शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५६९ - मोहीयानी हक सुरक्षित

भाग: १२ साल: २०२७ महिना: बैशाख अंक:

निर्णय नं. ५६९         ने.का.प. २०२७

फुल बेञ्च

न्यायाधीश श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री

न्यायाधीश श्री झपट सिं रावल

सम्वत् २०२५ सालको दे.फु नं. ७२

निवेदक : का.ई. अख्यात खड्का गाउँ बस्ने रामबहादुर महर्जन

विरुद्ध

विपक्षी : ऐ. बस्ने कुलबहादुर थापा

मुद्दा : मोहीयानी हक सुरक्षित

(१)  भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ (१)उपरोक्त ऐन प्रकाशित हुन पूर्व (२५।२६ वर्ष अगावै) देखि जग्गा कमाइआएको भन्ने दावी भएमाउपरोक्त दफा ३४ अनुसार कबुलियत र रसिदको प्रमाण नभएकोसम्म कुराले मोहिया भई कमाएको कायम नहुने भन्न नहुने ।

          भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ (१) मा रहेको जग्गा कमाउन लिँदा दिँदा भन्ने शब्दले उक्त ऐन प्रकाश भइसकेपछिको कुरालाई संकेत गरेको, उक्त ऐन प्रकाशित हुनुभन्दा पहिले नै २५।२६ वर्ष अगावैदेखि कमाई आएको भन्ने वादी दावी हुनाले उक्त दफा ३४ अनुसार कबुलियत र रसिदको प्रमाण नभएको भन्नेसम्म कुराले मोहिया भई कमाएको कायम नहुने भन्न भएन ।

(प्रकरण नं. ११)

(२)  सँधियार सर्जिमिनहरु मध्ये धेरैले वादीले जोती आएको भनेमामुख्य झगडा परेको जग्गाको एकभन्दा बढी सँधियारहरुले २०२१ सालसम्म वादी मोहिया भई कमाएको र २०२२ सालदेखि प्रतिवादीले कमाएको भनी लेखी दिएमाभूमिसम्बन्धी ऐन, २०२१ प्रारम्भ पछि प्रतिवादीले वादीको नाममा जोताहा दर्ता गरेको बदर गरी झगडा जनाइपाउँ भन्ने मुद्दामा कारवाई गर्न नपर्ने भनी भूमिसुधार विशेष अदालतबाट अन्तिम फैसला भइरहेमावादीले जोताहा निस्सा प्राप्त गरिसकेमा०२१ सालसम्म वादी मोहिया भई कमाएको प्रमाणित हुने ।

          सँधियार सरजमिनहरुको भनाई हेर्दा कसैले अघिदेखि प्र.ले कमाएको भन्ने, कसैले २० साल, कसैले २१ साल, १० साल, कसैले १६ साल, कसैले ०२२ सालसम्म र कसैले २।४ वर्ष कसैले १४।१५ वर्ष अघि वादीले कमाएको त्यसपछि प्रतिवादीले कमाएको भन्ने विभिन्न भनाई भए पनि धेरैले जग्गा वादीले जोती आएको भन्ने कुरा समर्थन गरेको र मुख्य झगडा परेको जग्गाको सँधियारमा सानाबाबु खड्का १ जना बाहेक अरु पानाचा महर्जन १ गणेशबहादुर खड्का, मानबहादुर खत्री समेतले ०२१ सालसम्म वादी मोहिया भई कमाएको थियो । ०२२ सालदेखि प्रतिवादीले कमाएको छ भनी किटानसाथ लेखी दिएको पाइन्छ । भूमिसम्बन्धी ऐन लागू भएपछि रामबहादुरले आफ्नो नाममा जोताहा दर्ता गरेको बदर गरी झगडा जनाई पाउँ भनी यो मुद्दाको प्रतिवादी कुलबहादुरले वादी रामबहादुरउपर दिएको मुद्दामा झगडा जनाउनेतर्फ कारवाई गर्नु नपर्ने समेत भनी भू.सु.वि.अ.काठमाडौंबाट ०२३।५।२।५ मा अन्तिम निर्णय भएको र वादीले जोताहा अस्थायी निस्सा प्राप्त गरी सकेको समेत पाइयो । तसर्थ उपरोक्त कारणहरुबाट ०२१ सालसम्म वादी मोहिया भई कमाइएको प्रमाणीत हुने हुँदा अघिदेखि म आफैले कमाएको भन्ने प्रतिवादी जिकिर पुग्न सक्दैन ।

 (प्रकरण नं. ११)

निवेदक वादीतर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

विपक्षी तर्फबाट : अधिवक्ता श्री इच्छाहर्ष

उल्लेखित मुद्दा :

फैसला

          न्या.श्री नयनबहादुर खत्री क्षेत्री

          १.   खेत मुरी ।१० कुलबहादुरका बाबु बाजेको पालादेखि मोहियामा कमाई आएको ०२२ सालको धान लगाउन खनजोत गरेको जग्गामा अब जग्गा छाडी दे कमाउन दिन्न भनी आफैले बाली लगाएका हुँदा मोहियानी हक कायम गरिपाउँ भन्नेसमेत वादी ।

          २.   वादी दावीको जग्गा आजसम्म आफैले कमाएका छु, वादीले कमाएको छैन, वादी वयान झुठ्ठा हो भन्नेसमेत प्रतिवादी ।

          ३.   कि.नं.१८९ को एक कित्ता जग्गा राजगुठी हो भनी कागज गरी दिएकाले यस अदालतबाट भू.सं.ऐन, ०२१ को २५ दफाको उपदफा ३ ले कारवाई गर्न नमिल्ने, अरु जग्गा साँध सँधियार बुझिएमा अघिदेखि जग्गा वादीले जोतेको र कुलबहादुरले वादीलाई निष्कासन गरेको हो भनी लेखी दिएकोले वादीलाई प्र.कुलबहादुरले निष्कासन गरेकै ठहर्छ भन्ने भूमिसुधार विशेष अदालत काठमाडौको ०२३।५।२।५ को फैसला ।

          ४.   वादीले जग्गा कमाउन दिएको वा बाली बुझाएको प्रमाण पेश गर्न नसकेको समेत विचार नगरी हराएकाले इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादीको पुनरावेदन ।

          ५.  वादी रामबहादुरको उजूर ०२२।४।२५। मा परेको देखिएबाट भूमिसम्बन्धी ऐन, २०२१ लागू भइसकेपछिको उजुरी भएको उक्त ऐनको दफा ३४ मा जग्गा कमाउन लिँदा दिँदा मोही र जग्गावालाको बीचमा तोकिएबमोजिमको लिखत कबुलियत गर्नुपर्छ र त्यस्तो दोहरी दुवै पक्षले लिई दिई राख्नु पर्छ भन्नेसमेत उल्लेख भएकोमा वादीले त्यसकिसिमको कबुलियत दोहरी छ भन्न नसकेको र ऐनको उपदफा (२) मा बुझी लिएको हरेक रकमको तोकिए बमोजिमको रसिद गरी मोहिलाई दिनुपर्छ भन्नेसमेत कानूनी व्यवस्था भएको हुँदा सो अनुसार बाली बुझाएको रसिद वादीसंग हुनुपर्ने त्यस्तो रसिद छ भन्नसमेत नसकेको यदि प्रतिवादीले रसिद नदिएको भए उक्त ऐनको दफा ३८ बमोजिम उजूर बाजुर गरेको हुनुपर्ने त्यसरी उजूर परेको छ भन्न पनि वादीले सकेको नदेखिएको हुनाले समेत वादीलार्ई राखी छलफल गर्नुपर्ने भएकाले अ.बं.२०२ नं., स.अ.नियमावली बमोजिम वादीलाई नोटिस दिई झिकाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०२४।७।२६।१ को आदेश ।

          ६.   वादी रामबहादुरको उजुरी ०२२।४।२५ गतेमा मात्र परेको र सो उजुरी पर्नुभन्दा अगावै भूमिसम्बन्धी ऐन, २०२१ लागू भइसकेको उक्त ऐनको दफा ३४ र दफा ३८ (२) को व्यवस्था अनुसार वादीले प्रतिवादीको जग्गा कमाएको भन्ने कबुलियत तथा रसिद भरपाई समेत कुनै निस्सा प्रमाण वादी रामबहादुरले दिन गुर्जान सकेको नदेखिनाले समेत वादी मोही ठहराएको भु.सु.विशेष अदालत काठमाडौंको मिलेको देखिएन । प्रतिवादीको मोही रामबहादुर ठहर्दैन भन्ने २०२४ साल माघ ८ गतेको डिभिजन बेञ्चको फैसला ।

          ७.  सो इन्साफमा चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने वादी रामबहादुरको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा वादीको दावीमा ०२५।२६ वर्ष अगावै देखि मोहियामा कमाई अएको ०२२ सालको धान बाली लगाउन तयार पारेको व्याडमा आफै विउ राखी मोहियानी खोसे भन्ने भएकोबाट भूमिसम्बन्धी ऐन, २०२१ प्रारम्भ हुनुभन्दा अगावै देखिको मोही हुँदा भनी दावी लिएको देखिने उक्त उल्लेखित ऐनको दफा ३४ मा जग्गा कमाउन लिँदा दिँदा लिखत कबुलियत दिई लिई राख्नु पर्छ दुवैको सहिछाप परेको १ प्रति स्थानीय पञ्चायतमा दाखिल गर्नुपर्छ भन्ने लेखिएको पञ्चायतको व्यवस्था पछि मात्र भएकोले सो ऐनको भावार्थ ऐन बनिसकेपछिको व्यवहारलाई मात्र भन्ने देखिने र रसिद भरपाई लिनु दिनुपर्छ भन्ने हकमा दफा ५३ मा नक्सा सरजमिन बुझ्ने व्यवस्था भएको सो ऐन अनुरुप बुझिएको सँधियार पानाचा महर्जन समेतले झगडा परेको जग्गा अघिदेखि ०२१ सालसम्म वादी रामबहादुरले कमाएको हो, ०२२ सालमा वादीलाई प्र.कुलबहादुरले जग्गाबाट निष्कासन गरेको हो भनी किटानसाथ लेखी दिएको र साथै जग्गा रामबहादुर महर्जनले जोती रहेको देखिएको भन्ने जोताहाको अस्थायी निस्साको प्रतिलिपि प्रतिवादीले पेश दाखिल गरेको मिसिल संलग्न देखिएको सोही जोताहा दर्ताको बिषयमा यिनै वादीउपर प्र. कुलबहादुरले नापीमा मेरो जोताहा हकको जग्गा झगडा जनाई दर्ता गर्नुपर्नेमा आफ्नो नाउँमा जोताहा देखाई दर्ता गरेको रामबहादुरको जोताहा भनी दर्ता गरेको बदर गरिपाउँ भनी दिएको उजुरीमा जुन जग्गामा झगडा परेको नाताबाट झगडा जनाई पाउँ भनी वादीले दावी लिएको छ सो नै मुद्दा आजै राजगुठी बाहेक मि.नं.१६८७ अनुसार प्रतिवादीको जोत कायम हुने गरी निर्णय भइसकेको देखिंदा झगडा जनाउनेतर्फ कारवाई गर्न नपर्ने हुँदा लगत कट्टा गरी काम तामेलीमा राखी दिने अन्तिम निर्णय हुँदा अपील लाग्दैन भनी निवेदक वादी कुलबहादुर तथा प्र.रामबहादुरलाई सुनाई दिने भनी ०२३।५।२ मा निर्णय भएको भन्ने भूमिसुधार विशेष अदालतको कैफियत रिपोर्ट र अपील नलाग्ने अन्तिम निर्णय भएको भन्ने विशेष अदालतको रिपोर्टबाट देखिएकोले प्रस्तुत निवेदनबाट अपील दर्ता गरी दिने प्रश्नै नउठ्ने हुँदा कानूनबमोजिम गर्नु भनी यो आदेश सहितको रिपोर्ट फाइल अपील परेको मुद्दाको मिसिलसाथ सामेल राख्न स.अ.अपील दर्ता विभागमा बुझाई दिनु भन्नेसमेत ०२३।६।२५।३ मा सर्वोच्च अदालतबाट आदेश भएको देखिन आएको समेत प्रमाण परिवन्दबाट झगडा परेको जग्गा मोहियानीमा वादी रामबहादुरले भूमिसम्बन्धी ऐन, २०२१ प्रारम्भ हुनुभन्दा अघिदेखि नै कमाई आएको रहेछ भन्ने सिद्ध देखिन आएकोले सर्वोच्च अदालतले वादीको मोहियानी हक ठहर्दैन भनी गरेको निर्णय मिलेको देखिएन । तसर्थ गुठी बाहेक अरु दावीको जग्गामा दोहर्‍याउन आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भनी हुकुम बक्सेको छ भन्ने ०२५।५।२९।६ मा मौसुफका प्रमुख सचिवालय राजदरवारबाट लेखी आएको हुकुम प्रमांगी ।

          ८.   बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भपएपछि त्यस्तो निर्णयको दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने माननीय का.मु.प्र.न्या. ज्यूबाट भएको ०२५।६।१।२ को आदेश ।

          ९.   वादी कुलबहादुर थापा प्रतिवादी रामबहादुर महर्जन दर्ता बदर गरी झगडा जनाई पाउँ भन्ने मुद्दाको ०२३।५।२ मा भू.सु.वि.अ.काठमाडौंबाट फैसला भएको मिसिल झिकाई पेश गर्नु भन्ने ०२५।१२।२९।६ को फुल बेञ्चको आदेश ।

          १०.  शुरु भूमिसुधार विशेष अदालत, काठमाडौंबाट दुवैपक्षसंग झगडा परेको जग्गाको सँधियारहरुको नाम खुलाई तिनिहरुलाई म्याद दिई झिकाई ०२२।१०।२७।४ मा अड्डैमा कागज गराएकोमा २ थर झगडिया रोहवरमा राखेको समेत नदेखिएकोले पुनः ऐनको रीत पुर्‍याई सँधियार सरजमिन समेत बुझ्नु पर्ने देखिन आएको हुँदा वादी दावीको झगडा परेको जग्गा अघिदेखि वादी मोहिया भई कमाई आएको हो होइन जग्गा सरजमिनमा गई २ थर झगडिया र बडा पञ्चायत समेत राखी अघि नाम खुलेका सँधियार सानाबाबु खड्का मानबहादुर खत्री विरबहादुर रोक्का पानाचा महर्जन टेकबहादुर रोक्का, गणेशबहादुर, खड्का कृष्णबहादुर कार्कीहरु र झगडा परेको जग्गा नगिच वरपरको अरु साँध सँधियार सरजमिन समेत ऐनको रीत पुर्‍याई बुझी सरजमिन मुचुल्का खडा गरी ल्याउन दर्जा पुगेको मानिस डोर खटाई सरजमिन गराई पठाइदिनु भनी झगडा परेको जग्गाको ४ किल्ला माटो मुरी समेत उल्लेख गरी काठमाडौं जि.अदालतलाई लेखी दुवैपक्षलाई सो अदालतमा हाजिर हुन जाने तारेख तोकी पठाई सो काम तामेल भई आएपछि नियमबमोजिम पेश गर्नु भन्ने २०२६।६।१७।६ को फुल बेञ्चको आदेश ।

          ११.  यसमा तारेखमा रहेका दुवैपक्ष रोहवरमा रही ०२७।६।३० मा पेश भई निवेदक वादीतर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री ईच्छाहर्षले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा झगडा परेको जग्गा वादी मोहिया भई कमाएको हो होइन भन्ने प्रश्नउपर नै मुख्य विचार गर्नुपर्ने भएको छ । जग्गा कमाउन दिए लिएको कबुलियत र कुत तिरेको रसिद वादीले प्रमाण दिन नसकेको भन्ने हकमा त्यसतो कबुलियत रसिद भएको भए जग्गा मोहिया भई कमाएको भन्ने कुराको बलियो आधार हुने, सो नभए पनि भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ (१) मा रहेको जग्गा कमाउन लिँदा दिँदा भन्ने शब्दले उक्त ऐन प्रकाश भइसकेपछिको कुरालाई संकेत गरेको उक्त ऐन प्रकाशित हुनुभन्दा पहिले नै ०२५।२६ वर्ष अगावै देखि कमाई आएको भन्ने वादी दावी हुनाले उक्त दफा ३४ अनुसार कबुलियत र रसिदको प्रमाण नभएको भन्नेसम्म कुराले मोहिया भई कमाएको कायम नहुने भएन । उक्त भूमिसम्बन्धी ऐन, ०२१ को दफा ५३ मा आवश्यकतानुसार नक्सा सरजमिन गराउन सक्ने समेत व्यवस्था भएको र ०२६।६।१७।६ को फुल बेञ्चको आदेश बमोजिम सँधियार सरजमिनहरु बुझी आएको समेत देखिनाले सो समेतको प्रमाणमा मूल्यांकन गरी निर्णय दिनु उपयुक्त देखिन्छ । सँधियार सरजमिनहरुका भनाई हेर्दा कसैले अघिदेखि प्र.ले कमाएको भन्ने कसैले २० साल कसैले २१ साल कसैले १० साल कसैले १६ साल कसैले ०२२ सालसम्म र कसैले २।४ वर्ष कसैले १४।१५ वर्ष अघि वादीले कमाएको त्यसपछि प्रतिवादीले कमाएको भन्ने विभिन्न भनाई भए पनि धेरैले जग्गा वादीले जोती आएको भन्ने कुरा समर्थन गरेका र मुख्य झगडा परेको जग्गाको सँधियारमा सानाबाबु खड्का १ जना बाहेक अरु पानाचा महर्जन १ गणेशबहादुर खड्का मानबहादुर खत्री समेतले ०२१ सालसम्म वादी मोहिया भई कमाएको थियो । ०२२ सालदेखि प्रतिवादीले कमाएको छ भनी किटान साथ लेखी दिएको पाईन्छ । भूमिसम्बन्धी ऐन लागू भएपछि रामबहादुरले आफ्नो नाममा जोताहा दर्ता गरेको बदर गरी झगडा जनाई पाउँ भनी यो मुद्दाको प्रतिवादी कुलबहादुरले वादी रामबहादुरउपर दिएको मुद्दामा झगडा जनाउनेतर्फ कारवाई गर्नु नपर्ने समेत भनी भू.सु.वि.अ. काठमाडौबाट ०२३।५।२।५ मा अन्तिम निर्णय भएको र वादीले जोताहा अस्थायी निस्सा प्राप्त गरी सकेको समेत पाइयो । तसर्थ उपरोक्त कारणहरुबाट ०२१ सालसम्म वादी मोहिया भई कमाएको प्रमाणीत हुने हुँदा अघिदेखि म आफैले कमाएको भन्ने प्रतिवादी जिकिर पुग्न सक्दैन । कि.नं.१८९ को राजगुठी बाहेक अरुमा वादीलाई प्रतिवादी कुलबहादुरले निष्कासन गरेकै ठहराई शुरु भूमिसुधार विशेष अदालत काठमाडौंले ०२३।५।२।५ मा छिनेको इन्साफ मनासिव ठर्हछ । वादी रामबहादुर मोही ठहर्दैन भनी ०२४।१०।८।२ का डिभिजन बेञ्चले छिनेको मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

वादी रामबहादुर कै डिभिजन बेञ्चको ०२४।१०।८।२ को फैसलाले गर्ने गरेको जरिवाना रु.१। नलाग्ने हुँदा असुल भएको भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिनु भनी का.श्रे.अ.मा लगत दिनु...........................१

प्रतिवादी कुलबहादुर थापाकै भू.सु.वि.अ.काठमाडौंको ०२३।५।२।५ को फैसलाले गर्ने गरेको जरिवाना रु.१०। लाग्ने नै हुँदा ०२४।१०।८।२ को डिभिजन बेञ्चका फैसला बमोजिम फिर्ता दिनु पर्दैन । सो जरिवाना कायम नै राख्नु भनी ऐ..........................२

उल्टीमा भू.सु.वि.अ.काठमाडौं का.न्या.मोहनबहादुर श्रेष्ठको ०२४।१०।८।२ को डिभिजन बेञ्चको फैसलाले रिकर्ड राख्ने गरेको लगत काटी सूचना दिनु.........................३

नियमबमोजिम मिसिल बुझाई दिनु.........................४

 

प्र.न्या.श्री रत्नबहादुर विष्ट र

न्या.श्री झपट सिं रावल

 

उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।

 

इति सम्वत् २०२७ साल कार्तिक ७ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु