शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७८३ - उखडा जग्गा

भाग: १५ साल: २०३० महिना: बैशाख अंक:

निर्णय नं. ७८३     ने.का.प. २०३०

फुल बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री जयदेव भट्ट

सम्वत् २०२९ सालको दे.फु.नं. १७०

फैसला भएको मिति : २०३०।३।२६।३ मा

निवेदक : जि.कपिलवस्तु तप्पे धनौरा मौजे तौलिहवा बस्ने महमद इसलाम खाँ

विरूद्ध

विपक्षी : ऐ. बरदहवा बस्ने रामु चमार

मुद्दा : उखडा जग्गा

(१)   कबुलियत रसिद नभएको भन्ने कारणलेमात्र उखडा कायम नहुने भन्न नमिल्ने ।

            उखडामा कमाएको कबुलियत रसिदसमेतको लिखत सबूद प्रतिवादी तर्फबाट कुनै पेश दाखिल हुन नआएकोले उखडामा कमाएको मान्न नमिल्ने भन्ने मुल तर्क उठाइएको हकमा उखडा ऐन प्रारम्भ हुनु भन्दा पहिलेदेखि नै उखडामा जोती आएको उखडा सम्बन्धी ऐन, ०२१ को दफा २ परिभाषा (घ) मा बोल कबोलसम्म बाट कमाएको पनि उखडा मानिने व्यवस्था भएको र यस्तै उखडाको हो होइन भन्ने विवाद उठेकोमा कबुलियत रसिद नभएको पनि हुन सक्ने स्थितिलाई ध्यानमा राखी सोही उखडा सम्बन्धी ऐन, २०२१ को संशोधित दफा ८ को उपदफा (१) मा आवश्यकतानुसार सर्जमिन गराउन सक्ने पनि व्यवस्था भई राखेकोले कबुलियत रसिद नभएको भन्ने कारणलेमात्र उक्त स्थितिमा उखडा कायम नहुने भन्न मिल्दैन यस्तो कबुलियत रसिद नभएकोमा बुझिएका सर्जमिन भनाइकै मुल्यांकनको आधारमा उखडा हो होइन भन्ने कुराको निर्णय दिनु उपयुक्त हुने देखिन्छ ।

(प्रकराण नं.९)

निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कुन्जविहारीप्रसाद सिंह

विपक्षी तर्फबाट : अधिवक्ता सुधानाथ पन्त

उल्लिखित मुद्दा :

फैसला

न्या. जयदेव भट्ट

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने ५ महाराजाधिराजबाट हुकुमको प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।

      २.    तथ्य यसप्रकार छ : जग्गाधनी इसलाम मुसलमानको फि विगाहा १ के रु. २०। पोत लाग्ने जग्गा फि विगाहा रू.२८।८० दिने गरी ।।।४।।।१ जग्गा उखडामा चलन गरेको भन्ने रामु चमारको विवरण फाराम ।

      ३.    सो जग्गा रामुलाई उखडामा कमाउन दिएको छैन मेरै शिर भोगमा छ उखडामा कमाएको भए रसिद कबुलियत दाखिल गर्न सक्नु पर्छ विपक्षीको बाबु लक्ष्मण चमारले उखडामा कमाएको जग्गाको बाली रक्षा गरिपाउँ भन्ने निवेदन दिएकोमा म्याद गुजारी चुप लागी बसी कारवाईसमेत नगरेकोबाटै उखडामा नकमाएको सिद्ध छ मेरो जग्गामा झुठ्ठा दावी गरेको भन्नेसमेत महमद इसलाम खाँको विरोध उजूरी ।

            यो जमीन मेरो बाबुको पालादेखि जोती आएको हुँ लक्ष्मण चमार मेरो जेठो बाबु हुन मसमेतका रैतीले उखडा बालीको रक्षा गरिपाउँ भनी निवेदन दिएको के तोक लाग्यो थाहा छैन यो जमीनको पोत सालको कच्ची विगाहा १ के भा रू.४ का दरले भा.रू.२४ दिन्थेँ रसिद नदिएकोले थाहा छैन २१ सालदेखि पोत मालमा धरौट राखेको छु गत सालदेखि यो जमीन पर्ति नै छ भन्ने रामु चमारको बयान ।

      ४.    अघि जग्गाधनीले खिचोला गरेको भन्ने किसानको बयान भएको सो खिचोलामा कारवाई गरी आफ्नो हक कायम गरेको नदेखिएको २१ साल देखिको पोत धरौट र जोताहाको अस्थायी निस्सा र अनिवार्य वचतको निस्साकै आधारमा किसानले उखडामा कमाएको हो कि भन्न किसानले बयान गर्दा २२ सालदेखि जमीन पर्ति छ भन्ने, पछि उक्त २३ सालमा पाएको अस्थायी निस्सा र बचतको निस्साकै भरमा उखडा कमाएको भन्न र ठहराउन कानूनसंगत नहुँदा किसानले उखडामा कमाएको ठहर्दैन भन्ने कपिलवस्तु उखडा ट्राईबुनल नं.४ को ०२४।२।८ को फैसला ।

      ५.    सो उपर चित्त बुझेन भन्ने रामु चमारको पुनरावेदन ।

      ६.    अघि ०१५ सालमा उखडामा कमाएको जग्गाको बाली रक्षा गरिपाउँ भनी प्रतिवादीको बाबु लक्ष्मण चमारले दिएको निवेदनमा म्याद गुजारी कारवाई नगरेबाटै उखडामा नजोतेको भन्ने मुख्य वादीले जिकिर लिएको देखिएको त्यत्तिकै भरले मुद्दा परी हारजित भएको भन्न मिल्दैन बाली रक्षा गरिपाउँ भन्ने निवेदनमा कारवाई नचलेकैबाट जग्गामा हक टुटिसकेको भन्ने देखिन आउँदैन उक्त १५ सालमा दिएको निवेदनमा उखडामा कमाएको भन्ने उल्लेख भएको र बुझिएको सर्जमिन १७५ जवानको मुचुल्काबाट १०।१२ बर्षदेखि प्रतिवादी किसानले नै नगदी पोतमा कमाएको भन्ने १२३ जनाको र जग्गाधनीले जोतेको भन्ने ५२ जनाको सर्जमिन भई आएकोबाट अधिकांश सर्जमिनको बकाईबाट प्रतिवादीले नगदी पोतमा कमाएको देखिएकोलेसमेत उखडामा दिएको छैन भन्ने वादीको जिकिर पुग्न सक्दैन उखडा ठहर्दैन भनी कपिलवस्तु उखडा ट्राइवुनल नं.४ ले गरेको इन्साफ गल्ती ठहर्छ भन्ने ०२८।३।२।४ को डिभिजन बेञ्चको फैसला ।

      ७.    यस बेञ्च समक्ष निवेदक वादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्ज विहारीप्रसाद सिंहले बहसमा बालीको रक्षा गरिपाउँ भनी १५ सालमा निवेदन दिएको त्यस्मा कारवाई गराउन सकेका छैनन् । उखडामा कमाएको कबुलियत रसिद कुनै पनि पेश गर्न नसकेको र बुझिएका सर्जमिनमा सँधियार नबुझिएको, बेगल गाउँका मानिसलाई सत्य कुरा थाहा हुन नसक्ने भई तिनीहरूको भनाई प्रमाणमा लिन नमिल्नेसमेत हुँदा यस्तो स्थितिमा उखडा ठहराउन मिल्ने हैन उखडा ठहराएको डिभिजन बेञ्चको फैसला बदर हुनुपर्छ भन्नेसमेत जिकिर लिनु भएको र प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले बहस नोटमा रसिद कबुलियत नभई बोल कबोलबाट कमाएको पनि उखडा कायम हुन सक्छ । बुझिएका सर्जमिनमा बहुसंख्यकले उखडामा जोतेको भनेकालाई मान्यता दिनुपर्नेसमेत हुँदा उखडा कायम गरेको डिभिजन बेञ्चको फैसला कायम हुनुपर्छ भन्नेसमेत जिकिर लिनु भएको छ ।

      ८.    यस्मा झगडा परेको जग्गा प्रतिवादीले उखडामा कमाएको हो होइन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

      ९.    उखडामा कमाएको कबुलियत रसिदसमेतको लिखत सबूद प्रतिवादी तर्फबाट कुनै पेश दाखिल हुन नआएकोले उखडामा कमाएको मान्न नमिल्ने भन्ने मुल तर्क उठाइएको हकमा उखडा ऐन प्रारम्भ हुनु भन्दा पहिलेदेखि नै उखडामा जोती आएको उखडा सम्बन्धी ऐन, ०२१ को दफा २ परिभाषा (घ) मा बोल कबोलसम्म बाट कमाएको पनि उखडा मानिने व्यवस्था भएको र यस्तै उखडाको हो होइन भन्ने विवाद उठेकोमा कबुलियत रसिद नभएको पनि हुन सक्ने स्थितिलाई ध्यानमा राखी सोही उखडा सम्बन्धी ऐन, २०२१ को संशोधित दफा ८ को उपदफा (१) मा आवश्यकतानुसार सर्जमिन गराउन सक्ने पनि व्यवस्था भई राखेकोले कबुलियत रसिद नभएको भन्ने कारणलेमात्र उक्त स्थितिमा उखडा कायम नहुने भन्न मिल्दैन यस्तो कबुलियत रसिद नभएकोमा बुझिएका सर्जमिन भनाइकै मुल्यांकनको आधारमा उखडा हो होइन भन्ने कुराको निर्णय दिनु उपयुक्त हुने देखिन्छ ।

      १०.    बुझिएका सर्जमिनहरूको भनाई हेर्दा जम्मा १७५ जवान बुझिएकोमा बहुसंख्यक अर्थात् १२३ जवानले १०।१२ बर्षदेखि प्रतिवादी किसानले नै नगदी पोतमा कमाई आएको भनी लेखी दिएको पाइन्छ सो सर्जमिन हुँदा आफूसमेत उपस्थित रही सही गर्ने वादीले केही सर्जमिनलाई झगडा मुद्दा परी इवीवाला भएको भन्ने जिकिर लिए पनि त्यस कुराको सबूद देखाउन र ती सर्जमिनहरूले झुठ्ठा बके भनी कानूनबमोजिम उजूर गरी बदर गराउन सकेको छैन । के कति तिर्ने गरी कमाएको भन्ने कुरा कसैले उल्लेख गर्न नसकेको सिर्फ १०।१२ बर्षदेखि नगदी पोतमा कमाएको भन्ने अप्रष्ट व्यहोरामात्र लेखाएको भनी ति सर्जमिनहरूको भनाई प्रति दोष लगाइएकोमा सामान्यतया बीचमा मानिस सर्जमिनहरूलाई यसको जग्गा यसले कमाएको छ भन्नेसम्म सो जग्गा कमाएको देखेको कारणले थाहा हुन सक्ने हो कति तिर्ने गरी कुन शर्तमा कमाएको भन्नेसमेत चासो नपर्ने बेसरोकारको कुरा सर्जमिनका मानिसलाई थाहा जनक हुन नसक्ने पनि अवस्था पर्छ त्यसकारण आफूलाई जे जति कुरा थाहा छ त्यतिसम्म खुलाई लेखी दिने सर्जमिनहरूको भनाइमा उपरोक्त दोष लगाउनु युक्तिसंगत देखिँदैन ।

      ११.    उखडामा कमाएको जग्गाका बालीको सुरक्षा गरिपाउँ भनी १५ सालमा निवेदन दिई कारवाई गराउन नसकेको भन्ने वादी पक्षको मुख्य जिकिर भएको हकमा बालीको सुुरक्षा गरिपाउँ भनी दिएको उक्त निवेदनमा कारवाई नचलाउँदैमा जग्गामा उखडा हक टुट्न सक्ने हुँदैन, बरु उक्त १५ सालमा दिएको भनेको निवेदनमा उखडामा कमाई आएको भन्ने प्रतिवादीकै पक्षमा प्रमाण लाग्न सक्ने कुरा उल्लेख भएको र धेरै सर्जमिनले १०।१२ बर्षदेखि उखडामा जोती आएको भनेकोसमेत बाट प्रतिवादीले उखडामा कमाई आएकै प्रमाणित हुन्छ ।

      १२.   तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट झगडा परेको जग्गा प्रतिवादीले उखडामा कमाएको ठहराई ०२८।३।२।४ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ कोर्टफी राखेकोले मुद्दा दोहर्‍याएमा निवेदक वादीलाई अरू सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

हामीहरूको सहमती छ ।

 

न्या. वासुदेव शर्मा

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०३० साल आषाढ २६ गते रोज ३ शुमभ् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु