निर्णय नं. ५७५ - ज्यान

निर्णय नं. ५७५ ने.का.प. २०२७
फुल बेञ्च
प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री झपट सिं रावल
न्यायाधीश श्री नयनबहादुर खत्री
सम्वत् २०२६ सालको दे.फु.नं. ८५
फैसला भएको मिति : २०२७।८।१२।६
निवेदक : सिन्धुली जिल्ला मरिपंत्रीगा बारविसे कपिलाकोट बस्ने टेकबहादुर माझी
विरुद्ध
विपक्षी : ऐ. मरी डाँडी बस्ने चुडामणी उपाध्या समेत
मुद्दा : ज्यान
(१) तत्काल प्रचलित साहू आसामीको ८ नं.–उजुर गर्दा नाघेको म्याद थाम्ने माग नगरेमा–बक्स भएको हुकुम प्रमांगीमा बुझी ऐन सवाल बमोजिम गर्नु भन्नेसम्म उल्लेख भएमा–म्याद नाघी सकेको उक्त उजूरीबाट इन्साफमा तहकिकात गर्न नमिल्ने ।
तत्काल प्रचलित साहू आसामीको ८ नं. ऐनको हदम्याद भित्रको वादीको उजूरी नभएको र बक्स भएको हुकुम प्रमांगीमा बुझी ऐन सवाल बमोजिम गर्नु भन्नेसम्म भएको म्याद थामी पाउँ भन्ने माग र प्रमांगी नभएको समेत हुनाले धेरै वर्ष प्रतिवादीहरुको भोग तिरो चलिसकेको जग्गामा ऐनको हदम्याद समेत नाघिसकेको यस किसिमको उजूरीबाट इन्साफ तहकिकात गर्न कानूनले मिल्ने देखिएन ।
(प्रकरण नं. २०)
निवेदनतर्फबाट : बैतनिक अधिवक्ता श्री कुलराज गुरु घराना
विपक्षी तर्फबाट :
उल्लेखित मुद्दा :
फैसला
न्या.श्री झपट सिं रावल
१. २०।२१ वर्ष भयो हामी दाजु भाइ सगोल छँदै म विराटनगर गई हुलाकीमा भर्ना भई केही वर्ष पछि भद्रपुर गई पुलिसमा भर्ना भई बसेको, ०१८ सालमा घर आउँदा कान्छा भाइ काजीमान छुट्टी बसेको दाजु हातीराम र भाउजू समेत परलोक भइसकेका, दाजुको नबालख छोरा १ जेठा बाबु अघिनै छुट्टी सके तापनि जेठा बाबुको छोरा मरेको निजको स्वास्नी पोइल गएकी हुँदा निजहरुको नाबालक छोरा १ छोरी २ दाजुले नै ल्याई पाली राखेको मात्र घरमा भएका जग्गा समेत के के भएछ भनी कान्छा भाइलाई सोध्दा चौरी खेत गैरा बारी हरिप्रसादलाई, खोरिया खेत, र जेठा दाजुले बाँकी सकार गरी लिएको बांगे भैसे भालु खेत चुडामणी खुला खेत कुसुमका प्रावोटे बारी जगतप्रसादलाई जेठा दाजुले भोगबन्धकी दिएको, चुडामणी जगतप्रसादहरुबाट के व्यहोरासंग हो जि.कालीविरले ढाडे बारी, थापा जिमिदारले मिची परबोटे, पहेली मोटी अर्को कुसुम बारी समेत नाउँ नजानेको मानिसहरुले भोगेको छ भनेको निजहरुसंग गई लिखत हेरौ भन्दा नदेखाएको, भतिजो धनबहादुरको नाबालख छोराका पनि जग्गा बेपत्तासंग अरुहरुले खाइराखेको समेत हुँदा ठाडै बुझी बाबु बाजेको जिमिदारी दर्ता तिरानको जग्गा समेत हाम्रै सदर गरिपाउँ भन्नेसमेत टेकबहादुर माझीको निवेदनपत्रमा बुझी ऐन सवाल बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट ०२०।१।२२।१ मा हुकुम प्रमांगी बक्स भएको ।
२. जि.कालविर माझीले खाएको खोरिया खेत, बाँडे खेत, भालु खेत, भैसे मारी खेत, खाला खेत, काम्राबोटे बारी कुसुम बारीसमेत दाजु हातीरामले जगतप्रसाद चुडामणीलाई २०।२१ वर्ष भोगबन्धकी दिएको रहेछ । निजहरुसंग गई सोध खोज गर्दा कागज नदेखाई मेरो जग्गा सित्तै खाने नियत गरेको हुँदा निवेदन गरेको हुँ । ४ किल्ला म खुलाउन सक्तिन । जि.हरिप्रसाद उपाधयायले भोजि खेत कर्कले खेतको बारी खाएको छ । निजबाट बन्धकी राजीनामा खुलाई बन्धकी थैली यकीन गराई बुझाई खान पाउँ । जि. कमलबहादुरले पनि दांडेबारी कित्ता दाजुले बन्धकी दिएका भनेको सुनेको निजले पनि कागज नदेखाएको बन्धकी थैली यकिन गरी थैली बुझाई खान पाउँ । जिमिदारी जग्गाहरु कालविरले नै खाएको छ । सो जिमिदारी बिषयमा म केही खुलाउन सक्तिन । जिमिदार बुझी यकिन गरिपाउँ । सो जग्गाहरु बाबु गंजविर, दाजु हातीरामका नाउँको दर्ता तिरो हाल क–कसका नाउँमा दर्ता गराएको छ, प्रतिवादीबाट खुलाई पाउँ, बरबोटे खेत, पहेलो माटे खेत कटहर बारी, ढाडे बारी प्रतिवादीहरुले खाएको छ भनेकोले को को ले कति कति खाएको छ दर्ता तिरो ४ किल्ला म खुलाउन सक्दिन । प्रतिवादीबाटै खुलाई पाउँ । मेरो अंशबण्डा नभई मेरो समेत हकको जग्गा हुँदा उजूर गरेको हुँ । २०२१ वर्ष अघिको कुरा हुँदा म केही खुलाउन सक्तिन भन्नेसमेत टेकबहादुर माझीको बयान ।
३. म चुडामणीले वादीको जग्गा भोग गरेको छैन । ९५ सालमा वादीको बाबु गंजविरसंग शारदा देवीले रु.३०१। मा कि.नं.३९ को खोरिया खेत विगाहा ।२, कि.नं.१३ बगर खेत ।।४ कि.नं.१८ खोरिया खेत ।।४ मध्ये ।२, र ४३ नं.चौडी खेत विगाहा १द्र२।३ समेत राजीनामा गरी दिएको शारदादेवीबाट ०१८।५।३२ मा रु.१६५१ मा म कालविरले राजीनामा गराई भोगको छु भन्नेसमेत चुडामणी कालविरको वा.चन्द्रप्रसादको बयान ।
४. वादीको कुनै पनि जग्गा मैले भोगेको छैन भन्ने हरिप्रसाद मैनालीको वा. उदवप्रसादको बयान ।
५. गंजविरको के कति कित्ता हो शारदादेवीले राजीनामा लिएकी निजबाट ६ कित्ता जग्गा राजीनामा लिँदा गंजविरपट्टिको जग्गमा कि.नं.३ को विगाहा ।२, चानचुन जग्गा राजीनामा लिई सो जग्गा पनि मैले कालविरलाई बिक्री गरी दिएको छु । शारदादेवीबाट ०१७।१।१० मा मैले लिई ०१८।५।२२ मा कालविरलाई राजीनामा दिएको हुँ भन्नेसमेत हरिप्रसाद पाध्याको वा. चन्द्रप्रसादको बयान ।
६. टेकबहादुरको बाबुको नाउँको जग्गा मध्ये कि.नं.३९।९५।१५।१३ को विगाहा १द्र३द्र।।३ जग्गा मैले हरिप्रसादलाई बिक्री गरेको हुँ । नं. ९५ को जग्गा मैले जगतप्रसादलाई बिक्री गरी निजबाट कालविरले खरीद गरी लिएको छ । ३९ नं.हरिप्रसादलाई बिक्री गरी निजबाट कालविरले लिई भोगेकोछ । नं.१५।१३ को जग्गा मैले नै भोग गर्नसकेको छैन । गंजवीरबाट ९५।८।२३ मा घरसारमा राजीनामा गराइलिएको हुँ । चारैकित्ता हरिप्रसादलाई बिक्री गरेको भनी माथि भूलबाट लेखिन गएको हो भन्नेसमेत शारदादेवीको वा.हरिप्रसादको बयान ।
७. हातिरामको नाउँको ढाडे बारी रु.२००। मा मेरो बाबु अम्बरबहादुरले कुन सालमा हो राजीनामा लिई भोगी आएको छ भन्ने कोमबहादुरको बयान ।
८. वादीको बाबु गंजविरको दर्तामा कि.नं.७ को ।द्र।।२ चोकने माझीले राजीनामा लिई भोगेको छ । कि.नं.३९।९०।१५।१०।२०।२७ को जग्गा वादीले भोगेको छ । कि.नं.३९ को जग्गा शारदादेवीले गंजवीरबाट राजीनामा लिई भोगेको छ । कि.नं.६८।११५।४० को जग्गा गंजविरले लक्ष्मीप्रसादलाई राजीनामा दिई भोगेको छ । कि.नं.९५।।४३ को जग्गा गंजविर बाट शारदादेवीले राजीनामा लिई जगतप्रसादलाई दिई निजले कालविरलाई राजिनमामा दिएको निजमरी छोरा तुलबहादुरले भोगिआएकोछ भन्नेसमेत पटवारी चन्द्रप्रसादको बयान ।
९. कि.नं.१०१ को जग्गा धनबहादुर माझीबाट राजीनामा लिई ९४ सालदेखि भोगी आएको छु भन्ने उदवप्रसादको बयान ।
१०. धनबहादुर दर्ताको कि.नं.२४ को जग्गा काजिमानबाट ज्ञान्द्रबहादुरले ०१२ सालमा राजीनामा लिई निजबाट ०१६ सालमा मेरो बाबु कालविरले राजीनामा लिई भोगी आएको छु भन्ने तुलबहादुरको बयान ।
११. मेरो दाजु खड्गबहादुरले धनबहादुरबाट निज दर्ताको कित्ता २ राजीनामा गराई ३ सालमा लिई दाजु परलोक भई मैले भोगी आएको छु भन्ने डम्बरबहादुरको बयान ।
१२. गंजविरबाट नं.४०।६९।११५ को जग्गा २।९।१८।३ मा राजीनामा गराई लिई भोगी आएको छु भन्ने लक्ष्मीप्रसादको बयान ।
१३. बाबु दाजु दर्ताको यो यो जग्गा यो यति यति रुपैयाँमा यो यो सालमा मितिमा बन्धक राजीनामा दिएको भन्ने वादीले नै खुलाई लेख्न नसकी प्र.बाटै बन्धक राजीनामा खुलाई बन्धकी थैली यकिन गरी बुझाई खान पाउँ भन्ने उजूरी दावी देखिएको हुनाले उजूरी लिखतबाटै तथ्य साथको उजूरी भन्न निराधारको उजूरी देखिएको र गंजविर दर्ता राजीनामाबाट पाई भोगेको भन्ने प्रतिवादी जिकिर भई पास लिखतहरु समेतको लिखत र तिरो गरेको रसिदहरु समेत पेश दाखिल गरेको पनि देखिएकोले उजूरीमा ०१८ साल माघ र आउँदा मात्र थाहा पाएको हो भनी लेखिएको लेनदेन व्यवहारको १० नं.मा उजूरी नहुनेले रजिष्ट्रेशन भएको मितिले र रजिष्ट्रेशन गर्न नपर्नेमा दाखिल खारेज भएको मितिले १ वर्ष सम्मा थाहा पाएको ३५ दिन भित्र उजूर गर्नुपर्छ भन्ने उल्लेख भएको, म्यादभित्र निवेदन दिए परेको पनि देखिन नआई १ वर्ष नघाई २ वर्षपछि मात्र उजूरी गरेको देखिन आएको र सो उजूरीमा दाजु अघिनै छुट्टिएको भन्ने भार दाजुको छोरा छ भन्नेमा समेत वादी नै सावित छ । छोरीको विवाह भएको भन्न पनि नसकेको हुँदा विवाह नभएको हक व्यहोर्ने छोरी भएपछि हक पुग्ने छोरीको समेत ऐनबमोजिमको रीत पुगेको उजूरी हुन पर्ने सो नभई यो वादीको उजूरीमा पनि जग्गा ४ किल्ला माटो तिरो दर्ता समेत खुलेको देखिन नआई खुलाउन सकिन भन्ने बयान गरेको त्यस्तो उजूरीबाट इन्साफ दिन गर्न नमिल्ने समेत हुँदा उजूरी खारेज हुनेठर्हछ भन्ने सिन्धुली जिल्ला अदालतको ०२३।२।२ को फैसला ।
१४. बाबु आमा दाजुहरु छँदै अघिनै घर छाडी विराटनगरमा सरकारी नोकरी गरी घर आउँदा थाहा पाएको भन्ने निवेदनमा हुकुम प्रमांगी बक्स भई खारेज हुन नसक्ने भन्ने टंकबहादुरको पुनरावेदन ।
१५. लेनदेन व्यवहारको १० नं. ले म्याद भित्र उजूर नभएकोले उजूर खारेज गरेको यो ऐन अन्तर्गत यस परिबन्दबाट मेरो दावी खारेज नहुने भनी वादी टेकबहादुरले पुनरावेदनमा दर्साई जिकिर लिएको देखिएन ।उपरोक्त उल्लेखानुसार विराटनगरमा सरकारी नोकरी गरी घर आउँदा थाहा पाएकोले निवेदन दिएमा हुकुम प्रमांगी भई दायर भएको भन्ने कुरा उल्लेख गरेको देखिन्छ । उक्त हु.प्र.हुँदा म्याद थामिदिने व्यहोरा उल्लेख भएको नदेखिएकोले र वादी दावीको जग्गाहरु वादीको दाजु र बाबुको राजीनामा बमोजिम प्रतिवादीहरुको नाउँमा गई दर्ता तिरो भरो गरेको समेत मिसिल प्रमाणबाट देखिएकोले अपीलाटको अपील जिकिर पुग्न सक्दैन भन्नेसमेत ०२४।११।१०।१ को जनकपुर अञ्चल अदालतको फैसला ।
१६. जनकपर अञ्चल अदालतले हदमुनी गरी छिनेको इन्साफ जाँची पाउँ भन्ने वादीको निवेदनपत्र परेकोमा व्यहोरा साँचो भए हदमुनी गरी छिनेको मुद्दाहरुको सर्वोच्च अदालतले एकपटक मिसिल झिकाई इन्साफ जाँच गरी निर्णय गरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको ०२५।६।११।५ को हुकुम प्रमांगी ।
१७. टेकबहादुर माझीले बन्धकी तवरले निखन्न पाउने कलममा ऐनको रीत पुर्याई निखनी लिन पाउने छँदैछ । सो बाहेक अरु हद नाघेको लिखतहरुको घर जग्गाहरु हकसफा गरिपाउँ भन्ने उजूर नलाग्ने गरी खारेज गर्ने ठहराएको अञ्चल अदालतको इन्साफ मनासिव छ भन्ने २०२५।१०।१४।२ को डिभिजन बेञ्चको फैसला ।
१८. सो इन्साफमा चित्तबुझेन दोहर्याइपाउँ भन्ने वादीको निवेदन परेकोमा व्यहोरा साँचो भए फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गरी छिनिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट विशेषजाहेरी विभाग राजदरवारमार्फत बक्स भई आएको ०२६।८।१७।३ को हुकुम प्रमांगी ।
१९. बक्स भई आएको हु.प्र.बमोजिम गर्ना निमित्र नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय भू.पु.प्र.न्या.ज्यूबाट भएको ०२६।८।२०।६ को आदेश ।
२०. यसमा तारेखमा रहेको निवेदक वादी टेकबहादुर रोहवरमा रही ०२७।८।५।६ मा पेश भई निवेदक वादीतर्फबाट विद्वान वैतनिक अधिवक्ता श्री कुलराज गुरुघरानाले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा बाबु दाजु मरेपछि निजहरुको कीर्ते जालसाजी लिखत खडा गरी मेरो जग्गा जमिन घर खेत खाइदिएको भन्ने निवेदक वादीले हालको निवेदनपत्रमा मुख्य जिकिर लिएको हकमा पहिले उजूरीमा त्यस्तो दावी नभएकोले त्यसतर्फ विचार गरी रहनु परेन । वादीले उजूर गर्दा यो यो जग्गा यो यसले यस परिबन्दबाट खाइदिएको यो कानून अन्तर्गत मेरो हक कायम गराई पाउँ भन्ने किटानी वादी लिन नसकी बाबु दाजुसंग अंश नभई म समेतको हक लाग्ने जग्गा प्रतिवादीहरुले खाइराखेको कागज नदेखिएकोले बन्धकी राजीनामा के हो प्रतिवादीहरुबाटै खुलाई बाबु बाजेको दर्ताको जग्गा हाम्रै हक सदर गरिपाउँ । को को ले कति कति खाएको छ दर्ता तिरो ४ किल्ला समेत २०।२१ वर्ष अघिको कुरा हुँदा म केही खुलाउन सक्तिन भन्ने दावी उल्लेख गरेको पाइन्छ । वादीको बाबु दर्ताको जग्गा मध्ये केही कित्ता वादीकै भोगमा रहेको भन्ने पटवारी चन्द्रप्रसादको बयानबाट देखिएको र प्रतिवादीहरुको लेखाईबाट वादीको बाबु दाजुहरुसंग राजीनामा गराई लिई कुनै कित्ता तह तह बिक्री पास समेत भई भोग तिरो गरी आएको भन्ने देखिन आएको जग्गाहरुका हकमा बाबु दाजुहरुको राजीनामा लिखत बदर गरिपाउँ भन्नेतर्फ तत्काल साहू आसामीको ८ नं.ऐनको हदम्याद भित्रको वादीको उजूरी नभएको र बक्स भएको हुकुम प्रमांगीमा बुझी ऐन सवालबमोजिम गर्नु भन्नेसम्म भएको म्याद थामी पाउँ भन्ने माग र प्रमांगीमा नभएको समेत हुनाले धेरै वर्ष प्रतिवादीहरुको भोग तिरो चलिसकेको जग्गामा ऐनको हदम्याद समेत नाघिसकेको यस किसिमको उजूरीबाट इन्साफ तहकिकात गर्न कानूनले मिल्ने देखिएन । तसर्थ उजूरी खारेज गर्ने गरेको जनकपुर अञ्चल अदालतको सदर गरी ०२५।१०।१४।३ को डिभिजन बेञ्चले छिनेको मनासिवै छ । निवेदक वादी टंकबहादुर माझीले मुद्दा दोहर्याएमा लाग्ने कोर्टफी आदेश बमोजिम पहिले नलिइएको हुँदा कोर्टफी ऐन, २०१७ को दफा ६ को खण्ड (ख) को देहाय (२) अनुसार शुरुमा लाग्ने कोर्टफी रु.१०।को ऐ दफा १९ (२) बमोजिम सयकडा १० ले रु.१। एक कोर्टफि लाग्छ । रुजु हुँदा असुल गरी का.श्रे.अ.त मा लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु ।
प्र.न्या. श्री रत्नबहादुर र
न्या. श्री नयनबहादुर
उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।
इति सम्वत् २०२७ साल मार्ग १२ गते रोज ६ शुभम् ।