शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५७६ - जग्गाबाट मोही निष्कासन गराई पाउँ

भाग: १२ साल: २०२७ महिना: बैशाख अंक:

निर्णय नं. ५७६           ने.का.प. २०२७

फुल बेञ्च

न्यायाधीश श्री वाशुदेव शर्मा

न्यायाधीश श्री झपट सिं रावल

न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान

सम्वत् २०२६ सालको दे.फु.नं. ८४

फैसला भएको मिति    : २०२७।९।३।६ मा

निवेदक : का.प.जि.बनेपा दछु टोल बस्ने सानुकाजी कटाल

विरुद्ध

विपक्षी : का.प.जि.बनेपा जनागाल बस्ने तिलकबहादुर आले मगर

मुद्दा : जग्गाबाट मोही निष्कासन गराई पाउँ

(१) तत्काल प्रचलित भू.सं.ऐनको दफा २९बढी बाली दावी गरेको कारण बाली बाँकी रहेको देखिएमाबाली नबुझाएकोले मोहिबाट निष्कासन गर्न मुद्दा चलाइसकेपछि कुत बाली बुझी मोही कायम गरेको देखिएमाजग्गाबाट मोही निष्कासन गर्ने वा नगर्ने आदेश जारी गर्न अदालतको तजविज हो भन्ने तत्काल प्रचलित भू.सं.ऐनको दफा २९ को तात्पर्य भएकोलेउपरोक्त अवस्थामा मोहीलाई निष्कासन गर्न नहुने ।

          यसबाट वादी आफैले पाउनु पर्ने भन्दा बढी बालीमा दावी गरी कचमच उठाएको कारणले नै बाली बाँकी रहेको प्रष्ट हुन्छ । बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भन्ने दावी परेकोमा जग्गावालाले आफूले पाउने भन्दा बढी कुत बाली दावी गरेकोमा जग्गाबाट निष्कासन हुन नसक्ने ठहरी दे.फु.नं.७९ वादी चिनिमाया सिलवालनी प्रतिवादी धनकुमारी सिलवालनीको बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भन्ने मुद्दामा ०२६।६।१।१४।३ को फुल बेञ्चबाट निर्णय भइराखेको पाइन्छ ।

 (प्रकरण नं. १०)

(२) ०२३ सालको बाली बाँकीमा जग्गाबाट निष्कासन गरिपाउँ भन्ने यो मुद्दा परी सकेपछि यसै मोहिबाट ०२२ सालको कुत बाली वादीकी स्वास्नी लक्ष्मीमायाले बुझी लिई भरपाई गरी दिएकोबाट मुद्दा परिसकेपछि पनि वादीतर्फबाट प्रतिवादीलाई मोहिकायम मानेको समेत देखिन आयो ।

(प्रकरण नं. ११)

(३) निर्धारित समयमा कुत नबुझाउने मोहीलाई जग्गाबाट निष्कासन गर्ने आदेश हुनै पर्छ भनी अदालतलाई बाध्य गराउन तत्काल प्रचलित भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ को तात्पर्य हो भनी भन्न मिल्दैन । ऐ.ऐनको दफा २९ को अध्ययनबाट नै त्यो अदालतको तजविजको कुरा हो भन्ने प्रष्ट देखिन्छ ।

(प्रकरण नं. १२)

(४) तसर्थउपरोक्त उल्लेख भए बमोजिम कारणहरुबाट मोही निष्कासन नहुने ठहराई ०२५।५।१४।५ को डिभिजन बेञ्चले गरेको इन्साफ मनासिवै ठर्हछ ।

(प्रकरण नं. १३)

निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे

विपक्षी तर्फबाट :

उल्लेखित मुद्दा : चिनीमाया सिलवालनी वि.धनकुमारी सिलवालनी, मुद्दा : बाली भराई जग्गाबाट निश्कासन गरी पाउँ, दे.फु.नं.७९ (फु.बे.)

फैसला

    न्या.श्री वाशुदेव शर्मा

    १.   मेरो हकको माटो ।१६।६ को ५९८ को कोचसी खेत खला १ को तिरो रु.५।६० लागेको र ५९८ नं.को किल्ला भित्रको माटो ।६।१८।६ को तिरो रु.२।४३ को खला १ समेत २ खलाको तिरो दछुटोल गा.पं.मार्फत का.प. मालमा लागेको भूमिसम्बन्धी ऐन, २०२१ को परिभाषा (घ) ले म जग्गावाला हुने हुनाले सो जग्गा अघिदेखि विपक्षीले कमाई आएको भू.सं.ऐन, २०२१ दफा ३३ ले अधिया कुत लिन पाउने मा ०२२ सालमा लगाई ०२३ सालमा भित्र्याएको हुँ र ०२३ सालको धानबाली समेत अधिया नबुझाएकोले मोहिलाई जग्गाबाट निष्कासन गर्ने आदेश जारी गरिपाउँ भन्नेसमेत ०२४।२।२५।५ को वादी ।

    २.  ०२२ सालमा लगाई ०२३ सालमा पाउने गहुँ कुत विपक्षीलाई ०२३।१।१५ गते बुझाई सकेको छु । त्यति जाबो गहुँमा के भरपाई भनेकोले विस्वास परी बसेको छु । ०२३ सालको धान बाली कार्तिक ६ गते काट्न पञ्चायत समेतलाई खवर गरी अधिया गर्न जग्गावालालाई खवर गर्न जाँदा खलामा धान लिन आउनु भनेकोले विपक्षका स्वास्नी समेत खेतमा आई धान काट्नी मडनी गरी धान अधिया गरी बेलुका ७ बजे आफ्नो आफ्नो घर लगी साहूलाई भरपाई गरी दिनुस भन्दा भोलि दिउँला भनेबाट उग्रतारा पञ्चायत वडा नं. १ बस्ने मंगलप्रसादको जमानबाट भरपाई नलिई भोलिपल्ट भरपाई दिलाउने जमानी मानिसलाई भन्न जाँदा भरपाई दिलाई दिउँला भनेकोले त्यस्तैमा यो तिरो बुझाइसकेको जग्गाबाट निश्कासन गर्न झुठ्ठा फिराद दायर गरेको हो । उक्त खेत खला मेरो मोहियानी हक कायम गरी खान बस्न पाउँ भन्नेसमेत प्रतिवादी ।

    ३.  वादीले कुत भराई पाउँ भनी यसै अदालतमा यही प्रतिवादीउपर फिराद गरी पछि फेरि कूत मुद्दाबाट कूत भरी पाउने ठहरेमा भूमि सम्बन्धि ऐन, २०२१ को दफा २९ को उपदफा (१) को खण्ड (क) बमोजिम मोहिलाई निष्कासन गर्न पाइन्छ भन्ने नियतले कूत भराई पाउँ भन्ने मुद्दा दावी लिनुपर्ने सोही कूतको जरियाबाट उठ्न गएको मोही निष्कासन समेतको कुरामा सो मुद्दाको वादीमा दावी नगरी सो फिरादपत्रमा छुटेको मोही निष्कासन गरिपाउँ भन्ने यो दावी सोही दिन दर्ता गरेको देखिन आएकोले सर्वोच्च अदालतले ०२१।३।३ मा वादी खड्गध्वज प्रतिवादी आशाबहादुरको हक पहिले लुटपिट मुद्दामा कायम गरेको अदालती बन्दोवस्तको ७३ नं.को सिद्धान्तले वादीको यो निष्कासन गरिपाउँ भन्ने दावीमा निष्कासन गर्ने आदेश जारी गर्न नमिल्ने देखिएकोले मोही निष्कासन गर्ने आदेश जारी गर्न मिल्दैन भन्नेसमेत भूमिसुधार विशेष अदालत काभ्रेपलान्चोक सिन्धुपाल्चोकको ०२४।५।७।४ को फैसला ।

    ४.  भूमिसम्बन्धी ऐनको दफा २९ को उपदफा (१) को खण्ड (क) अनुसार निष्कासन हुने हुँदा सो फैसला बदर गरी विपक्षलाई जग्गाबाट निष्कासन गरिपाउँ भन्नेसमेत वादीको पुनरावेदन ।

    ५.  जुन जग्गाबाट मोहिलाई निष्कासन गराई पाउँ भनी वादीले पुनरावेदन जिकिर लिँदैआएका छन सोही जग्गाको ०२४ सालको बाली वादीको स्वयं श्रीमति लक्ष्मीमायाले बुझी लिई प्रतिवादी तिलकबहादुरलाई गरी दिएको मिति ०२४।७।३।५।को सक्कल भरपाई बेञ्च समक्ष प्रतिवादीले देखाई यसको १ प्रति नक्कल समेत पेश गरेको हुँदा त्यसरी जुन जग्गाको मोहिबाट निष्कासन गरिपाउँ भन्ने जिकिर लिई वादी आएका छन् सोही जग्गाबाट मोही निष्कासन गरिपाउँ भन्ने फिराद परिसके पछि निजै प्रतिवादीलाई नै जग्गा जोत्न दिई बाली २ समेत परस्पर लिनु दिनु गरेको देखियो । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५ को उपदफा (२) मा व्यवस्था भएअनुसार प्रतिवादीले पनि जग्गावाला वादीको मञ्जुरीबाट जग्गा कमाएको रहेछ भन्ने कुरा वादीको श्रीमती लक्ष्मीमायाले प्रतिवादीलाई गरी दिएको उक्त ०२४ सालको बाली बुझेको भरपाईबाटै सिद्ध हुन आएको देखिन्छ । त्यस्तो कानूनी प्रदत्त हक प्राप्त गरेको मोहीलाई विना कानूनी तथ्य आधाररहित जग्गाबाट निष्कासन गर्ने आदेश न्यायोचित नपर्ने हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत मिति ०२५।५।१४।५ को डिभिजन बेञ्चको फैसला ।

    ६.  उक्त इन्साफमा चित्त बुझेन दोहर्‍याई पाउँ भनी सानुकाजी कटालले चढाएको निवेदनपत्रमा न्यायिक समितिबाट यसमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ मा निर्धारित समय भित्र कूत नबुझिएमा जग्गाबाट निष्कासनको आदेश जारी गर्न हुन्छ भन्ने लेखिएको वादीका दावी बमोजिम ०२३ सालको बाली समयमा बुझाएको नठहरे पछि उक्त ऐनले स्वतः जग्गाबाट निष्कासन गर्न पाउनेमा निष्कासन गर्न नपाउने भन्दा ऐनले पाएको अधिकारमा आघात पुग्नुका साथै ऐनको उद्देश्यमै विफल भई ऐनले प्रष्ट तोकिएको विभिन्न ऐन काटिन जाने देखिएको का.प.जि.बनेपा दछुटोल बस्ने इन्द्रमाया कटालनीको र का.प.जि.बनेपा लबैकिवा बस्ने नातिकाजी थापाको कूत भराई जग्गाबाट निष्कासन गरिपाउँ भन्ने मुद्दामा सर्वोच्च अदालतको निर्णय दोहर्‍याई पाउँ भनी निज वादी इन्द्रमायाले चढाएको निवेदनपत्रमा दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी श्री ५ महाराजाधिराज सरकारका हजुरमा सिफारिस जाहेर गर्ने गरी आजै राय पर्चा भएको सो पर्चामा प्रमाण लगाइएको सर्वोच्च अदालतको फैसला प्रतिलिपिबाट अघिल्लो सालको बाली बाँकीमा मोही निष्कासन नगर्ने र पछिल्लो सालको भराई दिने गरेको पनि देखियो । त्यसबाट पनि मुद्दा पर्दापर्दै निष्कासन नभएसम्म जग्गा मोहीले नै कमाइरहने बाली जग्गावालाले लिन पाउने देखिंदा पछिल्लो सालको बाली लिदैमा मोहियानी हक थामिन्छ भन्न र अघिल्लो सालको बाली बाँकीमा ऐनले निष्कासन गर्न पाउने कानूनी अधिकार निष्कृय हुन्छ भन्न नमिल्ने समेत प्रमाण परिवन्दबाट निष्कासन हुने नै देखिंदा दोहर्‍याउन आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भन्नेसमेत मौसुफका प्रमुख सचिवालय राजदरवारबाट लेखी आएको ०२७।७।२९।६ को हुकुम प्रमांगी ।

    ७.  बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त फुल बेञ्चको लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी नियमबमोजिम फुल बेञ्चमा पेश गर्नु त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरबारमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने तत्कालीन माननीय श्री प्रधान न्यायाधीशज्यूबाट भएको २०।२६।८।१।१ को आदेश ।

    ८.  यसमा तारेखमा रहेका पक्षहरु रोहवरमा रही ०२७।८।२६।६ मा पेश भई निवेदक वादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा प्रतिवादी तिलकबहादुर मोहीबाट निष्कासन हुने नहुने के हो सो कुराको निर्णय दिनुपर्ने भएको छ ।

    ९.  यो मुद्दामा जुन २०२३ सालको कूत बाली नबुझाएकोले जग्गाबाट निष्कासन गरिपाउँ भनी वादीले दावी लिएको छ, सो ०२३ सालको कूत बाली भराई पाउँ भनी वादीले छुट्टै नालेस गरेको मुद्दामा अधिया धान मुरी १६। गहुँ मुरी ३। को बिगो १२८०। भराई पाउँ भनी दावी गरेकोमा समुचा उब्जा धान मुरी २१।१६ कायम गरी त्यसको आधी धान मुरी १०।१८ को बिगो रु.७६४। मात्र वादीले भरी पाउने ठहराई भू.सु.विशेष अदालत काभ्रेपलान्चोक सिन्धुपाल्चोकबाट ०२४।५।७।४ मा फैसला भएकोमा वादीको पुनरावेदन परेकोमा शुरु भू.सु.वि.अ.को इन्साफ मनासिव ठहर भई ०२५।५।१४।५ को डिभिजन बेञ्चबाट फैसला भएको उक्त फैसला अन्तिम भइरहेको समेत देखियो ।

    १०. यसबाट वादी आफैले पाउनु पर्ने भन्दा बढी बालीमा दावी गरी कचमच उठाएको कारणले नै बाली बाँकी रहेको प्रष्ट हुन्छ । बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भन्ने दावी परेकोमा जग्गावालाले आफूले पाउने भन्दा बढी कूत बाली दावा गरेकोमा जग्गाबाट निष्कासन हुन नसक्ने ठहरी दे.फु.नं.७९ वादी चिनीमाया सिलवालनी प्रतिवादी धनकुमारी सिलवालनीको बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भन्ने मुद्दामा ०२६।६।१४।३ को फुल बेञ्चबाट निर्णय भइराखेको पाइन्छ ।

    ११.  ०२३ सालको बाली बाँकीमा जग्गाबाट निष्कासन गरिपाउँ भन्ने यो मुद्दा परिसके पछि यसै मोहीबाट ०२२ सालको कूत बाली वादीकी स्वास्नी लक्ष्मीमायाले बुझी लिई भरपाई गरी दिएकोबाट मुद्दा परी सकेपछि वादीतर्फबाट प्रतिवादीलाई मोही कायम मानेको समेत देखिन आयो।

    १२. निर्धारित समयमा कूत नबुझाउने मोहिलाई जग्गाबाट निष्कासन गर्ने आदेश हुनै पर्छ भनी अदालतलाई बाध्य गराउन तत्काल प्रचलित भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९ को तात्पर्य हो भनी भन्न मिल्दैन । ऐ.ऐनको दफा २९ को अध्ययनबाट नै त्यो अदालतको तजविजको कुरा हो भन्ने प्रष्ट देखिन्छ ।

    १३. तसर्थ उपरोक्त उल्लेख भएबमोजिम कारणहरुबाट मोही निष्कासन नहुने ठहराई ०२५।५।१४।५ को डिभिजन बेञ्चले गरेको इन्साफ मनासिवै ठर्हछ । निवेदक वादी सानुकाजी कटालले इन्साफ दोहर्‍याएमा डिभिजन बेञ्चको फैसलाले गर्ने गरेको जरिवाना रु.१। को अ.बं.२०४ नं. सयकडा १० ले रु.।१० पैसा जरिवाना हुन्छ । रुजु हुँदा असुल गरी का.श्रे.अ.त.मा लगत दिनु । नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

न्या.श्री झपट सिं रावल र

न्या.श्री चन्द्रप्रसाद

 

उपरोक्त रायमा हामीहरु सहमत छौं ।

 

इति सम्वत् २०२७ साल पौष ३ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु