शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८११० - शेषपछिको बकसपत्र बदर

भाग: ५१ साल: २०६६ महिना: असार अंक:

निर्णय नं.८११०   २०६६ असार     अङ्क ३

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रेम शर्मा

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

सम्वत् २०५९ सालको दे.पु.नं.८८९८

फैसला मितिः २०६६।१।१६।४

 

मुद्दा :शेषपछिको बकसपत्र बदर 

 

पुनरावेदक वादीः बारा जिल्ला, गंजभवानीपुर गा.वि.स.वडा नं.७ बस्ने अशोककुमार शाह

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ.बस्ने लालबाबु प्रसाद साह तेली समेत

 

शुरु फैसला गर्नेः

मा.जि.न्या.श्री शान्तिराज सुवेदी

पुनराबेदन फैसला गर्नेः

मा.न्या. श्री दुर्गाप्रसाद उप्रेती

मा.न्या.श्री हरिबहादुर बस्नेत

§  अंश मुद्दा दायर गरिसकेपछि फैसला नहुँदै आफ्नो अंश भागमा पर्न आउने सम्पत्ति शेषपछिको बकसपत्र गरिदिन नपाउने गरी दाता कृतरामलाई कानूनले रोक राक नलगाएको अवस्थामा दानबकसको १ नं.तथा अंशवण्डाको १९(४) नं. अनुसार आफ्नो अंश भागमा पर्ने सम्पत्ति निजले नातीहरूलाई शेषपछिको लिखत गरिदिन पाउने 

(प्रकरण नं.२)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री शम्भु थापा

प्रत्यर्थी प्रतिवादी तर्फवाटः वरिष्ठ विद्वान अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री जानकीप्रसाद गिरी

अवलम्वित नजीरः ने.का.प.२०५६, नि.नं. ६७२९, पृष्ठ ३९२

सम्बद्ध कानूनः

§  दानवकसको १ नं.

§  अंशवण्डाको १९(४)

फैसला

      न्या.प्रेम शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ः

      उर्मिलाले दे.नं.२५६६ को अंश मुद्दा कृतराम, लालबाबु र म फिरादीमाथि दिनुभएको मिति २०५३ साल जेठबाट नै अन्य अंशियार एवं विपक्षी समेतबाट अलग भएको प्रष्ट छ । त्यसै अवस्थामा पिता कृतराम म समेत सगोलमा नै रहेको अवस्थामा विपक्षीहरू समेत मिली षडयन्त्र गरी निजबाट मिति २०५५।३।३० मा दे.नं.२५९७ को अंश मुद्दा दिलाएछन् । साथै मिति २०५५।४।३१ मा शेषपछिको बकसपत्र पारित गराएछन् । त्यसमा विपक्षीहरू नावालक राकेशकुमार र अमरनाथको संरक्षक विपक्षी लालबाबु प्रसाद साह तेली हुनु भएको सो शेषपछिको बकसपत्रको प्रतिलिपि मिति २०५५।९।२१ मा लिँदा थाहा भयो । उक्त बकसपत्रको कागज गराएपछि सख्त विमारी हुनु भएका पिता कृतराम मिति २०५५।८।३ मा स्वर्गवास हुनु भयो । पिता स्वर्गे भएपछि अन्य सबै अंशियारलाई अलग पारी आफु भिन्न देखाउने उर्मिला साहले निज नावालक छोराहरूको संरक्षक भै कृतरामको मुद्दा सकार गर्नु भएको छ । अंशियारहरूबीच अंश मुद्दा चलिरहेको अवस्थामा सो मुद्दालाई असर गर्ने गरेर मिति २०५५।४।३१ मा कानून विपरीत शेषपछिको बकसपत्र पारित भएकोमा बसकपत्र गरिदिने कृतराम स्वर्गे भइसकेको हुँदा निजमाथि मुद्दा दिने स्थिति नभएकोमा सो बकसपत्र गैरकानूनी एवं बदरभागी छ । अंश हक जिन्दगीमा मात्र प्राप्त हुने हुँदा मृत्युपछि निज कृतरामको अंश विपक्षीहरूले पाउने नभई कानूनअनुसार सबै अंशियारले पाउने हो, अपुतालीको व्यवस्थाअनुसार अंशको सम्पत्ति जसले स्याहार गर्छ उसैले पाउने व्यवस्थालाई अन्यथा गर्न पाइने होइन । निज कृतरामको अंशियार तथा अपुताली खाने रेखदेख गर्ने काजकृया गरेको म समेत भएकोमा मेरो हकमा असर गर्ने अधिकार विपक्षीहरूलाई छैन । तसर्थ सो मिति २०५५।४।३१ को शेषपछिको बकसपत्र बदर गरी मुद्दामा लागेको खर्च विपक्षीबाट दिलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र   

      पिता कृतरामले आफ्ना नातीहरूलाई मिति २०५५।४।३१ गते पारित गरिदिनु भएको शेषपछिको बकसपत्र लिखत वादी दावीबमोजिम बदर हुनपर्ने होइन । पिता कृतरामले आफ्ना नातीहरूले रिझाएवापत आफ्नो अंश भागको सम्पत्ति आफ्नो शेषपछि आफूसरह लिनखान पाउने गरी बकसपत्र गरिदिने मनसुवा व्यक्त गर्दा नाबालक छोराहरूले समेत निजबाट शेषपछिको बसकपत्र गराइलिन मञ्जुर गर्दा निजहरूको पिताका नाताबाट निजहरूले उक्त लिखतमा सहिछाप गर्दा संरक्षकका नाताले निजहरूको सहिछाप आफ्नो रोहवरमा भएको हो भनी मैले सनाखतसम्म गरिदिएको अवस्थामा विपक्षीले म समेत उपर दायर गर्नु भएको प्रस्तुत फिराद गैरकानूनी हो । तसर्थ विपक्षीको झुठ्ठा बनावटी गैरकानूनी उजुर दावीबाट अलग फुर्सद गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी लालबाबु प्रसाद साह तेलीको प्रतिउत्तरपत्र 

      हाम्रा बाजेले आफ्नो अंश भागमा पर्ने आफ्नो हक पुग्नेसम्मको सम्पत्ति नै आफ्नो शेषपछिको बकसपत्र गरिदिएका हुन् । आफ्नो अंश हक भागसम्मको सम्पत्ति आफूखुस  गर्न पाउने किटानी कानूनी व्यवस्था दानबकसको १ नं.तथा अंशवण्डाको १९(४) नं.समेतमा रहेभएबाट उक्त ऐन प्रतिकूल विपक्षीले दायर गर्नुभएको प्रस्तुत फिराद खारेजभागी छ । मुद्दा चल्दाचल्दै बकसपत्र दिनेको मृत्यु भएमा निजले गरिदिएको शेषपछिको बकसपत्रबमोजिम निजको अंश भागको दैयादार बकस पाउने मानिन्छ भन्ने ने.का.प.२०३२ नि.नं.९२४, ने.का.प.२०४५ नि.नं.३५५० मा प्रतिपादित सिद्धान्त समेतबाट विपक्षीको फिराद खारेजभागी   । हामी नातीहरूले नै कृतरामको स्याहार हेरविचार सेवा आफ्नो सार्मथ्र्यअनुसार गरेको भन्ने लिखतबाटै स्पष्ट भएको छ र निज स्वर्गीय भएपछि गर्नुपर्ने कार्य हामी नातीहरूले नै गरिआएबाट आफ्नो जीवनकालमै बाजे कृतरामले गरिदिनु भएको उक्त लिखतमा कुनै कानूनी त्रुटी नहुँदा उक्त लिखत बदर हुने अवस्था छैन । तसर्थ विपक्षीको झुठ्ठा नालेसबाट अलग फुर्सद गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी राकेशकुमार र प्रतिवादी अमरनाथ प्रसाद साहका हकमा अनुमति लिई उर्मिला साहले दिएको प्रतिउत्तरपत्र 

      वादीका साक्षी राजेन्द्रप्रसाद साह, प्रतिवादी लालबाबुका साक्षी बिनोदप्रसाद र प्रतिवादी राकेशकुमार समेतको साक्षी रामबाबुप्रसाद साह तेलीले पृथक्पृथक् रुपमा गरेको बकपत्र 

      यिनै वादीले यिनै प्रतिवादी लालबाबुप्रसाद साह समेतका उपर उक्त शेषपछिको बसकपत्र लिखतलाई जालसाजीको संज्ञा दिई दायर गरेको दु.फौ.नं.२४२ को जालसाजी मुद्दामा प्रतिवादीले जालसाजी गरेको नठहरी आज यसै इजलासबाट फैसला भएको हुँदा सोही बुँदा प्रमाणका आधारमा बुझिएसम्मका प्रमाणबाट शेषपछिको बकसपत्र बदर गरिपाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु बारा जिल्ला अदालतबाट मिति २०५७।४।२९ मा भएको फैसला 

      शुरु बारा जिल्ला अदालतबाट भएको दु.फौ.नं.२४२ को जालसाजी मुद्दा समेतमा मैले गरेको पुनरावेदन जिकिरलाई प्रस्तुत पुनरावेदन पत्रको अभिन्न अङ्ग मानी मिति २०५५।४।३१ मा पारित शेषपछिको बकसपत्र लिखत जालसाजीबाट पारित भएबाट सो लिखत बदर गरिपाऊँ भन्ने व्यहोराको वादीको पुनरावेदनपत्र  

      यसै लगाउको अंश दर्ता मुद्दामा विपक्षी झिकाउने आदेश भएको कारणबाट यसमा पनि प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति २०५८।५।४ को आदेश 

      यिनै वादी यिनै प्रतिवादी समेत भएको यसै लगाउको दु.फौ.पु.नं.५२६ को जालसाजी मुद्दामा दावीको शेषपछिको बकसपत्र लिखत यी प्रतिवादीहरूले जालसाजी गरेको नठहर्ने भनी शुरु बारा जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहरी आज यसै इजलासबाट फैसला भएकोले सोही मुद्दामा उल्लेखित आधार प्रमाणसमेतबाट यसमा शेषपछिको बकसपत्र बदर गरिपाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्‍याई बारा जिल्ला अदालतबाट मिति २०५७।४।२९ मा भएको फैसला मनासिब देखिंदा सदर हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत हेटौँडाको मिति २०५८।१०।२८ को फैसला 

      आफ्नो अंश हकजतिको सम्पत्ति मुद्दा चल्दाचल्दैको अवस्थामा शेषपछिको बकसपत्र लिखत गरी दिनलिन पाउने भन्ने निर्णयाधार कीर्ते कागजको ३ नं.को परिप्रेक्ष्यमा बिलकुलै उपयुक्त छैन । अतः शुरु फैसला सदर गरेको पुनरावेदन अदालत हेटौँडाको फैसला दोहोर्‍याई हेरिपाऊँ भन्ने व्यहोराको वादीको यस अदालतमा परेको निवेदनपत्र 

      यसै लगाउको नि.नं.४०८९ मा आज यसै इजलासबाट दोहोर्‍याउने निस्सा प्रदान भएको हुँदा सोही आधारबाट प्रस्तुत निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा  (१) को खण्ड (क) बमोजिम दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०५९।९।१७ को आदेश  

      नियमबमोजिम दैनिक मुद्दा पेशी सूचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको सम्पूर्ण मिसिल अध्ययन गरियो 

      पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री शम्भु थापाले मुद्दा पर्दापर्दैको अवस्थामा कृतरामले पारित गरिदिएको शेषपछिको बकसपत्र लिखत कायम रहन नसक्ने हुँदा पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्दछ भनी बहस गर्नुभयो । प्रत्यर्थी लालबाबुप्रसादका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री जानकीप्रसाद गिरी तथा प्रत्यर्थी राकेशकुमार र अमरनाथ समेतका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहालले आफ्नो अंश भागको सम्पत्ति नातीहरूलाई शेषपछिको बकसपत्र गरिदिन कृतरामलाई कानूनले रोक नलगाएको हुँदा पुनरावेदन अदालतको फैसला बदर हुने अवस्था छैन भनी बहस गर्नुभयो 

      उल्लिखित बहस समेत सुनी पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ छैन भन्ने विषयमा निर्णय दिनुपरेको छ 

      २.    निर्णयतर्फ विचार गर्दा, कृतरामले नातीहरू राकेशकुमार र अमरनाथप्रसादलाई मिति २०५५।४।३१ मा पारित गरिदिएको शेषपछिको बकसपत्र लिखत बदर हुनुपर्दछ भन्ने नै पुनरावेदकको मुख्य जिकिर रहेको देखियो । उक्त बकसपत्रको लिखत हेर्दा, मेरो अंश हक भागमा पर्ने मेरो अंश हक भागजतिको श्रीसम्पत्ति तिमी नातीहरूले लिनखान पाउने गरी शेषपछिको बकसपत्र लेखिदिएको छु भन्ने दाता कृतरामले व्यहोरा लेखेको पाइन्छ । कृतरामले आफू वादी भई मिति २०५५।३।३० मा प्रस्तुत मुद्दाका वादी पुनरावेदक यी अशोककुमार साह समेतका विरुद्ध अंश पाऊँ भनी मुद्दा दायर गरेपछि सो मुद्दा फैसला नहुँदै मिति २०५५।४।३१ मा विवादको बकसपत्र लिखत गरिदिएको र लिखत गरिदिएपछि मिति २०५५।८।३ मा निजको मृत्यु भएको देखिन्छ । यसरी अंश मुद्दा दायर गरिसकेपछि फैसला नहुँदै आफ्नो अंश भागमा पर्न आउने सम्पत्ति शेषपछिको बकसपत्र गरिदिन नपाउने गरी दाता कृतरामलाई कानूनले रोक लगाएको पाइँदैन । दानबकसको १ नं.तथा अंशवण्डाको १९(४) नं.अनुसार आफ्नो अंश भागमा पर्ने सम्पत्ति निजले नातीहरूलाई शेषपछिको लिखत गरिदिन पाउने नै देखिन्छ 

      ३.    यसै सन्दर्भमा आफ्नो अंश हकको सम्पत्ति शेषपछिको बकसपत्र लिखत गरिदिएकोमा बकसपत्रदाताको अंश हकको सम्पत्ति बकस पाउनेमा सर्ने भनी मथुरा चिपालु विरुद्ध मनोज चिपालु भएको २०५४ सालको दे.पू.इ.नं.१२६ को हक कायम मुद्दा (ने.का.प.२०५६ नि.नं.६७२९ पृष्ठ ३९२) मा पूर्ण इजलासबाट सिद्धान्त प्रतिपादन भइरहेको देखिएबाट समेत उक्त मिति २०५५।४।३१ को शेषपछिको बकसपत्र लिखत बदर गरिपाऊँ भन्ने वादीको दावी पुग्न नसक्ने हुँदा दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत हेटौँडाको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार बुझाइदिनू 

 

उक्त रायमा म सहमत छु 

 

न्या.प्रकाश वस्ती

 

इति संवत् २०६६ साल वैशाख १६ गते रोज ४ शुभम्

 

इजलास अधिकृत : मातृकाप्रसाद आचार्य

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु