निर्णय नं. ६८८ - बिगो भराई चलन चलाई पाउँ

निर्णय.नं. ६८८ ने.का.प. २०२९
फुलबेन्च
माननीय न्यायाधीश श्री रंगनाथ उप्रती
माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहह
माननीय न्यायाधीश श्री झपटसिंह रावल
सम्वत् २०२१ सालको दोश्रो डिभिजन दे.फु.नं. २५४
फैसला मिति : २०२७।९।२४।६ मा
निवेदक : ल.पु.ई. जाउलाखेल बस्ने मीनादेवी राणा, विनोदशम्शेर ज.व.रा.समेत
विरुद्ध
प्रतिवादी : ऐ.ऐ.घर भई हाल भारत बम्वे बसन्धारा वार्डन रोड बस्ने मे.ज.शान्तशम्शेर ज.व.रा. समेत
मुद्दा : बिगो भराई चलन चलाई पाउँ
(१) विदेशी कम्पनी तथा बैंकमा रहेको शेयर, फिक्स डिपोजिट, डिबेञ्चर इत्यादी चल सम्पत्तिका विदेशी कानूनअन्तर्गत सिर्जना भई विदेशमै रहेको र विदेशमै हस्तान्तरण भएकोमा अचल सम्पत्ति सर हुने मान्नुपर्ने ।
(२) नेपालको अदालतले विदेश स्थित उक्त सम्पत्तिका बारेमा निर्णय दिई कार्यान्वित गराउन नमिल्ने ।
(३) चलतर्फ वादीको हक सम्ममा नेपालको अदालतबाट निर्णय दिई ठहराउनु पर्ने, ठहरे जति नेपाल स्थित प्रतिवादीका सम्पत्तिबाट दिलाउनु भराउनु नेपालका अदालतको अधिकार क्षेत्रभित्र पर्दैन भन्न नमिल्ने ।
उपरोक्तबमोजम वादी दावी लाग्न सक्ने भई निर्णयात्मक पक्षमा यो मामिला पुगेको हुनाले निर्णय दिने हकमा वादीले दावी गर्दा नेपालको अचल सम्पत्ति तथा भारतको अचल सम्पत्ति र कम्पनी र बैंकहरुको शेयर फिक्स डिपोजिट डिवेन्चर नगदी गरगहना इत्यादीको दावी लिएको देखिन्छ । नेपालको अचल सम्पत्ति पनि वादीले लेखेको जति अघि नै अरु अरुका नाममा गइसकेको र विदेशमा रहेको अचल सम्पत्ति र कम्पनी तथा बैंकमा रहेका शेयर फिक्स डिपोजिट डिबेञ्चर ईत्यादी चल सम्पत्तिका हकमा त्यस्को सिर्जना विदेशी कानून अन्तर्गत भई विदेशमा नै रहेको र विदेशमा नै हस्तान्तरण भएको त्यस्तो चल सम्पत्ति पनि अचल सम्पत्ति सरह नै मान्नु पर्ने हुँदा उक्त चल पनि जुन देशमा सो सम्पति रहेको छ सोही देशको कानूनबमोजिम उसै देशका अदालत वा सम्बन्धित क्षेत्रमा उजूर दावी गरी आफ्नो हक गराई लिनु पर्ने हुनाले वादीले सो बमोजिम गरी लिनु पर्छ । नेपालको अदालतले सो विदेश स्थित उक्त सम्पत्तिका बारेमा निर्णय दिई कार्यान्वित गराउन नमिल्ने हुनाले त्यसतर्फ नेपालको अदालतको कार्य क्षेत्र भित्र नपर्ने भनी र नेपालको अचल सम्पत्ति भनी लेखेको पनि अरुहरुका नाममा श्री जुद्धशमशेर छँदैका बखत गइसकेको र श्री ३ जुद्धशमशेरको आखिरी अवस्थाको सम्पत्ति नभएकाले त्यसतर्फ समेत अघिल्लो फुलबेन्चले खारेज गर्ने गरेको मिलेकै देखियो । श्री ३ जुद्ध देहावसान हुने अवस्थामा वहाँका साथमा रहेको अरु नगदीसमेत चल सम्पत्तितर्फ अघिको फुलबेन्चले स्पष्टतया उल्लेख नगरी विदेशमा रहेका अचल सम्पत्तिका विषयमा नेपालको अदालतको क्षेत्रधिकारको विवेचना गर्दै वादीको दावी खारेज गर्दा चलमा पनि खारेजै गरिएको अघिल्लो फुल बेञ्चको मिलेको देखिएन । त्यस्तो चलतर्फको हकमा श्री ३ जुद्ध शमशेरको मृत्युवाद प्रतिवादीकी माता गम्भीरकुमारीका हात पर्न आएको गम्भीरकुमारी परलोक भएपछि गम्भीरकुमारीका हक खाने छोरा प्रतिवादीहरु नेपालमा घरबास भएका व्यक्ति उपर नेपालकै नागरिक वादीले नेपालको अदालतमा नालिस गरेको र दुवै पक्षले निर्णय लिन नेपालको अदालतमा समर्पित गरेको मुद्दा हुँदा उक्त चलतर्फ वादीको हक सम्ममा नेपालको अदालतबाट निर्णय दिई दिलाउनु भराउनु पर्ने ठहरे जति नेपाल स्थित प्रतिवादीका सम्पत्तिबाट दिलाउनु भराउनु नेपालको अदालतको क्षेत्राधिकार भित्र पर्दैन भन्न मिलेन ।
(प्र.नं. १५)
निवेदक वादी तर्फबाट : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी,
निवेदक प्रतिवादीतर्फवाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे, अधिवक्ता मधुप्रसाद शर्मा,
उल्लिखित मुद्दा :
फैसला
न्या. झपटसिंह रावल
१. खसम राजर्षि श्री ३ महाराजा जुद्ध शमशेर राजपाठ छोडी रिडी सवारी हुनालाई श्री ५ बक्साई सवै रानी छोरालाई ९५ सालमा बण्डापत्र गरी छुट्याई राखी आफूसाथमा म र म बाट ९९ सालमा जन्मेका छोरा विनोद शमशेरलाई अरु रानी छोरा सरह अंश दिन बक्सेको नहुँदा साथैमै रहेकी हुँ बिनोद शमशेरलाई ०२।९।१८ का खड्गनिसाना बमोजिम कौशीबाट बर्ष १ को भा.रु. ८०००। भत्ता ठेकिएको ०७ साल सम्म खाई रहेका, खारेज भएपछि नपाएको, ०९ साल मार्ग ८ गते खसम स्वर्गे होई बक्सेपछि काजक्रिया गरी देहरादूनमा बसेको थिएँ । अन्यायावालाहरुले ०९ साल फाल्गुणमा नेपाल सवारी होस् भनी भनेकाले इज्जत सम्झी नारायण भवनमा वसेकी हुँ हक लाग्ने श्री सम्पत्ति विगो कसी नालिस गर्नालाई श्रेस्ता कागज पत्र केही नहुँदा श्रेस्ता गर्ने मि.सु.हरिभक्त समेतका नाउँमा नालिस गरेकोमा निज हरिभक्तले दाखिला गरेको फाँटवारी नक्कल समेत लिई नालिस गर्न आएको छु । देखाएको चल अचल नगद जिन्सी सुन चाँदी गैह्रको विगो जम्मा रु. २ करोड ७९ लाख ६३ हजार ९ सय ५४ को श्री सम्पत्ति हक नपुग्ने अन्यायवालाहरुले कव्जा गरी लिई खाई रहेको अंशको कुरा हुँदा अन्यायवालाहरुको जायजेथा ऐन बमोजिम रोक्का गरी नेपालको पहाड मदेशको घर जग्गा जति अड्डैबाट चलन पाउँ विदेश भारततर्फ समेतमा परराष्ट्र मार्फत लेखापढी गरी रोकी चलन पाउने प्रबन्ध मिलाई दिलाई भराई चलन समेत चलाई पाउँ भन्नेसमेत ०१४।८।१६ को मीनादेवी विनोदशमशेरको फिरादपत्र ।
२. ९५।५।२६ मा हामीहरुको बण्डा छुट्याइ सकेपछि मात्र वादी स्वास्नी बन्न आउनु भएको भन्ने बण्डापत्रबाट र वादी लेखवाट समेत देखिने र हाम्रा हकको सम्पत्ति कान्छा महारानीले खाई दिए र वहाँपनि स्वर्गे भई सकेको हुँदा छोराहरुबाट पाउँ भन्ने कुराको राजर्षि महाराज स्वर्गे भएको ०९ साल मार्ग ८ गतेले अपुतालीका २५ नं.वमोजिममा ३ बर्ष नाघी सकेपछिको यो उजूर भएकोले उजूर दायरै हुन नसक्ने र उसमा पनि भारतमा भएको श्री सम्पत्ति कान्छा महारानीले बक्स पाएको भन्ने कुरा वादीले आफ्नु नालिसमा लेख्नु भएपछि सो बकसपत्र बदर गरी पाउँ भन्ने म्यादभित्रको दावा बेगर यो नालिस कसरी लाग्ने फेरि ९५।५।२६ का खड्गनिसाना बण्डापत्रमा मैले आफूलाई राखेको श्री सम्पत्ति गैह्र म आफूखुस गर्ने छु त्यसमा कसैले हस्तक्षेप गर्न पाउने छैन बाँकी रहृयो भने रहेका भाग बमोजिम वाँडी खानू भन्ने व्यहोरा लेखिएको त्यसवाट सवै सम्पत्ति बक्स भई सकेपछि मात्र स्वास्नी पुत्र हुन आएकोले अघि दिएको वक्सपत्र बदर गराउन नसके सम्म दावा नै नपुग्ने वादीको हक लाग्ने थियो भने बक्स दिएकै अवस्थामा नै भारतको अदालतमा नालिस गर्न सक्नु पर्ने वादीले दावा गरेको सम्पत्ति तथा लिखत पत्र समेत भारत मै भएको त्यसमाथी लिने पाउने दुवै स्वर्गे भई सकेको अवस्थामा नालिस लाग्न नसक्ने र नेपालकै ऐनले पनि बक्स पाई भोग गरेको कैयौं बर्ष पछि दान दातव्यको १५ अ.बं. को ६३ नं.समेतले यो नालिस लाग्न नसक्ने र चल सम्पत्तिको हकमा राजर्षि महाराजा स्वर्गे भै वक्सँदा दान प्रदान र मुमाज्यूले आफू सजिव छदाँ बक्स इनामका रुपमा ईच्छा माफिक उठाई बक्सेको भई वादी दावाको सुनाचाँदी ज्वाहारात लगायत चल सम्पत्ति हामीले लिए पाएको छैन वादीले राजर्षि महाराजा साथैमा जान मञ्जुर नगरेकाले वहाँहरुलाई आश्रय वा जिविका जे भनेपनि दिन इच्छा गरी वक्से जति नगदीकै रुपमा बक्स भई संरक्षक स्वरुप वनाउनु भएका श्री ज.नारायण शमशेर जिम्मा लगाई नारायण भवन मै बस्ने गरी बक्सेको रुपैयाँ नारायण शमशेरवाट कलकत्ता चार्टर वैंकमा मीनादेवी समेतका नाममा राखी दिई बक्सेको आयस्ता वादीले चेकद्वारा नेपाल वैंक मार्फत लिई भोगी खाई आउनु भएकै छ फेरि राजर्षि स्वर्गे हुनु अघि वादी देहरादून आउनु भएछ र कमानि इन्जिनियरीङ कर्पोरेशनको शेयरबाट मीनादेवी र बिनोदलाई भनी ४ लाखको शेयर ट्रान्सफर गरी दिएको १९५२।१२।१५ को सर्टिफिकेट खडा छ मुनाफा वादीहरुले भोग गर्दै हुनु हुन्छ राजर्षिले दिए भन्दा वढी लिन खाने अधिकार कसैको नभएका कुरामा हरिभक्त समेतका जाल गठमा लागी झुट्टा नालिस गरेको हो भन्नेसमेत शान्तशमशेर समेतको प्रतिवादी ।
३. मुद्दा सर्वोच्च अदालतवाट झिकी चाँडो किनारा लगाई पाउँ भन्नेसमेत वादीको वा काजि कृष्णको निवेदन ।
४. विन्तीपत्रको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा सर्वोच्च अदालतवाट मिसिल झिकी ऐन सवाल बमोजिम गर्नु भन्ने हुकूम बक्सेको छ भन्ने ०१६।८।९ को हुकूम प्रमांगी ।
५. विनोदशमशेरलाई ०३ सालका वालीदेखि बर्ष १ को मोहरु ८०००। का दरले नगदी भत्ता खर्च लेखि दिनु भन्ने ०२।९।१८ मा भएको सनद नक्कलवाट बिनोदशमशेर राजर्षिको जिवितै अवस्था प्रकाश भएको छोरा भन्ने प्रष्ट देखिएको राजर्षि महाराजले वादीहरु वाहेकका अरुलाई अंशबण्डा गरी सकेको दुवै पक्षको लेखाई र पेश भएका खड्गनिसाना सनदवाट समेत देखिन आएको अंशबण्डा भएका वखत विनोदशमशेरको जन्म भई सकेको नदेखिएको ९९ सालमा विनोद शमशेर जन्मे पछि मात्र ०२ सालमा राजर्षि महाराजको रिडी अरगैलिमा निवासस्थान भएको वाहैकै भाषणहरुवाट देखिन आएकोले समेत राजर्षि महाराज जिवित भएका अवस्थामा प्रकाशगरी छोरा भनी राखेको देखिन आउने प्रतिवादीमा विनोदशमशेरले अंश पाएको छ । अंशको जग्गा जमिन घर यो यो हो भन्ने देखाउन लेख्न नसकेकोवाट राजर्षि महाराजको सम्पत्तिवाट विनोदशमशेरले अंश पाउनु बाँकी नै रहेको भन्ने कुरा देखिन आएको राजर्षिको देहान्त अवस्थामा मीनादेवी पनि देहरादूनमा हुनु हुन्थ्यो भन्ने कुरा प्रतिवादी मै लेखेको हुनाले मीनाकुमारी विनोदशमशेर राजर्षिकै सगोलमा नभएको भन्ने प्रतिवादीहरुको कुरा मिल्ने भन्ने ठहर्याउन मिल्दैन कान्छा महारानी र वहाँको छोराहरुले राजर्षिसँग अंश मिसाइ सगोल मै वसेको देखिने वा ऐन कानूनको रीत पुगेको अरु कागज प्रतिवादीहरुले पेश गर्न नसकेको यो सवुद हुँदा प्रमाणले राजर्षिले साथ लिई जानु भएका वहाँको सम्पत्तिमा अंशबण्डाका ३० नं.ऐनबमोजिम विनोदशमशेरको हक पुग्ने कानूनी अधिकार हुन सक्तैन भनी भन्न न्यायोचित देखिदैन २००५ सालको खड्गनिसानाले हजुरको ईच्छा बमोजिम गरी बक्सेको सदरै गरी गर्नेछौं भन्ने भएको भन्ने प्रतिवादीहरुको प्रतिवादी छ तर खड्गनिसानामा सवैलाई दिनु पर्ने अंश गरी दिई वक्सी सकेको भन्ने शव्द परेको माथि उल्लेख भए बमोजिम विनोदशमशेरले अंश पाएको नदेखिंदा राजर्षिका अरु पत्नी छोराहरु सबैले अंश पाउने वादीहरुले मात्र नपाउने भन्न विनोदशमशेरको कानूनी हकमा आघात पर्ने भएको र त्यस्तो खड्गनिसाना भएपछि विनोदशमशेरले अंश पाएको छैन निजलाई यति भनी लिखत गरिदिनु भएको भए अरु उहाँले जे जसो गरी दिए पनि कारवार खड्गनिसानाको शव्द मिली कानूनमा बाधा उपस्थिति हुन आउने थिएन । अंशबण्डाको ३० नं.ले वावुको बाँकी रहेको सम्पत्ति सँग बस्ने छोराको हुन्छ सबैलाई दिई सकेको हुनाले इच्छा मुताविक होस् भनी उक्त खड्गनिसानाले निर्देशन गरेको छ विनोदले अंश पाएको छैन अघि भिन्न भएका अंशियारलाई मात्र राजर्षिले दिनु हुन्छ भनेकाले खड्गनिसानाको मर्यादा पालन गर्नु भई नेपाल अधिराज्यको ऐन कानूनको रीत पुर्याई गम्भीरकुमारीहरुलाई दिनुभएको रहेछ भन्न मिल्दैन । राजर्षिले खड्गनिसाना र अंशबण्डाको ३० नं.ऐन काटी गंभीर कुमारीलाई दिएको र लिनु नहुने लिएको समेत प्रष्ट देखिन्छ र सो पनि वहाँको देहान्त हुनुभन्दा केही समय अघिको अवस्था भएको त्यस्तो कागज सदर हुन्छ भन्न मिल्दैन विगोको हकमा श्रेस्ता दिलाई पाउँ भन्ने मुद्दामा श्रेस्ता काजगपत्र दिनुपर्ने ठहर्याई फैसला भएको मि.सु.हरिभक्तले दाखिल गरेको फाँटवारीबाट वादीले दावी गरेको ०८।८।१४ गते राजर्षिले लेखेको चिठ्ठी लेखबमोजिम एक करोड बीसलाख बाँकी नै भन्नु पर्ने भई माथि लेखिएबमोजिम बिनोद शमशेरले अंश पाएको नदेखिएकोले अंशबण्डाका ३० नं.अनुसार राजर्षिको जेथा वादी बिनोद शमशेरले पाउने न्यायोचित देखिएको यस्तोमा अपुतालीको २५ नं.नलाग्ने मिनादेवीले गहनाहरू बुझेको भनी प्रतिवादीबाट पेश भएको भरपाई सद्दे कीर्तेमा चेलेको भए पनि अंश बुझेको नहुँदा सुनाउन नपर्ने मि.सु.हरिभक्तलाई लेखेको पत्रको पहिला पृष्ठमा आफूसँग १ करोड २० लाख भएको उल्लेख गरी उक्त पत्र कै तेश्रा पृष्ठमा १ करोड २० लाख मात्र हो भनी प्रष्ट उल्लेख भएकोले सो बाहेक अरु ज्वाहारातहरूको उल्लेख गरी दान पुण्य खर्च समेत उल्लेख भएको दान पुण्य खर्च हुनु मनासिवै देखिँदा अरु रू.१ करोड २० लाख मात्र रहन हैसियत अनुसार स्वाभाविकै देखिने र भा.रु. ने.रू.नखुलेको नेपाल अधिराज्यका भू.पू.प्राई मिनिष्टर हुँदा ने.रु. नै सम्झनु पर्ने र राजर्षिले कार्यभार त्यागी रिडी (अर्गेली) देहरादून समेतमा रहँदा कान्छा महारानीहरू पनि साथमा भन्ने वादी प्रतिवादीको मुख मिलेको पछि बराबरका गिफ्टविल समेतका कागजपत्रबाट वहाँ प्रति विशेष अभिरुची घनिष्टता देखिएकाले खर्च गर्न भई बाँकी रहेका पत्र बमोजिमको ने.रु १,२०,००,००० एक करोड बीस लाख कान्छा महारानी गम्भीरकुमारी देवी र वहाँका पुत्र ३ ले ठाउँ ठाउँ र आफूसँग राख्नु भएको मिसिल प्रमाणबाट सिद्ध हुन आएकोले कान्छा महारानी गम्भीरकुमारी देवीको देहान्तबाट वहाँ पट्टिकै छोरा प्र.शान्त शमशेर, रवि शमशेर, शशि शमशेर ज.व.रा.समेतसँग रहे भएकोले उक्त ३ जनासँगबाट वादीहरूले १ करोड २० लाखको कानूनबमोजिम गरी लिन पाउने सो बाहेक अरु बढी दावी गरेको समेत ठहर्छ भन्नेसमेत ०१९।४।१२।६ को डिभिजन बेञ्चको फैसला ।
६. उक्त फैसलाउपर वादी प्रतिवादी दुबै पक्षले दोहर्याई पाउँ भनी श्री ५ महाराजाधिराजका हजूरमा चढाएको बिन्तिपत्रमा दोहोर्याई दिनु भन्नेसमेत ०२०।१।३।३, ०२०।२।२३।५ र ०२०।३।२५ मा हुकूमप्रमांगी बक्स भई आएको ।
७. प्रस्तुत मुद्दामा भारतमा रहेको सम्पत्ति उपर यस अदालतले निर्णय गर्न मिल्ने नमिल्ने के हो यदि मिल्ने हो भने वादी दावी पुग्ने नपुग्ने के हो र नेपालमा रहेको सम्पत्तिउपर वादी दावी पुग्ने नपुग्ने के हो भन्ने कुराको निर्णय दिनु पर्ने हुन आयो । सर्वप्रथम पहिलो प्रश्नको विचार गरी हेर्दा प्रस्तुत मुद्दामा वादीले दावी गरे बमोजिम धेरै जसो सम्पत्ति भारतमा नै भएको देखिने हुनाले त्यस्तो विदेशमा रहेको सम्पत्तिउपर नेपालको अदालतले अधिकार क्षेत्र ग्रहण गरी निर्णय गर्न मिल्छ मिल्दैन भनी हेर्न पर्यो कुनै एक देशको अदालतका समक्ष विदेशीलाई विपक्ष बनाएको वा विदेशमा रहेका चल अचल सम्पत्तिको दावी भएको मुद्दा पर्न आएको छ भने त्यस्तो मुद्दालाई समेत विदेशी तत्व परेको मुद्दा भन्नु पर्ने हुन आउँछ भिन्न भिन्न कानून पद्धति वा व्यवस्था हुने हुनाले विदेशी तत्व भएको जुनसुकै मुद्दा हेर्दा निजी (प्राइभेट) अन्तर्राष्ट्रिय कानून प्रयोगमा आउँछ निजी अन्तर्राष्ट्रिय कानूनको सिद्धान्त बमोजिम विदेशी तत्व भएको मुद्दा हेर्दा सर्वप्रथम अदालतको अधिकार क्षेत्र छ छैन सो हेर्नु पर्छ । कुनै पनि अदालतको अधिकार क्षेत्र छ छैन भनी विचार गर्दा विपक्ष विदेशी भए सामान्यतया अदालतको नियन्त्रणदेखि बाहिर हुने हुँदा त्यस्तोमा अधिकार क्षेत्र हुन्छ भन्न सकिन्न विदेशी भए पनि मुद्दा परेका अदालतको नियन्त्रणमा रहेको भए अदालतले त्यस्तो व्यक्ति उपर पनि निर्णय गर्न सक्तछ । यदि विदेशमा भए पनि विपक्षले नै अदालतको अधिकार क्षेत्र छैन भनी बिरोध गर्नुका साथै मुद्दाको व्यहोरामा पनि प्रतिवाद गर्दछ भने अदालतको अधिकार क्षेत्रमा समर्पण गरेको हुँदा अदालतले त्यस्तो व्यक्तिहरू उपर पनि अधिकार क्षेत्र ग्रहण गरी निर्णय गर्न मिल्दछ तर पक्षले समर्पण गरेपनि अदालतले आफ्नो फैसला कार्यान्वित गर्न सक्तैन भने त्यस अवस्थामा अदालतले अधिकार क्षेत्र ग्रहण गरी निर्णय गर्नु हुन्न । समर्पणको सिद्धान्त र फैसला कार्यान्वित हुन सक्ने भन्ने सिद्धान्तमा अन्तर द्वन्द भएमा फैसला कार्यान्वत हुन सक्ने भए मात्र अधिकार क्षेत्र छ भन्ने सिद्धान्त कायम गर्नुपर्ने हुन आउँछ । अदालतको अधिकार क्षेत्रको मुल आधार आफ्नो फैसला कार्यान्वित गर्न सक्ने शक्ति हो यदि फैसला कार्यान्वित गर्न सकिन्न भने त्यस्ता मुद्दामा अदालतबाट अधिकार क्षेत्र ग्रहण गर्न मिल्दैन । कुनै पनि सार्वभौमिक सत्ता देशको अन्य अधिकार क्षेत्र आफ्नो देश भित्र सिमित रहने हुनाले कुनै अदालतले अर्को सार्वभौमसत्ता राज्यमा रहेको अचल सम्पत्तिको स्वामित्व वा कब्जा बारेमा फैसला डिक्री दिनु हुँदैन । व्यक्तिगत दायित्वमा निर्भर रहने बन्देजको अधिनमा रही अचल सम्पत्ति उपरको हक अधिकार जुन मुलुकमा सम्पत्ति रहेको छ उसै मुलुकको अदालतबाट निर्णय हुन पर्छ भन्ने अधिकार क्षेत्रको सामान्य सिद्धान्त हो अचल सम्पत्ति उपर यो हक कब्जा बाहेक अन्य विषयमा विदेशमा रहेको अचल सम्पत्ति बारेमा कुनै पक्षहरूका बीचमा आपसी सम्झौता भएको छ र सो आपसी सम्झौता बमोजिम कुनै एकपक्षले, दायित्व पुरा नगरेमा यदि दुबै पक्षको अदालतको समक्ष छन् भने त्यस्तो अदालतले अचल सम्पत्ति अन्यत्र देशमा भए पनि सो अचल सम्पत्ति बारेमा पक्षहरूको सम्झौताबाट उत्पन्न वैयक्तिक दायित्व बारे फैसला गर्न अधिकार क्षेत्र हुन्छ । स्पष्ट कानूनी व्यवस्थाको अधिनमा रही चल सम्पत्ति उपर पनि त्यही अदालतको अधिकार क्षेत्र हुन्छ जसको उक्त सम्पत्तिउपर नियन्त्रण रहन्छ त्यस्तो सम्पत्तिको हस्तान्तरण भरी भराई समेतको अदालती कारवाई गर्ने अधिकार सम्पत्ति रहेको ठाउँको अदालतको हुनेछ । यसरी माथि लेखिएबमोजिम वैयक्तिक दायित्व बारेमा हुने फैसला बाहेक अरु कुनै पनि अदालतको निर्णय विदेश स्थिति सम्पत्तिउपर लागू हुन सक्तैन र लागू हुन नसक्ने निर्णय गर्नु निरर्थक हने हुनाले विदेश स्थित सम्पत्ति उपर अधिकार क्षेत्र हुँदैन भन्ने निजी अन्तर्राष्ट्रिय कानूनको सिद्धान्तले निंशकोच मान्यता देखिएकोछ यसै सम्बन्धमा हाम्रो प्रचलित कानून व्यवस्था के रहेछ भनी हेर्दा लेनदेन व्यवहारको ३३ नं.मा विदेशी नागरीकसँग विदेशमा लेनदेन व्यवहार भएकोमा नेपाल सरहद भित्र बुझाउने व्यवहारको साहूले आसामीसँग नेपालको कानूनको रीत पुगेको लिखत गराई लिएको रहेछ र सो आसामी नेपाली नागरिक रहेछ भने नेपालका सम्बन्धीत अङ्गबाट कानूनबमोजिम हेरीनेछ । सो बाहेक विदेशका नागरिकसित विदेशमा भएको लेनदेन व्यवहारको नालिस नेपालका अड्डाबाट हेरीने छैन भन्ने र ऐ.३४ नं.मा विदेशमा लेनदेन व्यवहार भएकोमा सो लिने दिने दुबै थर नेपाली नागरिक रहेछन् र नेपालको कानूनको रीत पुगेको लिखित रहेछ भने नेपालका सम्बन्धित अड्डाबाट नालिस सुनी इन्साफ गरी दिनु हुन्छ भन्ने उल्लेख भएको पाइन्छ । यसबाट विदेशमा भएको लेनदेन कारवाई गरेकोमा सम्म अवस्था अनुसार नेपालको अदालतले हेर्ने अधिकार क्षेत्रको व्यवस्था भएको देखिन्छ तर विदेशमा रहेको सम्पत्तिउपर हक अधिकारको निर्णय गर्न पाउने अधिकार र क्षेत्र दिएको देखिँदैन । अंशबण्डाको ५।३० नं.अन्तर्गत अर्थात अंशको कुरामा दावी गर्दा सम्पत्ति रहे भएको सँग कुनै सम्बन्ध नभई अंश हकको खोजीमा प्रतिवादी रहेको इलाकामा नालिस दिन कानूनी व्यवस्था छ भन्ने वादी तर्फको वहस जिकिरका हकमा भारतमा रहेको सम्पत्ति परराष्ट्र मन्त्रालय मार्फत लेखापढी गरी रोकि चलन चलाई विगो भराई पाउँ भन्ने वादी दावी भएपछि सम्पत्ति रहेको इलाकासँग मुद्दाको केही सम्बन्ध छैन भन्ने कुरा वादीको दावी गराईबाट मिल्दैन । माथि लेखिएको कारणहरूबाट प्रस्तुत मुद्दा वादी प्रतिवादी दुबै यस अदालतको अधिकार क्षेत्र भित्र भए पनि झगडाको विषय विदेश भारतमा नै बसोबास गरी परलोक हुनु भएको राजर्षि महाराजको सम्पत्ति देखिएकोले र आखिर यसै अदालतबाट भएको फैसला डिक्रीले भारतमा रहेको सम्पत्तिलाई असर पार्न नसक्ने अर्थात् यस अदालतको फैसला डिक्री भारतमा कार्यान्वित हुन र गराउन पनि नसकीने हुँदा विदेश भारतस्थित सम्पत्तिउपर यस अदालतको निर्णय गर्ने अधिकार क्षेत्र छ भनी भन्न नमिल्ने हुनाले समेत नेपालको अदालतको अधिकार क्षेत्र र फैसला कार्यान्वित हुन सक्छ भन्ने वादीतर्फको विद्वान एडभोकेटसँग यो बेञ्च सहमत हुँदैन । अतः भारतस्थित सम्पत्तिका हकमा वादी दावी खारेज हुन ठहर्छ । पहिलो प्रश्नको विवेचना गर्दा विदेश भारतमा रहेको सम्पत्तिउपर निर्णय गर्न यस अदालतलाई अधिकार नभएको भनी निष्कर्षमा पुगेकोले दोश्रो प्रश्नतर्फ विचार गरी रहन परेन । अब तेस्रो प्रश्नको विचार गर्दा मि.सु.हरिभक्तले दिएको फाँटमा नभएको पत्ता लगाउँदा पाइएको नेपाल राज्यको घरजग्गा पनि फाँट खोली दावी लिएको तर्फ बुटवल इलाका मौजे चिलियामा बनेको पक्की वंगलाघर बनेका जग्गा श्री ३ कान्छा महारानी गम्भीरकुमारीलाई ०६।५।२३ मा लालमोहर भई विर्ता पाएको सप्तरी तराई विर्ता र कप्तान पुण्य नरसिं, मोहन नरसिं, भक्त नरसिं, पुण्यबहादुर समेतबाट खरीद भएको सप्तरी गडराल समेत उठती आउने जग्गा ९५।५।२६।१ को बण्डापत्रको खड्ग निसानाबाट प्रतिवादी रवि शमशेर शान्त शमशेर, शशी शमशेर समेतको अंश भागमा परेको देखिएको होताकुमारीसँग खरीद भएको सप्तरी लक्ष्मीपुरको उठती आउने विर्ता जग्गा २०००।६।१९ का खड्ग निसानाले सलामि कं.रु. ३४७३४।। समेत बुझाई प्रतिवादीहरूले पाएको नुवाकोट चौतारा बगैंचा ।।।९५।५।२६ के बण्डापत्रबाट श्री कान्छा महारानी गम्भीरकुमारीको भागमा परेको पुल्चोकको जग्गा रोपनी ५४।।।३ १९९६ साल कार्तिक बेगतेका ९७ साल मार्ग वेगतेको सिंहदरवार नगदी तहविलको पूर्जीबाट खड्ग निसाना भई श्री ३ महारानी र श्री ३ कान्छा महारानीतर्फको लगतमा भएको झापा टोकलाहा इलाम हाँस पोखरीसमेतको विर्ता जग्गा जंगल १९९६ साल मार्ग ७ गतेको खड्ग निसानाले श्री ३ कान्छा महारानी गम्भीरकुमारी समेतले पाएको अर्गली खस्यौली पाल्पा डेड गाउँको खेतसमेत २०१३।२९।४ का खड्ग निसानाबाट निजै श्री ३ कान्छा महारानीले पाएको देखिएको लेखिएको घर जग्गाहरू श्री राजर्षि महाराजबाट लेखिएबमोजिम उहाँकै जीवन कालका प्रतिवादी समेतको हक भोग भई अहिले सम्म कायमै रहेको देखिएकोले त्यसतर्फ पनि वादी दावी पुग्न सक्तैन । विदेशमा रहेको सम्पत्ति सम्बन्धमा पनि अधिकार क्षेत्र ग्रहण गरी विल र गिफ्ट बदर गराई पाउँ भन्ने वादी दावी नभएको कुरामा समेत निर्णय दि.रु १,२०,००,०००।– एक करोड बीसलाख वादीहरूलाई भराई दिने गरेका ०१६।४।१२।६ को डिभिजन बेञ्चको फैसला मिलेको देखिएन भन्नेसमेत फूलबेञ्चको ०२०।१२।२८।६ को फैसला ।
८. सर्वोच्च अदालतको पत्र संख्या कं.१२८९ मिति ०२१।१।२१।१ का पत्र साथ प्राप्त भएको जावलाखेल बस्न मीनादेवी बिनोद शमशेर ज.व.रा.को र श्री शशी, शान्त शमशेर ज.व.रा.समेतको विगो दिई चलन चलाई पाउँ भन्ने १ (एक) श्रेस्ता दिलाई पाउँ भन्ने १ एक समेत २ दुई मुद्दा काठमाडौं जिल्ला अदालतमा परेका र सर्वोच्च अदालत डिभिजन बेञ्चबाट छिनिएको मुद्दा समेत दुबै मुद्दा फुल बेञ्चबाट जाँची निर्णय गराई पाउँ भन्ने दुबै थरको निवेदन पत्रको व्यहोरा श्री ५ महाराजाधिराजका हजूरमा जाहेर हुँदा उपरयुक्त मुद्दा फुल बेञ्चबाट निर्णय गरी दिई सो निर्णयको फैसला १ एक प्रति जाहेर गरी पठाई निकाशा भई आए बमोजिम गर्नु भन्ने हुकूम बक्सेको व्यहोरा विशेष जाहेरी विभाग राजदरवारबाट लेखी गएबमोजिम उक्त अदालतबाट जाहेर गरेको श्रेस्ता दिलाई पाउँ भन्ने मुद्दामा विनोद शमशेर श्री ३ जुद्धको छोरा हो भन्ने र निजले अंशमा दावा लिन पाउने देखिएकोले हरिभक्तबाट श्रेस्ता पाउने ठहर्छ र बिगो दिलाई पाउँ भन्ने मुद्दामा विदेशमा रहेको धन सम्पत्तिमा उहाँ उजूर लाग्न सक्तैन वादी दावा खारेज हुने ठर्हछ भन्नेसमेत दुबै फैसलाको व्यहोरा विशेष जाहेरी विभागबाट जाहेर हुँदा उपयुक्त फैसला न्यायिक समितिले हेरी जाहेर गर्नु भनी लेखी गए बमोजिम न्यायिक समितिको ०२१।५।१०।६ को व्यहोरा समेत श्री ५ महाराजाधिराजको हजूरमा जाहेर हुँदा श्री मिनादेवी र श्री विनोद शमशेरका श्रीमति र छोरा ठहर्दछ र अंशमा पनि नपाएकोले दावी गर्न र श्रेस्ता लिन पाउने ठहरीएकोले श्री मीनादेवी र श्री विनोद शमशेरको मिति ०२१।६।१६।५को निवेदन पत्रसाथ भारत सरकारका पत्रको नक्कल समेत जाहेर हुन आएकोले उक्त पत्रहरू समेत मिसिल सामेल राखी कानूनबमोजिम उक्त मुद्दा दोहर्याई हेरी किनारा गरी दिनु भन्ने हुकूम बक्सेको छ भनी मौसुफका प्रमुख सचिवालयबाट लेखी आएको ०२१।६।१६।५ को हुकूम प्रमांगी र बक्स भई आएका हु.प्र.बमोजिम गर्ना निमित्त दुबै मुद्दा लगतमा दर्ता गरी दुबै पक्ष तारेखमा हुँदा नियमबमोजिम फुल बेञ्चमा पेश गर्नु र यसको निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि प्रमुख सचिवालयमा जाहेर गर्न रजिष्ट्रार अफिसमा पठाई दिनु भन्ने ०२१।७।१४।६ को माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।
९. निवेदक तर्फबाट श्री ५ महाराजाधिराजका हजूरमा निवेदन साथ दाखिल गरी बक्स भई आएको हु.प्र.बमोजिमको मिसिल सामेल हुन आएको भारतका भू.पू.प्रधान मन्त्रीले जवाफ पठाउनु भएको भनेको मे ९ सन् १९५७ तथा अप्रील २५ सन् १९५८ को पत्र नक्कलहरूको १ प्रतिलिपि पठाई सो पत्रमा नेपाली राजदूतावासमा समेत बुझाएको भनेको कागजहरू झिकाइयोस् भन्ने निवेदकपक्षको अनुरोध पनि भएको र हेर्न बुझ्न आवश्यक समेत हुनाले सो कागजहरू कहाँ छ यस सम्बन्धमा राम्रो खोजी गरी पत्तालगाई अविलम्ब पठाई दिनु भनी धेरै पुरानो मुद्दा र बक्स भई आएका हु.प्र.बमोजम चाँडो किनारा लगाउनु पर्ने कुराको पनि जानकारी दिई परराष्ट्र मन्त्रालयलाई लेखी पठाई आए पछि पेश गर्नु भन्ने ०२१।११।८।६ को फुल बेञ्चको आदेश ।
१०. प्रतिवादीमा आफूसँग भएको भनी प्रमाण दिइराखेको अघि दाखिल हुन बाँकी सक्कल लिखतहरू हेर्नु पर्ने भएकोले दाखिल गर्न ल्याउनु भनी प्रतिवादीहरूको वारेसलाई सुनाई यथोचित समयको तारेख दिई सो सक्कल कागजहरू दाखिल भए पछि या दाखिल हुने अवधि नाघे पछि पेश गर्नु भन्ने बहुमतको र फुल बेञ्चबाट ०२०।१२।२८।६ मा भएको निर्णय सित म सहमत छु र २३।३।७।३ को आदेशसित सहमत छैन भन्नेमा, न्या.कालीप्रसादको राय म समेत भएका फुल बेञ्चबाट ०२०।१२।२८।६ मा निर्णय भएकोले सहयोगी मा.न्या.हरूको प्रमाण बुझ्ने आदेशसँग मेरो समहमत छैन भन्ने मा.न्या.वासुदेवको राय, बुझिने कुरा सम्म सहमत छौं भन्नेमा न्या.नयनबहादुर मा.न्या.धनेन्द्रबहादुरको राय पेश भइरहेको प्रमाणबाट निर्णय हुने भएकोले अरु प्रमाण बुझ्न आवश्यक छैन भन्ने मा.न्या.हेरम्वराजको राय भएको फुल बेञ्चको ०२३।३।७।३ को आदेश ।
११. प्रतिवादीमा आफूसँग भएको भनी प्रमाण दिइराखेको अघि दाखिल हुन बाँकी सक्कल लिखतहरू हेर्नुपर्ने भएकोले दाखिल गर्न ल्याउनु भनी प्रतिवादीहरूको वारेसलाई तारेख तोकी दिने ०२३।३।७।३ को फुल बेञ्चको बहुमतबाट आदेश भई तारेख तोकीएकोमा हामीसँग भएको प्रमाण पेश गर्नुपर्ने कागज पेश गरी सकेका छौं सो कागजहरू मिसिल सामेल होला हाल हामीहरूले पेश गर्नुपर्ने कागज हामीहरूसँग बाँकी केही नभएको भन्ने प्रतिवादीहरूको वारेसले दर्खास्त दिएको समेत देखियो सन् १९५८ अगस्ट ३० तारिखको र सन् १९५२ जुन १२ तारिखको सक्कल विल र गिफ्ट देहरादूनको घरमा छ भनी शान्त शमशेरहरूको प्रतिवादीमा प्रमाण दिइराखेका सो सक्कल कागज दाखिल भएका नदेखिएकोले सो सक्कल कागज दाखिला गर्न सक्छु समय पाउँ भन्नेमा यथोचित समयको तारेख दिई सो दाखिल भए पछि पेश गर्नु भन्ने ०२३।५।७।३ को फुल बेञ्चको आदेश ।
१२. यसमा तारेखमा रहेका वादीको वा काजी कृष्ण प्रतिवादी शान्त शमशेरको वा.बसन्त मान महर्जन प्र.रवि शमशेरको वा जयबहादुर महर्जनलाई रोहवरमा राखी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा ०२७।८।१६ गते मुद्दा बहस भई निवेदक वादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विपक्षी तर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे र विद्वान अधिवक्ता श्री मधुप्रसादको वहस सुनी निर्णयतर्फ विचार गर्दा मुद्दा फुल बेञ्चबाट ०२०।१२।२९ गते फैसला भएकोमा दोहर्याई हेरी दिनु भन्ने ०२१।६।१६।५ मा बक्स भई आएको हुकूम प्रमांगीबमोजिम पेश हुन आएको छ वादी निवेदक विनोद शमशेरलाई स्वर्गीय श्री ३ जुद्ध शमशेरको छोरा र वादी निवेदिका मिनादेवीलाई श्रीमती हुन भनी डिभिजन बेञ्च तथा फुल बेञ्चले फैसला गरी सकेको छ र वादीहरू स्वर्गीय श्री ३ जुद्ध शमशेरको स्वास्नी छोरा होइनन् भनी प्रतिवादीहरूले तथ्यपूर्ण कुनै जिकिर गर्न सकेको पनि छैन श्री ३ जुद्ध शमशेरले आफ्ना अंशियारहरू सबैलाई अंशबण्डा गरी खड्ग निशानाबाट बण्डा छुट्याई प्रतिवादी र प्रतिवादीकी माता महारानी गम्भीरकुमारीसमेत अलग अलग भएको देखिन्छ र सो पछि वादी विनोद शमशेरको श्री ३ जुद्ध शमशेरबाट जन्म भएको हुनाले वादी आमा छोराले श्री ३ जुद्ध शमशेरका अंश भाग खाने श्री ३ जुद्ध शमशेरको सम्पत्तिबाट कानूनबमोजिम अंश पाउनु पर्ने अंशियार वादीहरू हुन आएका छन् ।
१३. वादीहरूले पाउनु पर्ने अंश पाएको छ भन्ने प्रतिवादीहरूबाट तथ्य पूर्ण प्रतिवाद भएको छ छैन र अंश पाएको भन्ने कानूनी लिखत प्रमाण पनि केहि देखिन आएको छैन ।
१४. वादीहरूले दावी गर्दा श्री ३ जुद्ध शमशेर देहवसान भई वहाँका साथमा रहेका हामीहरूले जो जति सम्पत्ति श्री ३ जुद्ध शमशेरसँग मृत्युको समयमा थियो सो सबै हाम्रो हक हुनेमा हामीहरूलाई नेपाल पठाई सबै सम्पत्ति प्रतिवादीले लगे भन्ने उल्लेख गरेकाले अपुतालीमा वादी गरिएको भए ३ बर्ष भित्र दावा हुनुपर्ने जिम्मा दिएको भए नासो धरौटका ऐनका म्याद भित्र सो कानूनको रीत पुगी उजूर हुनुपर्ने जवर्जस्ती लिएको भए लुटपिटका ऐनबमोजिम ३ महिनाभित्र उजूर हुनुपर्ने र सो पनि सो काम कुरा भए गरेको भनेकै देशमा सो मुलुकमा ऐनबमोजिम दावा गर्नुपर्ने अंशमा दावा गर्ने हो भने श्री ३ जुद्धसँग अघि नै अंशबण्डा लिई अलग भएका प्रतिवादी उपर सो भन्दा पछि अंशियार हुन खोज्ने वादीले प्रतिवादीहरू उपर अंशमा दावा गर्न नपर्ने भएकाले समेत वादीले दावी खारेज हुनुपर्ने भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताले वहसमा विशेष जोड दिई वहस गर्नु भएको छ र उक्त लुटपिट् तथा नासो धरौट वा अपुतालिका ऐनमा व्यवस्था भएको हद म्याद भित्रको वादी फिराद पनि लेखिन आउँदैन तापनि वादीहरूले कानूनबमोजिम पाउनु पर्ने अंश पाएको छैन र अंश पाउनु पर्ने सम्पत्ति श्री ३ जुद्ध शमशेरसँगै थियो वहाँको देहवसान भएपछि प्रतिवादीकी माता गम्भीरकुमारीले श्री ३ जुद्धको सबै सम्पत्ति आफ्नो हातमा लिएको छ सोही सम्पत्तिमा वादीले आफ्नो अंश हक खोजी गर्नुपर्ने आवश्यक पर्छ र श्री ३ जुद्धबाट (विल) बक्स पाई सबै सम्पत्ति गम्भीरकुमारीको हक भएको भन्ने प्रतिवादीको लेखाई अनुसार मि.सु.हरिभक्तबाट श्री ३ जुद्धको मृत्युवाद प्रतिवादीहरूकी माता गम्भीरकुमारीले नगदी सुना चाँदी ज्वाहारात सबै बुझिली फारती गरी दिएको देखिएको हुनाले श्री ३ जुद्धको मृत्यृको समयमा वहाँको श्री सम्पत्तिको जति थियो सो सबै प्रतिवादीकी माता गम्भीरकुमारीले आफ्नो हात पारेको देखिन आउँछ र गम्भीरकुमारीका मृत्युवाद गम्भीरकुमारीको हकदार छोरा प्रतिवादीहरूले वादीहरूको अंश जति सम्पत्तिमा दायित्व वेहोर्नु पर्ने हुन आई पाउनु पर्ने कानूनी अंशबण्डासम्मको सम्पत्तिमा वादीले प्रतिवादीहरू उपर अंशबण्डाको ३५ नं.ले जहिले सुकै पनि अंश नपाए जतिमा दावी गरी आफ्नो हक सम्पत्ति सचाई लिन सक्ने अधिकार वादीलाई सुरक्षित रहेको देखिन आउँछ ।
१५. उपरोक्तबमोजम वादी दावी लाग्न सक्ने भई निर्णयात्मक पक्षमा यो मामिला पुगेको हुनाले निर्णय दिने हकमा वादीले दावी गर्दा नेपालको अचल सम्पत्ति तथा भारतको अचल सम्पत्ति र कम्पनी र बैंकहरुको शेयर फिक्स डिपोजिट डिवेन्चर नगदी गरगहना इत्यादीको दावी लिएको देखिन्छ । नेपालको अचल सम्पत्ति पनि वादीले लेखेको जति अघि नै अरु अरुका नाममा गइसकेको र विदेशमा रहेको अचल सम्पत्ति र कम्पनी तथा बैंकमा रहेका शेयर फिक्स डिपोजिट डिबेञ्चर ईत्यादी चल सम्पत्तिका हकमा त्यस्को सिर्जना विदेशी कानून अन्तर्गत भई विदेशमा नै रहेको र विदेशमा नै हस्तान्तरण भएको त्यस्तो चल सम्पत्ति पनि अचल सम्पत्ति सरह नै मान्नु पर्ने हुँदा उक्त चल पनि जुन देशमा सो सम्पति रहेको छ सोही देशको कानूनबमोजिम उसै देशका अदालत वा सम्बन्धित क्षेत्रमा उजूर दावी गरी आफ्नो हक गराई लिनु पर्ने हुनाले वादीले सो बमोजिम गरी लिनु पर्छ । नेपालको अदालतले सो विदेश स्थित उक्त सम्पत्तिका बारेमा निर्णय दिई कार्यान्वित गराउन नमिल्ने हुनाले त्यसतर्फ नेपालको अदालतको कार्य क्षेत्र भित्र नपर्ने भनी र नेपालको अचल सम्पत्ति भनी लेखेको पनि अरुहरुका नाममा श्री जुद्धशमशेर छँदैका बखत गइसकेको र श्री ३ जुद्धशमशेरको आखिरी अवस्थाको सम्पत्ति नभएकाले त्यसतर्फ समेत अघिल्लो फुलबेन्चले खारेज गर्ने गरेको मिलेकै देखियो । श्री ३ जुद्ध देहावसान हुने अवस्थामा वहाँका साथमा रहेको अरु नगदीसमेत चल सम्पत्तितर्फ अघिको फुलबेन्चले स्पष्टतया उल्लेख नगरी विदेशमा रहेका अचल सम्पत्तिका विषयमा नेपालको अदालतको क्षेत्रधिकारको विवेचना गर्दै वादीको दावी खारेज गर्दा चलमा पनि खारेजै गरिएको अघिल्लो फुल बेञ्चको मिलेको देखिएन । त्यस्तो चलतर्फको हकमा श्री ३ जुद्ध शमशेरको मृत्युवाद प्रतिवादीकी माता गम्भीरकुमारीका हात पर्न आएको गम्भीरकुमारी परलोक भएपछि गम्भीरकुमारीका हक खाने छोरा प्रतिवादीहरु नेपालमा घरबास भएका व्यक्ति उपर नेपालकै नागरिक वादीले नेपालको अदालतमा नालिस गरेको र दुवै पक्षले निर्णय लिन नेपालको अदालतमा समर्पित गरेको मुद्दा हुँदा उक्त चलतर्फ वादीको हक सम्ममा नेपालको अदालतबाट निर्णय दिई दिलाउनु भराउनु पर्ने ठहरे जति नेपाल स्थित प्रतिवादीका सम्पत्तिबाट दिलाउनु भराउनु नेपालको अदालतको क्षेत्राधिकार भित्र पर्दैन भन्न मिलेन ।
१६. अब चल सम्पत्ति पनि जम्मा मूल धन के कति हो र वादीहरूको हक के कति ठहर्छ भन्ने हकमा वादीले दावी गर्दा मि.सु.हरिभक्तले श्रेस्ता दिलाई पाउँ भन्ने मुद्दामा दिएको फाँटवारीको आधारमा दावी गरेको मि.सु.हरिभक्तले आफूसँगै रहेको खेश्राबाट फाँट तयार गरी दाखिल गरेको भन्ने उल्लेख गरेको सम्बन्धित पक्षहरूको निस्सा सहिछाप केही नभएको कारिन्दा काम गर्ने हरिभक्तले नक्कल खेश्राबाट तयार गरेको भनेको अंकलाई मनासिव भन्न भएन । श्री ३ जुद्धले ८ साल मार्ग १४ गतेमा लेखेको सक्कल चिठ्ठी जुन प्रतिवादीलाई सुनाउँदा कीर्ते भन्न नसकी प्रमाण योग्य भएको छ सो चिठ्ठीमा लेखेको सम्पत्तिलाई जुद्ध शमशेरसँग रहेको सम्पत्ति हो रहेछ भनी मान्न प्रमाणयुक्त हुन जाने र वादीहरूले श्री ३ जुद्ध जीवित रहेकै अवस्थामा अंशमा दावी गरेको भए पनि श्री ३ जुद्धले नै दिनु भएको सम्पत्तिको फाँटवारी अंशबण्डा गरी दिनुपर्ने अंशबण्डाको २० नं.ले बाध्यता गरी राखेको हुँदा सो श्री ३ जुद्ध शमशेरले लेख्नु भएको चिठ्ठीमा लेखिएको सम्पत्ति भित्रै वादीले अंशबाट हक गर्न पाउने सम्पत्ति रहेको भन्ने मान्नु पर्यो । सो चिठ्ठीमा रु. १,२०,००,०००।– एक करोड बीसलाख हो २९ लाख बैंकमा राखी बाँडफाँड गरेको ७ लाखको सुन भन्ने लेखिएकाले मूलधन एक करोड बीसलाखमा सुन र बैंकमा राखेका समेत गरी छत्तिस लाख कट्टा गर्दा बाँकि चौराशी लाख रहन आएको सो मध्ये पनि भारतमा ठाउँ ठाउँ घर जग्गा खरीद भएको रु. २८,५४,०००।– भन्ने वादीका लेखबाट समेत देखिन आउँछ । सो खरीदी भारतीय रुपैयाँमा भएको हुने भएकोले फिराद गर्दाका बखतको सटही र रु. १००।– भा.रु. को ने.रुं १५०।– का हिसाबले हुन आउने ४२,८१,०००।– विदेशमा घर जग्गा खरीद भएका कटाई बाँकी रुपैयाँ ४१,१९,०००।– मूलधन श्री ३ जुद्ध शमशेरका साथमा अन्तिम अवस्थामा रहेको हुन आउँछ । श्री ३ जुद्ध शमशेरको घर खर्च इत्यादिमा पनि खर्च भएको हुन सक्छ कि भन्ने शंकालाई सो सम्पत्ति श्री ३ जुद्धसँग अलग निजी रहेको भन्ने पनि हरिभक्तको श्रेस्ताबाट देखिएको सो बाहेक अरु भारतको कम्पनी तथा बैंकमा शेयर फिक्स डिपोजिट डिभेन्चरमा सम्पत्ति रहेको छँदै थिएन भनी प्रतिवादीले जिकिर गर्न र प्रमाण दिन नसकेको हुनाले सो अरु सम्पत्तिबाट निजी खर्च हुन सक्ने हुँदा माथी लेखिएको आखिरी वचत मूलधन ४१,१९,०००।– वाट वादीले आफ्नो अंश हकसम्म पाउन सक्ने र श्री ३ जुद्धबाट प्रतिवादीकी माता गम्भीरकुमारीले बक्स पाएकोमा सम्पत्तिको विवरण खोली अंश नतोकिएको हुनाले बाँकी रहेको चल मूलधन रु. ४१,१९,०००।– मा उस बखतको अंशबण्डाका ६ नम्बरका ऐनले वादीहरुले पाउने अंश ६ भागको १ भागका हिसाबले रु. ५१४३७५ का दरले दुबै वादीको भाग जम्मा रु. १०२९७५०।– वादीहरूले पाउने ठहर्छ । प्रतिवादी ३ जवानबाट बराबरका हिसाबले भराउने समेत निम्न लिखित दफाबमोजिम गर्नु । मिसिल नियमबमोजिम गरी बुझाई दिनु । वादी मिनादेवी विनोद शमशेरले भरिपाउने विगो रु. १०२९७५०।– प्रतिवादी देहाएका व्यक्तिहरूबाट बराबरका हिसाबले भराई पाउँ भनी नेपाल अधिराज्य भित्रको जेथा देखाई कानूनका म्याद भित्र दर्खास्त परेमा कानूनको रीत पुर्याई सयकडा २।। दस्तुर लिई भराई दिनु भनी का.श्रे.अ.त.मा लगत दिनु ।
१ शान्त शमशेर १, शशी शमशेर १, रवि शमशेर १
वादीबाट राख्नु पर्ने कोर्टफी रु. ३०००।– सर्वोच्च अदालतका आदेश बमोजिम पछि मुद्दा किनारा हुँदा ठहरे बमोजिम लिने गरी नालिस दायर भएकोले हाल माथी इन्साफ खण्डमा लेखिएबमोजिम भई फैसला भएकोले प्रतिवादीहरूबाट असुल गर्नुपर्ने हुँदा माथी १ दफाका प्रतिवादीहरूबाट बराबरका दरले असुल उपर गर्नु भनी का.श्रे.अ.त.मा लगत दिनु २ सिभिल जलको कोर्ट देहरादूनबाट आएको सक्कल लिखत परराष्ट्र मन्त्रालयका पत्र मुताविक पठाई दिनु ।
न्या. रङ्गनाथ उप्रेती,
न्या. बब्बरप्रसाद सिंह
उपरोक्त रायमा सहमत छौं ।
माननीय न्यायाधिश श्री हेरम्बराजज्यूको राय
न्यायिक समितिको २०२१।५।२०।६ को व्यहोरा समेत श्री ५ महाराजाधिराजका हजूरमा जाहेर हुँदा श्री मिनादेवी र श्री बिनोद शमशेर श्री जुद्ध शमशेरको श्रीमति र छोरा ठहर्छ र अंशमा पनि नपाएकोले दावी गर्न र श्रेस्ता लिन पाउने ठहरीएकोले र श्री मिनादेवी र बिनोद शमशेरको मिति ०२१।६।१६।५ को निवेदनपत्र साथ भारत सरकारकापत्रको नक्कल समेत जाहेर हुन आएकोले उक्त पत्रहरू समेत मिसिल सामेल राखी कानूनबमोजिम उक्त मुद्दा दोहर्याई हेरी किनारा गरी दिनु भन्ने हुकूम बक्सेको छ भन्नेसमेत प्रमुख सचिवबाट लेखिआएको यो मुद्दामा प्रधान न्यायाधीशबाट फुल बेञ्चमा पेश गर्ने आदेश दिनु भए मुताविक ०२१ सालको फुल बेञ्च नम्बर २६४ मा दर्ता भई यो मुद्दा पेश हुन आएको छ ।
यिनै वादीहरूले फिराद गरेको श्रेस्ता दिलाई पाउँ भन्ने मुद्दामा मि.सु.हरिभक्तले फाँटवारी पेश गरेको छ । वादीले दावा गरेको जम्मा देहाए बमोजिम लेखिएको छ ।
अचल सम्पत्तिमा २९०६०००
ज्वहारातमा १२८६३३० सुनमा १०५५९८०० गिन्नी र चाँदीमा १०८९०५ शेयर डिभेन्चर सेकुरिटी ७६६५००० नगद २२०००००० बैंकको चल्ती हिसाबमा ४४१००० फिक्स डिपोजिटमा २५०००००
मि.सु.के भनी पुच्छारमा भलो चाहने जुद्ध लेखेको २४ मार्ग साल ०८ मितिको पत्रमा १ करोड २० लाख मात्र हो सुन ज्वहारात तिमीलाई थाहा छ । हमि अर्धेलीमा दिएको धम गरेको यता गरेको खर्च घर बनाएको घर किनेको सुनाई दिनु सुन हामी लिएको ७ लाख हो बैंकमा हामीले २९ लाख राखेका चाँदीका भाडा जोहार सबै छोरालाई वाँडी आएको हो भन्नेसमेत बोली रहेछ ।
श्री ३ कान्छी महाराजी गम्भीरकुमारीबाट मि.सु.हरिभक्तलाई २००९ साल मार्ग २९ गते १ मा दस्तखत भएको भनी पेश भएको र दुबै थरले कीर्ते नभनेको लिखतमा श्री ३ राजर्षि महाराजबाट राज्य त्याग गरी सवारी भई बक्सेको दिनदेखि आजसम्म बैंकको र ढुकुटीमा रहेको सुना चाँदी नगद जिन्सी सुना चाँदीको मालहरू ज्वहारात पाउण्ड असर्फी नोट रु. मो.रु. समेतको हिसाब किताब सबै हामीबाट नगद भई छिनी बक्सी जे जति बाँकी भएको सबै र किताबहरू समेत हाम्रा वाहुलि दाखिल भइसकेकोले तिमीलाई फारंखती दस्तखत गरी बक्सीयौं भन्नेसमेत बोली परेको छ ।
सुशिला रानीसँग मिनादेवीले घर जग्गा फार्छे गरी लिएको १४ साल भाद्र १९ गते पास गरेको फार्छेपत्र १ पेश भएको रहेछ ।
मिनानानी आगे भई सुसारे २ को र मेरा छोरा बिनोेद समेतको जो भएको नगद सुना चाँदी गर गहना लुगाफाटा ज्वाहारात डिभेन्चर समेत सबै तपसीलको श्री ३ कान्छा महारानीबाट बक्सेकोले बुझी लिए भन्नेमा तपसीलमा बम्बै स्टिम डिभेन्चर पचास हजार समेत लेखिएको रहेछ ।
श्री ३ महाराज मोहन शमशेरले राजर्षि श्री ३ महाराजलाई दण्डवत भन्ने लेखेका पत्रमा हजूरबाट श्री ३ बडामहारानीहरू र छोरा बुहारी नातीसमेतलाई अंश गरी बक्सी आफूलाई चाहिने मात्र लगी बक्सेको हुनाले ०२ साल मार्ग १४ गते देखि आजसम्म उसलाई जति जति बक्सी जे जे गरी बक्सेको हो सो सबै र अब उप्रान्तलाई पनि जस जसलाई जति बक्सी जे जे गरी बक्सीन्छ सदरै गर्ने छौं कसैका उजूर लाग्ने छैन कसैले उजूर गरेमा पनि उजूर सुन्ने र कारवाई गरिने छैन हजूरको इच्छा मुताविक गरी बक्सेको सदरै हुनेछ भन्ने लेखिएको रहेछ । राजर्षि जुद्ध शमशेरले महारानी गम्भीरकुमारीलाई १९५२ जुन मा गरेको अंगे्रजी हर्फको विलमा म एक्लैको सम्पूर्ण अधिकार रहेको भनी नेपाली भाषामा अर्थ आउने रहेछ । गम्भीरकुमारीले आफ्ना छोरा शान्त शमशेर, रवि शमशेर, शशी शमशेरलाई गरेको विल १३ जनवरी १९५० मितिमा रजिष्ट्री भएको रहेछ ।
श्री ३ महाराज जुद्ध शमशेरको श्री ३ वडामहारानी पद्मकुमारी देवी र श्री ३ कान्छी महारानी गम्भीरकुमारी देवी शान्त शमशेर रवि शमशेर शशी शमशेर समेतका नाउँमा १९९५ साल भाद्र २६ गते रोज १ मितिको बण्डापत्र सनद रहेछ ।
सन् १९५७ मे ९ तथा सन् १९५८ अप्रील २५ गते पत्र अनुसारको कागज पठाई दिनु भनी लेखी पठाउँदा दिल्लीस्थित शाही नेपाली राजदुतावासबाट श्री मे.ज.व.शान्त शमशेर ज.व.रा.को उक्त मुद्दा विषयको कागजपत्र फेला नपरेको भनी जवाफ दिएको व्यहोरा श्री ५ को सरकार परराष्ट्र मन्त्रालयबाट ०२२।८।२ को पत्र आएको रहेछ ।
श्री मे.ज.शान्त शमशेर श्री क.शशी शमशेरको श्री क.रवि शमशेरको प्रतिउत्तर परेकोबाट नेपाल अधिराज्यको अदालतको अधिकार क्षेत्र भित्र पार्न प्रतिवन्ध रहेको देखिन आउँदैन र विदेशस्थित अचल सम्पत्तिमा समेत दावी भई विदेशी तत्व परेको यस्तो मुद्दामा नेपालको अदालतबाट फैसला गर्न समर्पण गरेको भए पनि अदालतले फैसला गर्दा आफ्नो आदेश कार्यान्वन गराउन सक्ने भएको कलममा मात्र यसो गर्नु भनी फैसलामा लेख्न सक्छ । २०।१२।२८।६ को फुल बेञ्चले अङ्गीकार गरेको विचारधारा स्वीकार्य छ ।
राजर्षिको पुत्र भनी विनोद शमशेरलाई भत्ता ठेकिएको पत्रको उतार समेतबाट विनोद शमशेरलाई राजर्षिको पुत्र र वहाँकी माता मिनादेवीलाई राजर्षि जुद्ध शमशेरीको पत्नी भनी सिद्ध भएको छ । यो दुई आमा छोरा बाहेक उक्त राजर्षिबाट बण्डा लिन बाँकी भनी उजूर गर्ने अरु छन् भनी यस मिसिलबाट देखिँदैन ।
नेपालको प्राईमिनिष्टर बहाल छँदै राजर्षि जुद्ध शमशेरले श्री ३ वडामहारानी र महारानी गम्भीरकुमारी छोरा शान्त शमशेर, शशी शमशेर र रवि शमशेरहरूलाई बण्डा भाग छुट्याइएको बण्डापत्रको सनद गरेको देखिएकोबाट राजर्षि परिवारमा अंश गरी सकेको रहेछ ।
यी वादीहरूले आफ्नो फिरादपत्रमा लेखेको छन् कि.०९ साल मार्ग ९ गते राजर्षिको स्वर्ग भएको र ०९ साल फाल्गुणमा घर बनाई राम्रो बस्दोबस्त गरी राखी दिन्छु भनेकाले नेपाल आई नारायण भवनमा बसेकी छु । यस बोलीबाट कुनै आफ्नो अंशको सम्पत्ति नल्याएको भनी देखाउँदै रहेको कुराको बिरोध पारी स्कूल खर्च समेत बक्सी आएकै छोरा विनोद शमशेर स्कूलमा पढ्दै छन् भनी फिरादपत्रमा र निवेदन पत्रहरूबाट पनि केही लिएको भनी देखाएको छ । मिनादेवीको भरपाई सद्दे किर्तेमा सुनाएको बयानमा शुशीला रानीसँग घर किनेकोमा मिनादेवीले सही गरेको छ भनी प्रतिवादी तर्फबाट वयान भएको र फार्छे पत्र पेश भएको कुरा खण्डन गरेको नदेखिएकाले यी वादी मिनादेवी विनोद शमशेरलाई पनि आफूले उचित सम्झेको बन्दोबस्त गर्नलाई राजर्षिबाट प्रदान गरेकै रहेछ । यसरी आफ्ना परिवारलाई चाहिने बन्दोबस्त गर्नलाई आफ्ना तजविजले जो दिन पर्ने नगद जिन्सी राजर्षिले दिएको देखिन्छ तैपनि कानूनी दृष्टिले हेर्दा बण्डापत्रको सनदमा वादीहरूको नाम नभएको र तत्काल प्रचलित अंशबण्डाको ४९ नं. अनुसार चाहिने बण्डापत्र लिखित भएको भनी प्रतिवादी तर्फबाट जिकिर भएको छैन । त्यसबाट विनोद शमशेर मिनादेवीले राजर्षिबाट अंश पाउन बाँकी देखिएकै छ ।
मिनादेवीको सहोदर भाइ र विनोद शमशेरको मामा वारिस काजी कृष्ण डंगोल भनी ०१४ साल मार्ग १६ गतेको फिरादपत्रमा लेखेकाले यि वादी जना २ ले उक्त राजर्षिबाट कुन हिसाबले अंश पाउने हुन भनी तत्काल प्रचलित ऐनको अंशबण्डाको महल हेरेमा उक्त ऐनको ६ नं.ले मिनादेवीले १ को ६ भाग र विनोद शमशेरले १ को ६ भाग तथा उक्त राजर्षिले १ पूर्ण भाग पाउने बताउँछ । त्यसै अनुसार राजर्षिका भागको ६ भागको १ भागका दरले मीनादेवीले र विनोेद शमशेरले पाउने हो भनी व्यक्त गरिन्छ ।
बण्डापत्रको सनदबाट अलग भइसकेको रानी छोराबाट अंश गर्न पर्ने हुन आउँदैन । बण्डा लिन बाँकी वादीहरू स्वास्नी छोरा छँदै महारानी गम्भीरकुमारीलाई राजर्षिबाट विल गरेको भनेको बखत भई निजहरूको भागमा पर्न आउने अँश छुटाउनु पर्ने थियो ।
यसरी अंशियार देखिएका वादीहरूलाई राजर्षिबाट बण्डापत्रको सनद गरेको देखिँदैन । तत्काल प्रचलित अंशबण्डाको ४९ नं.ले आवश्यक हुने अंश बुझेको लिखत पनि भएको प्रमाण नहुनाले अंश लिन बाँकी यिनी वादीहरू देखिन्छन् । प्रतिवादी तर्फबाट उजूर गर्ने हदम्याद नाघेको छ लुटपिट अपुतालीको ऐनमा उल्लेख हदम्याद भित्र यो फिरादपत्र परेको नहुनाले खारेजै हुनुपर्छ भन्ने तर्क उठाएकोलाई अंश लिन बाँकी अंशियार छँदै दाता राजर्षिले महारानीलाई १९५२ जुन १२ मा लिखत गरेकोबाट सम्पत्तिमा बकस पाउने गम्भीरकुमारीको मात्र एकाधिकार भएको त्यस कुरालाई २००५ साल फाल्गुण १४ गतेको खड्ग निसानाले सदर हुनपर्छ भन्ने प्रतिवाद भएकोमा प्रतिवादीको आधार गिफ्ट र विलमा परेको बोली हेर्दा अदालतले आफ्नो मात्र हक भएको भनी लेखेकोले ती लिखतको बोलीले नै अरुको अंश हक लाग्ने सम्पत्ति दिएको रहेनछ भन्ने देखिन्छ।
उक्त खड्गनिसाना सनदको बोलीले पनि अंशियारलाई अंश बक्सी सकेकोले जो जो लाई जे जे बक्सिन्छ सदरै गर्ने छौं भन्ने हुनाले राजर्षिको निजी हकलाई मात्र राजर्षिको इच्छाले दिने अधिकार दिएको देखिन्छ । वादीहरूले आफ्नो अंश खोजी गरेको र राजर्षिका शेष पछिको सम्पत्ति खोजी गरेको २ किसिमको दावी यो फिरादाबाट बुझिन्छ । वादीहरूको अंश लाग्ने सम्पत्ति प्रतिवादीहरूले आफ्नो मात्र हकको राजर्षि लिखतको आधारले प्रतिवादीहरूले लिन पाउने कुरा नै भएन वादीहरूले खोजी गर्नपनि अंशबण्डाको ६१ नं.को अंश हुन बाँकीमा जैले सुकै पनि दावा गर्नपाउने हक सुरक्षित छ । जब राजर्षिको भनी सम्पूर्ण सम्पत्ति फाँटवार नखुलेको विल र गिफ्टबाट गरेको छ भन्ने प्रतिवाद छ भने राजर्षि उपर पर्ने दायित्व पनि बहन गर्नुपर्छ । सम्पत्तिको सम्पूर्ण अधिकार मात्र लिएको छु र दायित्व लिएको छैन भने सम्पत्तिको अधिकार र दायित्व पृथक पृथक गर्न हुँदैन । अतः राजर्षिबाट वादीहरूले पाउन पर्ने अंश दिने दायित्व गम्भीरकुमारी माथी परेकै छ ।
अंश भई नसकेको स्त्री पुत्रलाई मात्र राजर्षिको अंश पाउने हो बण्डालाई सकेको स्त्रीपुत्रको हक रहँदैन अंशबण्डाको ३० नं.को व्यवस्थानुसार हुनुपर्छ की भन्नालाई प्रतिवादीको प्रमाण बील गिफ्टको उपर उजूर परेको देखिँदैन । यस अदालतबाट ती लिखतलाई सदर बदर गर्ने र ती लिखतको विदेशी स्थित अचल सम्पत्ति र लेनामा यस अधिराज्यको अदालतबाट विचार गर्न मिलेन ।
गम्भीरकुमारीले प्रतिवादी तीन छोराले पाउने गरी विल गरेको भनी पेश भएको छ साथै गम्भीरकुमारीको अपुताली लिदैनौं भनी कुनै प्रतिवादी छोराले कारवाई चलाएको नदेखिएकोले गम्भीरकुमारीको दायित्व प्रतिवादी तिनै जना छोराले बराबरका दरले व्यहोर्नु पर्छ भनी अदालतले ठहर गर्न सक्छ ।
अब हेरौं वादीको दावाको सम्पत्ति ४ किसिमको देखा परेको छ ।
(क) भारतस्थित अचल र लेना ।
(ख) भारत बैंक इत्यादिमा जम्मा गरेका नामसारी गरी लिनु पर्ने ।
(ग) नेपालको अचल ।
(घ) राजर्षिको साथमा रहेका नगद सुना चाँदी ज्वाहारात ।
माथि भनी सकेको छ विदेशी तत्वको मुद्दामा फुल बेञ्चले अपनाएको र यस बेञ्चले पनि स्वीकार गरेको सिद्धान्तले भारतस्थित अचल लेना र भारत बैंक इत्यादिमा जम्मा गरेको नगदबारे यस अदालतबाट बोली रहनु उचित पर्दैन । यो नेपालका अचल बारेमा पनि पेश भएको लिखत सनदहरूबाट राजर्षिबाट अरुलाई पहिले नै हक सरी सकेको हुँदा वादीलाई दिन भएन ।
राजर्षिको साथमा रहेको नगद सुनाचाँदी ज्वाहारात बारे यस अदालतबाट फैसला भएकोमा दायित्व वहन गर्ने माथि अभिभारा पर्न गई यस अदालतको फैसला अनुसार नै चल सम्पत्ति भरीभराउ हुन सक्ने हुँदा यो अदालतबाट परेको दावा मनासिब हो वा वेमनासिव हो भन्ने र बोल्नु कर लागेको छ । यसै साथै माथी निर्णयमा पुग्नु पर्छ के कति नगदी सुनाचाँदीको जायदात राजर्षिको शेष पछि थियो ? प्रमाणकै आधारमा अदालतले फैसला गर्नुपर्ने हुनाले यति हुनुपर्छ वा थियो भनी अन्जाम गर्न उचित पर्दैन । राजर्षि मि.सु.हरिभक्तले नै सम्पत्तिको फाँटवारी पेश गरेको छ । फाँटवारी पेश गर्ने हरिभक्त र दायित्व वहन गर्ने प्रतिवादीहरू यो कस्तो गैर जवाफदेही काम भएको छ ? श्री ३ कान्छी महारानी गम्भीरकुमारीलाई जो भएको सबै र कागजात बुझाए भनी कान्छी महारानी गम्भीरकुमारीको २००९।८।२९ गते दस्तखत पेश गरेको छ । त्यसमा नगद वा जिन्सी यति थियो कागजपत्र यति बुझाएको हो भनी खुल्दैन । बुझाउने बेलामा भने यति भनेर बुझाउन नसक्ने पछि मुखले भने यति बुझाएको थिए भनी पेश गरेको फाँटवारीबाट मात्र विश्वास गर्न गाह्रो भएको छ । यस्ता फाँटवारीलाई सहायक हुने अरु लिखत पेश नगरेको केवल राजर्षिले मि.सु.के भनी लेखेको २००८ साल मार्ग १४ को पत्र पेश गरेको छ । त्यही पत्र प्रतिवादीहरूले सुनि वयान गरेकोमा कीर्ते भनेका छैनन् र अन्त परेको दस्तखतसँग जाँच होस् दुबै थर पक्षले प्रमाण नदिएको यस्तो कागज प्रमाण लिन नहुने भन्नेसमेत बयान गरेको देखिन्छ । यसैबाट त्यो पत्र प्रमाणमा लिन हुने हो वा होइन भनी विचार गर्दा दुबै पक्षले पेश भने नगरेको श्रेस्ता बुझाउन जिम्मेवार भएको र त्यस मुद्दामा प्रमाण निमित्त बुझेको मिरसुब्बाले आफ्नो भनाइलाई खंविर हुने साथै साथ वादी प्रतिवादीको पक्ष वा बिरोधमा प्रमाण हुन सक्ने लिखत रहेछ । हा.क.८ नं.ले पेश गर्न पाउने हुनाले यो चिठ्ठीलाई प्रमाणमा लिन हुने देखिएको छ । अतः यस चिठ्ठीबाट प्रमाणित हुन सकेकोमा मि.सु.हरिभक्तको फाँटवारीबाट यो कलमको सम्पत्ति निर्धारीत गर्नु परेको छ । ज्वाहारात र चाँदी हामीले बाँडी आएको भनी त्यस चिठ्ठीमा लेखेको रहेछ । मिनादेवीले ज्वाहारात गहना बुझेको भनी प्रतिवादीले पेश गरेको भरपाई सुनाउँदा आफै बुुझेको भन्ने बोली परेको हुनाले त्यस भरपाईबाट अंश बुझेको प्रमाणित भएको रहेनछ । देखिएका ज्वाहारातहरू अलंकार बनेको ज–जस्को निमित्त बनेको हुन् उसै उसैले लगाउने चलन गर्ने किसिमको हुनाले ज्वहारातको बण्डा बाँकी रहेछ भनी अनुमान गर्न हुँदैन । चाँदीको भाँडामा पनि दर तौल थान किसिम नखुलाई मोल पनि अन्दाजी भनी फाँटवारी दिएको समेतबाट र चाँदीको फाँटवारी कायम हुँदैन । नगदीको २ करोड बसी लाख भनी लेखेकोमा त्यो चिठ्ठीबाटै नगदी १ करोड बीसलाख साथमा लगेको त्यसैबाट धर्मगरेको घर बनाएको आदि कार्य गरेको र बैंकमा रहेको भन्नेसमेत बोली चिठ्ठीमा परेकोले र बैंकमा चल्ती र फिक्सड डिपोजिटमा रहेको भनी देखाई सो भन्दा बेगल फेरि साथमा लगेको भन्दा पनि एक करोड बढी नगदको फाँटवारी देखाएकोलाई पत्यार गर्न मिलेन । यसरी लिखत चिठ्ठीले प्रमाणित नगरेको एउटाले अर्कोलाई बुझाउन पर्ने भनी अर्काले मुखले भनेको भरले मि.सु.को फाँटवारीबाट यो कलम पनि भरीभराउ हुँदैन । उसमा पनि त्यो नगदी यस ठाउँमा छ भन्ने पनि देखाउन नसकेकोले प्रत्यक्ष हुन सक्ने बस्तु देखाउन सकेकै नहुनाले अदालतबाट दातृत्व शक्ति भएको राजर्षिको शेमाष यति थियो भनी अनुमान गर्न भएन । यति सम्म अघिल्लो फुल बेञ्चको रायसँग सहमत छु । सुनको हकमा ७ लाख पनि मि.सु.ले फाँटवारीमा दिएको र उक्त राजर्षिको पत्रले पनि प्रमाणित भएको छ । यसरी दौलथ रहेको छँदा छँदै त्यो सुनलाई हिनामिना गरेका व्यक्तिमै पनि जम्मा गरेको थियो भनी लेखाई नभएकोले सातलाख मोलको सुन फाँटवारी बमोजिम वादीहरूको अंश लाग्ने सम्पत्तिको दायित्व प्रतिवादीहरू माथि पर्न आउँछ ।
माथि लेखिएबमोजिम राजर्षिको भाग कटाई मिनादेवी र विनोद शमशेरको भाग प्रतिवादीहरू तिनै जनाले वादीलाई दिनु पर्ने हुन आउँछ । त्यसबाट रु. ७ लाख मध्ये राजर्षिको भाग कटाई बाँकीमा विनोेद शमशेरले ८७५००।९८ मिनादेवीले ८७५००।९८ भरी पाउँछन् । तपसील बमोजिम गर्नु माननीय सहकारीज्यूहरूको रायमा म सहमत छैन ।
तपसील
देहाय बमोजिम विगो भरीपाउँ भनी दं.स.को ४२ नं.ऐनको म्याद ३ बर्षभित्र दर्खास्त परेमा भराएका धनको सडकडा २।। दस्तुर लिई भराई दिनु भनी का.श्रे.अ.त मा लगत दिनु ।
भरी पाउने शान्त शमशेरबाट रवि शमशेरबाट शशी शमशेरबाट
विनोद शमशेरले २९१६६।६६ २९१६६।६६ २९१६६।६६
मिना देवीले २९१६६।६६ २९१६६।६६ २९१६६।६६
कोर्टफी नियमावली बमोजिम वादीलाई रु. ३०००। कोर्टफी लागेकोले कोर्टफी ऐन, २०१७ का दफा १५(९) ले भरीभराउ गर्दा देहाय बमोजिम असुल गरी लिनु भनी का.श्रे.अ.त.लगत दिनु........................................२
शान्त शमशेरबाट रु. १०००, रवि शमशेरबाट रु. १००० र शशी शमशेरबाट रु. १०००
माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.को राय,
प्रतिवादीहरूलाई रु. १०२९७५०। दिलाउने भराउने गरेको सहयोगी साथीहरू माननीय न्यायाधीश श्री रङ्गनाथ उप्रेती, माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहह, माननीय न्यायाधीश श्री झपटसिंह रावलको बहुमतको ठहरसँग मेरा सहमती जनाउँदै निजी अन्तर्राष्ट्रिय कानूनको सम्बन्धमा छुट्टै बुदाँहरू समावेश गरेको छु ।
यसमा वादी मीनादेवी राणा समेतको र प्रतिवादी मे.ज.शान्त शमशेर ज.व.रा.समेतको दे.फु.२६४ को विगो भराई चलन गराई पाउँ भन्ने मुद्दामा समेत भै भएको २७।९।२४।६ को फैसलामा श्री मा.न्या.रंगनाथ उप्रेतीसमेतको बहुमतको ठहरसँग मेरो सहमती जनाउँदै निजी अन्तर्राष्ट्रिय कानूनको सम्बन्धमा छुट्टा छुट्टै बुँदाहरू पेश गरेको छु भन्ने उल्लेख हुँदा प्रस्तुत मुद्दामा अन्तराष्ट्रिय कानूनको सम्बन्धमा छुट्टै बुँदाहरू मेरो निम्न लेखिएबमोजिम छ ।
निजी अन्तर्राष्ट्रिय कानूनमा पनि चल र अचल सम्पत्तिको बेग्ला बेग्लै स्थान ग्रहण गरेको पाइन्छ । व्यक्तिसरह चल सम्पत्तिको पनि खुट्टा हुन्छ भन्ने सिद्धान्तले सर्वत्र मान्यता पाएको छ ।
अतः कुनै व्यक्ति अचल सम्पत्ति अन्य मुलुकमा छ तर त्यस्तो व्यक्तिले आफू जन्मेको वा बसोबास गरेको वा कारोवार गरेको अदालतको अधिकार क्षेत्र स्वीकार गरी आफूलाई अदालतको हवाला गरेको छ र अदालतले पनि यस्ता व्यक्तिबाट भराउने निर्णय दिएको छ भने पनि अचल सम्पत्तिको हकमा जुन देशमा सो सम्पत्ति रहेको छ, त्यस देशको कानून अथवा सन्धी वा सम्झौताको अभावमा सम्पत्तिको भरिभराउ हुन सक्तैन । तर चल सम्पत्ति भने व्यक्ति साथै हिंड्ने हुँदा जुन ठाउँको अदालतले पनि चल सम्पत्ति भरिभराउ गर्न सक्दछ ।
निजी अन्तर्राष्ट्रिय कानूनको प्रयोजनको लागि जुन बस्तुको अंकित स्थान (Fixed Location) हुन्छ, त्यसलाई अचल र जुन वस्तुको हस्तान्तरण वा सारफेर हुन सक्दछ, त्यस्तालाई चल सम्पत्ति नामाकरण गरेको छ ।
हुकूम प्रमांगीबाट दोहरिएर आएको फुल बेञ्चको फैसलामा चल र अचल दुवै सम्पत्तिको एउटै स्थान मानी गरेको फैसला सरासर गलत देखिन्छ ।
प्रतिवादीहरूबाट वादीहरूलाई दिलाउने भराउने गरेको पूर्णाड्ढमा सहयोगी साथीहरूको बहुमतको ठहरसँग मैले सहमती जनाइसकेको छु । मिसिल रुल नियमबमोजिम बुझाइदिनु ।
न्या.प्रकाशबहादुर के.सी.
इति सम्वत् २०२७ साल पुष २४ गते रोज ६ शुभम् ।