निर्णय नं. ८०९९ - जबर्जस्ती करणी

निर्णय नं.८०९९ २०६६ असार अङ्क ३
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री अवधेशकुमार यादव
संवत् २०६५ सालको फौ.पु.नं. ०६४–cr– ०७७१
फैसला मितिः २०६५।११।२१।४
मुद्दाः जबर्जस्ती करणी ।
पुनरावेदक प्रतिवादीः जिल्ला पाल्पा, तानसेन नगरपालिका वडा नं. ७ कैलाशनगर घर भै हाल कारागार शाखा रुपन्देहीमा थुनामा रहेको बाबु पौडेल क्षेत्री
विरुद्ध
प्रत्यर्थी वादीः नेपाल सरकार
शुरु फैसला गर्नेः
मा.जि.न्या.श्री हरिप्रताप के.सी.
पुनरावेदनमा फैसला गर्नेः
मा.न्या. श्री पुरुषोत्तम पराजुली
मा.न्या. श्री हरिबाबु भट्टराई
§ पुनरावेदक प्रतिवादीको लिङ्गमा घाउ चोट नभएको कुरालाई प्रतिवादीको निर्दोषिताको प्रमाण मान्न नसकिने ।
§ सवल पुरुषको उत्तेजित लिङ्गको सामान्य घर्षण वा प्रवेशबाटै बालिकाको यौनाङ्ग च्यातिनु कुनै अस्वाभाविक घटना होइन र यस्तो अवस्थामा यस अदालतले एक अवोध बालिकामाथि भएको जबर्जस्ती करणी जस्तो नृशंश एवं निर्मम अपराधमा प्रतिवादीको लिङ्गको घाउ खतका चिन्हहरूको विद्यमानता रहे नरहेको भन्ने आधारलाई कुनै सहानुभूति दर्शाइ रहनु नपर्ने ।
(प्रकरण नं.५)
§ योनीमा औंला घुसाएको भनेपनि औंला घुसाएको भनेकै आधारमा जवर्जस्ती करणीको आरोपबाट निजलाई कम सजाय हुने अवस्था नदेखिने ।
(प्रकरण नं.६)
§ मानव सभ्यताउपर नै कलङ्क लगाउने गरी एक अवोध नाबालिकाउपर जबर्जस्ती करणी जस्तो जुन अमानवीय एवम निर्लज्ज अपराध भएको छ त्यसको गम्भीरतासमेतलाई हेरी प्रतिवादीउपर सजायको निर्धारण गर्नु नै उचित हुने ।
(प्रकरण नं.७)
प्रत्यर्थी वादीः कबहादुरको जाहेरीले नेपाल सरकार.
पुनरावेदक प्रतिवादीका तर्फबाट विद्वान वैतनिक अधिवक्ता श्री अमीता दीक्षित
सम्वद्ध कानूनः
§ मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(१) र १०
फैसला
न्या.रामप्रसाद श्रेष्ठः पुनरावेदन अदालत, बुटवलको मिति २०६४।६।१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिबादीका तर्फबाट पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ :-
मिति २०६२।१०।१५ गते बिहान ९ वजेको समयमा मेरी छोरी वर्ष ५ की खु कुमारीलाई घरदेखि केहीपर झाडीमा दिसा गर्न गएको अवस्थामा बाबु पौडेल क्षेत्रीले समाई जबर्जस्ती करणी गरेको हुँदा पक्राउ गरी कानूनबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको कु बहादुरको जाहेरी दरखास्त ।
बुटवल नगरपालिका वडा नं १४ नयाँ गाउँस्थित पूर्व र पश्चिम तिनाउ खोलाको भाग, उत्तर सोमे रसाइलीको घर, दक्षिणमा वेलभरिया गाउँ यति चार किल्ला भित्र रहेको तिनाउ खोलाको उत्तर साइडमा स–साना सिसौका रुख भएको झाडीमा बाबु पौडेल क्षेत्रीले खुकुमारीलाई जबरजस्ती करणी गरेको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।
खकुमारीको शारीरिक परीक्षण गर्दा सुनिएको योनीको भागमा घाउ भई रगत बगेको भन्ने व्यहोराको परीक्षण प्रतिवेदन ।
बाबु पौडेल क्षेत्रीको शारीरिक परीक्षण गर्दा लिङ्गमा नयाँ घाउ नभएको, निजले लगाएको कपडामा रगत तथा वीर्यको दाग नपाइएको भन्ने समेत व्यहोराको परीक्षण प्रतिवेदन ।
जाहेरवाला बस्ने घर र म बस्ने ठाँउको बीचमा झाडी छ । मिति २०६२।१०।१५ गते बिहान उक्त झाडीमा खुकुमारी र निजको साथमा एक वच्ची थिए । विदाको दिन भएकोले मैले रक्सी खाएको थिएँ । मलाई करणी गर्न मन लाग्यो । मेरो लिङ्ग उत्तेजित भयो । खुकुमारी भएको ठाउँतिर गई निजलाई समाउँदा निजको साथमा आएको बच्ची घरतर्फ गइन । निजलाई केही पर ल्याई सुमसुम्याउँदै मेरो उत्तेजित लिंग निजको योनीमा घुसाउने प्रयास गर्दा निज रोइन् । योनीबाट रगत पनि आयो । फकाई घर तर्फ फर्किएँ । निजले आफ्नो अभिभावकलाई मैले गरेको क्रियाकलाप बताइछन् । पछि स्थानीय मानिसहरूले मलाई लछार पछार गरी पक्राउ गरेका हुन् भन्ने समेत व्यहोराको प्रतिवादी बाबु पौडेल क्षेत्रीले गरेको बयान कागज ।
मिति २०६२।१०।१५ गते बिहान मीना रसाइली र म दिसा गर्न घरदेखि केही पर झाडीमा गएको अवस्थामा बाबु पौडेल क्षेत्री आई मलाई समाए । मीना रसाइली रुँदै घरतर्फ गइन् । निजले मलाई उचाली केही पर लगी सुमुसुम्याउँदै सुरुवाल खोली आफ्नो लिङ्ग मेरो योनीमा घुसाए । दुखेकोले म रुन कराउन थालेँ । पछि छोडी गएपछि हजुरबुबा खोज्दै आएकाले मैले सवै कुरो बताएकीले बाबु पौडेल क्षेत्रीलाई पक्राउ गरेका हुन् भन्ने समेत व्यहोराको खु कुमारीले गरेको कागज ।
मिति २०६२।१०।१५ गते नातिनी खु कुमारी र मीना रसाइली दिसा गर्न भनी घरदेखि केही पर रहेको झाडीमा गएका थिए । केही समयपछि मीना रसाइली फर्की आएकी र खकुमारी फर्की नआएकीले खोज्दै जाँदा रुँदै बसेको फेला पारी हेर्दा योनीबाट रगत बगिरहेको देखी सोद्धा घर जाँदै गरेको बाबु पौडेल क्षेत्रीलाई देखाउँदै निजले करणी गरेको भनेकीले हारगुहार गरी स्थानीय मानिसहरूलाई समाउन लगाई खुकुमारीलाई उपरचारको लागि लुम्बिनी अञ्चल अस्पताल वुटवलमा ल्याएको हुँ भन्ने समेत व्यहोराको गुबहादुरले गरेको कागज ।
मिति २०६२।१०।१५ गते खु कुमारी समेत दिसा गर्न घरदेखि केही पर झाडीमा गएको अवस्थामा बाबु पौडेल क्षेत्रीले समाई जबर्जस्ती करणी गरेका हुन् भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्का ।
वर्ष ५ की खकुमारीलाई प्रतिवादी बाबु पौडेल क्षेत्रीले जबर्जस्ती करणी गरी मुलुकी ऐन जबरजस्ती करणीको १ नं विपरीत ३ (ख) बमोजिमको कसूर अपराध गरेको देखिएकोले ऐ. महलको ३ (१) नं बमोजम सजाय गरी १० नं बमोजिम प्रतिवादी बाबु पौडेल क्षेत्रीको आधा अंश सर्वस्व गरी पीडितलाई दिलाई भराई दिने माग दावीसहितको अभियोगपत्र ।
२०६२।१०।१५ गते बिहान ९.३० बजेको समयमा मैले १ वोतल रक्सी सेवन गरी खोलातर्फ नुहाउन गएको अवस्थामा दुई जना केटी दिसा गर्न लागेको देखी म गई दुई जनामध्ये खकुमारीको योनीमा वाँया हातको चोर औंलाभित्र पसाई चलाएको हो । मैले कसैलाई नभन्नु भने पछि त्यहाँबाट रुँदै आफ्नो घरतर्फ गएका हुन् । त्यसपछि जाहेरवाला समेतले मलाई कुटपीट गरे । मैले जाहेरीबमोजिम मेरो लिंग योनीमा पसाली करणी गरेको होइन, अँगुलो घुसारेकोमा कानूनले तोकेको सजाय भोग्न तयार छु भन्ने समेत प्रतिवादी बाबु पौडेल क्षेत्रीले अदालतसमक्ष गरेको बयान ।
अदालतका आदेशानुसार जाहेरवाला कुबहादुर प्रहरीमा कागज गर्ने सन्तलाल रसाइली, मीना रसाइली, बिमला रसाइली, कमला रसाइली समेतले गरेको बकपत्र ।
आदेशानुसार पाल्पा जिल्ला अदालतबाट मिति २०६३।८।२९ मा भइआएको अंश रोक्का मुचुल्का मिसिल सामेल रहेको ।
२०६२।१०।१५ गतेका दिन प्रतिवादी बावु पौडेल क्षेत्रीले वर्ष पाँच की नाबालिका खुकुमारीलाई जबर्जस्ती करणी गरी मुलुकी ऐन, जबर्जस्ती करणीको १ नं बमोजिमको कसूर अपराध गरेको पुष्टि हुन आएकाले निज प्रतिवादीलाई अभियोग मागदावीबमोजिम जबर्जस्ती करणीको महलको ३(१) नं बमोजिम ११ वर्ष कैद हुने ठहर्छ । सो ठहरेकाले ऐ १० नं बमोजिम पीडितलाई आधा अंश भराइदिनु पर्नेमा प्रतिवादी बाबु पौडेलको वतनमा कुनै घरबास नभएको भन्ने पाल्पा जिल्ला अदालतको २०६३।८।२९ को अंश रोक्का मुचुल्का तथा निज र निजका बाबुका नाममा दर्तास्रेस्ता नरहेको भन्ने मालपोत कार्यालय, पाल्पाबाट पत्र प्राप्त भएकाले सो तर्फ केही बोलिरहन परेन भन्ने शुरु रुपन्देही जिल्ला अदालतको फैसला ।
जबर्जस्ती करणीको ३ नं को कसूर ठहर भएपछि १० नं बमोजिम पीडितलाई प्रतिवादीको आधा अंश दिलाई दिनु पर्नेमा प्रतिवादीका नाउँमा केही सम्पत्ति नरहेको भन्ने व्यहोरा जनाई अंश भराउनेतर्फको दावी सम्बन्धमा केही नबोली भएको हदसम्मको फैसला त्रुटिपूर्ण हुँदा अभियोग दावीबमोजिम प्रतिवादीको आधा अंश पीडितलाई दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन ।
वारदातको प्रत्यक्षदर्शी मीना रसाइलीले औंला घुसारेको देखेको भनी अदालतसमक्ष गरेको बकपत्रलाई प्रमाणमा नलिई केवल अनुसन्धान अधिकारीसमक्षको बयानलाई आधार लिई सजाय ठहर गर्ने गरेको फैसला त्रुटिपूर्ण छ । मैले पीडितलाई जबर्जस्ती करणी गरेको होइन । जाहेरवालासमेतले करणी गरेको देखिन भनी भनेको अवस्थामा सजाय ठहर गर्न मिल्ने नहुँदा शुरु फैसला उल्टी गरी सफाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन जिकीर।
वर्ष ५ की बालिकाको यौनाङ्ग नै क्षतविक्षत भई च्यातिएको भागलाई Repair समेत गर्नु परेको भन्ने चिकित्सकको प्रतिवेदनबाट देखिन आएको अवस्थामा पुनरावेदक प्रतिवादीले जिकीरलिए झै निजले पीडितको योनीमा केवल आफ्नो हातले औंलासम्म घुसाएका होलान् भनी सम्झन मिलेन । यी प्रतिवादी पूर्ण वयष्क देखिए का र नाबालिका वर्ष ५ की खुकुमारीलाई जबर्जस्ती करणी गर्न लाग्दा कोमल यौनाङ्ग क्षतविक्षत भै पूर्ण वयष्क व्यक्तिको लिङ्गमा चोट नदेखिएको पनि हुन सक्ने नै देखिँदा नाबालिकाको शारीरिक परीक्षणबाट देखिएको चोट र निजले गरेको बयानलाई बेवास्ता गरी प्रतिवादीले जिकीरलिए झैं निजले करणी नगरेका होलान भन्न सकिएन ।
प्रतिवादी बाबु पौडेलले वर्ष ५ की नाबालिका खकुमारीलाई जवर्जस्ती करणी गरेकै देखिंदा निजलाई जवर्जस्ती करणीको १ नं को कसूरमा ऐ ३(१) नं बमोजिम सजाय हुने ठहराई भएको शुरुको फैसला अन्यथा नदेखिँदा अभियोग दावीबाट सफाई पाउनु पर्ने भन्ने प्रतिवादी बाबु पौडेलको पुनरावेदन जिकीरमुनासिव देखिन आएन ।
अंश नदिलाए तर्फ शुरुको फैसला हेर्दा शुरुले प्रतिवादीबाट पीडितलाई आधा अंश दिलाई दिनु नपर्ने भनी निष्कर्षमा पुगी ठहर निर्णय गरेको नभई प्रतिवादी बाबु पौडेल तथा निजका बाबु रामसिँह पौडेलका नाउँमा दर्ता स्रेस्ता कायम नदेखिएको भन्ने आधारमासम्म अंश दिलाउनेतर्फ केही गरिरहनु नपर्ने भनी फैसला गरेको देखिन्छ । यस स्थितिमा पछि कहिँकतैबाट पीडक बाबु पौडेल क्षेत्रीका नाउँमा कुनै सम्पत्ति अंश कायम हुन आएको देखिएमा यसै मुद्दाको आधारमा सो सम्पतिबाट कानूनबमोजिम अंशमा दावी गर्न सकिने नै हुँदा हाल उक्त शुरुको फैसला अन्यथा गरिरहनु पर्ने अवस्थासमेत देखिन आएन । प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीलाई मुलुकी ऐन जवर्जस्ती करणीको ३(१) नं बमोजिम सजाय हुने ठहराई प्र.र. निजका बाबुको नाउँमा कुनै सम्पत्ति नदेखिएको आधारमा सम्म ऐ को १० नं बमोजिम आधा अंश दिलाउनेतर्फ केही गरिरहनु नपर्ने भनी गरेको शुरु रुपन्देही जिल्ला अदालतको मिति २०६३।१०।१८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, वुटवलको मिति २०६४।६।१ को फैसला ।
पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । मैले पीडितलाई जबर्जस्ती करणी गरेको नभई रक्सीको मात लागेको बेला योनीमा औलासम्म घुसाएको भनी गरेको बयानलाई गलत अर्थ लगाई सजाय गरेको त्रुटिपूर्ण छ । पीडितको स्वास्थ्य परीक्षण गरी दिइएको प्रतिवेदनमा पीडितको यौनाङ्ग जबर्जस्ती करणीबाटै क्षतविक्षत भएको भन्ने खुल्दैन । डाक्टरको बकपत्रबाट पनि मैले जबर्जस्ती करणी गरेको भन्ने खुल्दैन । पुनरावेदन अदालतले एकातिर जबर्जस्ती करणीको वारदात स्थापित नभएको तथ्यलाई मान्ने र अर्कोतिर जबर्जस्ती करणीको ९ क नं बमोजिम अप्राकृतिक मैथुन पनि जबर्जस्ती करणीको परिभाषाभित्रै पर्ने भनी मलाई बिना प्रमाण दोषी ठहर गरेको निर्णय त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरिपाऊँ भन्ने समेत प्रतिवादीको तर्फबाट मिति २०६४।२।१२ मा दर्ता हुन आएको पुनरावेदन पत्र ।
नियमबमोजिम पेशीसूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता अमिता दीक्षितले गर्नु भएको बहस समेत सुनी पुनरावेदन अदालतको फैसला मिले नमिलेको के रहेछ ? सोही विषयमा निर्णय दिनु पर्ने देखियो ।
२. निर्णयतर्फ विचारगर्दा मिति २०६२।१०।१५ का दिन बिहान ९.०० वजेको समयमा घरदेखि केही पर झाडीमा दिशा गर्न गएकी वर्ष ५ की खकुमारीलाई यी पुनरावेदक प्रतिवादीले जवर्जस्ती करणी गरेको भनी जाहेरी परी प्रस्तुत बिवादको उठान भएको देखियो । पीडित वर्ष ५ की नाबालिका देखिन्छिन् । निजको शारीरिक परीक्षणबाट योनीको Valva सुनिएको Perineal tear (3c.m.x 1.5 c.m) hymen torn,loose vaginal orificeinserting 2 fingers easily due to perineal tear भन्ने उल्लेख भई सो घाउहरू केही घण्टाभित्रैको भएको, घाउबाट रगत बगिरहेको, पीडितलाई अपरेशन थिएटरमा लगी बेहोस गराई च्यातिएको यौनाङ्गलाई सिलाउनु परेको भन्दै पीडित बालिका खकुमारीको सो घाउ वयष्क लोग्ने मानिसको उत्तेजित लिङ्ग वा सोही अकारको बोदो वस्तुबाट भएको भन्ने उल्लेख भएको देखिन्छ । साथै सोही प्रतिवेदनमा यस्तो खालको घाउ अन्य कुनै वस्तुबाट हुने सम्भावना विरलै हुनसक्ने भन्ने समेत चिकित्सकको राय रहेको देखियो । पीडित वर्ष ५ की बालिका खुकुमारीको यौनाङ्गको सो घाउहरूको प्रकृतिबाटै निजमाथि करणीजन्य अपराध भइरहेको कुरामा यस अदालतले अन्यथा शंका गरिरहनु पर्ने देखिदैन ।
३. पीडित बालिका वर्ष ५ की खुकुमारीउपर यिनै पुनरावेदक प्रतिवादीले जबर्जस्ती करणी गरेको भन्ने किटानी जाहेरी परेको छ । प्रतिवादी अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा पीडित बालिकालाई जबर्जस्ती करणी गरेको कुरामा सावित रहेका छन् भने अदालतसमक्ष बयान गर्दा पीडितको योनीमा आफ्नो औंला घुसाएको तर लिङ्ग भने नपसाएको भनी पीडित बालिकाको यौनाङ्गमा करणीजन्य कार्य गरेको तथ्यमा सावित रहेका छन् । यी पुनरावेदक प्रतिवादीले शुरु तथा पुनरावेदन अदालतबाट भएको फैसलाउपर चित्त नबुझाई यस अदालतमा पुनरावेदन गर्दा आपूmले पीडित बालिकालाई जाहेरी दरखास्त र अभियोगपत्रमा उल्लेख भएबमोजिम जबर्जस्ती करणी गरेको होइन औलासम्म घुसाएको भन्ने जिकीर लिएको देखिन्छ । तर वारदात मिति समयमा पीडित वर्ष ५ की नाबालिका देखिन्छिन् भने यी पुनरावेदक प्रतिवादी वर्ष २५ को वयष्क युवा देखिएका छन् । पीडित बालिकाको मौकामा शारीरिक परीक्षण गर्ने डाक्टरले निजको योनी च्यातिएर क्षतविक्षत भई दुईवटा औला एकै पटक छिर्न सक्ने गरी ३ से.मी. ह् १.५ से.मी. बराबरको योनिद्वार च्यातिदिएको अवस्थालाई दर्शाउदै निज बालिकालाई बेहोस पारी सो च्यातिएको भाग अपरेशन गरी सिलाउनु परेको हृदयविदारक अवस्थालाई चित्रण गर्दै त्यस्तो विभत्स रुप पीडित बालिकामाथि वयष्क व्यक्तिको लिङ्ग वा लिङ्गकै आकारको वस्तु घुसारेको कारणले भएको भनी आफ्नो राय दिएका र त्यसलाई समर्थन हुने गरी अदालतमा आई बकपत्र समेत गरिदिएको देखिन्छ ।
४. पुनरावेदक प्रतिवादीकै मौकाको बयानलाई हेर्दा पनि पीडित बालिकासँगै दिसा गर्न गएकी अर्को बालिका मीना रसायली घरतिर गएपछि पीडित बालिकालाई निज प्रतिवादीले सुमसुम्याई उत्तेजित लिङ्ग निजको योनीमा घुसाउँदा वच्ची रुन थालेको तथ्य उजागर गरेका छन् भने अदालतको बयानमा लिङ्ग योनीमा घुसाएको भन्ने तथ्य सम्मलाई वङ्गयाई योनीमा औला घुसाएको भनी अन्य आरोपित वारदातको कसूरजन्य क्रियामा सावितै रहेका छन् । यस अदालतमा दिएको पुनरावेदन पत्रमा पनि लिङ्ग छिराएको होइन, औंला छिराएको हो भन्नेसम्मको जिकीरलिई कम सजायको याचना गरेको अवस्था छ । तर पुनरावेदक प्रतिवादीको मौकाको बयान र अदालतको बयान समेतबाट निजले रक्सी खाएपछि आफ्नो लिङ्ग उत्तेजित भएको र करणी गर्न मन लागेको कारणले खोला नजिकको वारदात स्थलमा दिसा गरिरहेकी वर्ष ५ की अवोध बालिकालाई निजको साथी घरतिर गएपछि सुमसुम्याउँदै केही पर लगेपछि बालिकाको यौनाङ्गमा आफ्नो लिङ्ग घुसाई करणी गरेको तथ्य सिलसिलेवार रुपमा पुष्टि भइरहेको अवस्था छ । पीडित बालिकाको यौनाङ्ग शल्यक्रियाद्वारा सिलाउनु परेको भनी सम्बन्धित चिकित्सकले दिएको प्रतिवेदन र अदालतमा निजले गरेको बकपत्रलाई यस अदालतले अन्यथा अर्थ गरिरहनु पर्ने कुनै औचित्य पनि छैन । पीडित बालिकाको अदालतसमक्षको बकपत्र र चिकित्सकको भनाईबाटै पीडित बालिकाको योनीमा वयष्क पुरुषको उत्तेजित लिङ्ग जबर्जस्ती घुसाई योनी क्षतविक्षत च्यातिएको प्रमाणित भइरहेको र त्यस्तो कार्यमा यी पुनरावेदक प्रतिवादी बाहेक अन्य कसैको पनि संलग्नता नरहेको यस स्थितिमा यी पुनरावेदक प्रतिवादीले पीडित वर्ष ५ की खुकुमारीलाई जबर्जस्ती करणी गरी अभियोग दावीअनुसार अपराध गरेको प्रमाणित हुन आयो ।
५. प्रस्तुत वारदातमा यी पुनरावेदक प्रतिवादीको लिङ्गमा घाउ चोट नभएको कुरालाई पनि प्रतिवादीको निर्दोषिताको प्रमाण मान्न सकिँदैन । ५ वर्षकी अवोध बालिका, जसलाई यौन अंग के हो ? करणी के हो ? भन्ने जस्ता कुराको कुनै ज्ञान नै हुँदैन, त्यस्ती बालिकाउपर २५ वर्षका जवान प्रतिवादीले करणी गर्दा निजको लिङ्गमा कुनै घाउ खत वा दाग हुनुपर्ने अवस्था नै आउँदैन । सवल पुरुषको उत्तेजित लिङ्गको सामान्य घर्षण वा प्रवेशबाटै बालिकाको यौनाङ्ग च्यातिनु कुनै अस्वाभाविक घटना होइन र यस्तो अवस्थामा यस अदालतले एक अवोध बालिकामाथि भएको जबर्जस्ती करणी जस्तो नृशंश एवं निर्मम अपराधमा यी पुनरावेदक प्रतिवादीको लिङ्गको घाउ खतका चिन्हहरूको विद्यमानता रहे नरहेको भन्ने आधारमा यी प्रतिवादीप्रति कुनै सहानुभूति दर्शाउनु पर्ने देखिँदैन ।
६. पुनरावेदक प्रतिवादीले पीडित बालिकाको योनीमा औंला घुसाएको भने पनि निजले औंला घुसाएको भनेकै आधारमा जवर्जस्ती करणीको आरोपबाट निजलाई कम सजाय हुने अवस्था पनि देखिँदैन । निजले औलामात्रै घुसाएको भए पीडित वालिकासँगै रहेकी अर्को वालिका घर तर्फ गएपछि यी पीडित खुकुमारीलाई प्रतिवादीले फकाउँदै खोलातिर लैजानु पर्ने स्थिति पनि पर्दैन । प्रतिवादीबाट पीडित बालिकामाथि भएको आपराधिक कार्यको जुन सृंखला मिसिल संलग्न प्रमाणमा देखिएको छ, त्यसबाट यी प्रतिवादीले पीडित खुकुमारीलाई जवर्जस्ती करणी गरेको तथ्य स्वतः स्थापित हुन्छ ।
७. मानव सभ्यताउपर नै कलङ्क लगाउने गरी एक अवोध नाबालिकाउपर यी प्रतिवादीबाट जबर्जस्ती करणी जस्तो जुन अमानवीय एवम निर्लज्ज अपराध भएको छ त्यसको गम्भीरतासमेतलाई हेरी पुनरावेदक प्रतिवादीउपर सजायको निर्धारण गर्नु नै उचित हुने देखिन्छ । त्यसैले यी पुनरावेदक प्रतिवादीले वर्ष ५ की अवोध बालिका खकुमारीलाई अभियोग दावीबमोजिम जवर्जस्ती करणी गरेको पुष्टि भएकोले जबर्जस्ती करणीको महलको १ नं को कसूरमा सोही महलको ३(१) नं बमोजिम नै सजाय हुने देखियो ।
८. तसर्थ माथि विवेचना गरिएको आधार र कारण समेतबाट यी पुनरावेदक प्रतिवादी बाबु पौडेल क्षेत्रीले पीडित वर्ष ५ की खुकुमारीलाई जर्वजस्ती करणी गरेको अभियोगमा जवर्जस्ती करणीको महलको ३(१) नं बमोजिम कैद वर्ष ११ एघार) गरी सोही महलको १० नं बमोजिम निज प्रतिवादीको आधा अंश पीडित बालिकालाई भराई दिने गरी शुरु रुपन्देही जिल्ला अदालतले गरेको फैसला सदर गरेको पुनरावेदन अदालत, बुटवलको मिति २०६४।६।१ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार वुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.अवधेशकुमार यादव
इति संवत् २०६५ साल फागुन २१ गते रोज ४ शुभम.