निर्णय नं. ८०९४ - विदेशी विनिमय

निर्णय नं.८०९४ २०६६ असार अङ्क ३
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीन बहादुर रायमाझी
माननीय न्यायाधीश श्री कृष्ण प्रसाद उपाध्याय
मुद्दा नं. ०६४-CR-०४५९
फैसला मितिः २०६५।१२।४।३।
मुद्दाः विदेशी विनिमय ।
पुनरावेदक वादीः अर्थ मन्त्रालयको पत्रले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. ३२ बस्ने फलोरा कार्पेट प्रा.लि.बालकोट भक्तपुरका सञ्चालक, मदनप्रसाद सरावगी
शुरु फैसला गर्नेः
मा.जि.न्या. ओमप्रकाश मिश्र
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री हरिराम कोइराला
मा.न्या. श्री जगदीश शर्मा, पौडेल
§ प्रतीतपत्रमा उल्लिखित विदेशी मुद्रा यु.एस.डलर बराबरको नेपाली रुपैंयाको बैंक ग्यारेन्टी जमानीसम्म बसेको अवस्थामा जमानत बस्नेले नै प्रतीतपत्रको कारोवार गरेको र सो प्रतीतपत्र अनुरूप विदेशी सामान आयात नगरेको भन्ने अर्थ गर्न मिल्ने नदेखिने ।
§ सम्बन्धित बैंकले प्रतीतपत्रअन्तर्गतको हिसाव चुक्ता फछ्र्यौट गरिसकेको भनी पचात्रार गरी सकेको अवस्थामा धन जमानीको कागजअनुरूप प्रतिवादीको दायित्व स्वतः समाप्त भएको भन्ने देखिन आउँछ । प्रतीतपत्रअनुरूप विदेशी सामान आयात नगरेतर्फ प्रतीतपत्रमा उल्लिखित रकमको ग्यारेन्टी बसेको भन्ने आधारमा ग्यारेन्टीको हैसियतमा विदेशी विनिमय शर्तअनुरूप प्रयोग नगरेको भनी कारवाही चलाउन नमिल्ने ।
(प्रकरण नं.५)
पुनरावेदक वादी तर्फबाटः उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल
प्रत्यर्थी प्रतिवादी तर्फबाटः अधिवक्ता रमेशप्रसाद धिताल
अवलम्वित नजीरः
सम्बद्ध कानूनः विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा ४, उपदफा (३), (४) र १७(१)
फैसला
न्या.कृष्ण प्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को आधारमा पुनरावेदन अदालत पाटनको २०६३।३।१८ को फैसलाउपर दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रुपमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्न बमोजिम छः–
वाणिज्य विभागमा मिति २०५१।८।२० गते दर्ता भएको न्यू लघु इन्टरप्राईजेजका प्रो. शम्भुकुमार सापकोटाले संयुक्त अरव इमिरेट्सबाट वल वियरिङ्ग आयात गर्न नेपाल बैंक लिमिटेड काठमाडौँ अफिसमा मदनप्रसाद सरावगीको व्यक्तिगत जमानीमा १० प्रतिशत मार्जिनमा मिति २०५१।१०।२४ मा नं. ५७/१८५२ को यु.एस. डलर ९९६०७।७५ को प्रतीतपत्र खोलिएको ।
स्ट्यार्ण्डड चार्टर बैंक दुवईबाट अमेरिकी डलर ९०९६५.३३ र ८४३६ को डकुमेन्ट बैंकले प्राप्त गरी कूल यु.एस. डलर ९०४०१।३३ को भुक्तानी स्ट्याण्डर्ड चार्टर बैंक दुवईमा पठाएको ।
मिति १३।३।०९५ मा प्रतीतपत्र नं. ५७।१८५२ बमोजिम यु.एस. डलर ९०९६५।३३ को सामान कलकत्ताबाट छुटाउन न्यू लघु इन्टरप्राईजेजलाई व्यक्तिगत जमानी दिन मदनप्रसाद सरावगीले निवेदन दिएको ।
मिति २०५१।११।३० मा प्रतीतपत्र नं. ५७।१८५२ बमोजिम यु.एस. डलर ८४३६ को सामान कलकत्ताबाट छुटाउन बैंकमा न्यू लघु इन्टरप्राईजेजका प्रो. शम्भुकुमार सापकोटाले निवेदन दिएको ।
मिति २०५१।११।३० मा प्रतीतपत्र नं. ५७।१८५१ र ५७।१८५२ को डकुमेन्ट बुझ्नको लागि न्यू लघु इन्टप्राईजेजका प्रो. शम्भुकुमार सापकोटाले प्रमोदकुमारलाई अख्तियारी प्रदान गरेको ।
प्रतीतपत्रको रकम चुक्ता गरी डकुमेन्ट छुटाई लैजान मदनप्रसाद सरावगीलाई सम्बोधन गरी नेपाल वैंक लि. ले २०५२।४।२९ मा पत्र लेखेको ।
विदेशी मुद्रा अपचलन भएको भन्ने सम्बन्धमा श्री ५ को सरकारको निर्णयअनुसार गठित प्रतीतपत्र जाँचबुझ आयोग, २०५२ ले दिएको प्रतिवेदनको राय ठहर अध्ययन गरी विदेशी मुद्रा अपचलन गर्ने दोषीहरू उपर विदेशी विनिमय (निममित) गर्ने ऐन, २०१९ बमोजिम कारवाही चलाउनु भन्ने अर्थ मन्त्रालयको मिति २०५३।३।३ को पत्र ।
प्रतिवादी शम्भुकुमार सापकोटाले विदेशी विनिमय प्राप्त गर्दाको शर्तबमोजिम तोकिएको म्यादभित्र सामान पैठारी नगरी शर्तअनुरूप यु.एस. डलर ९९४०१।३३ प्रयोग नगरी विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा ४ को उपदफा (३) र (४) विपरीत कसूर गरेको देखिई प्रतीतपत्र खोल्दाको दिन कायम गरिएको विनिमय दर प्रति यु.एस. डलर ५०।४० ले ९९४०१।३३ को हुने रु. ५००९८२७।०३ सोही ऐनको दफा १७(१) अनुसार जरीवाना भै हदैसम्मको सजाय गरिपाऊँ र अर्का प्रतिवादी मदनप्रसाद सरावगीले जमानतदाताको सीमाभित्र मात्र नरही पैठारी हुने सामान भारतको कलकत्ताबाट छुटाउन बैंकमा निवेदनसमेत दिएको हुँदा शम्भुकुमार सापकोटालाई सरह कै सजाय समेत गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग पत्र ।
२०५१।१०।२४ को प्रतीतपत्र नं. ५७।१८५२ को यु.एस. डलर ९९६०७।७५ बराबरको नेपालीमा हुने रुपैंयाको न्यू लघु इन्टरप्राईजेजका प्रो. शम्भुकुमार सापकोटालाई आफूले ग्यारेन्टी दिएको, निजले संयुक्त अरव इमिरेट्सबाट झिकाएको सामान “वेरिङ” नेपालमा आयात गर्न स्वीकृत दिएकोले कलकत्ताबाट सामान छुटाउन भनी निवेदन पनि आफूले दिएको, तर अरबबाट आउनु पर्ने सामान भारतको कलकत्ता वन्दरगाहमा नआइपुगेकोले नेपाल सरहद भित्र उक्त सामान आएको छैन, आफूले विदेशी मुद्राको अपचलन नगरेको, विदेशी मुद्रा आफूले प्राप्त नगरेको, केवल न्यू लघु इन्टरप्राईजेजका प्रो. शम्भुकुमार सापकोटाले खोलेको प्रतीतपत्रमा ग्यारेन्टीसम्म बसेको हुँ । ग्यारेन्टी बस्ने कार्यभन्दा बाहेकका अन्य काम मैले गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी मदनप्रसाद सरावगीले अदालतमा गरेको बयान ।
प्रतिवादी मदन सरावगीको साक्षी लक्ष्मणबहादुर वस्नेतको वकपत्र भै शुरु मिसिल सामेल रहेको ।
प्रतिवादी शम्भुकुमार सापकोटाका नाउँमा जारी भई निजको वतन फेला नपरेकाले का.म.न.पा. वडा नं. ६ को वडा समितिको कार्यालयमा टाँस तामेल भएको समाब्हान म्यादमा निज प्रतिवादी अदालतमा हाजिर नभै फरार रहेको ।
बैंकबाट गएको रकम बैंकमा जम्मा भै सकेको छ भनी प्रतिवादीतर्फका विद्वान अधिवक्ताले बहसमा उल्लेख गर्नु भएको हुँदा बैंकबाट गएको यु.एस. डलर बराबरको रकम बैंकमा जम्मा भएको हो होइन प्रतिवादीहरूलाई कागज गराई जम्मा भएको भए सोसँग सम्बन्धित प्रमाणहरू समेत पेश गर्न लगाई पेश गर्नु भन्ने समेत शुरु अदालतको आदेश ।
प्रतीतपत्र खोल्दा उल्लेख गरिएको रकम विदेशी बैंकलाई बैंकले भुक्तानी गर्नुभन्दा अगावै बैंकमा जम्मा भै सकेको छ भनी प्रतिवादी मदनप्रसादले २०५९।१।५ मा कागज गरेको देखिँदा निज प्रतिवादीले नेपाल बैंकमा रकम जम्मा गरेको विवरण प्रमाणित प्रतिलिपि नेपाल बैंक लिमिटेडबाट झिकाई पेश गर्नु भन्ने शुरु अदालतको आदेशानुसार झिकाइएका प्रतिलिपिहरू शुरु मिसिल सामेल रहेको ।
एल.सि. नं. ५७/१८५२ को रकम प्रतिवादी मदनप्रसाद सरावगीसँग सम्बन्धित फर्म न्यू लघु इन्टरप्राईजेजले २०५५।६।२३ मा हिसाव चुक्ता फर्छ्र्यौट गरेको बैंकको अभिलेखबाट देखिन्छ भन्ने नेपाल बैंक लिमिटेड, एल.सी. इम्पोर्ट विभागको २०६०।४।९ को पत्र ।
प्रतिवादी शम्भु प्रसाद सापकोटालाई विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा ४(३) र ४(४) को कसूरमा सोही ऐनको दफा १७(१) अनुसार एक वर्ष कैद हुने ठहर्छ र जमानी बस्ने मदनप्रसाद सरावगीले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ भन्ने मिति २०६०।७।१३ को काठमाडौँ जिल्ला अदालतको फैसला ।
व्यक्तिगत जमानी दिने मदनप्रसाद सरावगीले निवेदन दिएको र प्रतीतपत्र बमोजिमको डकुमेन्ट छुटाई लैजान बैंकले निजलाई पत्र लेखेकोबाट कारोवारमा संलग्नता पुष्टि भएको, विदेशी विनिमय प्राप्त गर्दा तोकिएको शर्तबमोजिम सामान आयात गरेको नदेखिएबाट पनि निज मदनप्रसाद सरावगीले विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा ४(३) र (४) विपरीत कसूर अपराध गरेको प्रष्ट हुँदाहुँदै सफाई दिने गरी भएको शुरु फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
यसै लगाउको स.फौ.पु.नं. ७२६ को मुद्दामा झ.झि. आदेश भएको र प्रस्तुत मुद्दा उक्त मुद्दासँग अन्तरप्रभावी भएकोले प्रस्तुत मुद्दामा पनि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने मिति २०६१।३।४ को पुनरावेदन अदालत पाटनको आदेश ।
शंका र अनुमानकै भरमा व्यक्तिगत जमानी बसेकोसम्म आधारले कसूरदार ठहर गर्न न्यायोचित नहुने हुँदा प्रतिवादी मदनप्रसाद सरावगीलाई सफाई दिने ठहराएको मिति २०६०।७।१३ को काठमाडौँ जिल्ला अदालतको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको २०६३।३।१८ को फैसला ।
न्यू लघु इन्टरप्राईजेजलाई व्यक्तिगत जमानी दिन मदनप्रसाद सरावगीले निवेदन दिएको र प्रतीतपत्रको रकम चुक्ता गरी डकुमेन्ट छुटाई लैजान बैंकले मदनप्रसाद सरावगीलाई पत्र लेखेको देखिएबाट पनि निजको कारोवारमा संलग्नता रहेको प्रमाणित हुन्छ । शर्तमुताविक सामान आयात नभएकोमा प्रतिवादी सावित नै रहेको र सामान प्राप्त नभएको अवस्थामा आफूले प्राप्त गरेको विनिमय बैंकलाई फिर्ता गरेको भन्ने नदेखिएबाट पनि कसूर पुष्टि भएको छ । प्रतिवादी मदनप्रसादलाई ग्यारेन्टर मात्र मान्ने हो भने पनि ग्यारेन्टरले ग्यारेन्टी बस्नेको सम्पूर्ण दायित्व बहन गर्नुपर्ने हुन्छ । बैंकबाट निश्चित कामको लागि भनी लिएको विदेशी विनिमय सोही प्रयोजनका लागि खर्च गर्नु पर्ने शम्भु सापकोटा आफ्नो दायित्वबाट च्यूत भएको अवस्थामा ग्यारेन्टरको हैसियतले यी प्रतिवादी पनि दायित्वबाट च्यूत हुने नै भएकोले कसूरबाट उन्मुक्ति पाउने प्रश्नै रहँदैन, प्रतिवादीलाई सफाई दिने गरी भएको शुरु फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसालमा विदेशी विनिमय (नियमित) गर्ने ऐन, २०१९ को दफा ४ को (३) र (४) र दफा १७(१) को व्याख्यामा गम्भीर त्रुटिपूर्ण हुँदा प्रस्तुत मुद्दामा मुद्दा दोहोर्याई हेरी पाउने निस्सा प्रदान भई उक्त फैसला सो हदसम्म बदर गरी प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादीको यस अदालतमा २०६३।८।३ मा दर्ता भएको निवेदन ।
यसमा मुख्य कारोवार गर्ने व्यक्तिको नाममा प्रा.लि. रहेको पाइए पनि उक्त प्रा.लि. ले आर्थिक कारोवार गर्दा जमानतमा विपक्षी मदनप्रसाद सरावगी रहेको देखिएको र विदेशी मुद्रा विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७(१) समेतले समान दायित्व वहन गर्ने त्यस्ता व्यक्तिलाई कसूरबाट सफाई दिने गरेको पुनरावेदन अदालत पाटनको फैसलामा उक्त ऐनको दफा १७(१) साथै प्रमाण ऐन, २०३१ को दफा ३, ५४, अ.बं. १८४क समेतको व्याख्यात्मक एवं प्रामाणिक मूल्याङ्कनको त्रुटि रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) अनुसार मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरी दिएको छ । कानूनबमोजिम गरी पेश गर्नु भन्ने यस अदालतको २०६४।७।२१ को आदेश ।
नियम बमोजिम पेशीसूचीमा चढी आज यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदन जिकीरसहितका मिसिल कागजात अध्ययन गरी पुनरावेदकतर्फबाट उपन्यायाधिवक्ता कृष्णप्रसाद पौडेलले न्यू लघु इन्टरप्राईजेजका प्रो. शम्भुकुमार सापकोटाले एल.सी. खोली All kinds of ball bearings झिकाउन यी प्रत्यर्थी प्रतिवादी जमानी बसेको देखिए पनि केवल सो फर्मसम्म शम्भुकुमारको नाममा दर्ता गरी सबै काम आफैँ गरेको देखिन्छ, प्रतिवादी शम्भुकुमार फरार रहेबाट सो पुष्टि हुन्छ, फर्मसम्म अर्काको नाममा दर्ता भै कारोवार आफैँ गर्ने प्रत्यर्थी प्रतिवादीलाई सफाई दिएको फैसला मिलेको छैन भनी र प्रत्यर्थी तर्फबाट विद्वान अधिवक्ता रमेशप्रसाद धितालले प्रतिवादीले प्रतीतपत्र खोलेको नभै प्रतीतपत्रमा उल्लिखित रकमसम्मको लागि बैंक ग्यारेन्टी बसेको अवस्थामा सम्बन्धित बैंकले लेनादेना बाँकी नभएको भनी जवाफ दिएको हुँदा दायित्व नै समाप्त भएको अवस्थामा प्रतिवादीलाई सफाई दिएको फैसला मिलेको छ भनी गर्नु भएको बहस समेत सुनियो ।
२. उपर्युक्त बहस जिकीरएवं मिसिलबाट देखिएको तथ्य समेतलाई मध्यनजर राखी इन्साफतर्फ विचार गर्दा, विदेशी विनिमय प्राप्त गर्दाका शर्तबमोजिम तोकिएको म्यादभित्र सामान पैठारी नगरी शर्तअनुरूप यु.एस. डलर ९९४०१।३३ प्रयोग नगरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४ को उपदफा (३) र (४) विपरीत कसूर गरेको भनी प्रतिवादी शम्भुकुमार सापकोटालाई विगो ने.रु. ५०,०९,८२७।०३ सोही ऐनको दफा १७(१) अनुसार जरीवाना भै हदैसम्म कैदको सजाय हुने तथा प्रतिवादी मदनप्रसाद सरावगी जमानत दाताको सीमाभित्र नरही प्रतीतपत्र नं. ५७।१८५२ बमोजिम पैठारी हुने सामान कलकत्ताबाट छुटाउन बैंकमा निवेदन दिएको समेतबाट निजलाई समेत सोही ऐनको उक्त दफा ४ को उपदफा (३) र (४) विपरीतको कसूरमा सोही ऐनको दफा १७(१) अनुसार विगो ने.रु. ५०,०९,८२७।०३ जरीवाना भै हदैसम्म कैदको सजाय समेत हुन अभियोग माग दावी लिएकोमा शुरु जिल्ला अदालतले प्रतिवादी शम्भुप्रसाद सापकोटाले अभियोग दावीबमोजिम कसूर गरेको ठहराई बैंकको हिसाव फर्छ्र्यौट भै सकेको भनी १ वर्ष कैदको सजाय गरी प्रतिवादी मदनप्रसाद सरावगीलाई कसूरबाट सफाई दिएकोमा पुनरावेदन अदालतले शुरुको फैसलालाई सदर हुने ठहराएको अवस्था छ । प्रतिवादीमध्येका शम्भुकुमार सापकोटाले शुरु म्यादै गुजारी पुनरावेदन समेत नगरी बसेको देखिन्छ ।
३. प्रत्यर्थी प्रतिवादी मदनप्रसाद सरावगीको बयान हेर्दा २०५१।१०।२४ को प्रतीतपत्र नं. ५७।१८५२ को यु.एस. डलर ९९६०७।७५ बराबरको नेपालीमा हुने रुपैंयाको न्यू लघु इन्टरप्राईजेजका प्रो. शम्भुकुमार सापकोटालाई आफूले ग्यारेन्टी दिएको, निजले संयुक्त अरव इमिरेट्सबाट झिकाएको सामान “वेरिङ” नेपालमा आयात गर्न स्वीकृत दिएकोले कलकत्ताबाट सामान छुटाउन भनी निवेदन पनि आफूले दिएको, तर अरबबाट आउनु पर्ने सामान भारतको कलकत्ता वन्दरगाहमा नआइपुगेकोले नेपाल सरहदभित्र उक्त सामान आएको छैन, आफूले विदेशी मुद्राको अपचलन नगरेको भनी अभियोग दावीप्रति इन्कार रहेको पाइयो ।
४. न्यू लघु इन्टरप्राईजेजका प्रो. शम्भुकुमार सापकोटाले नेपाल बैंक लिमिटेडमा २०५१।१०।२४ मा दुवई, यु.ए.ई. बाट All kinds of Ball Bearings आयात गर्न नेपाल बैंक लिमिटेडमा यु.एस. डलर ९९,६०७।७५ को आयात प्रतीतपत्र खोल्न निवेदन गरेकोमा यी प्रतिवादी मदनप्रसाद सरावगीको व्यक्तिगत जमानी समेत लिने गरी प्रतीतपत्र खोल्न स्वीकृति दिएको तथा यी प्रतिवादीले २०५१।१०।२४ मा न्यू लघु इन्टरप्राईजेजका सञ्चालक वा सोबाट अधिकार पाएको कुनै व्यक्तिले नेपाल बैंक लिमिटेड अफिसबाट रु. १,१२,००,०००।– सम्मको प्रतीतपत्रअन्तर्गत कारोवार गरी लिएदिएको लिखतका अधीनमा भाखा म्यादभित्र कर्जा कारोवार चुक्ता फछ्र्याैट नगरी नबुझाई बाँकी राखे वा सो कारोवारको कारणबाट बैंकलाई हानि नोक्सानी भए आफूले चुक्ता गर्ने गरी नेपाल बैंक लिमिटेड काठमाडौँ अफिसलाई धन जमानीको कागज लेखी दिएको सम्बन्धित प्रमाणको फायलबाट देखियो । प्रतिवादी मदनप्रसाद सरावगीसँग सम्बन्धित फर्म न्यू लघु इन्टरप्राईजेजले २०५५।६।२३ मा हिसाव चुक्ता फर्छ्र्यौट गरेको बैंकको अभिलेखबाट देखिन्छ भन्ने नेपाल बैंक लिमिटेड, एल.सी. इम्पोर्ट विभागको २०६०।४।९ को शुरु मिसिल संलग्न पत्रबाट देखिंदा एल.सी. नं. ५७/१८५२ को रकम बैंकलाई बुझाउन बाँकी रहेको भन्ने पनि देखिन आएन ।
५. यी प्रतिवादी मदनप्रसाद सरावगी आफैँले प्रतीतपत्र खोलेको नदेखिँदा सो प्रतीतपत्र (एल.सी.) अनुरूप विदेशी सामान आयात गरे नगरे सम्बन्धमा यी प्रतिवादीको व्यक्तिगत रुपमा सरोकारको विषय नदेखिई उक्त प्रतीतपत्रमा उल्लिखित रकम नबुझाएको अवस्थामा निज प्रतिवादी जवाफदेही हुनुपर्ने देखिन्छ । प्रतीतपत्रमा उल्लिखित विदेशी मुद्रा यु.एस. डलर बराबरको नेपाली रुपैंयाको बैंक ग्यारेन्टी जमानीसम्म बसेको अवस्थामा जमानत बस्नेले नै प्रतीतपत्रको कारोवार गरेको र सो प्रतीतपत्रअनुरूप विदेशी सामान आयात नगरेको भन्ने अर्थ गर्न मिल्ने देखिँदैन । सम्बन्धित बैंकले प्रतीतपत्र अन्तर्गतको हिसाव चुक्ता फछ्र्यौट गरी सकेको भनी पचात्रार गरी सकेको अवस्थामा धन जमानीको कागजअनुरूप प्रतिवादीको दायित्व स्वतः समाप्त भएको भन्ने देखिन आउँछ । प्रतीतपत्र अनुरूप विदेशी सामान आयात नगरेतर्फ प्रतीतपत्रमा उल्लिखित रकमको ग्यारेन्टी बसेको भन्ने आधारमा ग्यारेन्टीको हैसियतमा विदेशी विनिमय शर्तअनुरूप प्रयोग नगरेको भनी कारवाही चलाउन मिल्ने देखिदैन ।
६. प्रतिवादीहरू उपर दावी गरिएको सम्बन्धित कानूनी व्यवस्था हेर्दा, विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४ को उपदफा ३ मा “कुनै व्यक्तिले कुनै खास उद्देश्यको लागि वा कुनै शर्तमा विदेशी विनिमय प्राप्त गरेको भए सो व्यक्तिले त्यस्तो विनिमय अन्य काममा लगाउन वा उक्त शर्त उल्लंघन गर्नु हुँदैन । त्यसरी प्राप्त गरेको विदेशी विनिमय सम्बन्धित काममा लगाउन नसकिने भएमा वा सो शर्त पूरा गर्न नसकिने भएमा निजले आफूलाई सो कुराको जानकारी भएको मितिले तीस दिनभित्र इजाजतपत्र प्राप्त व्यक्ति वा बैंकलाई त्यस्तो विदेशी विनिमय बैंकद्वारा निर्धारित दरमा विक्री गर्नु पर्नेछ” भन्ने उल्लेख भई सोही दफाको उपदफा ४ मा “कुनै व्यक्तिले नेपाल अधिराज्य भित्र कुनै वस्तु आयात गर्नको लागि विदेशी विनिमय प्राप्त गरेकोमा निजले मनासिव माफिकको अवधिभित्र त्यस्तो वस्तु आयात नगरेमा वा त्यसरी प्राप्त गरेको विदेशी विनिमयको मूल्य बराबरको बस्तु आयात नगरेमा निजले त्यसरी प्राप्त गरेको विदेशी विनिमय सो काममा लगाउन नसकेको वा सो शर्त पूरा गर्न नसकेको मानिनेछ” भन्ने कानूनी व्यवस्था भएको देखिन्छ ।
७. यी प्रतिवादीले खास उद्देश्यको लागि वा नेपालभित्र कुनै वस्तु आयात गर्न विदेशी विनिमय प्राप्त गरेको नदेखिएको तथा त्यस्तो विनिमय प्राप्त गर्ने व्यक्तिको लागि बैंक ग्यारेन्टी बस्ने व्यक्तिसमेत सो विनिमयअनुरूप सामान आयात नगरी हिनामिना गरेमा जवाफदेही हुनुपर्ने भन्ने कानूनी व्यवस्था देखिँदैन । त्यस्तै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७(१) ले पनि जमानी बस्नेलाई कुनै दायित्व सुम्पेको नदेखिएको समेतबाट विदेशी विनिमय प्राप्त गर्ने व्यक्तिसरह समान दायित्व वहन गर्नुपर्छ भन्न नमिल्ने नै हुँदा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको २०६४।७।२१ को आदेशमा व्यक्त रायसँग सहमत हुन सकिएन । प्रतिवादी शम्भुप्रसाद सापकोटाले आरोपित कसूर गरेको ठहराई प्रतिवादी मदनप्रसाद सरावगीलाई सफाई दिने ठहराएको काठमाडौँ जिल्ला अदालतको २०६०।७।१३।५ को फैसला सदर हुने ठहराएको पुनरावेदन अदालत पाटनको २०६३।३।१८ को फैसला मिलेकै देखिँदा सदर हुन्छ । पुनरावेदन जिकीरपुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.मीन वहादुर रायमाझी
इति संवत् २०६५ साल चैत ४ गते रोज ३ शुभम्
इजलास अधिकृतः– दीपककुमार दाहाल