शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५७१ - बाली

भाग: १२ साल: २०२७ महिना: बैशाख अंक:

निर्णय नं. ५७१             ने.का.प. २०२७

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

सम्वत् २०२५ सालको दे.फु नं.३६

निवेदक : का.ई. बटुसगोल बस्ने सिंहमान प्रधानको सकारगर्ने लक्ष्मीमाया प्रधाननी

विरुद्ध

विपक्षी : ऐ. मरुटोल बस्ने टुलकमान प्रधान समेत

मुद्दा : बाली

(१) बाली मुद्दाको स्वतन्त्ररुपले निर्णय गर्न मिल्ने देखिएमाजग्गातर्फ छुट्टै उजूर गरी हक कायम गरी ल्याउनु पर्ने भन्ने तर्कसंग सहमत हुन नमिल्ने ।

          प्रस्तुत मुद्दाको हकमा स्वतन्त्ररुपले निर्णय गर्न मिल्ने नै देखिनाले ०२३।१०।२५।३ को डिभिजन बेञ्चको उपरोक्त तर्कसंग सहमत हुन मिलेन ।

(प्रकरण नं. १२)

(२) तत्काल प्रचलित अ.बं.१८१ नं. र हालको अ.बं.१३६ नं.तथा २००५।१२।८।२ को खड्गनिसाना तोक सदर बमोजिम २००६ साल जेष्ठ बेमितिको सनदउपरोक्त ऐन तथा सनदले गरेको व्यवस्थाको कारण बाली मुद्दामा जग्गातर्फ हक बेहकमा छुट्टै नालेस गर्नु भनी सुनाउन नमिल्ने ।

          उक्त हक बेहक निर्णयको लागि छुट्टै (नालेस गर्नु भनि सुनाउनु पर्ने हो कि भन्न वादी प्रतिवादीमा लेखिएको मानिस नुबझी मुद्दा नछिनिने देखिएकोमा परी राखेकै मुद्दाबाट बुझी फैसला गर्न मिल्ने तत्काल प्रचलित अ.बं.१८१ नं.र हालको अ.बं.१३९ नं.मा व्यवस्था भएकै र यस किसिमको बाली मुद्दासमेतमा जग्गा हक बेहकको निर्णय गर्नुपर्ने समेत हुन आएकोमा मुद्दा परेकै अड्डाबाट कीर्तेमा बयान गरे सरह वादीको बयान गराई लाग्ने कोर्टफीसमेत असूल गरी वादीको बयानबाट प्रतिवादीको सबूद खुलाई बयान गराई लिनुपर्ने हुन आएमा प्रतिवादीको समेत बयान गराई सबूद प्रमाण लिई फैसला गर्नुपर्ने समेत उस बखतको ०५।१२।८।२ को खड्गनिशाना तोक सदर बमोजिम ०६ साल जेष्ठ बेगतेमा भएको सनदमा प्रष्ट उल्लेख भएको देखिएको समेत हुनाले हक बेहकमा छुट्टै नालेस गर्नु भनी सुनाउन मिल्ने देखिएन ।

(प्रकरण नं. १३)

निवेदक तर्फबाट : 

विपक्षी तर्फबाट :  

उल्लेखित मुद्दा :  

फैसला

          न्या.श्री नयनबहादुर

          १.   टुलकमान बाहेक अरु मेरो हकको जग्गा कमाउने मोही हुन । ०६ साल तकको बालीमा मुद्दा दायर भएकोले सो मुद्दाबाट इन्साफ पाउने छु । ०७ सालदेखि ०९ साल तक वर्ष ३ को बाली टुलकमानलाई बुझाई सकेको छु भन्ने मोही र बुझी लिएको छैन भन्ने टुलकमान भई दुःख दिएकोले नालेस गर्न आएको छु । अष्टमान, कृष्णबहादुर, पूर्णबहादुर, धनबहादुर, बुद्विमान, शेषकान्त समेतले कमाएको कुत धानको समेतको जम्मा रु.८३५।२३ मोहिसंग बाँकी भए मोहिबाट र टुलकमानले लिई सकेको भए निजबाट दिलाई जग्गा पजनी गर्न पाउँ भन्नेसमेत सिंहमानको वादी ।

          २.  टुलकमानलाई बुझाई भरपाई लिएको छु, भन्ने पूर्णबहादुर, बुद्विमान, शेषकान्त, अष्टमानको र वादीले दावी गरेको जग्गा मिलापत्र मध्येकै जग्गा हो, गुठीलाई विर्ता भनी झुठ्ठा उजूर गरेको हो । हामी सबै गुठियारको हक लाग्ने ०७ सालदेखि ९ साल तक निजले पाउने बाली २६३।६० म बाट बुझी भरपाई गरी दिएकोले जग्गा एकलौटी भनी झुठ्ठा नालेस गरेको हो भन्नेसमेत टुलकमान समेतको प्रतिवादी ।

          ३.  जानी बुझी मैले भरपाई गरी दिएको होइन । जालसाजी गरी भरपाई लेखी दिएमा सजाय गरिपाउँ भन्नेसमेत सिंहमानको र सद्दे साँचो भरपाईलाई जालसाजी भनेमा सजाय गरिपाउँ भन्ने टुलकमानको बयान ।

          ४.  वादीको मात्र एकलौटी गुठी जग्गा हो भन्ने कुराको सबूद प्रमाण बेगर बाली पनि दिलाउने भराउने भन्न मनासिव नपर्ने भएकोले गुठी जग्गाको हक बेहक छुट्याई आएका बखतमा भरी भराउ गर्नेतर्फ उसै बखत ठहरे बमोजिम गर्ने भनी फैसला भएको पेश भएको  नक्कलबाट देखिएको सो बमोजिम हक बेहक गरी आएको छु भनी वादीले भन्न र सबूद गुजार्न नसकेकोले सर्वोच्च अदालतका फैसलालाई मान्यता दिनुपर्ने भई सो बमोजिम खुलाई उजूर दिई तहकिकात गरेपछि मात्र बाली पाउने नपाउने र के कति पाउने भरापाई बमोजिम ठिक बेठिक के हो त्यसतर्फ उसै बखत ठहरे बमोजिम गर्ने भन्नेसमेत ०१५।४।३१।६ को रा.का.देवानी पहिलाको फैसला ।

          ५.  दावीबमोजिम बाली भरी पाउँनै पर्ने समेत हुँदा इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन ।

          ६.  ०१३।५।२३ गतेमा गुठी जग्गामा जगतबहादुर उनमान सिं समेतको हक लाग्ने जगतबहादुरका हकमा समेत मञ्जुरनामा दिई लिई उजूर गरेको नदेखिएको र उनमान सिंको हक पुगेको समेत खुलाई नलेखिएको देखिएकोले दावी खुलाई दावी गरेको बखत ठहर हुनेछ भन्ने फैसला भएको देखिनाले समेत इन्साफ मनासिव छ भन्ने ०१६।१।२२।३ को अपील तेश्रोको   फैसला ।

          ७.  अ.बं.१८१ नं. बमोजिम पूर्णबहादुर बुझी किनारा गरी दिनुपर्ने समेत हुँदा खारेज गरेकोमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

          ८.  प्रायः यस्तो गुठीमा गुठी चलाउनलाई गुठियारहरुको पालो बाँडी पालो पर्नेले त्यस सालको बाली लिई गुठी चलाई शेष बाँँकीमा तामापत्र, सिलापत्रमा अन्य लिखत जो जे छन् त्यस अनुसार गर्ने हुनुपर्छ र यो गुठीको कस्ले कसरी चलाउने हो दावी गरेको सालहरुको वादीका दावीको जग्गाको बाली पुरै वादीले उठाई लिन खान पाउने भराई दिनुपर्ने कारण के हो इत्यादी आवश्यकीय तथ्यहरुको अभावमा प्रस्तुत नालेसबाट बाली भराई दिन नमिल्ने भई सर्वोच्च अदालत सिंगलबेञ्चको ०१३।५।२३ का फैसला बमोजिम हक कायम गरी ल्याउनु पर्ने भनी रा.का.दे.पै.ले गरेको निर्णय अपील तेश्रो फाँटले सदर गरेको बेमनासिव भन्न नभएकोले अपील जिकिर पुग्न सक्दैन । इन्साफ शुरुको सदर गरेको अपील तेश्राको मनासिव छ भन्नेसमेत ०२३।१०।२५।३ को डिभिजन बेञ्चको फैसला ।

          ९.  सोउपर चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने लक्ष्मीमायाको निवेदन पर्न आएकोमा न्यायिक समितिबाट वादी गुठियारै होइन, केही पनि पाउँदैन भन्ने प्र.टुलकमानको इन्कार बयान नभई ६ बण्डा लाग्ने भनी मुख्य श्री विमलेश्वर महादेवका मन्दिरमा रहे भएका सिलापत्र समेतको आड जिकिर लिएको भएपछि दावी बमोजिम समुच्चा बाली वादीले पाउने हो वा प्रतिवादी जिकिर बमोजिम ६ बण्डा लाग्ने समेत के हो ? अघि ०१०।१२।२४।३ मा रा.का.दे.दो.ले फैसला गरेको मिसिलमा समेत सो सिलापत्र नक्कल पेश भइरहेको भन्ने प्र.टुलकमानको जिकिर भएपछि दुवै थर वादी प्रतिवादीले दिएको सबूद प्रमाण बुझी ठहरे बमोजिम निर्णय दिनुपर्नेमा ६ बण्डा लाग्ने भनी स्वयं टुलकमान सावित भइरहेको छँदै केही पनि नपाउने र अर्को मुद्दा गर्नुपर्ने भन्ने ठहराएको देखियो । दावी गरेका जग्गा वादी समेतकै नाउँमा दर्ता र अदालतको आखिरी फैसलाबाट समेत निजै वादी हकदार कायम भइसकेकोले यस स्थितिमा सो जग्गाको बाली भराई दिनपर्ने कारणसमेत खुलाई अघि ०१३।५।२३ को फैसला बमोजिम हक कायम गरी नल्याउँदा सम्म बालीमा इन्साफ गर्न नमिल्ने हो कि भन्न पनि सो फैसला २००३।४।५।६ को सालको बालीको कुरामा सम्म लागू हुने, सो बालीमा उक्त उल्लेखित फैसला बमोजिम उजूर नगरी माया मारेमा उजूर गर्नुपर्छ भनी कर लगाउन नमिल्ने हुँदा यो मुद्दामा सो ०२३।५।२३ को निर्णयले प्रभाव पर्छ भन्न मिलेन र दिनुनपर्ने कुरा भए प्र.टुलकमानले अघि ०२ साल तकको बाली लिई वादीलाई बुझाई र अदालतमा गई मिलापत्र गनैनपर्ने समेतको प्रमाण परिबन्दबाट वादीले नपाउने बालीमा दावी गरेका भन्न नमिल्ने हुँदा यस्तोमा वादीको मात्र एकलौटी होइन भन्ने प्रतिवादीको मिलापत्र सहितको सबूत प्रमाण र अन्य गुठियार समेत यसै मुद्दाबाट झिकी बुझी निर्णय दिन कानूनी बाँधा नदेखिएको, मुद्दा परेको धेरै वर्ष भएको र हाल आखिरी तहसम्म आई सकेको हुनाले फेरि शुरु तहबाट हक बेहक छुट्याई आउनु भनी निर्णय दिँदा न्याय छिटो छरितोको सट्टा झन लामु र दुःख पिरसमेत पर्न जाने भएकोले उक्त उल्लेखित ०२३।५।२३ को फैसलाको आधारमा फेरि शुरु देखि मुद्दा गरी आउनु पर्ने भनी ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्‍याई बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को(ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसुफका प्रमुख सचिवालय राजदारवाबाट लेखी आएको ०२५।४।२३।४ को हुकुम प्रमांगी ।

          १०.  बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त नियमको रीत पर्‍याई लगतमा दर्ता गरी मिसिल भिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेशगर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने माननीय श्री प्रधान न्यायाधीश ज्यूबाट भएको ०२५।४।२५।६ को आदेश ।

          ११.  यसमा तारेखमा रहेका दुवैपक्षका वारेस रोहवरमा रही ०२७।२।२ मा पेश भई दुवैपक्षका वारेसको जिकिरसमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा जग्गातर्फ छुट्टै उजूर गरी हक कायम गरी ल्याउनु पर्ने भनी ०२३।१०।२५।३ को डिभिजन बेञ्चले खारेज गर्नेगरेउपर नै सर्वप्रथम विचार गर्नुपर्ने हुन आएको छ ।

          १२.  उक्त २३।१०।२५।३ को डिभिजन बेञ्चले मुख्य आधार लिएको यिनै वादीले यिनै प्रतिवादीहरुउपर यसै जग्गाको ०३।४।५।६ सालको बाली भराई पाउँ भनी पहिले दिएको मुद्दामा यो गुठी जग्गामा जगतबहादुर उनमान सिं समेतको हक लाग्नेमा उनमान सिंको निजकी स्वास्नी शुभद्रा देवीतर्फको हक मेरो एकलौटी भई फैसला भएको छ भन्ने अपीलमा जिकिर भएको निज जगतबहादुरको हकमासमेत मञ्जुरनामा लिई नालेस गरेको नदेखिएको र यो सालको गुुठी पालो मेरोभन्ने र उनमान सिंको हक आफ्नो भएको सबूद देखाई खुलाई वादीमा लेखेको समेत नदेखिएकोले यो यति बाली वादीले पाउने भनी इन्साफ गर्न नमिल्ने हुँदा सो बमोजिम खुलाई दावी गरेमा ठहरेबमोजिम हुने भनी सिंगलबेञ्चबाट ०२३।५।२३।६ मा भएको फैसला बमोजिम हक कायम गराई ल्याउनु पर्ने भन्ने तर्कका हकमा उक्त ३।४।५।६ सालको बाली मुद्दामा सिंगलबेञ्चबाट त्यस्तो निर्णय भएको भए पनि प्रमाणमा आई राखेका मिसिलहरु समेतको अध्ययन गरी हेर्दा वादीले श्री विमलेश्वर महादेव गुठीको सम्पूर्ण जग्गाको बालीमा दावी गरेको नभई रोपनी ३।।ऽ।। जगतबहादुरको छोरा पूर्ण बहादुरको भनी मध्ये गरी केही जग्गालाई मेरो मात्र एकलौटी हकको भनी साल सालको बालीमा दावी गर्दै आएको उपरोक्त ०३।४।५।६ सालको बाली मुद्दाको पुनरावेदनमा प्रष्ट उल्लेख गरी राखेको समेतबाट देखिएको र वादी अम्बरसिं प्रधान प्रतिवादी जगतबहादुर समेत भएको हकदार हो होइन भन्ने मुद्दामा उनमानसिंको हकदार म हुँदा निजको हक मैले खान पाउने भन्नेसमेत अम्बर सिंको दावी र उनमानसिंको हकदार अम्बरसिं होइन, उनमानसिं मेरै घरमा मेरो साथमा बसेको निज र निजको स्वास्नी सुभद्रासमेतलाई स्याहार संभार पालन पोषण गरी दुवै मरी सकेपछि निजको हक मेरो हुन आई हक भोग गरी अएको भन्ने सिंहमानको जिकिर भएकोमा आखिरी अम्बरसिं उनमानसिंको हकदार नठहरी सिंहमानले जिति प्रधान न्यायालय सिंगलबेञ्चबाट ०९।५।१२।४ मा अन्तिम फैसला भएको प्रमाण मिसिलबाट देखिन आएको समेत हुँदा प्रस्तुत मुद्दाको हकमा स्वतन्त्ररुपले निर्णय गर्न मिल्नेनै देखिनाले ०२३।१०।२५।३को डिभिजन बेञ्चको उपरोक्त तर्कसंग सहमत हुन मिलेन ।

          १३. वादीको रोपनी ३।।.।। अर्को गुठियार जगतबहादुरको छोरा पूर्णबहादुरको हक भएको देखाएको र प्रतिवादी टुलकमानले वादीको मात्र हक नभई अरु गुठियार समेतको हक लाग्ने थकाली हुनेले मोहीबाट बाली बुझी गुठी चलाई भाग बाँडी आएको भन्ने जिकिर लिएको समेत हुनाले पहिले सो गुठीको जग्गामा ककसको के कति भाग हो र दावी बमोजिम पुरै बाली वादीले मात्र सिधै उठाई लिन पाउने हो होईन, सो समेत कुराको हक बेहक निर्णय हुनुपर्ने देखिएको छ । उक्त हक बेहक निर्णयको लागि छुट्टै नालेस गर्नु भनी सुनाउनु पर्ने हो कि भन्न वादी प्रतिवादीमा लेखिएको मानिस नबुझि मुद्दा नछिनीने देखिएमा परी राखेकै मुद्दाबाट बुझी फैसला गर्न मिल्ने तत्काल प्रचलित अ.बं.१८१ नं.र हालको अ.बं.१३९ नं.मा व्यवस्था भएकै र यस किसिमको बाली मुद्दा समेतमा जग्गा हक बेहकको निर्णय गर्नुपर्नेसमेत हुन आएकोमा मुद्दा परेकै अड्डाबाट कीर्तेमा बयान गरे सरह वादीको बयान गराई कोर्टफी लाग्ने समेत असूल गरी वादीको बयानबाट प्रतिवादीको सबूद खुलाई बयान गराई लिनुपर्ने हुन आएमा प्रतिवादीको समेत बयान गराई सबूद प्रमाण लिई फैसला गर्नुपर्ने समेत उस बखतको ०५।१२।८।२ को खड्गनिसाना तोक सदर बमोजिम ०६ साल जेष्ठ बेगतेमा भएको सनदमा प्रष्ट उल्लेख भएको देखिएको समेत हुनाले हक बेहकमा छुट्टै नालेस गर्नु भनी सुनाउन मिल्ने देखिएन ।

    १४. तसर्थ उपरोक्त उल्लेख भए बमोजिम वादी प्रतिवादीका पेटबोलीबाट बुझ्नु पर्ने देखिएका मानिसलाई साविक अ.बं.१८१ नं.हालको अ.बं.१३९ नं.बमोजिम झिकाई बुझी जग्गा हक बेहकतर्फ वादी प्रतिवादीसमेत जो जसको बयान गराउनु पर्छ सबूद प्रमाणसमेत खुलाई बयान लिई कोर्टफी ऐनबमोजिम लाग्ने कोर्टफीसमेत असूल गरी अरु जो जे बुझनु पर्छ बुझी यसै मुद्दाबाट तहकिकात गरी जग्गा हक बेहक र बालीसमेतमा एकैसाथ कानूनबमोजिम निर्णय गरिदिनु भनी शुरु मिसिल का.जि.अदालतमा पठाई दिनुपर्नेसमेत ठर्हछ । जग्गातर्फ छुट्टै उजूर गरी हक कायम गरी ल्याउनु पर्ने भनी ०२३।१०।२५।३को डिभिजन बेञ्चले खारेज गर्नेगरेको संग योबेञ्च सहमत भएन । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

वादी सिंहमान प्रधानको मुद्दा सकार गर्ने लक्ष्मीमाया प्रधाननी के शुरु कोर्टफी को हकमा पछि मुद्दा किनारा हुँदा ठहरे बमोजिम हुने हुँदा शुरुउपर गरेको ०१५।८।१ को पुनरावेदनमा टिकट टाँसेको रु.२।१४ दोहर्‍याउदा २०२५।५।१५ मा सर्वोच्च अदालतमा दाखेल गरेको रु.४।१७ को समेत जग्गा रु.१०।५९ कोर्ट फि ऐन, २०१७ को दफा १८ (४) बमोजिम प्रतिवादी देहायका मानिसबाट बराबरका दरले भराई पाउँ भनी सोही ऐनको दफा १५(१११) बमोजिम ३ वर्ष भित्र दरखास्त दिएमा दस्तूर केही नलिई भराई दिनु भनी का.श्रे.अ.त.मा लगत दिनु........१

का.ईं.ख्यौक्व बस्ने अष्टमान महर्जन १, ऐ. खारेसानीवारी बस्ने पूर्णबहादुर अधिकारी १,ऐ.टुप्याक बस्ने बुद्विमान श्रेष्ठ १, का.ई.बालुवापाटी बस्ने कुष्णबहादुर विष्ट १, ऐ. खोरसानीबारी बस्ने धनबहादुर अधिकारी १, ऐ.कमल पोखरी बस्ने शेषकान्त पाध्या १, ऐ. मरु टोल बस्ने टुलकमान प्रधान १,

नियमबमोजिम रेकर्ड मिसिल बुझाई दिनु........................२

 

प्र.न्या. श्री भगवतीप्रसाद सिंह र

न्या. श्री धनेन्द्रबहादुर

 

उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।

 

इति सम्वत् २०२७ साल जेष्ठ ६ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु