निर्णय नं. ५६६ - अंश

निर्णय नं. ५६६ ने.का.प. २०२७
फुल बेञ्च
प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री वाशुदेव शर्मा
न्यायाधीश श्री हेरम्बराज
न्यायाधीश श्री बब्बरप्रसाद सिंह
न्यायाधीश श्री चन्द्रप्रसाद
सम्वत् २०२६ सालको दे.फु.न. ६१
निवेदक : का.जि.मरुटोल बस्ने गोपालबहादुर प्रधान
विरुद्ध
विपक्षी : ऐ ठमेल बस्ने सु.कटकबहादुर प्रधान
मुद्दा : अंश
(१) रजिष्ट्रेशनको ३ नं.–मानु छुट्टिएको मिति बारे दुवै थरको मुख नमिलेमा–ऐनले तोकेको बन्देजमा रहनुपर्ने–रजिष्ट्रेशन पासको अभावमा–यो मितिमा मानु छुट्टिएको हो भनी मञ्जुर गरे पनि मान्यता दिन नसक्ने कारण फिराद परेको मिति छुट्टिएको मिति कायम हुने ।
कुनै खास दिनमा मानु छुट्टिएको भन्ने दुवैथरको लेखाई नभई यति गते भन्ने कुरामा मुख नमिलेकोले ऐनले तोकेको बन्देजमा रहनुपर्ने हुन आयो । त्यसतर्फ हेर्दा रजिष्ट्रेशनका ३ क नं.ले रजिष्ट्रेशन पास भएको लिखत बेगर यो मितिमा मानु छुट्टिएको हो भनी मञ्जुर गरे पनि अदालतले मान्यता दिन नसक्ने हुनाले फिराद परेको मिति ०५।२।१७ मा मानु छुट्टिएको मिति कायम हुन्छ ।
(प्रकरण नं. १४)
(२) अंशबण्डाको ३३ नं.–सबै छोरालाई अंश गर्नुपर्ने सम्पत्ति आमाले एउटा छोरालाई मात्र लेखी दिएमा–कानून विरुद्ध देखिने ।
लिखतकै सहाराले बकस पाउने गोपालबहादुरले एकलौटी भाग गर्न पाउँछ भनी त्यसै बखतमा भन्न सकिन्छ, जब त्यो लिखत कुनै ऐन विरुद्ध नहोस । अंशबण्डाको ३३ नं.मा बाबुको शेषपछि पनि कोही छोरा आमासित संगबसेका रहेछन वा कोही पनि संगबसेका रहेनछन, आफ्नो चित्त बुझी अंश नखोजी बेग्ला बेग्लै बसेका रहेछन र आमा मरेपछि अंश गर्नु पर्यो भने पनि आमाको काजक्रिया गरी बाँकी रहेको सबैसितका बाबु बाजेका आर्जनको ऋण धनमा ऐनबमोजिम सबै छोरालाई बाँडी दिनु भन्ने बोली परेकोले सवै छोरालाई अंश गर्नुपर्ने सम्पत्ति आमाले एउटा छोरालाई मात्र लेखी दिएको कानून विरुद्ध देखिएको हुँदा बकसपत्रबाट गोपालबहादुरलाई रत्नकुमारीको अंश एकलौटी दिन मिल्दैन ।
(प्रकरण नं. १६)
निवेदक तर्फबाट : अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्य
विपक्षी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद पन्त
उल्लेखित मुद्दा :
फैसला
न्या.श्री हेरम्बराज
१. खसम ६५ सालमा परलोक भएपछि ७४ साल चैत्रमा माइला छोरा छत्रबहादुर ९।१०।२२ गते जेठा छोरा कृष्णबहादुर साइला प्रेमबहादुरहरु भिन्न बसी बण्डा गरी नदिएको व्यहोरा सरकारमा बिन्ति गर्दा भएको ९८।८।९ को हुकुमको तोकमा कटकबहादुर गोपालबहादुर हरु आमासंग सगोल बसी आएकोले अब पनि सगोलमै बस्न दिनु घरका हकमा छेभडेल समेत राखी पञ्चक्रिती मोल गरी रत्नकुमारीसंग बस्ने छोराहरुको समेत ३ भाग पायक मिलाई छुट्याई दिनु भन्नेसमेत भई दाजु कटकबहादुर आमा रत्नकुमारी म समेत सगोलमा बसी आएको ९९।५।२५ गते अन्यायवाला घर आई बसेबाट घरको जेठो निज भई घरको ताला कुची निज जिम्मा राखी जग्गा जमिन खरीद बन्धकी लिई सेफ इत्यादीमा रुपैया राखी हाल महावीर राईस मिल कम्पनीको मैनेजर समेत भइरहेकोमा स्वास्नीको कुरा सुनी ०४।७।१५ गते भान्छा अलग गरी मानु छुट्टिएकोले ८९।१०।२२ गते पछि मानु छुट्टिएको ०४।७।१५ गतेदेखि अघिको श्रीसम्पत्ति बण्डा गरी देउ भन्दा गरी दिएन । आमा रत्नकुमारी ०५।१।२२ गते परलोक हुनुभएको उहाँले मलाई शेषपछिको बकसपत्र गरी दिनु भएकोले अन्यायको दाजुबाट तायदाती लिई ३ खण्डको २ खण्ड मलाई छुट्याई पाउँ भन्ने ०५।३।१७।४ को गोपालबहादुरको फिरादपत्र ।
२. ८९ सालमै छुट्टी भिन्न भई ९८ सालमा बण्डपत्र भएको समेत हो । ०४।७।१५ मा छुट्टिएको समेत होइन । आमालाई ६ महिनाको पालो गरी दुवै भाइले पालेको हुँदा आमा परलोक भएपछि आमाको कृया गरी बाँकी रहेको मैले आधी पाउनु पर्ने वादीबाट दिलाई झुठ्ठा उजुरीबाट फुसर्द पाउँ भन्नेसमेत सु.कटकबहादुरको प्रतिवादी ।
३. ९८।८।९ को हुकुम प्रमांगीमा वादी प्रतिवादी र रत्नकुमारीलाई सगोलमा राखी दिनु भन्ने लेखिएको छ । ०४।७।१५ गते मात्र कटकबहादुर मानो छुट्टी भिन्न भएको भन्ने देखिएकोले समेत वादी दावी बमोजिम वादी र आमा रत्नकुमारी समेतको भाग २ वादी गोपालबहादुरले पाउने ठर्हछ भन्नेसमेत रा.का.दे.दो.को ०१०।७।२८।६ को फैसला ।
४. प्रतिवादीले आफ्नो हक नभएको जग्गा हक देखाई तायदाती दिएको सदर गरी जालसाजीमा टुंगो लागी नसकेको साहू समेत बण्डा गरी तायदाती बमोजिम नगरी घटबढ पारी बण्डा गर्ने फैसला गरेकाले चित्त बुझेन भन्नेसमेत वादीको र ९८। सालमा बण्डा छुट्टी सकेकोमा ०४।७।१५ गते मानु छुट्टिएको ठहराई मेरो आर्जनको जग्गा जमिन समेत बण्डा गर्ने गरी फैसला गरेकाले चित्त बुझेन भन्नेसमेत प्रतिवादीको पुनरावेदन । सपिवज
५. वादीको पुनरावेदन जिकिर बमोजिम आमा रत्नकुमारीको पेवा जग्गा र निजै गोपालबहादुरले मानो छुटेपछि बाली कुत बुझाई मालका बहाली पुर्जी बमोजिम लिएको जग्गा समेत बण्डा गरेको शुरुको गल्ती देखिएको र नभएको ऋण जालसाजी गरे भन्नेतर्फ जालसाजी मुद्दाबाटै ठहरे बमोजिम हुने र अरु धनमाल जग्गा समेत बण्डा गरेको शुरुको मनासिव ठर्हछ भन्नेसमेत अपील दोश्राको ०११।२।२८।५ को फैसला ।
६. मिसिल प्रमाणबाट अघिनै छुट्टिएको देखिने समेत हुँदा अपील दोश्राको इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादीको पुनरावेदन ।
७. ८९ सालमा मानो छुट्टिएको भन्ने सु.कटकबहादुरको पुनरावेदन जिकिरलाई कोठा खिचोला मुद्दामा दिएको बिन्तिपत्र ०४।७।१४ गते छुट्टै भान्छा गरी खाएको भन्ने लेखेकोले वादीको दावी बमोजिम मानो छुट्टी बेग्लै बसेको देखिनाले इन्साफ अपील दोश्राको मनासिव ठर्हछ भन्ने डिभिजन बेञ्चको ०१३।७।१६।५ को फैसला ।
८. यो समेत मुद्दाको इन्साफमा चित्त बुझेन दोहर्याई पाउँ भन्नेसमेत प्रतिवादी सु.कटकबहादुरले चढाएको निवेदन श्री ५ महाराजाधिराज सरकारका हजुरमा जाहेर हुँदा अघि छिन्ने न्यायाधीश बाहेक श्री प्रधान न्यायाधीश समेत ३ वा ५ न्यायाधीश भएको फुल बेञ्चबाट एकपटक दोहर्याई हेरी ऐनबमोजिम निर्णय गरी दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका विशेष जाहेरी विभाग राजदरवारबाट लेखी आएको २०।२।२१।३ को हुकुम प्रमांगी र बक्स भई आएको हु.प्र.बमोजिम गर्ना निमित्त लगतमा दर्ता गरी दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय का.मु.प्र.न्यायाधीशज्यूबाट भएको २०।२।११।३ को आदेश यिनीहरुकै कोठा खिचोला मुद्दाको मिसिल सामेल रहेको ।
९. मानो छुट्टिएको मिति वादीले ०४ साल कार्तिक १५ गते र प्रतिवादीले ऐ १४ गते भनी २ थरको मुख नमिलेको र तत्काल प्रचलित रजिष्ट्रेशनको ३ (क) नं.बमोजिम मानो छुट्टिएको कागज रजिष्ट्रेशन पास हुनुपर्ने नभएको समेतबाट मानो छुट्टिएको मिति अंश मुद्दाको नालेस परेको ०५ साल आषाढ १७ गते रोज ४ कायम गर्नुपर्ने हुँदा सो दिनभन्दा अघिल्ला दिन तकको ऋण धनको तायदाती लिई हाजिर हुनआउनु भनी वादी प्रतिवादीलाई तारिख तोकी तायदाती दाखिल भएपछि पेश गर्नु भन्ने ४ जना न्यायाधीशको सहमत र कोठा खिचोला मुद्दाको मिसिल सामेल रहेको यिनै वादी प्रतिवादीको आमा रत्नकुमारीले ०४।९।२२ मा दिएको बिन्तीपत्रमा काहिला छोरा कटकबहादुरले स्वास्नीको कुरा सुनी यहि कार्तिक १५ गते मानो छुट्टी बेग्लै बसेको भनी लेखेको निजै रत्नकुमारीले वादी गोपालबहादुरलाई ०४।९।२२।४ मा गरी दिएको शेषपछिको बकसपत्रमा पनि छोरा कटकबहादुर ०४ साल कार्तिक १५ गते मानो छुट्टी बेग्लै बसेको भनी उल्लेख गरेको सो बकसपत्र ०५।१।१७।५ मा रजिष्ट्रेशन पास भएको वादीले पनि सोही ०४ साल कार्तिक १५ गते मानो छुट्टिएको भनी दावी गरेकोमा उल्लेखित कोठा खिचोला मुद्दाको मिसिल सामेल रहेको प्रतिवादी कटकबहादुरले दिएको चलानी नं.१२६२।२३१५ को बिन्तिपत्रमा भाइ भाइको चित्त नमिलेबाट ०४ कार्तिक१५गते छुट्टै भान्छा गरी खाएकोसमेत लेखेको देखिनाले शुरु अपील र डिभिजन बेञ्चबाट समेत ०४साल कार्तिक १५ गते मानो छुट्टिएको मिति कायमगरेको मनासिव देखिने हुँदा मेरो राय लेखिदिएको छु । स.अ.नियमावली, ०२१ को नियम ३३ ले बहुमत मान्य हुने हुँदा सोहीबमोजिम गर्नु भन्ने मा.प्रधान न्यायाधीशज्यूको राय भएको ०२३।८।७।३ को फुल बेञ्चको आदेश र सो बहुमतको आदेश बमोजिम दुवैपक्षबाट तायदाती आएको ।
१०. ९८।२।३।६ को हुकुमको तोकमा कटकबहादुर गोपालबहादुर आमासंगै बसेका भन्ने र रत्नकुमारीले बिन्ति चढाउँदा भएका ९८।९।२ को प्रमांगीको गोपालबहादुर कटकबहादुर आमासंगै बसी आएकोले अब पनि सगोलमै बस्न दिनु भन्ने औ अरु भाइ समेतको ९८ सालमा बण्डा हुँदा यिनै प्रतिवादी सु.कटकबहादुरले पाल्पा गौडा मार्फत गरी पठाएको ९८।३।११।३ को मुचुल्कामा अंशको बाँडफाँड बुझी लिनालाई एकाघरका भाइ वि.गोपालबहादुरलाई वारेस अख्तियार दिइपठाएको छु भन्नेसमेत उल्लेखभएको र यिनीहरुकै यो साथै पेश भएको कोठा खिचोला मुद्दामा यिनै प्रतिवादी सु.कटकबहादुरले दिएको ०४।१०।१२।१ को बिन्तिपत्रमा भाइ भाइको चित्त नमिलेकोबाट ०४ साल कार्तिक १४ गते छुट्टै भान्छा गरी खाएको भन्ने लेखेको समेतबाट ८।१०।२२ मै मानु छुट्टिएको भन्ने निवेदक प्रतिवादीको उपरोक्त जिकिर समर्थित हुन आएन । अरु भाइ समेतको ८९।१०।२२ सम्मको ९८ सालमा बण्डा हुँदा यो वादी समेतको बण्डा भएको भए पनि सो पछि पनि वादी प्रतिवादीहरु अंश मिलाई आमाको साथ संगोलमै बसी आएको देखिएकोले वादीले बण्डा पाउनु पर्ने कुरा प्रष्टै भएको छ । ०४ साल कार्तिक १५ गते मानु छुट्टी भिन्न भएको भन्ने प्रस्तुत मुद्दाको फिरादपत्रमा वादीले र ०४ साल कार्तिक १४ गते छुट्टै भान्छा गरी खाएको कोठा खिचोला मुद्दा मा दिएको ०४।१०।१२।३ को बिन्तिपत्रमा निवेदक प्रतिवादी कटकबहादुरले लेखेको भई मुख नमिलेकाले मानु छुट्टिएको मिति कुन कायम हुने हो भन्नेतर्फ हेरेमा २००७ साल कार्तिक १ गतेदेखि उप्रान्त मानु छुट्टिभिन्न भएकोमा तत्काल प्रचलित रजिष्ट्रेशनको ३ (क) नं.ले रजिष्ट्रेशन पास गर्नु पर्ने वाध्यता गरे अनुसार रजिष्ट्रेशन पास भए गरेको प्रमाण दुवैपक्षले दिन नसकेकाले वादी प्रतिवादी दुवैपक्षका भनाई मिति कायम मान्न उक्त ऐनले नमिल्ने हुँदा प्रस्तुत मुद्दाको नालेस परेको मिति ०४ साल आषाढ १७ गते रोज ४ लाई नै मानु छुट्टिएको मिति कायम मान्नु पर्ने हुनआएको र सोही अनुकुल ०२२।८।७।३ को फुल बेञ्चको बहुमतबाट नालेस परेको मिति ०५ साल आषाठ १७ गते रोज ४ लाई मानु छुट्टिभिन्न भएको मिति कायम गरी वादी प्रतिवादी दुवैपक्षबाट तायदाती लिइसकेको समेत देखिएकोले त्यसतर्फ अरु शंका गरी रहनु परेन । वादीले कति भाग बण्डा पाउने हो भन्ने हकमा आमा रत्नकुमारीले आफ्नो शेषपछि खान पाउने गरी ०५।१।१७।५ मा मलाई बकसपत्र पास गरी दिनु भएको २२ गते आमा परलोक हुनुभएकोले बकसपत्र बमोजिम आमाको १ भाग र मेरो १ भाग समेत २ भाग दिलाई पाउँ भन्ने दावी भए पनि माथिको प्रकरणमा उल्लेख भएबमोजिम मानु छुट्टिएको मिति ०५।३।१७।४ कायम भएको र तत्काल प्रचलित अंशबण्डाको ३७ नं.मा मानो नछुट्टि संगैबसेका अंशियारहरु छन् भने कमाएको धन लाएको ऋण सबै अंशियारहरुलाई भाग लाग्छ भन्ने व्यवस्था भइराखेको समेत देखिएकोले आमाको अंश भोग बकसपत्रबाट वादीले पाएको भए पनि मानु छुट्टिभिन्न कायम मिति ०५।३।१७ भन्दा अगावै दुवै अंशियार सगोल छँदैका अवस्थाको कमाई भई उक्त ऐनबमोजिम वादी प्रतिवादी दुवै अंशियारलाई बराबर भाग लाग्ने हुँदा २ भागको १ भाग मात्र वादीले पाउने देखिन आएको छ । अशंबण्डा गरी दिनुपर्ने श्रीसम्पत्ति के कति रहेछ भनेतर्फ ०२३।८।७।३ को फुल बेञ्चका आदेश बमोजिम दुवैपक्षले दिएको तायदाती हेरेमा प्रतिवादी सु.कटकबहादुरको ०२३।८।१३।२ को तायदातीमा नरप्रताप बौलाल जगतलाल सु.जगन्नाथलाई तिर्नु पर्ने तमसुक बमोजिम साँवा व्याज तमसुक दरपीठ गरी मैले बुझाइसकेको म कटकबहादुरलाई भनी दिनुपर्ने रु.२९७७०।३० भनी लेखेको कलमका हकमा उक्त ऋण जालसाजी भनी गोपालबहादुरले प्रतिवादी कटकबहादुर समेतउपर दिएको जालसाजी मुद्दामा उक्त ऋण वादीले व्यहोर्नु नपर्ने समेत ठहरी आजै यसबेञ्चबाट फैसला भएकोले सो ऋण बण्डा हुन नसक्ने र मबाट बढी खर्च भएको म कटक बहादुरलाई भर्ना दिनुपर्ने रु.२६९।८ भनी फाँट खुलाई दिएको कलम र साहू जगतलाल बौवेलाललाई बुझाउन दानबहादुर साहूबाट लिएको ब्याज समेत निज दानबहादुर साहूलाई मैले बुझाएको ऐ.लाई दिनुपर्ने रु.१०४१३।६३ मिति लेखेको कलम समेतका हकमा सो तायदातीउपर जालसाजीमा वादी गोपालबहादुरले प्रतिवादी सु.कटकबहादुरउपर का.जि.अ.मा ०२३।११।२३ मा फिराद दर्ता गरी राखेको का.जि.अ.को २३।१२।१४ को जबाफ साथ आएको फिराद नक्कलबाट देखिएकोले त्यसतर्फ उसै मुद्दाबाट पछि ठहरे बमोजिम हुने औ वादी गोपालबहादुरले दिएको २०२३।२८।५ को तायदातीको दफा २ मा ०४ सालमा छोरी २ को विवाहा गर्दा लागेको खर्च रु.९५०५ ऐ ३ दफामा घर मर्मत गर्दाको लागेको रु.२०००। भनी लेखेको कलम र ऐ ५ दफमा आमाको दागवत्ती काजकृया दान समेतमा लागेको रु.५०८५ मैले एकलौटी व्यहोरेको भनी लेखेको कलम समेतमा यो मिति प्रतिवादीबाट मैले भर्ना पाउनु पर्ने भनी कारण समेत खुलाई दावी गरेको नदेखिएकोले विचार गरी रहनु नपर्ने समेत हुँदा उपरोक्त उल्लेख भएबमोजिम बाहेक अरु कलमको मानु छुट्टिएको कायम मिति ०५।३।१७ को अघिल्लो दिन ऐ.१६ गतेसम्मको प्रतिवादी सु.कटकबहादुरको ०२३।८।१३।२ को दायदाती बमोजिम रु.९२४५।१४ र वादी गोपालबहादुरको ०२३।९।२८।५ को तायदाती ०२४।५।९।६ को मुचुल्का बमोजिम रु.४४६३९। ९५।१ समेत जम्मा रु.१३८८५।९।१ औ वादी गोपालबहादुरको ०२३।९।२८ को तायदातीको १ दफाको जम्मामा अंक पार्न छुटाएको सो २ दफाको देहाएमा गंभिरसिं तामाङको जिम्मावारी कागज बमोजिम सालको रुख २ दुईका मोल रु.४३ मध्ये भनी लेखेको रु.२८।६७ समेत जम्मा रु.१३९१३।७६।१ को श्रीसम्पत्ति र वादी गोपालबहादुरको ०२३।९।२८।५ को तायदातीमा रत्नमानको वर्षवंदी तिथी श्राद्ध समेत चलाउन पर्ने शेष नरहने भनी लेखेको गुुठी समेतको बण्डा गरी दिनुपर्ने देखिन्छ । तसर्थ उपरोक्त उल्लेख भए बमोजिम कारणहरुबाट बकसपत्र बमोजिम आमाको र आफ्नो समेत २ भाग पाउनु पर्ने भन्नेसमेत वादी गोपालबहादुरको दावी र ८९ सालमै मानु छुट्टिभिन्न भई ९८ सालमा बण्डा गरिसकेको हुँदा बण्डा गर्नु नपर्ने भन्नेसमेत निवेदक प्रतिवादी सु.कटकबहादुरको जिकिर पुग्न सक्दैन । माथिको प्रकरणमा उल्लेख भए बमोजिम ५।३।१६ सम्मको जम्मा सम्पत्ति रु.१३९१३।७६।१ र वादी गोपालबहादुरको तायदातीमा लेखी दिएको शेष नरहने गुठी समेतमा वादी प्रतिवादी २ अंशियारको २ भाग लगाई भाग बण्डाले पाउने समेत ठर्हछ । मानु छुट्टिएको मिति ०४।७।१५ कायम हुने र वादी गोपालबहादुरले २ भाग पाउने ठहराएको तर्फ ०२३।७।१६।५ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन भन्ने ०२४।५।३०।३ को फुल बेञ्चको फैसला ।
११. सो इन्साफमा चित्त बुझेन दोहर्याई पाउँ भन्ने वादीको निवेदन परेकोमा उक्त निवेदनपत्रको व्यहोरा श्री ५ महाराजाधिराज सरकारका हजुरमा जाहेर हुँदा व्यहोरा साँचो भया अन्याय भयो यस्तै मुद्दामा अघि भएको निर्णय काटियो भन्नेसमेत निवेदकको बिन्ति चढाई भएकोले रुल नियमबमोजिम गरी हेरी न्याय परेको रहेछ रहेनछ प्रमुख मार्फत ठहर साथ जाहेरगर्नु भन्ने न्यायिक समितिका नाउँमा ०२।११।३ मा बक्स भएको हुकुम प्रमांगी ।
१२. सो इन्साफ दोहोर्याइ पाउँ भन्ने वादी गोपालबहादुरले चढाएको मिति ०२४ साल आश्विन १२ गते रोज ५ को निवेदनपत्र श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा यसमा मानु छुट्टिएको मितिबाट अंशबण्डा हुने सम्पत्तिमा तल माथि पर्ने अवस्था देखिएकोले मुख्य बिषय मानो छुट्टिएको मिति देखिन आएको र त्यस सम्बन्धमा वादी निवेदक गोपालबहादुरले ०४ साल कार्तिक १५ गते मानो छुट्टिभिन्न भएको भन्ने लेखेकोमा प्रतिवादी सु.कटकबहादुरले प्रतिवादीमा १९८९ सालमा छुट्टिएको भन्ने लेख्नु भएकोछ तापनि ०४ साल कार्तिक १५ गते छुट्टै भान्सा गरी खाएको भनी कोठा खिचोला मुद्दामा दिएको ०४।१०।१२।३ को बिन्तिपत्रमा प्र.कटकबहादुरले लेखेको कुरालाई लिई मानो छुट्टिएको मितिमा मुख नमिलेकोले कुन मिति कायम हुने हो भनी तत्कालिन रजिष्ट्रेशनको ३ (क) नं.तर्फ सर्वोच्च अदालत फुल बेञ्चको ध्यान आर्कषित भएको देखिन्छ । तर मुख नमिलेको भनेको अवधी हेृर्दा भान्सा छुट्टिएको कार्तिक महिना भन्ने कुरा दुवैथरको मुख मिलेको सिर्फ १ दिनको मात्र फरक छ र जसलाई मौलिक त्रुटी भन्न मिल्दैन । यस्तो स्थितिमा मुख मिलेकै भन्नु पर्ने र १४ गते वा १५ गते के हो भन्नेसम्म छुट्टाउनु पर्नेसम्म कुरा छ । वल्की वादी प्रतिवादीले नै भनेको कार्तिक महिनालाई छाडी त्यसदेखि बाहिर गई निर्णय गर्नुपर्ने अवस्था रजिष्ट्रेशनको ३ (क) नं.को वाक्यांशबाट पनि देखिदैन । तसर्थ वादी प्रतिवादीले नभनेको नालेस परेको मिति ०५।३।१७।४ लाई मानो छुट्टिएको मिति कायम गर्नु न्यायोचित देखिदैन । कार्तिक १४ गते वा १५ गते कुन दिन मानो छुट्टिएको मान्ने हो भन्नेतर्फ आमाले वादी गोपालबहादुरलाई दिएको बकसपत्र लिखत हेर्दा छोरा कटकबहादुर २००४ साल कार्तिक १५ गते मानो छुट्टी बेग्लै बसेको भन्ने कुरा लेखिएको सोही उक्ती लिई आफू जिवित छँदै आमाले ०४।९।२२।३ मा उजुरी निवेदन दिएको कोठा खिचोला मुद्दाबाट समेत देखिएकोले मौकैमा त्यसरी पास लिखत समेतमा लेखिएको कुरालाई नै बेसी मान्यता दिनु उचित हुन आउनेमा पनि यस मुद्दाको प्रतिवादीमा पनि ०४ साल कार्तिकमा छुट्टै भान्सा गरी खाएको कुरा प्रतिवादी सु.कटकबहादुरले मानेको स्पष्टै देखिन्छ । रत्नकुमारीको उक्त ०४।९।२२।३ को निवेदनपत्रबाट जनाउ म्याद तामेल भएको हेर्दा निज रत्नकुमारी ०५ साल बैशाख २३ गते परलोक भएको भन्ने देखिएको भन्ने देखिएको सो मिति तक गोपालले एउटै भान्सा गरी खाएको भन्ने वादी र म कटकबहादुरको लेख जिकिर कतै नदेखिएको भएपछि आफ्नो बृद्धावस्थामा जुन छोराले सेवा टहल गर्यो उस्ले लिखत बमोजिम खान नपाउने उल्टो विपक्षी तुल्याई राखेको छोरालाई समेत भागबण्डा लाग्ने दिलाउने गर्दा जसको सम्पत्ति हो उसको इच्छा विरुद्ध बण्डा लाग्न हुन जाने समेत प्रमाण परिवन्दबाट मानो छट्टिएको मिति नालेस दायर गरेको मिति कायम गरी बण्डा गरी दिने गरेको सर्वोच्च अदालतको निर्णय मिलेको नदेखिएकोले उपयुक्त बुँदाहरुको आधारमा यो मुद्दा पुनःएकपटक सर्वोच्च अदालत फुल बेञ्चले दोहर्याई हेरी दिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसुफको प्रमुख सचिवालय राजदरवारबाट लेखी आएको ०२६।५।२०।६ को हुकुम प्रमांगी ।
१३. बक्स भई आएका हु.प्र.बमोजिम गर्न लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने माननीय प्रधान न्यायाधीशज्यूबाट भएको ०२६।५।२२।१ को आदेश ।
१४. यसमा तारेखमा रहेका पक्षहरु रोहवरमा रही ०२७।७।२१।६ मा पेश भई निवेदक वादीतर्फबाट विद्वान अधिवक्ता श्री ईच्छाहर्ष बज्राचार्यले र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद पन्तले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा ०४ साल कार्तिक १५ गते मानु छुट्टिएको भनी वादीले दावी लिएको र कोठा खिचोला मुद्दामा दिएको ०४।१०।१२।१ को बिन्तीपत्रमा ०४ साल कार्तिक १४ गते छुट्टै भान्छा गरी खाएको भनी प्र.कटकबहादुरले लेखेको देखिएकोले ०४ साल कार्तिकमा मानु छुट्टिएको भनी दुवै थरको मुख मिलेकोबाट अदालतबाट यो मितिमा मानु छुट्टिएको भनी विचार गर्नै नपर्ने हो कि भन्ने शंका गर्नलाई कुनै खास दिनमा मानु छुट्टिएको भन्ने दुवै थरको लेखाई नभई यति गते भन्ने कुरामा मुख नमिलेकोले ऐनले तोकेका बन्देजमा रहनुपर्ने हुनआयो । त्यसतर्फ हेर्दा रजष्ट्रेशनका ३ (क) नं.ले रजिष्ट्रेशन पास भएको लिखत बेगर यो मितिमा मानु छुट्टिएको हो भनी मञ्जुर गरे पनि अदालतले मान्यता दिन नसक्ने हुनाले फिराद परेको मिति ०५।३।१७ मा मानु छुट्टिएको मिति कायम हुन्छ ।
१५. आमाको शेषपछिको बकसपत्रबाट मेरो हक पुगेकोले आमाको १ भाग र मेरो १ भाग समेत जम्मा २ भाग मलाई र प्रतिवादीलाई १ भाग अंश पाउने गरिपाउँ भन्ने दावी भएकोमा आमाको अंश वादीले एकलौटी पाउने हो वा दुवै भाइले बराबर पाउने हुन भनी विचार गर्नु परेको छ ।
१६. जुन शेषपछिको बकसपत्रका आधारमा वादीले आमा रत्नकुमारीको भाग समेत पाउँ भनी जिकिर लिएको छ, त्यो लिखतमा कानून औचित्यतर्फ विचार गर्नुपर्ने आवश्यक परी हाल्यो । त्यसतर्फ हेर्दा तत्काल प्रचलित अपुतालीको ४ नं.मा आमाले उठाउन पाउने जति छोरीलाई दिन पाउने र अंशबण्डाको ३८ नं.मा बाबुले दिन पाउने अधिकार उल्लेख छ । तर ऐनमा आमाले आफ्नो अंश नछुट्टिदै कुनै एक छोरालाई मात्र बकस दिन पाउने व्यहोरा उल्लेख भएको देखिएन । लिखतकै सहाराले बकस पाउने गोपालबहादुरले एकलौटी भोग गर्न पाउँछ भनी त्यसै बखतमा भन्न सकिन्छ, जब त्यो लिखत कुनै ऐन विरुद्ध नहोस । अंशबण्डाको ३३ नं.मा बाबुको शेषपछि पनि कोही छोरा आमासित संगबसेका रहेछन र आमा मरेपछि अंश गर्नु पर्यो भने पनि आमाको काजक्रिया गरी बाँकी रहेको सबैसितका बाबुबाजेका आर्जनको ऋण धनमा ऐनबमोजिम सबै छोरालाई बाँडी दिनु भन्ने बोली परेकोले सवै छोरालाई अंश गर्नुपर्ने सम्पत्ति आमाले एउटा छोरालाई मात्र लेखिदिएको कानून विरुद्ध देखिएको हुँदा बकसपत्रबाट गोपालबहादुरलाई रत्नकुमारीको अंश एकलौटी दिन मिल्दैन ।
१७. तसर्थ उपरोक्त उल्लेखित कारणहरुबाट मानु छुट्टिएको मिति ०४।७।१५ गते कायम हुनुपर्ने र बकसपत्र बमोजिम आमाको १ भाग समेत मैले पाउनु पर्ने भन्ने निवेदक वादीको दावी जिकिर पुग्न सक्दैन । मानु छुट्टिएको मिति ०५ साल आषाढ १७ गते कायम गरी २ भागको १ भाग अंश वादीले पाउने ठहराई छिनेको इन्साफ ०२४।५।२०।३ को फुल बेञ्चको मनासिव छ । कोर्ट फी राखेकोले मुद्दा दोहर्याएमा वादीलाई अरु सजाय गर्नु परेन । नियमबमोजिम मिसिल बुझाई दिनु ।
न्या.श्री रत्नबहादुर विष्ट,
न्या.श्री चन्द्रप्रसाद,
न्या.श्री बब्बरप्रसाद र
न्या.श्री वाशुदेव शर्मा
उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।
इति सम्वत् २०२७ साल मार्ग ५ गते रोज ६ शुभम् ।