निर्णय नं. ८१०९ - दामासाही गरिपाऊँ

निर्णय नं.८१०९ २०६६ असार अङ्क ३
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रेम शर्मा
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
२०६४—CI– १०५
०१–०६४–००७३९
फैसला मितिः २०६५।११।११।१
मुद्दा– दामासाही गरिपाऊँ ।
पुनरावेदक वादीः बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिका वडा नं.१० बस्ने कलाधरको छोरा वर्ष ३९ को काशीनाथ पौडेल
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ.बस्ने इन्द्रलाल सापकोटा समेत
शुरु फैसला गर्नेः
मा.जि.न्या.श्री करुणानिधि शर्मा
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री विश्वम्भरप्रसाद श्रेष्ठ
मा.न्या.श्री ईश्वरप्रसाद खतिवडा
§ बैंकमा धितो रहेको जग्गामा बैंकको ऋणचुक्ता नभएसम्म बैंकको अधिकार कायम रहने भएबाट बैकको ऋण चुक्ता भई सो सम्पत्ति बाँकी रहेमा मात्र उक्त बाँकी रहेको सम्पत्तिबाट अन्य साहूबाट लिएको भनिएको ऋणबापत बिगो भरी पाउने ठहर भएकाहरूको हकमा दामासाही हुन सक्ने ।
§ लेनदेन मुद्दा दायर हुँदासम्म प्रकाशमा नआएको जुनसुकै बखत पनि खडा गर्न सकिने घरसारको लिखतका आधारमा अदालतको फैसलाले बिगो भरी पाउने ठहर भएको साहूको थैलीलाई असर पर्ने गरी दामासाही गर्न कानून एवम् न्यायिक दृष्टिको प्रतिकूल हुन जाने ।
§ अदालतको फैसलाले थैली भरिपाउने ठहरिएका साहूको स्थिति र घरायसी लिखतका आधारमा साहू भनी घोषित गरेका साहूको स्थितिलाई समानस्तरमा राखेर समान मापदण्ड अपनाई हेर्नु न्यायोचित र विवेकसम्मत नहुने ।
§ बैंकमा धितो रहेको सम्पत्ति बैंकको ऋण असूल भएपछि बाँकी रही फुकुवा भएको अवस्थामा बाँकी रहेको सम्पत्तिबाट अदालतको फैसलाअनुसार बिगो भरिभराउ गरिपाउने ठहर भएबमोजिम बिगो भरिपाउने हुँदा अन्य प्रतिवादी सरह दामासाही हुने ।
(प्रकरण नं.३)
पुनरावेदकतर्फवाटः
प्रत्यर्थीतर्फवाटः
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ कृषि विकास बैंक ऐन, २०२४ को दफा २० र दफा २०(क)
§ दामासाही महलको १३, १४, १५ र १६ नं.
फैसला
न्या.प्रेम शर्माः न्याय प्रशासन ऐन,२०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः-
फिरादी म काशीनाथ बाबु , दाजुहरूसँग अंशवण्डा गरी छुट्टिई भिन्न भई मेरो परिवारमा मेरो १ मात्र श्रीमती, ३ नाबालक छोराहरू र २ नाबालक छोरीहरू गरी ७ अंशियारा भएकामा होटल व्यवसाय गर्दा ऋण लिई कारोबार समेत गर्दा घाटा व्यहोर्न परेको अवस्थामा २०६०।५।१५ का दिन विपक्षीहरूकहां पुगी मैले लिएको ऋण थाम्न सकिन नाबालक छोराछोरीको अंश एवं विवाह खर्च छुट्टयाई अरु मेरा हकको जेथाबाट मालको मूल्यको आधारमा लिई फुर्सद दिनु होस् भन्दा नमानेकाले विपक्षीहरूको मैले ऋण लिँदाको बखत यथार्थ विपक्षीहरूले तमसुक पेश गर्दाका बखत खुल्न आउने हुँदा हाल सम्झना भएसम्मको जम्मा ऋण १०,६०,०००।– साँवा खुलाई यो फिराद दामासाहीका १, ४, ५, ६, ७, १५, १६ नं. अन्तर्गत दावी गरेको छु । मेरो अंशवण्डा गरी लिई पाएको जग्गा समेतबाट बाग्लुङ कालिका वडा नं.८ कि.नं.१४४१ को क्षेत्रफल १–१२–०–० पाखो दोयम जग्गाभित्र बनेको पक्कीघरसहितको मूल्य रु.३,००,०००।—, कि.नं.४६८ को क्षेत्रफल ०—११—३—३ खेत दोयमको हाल पर्ने मूल्य रु.१,००,०००।– मात्र सम्पत्ति छ । दामासाहीका १६ नं. तथा दण्ड सजायको २६ नं. का आधारमा नाबालक ५ जना छोराछोरीको विवाह खर्च तथा अंश पर सारी मेरो अंशबाट साहूहरूको ऋण रकममा दामासाही गरी बुझाई मलाई फूर्सद दिलाई साहूहरूको नाममा भएको तमसुक फट्टा गरी केरी न्याय पाऊँ भन्नेसमेतको फिराद पत्र ।
बैंकका उपर प्रस्तुत फिराद दायर गर्ने हकदैया अ.वं.८२ नं.ले विपक्षीलाई छैन । विपक्षीले आफ्नो कि.नं.१४४१ क्षेत्रफल १–१२–०–० को जग्गा धितो दिई विपक्षीले तमसुकसमेत गरी दिई रु.५०,०००।– ऋण प्रवाह गरिएको थियो । उक्त ऋणको लागि धितो दिएको जग्गा अहिले दामासाही गरी पाउन दावी लिन पाउने अवस्था समेत छैन । साथै बैंक ऐन नियमहरू विशेष कानून भएको र विशेष कानू अन्तर्गतको प्रक्रिया अनुशरण गरी विशेष ऐनअन्तर्गत प्रदान गरिने ऋणको दायित्वबाट विपक्षी पन्छिन पाउने अवस्था नभएकोले सामान्य कानूनको साहरा लिई प्रस्तुत फिराद दायर गर्न पाउने हकदैया मुलुकी ऐन अ.वं.८२ नं.ले विपक्षीलाई नहुँदा अ.वं.१८० नं. ले खारेज गरिपाऊँ । खारेज नभै इन्साफ हुने हो भने पनि विपक्षीले फिरादमा यस बैंकबाट लिएको ऋण होटल मीठाई पसलमा लगानी गरेको भन्ने उल्लेख गर्नुभएको छ । जबकि विपक्षीले कृषि उपज बेच बिखनको लागि यस बैंकबाट ऋण कर्जा लिनु भएको हो । विपक्षीले लिएको ऋण कर्जाको साँवा व्याज बुझाउने भाखा नाघी सक्दा पनि बुझाउन कुनै चासो देखाउनु भएको छैन । बैंकलाई बुझाउनु पर्ने ऋण कर्जा नबुझाएमा कृषि विकास बैंक ऐन,२०२४ को दफा २०,२०(क) को अधिकार प्रयोग गरी धितोमा रहेकै जग्गाबाट बैंकको ऋण लगानी असूलउपर गर्नुपर्ने हुन्छ । दामासाहीको १३ नं. समेतले विपक्षीले धितो दिएको जग्गा ऋण तिरी फुकुवा भएपछि मात्र दर्ता गर्न सक्नुपर्नेमा सो १३ नं. विपरीत दायर भएको फिरादबाट अदालतले विपक्षीलाई मद्दत गर्ने अवस्थासमेत छैन । विपक्षीको माग दावीअनुसार दामासाही गर्नमा यस बैंकको मन्जूरी छैन । उल्लिखित कि.नं. १४४१ को जग्गा दामासाही गराउन यस बैंकको मन्जूरी समेत नभएको र मुलुकी ऐन दामासाहीको १३,१४,१५ नं. अनुसार उक्त धितोमा रहेको जग्गा दामासाही नहुने हुँदा विपक्षीको फिराद खारेज गरी बैंकलाई फुर्सद दिलाई पाऊँ भन्ने समेतको कृषि विकास बैंक शाखा कार्यालय बाग्लुङको प्रतिउत्तर पत्र ।
फिराद दावी झूठा हो । प्रस्तुत मुद्दा ऐन अन्तर्गत परेको छैन । अ.वं.७६ नं. को प्रतिकूल छ । मेरो वादीसँग लिनुपर्ने साँवा व्याजमा यस अदालतमा नालेस परेपछि सोही मुद्दाको परिणामलाई मध्यनजर राखी मेरो रुपैँया पचाई खाने नियतले मात्र नभएका साहू खडा गरी प्रस्तुत नालेस गरिएकोले अ.वं.१८० नं. बमोजिम खारेजभागी छ । साँवा ब्याज भराइपाऊँ भनी साहूको नालेस परेपछि त्यस्ता साहूको ब्याज समेत दामासाही गर्न पाउने गरी दामासाहीको महलमा व्यवस्था छैन । तसर्थ विपक्षीको झुठा नालेसबाट फुर्सद दिलाई विपक्षीले राखेको कोर्टफी समेत जफत गरी न्यायपाऊँ भन्ने समेतको प्रतिवादी इन्द्रलाल सापकोटाको प्रतिउत्तर पत्र ।
विपक्षीले हामी प्रतिवादीहरूसँग विभिन्न मितिमा नगद रुपैया बुझी लिनु भै तमसुक गर्ने कुराकानी हुँदाहुँदै तमसुक नभएका हामीबाट लिएको रुपैयाको साँवा ब्याज नदिई दामासाही मुद्दा दिनुभएको छ । सबै सम्पत्तिबाट दामासाही गराई भराई लिनुपर्नेमा विपक्षीको समेत अंशबाट दामासाही गरी साहूको लिखत समेत फट्टा गरी पाउनुपर्ने होइन । विपक्षी वादीको सम्पूर्ण सम्पत्तिबाट दामासाही गरी पाउनु पर्ने गरी न्यायपाऊँ र विपक्षी असामीलाई भाखा दिन पनि प्रतिवादी हामीहरूको मन्जूरी नभएको हुँदा प्रतिवादी हामीहरूको साँवा व्याज असूलउपर गरिपाऊँ भन्ने समेतको प्रतिवादीहरू देवराज उपाध्यायसमेत जना ७ को संयुक्त प्रतिउत्तर पत्र ।
विपक्षीले मसँगबाट रु.१०,०००।– लिएको भनी फिरादमा उल्लेख गरे तापनि विपक्षीबाट मैले रु.१३,५२०।– तथा सोको ब्याज समेत पाउनु पर्ने बाँकी छ । विपक्षीको ऋण तिर्न पुग्ने प्रशस्त सम्पत्ति छ । विपक्षीले दिए नगदै मेरो रकम दिलाइपाऊँ नदिए मेरो हक हिस्सा सुरक्षित गरिपाऊँ भन्ने समेतको टीकराम सापकोटाको प्रतिउत्तर पत्र ।
हामी प्रतिवादीहरूबाट वादीले विभिन्न मितिमा तमसुकी तथा बेतमसुकी रुपैया समेत बुझिलिई गै हालसम्म साँवा ब्याज केही कत्ति दिनु भएको छैन । वादीको नाममा रहेको सम्पूर्ण जायजेथाबाट प्रतिवादी हामीहरूले हालसम्मको साँवा ब्याज भराई लिन पाउनु पर्ने हो । वादीले होटल व्यवसायसमेत गरेर नोक्सान परे तापनि हामीहरूको धनमा वादीले दामासाही गराउन पाउने होइनन् । साँवा ब्याज भराई पाउन वादीबाट भाखा एवं मौका दिन उपयुक्त नभएको हुँदा हामीहरूको साँवा ब्याज भराईपाऊँ भन्ने समेतको प्रतिवादी जयलाल सापकोटासमेत जना ५ को प्रतिउत्तर पत्र ।
प्रतिवादीहरू बलबहादुर शाक्य, केशव पौडेल, मुकुन्दप्रसाद सापकोटा, विष्णु शर्मा समेतका नाउँको इतलायनामा म्याद क्रमश २०६०।१०।२७, २०६०।१०।२३, २०६०।१०।२३, २०६०।१०।२२, २०६०।९।१६ मा टाँस भै तामेल भएकोमा निज प्रतिवादीहरूले प्रतिउत्तर नगरी शुरू म्यादै गुजारी बसेको पाइयो ।
वादी र उपस्थित प्रतिवादीहरू कसैले पनि आफ्ना साक्षी उपस्थित गराई बकपत्र गराउन नसकेको अवस्था रहेछ । यसमा हकदैयारहित फिरादबाट न्यायिक निरुपण हुन नसक्ने हुँदा प्रस्तुत मुद्दाको तथ्यमा प्रवेश गरी वादीले दावीबमोजिम दामासाही गराउन पाउने हुन होइनन् भन्ने कुराको न्यायिक निरुपण गर्नुपर्ने अवस्था रहेन । अतः कृषि विकास बैंक जस्तो वित्तीय संस्थाले धितो लिई दिएको ऋणको जेथा एवं भगवती गुठीको नाउँ दर्ताको जग्गासमेतको जेथा देखाई दामासाही गरिपाऊँ भन्ने वादीको फिराद दावी, तथ्ययुक्त कानूनी हकदैया अनुरूपको नदेखिँदा यस्तो फिराद दावीबाट इन्साफ गर्न नमिल्ने भै वादीको दावी अ.वं.८२।१८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु बाग्लुङ जिल्ला अदालतको मिति २०६१।५।१६ को फैसला ।
यसमा कि.नं.१४४१ तथा ४६८ का जग्गाहरू समेत बाहेक अन्य जग्गाहरू भएमा प्रत्यर्थी प्रतिवादीहरूले देखाई लिनसक्ने कानूनी व्यवस्था छ भने मेरो नाममा भएका कि.नं. १४४१ को जग्गा कृषि विकास बैंकमा ऋण लिदैंमा पूरा जग्गा कृषि विकास बैंकको स्वामित्वमा हुने होइन् भने कि.नं. ४६८ को जग्गा अंशवण्डाबाट समेत पाइआएको हुँदा खरिदबिक्री हुनसक्ने जग्गासमेतलाई कुनै ध्यान नदिई हकदैयाको अभाव देखाई फिराद खारेज गर्न मिल्दैन भन्ने समेत व्यहोराको पुनरावेदक वादी काशीनाथ पौडेलकोतर्फ बाट पुनरावेदन अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा वादी दावी खारेज गरेको फैसला विचारणीय देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थीहरूलाई झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने व्यहोराको पुनरावेदन अदालतको संयुक्त इजलासबाट भएको मिति २०६२।२।१८।४ को आदेश ।
यसमा पुनरावेदक वादीले फिरादमा उल्लेख गरेको कि.नं.४६८ को जग्गा के कसको नाउँमा दर्ता छ । निजी गुठी वा के कस्तो गुठीको जग्गा हो जवाफसहितको दर्तास्रेस्ता उतारको प्रमाणित प्रतिलिपि सम्बन्धित मालपोत कार्यालयबाट झिकाउने र प्रतिवादी इन्द्रलाल सापकोटाको प्रतिउत्तरमा उल्लिखित दे.नं.१२३ को लेनदेन मुद्दा निजले यिनै वादीउपर दायर गरेको सो मुद्दा बाग्लुङ जिल्ला अदालतबाट मिति २०६१।५।१६ मा र यस पुनरावेदन अदालतबाट मिति २०६१।१२।३ मा फैसला भई बिगो भराउने कार्यवाही भइरहेको भनी निजकोतर्फ बाट कानून व्यवसायीले बहसमा भन्नुभएको सो मिसिल कागजात समेत झिकाई साथै राखी उक्त कार्य सम्पन्न भएपछि नियमानुसार पेश गर्नु भन्ने व्यहोराको मिति २०६३।४।३०।३ को पुनरावेदन अदालत संयुक्त इजलासबाट भएको आदेश ।
यसमा दामासाहीको ५ नं. बमोजिमको सूचना नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक बाग्लुङमा सम्म शुरु जिल्ला अदालतले पठाएको देखियो । सो दामासाहीको ५ नं. बमोजिमको सूचना अन्य जनसम्पर्क हुने कार्यालयहरूमा समेत टाँस गर्न पठाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको मिति २०६३।६।३१।३ को आदेश ।
पुनरावेदक वादीले उल्लेख गरेका जग्गामध्ये कि.नं.१४४१ को जग्गा कृषि विकास बैंकबाट लिएको ऋणबापत धितो रहेको देखिँदा बैंकमा धितो रहेको सम्पत्ति बैंकको ऋण असूल भएपछि बाँकी रही फुकुवा भएको अवस्थामा सम्म अन्य साहूको हक पुग्ने भएबाट कि.नं.१४४१ को जग्गाबाट दामासाही हुन सक्दैन । प्रतिवादी मध्येका इन्द्रलाल सापकोटाले दायर गरेको लेनदेन मुद्दाको फिरादअनुसार तह–तह अदालतको फैसलाअनुसार बिगो भरी भराउ गरी पाउने ठहरिएको र बिगो भरी भराउ दरखास्त परेको अवस्था देखिँदा निजले बिगो भरी पाउने ठहर भएको हदसम्मको कुरामा पनि अन्य प्रतिवादी सरह दामासाही हुने देखिएन । तसर्थ पुनरावेदक वादीले उल्लेख गरेका जग्गा कृषि विकास बैंंकको ऋण असूली भई बाँकी रही फुकुवा भएमा र अदालतको फैसलाले बिगो भरी पाउने ठहर भएका प्रतिवादी इन्द्रलालको बिगो भरिभराउ भई सम्पत्ति बाँकी रहेमा सो बाँकी रहेको हदसम्मको सम्पत्तिमा दामासाहीका महलको १६ नं. बमोजिमको सम्पत्ति पर सारी प्रतिवादीमध्येका कृषि विकास बैक र प्रतिवादी इन्द्रलाल सापकोटा बाहेकका अन्य प्रतिवादीहरूका बीच दामासाही गरी दिने ठहर्छ । उपरोक्तबमोजिम दामासाही हुने ठहर गर्नुपर्नेमा वादी दावी नै खारेज गर्ने गरी शुरु बाग्लुङ जिल्ला अदालतले मिति २०६१।५।१६ मा गरेको फैसला केही उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत बाग्लुङको मिति २०६३।१०।२३।३ को फैसला ।
लेनदेन मुद्दाको प्रतिउत्तर पत्रमा दामासाही गरिपाऊँ भनी जिकीर आइसकेपछि लेनदेन मुद्दा दायर हुँदासम्म प्रकाशमा नआएको र जुनसुकै बखत पनि खडा गर्न सकिने घरसारको लिखतबमोजिम दामासाही हुने मनासिब आधार देखिँदैन भनी मिसिलभित्र नपसी हचुवाको भरमा उक्त आधार लिई मलाई हराउन मिल्दैन । प्रत्यर्थी प्रतिवादी इन्द्रलाल सापकोटाको लेनदेन मुद्दाको प्रमाण कागज पनि घरसारको ढिकुटीको रकम बापत बनाइएको कपाली तमसुकको पारित लिखत होइन । विवाद नै नभएका घरसारका लिखतहरूलाई अदालतबाट विवाद उठाउन मिल्दैन । पुनरावेदन अदालतबाट कृषि विकास बैंकबाट लिइएको ऋणमा दण्ड सजायको २६ नं. आकर्षित नहुने गरी र इन्द्रलाल सापकोटा बाहेकका अन्य साहूहरूको बाँकी जग्गाहरूमा मात्र गरिएको फैसला सो हदसम्म बदरभागी छ । प्रस्तुत मुद्दाको साथमा रहेको लेनदेन मुद्दासमेत झिकी बुझी मेरो जायजेथा वा नाबालक छोराछोरीहरू समेतको लागि छुट्याउनु पर्ने अंश विवाह खर्च , खाना अन्य समेत परसारी सम्पूर्ण साहूहरूलाई बराबर दामासाही गरिदिनुपर्नेमा सो नगरिएको हदसम्म पुनरावेदन अदालत बाग्लुङबाट मिति २०६३।१०।२३ मा गरिएको फैसला बदर गरी न्याय इन्साफ पाऊँ भन्ने पुनरावेदन पत्र । नियमबमोजिम दैनिक मुद्दा पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा दामासाहीका १६ नं. तथा दण्ड सजायको २६ नं. बमोजिमको आधारमा नाबालक ५ जना छोराछोरीको विवाह खर्च तथा अंश पर सारी मेरो अंशबाट साहूहरूको ऋण रकममा दामासाही गरी बुझाई दिलाई साहूहरूको नाममा भएको तमसुक फट्टा गरिपाऊँ भन्ने वादी दावी भएकोमा वादी दावी अ.वं.८२ र १८० नं. बमोजिम खारेज हुने ठहर गरी भएको बाग्लुङ जिल्ला अदालतको फैसला केही उल्टी गरी दामासाही हुने ठहर गरेको पुनरावेदन अदालत बाग्लुङको फैसलाउपर चित्त नबुझाई वादीले यस अदालतमा पुनरावेदन गरी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालतले दामासाही हुने ठहर गरेको फैसला मिलेको छ छैन सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. यसमा निर्णयतर्फ विचार गर्दा दामासाहीका १६ नं. तथा दण्ड सजायको २६ नं. बमोजिमको आधारमा नाबालक ५ जना छोरा छोरीको विवाह खर्च तथा अंश पर सारी मेरो अंशबाट साहूहरूको ऋण रकममा दामासाही गरी बुझाई मलाई फूर्सद दिलाई साहूहरूको नाममा भएको तमसुक फट्टा गरिपाऊँ भन्ने माग दावी देखिन्छ । विपक्षीको माग दावीअनुसार दामासाही गर्नमा यस बैंकको मन्जूरी छैन । उल्लिखित कि.नं. १४४१ को जग्गा दामासाही गराउन यस बैंकको मन्जूरीसमेत नभएको र मुलुकी ऐन दामासाहीको १३,१४,१५ नं. अनुसार उक्त धितोमा रहेको जग्गा दामासाही नहुने हुँदा विपक्षीको फिराद खारेज गरिपाऊँ भन्ने कृषि विकास बैंक शाखा कार्यालयको तथा मेरो वादीसँग लिनुपर्ने साँवा ब्याजमा अदालतमा नालेस परेपछि सोही मुद्दाको परिणामलाई मध्यनजर राखी मेरो रुपैंया पचाई खाने नियतले मात्र नभएका साहू खडा गरी प्रस्तुत नालेस दिएको अवस्था छ । साँवा ब्याज भराइपाऊँ भनी साहूको नालेस परेपछि त्यस्ता साहूको ब्याजसमेत दामासाही गर्न पाउने गरी दामासाहीको महलमा व्यवस्था नभएकोले फिराद खारेज गरिपाऊँ भन्ने समेत प्रतिवादी इन्द्रलाल सापकोटाको प्रतिउत्तर जिकीररहेको देखिन्छ । त्यसै गरी विपक्षीले हामी प्रतिवादीहरूसँग विभिन्न मितिमा नगद रुपैया बुझी लिई लिएको रुपैयाँको साँवा व्याज नदिएको हुँदा दामासाहीमा हाम्रो मन्जूरी छैन भनी प्रतिवादीहरू देवराज उपाध्याय समेत जना ७ ले र ऋण तिर्न पुग्ने प्रशस्त सम्पत्ति विपक्षीसँग हुँदा निजको जायजेथाबाट साँवा व्याज भराई लिन पाउनु पर्ने हो दामासाही गराउन पाउने होइन भनी टीकाराम सापकोटा र जयलाल सापकोटा समेत जना ५ ले प्रतिउत्तर जिकीरलिएको देखिन्छ ।
३. यसमा निर्णयतर्फ विचार गर्दा सर्व प्रथमतः कृषि विकास बैंकमा धितो राखिएको सम्पत्ति दामासाही गर्न मिल्ने हो होइन सोतर्फ हेर्दा कि.नं.१४४१ को ज.रो. १–१२–०–० जग्गा २०५६।९।६ मा कृषि विकास बैक शाखा कार्यालय बाग्लुङमा धितो राखी ऋण लिएको देखिन्छ । सो बमोजिम लिएको ऋण चुक्ता भएको भन्ने नभई ऋण तिर्न बाँकी छ भन्ने स्वयम् पुनरावेदक वादीको भनाई रहेको पाइन्छ । कृषि विकास बैंकमा ऋणबापत धितो राखिएको जेथाबाट सबै धनीहरूको रकममा दामासाही गरिपाऊँ भन्ने दावी रहेको देखिन आयो । विशेष ऐन अर्थात् कृषि विकास बैंक ऐन, २०२४ अन्तर्गत स्थापित बैंकसँग संस्थागत तवरमा भएको कारोबारको कुरालाई घरसारमा तयार गरिएको लिखतले असर पुर्याउने हो भने बैंकिंङ कारोबारको सुरक्षण नै खतरामा पर्न जानेलाई अस्वाभाविक भन्न मिलेन । बैंकमा धितो रहेको उल्लिखित सम्पत्ति कृषि विकास ऐन, २०२४ को दफा २० र दफा २०(क) मा व्यवस्थित प्रावधानका अतिरिक्त मुलुकी ऐन, दामासाहीको महलको १४ नं. समेतका कानूनका आधारमा अरु साहूको ऋणबापत दामासाही हुन सक्ने अवस्था नै हुन आउदैन । तसर्थ बैंकमा धितो रहेको कि.नं. १४४१ को जग्गामा बैंकको ऋणचुक्ता नभएसम्म बैंकको अधिकार कायम रहने भएबाट बैकको ऋण चुक्ता भई सो सम्पत्ति बाँकी रहेमा मात्र उक्त बाँकी रहेको सम्पत्तिबाट अन्य साहूबाट लिएको भनिएको ऋणबापत बिगो भरी पाउने ठहर भएकाहरूको हकमा दामासाही हुनसक्ने हुन्छ । अब कृषि विकास बैंकबाहेकका अन्य प्रतिवादीहरूका हकमा विचार गर्दा प्रतिवादी मध्येका इन्द्रलाल सापकोटा वादी र यस मुद्दाका पुनरावेदक वादी काशीनाथ पौडेल प्रतिवादी भई बाग्लुङ जिल्ला अदालतमा लेनदेन मुद्दा चलेकोमा सो मुद्दाका वादी इन्द्रलाल सापकोटाले दावीबमोजिमको बिगो भरी पाउने ठहरी बाग्लुङ जिल्ला अदालतबाट २०६१।५।१६।४ मा भएको फैसला पुनरावेदन अदालत बाग्लुङबाट २०६१।१२।१६।४ मा सदर भई अन्तिम भएको देखियो । यसरी लेनदेन मुद्दा दायर हुँदासम्म प्रकाशमा नआएको जुनसुकै बखत पनि खडा गर्न सकिने घरसारको लिखतका आधारमा अदालतको फैसलाले बिगो भरी पाउने ठहर भएको साहूको थैलीलाई असर पर्ने गरी दामासाही गर्न कानून एबं न्यायिक दृष्टिको प्रतिकूल हुन जान्छ । अदालतको फैसलाले थैली भरिपाउने ठहरिएका साहूको स्थिति र घरायसी लिखतका आधारमा स्वयम पुनरावेदक वादीले साहू भनी घोषित गरेका साहूको स्थितिलाई समानस्तरमा राखेर समान मापदण्ड अपनाई हेर्नु न्यायोचित र विवेक सम्मत पनि हुँदैन । अतः माथि उल्लेखि गरिएका आधार र कारणबाट पुनरावेदक वादीले उल्लेख गरेका जग्गामध्ये कि.नं.१४४१ को जग्गा कृषि विकास बैंकबाट लिएको ऋणबापत धितो रहेको देखिँदा बैंकमा धितो रहेको सम्पत्ति बैंकको ऋण असूल भएपछि बाँकी रही फुकुवा भएको अवस्थामा बाँकी रहेको सम्पत्तिबाट इन्द्रलाल सापकोटाको अदालतको फैसलाअनुसार बिगो भरिभराउ गरिपाऊने ठहर भएबमोजिम बिगो भरिपाउने हुँदा अन्य प्रतिवादी सरह दामासाही हुने देखिएन । तसर्थ पुनरावेदक वादीले उल्लेख गरेका जग्गा कृषि विकास बैंकको ऋण असूली भई बाँकी रही फुकुवा भएमा र अदालतको फैसलाले बिगो भरी पाउने ठहर भएका प्रतिवादी इन्द्रलालको बिगो भरी भराउ भई सम्पत्ति बाँकी रहेमा सो बाँकी रहेको हदसम्मको सम्पत्तिमा दामासाहीका महलको १६ नं. बमोजिमको सम्पत्ति पर सारी प्रतिवादी मध्येका कृषि विकास बैक र प्रतिवादी इन्द्रलाल सापकोटा बाहेकका अन्य प्रतिवादीहरूका बीच दामासाही हुने ठहर गर्नुपर्नेमा वादी दावी नै खारेज गर्ने गरी शुरु बाग्लुङ जिल्ला अदालतले २०६१।५।१६ मा गरेको फैसला केही उल्टी गरी कृषि विकास बैंक र इन्द्रलाल सापकोटाबाहेकका अन्य प्रतिवादीहरूका बीचमा दामासाही हुने ठहर गरेको पुनरावेदन अदालत बाग्लुङको मिति २०६३।१०।२३।३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रकाश वस्ती
इति संवत् २०६५ साल फागुन ११ गते रोज १ शुभम्…..
इजलास अधिकृतः पूर्णेश्वरप्रसाद उपाध्याय