निर्णय नं. ७१३ - वाली भराइपाउँ

निर्णय नं. ७१३ ने.का.प. २०२९
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
सम्वत् २०२६ सालको देवानी फु.नं. ७१
फैसला भएको मिति : २०२९।८।२३।६
निवेदक : धादिङ ज्यामरुक कसंसाल गाउँ बस्ने लालप्रसाद धमला विष्णुप्रसाद धमलासमेत
विरुद्ध
विपक्षी : ऐ. ज्यामरुक बस्ने चौ.रेशमविक्रम शाह
मुद्दा : वाली भराइपाउँ
(१) तत्काल प्रचलित अ.बं.१०७ नं. अन्तर्गत नालिस गरेको नभई आफ्नो हक देखाई नालिस गरेकोमा उक्त अ.बं.१०७ नं. लागू हुन्छ भन्ने तर्क गर्न नमिल्ने ।
चौ.यक्षविक्रमले ०१८।४।१२।५ मा बयान गर्दा आफ्नो उमेर ८३ बर्ष पुगेको भनी लेख्नु भएको देखिएको र तत्काल प्रचलित अदालती बन्दोबस्तको १०७ नं.मा ७५ बर्ष उमेर नाघेकाको हक पुग्ने जुनसुकै कुरामा पनि नालिस उजूर गर्नुपर्ने भएमा ती मानिसको एकाघरसँग बसेको १६ बर्ष नाघेका हकदार कोही रहेनछन् भने अपुताली खान पाउने हकवालाले सो कारणसमेत देखाई हदम्यादभित्र नालिस उजूर गर्न पाउनेसमेत व्यवस्था भएकोले एकाघरमै भएको १६ बर्ष नाघेको हकदार वादीको नालिस नलाग्ने हो कि भन्ने तर्क गर्न चौ.यक्षविक्रमको ७५ बर्ष उमेर नाघिसकेको अवस्था देखाई उक्त अ.बं.१०७ नं.अन्तर्गत भनी चौ.यक्षविक्रमको हकमा वादीले नालिस गरेको नभई चौ.यक्षविक्रम सदर भई बस्नुभएकोले सो गुठीको पूजाआजा पहाड घरमा जो रहेछ बुबा चौ.चन्द्रविक्रम शाह हुनु भएमा उहाँले र म भएमा मैले गर्ने गरी गुठीको काम चलाई शेष बाँकी रहेको खाने गरिआएको हुँदा बाँकी बाली मलाई दिलाई भराइपाउँ भनी चौ.रेशमविक्रमले आफ्नै हक देखाई नालिस गरेको देखिनाले उक्त अ.बं.१०७ नं.यसमा लागू हुन्छ भन्ने तर्क गर्न मिलेन ।
(प्रकरण नं. १०)
(२) वारेसनामासमेत रीतपूर्वकको लिखत बेगर नालिस गर्न हक प्राप्त भएको मान्न नमिल्ने ।
अब तत्कालप्रचलित अ.बं.१०६ नं. बमोजिम नालिस गर्न पाउने वादी चौ.रेशमविक्रमको हकदैया छ छैन भन्नेतर्फ हेर्दा उक्त वायु गुठीको कामकाज चलाई गुठी कसर बुझाई खान पाउने गरी चौ.यक्षविक्रमको ज्युताभरलाई पाएको भन्ने कुरामा विवाद नभएको र सो गुठीको पूजाआजा पहाड घरमा जो रहन्छ वुवा चौ.चन्द्रविक्रम शाह हुनु भएमा उहाँले र म भएमा मैले गर्ने गरी गुठी काम चलाई शेष बाँकी रहेको खाने गरी आएको भन्ने वादीको लेखाई र पछि चौ. यक्षविक्रम शाहले बयान गर्दा धादिङ ज्यामरुक समेत पहाड जतिको उठतीपुठती तिमी भाइ भतिजाले उठाई लिनु गर्नपर्ने घर व्यवहार आजापूजा गुठी गाना देवालीसमेतको काम तिमीहरूले नै गर्नु भनी मैले पहाडको घर व्यवहार जम्मै वादी समेतलाई छाडिदिएको हुनाले वादी भतिजाले यो नालिस गरेका हुन् । वादीले नालिस गरेकोमा मेरो मञ्जुर छ वादी दावी बमोजिम बाली वादीलाई भराइपाउँ भनेका समेत भए पनि चौ.यक्षविक्रमले आफ्नो ज्युताभर खान पाउने गरी पाएको उक्त वायु गुठीको हक अर्कोमा सर्न सक्ने र सो गुठीको बालीमा अर्कोले नालिस गर्न पाउनेसमेत कानूनी आधार र चौ.यक्षविक्रमले वादीलाई हक छोडिदिएको लिखत सबूद समेत वादी तर्फबाट कुनै आउन नसकेको र चौ.यक्षविक्रमले पछि बयान गर्दा वादीले नालिस गरेकोमा मञ्जुरी व्यक्त गर्दैमा वारिसनामा समेत रीतपूर्वक लिखत बेगर चौ.रेशमविक्रमलाई नालिस गर्ने हक प्राप्त भएको मान्न नमिल्नेसमेत हुनाले अ.बं.१०६ नं. बमोजिम नालिस लाग्नसक्ने वादी रेशमविक्रमको हकदैया भएको देखिन आएन ।
(प्रकरण नं. ११)
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ ।
२. मुद्दाको तथ्य यसप्रकार छ : श्री ५ को सरकारको वायु गुठीको आजापूजा चलाई शेष बाँकी खानु भनी हामी सगोलका जेठा बुबा चौ.यक्षविक्रम शाहका नाममा लालमोहर भएको चौ.यक्षविक्रम सदर भई बस्नुभएकोले आजतक सो आजापूजा पहाड घरमा जो रहन्छ, बुबा चौ.चन्द्रविक्रम शाह हुनु भए उहाँले र म भए मैले गर्ने गरी गुठीको काम चलाई शेष बाँकी खाने गरिआएको सो जग्गाको बाली अन्यायका १३ जना मिली गुठी विर्ताको तिरो तिर्नु पर्दैन भनी रैती भट्काई विष्णुप्रसाद समेत प्रतिवादी ८ जनाले बुझाउनुपर्ने कसैले १३।१४।१५ कसैले १४।१५ कसैले १५ सालको तिरो नदिएकोले दिए जिन्सीको जिन्सी नै नदिए धान पाथी ।१ को रू.१। का भाउले जम्मा बिगो रू.१५१२।३९ भराई सजाय गरिपाउँ भन्नेसमेत चौ.रेशमविक्रम शाहको वादी ।
३. १९५९ सालमा सो गुठीको तालुक यक्षविक्रम शाहले पाएपछि बढी रकमसमेत लगाई बिजाई विद्युत गरेकोमा २६० घर रैती र आफ्ना हकमा समेत म लालप्रसादले निवेदन चढाई भइआएका आदेशबमोजिम कारवाइ चलिराखेको छ सो मुद्दाका टुड्डो नलागेसम्म १५ सालको बाली धरौट राख्न पाउँ भनी अर्थमन्त्रालयमा निवेदन दिएका छौं । १४ सालतकको बाली तिरिसकेको रसिद पाएका छैन । झुठ्ठा नालिस दिएको मात्र हो भन्नेसमेत विष्णुप्रसाद समेतको एउटै प्रतिवादी ।
४. म ८३ बर्ष पुगेको वृद्ध मानिस नारायणहिटी राजदरवार क्याम्पाभित्र जागिरेसमेत भएकाले आफू जान आउन नसकी पहाड घरको व्यवहार जम्मै वादीलाई छाडिदिएको हुनाले यो नालिस गरेका हुन् । मालका भाउले नगद बुझाउन पाउँ भन्ने जिकिरका हकमा यही जग्गासमेतका मोहीहरूको उजूरी पर्दा जिन्सीको जिन्सी नै बुझाउनुपर्छ भनी १९५९ सालमा फैसला भएको छ । जिन्सी बुझाई आएकोमा जिन्सी नै बुझाउनु भन्ने गजेटमा लेखिएको छँदा छँदै गुठीको भाउसमेत नलेखी मालको भाउबाट बुझाउन पाउँ भन्ने र मेरो एकाघरको भतिजा यो गुठी बालीमा समेत हक भएकालाई मैले व्यवहार जम्मै सुम्पेको ठाउँको व्यवहारमा बाली बाँकी भराइपाउँ भनी नालिस फिराद गरेकोमा वादीको हक नलाग्ने भन्नेसमेत प्रतिवादीहरूको जिकिर मुद्दा हो । वादीले नालिस गरेकोमा मेरो मञ्जुर छ, वादी दावीबमोजिम वादीलाई भराइपाउँ भन्नेसमेत चौ.यक्षविक्रमको ०१८।४।१२।५ को बयान ।
५. नेपाल विशेष अदालतबाट हेरिएको यो समेत मुद्दा बक्स भएका हुकम प्रमांगीबमोजिम यस अदालतबाट हेरी कारवाई भएको ।
६. चौ.रेशमविक्रमको फिराद परेकोमा का.जि.यक्षविक्रम शाहलाई अड्डाबाट झिकाई बयान गराउँदा ८३ वर्षको उमेर भन्नेसमेत कुरा देखाई धादिङ ज्यामरुकसमेतको पहाडको उठतीपुठती नगद जिन्सी तिमी भाइ भतिजाले उठाइलिनु भन्नेसमेत भनी वादीसमेतलाई छाडिदिएका भनी बयान गरेको त्यसलाई अन्यथा हुने गरी प्रतिवादी तर्फबाट जिकिर गर्न नसकेको यक्षविक्रमको नाउँमा गुठी पाउने गरी सनद भएको भए पनि तत्कालिन अ.बं.१०७ नं.ले ७५ बर्ष उमेर पुगिसकेको यक्षविक्रमको वारेसनामा नभए पनि रेशमविक्रमले मुद्दा चलाउने हक पाएको देखिन्छ । यक्षविक्रमले गृहमन्त्रीज्यूमा चढाएको निवेदनमा १३।१४।१५ सालका वालीमा मोहीहरूले जिन्सी नबुझाई बाँकी राखेको उजूरी दिँदा सरकारी मद्दतबाट तिरो जिन्सी बाली असुलउपर भएको थियो भनी लेखेको उक्त निवेदनपत्रको प्रमाण कतिसम्म हुन सक्ने हो भनी विचार गरेमा १५ सालदेखिको बाली धरौट राख्न पाउँ भनी ०१६।६।१३ मा निवेदन पेश गरेका छौं भनी प्रतिउत्तर लेखेको प्रतिउत्तरलाई निवेदनपत्रभन्दा बढी प्रमाणका सम्झनुपर्ने हुनाले १५ सालको वाली बुझाइसकेको प्रमाणित हुँदैन १३।१४ सालको हकमा बुझाइसकेको प्रतिवादीले प्रमाण दिन नसकेकाले बाँकी नै देखिनेसमेत हुँदा बजारको भाउले जिन्सीको नगदी बालीले प्रतिवादीहरूबाट भरी पाउने ठहर्छ भनी ०२४।५।२२।५ को डिभिजन बेञ्चबाट फैसला भएको ।
७. यस बेञ्चसमक्ष बहसको लागि उपस्थित हुनुभएको निवेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री होराप्रसाद जोशीले यो वायु गुठी चौ.यक्षविक्रमको ज्युताभरलाई मात्र पाउनु भएको हुँदा बालीमा उजूर गर्ने हक यक्षविक्रम कै हुने हो अ.बं.१०७ नं का अवस्था देखाई यक्षविक्रमको हकमा रेशम विक्रमले उजूर गर्नुभएको छैन अ.बं.१०६ नं.ले रेशमविक्रमले उजूर गर्न पाउने हकदैया छैन । त्यसकारण वादीको उजूरै खारेज हुनुपर्छ यदि इन्साफै भएका खण्डमा पनि चौ.यक्षविक्रमले गृहमन्त्रीज्यूमा दिनुभएको १७ सालको निवदेनपत्रमा १५ सालका बाली सरकारी मद्दतबाटै असुल भएको भनी लेख्नुभएकोबाटै उजूर झुठ्ठा देखिएको छ भन्नेसमेत बहस तथा बहस नोटसमेतमा र वादीतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले रेशमविक्रम चौ.यक्षविक्रमको एकाघरकै हुनुहुन्छ । चौ.यक्षविक्रम ७५ बर्ष नाघिसकेको वृद्ध हुनाले अ.बं.१०७ नं.ले चौ.रेशमविक्रमको उजूर लाग्ने नै हुँदा अ.बं.१०६ नं.को हकवाला लिई हकदैया नपुग्ने व्यक्तिको नालिस भन्न मिल्दैन । प्रतिवादीमा १५ सालको वाली धरौट राख्न अर्थमन्त्रालयमा निवेदन दिइराखेको भन्ने लेखेबाट दावीबमोजिम बाली नबुझाई बाँकी राखेको प्रष्ट देखिएकै छ, औंठीको छापसम्म लागेको ऐनले प्रमाणित नहुने निवेदनपत्रमा १५ सालतकको बाली सरकारी मद्दतबाट असुल भएको भनी लेखेको कुरा प्रमाणमा लिन मिल्दैन । बाली तिरेको रसिद प्रतिवादीहरूले पेश गर्न नसकेकाले दावीबमोजिम बाली भरिपाउनु पर्छ भन्नेसमेत वहसमा जिकिर लिनुभएको छ ।
८. यसमा दावीबमोजिम बाली विगो भरिपाउने नपाउने के हो भन्ने कुुराको निर्णय दिनुभन्दा पहिले वादी दावीको वायु गुठीको बाली बाँकीमा चौ.रेशमविक्रमले नालिस उजूर गर्न पाउने हकदैया नभएको भनी निवेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ताले उठाउनु भएको प्राथमिक प्रश्नउपर नै विचार गर्नुपर्ने हुन आएको छ ।
९. वादीको नालिस दावी हेर्दा श्री ५ को सरकार वायु गुठीको पूजाआजा चलाई शेष बाँकी खानु भनी हाम्रा सगोलका जेठा बुबा चौ.यक्षविक्रम शाहको नाउँमा लालमोहर भएको चौ.यक्षविक्रम शाह सदर भई बस्नु भएकोले सो पूजाआजा पहाड घरमा जो रहन्छ बुबा चौ.चन्द्रविक्रम शाह हुनुभएमा मैले उहाँले गर्ने गरी गुठीको काम चलाई शेष बाँकी रहेको खाने गरी आएको भन्ने मुख्य आधार देखाई १३।१४।१५ सालको बाली नतिरेकाले मलाई दिलाइभराइ पाउँ भनी चौ. रेशमविक्रमले नालिस दावी लिएको पाइन्छ ।
१०. चौ.यक्षविक्रमले ०१८।४।१२।५ मा बयान गर्दा आफ्नो उमेर ८३ बर्ष पुगेको भनी लेख्नु भएको देखिएको र तत्काल प्रचलित अदालती बन्दोबस्तको १०७ नं.मा ७५ बर्ष उमेर नाघेकाको हक पुग्ने जुनसुकै कुरामा पनि नालिस उजूर गर्नुपर्ने भएमा ती मानिसको एकाघरसँग बसेको १६ बर्ष नाघेका हकदार कोही रहेनछन् भने अपुताली खान पाउने हकवालाले सो कारणसमेत देखाई हदम्यादभित्र नालिस उजूर गर्न पाउनेसमेत व्यवस्था भएकोले एकाघरमै भएको १६ बर्ष नाघेको हकदार वादीको नालिस नलाग्ने हो कि भन्ने तर्क गर्न चौ.यक्षविक्रमको ७५ बर्ष उमेर नाघिसकेको अवस्था देखाई उक्त अ.बं.१०७ नं.अन्तर्गत भनी चौ.यक्षविक्रमको हकमा वादीले नालिस गरेको नभई चौ.यक्षविक्रम सदर भई बस्नुभएकोले सो गुठीको पूजाआजा पहाड घरमा जो रहेछ बुबा चौ.चन्द्रविक्रम शाह हुनु भएमा उहाँले र म भएमा मैले गर्ने गरी गुठीको काम चलाई शेष बाँकी रहेको खाने गरिआएको हुँदा बाँकी बाली मलाई दिलाई भराइपाउँ भनी चौ.रेशमविक्रमले आफ्नै हक देखाई नालिस गरेको देखिनाले उक्त अ.बं.१०७ नं.यसमा लागू हुन्छ भन्ने तर्क गर्न मिलेन ।
११. अब तत्काल प्रचलित अ.बं.१०६ नं. बमोजिम नालिस गर्न पाउने वादी चौ.रेशमविक्रमको हकदैया छ छैन भन्नेतर्फ हेर्दा उक्त वायु गुठीको कामकाज चलाई गुठी कसर बुझाई खान पाउने गरी चौ.यक्षविक्रमको ज्युताभरलाई पाएको भन्ने कुरामा विवाद नभएको र सो गुठीको पूजाआजा पहाड घरमा जो रहन्छ वुवा चौ.चन्द्रविक्रम शाह हुनु भएमा उहाँले र म भएमा मैले गर्ने गरी गुठी काम चलाई शेष बाँकी रहेको खाने गरी आएको भन्ने वादीको लेखाई र पछि चौ.यक्षविक्रम शाहले बयान गर्दा धादिङ ज्यामरुक समेत पहाड जतिको उठतीपुठती तिमी भाइ भतिजाले उठाई लिनु गर्न पर्ने घर व्यवहार आजापूजा गुठी गाना देवालीसमेतको काम तिमीहरूले नै गर्नु भनी मैले पहाडको घर व्यवहार जम्मै वादी समेतलाई छाडिदिएको हुनाले वादी भतिजाले यो नालिस गरेका हुन् । वादीले नालिस गरेकोमा मेरो मञ्जुर छ वादी दावीबमोजिम बाली वादीलाई भराइपाउँ भनेका समेत भए पनि चौ.यक्षविक्रमले आफ्नो ज्युताभर खान पाउने गरी पाएको उक्त वायु गुठीको हक अर्कोमा सर्न सक्ने र सो गुठीको बालीमा अर्कोले नालिस गर्न पाउनेसमेत कानूनी आधार र चौ.यक्षविक्रमले वादीलाई हक छोडिदिएको लिखत सबूदसमेत वादी तर्फबाट कुनै आउन नसकेको र चौ.यक्षविक्रमले पछि बयान गर्दा वादीले नालिस गरेकोमा मञ्जुरी व्यक्त गर्दैमा वारिसनामा समेत रीतपूर्वक लिखत बेगर चौ.रेशमविक्रमलाई नालिस गर्ने हक प्राप्त भएको मान्न नमिल्नेसमेत हुनाले अ.बं.१०६ नं. बमोजिम नालिस लाग्न सक्ने वादी रेशमविक्रमको हकदैया भएको देखिन आएन ।
१२. तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट उपरोक्त वायु गुठीको बाली बाँकीमा हकदैया नपुग्ने वादी चौ.रेशमविक्रमको नालिसै लाग्न नसक्ने देखिएकोले अरु कुरा विचार गरिरहन परेन । वादीको नालिस उक्त अ.बं.१०६ तथा तत्काल प्रचलित दण्डसजायको ५३ नं.समेत बमोजिम खारेज हुने ठहर्छ । ०२४।५।२२।५ का डिभिजन बेञ्चले इन्साफ ठहर गरेकोसमेत मिलेको देखिएन । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
वादी चौ. रेशमविक्रम शाह के ०२४।५।२२।५ को डिभिजन बेञ्चको फैसलाले देहायका प्रतिवादीबाट भरादिने गरेको देहायबमोजिम विगो भराउनु नपर्ने हुँदा लगत काटिदिनु भनी कानूनबमोजिम लगत दिनु .............................१
विष्णुप्रसाद धमला जैशीबाट भराइदिने गरेको रू.७०५। मानबहादुर सिंह खड्का क्षेत्रीबाट ऐ.रू.१५३।७५ सनमानबहादुर लामिछानेबाट ऐ.रु ८७। दुब्ले लामिछानेबाट ऐ.रु २० अम्बरबहादुर गुरुङबाट ऐ.रु २१०। तिलकबहादुर मल्लबाट ऐ.रु १५०। लालप्रसाद धमलाबाट ऐ.रु १२९।७५ इन्द्रप्रसाद बोहराबाट ऐ.रु ५६।८८
वादी लेखाइबाट हकदैया नपुग्ने देखिएको वादीको नालिस दर्ता गर्नु अदालतको गल्ती हुनाले खारेज भएबापतमा वादीलाई केही गर्नु परेन ..................... २
निवेदक प्रतिवादी देहायका मानिस के मुद्दा दोहर्याउँदा ०२६।६।२३।५ मा दाखिल गरेको देहायबमोजिम कोर्टफी वादी चौ.रेशमविक्रम शाहबाट भराइपाउँ भनी कोर्टफी ऐन, २०१७ को संशोधित दफा १५ (११) बमोजिम ३ वर्षभित्र दरखास्त दिएमा दस्तुर केही नलिई भराइदिनु भनी कानूनबमोजिम लगत दिनु .........................३
लालप्रसाद धमला के रू.।६५ विष्णुप्रसाद धमला के रू.३।४५
नियमबमोजिम मिसिल बुझाइदिनु ............................४
न्या. चन्द्रप्रसाद प्रधान,
न्या. वासुदेव शर्मा
हामीहरूको सहमती छ ।
इति सम्वत् २०२९ साल मार्ग २३ गते रोज ६ शुभम् ।