निर्णय नं. ५७८ - जग्गा खिचोला

निर्णय नं. ५७८ ने.का.प. २०२७
फुल बेञ्च
प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री वाशुदेव शर्मा
न्यायाधीश श्री झपट सिं रावल
सम्वत् २०२६ सालको दे.फु.नं. ६३
फैसला भएको मिति : २०२७।९।२१।३
निवेदक : जिल्ला कपिलबस्तु तप्पे सिवराज मौजे बकोली बस्ने बलेश्वर वरै समेत
विरुद्ध
विपक्षी : ऐ. मोतिपुर बस्ने अन्जनीकुमार श्रीवास्तव
मुद्दा : जग्गा खिचोला
(१) रसिद गरी दिनेलाई उक्त रसिद देखाई बयान गराउन झिकाउँदा हाजिर हुन नआई गुजारी बसेमा–उक्त रसिद गरी दिएको भनी स्वीकार गरेको देखिने ।
निज अब्दुल रहिमानलाई उक्त रसिद देखाई बयान गराउन झिकाएकोमा हाजिर हुन नआई गुजारी बसेको देखिएबाट उक्त रसिदहरु गरी दिएमा निज अब्दुल रहिमान स्वीकार गरी बसेको देखिन्छ ।
(प्रकरण नं. १६)
(२) भू.सं.ऐन, २०१४ को दफा ११,उक्त ऐनको (संशोधन), ०१६ को दफा २ परिभाषा खण्ड (ख) भू.संं.ऐन, २०२१ को दफा २ (क) र दफा ४–उपरोक्त कानूनी व्यवस्थानुसार कसैले सुरक्षित किसानको हक प्राप्त गरेको देखिएमा निजले भू.सं.ऐन लागू भइसकेपछि जग्गा जोताहाको अस्थायी निस्सा पाएको देखिएमा–सोउपर ऐनको म्याद भित्र उजूर नपरेमा–मोहियानी हक प्राप्त गरिसकेको जग्गामा खिचोला गर्यो भन्ने विपक्षीको जिकिर पुग्न नसक्ने ।
उक्त कानूनी व्यवस्था अनुसार निवेदक प्रतिवादी बलेश्वर वरैले सुरक्षित किसानको हक प्राप्त गरेको देखिन्छ र साथै भूमिसम्बन्धी ऐन लागू भइसकेपछि जग्गा जोताहाको अस्थायी निस्सा पाएको पनि देखिन आएको र सोउपर ऐनका म्याद भित्र कसैको उजूर परेको समेत नदेखिएकोले यसरी माथि लेखिएको कारण परिबन्दबाट निवेदक प्रतिवादीले मोहियानी हक प्राप्त गरी सकेको जग्गामा खिचोला गर्यो भन्ने वादीको जिकिर पुग्न सक्ने देखिएन ।
(प्रकरण नं. १८)
निवेदन तर्फबाट : अधिवक्ता श्री सुधानाथ
विपक्षी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे
उल्लेखित मुद्दा :
फैसला
न्या.श्री वाशुदेव शर्मा
१. मलाई रुपैयाँको जरुरत हुँदा अब्दुल रहिमान खाँ पठानसंग भा.रु.३००१ को हुने रु.४८०१।६० कर्जा लिई सो रुपैयाँको निचे ऐ.मौजे मोनिपुर मध्ये मेरो नाउँमा बहाल रहेको तिरो रु.१२० लाग्ने जग्गा विगाहा १९।।।।।१ भएको २ आना हिस्सा जिमिदारी मध्ये तिरो रु.९७।७० लाग्ने विगाहा ४।।२।।४ धुर थपको द्र।। हिस्सा जिमिदारी जग्गा निज अबदुल रहिमानलाई ०१।२।१९।५ का दिन भोगबन्धकीको कागज गरी रजिष्टरी समेत पास गरी दिए बमोजिमको जग्गा निज अवदुल रहिमानले भोगबन्धकीमा चलन भोग गरी आएको थियो । गत ०२२।१।२९।३ का दिन उपरोक्त भोगबन्धकीको रुपैयाँ बुझाई दिँदा भोगबन्धकीमा उल्लेखित जग्गा जमिदारी मैले आफैंले रीस गरी आएको जग्गा छाडी तपाई जग्गाधनीलाई दिई तमसुक फट्टा गरी दिएँ भन्ने तमसुकका पीठमा दरपिठ गरी तमसुक समेत फिर्ता गरी दिएको ०२२।३।१५ गते केही जग्गामा मैले धानको बिउ सारा धान समेत छरी रहेका बखत विपक्षहरु सो ठाउँमा आई यो जग्गा मैले रहेन दारु अवदुर रहिमानकै पालादेखि कमाई आएको छ । तपाईलाई जग्गा आवाद गर्न दिन्न भनी आफ्ना हल गोरु ल्याई जबरजस्तीकोसाथ सोजग्गाहरु जोताइ व्यूमाथि व्यू छरी दिएको सोबाहेक तपसीलका जग्गाहरु समेतबाट मेरो चलनहटक गरी दिएको तपसीलको नम्बर चौहद्धी भित्रको तपसील बमोजिमको जग्गा विपक्षीको खिचोला मिटाई मेरो चलन चलाई पाउँ भन्नेसमेत वादी ।
२. २ आना जमिदारी जग्गा वादीले उखडा ठेक्का पोटमा हामी मध्ये बलेश्वर बरैलाई कमाउन वादीबाट जग्गा लिई कमाई आएको वादीले आफ्नो जिमिदारी बन्धकीमा दिएपछि अरु जग्गा झिकी लिई सिर्फ कच्ची विगाहा ३० मात्र कमाउन बन्धकी जग्गा दिएको । त्यसको पोत पनि बन्धकीवालाले बढी लगाएको पछि हुँदा गरी धान लिने गरी आएकोले पछिल्ला शर्त हुँदाको भएकोले हुँदामा जोती आएको जग्गा छोडाउनलाई बन्धकीवाला र वादी मिली जेसुकै गरुन गराउन त्यसको केही मान्यता हुनै नसक्ने । बन्धकीवालाले बन्धकी लिएदेखि बन्धकीवालाले पनि कहिले पनि जोतेको थिएनन । त्यस्तो हामीले अघि देखि जोती आएको जग्गा हुँदा ०२२ सालका बालीमा वादीले जोत्न गए, जोतेकोसमेत छैन । खास साविकबमोजिम जग्गा हामीले नै जोती कमाई हामीले नै बाली लगाएका छौं । सिर्फ जग्गा छोडाइलिनलाई वादीले मुद्दा जालरची झुठ्ठा वादी दिएकामात्र हुन भन्नेसमेत प्रतिवादी ।
३. बन्धकी तमसुकमा खूद आफैले जोती आएको जग्गा भोगबन्धकी दिए देखिएकोले आफैले जोती आएको जग्गा भोगबन्धकीमा दिई भोगबन्धकीवालाले जग्गा कमाउन दिएका मानिसलाई मोहियानी हक लाग्छ भनी ठहराउन न्यायोचित नपर्ने भएको उपरोक्त प्रमाण परिबन्दबाट वादीले भोगबन्धकी निखनी लिएको जग्गा प्रतिवादीले खिचोला गरेको ठर्हछ भन्नेसमेत लु.अं.अफीस शाखा नं.४ तोलिहवा कपिलवस्तु विशेष अदालतको फैसला ।
४. उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी विशेष अदालतको ०२२।९।११।१ को फैसला बदर वातिल गरिपाउँ भन्नेसमेत बलेस्वरको निवेदन ।
५. निवेदकलाई कानूनले निर्देशित तरिकाद्वारा अपील म्याद दिनु भनी विपक्षी लु.अं. अफीस शाखा नं. ४ तौलिहवा कपिलवस्तु वि.अ.लाई आदेश दिनु उपयुक्त देखिएकोले सो बमोजिम गर्नु भनी आदेश दिनुपर्ने ठर्हछ भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश ।
६. यो ऐनले मोहियानी हक लाग्दैन भन्ने फैसलामा ऐनको पनि उल्लेख नभएको फैसला मनासिव नभएको भन्नेसमेत बलेस्वर समेतको पुनरावेदन ।
७. प्रतिवादीले पेश गरेका रसिदहरु अ.बं.७८ नं.बमोजिम वादीलाई सुनाई तहकिकात गर्नुपर्ने देखिएकोले पुनरावेदकबाट सो रसिदहरुको सक्कल लिई मिसिल सामेल राखी उक्त कारवाईको निमित्त वादी अन्जनीकुमारलाई सात दिनको म्याद दिई झिकाई आएपछि बयान गराउन नियमबमोजिम पेश गर्नु भन्नेसमेत डिभिजन बेञ्चको आदेश ।
८. ०२० सालको रसिद मैले गरी दिएको पनि होइन । कीर्ते हो सो रसिदमा लागेको छाप पनि मेरो होइन, अरु अवदुल रहिमान खाँको नाउँबाट थप गरेको रसिद सबै जालसाजी हुन भन्नेसमेत अन्जनीकुमारको बयान ।
९. उक्त रसिदहरु सद्दे साँचो हुन । जालसाजी कीर्ते समेत होईन भन्नेसमेत वलेस्वरको बयान ।
१०. वादीले जालसाजी गर्ने भनेका अवदुल रहिमान खाँलाई ऐनबमोजिम दिन १५ को म्याद दिई झिकाई आएपछि बयान गराउन नियमबमोजिम पेश गर्नु भन्नेसमेत डिभिजन बेञ्चको आदेश ।
११. ०२० साल माघ ३ गतेको रसिदमा ठेकदार बलेस्वर भन्ने लेखिएकोबाट ठेक्कामा लिनेले जग्गा आफूले नभोगी नजोती अरु जोताहासंग ठेक अशुल गरी बुझाउन सक्ने हुन्छ । त्यस्तो जोताहा भनी प्रमाणित गर्न नसक्ने लिखतलाई यो मुद्दामा प्रमाण लिन मिल्दैन । पेश हुन आएको बन्धकी लिखतको पछाडि तमसुक बमोजिमको भा.रु.३००१। को ने.रु.४८०१।६० ऋणी अन्जनीकुमारबाट बुझी सो जग्गा आफ्नै सिरबाट जोती कमाई आएको आजका मितिदेखि छाडी तमसुक फट्टा गरी दियौं । तपाईले भोगचलन गर्नु भनी साहू अवदुल रहिमानले साक्षीका रोहवरमा लेखी दिएको देखिनाले समेत प्रतिवादीहरुको जिकिर पुग्न सक्दैन । प्रमाण नलाग्ने रसिदहरुलाई सद्दे कीर्ते भनी किनारा लगाउन नै परेन । लुम्बिनी अञ्चलाधीश अफीस शाखा नं.४ तौलिहवा कपिलबस्तु विशेष अदालतले गरेको इन्साफ मनासिव छ भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।
१२. फैसला कानून विपरीत भएकोले दोहर्याई हेरी दिनु भन्ने आदेश बक्स पाउँ भन्नेसमेत वा.समेत बलेस्वरको निवेदन ।
१३. २१।२२ वर्ष कूत आयस्ता बुझाई भोगी आएका किसान प्रतिवादीहरुको मोहियानी हक कायम राखी वादीले झुठ्ठा उजूर गरेको ठहर गर्नुपर्नेमा प्रतिवादीको जिकिर पुग्दैन भन्ने सर्वोच्च अदालतको निर्णय उपरोक्त प्रमाण परिवन्दबाट मिलेको नदेखिएकोले दोहर्याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ भन्नेसमेत श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयबाट लेखी आएको ।
१४. बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त नियमको रीत पुर्याइ लगतमा दर्ता गरी मिसिल झिकाई २ दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि हुकुम प्रमांगी बमोजिम जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयमा जनरल विभाग मार्फत पठाई दिनु भनी फाँटमा बुुझाई दिनु भन्नेसमेत माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।
१५. तारेखमा रहेको वा.समेतको निवेदक बलेस्वर वरैलाई विपक्षी अन्जनीकुमारलाई रोहवरमा राखी निवेदक तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री सुधानाथले र विपक्षी तर्फको विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा रहिमान खाँ पठानसंग भा.रु.३००१ को हुने ने.रु.४८०१।६० कर्जा लिई मोतिपुर मध्ये मेरा नाउँमा बहाल रहेको तिरो रु.१२० लाग्ने जग्गा विगाहा १९।।.।।।१ भएको २ आना जिमिदारी हिस्सा मध्ये विगाहा ४।।।२।।४ धुर भएको द्र।। हिसा जिमिदारी जग्गा निज अबदुल रहिमानलाई ०१।२।१९।५ का दिन भोगबन्धकी पास गरी दिएको ०२२।१।२९।३ का दिन भोगबन्धकी रुपैयाँ निज अबदुल रहिमानलाई बुझाई दिई केही जग्गामा मैले धानको व्यू र साटा धान समेत छरी रहेका बखत विपक्षीहरुले यो जग्गा मैले रहेनदार अवदुल र रहिमानकै पालादेखि कमाई आएको छु । तपाईलाई जग्गा आवाद गर्न दिन्न भनी जबरजस्तीको साथ जो जग्गाहरु जोताई व्यू माथि व्यू छरी दिएको र सो बाहेक तपसीलको जग्गाहरु समेतबाट मेरो चलन हटक गरी दिएको तपसील बमोजिमको जग्गामा विपक्षीको खिचोला मिटाई मेरो चलन चलाई पाउँ भन्नेसमेत वादी दावी भएकोमा प्रतिवादीले प्रतिवादी गर्दा वादीबाटै जग्गा लिई कमाई आएको, वादीले आफ्नो जमिदारी बन्धकीमा दिएपछि अरु जग्गा झिकी लिई सिर्फ कच्ची विगाहा ३० मात्र कमाउन बन्धकी जग्गामा दिएको, त्यसको पोत पनि बन्धकीवालाले बढी लगाएको, पछि हुँदा गरी धान लिने गरी आएकोले पहिला शर्त हुँदाको भएकोले हुँदामा जोती आएको बन्धकीवालाले बन्धकी लिए देखि बन्धकीवालाले पनि जोतेको थिएनन । हामीले नै जोती आएको भन्नेसमेत उल्लेख गरेको देखियो ।
१६. प्रस्तुत मुद्दामा झगडा परेको जग्गा ४।।।२।।४ भन्ने देखिएको र मिसिल साथ रहेको बलेस्वर बरै आगे भई अन्जनीकुमारलाई गरी दिएको ०१।२।२९ को कबुलियतमा ४ आना जिमिदारी मध्ये २ आना जिमिदारीको शिर जिरायत विगाहा ९।।।.।३ भन्ने लेखिएको सो जग्गामा हाल मोहियानी भनी जिकिर लिएको नहुनाले यो मुद्दाबाट त्यसतर्फ विचार गरी रहन परेन । हाल झगडा परेको अन्जनीकुमारले अवदुल रहिमानलाई ०१।२।१९।५ मा भोगबन्धकी पास गरी दिए भनेको जग्गा विगाहा ४।।।२।।४ जग्गाका हकमा बलेस्वर बरैले दाखिल गरी मिसिल साथ रहेको ०२१।१०।१५ गतेको रसिदमा अबदुल रहिमान आगे भन्ने र मेरो नाउँमा भोगबन्धकी द्र।। दुई पैसा जग्गा रहेको त्यसको पोत मुनाफा समेत बुझी रसिद गरी दियो भन्नेसमेत लेखिएको र निज अबदुल रहिमानले गरी दिए भनेको ०८ सालदेखि ०१० सालसम्म र ०२१ सालको रसिद समेत पेश गरेको देखिएकोले भोगबन्धकीवाला साहू अवदुल रहिमानबाट प्रतिवादीले पहिले नगदी ठेकमा र पछि धान ठेकमा बुझाई आएको रहेछभन्ने उक्त प्रतिवादीहरुले दाखिल गरेको रसिदहरुबाट देखियो । निजअबदुल रहिमानलाई उक्त रसिद देखाई बयान गराउन झिकाएकोमा हाजिर हुन नआई गुजारी बसेको देखिएबाट उक्त रसिदहरु गरी दिएमा निज अवदुल रहिमान स्वीकार गरी बसेको देखिन्छ ।
१७. अब जग्गा बन्धकी लिने निज अवदुल रहिमान जग्गावालाको परिभाषा भित्र पर्छ पर्दैन भनी हेर्दा भूमिसम्बन्धी ऐन, २०१४ को दफा २ परिभाषा खण्ड (क) मा जग्गावाला भन्नाले त्यस जग्गाको कूत तिरो लिन पाउने हक भएको व्यक्ति सम्झनु पर्छ भन्ने उल्लेख भएको हुनाले भोगबन्धकीवाला अबदुल रहिमानले ठेक नगदी जिन्सी लिए खाएकोबाट निज जग्गावालाको परिभाषा भित्र पर्न आएको देखिन्छ र भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ को (क) मा जग्गावाला भन्नाले भन्नेसमेत उल्लेख भई (४) मा त्यस्तो जग्गावालाको हकको जग्गा अरु कसैले भोग दृष्टिबन्धकीमा लिई कानूनबमोजिम भोगचलन गरी आएको भए त्यसरी भोगचलन गरुन्जेल सो व्यक्ति भन्ने लेखिएकोबाट भोगबन्धकीवाला साहू पनि जग्गाबालाको हैसियतमा रहने भन्ने उक्त भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ को (४) मा समेत प्रष्टतया व्यवस्था भएको पाइन्छ ।
१८. त्यस्तो जग्गावालाले नगदी जिन्सी ठेक खाने गरी कमाउन दिएको जग्गामा कमाउने मोहिले कुनै शर्तमा कमाएको किन नहोस, भूमिसम्बन्धी ऐन (संशोधन), ०१६ को दफा २ परिभाषा खण्ड (ख) मा किसान भन्नाले जग्गावालाई शर्तबमोजिम कुत ठेक्का अधिया वा यस्तै कुनै नामबाट आयस्ता वा आयस्ता वापत नगद बुझाउने गरी जग्गा कमाउने व्यक्ति सम्झनु पर्छ भन्ने लेखिएको र भूमिसम्बन्धी ऐन, २०२१ को दफा ११ मा यो ऐन प्रारम्भ भएपछि पनि कुनै जग्गावालाले कुनै जग्गा कुनै किसानलाई कमाउन दिएको रहेछ र सो किसानले १ वर्ष सम्म सो जग्गा कमाएको रहेछ भने निज पनि सुरक्षित किसान मानिने छ भन्ने उल्लेख भएको हुँदा उक्त कानूनी व्यवस्था अनुसार निवेदक प्रतिवादी बलेस्वर बरैले सुरक्षित किसानको हक प्राप्त गरेको देखिन्छ र साथै भूमिसम्बन्धी ऐन लागू भइसकेपछि जग्गा जोताहाको अस्थायी निस्सा पाएको पनि देखिन आएको र सोउपर ऐनका म्याद भित्र कसैको उजूर परेको समेत नदेखिएको यसरी माथि लेखिएका कारण परिबन्दबाट निवेदक प्रतिवादीले मोहियानी हक प्राप्त गरी सकेको जग्गामा खिचोला गर्यो भन्ने वादीको जिकिर पुग्न सक्ने देखिएन । अतः वादीले भोगबन्धकी निखनी लिएको जग्गा प्रतिवादीले खिचोला गरेको ठर्हछ भनी लु.अञ्चलाधीश अफीस शाखा नं.४ तौलिहवा कपिलबस्तु विशेष अदालतले र विशेष अदालतले गरेको इन्साफ मनासिव ठहराई स.अ.डि.बे.ले ०२५।८।४मा गरेको इन्साफ मिलेको देखिएन । देहायबमोजिम गर्नु ।
तपसील
वादी अन्जनीकुमारकै लुम्बिनी अञ्चलाधीश अफीस शाखा नं. ४ तौलिहवा कपिलबस्तु विशेष अदालतको ०२२।९।११ को फैसलाले कोर्टफी रु.७३।३५ नकल दस्तुर रु. १ इतलायनामा दस्तुर १।७५ समेत जम्मा रु. ७६।१० प्रतिवादीहरुबाट भरी भराउ गरी दिने भनी गरेकोमा सो मबोजिम गर्न पर्दैन । व्यहोरा जनाई लगत काटी दिनु भनी कपिलबस्तु जि.अ.लाई सूचना गर्न लगत दिनु...........................१
देहायका प्रतिवादी के सर्वोच्च अदालत डिभिजन बेञ्चका ०२५।८।४ का फ्रैसलाले देहाय बमोजिम रु.११।४८ जरिवाना गरेको र सो जरिवाना ०२६।६।६।१ मा स.अ.ल.न. मा बुझाएको देखिंदा सो नलाग्ने हुँदा कानूनको रीत पुर्याई बराबरमा दर्ले फिर्ता भनी लगत दिने........................२
बलेस्वर बरे.के रु. १।६४ कुटी भन्ने झिक्नुवनदत बरेके १।६४ पशुपति बेरे के.रु. १।६४ लौलेस्वर बेरे के.रु १।६४
अभिमनु वरे के रु. १।६४ केशरप्रसाद बरे के.रु १।६४ रामबहादुर बरे.के.रु.१।६४
निवेदक देहायका मानिस के यस सर्वोच्च अदालत ०२६।६।६।२ मा स.अ.ल.न.मा बुझाएको कोर्टफी रु.७।३३ वादी अन्जनीकुमारबाट भरी पाउने हुँदा कोर्टफी ऐन, ०१७ को दफा १५ को म्याद ३ वर्ष भित्र दरखास्त परेमा वादी अन्जनीकुमारबाट बराबरका दरले भरी भराउ गरी दिनु भनी कपिलबस्तु जि.अ.लाई सूचना गर्न लगत दिने.......३
रामबहादुर बरे–१केशरप्रसाद बरे–१ अभिमनु बरे–१ तौलेस्वर बरे–१ पशुपति बरे–१
मिसिल नियमबमोजिम गरी बुझाई दिनु.....................४
प्र.न्या.श्री रत्नबहादुर र
न्या.श्री झपट सिं रावल
उक्त रायमा सहमत छौं ।
इति सम्वत् २०२७ साल पौष २१ गते रोज ३ शुभम् ।