निर्णय नं. ५७० - मोहीयानी हक सुरक्षित

निर्णय नं. ५७० ने.का.प. २०२७
फुल बेञ्च
न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
न्यायाधीश श्री झपट सिं रावल
सम्वत् २०२५ सालको दे.फु.नं. ६५
निवेदक : का.ई. अख्यात खड्का गाउँ बस्ने मंगलदास महर्जन
विरुद्ध
विपक्षी : ऐ. बस्ने कुलबहादुर थापा क्षेत्री
मुद्दा : मोहीयानी हक सुरक्षित
(१) जग्गाको सँधियारसमेतले वादी मोहिया भई कमाएको भनी लेखी दिएमा–उक्त जग्गा वादीलाई बन्धकी दिई थैली तिरी उक्त बन्धकी फट्टा गरेकोसम्म नाताले निज वादीले उक्त जग्गा नकमाएको भन्न नमिल्ने ।
०९ सालमा बाबुले वादीलाई बन्धकी दिई ०१२ सालमा निखनी ०१३ सालमा बाबु परलोक भई ०१४ सालदेखि मेरो भागमा परेको भनी प्रतिवादी निवेदन साथ बन्धकी तमसुक नक्कल समेत पेश गरेको, त्यसबाट ०१२।४।३०।१ मा बन्धकी थैली बुझी लिई फट्टा जनाएको समेत देखिएको भए पनि पहिलेदेखि आफू मोहिया भई कमाई राखेको जग्गा बीचमा जग्गाधनीबाट बन्धकी लिई पछि थैली बुझी निखनी दिएको समेत हुनसक्छ । जग्गाको सँधियार समेतले ०२१ सालसम्म वादी मोहिया भई कमाएको भनी लेखी दिएको कुरामा ०१२।४।३०।१ मा बन्धकी फट्टा भएको सम्म नाताले त्यस मोही देखि यता वादीले नकमाएको भन्न मिल्ने देखिदैन ।
(प्रकरण नं. ११)
निवेदक वादीतर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
विपक्षी तर्फबाट : अधिवक्ता श्री इच्छाहर्ष
उल्लेखित मुद्दा :
फैसला
न्या.श्री नयनबहादुर
१. खडकुले भन्ने खेत २।। जग्गा बाबु बाजेको पाला देखि मोहियानीमा कमाई आएकोमा ०२२ सालको बाली लगाउन खन जोत मैले गरेकोमा जग्गाधनीले आफै धान रोप्छु भनी रोपी मलाई जग्गाबाट निष्कासन गरेको हुँदा मोहियानी हक कायम गरिपाउँ भन्नेसमेत वादी ।
२. आफ्नू भागको जग्गा आफैले जोतेको छु, कसैलाई कमाउन दिएको छैन, वादीले कमाएको छैन भन्नेसमेत प्रतिवादी ।
३. झगडा परेको जग्गा मध्ये कि.न.२३६ कित्ताको जग्गा राजगुठी भनी कागज गरी दिएकोले सो जग्गामा यस अदालतबाट विचार गर्नु परेन । अरु जग्गामा अधिकांश सँधियारहरुले वादीले जोतेको जग्गाबाट वादीलाई प्र.कुलबहादुरले निष्कासन गरेको भनी किटानी साथ लेखी दिएकोले वादीलाई प्रतिवादीले निष्कासन गरेको ठर्हछ भन्ने भूमिसुधार विशेष अदालत काठमाडौंको ०२३।५।२।५ को फैसला ।
४. वादी मोहिया भई नकमाएको जग्गा निजको मोहियानी हक कायम गरी छिनेको हुँदा इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादीको पुनरावेदन ।
५. वादी मंगलदास महर्जनको उजुरी ०२२।६।२५ मा परेको देखिएबाट भूमिसम्बन्धी ऐन, ०२१ लागु भइसकेपछिको उजुरी भएको र उक्त ऐनको दफा ३४ मा जग्गा कमाउन लिँदा दिँदा मोही र जग्गावालाको बीचमा तोकिए बमोजिमको लिखत कबुलियत गर्नुपर्छ र त्यसको दुबै दुवैपक्षले लिई दिई राख्नु पर्छ भन्नेसमेत उल्लेख भएकोमा वादीले त्यस किसिमको कबुलियत दोहरी छ भन्न नसकेको र ऐनको उपदफा (२) मा बुझी लिएको हरेक रकमको तोकिए बमोजिमको रसिद गरी मोहियालाई दिनुपर्छ भन्नेसमेत कानूनी व्यवस्था भएको हुँदा सोअनुसार बाली बुझाएको रसिद वादीसंग हुनुपर्ने त्यस्तो रसिद छ भन्न समेत नसकेको, यदि प्रतिवादीले रसिद नदिएको भए उक्त ऐनको दफा ३८ बमोजिम उजूर बाजुर गरेको हुनुपर्ने त्यसरी उजूर गरेको छु भन्न पनि वादीले सकेको नदेखिएको हुनाले समेत वादीलाई राखी छलफल गर्नुपर्ने भएकोले अ.बं.२०२ नं.स.अ.नियमावली बमोजिम वादीलाई नोटिस दिई झिकाई पेशगर्नु भन्ने डिभिजन बेञ्चको ०२४।७।२६।१ को आदेश ।
६. वादी मंगलदासको उजुरी २०२२।४।२५ गतेमा मात्र परेको सो उजुरी पर्नु भन्दा अगावै भूमिसम्बन्धी ऐन, २०२१ लागू भइसकेको उक्त ऐनको दफा ३४ र दफा ३८ (२) को व्यवस्था अनुसार वादीले प्रतिवादीको जग्गा मोहियामा कमाएको भन्ने कबुलियत तथा रसिद भरपाईसमेत कुनै निस्सा प्रमाण वादी मंगलदासले दिन गुजार्न सकेको नदेखिनाले समेत वादी मंगलदास मोहिया ठहराएको भू.सु.वि.अ.काठमाडौंको इन्साफ मिलेको देखिएन । वादीको मोहियानी हक ठहर्दैन भन्ने ०२४।१०।८।२ को डिभिजन बेञ्चको फैसला ।
७. सो इन्साफमा चित्त बझेन दोहर्याई पाउँ भन्ने वादीको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा भू.सं. ऐनको दफा ३४ मा कबुलियतको १ प्रति स्थानीय पञ्चायतमा दाखिल गर्नुपर्छ भन्ने लेखिएकोले सो ऐनले अघिको व्यवहारलाई औल्याएको नभई अबदेखि व्यवहार गर्दा पञ्चायतमा पनि कबुलियतको १ प्रति पठाउने निर्देश गरेको भन्नु पर्ने, किनभने पञ्चायत व्यवस्था पछिमात्र भएको छ । वादीको दावीमा ५०।५२ वर्ष अगावै बाबुकै पालादेखि मोहियानी कुत धान ७। गहुँ ।२ मा कमाई आएको ०२२ सालको बाली लगाउन नदिई आफूले रोपे मोहियानी हक कायम गरिपाउँ भन्ने भएकोले सर्वोच्च अदालतको फैसलामा उक्त उल्लेखित बुँदा लगाइएको सर्वमान्य देखिन आउँदैन । बुझाएको रसिद भरपाई लिनु दिनु पर्ने भन्ने बुँदाका हकमा उक्त उल्लेखित ऐनको दफा ३४ को भावार्थ सो ऐन बने पछिको व्यवहारलाई मात्र भन्ने देखिने, वादीले अघिदेखि कमाएको भनी लेखेकोले यस्तो स्थितिमा सोही ऐनको दफा ५३ प्रयोगमा ल्याउनु पर्ने देखिन्छ । प्रतिवादीमा ०९ सालमा बन्धकीमा सम्म बाबुले वादीलाई दिई ०१२ सालमा निखनी १३ सालमा बाबु परलोक भई १४ सालदेखि मेरो भागमा परि म आफैले कमाएको छु भन्ने लेखेको हकमा साँचै सो अनुसार बन्धकीमा दिएको भए थैली यो यति हो भनी खुलाउनु पर्ने र निखनी लिएको भए फट्टा वा लिखत भरपाई पनि हुन दाखिल गर्न सक्नु पर्ने सो केही नदेखिएको र दफा ५२ बमोजिम अदालतले सँधियार सरजमिन बुझेको देखियो । बुझिएका सँधियारहरुमा १ जना सानाबाबुले प्रतिवादी मिलान बसेको देखिन्छ ता पनि झगडा परेको जग्गा अघिदेखि ०२१ सालसम्म वादी मंगलदासले कमाएको हो । ०२२ सालमा वादीलाई प्र.कुलबहादुरले जग्गाबाट निष्कासन गरेको पनि पानाचा महर्जनसमेत धेरै जनाले किटानी साथ लेखी दिएको र वादीले दाखिल गरेको जोताहाको अस्थायी निस्साको प्रतिलिपि पनि मिसिल संलग्न रहेको देखिएको सोही जोताहा दर्ताको बिषयमा यिनै वादीउपर प्र.कुलबहादुरले नापीमा मेरो जोताई हकको जग्गा झगडा जनाई दर्ता गर्नुपर्नेमा आफ्नो नाउँमा जोताहा लेखाई दर्ता गरेकोले मंगलदासको जोताहा भनी दर्ता गरेको बदर गरिपाउँ भनी दिएको उजूरीमा जुन जग्गामा झगडा परेको नाताबाट भाग जनाई पाउँ भनी दावी लिएको छ, सो नै मुद्दा आजै राजगुठी बाहेक कि.नं. १६८९ अनुसार प्रतिवादी मंगलदासको जोत कायम हुने गरी निर्णय भइसकेको देखिंदा झगडा जनाउनेतर्फ कारवाई गर्नु नपर्ने हुँदा लगत कट्टा गरी काम तामेलीमा राखी दिने अन्तिम निर्णय हुँदा अपील लाग्दैन भनी निवेदक वादी कुलबहादुर तथा मंगलदाससमेतलाई सुनाई दिने भनी ०२३।५।२ मा निर्णय भएको भन्ने भूमिसुधार विशेष अदालतको कैफियत रिपोर्ट र अपील नलाग्ने भन्ने अन्तिम निर्णय भएको भन्ने विशेष अदालतको रिपोर्टबाट देखिएकोले प्रस्तुत निवेदनबाट अपील दर्ता गरी दिने प्रश्नै नउठ्ने हुँदा कानूनबमोजिम गर्नु भनी यो आदेश सहितको रिपोर्ट अपील दर्ता विभागमा बुझाई दिनु भन्नेसमेत ०२३।६।२६।३ मा सर्वोच्च अदालतबाट आदेश भएको देखिन आएको समेत प्रमाण परिवन्दबाट झगडा परेको जग्गा मोहियानीमा वादी मंगलदासले भूमिसम्बन्धी ऐन, २०२१ प्रारम्भ हुनुभन्दा अघिदेखि नै कमाई आएको रहेछ भन्ने सिद्ध देखिन आएकाले सर्वोच्च अदालतले वादीको मोहियानी हक ठहर्दैन । भनी गरेको निर्णय मिलेको देखिएन । तसर्थ गुठी बाहेक अरु दावीको जग्गामा दोहर्याउन आदेश बक्सुन पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने ०२५।५।२९।६ मा मौसुफका प्रमुख सचिवालय राजदरवारबाट लेखी आएको हुकुम प्रमांगी ।
८. बक्स भई आएका हु.प्र.बमोजिम गर्ना निमित्त नियमबमोजिम लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेशगर्नु र त्यसको अन्तिम निर्णय भए पछि त्यसको निर्णय दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने माननीय का.मु. प्रधान न्यायाधीशज्यूबाट भएको ०२५।६।१।२ को आदेश ।
९. वादी कुलबहादुर थापा प्रतिवादी मंगलदास महर्जनको दर्ता बदर गरी झगडा जनाई पाउँ भन्ने मुद्दाको ०२३।५।२ मा भू.सु.वि.अ. काठमाडौंबाट फैसला भएको मिसिल झिकाई पेशगर्नु भन्ने ०२५।१२।२९।६ को फुल बेञ्चको आदेश ।
१०. शुरु भूमिसुधार विशेष अदालत काठमाडौंबाट दुवैपक्षसंग झगडा परेका जग्गाको सँधियारहरुको नाम खुलाई तिनीहरुलाई म्याद दिई झिकाई ०२३।१०।२७।४ मा अड्डैमा कागज गराएकोमा दुवै थर झगडीया रोहवरमा राखेको समेत नदेखिएको हुनाले पुनः ऐनको रीत पुर्याई सँधियार र सरजमिनसमेत बुझ्नु पर्ने देखिन आएको हुँदा वादी दावीको झगडा परेको जग्गा अघिदेखि वादी मोहिया भई कमाई आएको हो होइन ? हाल नक्कल पेशहुन आएको मंगलदास महर्जनले गणेशबहादुर थापा क्षेत्रीलाई ०९।७।१०।१ मा पास गरी दिएको भोगबन्धकी तमसुकमा लेखिएको जग्गा भित्र हाल झगडा परेको जग्गा पर्छ पर्दैन जग्गा सरजमिनमा गई दुवै थर झगडीया र वडा पञ्चायतसमेत राखी अघि नाम खुलेको सँधियार सानाबाबु खड्गा पानाचा महर्जन कृष्णबहादुर श्रेष्ठ हरिबहादुर बुढाथोकी टेकबहादुर रोक्का क्षेत्री, गणेशबहादुर खड्गा क्षेत्री, पांडोल कान्छा महर्जन, कृष्णबहादुर कार्की क्षेत्री र झगडा परेको जग्गा नजिक वरपरको अरु साथ सँधियार सरजमिनसमेत ऐनले रीत पुर्याई बुझी पठाई दिनु भनी झगडा परेको जग्गाको वादी दावी ४ किल्ला माटो मुरी र माथि उल्लेख भएको ०९।७।१०।१ मा पास भएको भोगबन्धकी तमसुकमा लेखिएको माटो मुरी ४ किल्लाहरु समेत खुलाई काठमाडौं जिल्ला अदालतलाई लेखी दुवैपक्षलाई सो अदालतमा हाजिर हुन जाने तारेख तोकी पठाई सो काम तामेल भई आए पछि पेशगर्नु भन्ने ०२६।६।१७।६ को फुल बेञ्चको आदेश ।
११. यसमा तारेखमा रहेका पक्षहरु रोहवरमा रही ०२७।६।३०।६ मा पेश भई निवेदक वादीतर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले र विपक्षी प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री इच्छाहर्षले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा झगडा परेको जग्गा वादी मोहिया भई कमाएको हो होइन भन्ने प्रश्नउपर नै मुख्य विचार गर्नुपर्ने भएको छ । जग्गा कमाउन दिए लिएको कबुलियत र कूत तिरेको रसिद वादीले प्रमाण दिन नसकेको भन्ने हकमा त्यसतो कबुलियत रसिद भएको भए जग्गा मोहिया भई कमाएको भन्ने कुराको बलियो आधार हुने सो नभए पनि भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ (१) मा रहेको जग्गा कमाउन दिँदा लिँदा भन्ने शब्दले उक्त ऐन प्रकाश भई सकेपछिको कुरालाई संकेत गरेको र उक्त ऐन प्रकाश हुनुभन्दा पहिले अर्थात ५०।५२ वर्ष अगावै देखि कमाएको आफ्नो भन्ने वादी दावी हुनाले उक्त दफा ३४ अनुसार कबुलियत र रसिदको प्रमाण नभएको भन्नेसम्म कुराले मोहिया भई कमाएको कायम नहुने भन्न भएन । उक्त भूमिसम्बन्धी ऐनको दफा ५३ मा आवश्यकतानुसार नक्सा सरजमिन गराउन सक्नेसमेत व्यवस्था भएको र ०२६।६।१७।६ को फुल बेञ्चबाट साँध सँधियार सरजमिन बुझ्ने आदेश भई बुझी आएको समेत देखिनाले सो समेतको प्रमाणमा मूल्याङ्कन गरी निर्णय दिनु उपयुक्त देखिन्छ । सँधियार सरजमिनहरुको भनाई हेर्दा कसैले ०२१ सालसम्म कसैले ०२० सालसम्म कसैले ०१९ सालसम्म कसैले १७।१८ सालसम्म कसैले ०९ सालसम्म कसैले ०१५ सालसम्म कसैले ०१२ सालसम्म कसैले ०१६ सालसम्म कसैले १०।१४ वर्ष अघि कसैले २।३ वर्ष अघि वादीले र त्यस देखि यता प्रतिवादीले कमाएको भन्ने कसैले अघिदेखि प्रतिवादीले कमाएको भन्ने विभिन्न भनाई भए पनि धेरै जनाले वादीले जग्गा जोती आएको भन्ने कुरा नै समर्थन गरेका र मुख्य झगडा परेको जग्गाको सँधियार गणेशबहादुर, पांडुचा, हरिबहादुर बुढाहरुले ०२१ सालसम्म वादीले कमाएको थियो । ०२२ सालदेखि प्रतिवादीले कमाएको हो भनी किटान साथ भने लेखेको पाइन्छ । ०९ सालमा बाबुले वादीलाई बन्धकी दिई ०१२ सालमा निखनी ०१३ सालमा बाबु परलोक भई ०१४ सालदेखि मेरो भागमा परेको भनी प्रतिवादी निवेदन साथ बन्धकी तमसुक नक्कलसमेत पेश गरेको, त्यसबाट ०१२।४।३०।१ मा बन्धकी थैली बुझी लिई फट्टा जनाएको समेत देखिएको भएपनि पहिले देखि आफू मोहिया भई कमाई राखेको जग्गाधनीबाट बन्धकी लिइपछि थैली बुझी निखनी दिएको समेत हुन सक्छ । जग्गाको सँधियार समेतले ०२१ सालसम्म वादी मोहिया मै कमाएको भनी लेखी दिएको कुरामा ०१२।४।३०।१ मा बन्धकी फट्टा भएको सम्म नाताले त्यस मोही देखि यता वादीले नकमाएको भन्न मिल्ने देखिंदैन । भूमिसम्बन्धी ऐन लागू भएपछि वादी मंगलदासले आफ्नो नाममा जोताहा दर्ता गरेको बदर गरी झगडा जनाई पाउँ भनी यो मुद्दाको प्रतिवादी कुलबहादुरले वादी मंगलदासउपर दिएको मुद्दामा झगडा जनाउनेतर्फ कारवाई गर्नु नपर्ने समेत भनी भू.सु.वि.अ.काठमाडौंबाट ०२३।५।२।५ मा अन्तिम निर्णय भएको र वादीले जोताहाको अस्थायी निस्सा प्राप्त गरी राखेको प्रमाणमा पेश भएको छ । तसर्थ उपरोक्त कारणहरुबाट ०२१ सालसम्म जग्गा वादीले मोहिया भई कमाएको प्रमाणीत हुने हुँदा पहिलेदेखि मैले नै कमाएको भन्ने प्रतिवादीको जिकिर पुग्न सक्दैन । कि.नं.२३६ को एक कित्ता राजगुठी बाहेक अरु वादी मंगलदासलाई प्र.कुलबहादुरले निष्कासन गरेकै ठहराई भू.सु.वि.अ.काठमाडौंले ०२३।५।२।५ मा छिनेको इन्साफ मनासिव ठर्हछ । वादीलाई मोही नठहराएको ०२४।१०।८।२ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
वादी मंगलदास महर्जन के ०२४।१०।८।२ डिभिजन बेञ्चको फैसलाले गर्ने गरेको जरिवाना रु.१। एक नलाग्ने हुँदा असुल भएको भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिनु भनी का.श्रे.अ.त.मा लगत दिनु............................१
प्रतिवादी कुलबहादुर थापाकै भू.सु.वि.अ.काठमाडौंको ०२३।५।२।५ को फैसलाले गर्नेगरेको जरिवाना रु.१०।लाग्ने नहुँदा डिभिजन बेञ्चको ०२४।१०।८।२को फैसलाबमोजिम फिर्ता दिनुपर्दैन । सो जरिवाना कायमनै राख्नुभनी ऐ...२
भू.सु.वि.अ.काठमाडौं का.न्या.मोहनबहादुर श्रेष्ठको ०२४।१०।८।२ को डिभिजन बेञ्चका फैसलाले उल्टीको रेकर्ड राख्ने गरेको लगत काटी दिनु भनी स.अ. जनरल विभागमा सूचना दिनु...............................३
नियमबमोजिम मिसिल बुझाई दिनु.........................४
प्र.न्या. श्री रत्नबहादुर तथा
न्या. श्री झपट सिं
उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।
इति सम्वत् २०२७ साल कार्तिक ७ गते रोज ६ शुभम् ।