शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७७९ - घर चलन चलाई पाउँ

भाग: १५ साल: २०३० महिना: बैशाख अंक:

निर्णय नं. ७७९     ने.का.प. २०३०

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०२८ सालको दे.फु.नं. १३५

फैसला भएको मिति : २०३०।६।१४।३ मा

निवेदक : का.न.पं. वार्ड नं.१० भोंसिको टोल बस्ने रूद्रमान श्रेष्ठ समेत

विरूद्ध

विपक्षी : ऐ.घर हाल का.जि.डिल्लीबजार बस्ने उमादेवी श्रेष्ठनी

मुद्दा : घर चलन चलाई पाउँ

(१)   बन्धकी लेखिएको घर बन्धकी लिखत कायम छँदै चलन चलाई दिन कानूनले मिल्ने नदेखिने ।

            यसमा चलन चलाई पाउँ भनी वादीले दावी लिएको घर वादीलाई चलन चलाई दिन मिल्ने नमिल्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ उक्त निर्णयको लागि दुवै पक्षले आधार लिएको पहिले परेको घर खिचोला मुद्दामा ०२५।९।२४ को डिभिजन बेञ्चबाट भएको निर्णय के कस्तो रहेछ भनी हेर्दा उमादेवीको नाउँबाट दर्खास्त परी उमादेवीका नाउँमा बनेका घर निजको मञ्जूरी बेगर बण्डापत्रमा अरूको भागमा पारेको सदर हुन नसक्ने एकाको नाउँमा बनेको घरमा अरूको पनि हक लाग्छ भन्न कानून व्यवहारले नमिल्ने भन्नेसमेत ठहर उल्लेख गरी उमादेवीको हक कायम गरेको भए पनि उमादेवीको लोग्ने सितलकाजीले रूद्रमानलाई गरी दिएको भनेको ०१३।८।१५ को बन्धकी लिखतको हकमा सो घर बन्धकीमा लिने साहूको बन्धकी बदर हुन्छ कि भन्नालाई उमादेवीले यसतर्फ बदर गरिपाउँ भनी उजूर बाजूरसमेत गरेको नदेखिँदा बन्धकी तर्फ अहिले अदालतले बोलिरहनु पर्ने अवस्था देखिँदैन भनी कुनै ठहर नगरेको देखियो आफ्नो घर अरूले बन्धकी लिखत पास गरी दिएको छ भने पनि बन्धकी लिखतबमोजिम सो घर बन्धकीवालाले नै भोगेको अवस्थामा सो लिखत बदर गराउनालाई कानूनबमोजिम नालेस उजूर गरेको भएमात्र उजूर गर्नेको हक देखिएमा बदर हुने स्थिति आउन सक्ने हो प्रस्तुत मुद्दामा सितलकाजीले रूद्रमानलाई गरी दिएको भनेको उक्त बन्धकी लिखत बदर गरिपाउँ भन्ने तर्फ वादीको कानून बमोजिमको दावी उजूर परेको नदेखिएको र कपाली भएको भन्ने भनाइको हकमा कपाली भएको कुनै कानूनी आधार प्रमाण देखाउँन पनि नसकेकीले यस्तो अवस्थामा त्यस्तो बन्धकी लेखिएको घर बन्धकी लिखत कायम छँदै वादीलाई चलन चलाई दिन कानूनले मिल्ने देखिँदैन, तसर्थ बन्धकी बदर नभएसम्म वा बन्धकी थैली बुझाउनु पर्नेेले नबुझाएसम्म वा बन्धकी लेखिएको घर वादीलाई चलन चलाई दिन नमिल्ने भनी बागमती अञ्चल अदालतले ०२७।१।१०।५ मा छिनेको इन्साफ मनासिव ठहर्छ, ०२८।२।१४।६ को डिभिजन बेञ्चले वादीलाई चलन चलाई दिने ठहराएको इन्साफ मिलेको देखिएन अरू तपसीलबमोजिम गर्नु ।

 (प्रकरण नं. १०)

निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवाली

विपक्षी तर्फबाट : वैतनिक वरिष्ठ अधिवक्ता दिनेशमान प्रधान

उल्लिखित मुद्दा :

फैसला

      प्र.न्या. रत्नबहादुर बिष्ट

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२८।८।१२।१ को हुकुम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।

      २.    तथ्य यसप्रकार छ : सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मेरो दाइजो पेवाको ठहरी ०२५।९।२४ गतेको फैसलाले जिती पाएको मेरो भोंसिको टोलको ब्लक नं.१०।३०१ को घरमा विपक्षीहरू बसिरहेका छन् घर खाली गराउन सकेको छैन साहू रूद्रमानले देवकुमारीका नाउँमा नालेस गरी आफ्नो थैली भराई लिनु पर्ने आजसम्म गरेको छैन घर खाली गराई दिनु भन्ने प्रमांगी बक्स गरिपाउँ भन्ने उमादेवीको निवेदनपत्रमा व्यहोरा साँचो भए त्यस अदालतबाट ठाडै बुझी निवेदकको हकको घर कानूनबमोजिम गरी चलन चलाई दिनु भन्ने हुकुम प्रमांगी बक्स भएको ।

      ३.    मेरो निवेदन जिकिरबमोजिम विपक्षीहरूलाई घर उठाई खाली गराई हु.प्र. बमोजिम चलन चलाई पाउँ भन्नेसमेत उमादेवीको बयान ।

      ४.    घर खिचोला मुद्दामा डिभिजन बेञ्चबाट फैसला हुँदा बन्धकी लिखत बदर गरिपाउँ भन्ने दावी नभएकोले त्यसतर्फ अहिले बोलिरहनु पर्ने अवस्था देखिँदैन भनी किटान साथ लेखी भोगबन्धकी लिखत कायम राखेको चलन चलाई पाउँ भनेको घर वादी सगोल छँदै वादीको लोग्ने सितलकाजीसँग रू.१०००१। मा ०१३।८।१५ गते भोगबन्धकी पास गराई म रूद्रमानले लिएको हुँदा बन्धकी रूपैयाँ तिर्न नपाउने गराउन झुठ्ठा उजूर गरेकी हो भन्नेसमेत रूद्रमान र दुर्गादेवीको वारेस भई आफ्ना हकमासमेत हिराकाजीको बयान ।

      ५.    डिभिजन बेञ्चको फैसलाबाट दाइजो पेवा र वादीको एकलौटी ठहरेको छैन सो घर सगोलको हुन्छ बण्डा हुँदा मेरो भागमा परेको छ रूद्रमानलाई भोगबन्धकी दिएको लिखत डिभिजन बेञ्चले पनि कायम गरेको छ भन्नेसमेत देवकुमारीको र सो घर पसल हामीले ०२५ साल फाल्गुणमै छोडी दिई सकेका छौं भन्ने हरी महर्जन, हिरामायासमेतको बयान ।

      ६.    सर्वोच्च अदालतको ०२५।९।२४ को फैसलामा सितलकाजी र निजको आमाको ०२०।२।५ को बण्डापत्रबाट आमाको भागमा परेको घर म्युनिसिपलटीको पाताल बनाउने आदेश गरेपछि पुरानो घर भत्काई नयाँ घर बनाउँदा उमादेवीको नाउँबाट दर्खास्त परी उमादेवीको नाउँको घर बनेको देखियो त्यसरी बुहारीको नाउँमा बनेको घर निजको मञ्जूरी बेगर बण्डापत्रमा र अंश भागमा पारेको सदर हुन सक्दैन उमादेवीको नाउँमा यो घर बनेको देखिँदा उमादेवीले घर खिचोला गरेको भन्न मिल्दैन चलन चलाई पाउँ भनेको घर निवेदिकाको हकको कायम गरेको स्पष्ट देखिन आएकोले बण्डापत्रमा परेको नाताबाट सगोलको भन्ने विपक्षीहरूको जिरह मनासिव देखिन आउँदैन र निवेदककै हकको देखिन आउँछ तर बन्धकी साहू तर्फ सर्वोच्च अदालतबाट सो सम्बन्धमा निवेदकको उजूर नपरेबाट सदर बदर केही नबोलेको स्पष्ट हुदाँ निवेदकको भनाई बमोजिम घरमा निजको हक कायम भएको नाताबाट निजको बदर गरिपाउँ भन्ने उजूरी बेगर कपाली भइसकेको भनी भन्न नमिल्ने हुँदा साहूको बन्धकी थैली कपाली भइसकेको भन्ने निवेदकको भनाई व्यहोरा साँचो नदेखिएको र बन्धकीमा दिएको घर सो बन्धकी बदर नभएसम्म वा बुझाउनु पर्नेले थैली नबुझाएसम्म चलन चलाई दिन कानूनले नमिल्ने हुँदा निवेदिकाको दावी खारेज हुने ठहर्छ भन्ने ०२७।१।१०।५ को बागमती अञ्चल अदालतको फैसला ।

      ७.    सो उपर चित्त बुझेन भन्ने उमादेवी, देवकुमारीसमेतको छुट्टाछुट्टै पुनरावेदन ।

      ८.    सर्वोच्च अदालतको अन्तिम फैसलाबाट उमादेवीको हकको ठहरेको घर पसल सगोल भनी देवकुमारीले जिकिर लिए पनि अन्य सबूद प्रमाण दिन नसकेकोले देवकुमारीको पुनरादेवन जिकिर पुग्दैन घर चलन पाउनु पर्ने भन्ने उमादेवीको पुनरावेदन तर्फ माथि उल्लेख गरेबमोजिम उमादेवीले चढाएको निवेदनमा हुकुम प्रमांगी बक्स भएको रूद्रमानको तमसुक कपाली ठहरिसकेको छ भन्ने निवेदनमा किटान गरी लेखिएको छैन कपाली भयो भनी निवेदनमा लेखिएको सो आफ्नै विचारलाई लिई लेखेको भन्नु पर्छ त्यसकारण बन्धकी बदर गरिपाउँ भन्ने उजूरी बेगर कपाली भइसकेको भन्ने व्यहोरा साँचो नदेखिएको भन्ने अञ्चल अदालतको भनाई मिल्ने होइन सर्वोच्च अदालतको ०२५।९।२४ को फैसलाले घरमा उमादेवीको हक कायम भएको देखिनाले सो घर चलन चलाई दिने ठहर्छ भन्ने ०२८।२।१४।६ को डिभिजन बेञ्चको फैसला ।

      ९.    यस बेञ्च समक्ष निवेदक रूद्रमानतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले मेरो पक्षले बन्धकी पास गराई लिएको लिखत उमादेवीले कानूनबमोजिम नालेस उजूर गरी बदर गराउन सकेकी छैनन बन्धकी लिखत कायमै रहेको हुँदा त्यस्तो बन्धकी लिखतमा लेखिएको घर चलन चलाई पाउँ भन्ने वादीको दावी पुग्न सक्ने होइन भन्नेसमेत र वादी उमादेवी तर्फबाट विद्वान वैतिनिक वरिष्ठ अधिवक्ता श्री दिनेशमान प्रधानले ०२५।९।२४ को डिभिजन बेञ्चबाट भएको फैसलाले वादी र उमादेवीको हक ठहरेका घर सितलकाजीले बन्धकी दिएको स्वतः बदर भएको मान्नु पर्ने र सो लिखतको थैली कपाली हुनेसमेत हुँदा उजूरीबमोजिम घर वादीले चलन पाउनु पर्छ भन्नेसमेत बहस गर्नु भयो ।

      १०.    यसमा चलन चलाई पाउँ भनी वादीले दावी लिएको घर वादीलाई चलन चलाई दिन मिल्ने नमिल्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ उक्त निर्णयको लागि दुवै पक्षले आधार लिएको पहिले परेको घर खिचोला मुद्दामा ०२५।९।२४ को डिभिजन बेञ्चबाट भएको निर्णय के कस्तो रहेछ भनी हेर्दा उमादेवीको नाउँबाट दर्खास्त परी उमादेवीका नाउँमा बनेका घर निजको मञ्जूरी बेगर बण्डापत्रमा अरूको भागमा पारेको सदर हुन नसक्ने एकाको नाउँमा बनेको घरमा अरूको पनि हक लाग्छ भन्न कानून व्यवहारले नमिल्ने भन्नेसमेत ठहर उल्लेख गरी उमादेवीको हक कायम गरेको भए पनि उमादेवीको लोग्ने सितलकाजीले रूद्रमानलाई गरी दिएको भनेको ०१३।८।१५ को बन्धकी लिखतको हकमा सो घर बन्धकीमा लिने साहूको बन्धकी बदर हुन्छ कि भन्नालाई उमादेवीले यसतर्फ बदर गरिपाउँ भनी उजूर बाजूरसमेत गरेको नदेखिँदा बन्धकी तर्फ अहिले अदालतले बोलिरहनु पर्ने अवस्था देखिँदैन भनी कुनै ठहर नगरेको देखियो आफ्नो घर अरूले बन्धकी लिखत पास गरी दिएको छ भने पनि बन्धकी लिखतबमोजिम सो घर बन्धकीवालाले नै भोगेको अवस्थामा सो लिखत बदर गराउनालाई कानूनबमोजिम नालेस उजूर गरेको भएमात्र उजूर गर्नेको हक देखिएमा बदर हुने स्थिति आउन सक्ने हो प्रस्तुत मुद्दामा सितलकाजीले रूद्रमानलाई गरी दिएको भनेको उक्त बन्धकी लिखत बदर गरिपाउँ भन्ने तर्फ वादीको कानून बमोजिमको दावी उजूर परेको नदेखिएको र कपाली भएको भन्ने भनाइको हकमा कपाली भएको कुनै कानूनी आधार प्रमाण देखाउँन पनि नसकेकीले यस्तो अवस्थामा त्यस्तो बन्धकी लेखिएको घर बन्धकी लिखत कायम छँदै वादीलाई चलन चलाई दिन कानूनले मिल्ने देखिँदैन, तसर्थ बन्धकी बदर नभएसम्म वा बन्धकी थैली बुझाउनु पर्नेेले नबुझाएसम्म वा बन्धकी लेखिएको घर वादीलाई चलन चलाई दिन नमिल्ने भनी बागमती अञ्चल अदालतले ०२७।१।१०।५ मा छिनेको इन्साफ मनासिव ठहर्छ, ०२८।२।१४।६ को डिभिजन बेञ्चले वादीलाई चलन चलाई दिने ठहराएको इन्साफ मिलेको देखिएन अरू तपसीलबमोजिम गर्नु ।

 

तपसील

वादी उमादेवीले आदेशबमोजिम पहिले दाखिल नगरेकी पुनरावेदन गर्दा लाग्ने कोर्टफी रू.६३। मिति ०२८।२।१४।६ को डिभिजन बेञ्चको फैसलाले प्रतिवादी देवकुमारीबाट असूल गर्ने गरेको लगत काटी दिनु सो कोर्टफी रू. ६३। वादी उमादेवीबाटै कानूनबमोजिम असूल गर्नु भनी वारेस हुँदा का.जि.अ.तहसिल फाँटमा लगत दिनु..........................१

वादी उमादेवीको बागमती अञ्चल अदालतको फैसालले लाग्ने गरेको कोर्टफी रू.४२०। डिभिजन बेञ्चको २०२८।१४।६ को फैसलाले प्रतिवादी देवकुमारीबाट भराई दिने गरेको लगत काटी दिनु भनी ऐ.ऐ.........................२

वादी उमादेवी के २०२८।१४।६ को डिभिजन बेञ्चको फैसलाले भोंंसिको टोलको ब्लक नं.१०।३०१ को घर चलन चलाई दिने गरेको लगत काटी दिनु भनी ऐ.ऐ........................३

निवेदक प्रतिवादी रुद्रमान श्रेष्ठको मुद्दा दोहर्‍याउँदा २०२८।९।२।६ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रू.४२।१ वादी उमादेवीबाट भराई पाउँ भनी कोर्टफी ऐन, २०१७ को संशोधित दफा १५ (११) बमोजिम ३ बर्ष भित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी ऐ.ऐ......................४

डिभिजन बेञ्चको २०२८।१४।६ को फैसलाले बागमती अञ्चल अदालतका अञ्चल न्यायाधीश श्री हिरण्यश्वरमान प्रधानको इन्साफ उल्टीको रेकर्ड राख्ने गरेको लगत काटी दिनु भनी सर्वोच्च अदालत जनरल विभागमा सूचना दिनु...................५

नियमबमोजिम मिसिल बुझाई दिनु.........................६

 

हामीहरूको सहमती छ ।

 

न्या. धनेन्द्रबहादुर सिंह

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०३० साल कार्तिक १४ गते रोज ३ शुभम ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु