निर्णय नं. ७०१ - विगो दिलाई पाउँ

निर्णय नं. ७०१ ने.का.प. २०२९
फुल बेञ्च
सम्माननीय प्र्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री झपटसिंह रावल
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
सम्वत् २०२७ सालको देवानी फुल बेञ्च नम्बर १०७
आदेश भएको मिति : २००८।१२।१५।३
निवेदक : का.जि.मरु गुकुटी बस्ने नानीदेवी ताम्राकार्नी
विरुद्ध
विपक्षी : ऐ.ठहिटि क्वाबहाल टोल बस्ने ख.युद्धबहादुर जोशी
मुद्दा : विगो दिलाई पाउँ
(१) पञ्चकिर्ति मोल कायम गर्ने ०२२।५।६ को श्री ५ को सरकारको प्रशासकीय निर्णयलाई कानूनी रुप दिन नमिल्ने ।
यस्तो लिलाम गरिने घरको पञ्चकिर्ति मोल कायम गर्ने सम्बन्धमा : (१) पञ्चकिर्ति मोल कायम गर्दा जुन टोल गाउँ वा वडामा सो घर रहेको छ सोही वडाको पञ्चायत सदस्य १ विगो भरी पाउने कारणीले मनोनित गरेको व्यक्ति १ यी दुवैले संयुक्त रुपले छानेको स्थानीय भलाद्मी १ समेत ३ जनाको ट्रिबुनलले पञ्चकिर्ति मोल कामय गर्ने, (२) यदि सरकारी विगो वापत घर लिलाम गर्नुपर्ने रहेछ भने कारणीले मनोनित गर्ने व्यक्तिको स्थानमा तहसीलको हाकिम वा तहरिर नै ट्रिबुनलको सदस्य हुने, माथि १ दफाबमोजिम गर्ने, (३) ट्रिबुनलका सवै सदस्यहरूको एक मत नभएमा दुई सदस्यको जुन राय छ त्यसलाई मान्यता दिने, (४) तीन सदस्यको तीन राय भएमा तल्लो वा उपल्लो अंकलाई छाडी बीचको अंक सिफारिस गर्ने सदस्यको रायलाई मानी पञ्चकिर्ति मोल कायम गर्ने भन्ने ०२२।५।६ मा श्री ५ को सरकारबाट निर्णय भएको रहेछ । तर त्यसरी पञ्चकिर्ति मोल कायम गर्ने सम्बन्धमा कुनै ऐन नियम नबनेको र श्री ५ को सरकारको एउटा प्रशासकीय उक्त निर्णयलाई कानूनी रुप दिन मिल्ने देखिएन । सो अनुसार गरेको पञ्चकिर्ति मूल्यलाई कानून अनुकुल भएको भन्न मिलेन ।
(प्र.नं. ९)
(२) पञ्चबाट मूल्य कायम हुनु नै पञ्चकिर्ति मोल भन्नुपर्ने ।
हाल ०२८।१०।१० का अतिरिक्तांक ४९ को राजपत्रमा प्रकाशित अञ्चल तथा जिल्ला अदालत (दोस्रो संशोधन) नियमावली, २०२८ द्वारा थप परिच्छेद १२ (क) दफा ५६ (च) को उपदफा (६) मा लिलाम गर्नु अघि अड्डा बसेको गाउँ वा नगरपञ्चायतको र नगिचको कुनै एक अड्डाको प्रतिनिधि साक्षी राखी रोक्का वा कब्जा भएको सम्पत्ति धनमालको प्रचलित नेपाल कानून बमोजिमको पञ्चकिर्ति मोल कायम गर्नुपर्छ भन्ने व्यवस्था भएको र प्रस्तुत मुद्दामा जुन घरको पञ्चकिर्ति मोलको सम्बन्धमा विवाद उठी राखेको छ सो घर लिलाम गर्ने कारवाई हुन बाँकी नै हुनाले अब उक्त घर लिलाम गर्नलाई उक्त नियमको कार्यविधि अपनाउनु पर्ने कुरा निर्विवाद छ । सो नियममा प्रचलित कानूनबमोजिम पञ्चकिर्ति मोल कायम गर्ने भन्ने लेखिएकोमा पञ्चकिर्ति मोल कायम गर्दा कुन रुपबाट गर्ने हो भन्ने कुराको शंका उठछ कि भन्नालाई कानूनमा पञ्चकिर्ति मोल भन्ने उल्लेख भएपछि पञ्चबाट मुल्य कायम हुनु नै पञ्चकिर्ति मोल भन्नु परी पञ्च भन्नाले स्थानीय पञ्चायत समावेश गर्ने सो नियममा उल्लेख भइराखेको हुँदा सो बमोजिम गर्न कुनै शंका बाधा उपस्थित हुन आउँदैन तसर्थ उक्त नियमबमोजिम गर्नु भनी तत्सम्बन्धका कारवाई मिसिलहरू का.श्रे.अ.त.मा.पठाई दिनु, बक्स भएको हुकूम प्रमांगीबमोजिम यो निर्णय भएको नतिजा श्री ५ महाराजाधिराजका हजूरमा जाहेर गर्न जनरल विभाग मार्फत विशेष जाहेरी विभाग राजदरवारमा लेखी पठाई नियमबमोजिम रेकर्ड मिसिल बुझाई दिनु ।
(प्र.नं. १०)
निवेदक तर्फबाट : अधिवक्ता नारायणप्रसाद श्रेष्ठ
विपक्षी तर्फबाट : सरकारी अधिवक्ता प्रचण्डराज अनिल
आदेश
प्र.न्या. रत्नबहादुर बिष्ट
१. ख. युद्धबहादुर जोशीसँगको लेनदेन मुद्दामा फैसलाबमोजिम मैले भरी पाउने ठहरेको विगो रु. ८११०।११।२ विपक्षीले म बाट रु. १५९८९।– कर्जा लिई भोगबन्धकी लेखी लिई राखेको निजको हकको घर लिलाम बिक्री गरी सो बिगो उपर गरी पाउँ भन्ने नानी देवीको का.श्रे.अ.त.मा.परेको दरखास्त ।
२. सो विगो नतिरेकोले घरको पञ्चकिर्ति मोल खुलाउन भनी डोर खटाई पठाएकोमा पञ्चकिर्ति मोल रु. २० हजार जाने भन्ने मदनलाल रु. ६० हजार मोल जाने भन्ने वडा सदस्य बाबुज्यान रु. ६० हजार मोल जाने भन्ने मदनलालबाबु ज्यान जना २ ले संयुक्त रुपले मनोनित गरेको श्री बहादुर श्रेष्ठ समेतको मुचुल्का ।
३. सो घरको पञ्चकिर्ति मोल ६० हजार नै कायम भयो त्यति मोल सम्ममा कसैले सकार नगरे विगो नै भुस हुन्छ भनी सुनाईयो यति मोल जाँदैन जाने घरलाई बिना लगत इस्टिमेटको पञ्चकिर्ति मोल कायम गरेमा कसैले पनि आफ्नो विगो दिलाई भराई माग्न सक्ने भएन, इन्जिनियर र ओभरसियरद्वारा जाँच गराई अथवा अन्य प्रतिष्ठित भलाद्मी व्यक्तिहरूसमेत भेला गराई लगत इस्टिमेट गराई पञ्चकिर्ति मोल कायम गरी दिनु भन्ने का.श्रे.अ.त.का नाउँमा हुकूमको प्रमांगी बक्स पाउँ भनी नानी देवीले चढाएको निवेदनपत्रमा यसमा के कसो भएको हो घरको मोल कायम गर्दा कानूनको कति रीत पुर्याई नगर पञ्चायत क्षेत्र भित्रको घरमा कारवाई गर्नु पर्छ सो बमोजिम भएको छ छैन हेरी सबै विवरण खुलाई चाँडो जाहेर गर्नु भन्ने विशेष जाहेरी विभाग राजदरवारबाट ०२७।४।३२।१ मा का.श्रे.अ.त.लाई लेखी गएको ।
४. पञ्चकिर्ति मोल खुलाएको बारे डोरबाट भई आएको मुचुल्का मिसिल सामेल रहेको आदेश बमोजिम पञ्चकिर्ति मोल तोकिएको ठिक नियम पुर्याई ल्याएको देखिन्छ । अघि का.न.पं.बाट मोल तोक्ने गरी आएकोमा ०२३।४।९ मा आदेश भए देखि उपरोक्त तरीकाबाट गर्ने गरी आएको छ । दण्ड सजायको ३१ नं.मा दुविधा भई कानून मन्त्रालय बुझ्दा कानून मन्त्रालयको ०२३।१।१५।४ को रायमा पञ्चकिर्ति मोल घटाई लिलाम सदर गर्न नमिल्ने व्यहोरा लेखिएको देखिन्छ भन्नेसमेत का.श्रे.अ.त.ले जाहेर गरेको प्रतिवेदन ।
५. उक्त प्रतिवेदन र बिन्तिपत्रको व्यहोरा जाहेर हुँदा पञ्चकिर्ति मोलमा घटाई लिलाम सदर गर्न नमिल्ने भनी फैसलाले पाउने बिगो नपाउने गरेको कारवाई र पञ्चकिर्ति मोल कायम गर्ने तथा लिलाम सदर गर्न नमिल्ने भनी विभाग मन्त्रालयबाट दिएको आदेशहरू कानूनबमोजिम छ छैन मिसिल झिकि सम्बन्धित व्यक्तिहरूसमेत राखी स.अ.फुल बेञ्चबाट हेरी कानून बमोजिम गरी छिनी नतिजा जाहेरगर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूमबक्सेको छ भनी मौसुफका विशेष जाहेरी विभाग राजदरवारबाट लेखी आएको ०२७।७।११।३ को हुकूम प्रमांगी ।
६. बक्स भएका हुकूम प्रमांगीबमोजिम गर्न निमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल र दुवै पक्ष झिकाई आए पछि फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम किनारा लागेपछि श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत जनरल विभागले नतिजा जाहेर गर्नु भन्नेसमेत सम्माननीय प्रधान न्यायाधीशज्यूबाट भएको ०२७।८।८।२ को आदेश ।
७. उपस्थित कानूनी प्रश्नको सम्बन्धमा सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३१ बमोजिम सरकारी वकिल समेत झिकाई छलफल गर्नु पर्ने देखिएकोले सरकारी वकिल खटाई पठाई दिन श्री महान्यायाधीवक्ता कार्यालयलाई सूचना पठाई नियमबमोजिम पेश गर्नु भन्ने ०२८।११।२०।६ को फुल बेञ्चको आदेश ।
८. यसमा तारेखमा रहेका दुवै पक्ष रोहवरमा रही ०२८।१२।८।३ मा पेश भई निवेदिका नानीदेवी तर्फबाट विद्वान अधिवक्ता श्री नारायणप्रसाद श्रेष्ठले र बसहको लागि खटि आउनु भएको विद्वान सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिलले गर्नु भएको बहसमेत सुनी आज निर्णय सुनाउने तारेख ताकिएको प्रस्तुत मुद्दामा पञ्चकिर्ति मोलमा घटाई लिलाम सदर गर्न नमिल्ने भनी फैसलाले पाउने बिगो नपाउने गरेको भन्ने जुन कुरा छ त्यसको सम्बन्धमा हेर्दा विपक्षीले मलाई भोगबन्धकी लेखिदिइराखेको घर लिलाम गरी फैसलाबमोजिम गरी पाउने ठहरेको मेरो बिगो उपर गरी पाउँ भन्ने नानीदेवीको दरखास्त परी सो घरको पञ्चकिर्ति मोल खुलाउन डोर खटिई गई मोल खुुलाएको मुचुल्का गराई ल्याएको सम्म कारवाई भए गरेको मिसिलबाट देखिन्छ । सो घर लिलाम गर्ने काम बाँकी नै भई पञ्चकिर्ति मोलमा घटाई लिलाम सदर गर्न नमिल्ने भनी फैसलाले पाउने विगो नपाउने गरी का.श्रे.अ.त.बाट लिखित रुपमा कुनै कारवाई भए गरेको समेत नदेखिनाले त्यसतर्फ कानूनबमोजिम भए नभएको समेत विचार गरी रहनु परेन ।
९. यस्तो लिलाम गरिने घरको पञ्चकिर्ति मोल कायम गर्ने सम्बन्धमा : (१) पञ्चकिर्ति मोल कायम गर्दा जुन टोल गाउँ वा वडामा सो घर रहेको छ सोही वडाको पञ्चायत सदस्य १ विगो भरी पाउने कारणीले मनोनित गरेको व्यक्ति १ यी दुवैले संयुक्त रुपले छानेको स्थानीय भलाद्मी १ समेत ३ जनाको ट्रिबुनलले पञ्चकिर्ति मोल कामय गर्ने, (२) यदि सरकारी विगो वापत घर लिलाम गर्नुपर्ने रहेछ भने कारणीले मनोनित गर्ने व्यक्तिको स्थानमा तहसीलको हाकिम वा तहरिर नै ट्रिबुनलको सदस्य हुने, माथि १ दफाबमोजिम गर्ने, (३) ट्रिबुनलका सवै सदस्यहरूको एक मत नभएमा दुई सदस्यको जुन राय छ त्यसलाई मान्यता दिने, (४) तीन सदस्यको तीन राय भएमा तल्लो वा उपल्लो अंकलाई छाडी बीचको अंक सिफारिस गर्ने सदस्यको रायलाई मानी पञ्चकिर्ति मोल कायम गर्ने भन्ने ०२२।५।६ मा श्री ५ को सरकारबाट निर्णय भएको रहेछ । तर त्यसरी पञ्चकिर्ति मोल कायम गर्ने सम्बन्धमा कुनै ऐन नियम नबनेको र श्री ५ को सरकारको एउटा प्रशासकीय उक्त निर्णयलाई कानूनी रुप दिन मिल्ने देखिएन । सो अनुसार गरेको पञ्चकिर्ति मूल्यलाई कानून अनुकुल भएको भन्न मिलेन ।
१०. हाल ०२८।१०।१० का अतिरिक्तांक ४९ को राजपत्रमा प्रकाशित अञ्चल तथा जिल्ला अदालत (दोस्रो संशोधन) नियमावली, २०२८ द्वारा थप परिच्छेद १२ (क) दफा ५६ (च) को उपदफा (६) मा लिलाम गर्नु अघि अड्डा बसेको गाउँ वा नगरपञ्चायतको र नगिचको कुनै एक अड्डाको प्रतिनिधि साक्षी राखी रोक्का वा कब्जा भएको सम्पत्ति धनमालको प्रचलित नेपाल कानूनबमोजिमको पञ्चकिर्ति मोल कायम गर्नुपर्छ भन्ने व्यवस्था भएको र प्रस्तुुत मुद्दामा जुन घरको पञ्चकिर्ति मोलको सम्बन्धमा विवाद उठी राखेको छ सो घर लिलाम गर्ने कारवाई हुन बाँकी नै हुनाले अब उक्त घर लिलाम गर्नलाई उक्त नियमको कार्यविधि अपनाउनु पर्ने कुरा निर्विवाद छ । सो नियममा प्रचलित कानूनबमोजिम पञ्चकिर्ति मोल कायम गर्ने भन्ने लेखिएकोमा पञ्चकिर्ति मोल कायम गर्दा कुन रुपबाट गर्ने हो भन्ने कुराको शंका उठछ कि भन्नालाई कानूनमा पञ्चकिर्ति मोल भन्ने उल्लेख भएपछि पञ्चबाट मुल्य कायम हुनु नै पञ्चकिर्ति मोल भन्नु परी पञ्च भन्नाले स्थानीय पञ्चायत समावेश गर्ने सो नियममा उल्लेख भइराखेको हुँदा सो बमोजिम गर्न कुनै शंका बाधा उपस्थित हुन आउँदैन तसर्थ उक्त नियमबमोजिम गर्नु भनी तत्सम्बन्धका कारवाई मिसिलहरू का.श्रे.अ.त.मा.पठाई दिनु, बक्स भएको हुकूम प्रमांगीबमोजिम यो निर्णय भएको नतिजा श्री ५ महाराजाधिराजका हजूरमा जाहेर गर्न जनरल विभाग मार्फत विशेष जाहेरी विभाग राजदरवारमा लेखी पठाई नियमबमोजिम रेकर्ड मिसिल बुझाई दिनु ।
न्या. झपटसिंह रावल,
न्या. चन्द्रप्रसाद प्रधान
उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।
इति सम्वत् २०२८ साल चैत्र १५ गते रोज ३ शुभम् ।