने क्रिया रोक्नुको निमित्त तर्साउनु खातिर यस्तो प्रहार भएको भन्न सकिन्छ । देवीध्वजले मार्न लगाएको भनी गणेशकुमारीले पुटीसँग भनेको भन्ने भनाईमा त्यस कुराको प्रमाण केही छैन गणेशकुमारीको कागजमा यतिसम्म अनभिज्ञता प्रकट भएको छ कि लगेको डाटीको लास के भयो वा के गरे उनीलाई थाहा भएको भए त्यसको परिबन्ध लेखिन्यै थियो लास सडिसकेको भए पनि लुगाहरूमा रगतको चिन्हहरू देखाउन सक्नुपर्ने थियो यस्तो कच्चा अपुरो बयानको भरमा अरुको अरावट मानी पद्मेले चोट छाडेको भन्न हुँदैन । यसकारण यस्तो घटनामा मार्ने नियत नभएको तत्कालैमा कुनै रिस उठी मारेको पनि नभई केवल तर्साउन निमित्त पद्मेले चोट छाडेकोसम्म यो तहकीकातको नतिजा हुन सक्छ ज्यानसम्बन्धीको ३२ नं. का मुद्दा पद्मेउपर दायर हुन सक्ने हो प्रोसिक्युटर रिपोर्टमा ज्यान सम्बन्धीको २५।२६ नं.लगाई दावा गरेको पुग्न सक्तैन जनकबहादुर देवीध्वजको हकमा बचन दिने मार्न लगाउने कसूर प्रमाणित नभए पनि पद्मबहादुरको मुचुल्काबाट कुनै किसिमको मत सल्लाहमा पसेकोसमेत ज्यानसम्बन्धीको १७ नं.(३) को वाक्यांशको प्रयोग हुन सक्छ । त्यो भन्दा बढी ज्यानसम्बन्धीको २५।२६ नं. को कसूर भागी बन्नु भन्ने प्रोसिक्युटर रिपोर्ट र १९ आश्विनको वारदात भनेकोमा २० साल भाद्र १ गते लागू भएको मुलुकी ऐन ज्यानसम्बन्धीको १६ नं.साविक मुलुकी ऐनको तुलनासम्म पनि नदेखाई विशेष अदालतले प्रयोग गरेको गल्ती हो ज्यानसम्बन्धीको १७ नं.को (३) दफाबमोजिम हुन्छ पद्मबहादुरलाई ज्यानसम्बन्धीको ३२ नं.ले कैद बर्ष ३ जनकबहादुर, देवीध्वज, मकरध्वजलाई तजविजी सजाय कैद बर्ष २ समेत गर्ने ठहराएको ०२४।१।२१ को डिभिजन बेञ्चको फैसला ।
सो फैसलामा चित्त बुझेन दोहर्याई पाउँ भन्ने पुटी सेर्पेनीले चढाएको निवेदनपत्रको व्यहोरा श्री ५ महाराजाधिराज सरकारका हजुरमा जाहेर हुँदा व्यहोरा साँचो हो र एकपटक पनि फुल बेञ्चबाट दोहर्याई हेरी रुलनियमबमोजिम गरी निर्णय गरी दिनु भन्ने २५।११।५ को बक्स भई आएको हुकूम प्रमांगी ।
२४. बक्स भई आएको हु.प्र.बमोजिम गर्ना निमित्त निर्णयको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने तत्कालिन माननीय श्री प्रधान न्यायाधीशज्यूबाट भएको ०२५।६।२८।१ को आदेश ।
२५. उक्त डिभिजन बेञ्चको फैसला दोहर्याई पाउँ भन्ने प्रतिवादी मकरध्वज देवीध्वजहरूको निवेदन परेकोमा पुटी सेर्पेनीको निवेदन परी दोहरी सकेकोले उक्त उल्लिखित दोहरिएको मिसिल साथ राखिन पर्ने भनी न्यायिक समितिले सिफारिस गरेको श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा समितिको सिफारिसबमोजिम उक्त निवेदनहरू दोहरिएको मिसिल सामेल राख्नु भन्ने हुकूम बक्सेको छ भनी मौसुफको प्रमुख सचिवालय राजदरवारबाट ०२५।९।१८।४ मा लेखी आएको हुकूम प्रमांगी ।
२६. यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२८।७।३०+०२८।८।७।३+०२८।८।१०।६ मा पेश भई वादी पक्षबाट विद्वान सरकारी वरिष्ठ अधिवक्ता श्री जोगेन्द्रप्रसाद श्रीवास्तवले र प्रतिवादी पक्षबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतिले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा प्रतिवादीका विरुद्ध लागेको आरोप सावित ठहर्ने नठहर्ने के हो भन्ने प्रश्नको मुख्य निर्णय दिनुपर्ने हुन आएको छ ।
२७. उक्त निर्णयको लागि विचार गर्दा डाटी जनकबहादुरको घरमा मारिएको गणेशकुमारीबाट सुनेको भन्ने उजूरवाला पुटीको जाहेरी दर्खास्तबाट मुद्दाको कारवाई शुरुवात भएको जनकबहादुरकी आमा गणेशकुमारीेले गरेको बयानमा पद्मेले कोदालोको पासोलेसमेत हानी मारी जनकबहादुरसमेत भई लास खोला खर्कतर्फ लगे डाटीका साथमा कुकुर २ मारी घिसारी बाँसको झ्याङ् मुनी फाले भनी उल्लेख गरेकोबाट प्रतिवादी पद्म जनकबहादुर मकरध्वज देवीध्वज समेतलाई सजाय दिने डिभिजन बेञ्चले फैसला गरेको दखिन्छ ।
२८. रातको अवस्था घरभित्र वारदात भएको भनिएको हुनाले प्रत्यक्ष देख्ने मानिस धेरै जवान हुनु सम्भव नभएकोले गणेशकुमारीले वारदात भएको देखें भनी बयान गरेकोलाई प्रमाणमा मान्नु पर्ने अवस्था सामान्यतया हुन आउँछ र निज गणेशकुमारीले गरेको बयानमा कुनै शंकाजनक अवस्था छ छैन र वारदात कायम हुने किसिमका हुनुपर्ने लास इत्यादिका सबुदबाट समर्थित भएको छ कि छैन भन्ने कुराको छानविन गर्नुपर्ने अवस्था पर्न आउँछ । त्यसतर्फ विचार गर्दा गणेशकुमारीले सर्जमिन डोरमा गरेको कागजमा डाटी भोटेनी शेर्पा भोटे मैले नचिनेको र नरबहादुर कार्कीसमेत दिनको ८।९ बजे घरमा आए पनि लेखेको बयानमा दिनको बिहान अलिकति घाम आएपछि दौरा सुरुवाल लगाएका २ जना शेर्पा भोटे आए भन्ने लेखेको सर्जमिन डोरमा कुराउनीमा पद्मेले के हो हाली खानदिए डाटीले खाएपछि म नातिलाई लिई तलामा सुत्न गएँ म निदाएकी थिइन । डाटीले वाक वाक गरी छाद्न थालिछ के भयो भनी म तल झरें नाति ब्युँझी रुन लागेकोले फेरि माथि सुतेपछि तल आउँदा पद्मेले मेरो ठाडो कोदालोको पासो पटिबाट सुतिरहेको डाटीको दाहिने कंचटमा हन्यो ऐया भनी अर्को चोट फेरि हाने पनि कराउन छाडी के गरेको भनी मैले भन्दा मकरध्वज देवीध्वज लोकध्वजलाई गाली गर्ने नरक खुवाउने बदमास भएकीले मौका परे बिताई दिनु १५००। दिउँला भनी देवीध्वजले भनेकोले यो काम गरेको भनी पद्मेले भन्यो भन्ने लेखेको अदालतका बयानमा डाटीले कुराउनीलाई म नाति लिएर सुत्न गएँ डाटीले छाद्न थालेपछि भर्याङको मुखबाट हेर्दा सुतेकी डाँटीलाई पद्मेले कोदालोको पासोले कञ्चटमा कानी कुटेपछि डाटी बोलिन किन यस्तो काम गरेको भनी जनकेले पद्मेसँग कलह झगडा गरेको थियो भन्ने उल्लेख गरेकीले अदालतको बयान र डोरमा गरेको कागजमा लेखिएबमोजिम कुराहरू फरक परेको देखिन्छ । निज गणेशकुमारीबाट वारदातको कुरा जानी थाहापाई जाहेर गर्ने भनेकी उजूरवाली पुटीले देवीध्वज र १ जना लाठे मेरा घरमा छिंडीमा लुकी राखेको थियो डाटीले कुराउनीलाई नसक्तै पद्मेको घरबाट लिई आएको फलाम चुट्ने घनले देवीध्वजले डाटीलाई हिर्काई गिदी नै निस्की मरी लाखौं करोडौ खर्च गर्नु परेपनि गर्छु भनी देवीध्वजले भन्थ्यो लासको टाउको काटी वा आमालाई देखाउन लैजानु पर्छ भनी भन्थ्यो भन्ने कुरा गणेशकुमारीले भनेकाबाट थाहा पाएं भनी पुटीले बयान गरेकी देवीध्वजलाई चिनेकै छैन भन्ने गणेशकुमारीको बयान भएकोले निज गणेशकुमारी र पुटीको भनाईमा मुख्य वारदातमा चोट छोडेको औजार र चोट छोड्ने मानिस भनिएकोमा नै विभिन्नता देखिन आउँछ ।
२९. आश्विन ९ गते देवीध्वज पूर्व २ नं.वाति गई बसेको १० गते डाटी गएकी भन्ने पुटीले उल्लेख गरेकी नरबहादुर कार्की कितार मिझार अङ्खबहादुरका लेखाइबाट देवीध्वज बाति जनकेको घरमा आएको भन्ने नदेखिएको र वारदात देख्ने भनेकी गणेशकुमारी र गणेशकुमारीबाट वारदातको खबर पाउने पुटीको भनाई तथा वारदात भयो भनेका रातिको अघिल्लो दिन जनकेको घरमा पुगेको जान्न भनेका कितार मिझार नरबहादुर कार्की अङ्खबहादुर समेतका लेखाईमा पनि गणेशकुमारी तथा पुटीको लेखाई मिलान नदेखिएको हुनालेसमेत निज गणेशकुमारीको भनाईलाई नै मुख्य आधार मानी प्रतिवादीहरूलाई मारिएको गणेशकुमारीको भनाई देखिन आयो ।
३०. कर्तव्य ज्यान मुद्दामा हुनुपर्ने कर्तव्यको व्यहोरा मिलानको लासजाँच वारदात भएको ठाउँको प्रकृति प्रयोग गरिएका औजार हतियार मर्नेले लगाएको लट्टी पट्टि बरामद हुनुसमेत आवश्यक हुनेमा मरेकी डाटीले लास खोला खर्कतर्फ लगे मरेका कुकुर बाँसको झाङमा फ्याँके भनी गणेशकुमारीले मौका सर्जमिनमा लेखी दिएपछि सो बाँसको झ्याङ भनेको ठाउँमा कुकुरको लास र खोलाखर्क भन्ने ठाउँमा डाटीको लास खोजी पत्ता लगाई गर्नुपर्ने सो काम मौका सर्जमिनबाट केही भएको देखिएन ।
३१. वारदात भनेका बखत सो घरमा गणेशकुमारीकी वुहारी जनकबहादुरकी स्वास्नी पनि महजुदै भएकी वारदात देखेकी भन्ने गणेशकुमारीले उल्लेख गरेपछि तत्कालै निजको पनि कागज वयान गराउनु पर्ने सो गराएको देखिँदैन अदालतबाट झिकाई बुझ्दा वारदात भए गरेकै होइन सासू गणेशकुमारीको पनि ईच्छा विरुद्ध कागज गराएको भनी वयान गरेको र गणेशकुमारीले पनि मेरो खुशीराजीले कागज गरेको होइन जवरजस्ती जोर जुलुम साथ कागज गराएको भनी निवेदन दिएको देखिन्छ ।
३२. बुझिएका सर्जमिनमा पुर्व ३ नं.तर्फका सर्जमिनले प्रतिवादी उपर गडाउ केहि गरेको देखिँदैन पुर्व २ नं.तर्फका सर्जमिनले गणेशकुमारीका भनाईबाट शंका गरी लेखेको देखिन्छ त्यस्तो लेखाईलाई भरपर्दो सवुद भन्न मिल्दैन ।
३३. जनकबहादुरको घरबाट युं खसेको औंठी वरामद गरेको भनिएको छ औंठी डाटीको हो भन्ने कुनै प्रमाण छैन औंठीबाट खसेको युंनै हुन्छ भन्ने पनि तर्क गर्न मिल्दैन युं र युं जस्तै अरु कुनै चिज जडाउ भएको खसेको हुन सक्छ ।
३४. पुटीले निवेदनमा डाटी विहान भात नखाई गएकी सामानहरू पठाईदिनु भनेको भन्ने लेखेकि र वयान गर्दा सामान बोकाई लगेको बीचबाट बोक्ने मान्छे फर्काएको भन्ने उल्लेख गरेकी छ डाटीका साथको अरु लुगाफाटा र सरसामानहरू कहाँ गयो के भयो सो को पनि कुनै दशि प्रमाण प्राप्त भएको देखिँदैन ।
३५. तसर्थ प्रतिवादीहरूले डाटीलाई कर्तव्य गरी मारे मराएको भन्ने कुराको गणेशकुमारीको लेखबाहेक अन्य कुनै तथ्य सबूद प्रमाण केही देखिन नआएको गणेशकुमारीको भनाई माथि लेखिएबमोजिम कुरा फरक परी प्रमाणमा लिन शंकायुक्त देखिएको हुनाले लाससहित अन्य सबूद नपाइएको गवाहीको लेख बयान शंकारहित हुन बेगर प्रतिवादीहरूले कसूर अपराध गरेको भनी ठहराउन र सजाय दिन न्यायसंगत भएन, कसूर ठहराई सजाय दिने गरेको काठमाडौं विशेष अदालतको ०२१।५।१३।६ को र डिभिजन बेञ्चको ०२४।१।२१।५ को फैसला मिलेको नदेखिँदा अरु तपसीलबमोजिम गर्नु ।
तपसील
प्रतिवादी पद्मबहादुर कार्की जनकबहादुर कार्की देविध्वज वस्नेत मकरध्वज वस्नेत समेतलाई काठमाडौ विशेष अदालतको ०२१।५।१३।६ को फैसलाले गर्ने गरेको सजायको लगत ०२४।१।२१।५ को डिभिजन बेञ्चको फैसलाले कट्टा गर्ने गरिसकेको र उक्त डिभिजन बेञ्चका फैसलाले गर्ने गरेको कैद सजायको हकमा निज प्रतिवादीहरूले भुक्तान गरेको कैदमा कट्टि मिनाहा गर्ने गरी छाडी दिई सकेको भई छुट्टै लगत वाँकी नदेखिंदा केहि गर्नु परेन १) (प्रतिवादी जनकबहादुर कार्की, पद्मबहादुर अंश रोका भई रहेको ईन्साफ सदर भई आएपछि लिलाम गरी स्याहामा आम्दानी बाँध्नु भनी काठमाडौ विशेष अदालतको ०२१।५।१३।६ को फैसलाबमोजिम लगत दिएकोमा सो अनुसार गर्नु पर्दैन निजहरूको रोका रहेको अंश सर्वस्व कानूनबमोजिम फुकुवा गरी दिनु भनी सम्बन्धित रामेछाप जिल्ला अदालतलाई लेखी पठाउन कानूनबमोजिम लगत दिनु २) (काठमाण्डौ विशेष अदालतको ०२१।५।१३।६ को फैसलामा देविध्वजको अंश रोका रहेको फुकुवा गरी दिने लोकध्वजबाट रु. २०००। किर्तीबहादुरबाट रु. २००। धरौट रहेको फिर्ता गरी दिने गरेको कार्यान्वीत गर्न समेत शुरु मिसिल उक्त विशेष अदालतमा पठाई नियमबमोजिम रेकर्ड मिसिल बुझाई दिनु ३ ।
प्र.न्या. रत्नबहादुर बिष्ट,
न्या. विश्वनाथ उपाध्याय
उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।
इति सम्वत् २०२८ साल मार्ग १७ रोज ९ शुभम् ।