शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७७२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: १५ साल: २०३० महिना: बैशाख अंक:

निर्णय नं. ७७२     ने.का.प. २०३०

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०२९ सालको रिट नम्बर ९८४

आदेश भएको मिति : २०३०।६।७।१ मा

निवेदक : जि.सप्तरी पक्री गाउँ पं.वार्ड नं.३ बस्ने उमेशप्रसाद सिंह राजपुत

विरूद्ध

विपक्षी : ऐ.प्र.मकौवा गा.पं.झुटकी मौजे ऐ.बस्ने सिताराम यादवसमेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)   बाली भराई पाउँ भनी दावी भएको मुद्दा अ.बं.८२ नं.लगाई भूमिप्रशासकले खारेज गरेको अधिकारक्षेत्र भन्दा बाहिरको विषयमा निर्णय गरेको देखाई बदर हुने ।

      माथि उल्लेख भए बमोजिम मोही सिताराम यादवले २०२४ सालको बाली नबुझाएकोले बाली भराइपाउँ फिराद दायर गरेको जग्गाधनीले सप्तरी जिल्ला अदालतमा फिराद दायर गरेकोछ । मोहीले बाली बुझाएन बाली बाँकी राखेकोले मोहियानी निष्कासन गरिपाउँ भनी मोही निष्कासन गराई माग्नका लागि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ (१) अन्तर्गत पर्न आउने उजूरी भूमिप्रशासक समक्ष र सो बाहेक शुद्ध बाली भराई माग्नका लागि दिनुपर्ने नालेस भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ (क) अन्तर्गतको भई भूमिप्रशासकले हेर्न सुन्न पाउने गरी तोकिएको नहुनाले उक्त नियममा तोकिएदेखि बाहेक भू.सं.ऐन, २०२१ को दफा ६३ ले प्रचलित कानून बमोजिम हुने हुँदा प्रचलित कानूनले सम्बन्धित जिल्ला अदालतले हेर्ने सुन्ने व्यवस्था भए अनुरूप नै निवेदकको फिराद सप्तरी जिल्ला अदालतमा दायर भएकोमा जिल्ला अदालतले पठाई दिएको उक्त मुद्दा अनाधिकृत अधिकार ग्रहण गरी भूमिप्रशासनले निर्णय गरेको विवादमा आएको निर्णयबाट देखियो । अतएव बाली भराई पाउँ भन्ने वादी दावी भएको मुद्दा अ.बं.८२ नं.लगाई भूमिप्रशासकले खारेज गरेको अधिकारक्षेत्रभन्दा बाहिरको विषयमा निर्णय गरेको देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ वादी दावी पुग्ने नपुग्ने के हो ? कानून बमोजिम निर्णय हुनका निमित्त उक्त मुद्दाको मिसिल सप्तरी जिल्ला अदालतमा पठाई दिनु भन्ने विपक्ष भूमिप्रशासन कार्यालयका नाउँमासमेत परमादेशको आदेश जारी गरी दिने ठहर्छ । यो आदेशको प्रतिलिपि विपक्षी कहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

(प्रकरण नं. ६)

निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कुन्ज विहारीप्रसाद सिंह

विपक्ष तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता शोभाकर पाध्या

आदेश

     न्या. वासुदेव शर्मा

      १.     नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरी विपक्षी भूमिप्रशासन कार्यालय सप्तरीले गरेको निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति २०२९।८।६।३ मा दर्ता भएको रहेछ ।

      २.    रिट निवेदन सम्बन्धी तथ्य संक्षेपमा यसप्रकार छन् : मेरो नाउँको झुटकीको जग्गा विगाहा १० एक विगाहा छ कठ्ठा जग्गाको २०२४ सालको बाली नदिएकाले विगाहा १ को धानमा ३० तिसका दरले भएको उब्जनी धनी फाँट धान मन १९।। साँढे उन्नाइसको धान मन १ को रू.४० चालिसका दरले हुने मूल्य रू.७८०। र लार परालको मोल रू.१२०। समेत जम्मा रू.९००। प्रतिवादीबाट भरी पाउँ भनी निवेदकको बाबु प्रभु सिंहले सप्तरी जिल्ला अदालतमा २०२५ साल बैशाखमा फिराद दायर गरेकोमा प्रतिरक्षी सिताराम यादवले प्रतिउत्तर दिँदा वादीको मोही होइन ठाकुरप्रसाद सिंहको जग्गा विगाहा ११०० एक विगाहा दश कठ्ठाको जोताहाको अस्थायी निस्सा पाएको छ वादी दावी खारेज गरिपाउँ भनी जिकिर लिएको रहेछ । उक्त मुद्दा सप्तरी जिल्ला अदालतबाट भूमिप्रशासन कार्यालय सप्तरीमा सरी आएकोमा प्रतिरक्षी भूमिप्रशासकले निर्णय गर्दा म मोही होइन भन्ने प्रतिवादी प्रतिउत्तरपत्रमा उल्लेख भएको र कार्यालयमा रहेको मोही रिकर्डसमेत हेरी प्रतिवादी ठाकुरप्रसाद सिंको जग्गा विगाहा ११०० को मोही देखिएको वादीको जग्गामा मोही लेखाएको नेदेखिएकोले वादीले प्रतिवादी उपर बाली भरी भराउ गरिपाउँ भनी फिराद गर्ने अवस्था नदेखिएकाले अ.बं.८२ नं. बमोजिम खारेज हुने ठहर्छ भनी निर्णय गरेको बदर गरिपाउँ भनी निम्न प्रकारको जिकिर लिँदै प्रस्तुत रिटको निवेदन पर्न आएको छ ।

      निवेदन लेख जिकिर निम्न प्रकारका छन् :

(१)    कित्ता नं.२४ को जग्गा विन्देश्वरीप्रसाद सिंहबाट बकसपत्र पाएको सो लिखत रजिष्ट्रेशन पारित भएको छ । उक्त जग्गाको ७ नं.फाराम भरी निवेदकले भू.सु.कार्यालयमा दाखिल गरेको त्यस्तो कार्यालयमा रहेको सबूद नहेरी निर्णय गरेको अनुचित र गैरकानूनी हो ।

(२)   कि.नं.२४ को जग्गाको स्वामी निवेदकलाई मान्दै आफू मोही भएको कुरा स्वीकार गरी बाली निवेदकको कारिन्दा चुहाईलाई बुझाएको भन्ने विपक्षीको प्रतिवादी भएकोमा ठाकुरप्रसादको जग्गा कमाएको भनी उल्लेख गरेकोमा अ.बं.१३९ नं. बमोजिम ठाकुर प्रसादलाई नबुझी अनाधिकार व्यक्ति जग्गाधनी कायम भएको छ सो कानूनी त्रुटि हो ।

(३)   निवेदकको जग्गाको सम्बन्धमा विपक्षी मोहीले ४ नं.जो.अ.नि.लिँदा जग्गाधनीमा अरूको नाम लेखाउँदैमा जग्गामा निवेदकको हक जाने होइन । यो जग्गामा ठाकुरप्रसाद सिंहको कुनै हक छैन । निवेदकलाई अ.बं.१८० नं.लगाई जरिवाना गरेको अवैध छ । अतएव खारेज गर्ने निर्णय गरेको बदर गरी निवेदकको हक प्रचलन गरिपाउँ ।

      ३.    विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको मिति ०२९।१०।१।१ को आदेश । उक्त आदेशअनुसार प्रतिरक्षी भूमिप्रशासन कार्यालय तथा प्रतिरक्षी सितारामसमेत लिखितजवाफ प्राप्त हुन आएको रहेछ । लिखितजवाफ जिकिर निम्न प्रकारका छन् :

(१)    निवेदकको जग्गाको स्वामी यस कार्यालयको निर्णयले ठाकुरप्रसाद सिंहलाई ठहराएको  छैन । जसको नाउँमा मोही लेखाएको रेकर्डबाट देखिन्छ त्यसैलाई जग्गाधनी मान्नुपर्ने हुँदा र सिताराम यादवले मोही लगत लेखाई नियम ६ बमोजिम प्रकाशित भएको २ नं.लगतको म्याद ३५ दिनभित्र रिट निवेदक र ठाकुरप्रसाद सिंहसमेतले उजूर नगरी अकाट्य भइसकेको लगतको आधारमा निर्णय गरिएको हो । अ.बं.८२ नं. बमोजिम मुद्दा खारेज भएपछि अ.बं.१८० नं. बमोजिम वादीलाई सयकडा ५। का दरले भएको जरिवाना रू.४५। अवैध छ भन्ने निवेदकको जिकिर गलत हो । प्रचलित कानून विपरीत निर्णय भएको छैन । त्यसैले रिट निवेदन खारेज हुने हो भन्ने भूमिप्रशासन कार्यालय सप्तरी राजविराज र,

(२)   निवेदकको जग्गा मैले अधिया बटैयामा जोतेको छैन जोतेको भए मेरो जो.अ.नि.मा विपक्षीको नाम हुनुपर्ने सो नभई जग्गाधनी ठाकुरप्रसाद सिंहको नामको जग्गा मैले बटैयामा कमाई जो.अ.नि.प्राप्त गरेको छु । सो जग्गाको बाली निजको कारिन्दा चुल्हाइ लाई पञ्चायतका सामुमा बुझाएको छ भन्नेसमेत व्यहोराको प्रतिउत्तर परेको थियो । एकै मानिसका नाउँको जग्गामा अर्को उनाउ मानिसको उजूरबाट निर्णय दिन नहुने भनी ठहराई मुद्दा खारेज गरेको मनासिवैको कुरा हो भन्ने सिताराम यादवको लिखितजवाफ ।

      ४.    तारेखमा रहेका निवेदकका वा.दिनेश्वरप्रसाद सिंहलाई रोहवरमा राखी पेश हुन आएको प्रस्तुत केशमा निवेदककातर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह र विपक्षी भूमिप्रशासन कार्यालयका तर्फबाट खटिई उपस्थित हुनु भएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री शोभाकर उपाध्यायले गर्नु भएको बहससमेत सुनी निर्णय विचार गर्दा निवेदकका माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनु परेको छ ।

      ५.    मोटी सिताराम यादवले २०२४ सालको बाली नबुझाएकोले बाली भराई पाउँ भनी निवेदकको सप्तरी जिल्ला अदालतमा फिराद दायर भएकोमा विपक्षी सिताराम यादवकोसमेत प्रतिवाद परी कारवाही चलेको बाली मुद्दामा सप्तरी जिल्ला अदालतले भूमिप्रशासन कार्यालयमा पठाई दिएको मिति २०२९।३।८।४ मा निर्णय हुँदा प्रतिरक्षी सिताराम यादव जग्गाधनी ठाकुरप्रसाद सिंहको जग्गा विगाहा ११० को मोही देखिएको वादीको जग्गामा मोही लेखाएको नदेखिएकोले वादीले प्रतिवादी उपर बाली भराउ गरिपाउँ भनी फिराद गर्ने अवस्था नदेखिएकाले अ.बं.८२ नं. बमोजिम खारेज हुने ठहर्छ भनी निर्णय गरेको देखियो ।

      ६.    माथि उल्लेख भए बमोजिम मोही सिताराम यादवले २०२४ सालको बाली नबुझाएकोले बाली भराई पाउँ फिराद दायर गरेको जग्गाधनीले सप्तरी जिल्ला अदालतमा फिराद दायर गरेको छ । मोहीले बाली बुझाएन बाली बाँकी राखेकोले मोहियानी निष्कासन गरिपाउँ भनी मोही निष्कासन गराई माग्नका लागि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ (१) अन्तर्गत पर्न आउने उजूरी भूमिप्रशासक समक्ष र सो बाहेक शुद्ध बाली भराई माग्नका लागि दिनुपर्ने नालेस भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ (क) अन्तर्गतको भई भूमिप्रशासकले हेर्न सुन्न पाउने गरी तोकिएको नहुनाले उक्त नियममा तोकिएदेखि बाहेक भू.सं.ऐन, २०२१ को दफा ६३ ले प्रचलित कानून बमोजिम हुने हुँदा प्रचलित कानूनले सम्बन्धित जिल्ला अदालतले हेर्ने सुन्ने व्यवस्था भए अनुरूप नै निवेदकको फिराद सप्तरी जिल्ला अदालतमा दायर भएकोमा जिल्ला अदालतले पठाई दिएको उक्त मुद्दा अनाधिकृत अधिकार ग्रहण गरी भूमिप्रशासनले निर्णय गरेको विवादमा आएको निर्णयबाट देखियो । अतएव बाली भराई पाउँ भन्ने वादी दावी भएको मुद्दा अ.बं.८२ नं.लगाई भूमिप्रशासकले खारेज गरेको अधिकारक्षेत्रभन्दा बाहिरको विषयमा निर्णय गरेको देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ वादी दावी पुग्ने नपुग्ने के हो ? कानून बमोजिम निर्णय हुनका निमित्त उक्त मुद्दाको मिसिल सप्तरी जिल्ला अदालतमा पठाई दिनु भन्ने विपक्ष भूमिप्रशासन कार्यालयका नाउँमासमेत परमादेशको आदेश जारी गरी दिने ठहर्छ । यो आदेशको प्रतिलिपि विपक्षी कहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०३० साल आश्विन ७ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु