शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६७६३ - लेनदेन

भाग: ४१ साल: २०५६ महिना: मंसिर अंक:

निर्णय ६७६३       ने.का.प. २०५६      अङ्‍क ८

पूर्ण इजलास

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

माननीय न्यायाधीश श्री केदारनाथ आचार्य

माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल

माननीय न्यायाधीश श्री ज्ञाइन्द्रवहादुर श्रेष्ठ

इति संवत् २०५१ सालको दे.पु.इ.नं.... ६४

फैसला मिति २०५६।१।२३।५

मुद्दा : लेनदेन ।

पुनरावेदक/वादी : जि. सप्तरी गा.वि.स . कोइलाडी वडा नं १० वस्ने अनिलकुमार सिंह

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी : जि.सप्तरी गा.वि.स. झुटकी वडा नं १ वस्ने अशोक कुमार सिंह

§  लेनदेन व्यवहारको महलले कपाली लिखत र कपाली सरहको लिखतमा तात्विक अन्तर गरेको पाइदैन ।  कपाली सरह भराई लिन पाउँछ भन्ने वाक्यले कपाली लिखतमा अवलम्वन गरिने प्रकृयावाट नै भरी पाउने भन्न जनाउंछ । कपाली सरहको लिखतलाई कपाली लिखतको परिधि भन्दा वाहिर राखेको देखिदैन कपाली सरह भरी पाउने भन्ने शव्दावलीले भरी पाउने सम्वन्धी सवै कुरालाई अंगाल्ने हुँदा हदम्यानलाई मात्र वाहेक गरेको अर्थ गर्न मिल्दैन । तसर्थ कपाली सरहको लिखतमा पनि कपाली लिखतमा आकर्षित हुने लेनदेन व्यवहारको २ नं. नै आकर्षित हुने  भई नालिश गर्न १० वर्षको हदम्याद लाग्ने हुँदा त्यस्तोमा लेखिए देखि वाहेकको अवस्थालाई संकेत गर्ने लेनदेन व्यवहारको ४० नं ले निर्धारित गरेको २ वर्षको हदम्याद नलाग्ने ।

(प्र. नं. १५)

§  हदम्यादको गणना कहिले देखि गर्ने भन्ने सम्वन्धमा विचार गर्दा विवादित लिखत सम्वन्धी मुद्दाको अन्तिम दुङ्गो लागेपछि मात्र पारित हुने नहुने भन्ने कुराको जानकारी हुने भई तत्पश्चात सो निर्णय अनुसारको प्रकृया पक्षले अवलम्वन गर्नुपर्ने र मुद्दा अन्तिम टुङ्गो लाग्ने समयावधी भने पक्षको अधिनमा नहुने हुँदा लिखत मितिलाई नै हदम्यादको गणना हुने मिति भन्दा कपाली सरह भरी पाउने नालिस गर्ने म्याद व्यति भैसकेको अवस्था पनि पर्न सक्दछ । यसवाट पारित हुने लिखत कपाली सरह भएको वा कपालीमा परिणत भएको मितिलाई नै नालिश गर्नुपर्ने हदम्याद शुरु हुने मिति मान्नु कानूनसम्मत औचित्यपूर्ण एवं न्यायोचित्त समेत देखिने 

(प्रं.नं १६)

§  केशरवहादुर राजभण्डारी विरुद्ध पूण्य विक्रम राणा भएको कपाली सावा व्याज समेत भराई पाउँ भन्ने मुद्दामा लिखित पारित हुन नसकी कपाली सरह भएकोमा लेनदेन व्यवहारको ४० नं ले २ वर्षको हदम्याद कायम गरेको तीन जना न्यायाधीश रहेको पूर्ण इजलासको सिद्धान्त (ने.का.प. २०४८ अंक १२, नि.नं. ४४३६ पृष्ठ ८५४) संग सहमत हुन सकिएन । लिखत पारित नभई कपाली सरह भएको मितिवाट १० वर्षको हदम्याद कायम गरी वादीले सांवा व्याज भरी पाउने ठहर्‍याएको शुरु सप्तरी जि.अ.का् इन्साफ सदर गरेको हदसम्मको तीन जना न्यायाधीश रहेको पूर्ण इजलासवाट मिति २०५५।५।१९ मा भएको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने ।

(प्र.नं. १७)

पुनरावेदन तर्फवाट विद्वान अधिवक्ता श्री शतिस कृष्ण खरेल

प्रत्यर्थी तर्फवाटः ×

अवलम्वित नजीर : ध्यानवहादुर राई विरुद्ध वखतवहादुर भएको लेनदेन मुद्दा (ने.का.प. २०५२ , अंक ५, नि.नं ५०९९, पृ. ३८१०)

फैसला

    न्या. उदयराज उपाध्यायः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(२) वमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको सक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छ ।

    २.   विपक्षीको म संग रु.१४,०००। लिई निजको नाउं दर्ताको जिल्ला सप्तरी गा.वि.स झुटीकी वार्ड नं २ (क) को कि.नं २४७ को ०१० कि.नं ४१० को ०१०११ कि.नं ४२४ को ०१२१६ समेत १५ जग्गा ०३४।३।२५।७ मा राजिनामा लिखत लेखिएकोमा म्याद भित्र सो लिखत पारित गरी नदिएकोले लिखत पारित मुद्दा दिई मालपोत कार्यालयमा पारित गराउन जांदा सो जग्गा कृषि विकास वैकलाई मिति ०३७।५।२६ मा धितो लिखत लेखि दिएकोले पारित गराउन मिलेन भनेको हुँदा धितो वदर गराउन मैले दिएको नालिसमा सो लिखत वदर हुने ठहरी सगरमाथा अंचल अदालत राजविराज वेन्च समेतवाट ०४२।२।१६ मा फैसलमा भएको छ । सो फैसलमा उपर प्रतिवादीको पुनरावेदन पर्दा वादी दावी पुग्न नसक्ने ठहर्‍याई ०४४।५।२३ मा पूर्वान्चल क्षेत्रीय अदालत धनकुटावाट फैसला भएको । सो फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन पर्दा पूर्वान्चल क्षेत्रीय अदालत धनकुटाको फैसला मिलेकै देखिंदा पुनरावेदन जिकीर पुग्न सम्दैन भनि ०४५।१०।१९ मा अन्तिम फैसला भएपछि सो लिखत कपाली हुन आएकोले उक्त साँवा रु.१४,०००। र कानूनले हुने व्याज रु.१४,०००। समेत जम्मा रु.२८,०००। समेत प्रतिवादीवाट भपाई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।

    ३.   वादीले २०३४।३।२५ को राजिनामा लिखत पारित नभई कपाली हुन आएको भनि ०४६।५।९ मा फिराद दायर गरेको हुँदा वादीको नालिस लेनदेन व्यवहारको २ नं अनुसार लाग्न सक्ने होइन । लिखत मितिदेखि दश वर्ष भित्र नालिस गर्नुपर्नेमा सो नगरी हदम्याद नाघी दायर भएको हुँदा खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउक्तर पत्र ।

    ४.   ०३६।५।१२ को मितिवाट समेत ०४६।५।९ को अवधिलाई १० वर्ष नाघेको भन्न नमिली २० वर्ष भित्रकै भएकोवाट फिराद हदम्याद नाघी दायर भएको भनि मान्न मिलेन । अव कागज गरेको कुरामा प्रतिवादीले स्वीकार गरेको साथै सावा व्याज तिरी वुझाई सकेको भन्ने कुनै जिकिर प्रमाण समेत नदेखिंदा वादी दावी वमोजिमको सांवा रु.१४,०००। तथा सो को मिति ०३४।३।२५ वाट कानून वमोजिम हुन आउने व्याज समेत वादीले प्रचिवादीवाट भराई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको सप्तरी जिल्ला अदालतको मिति ०४६।११।१५।२ को फैसला ।

    ५.  शुरु अदालतको इन्साफमा चित्त वुझेन । रजिष्ट्रेशन को ६ नं र लेनदेन व्यवहारको २ नं को व्यवस्था विपरित हदम्याद नघनाई दायर भएको वादीको नालिस खारेज गर्नु पर्नेमा नगरी म वाट विगो भरी पाउने भनि भएको शुरु अदालका फैसला उल्टाई वादी दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको तत्कालीन सगरमाथा अंचल अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।

    ६.   लिखत मिति ०३४।३।२५ मा खडा भएकोमा सो लिखतको सांवा व्याज दिलाई पाउँ भनि वादी अनिलकुमार सिंहले मिति ०४६।५।९ मा फिराद दायर गरेको, लेनदेन व्यवहारको २ नं मा लिखमत मितिवाट १० वर्ष भित्र नालिस दिनु पर्नेमा हदम्याद नघाई फिराद दिएको लिई इन्साफ गरेको शुरु सप्तरी जिल्ला अदालतको फैसला मिलेको नदेखिंदा अ.वं २०२ नं वमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति ०४८।८।१९ को आदेश ।

    ७.  लेनदेन व्यवहारको २३ नं. प्रस्तुत मुद्दामा आकर्षित हुन सक्दैन । रजिष्ट्रेशनमा ६ नं वमोजिम पारित हुनुपर्ने लिखत पारित हुन नसकी कपाली सरह हुन आएको अवस्थामा लेनदेन व्यवहारको २ नं ले लिखत भएको मितिवाट हदम्यादको गणना गर्नुपर्ने भै सोही मितिवाट १० वर्ष भित्र दावी गर्नुपर्ने  देखिन्छ । रजिष्ट्रेशन पारित हुन नसक्ने भनि मालमोत कार्यालयले दरपिट गरेको अथवा धितो लिखत वदर मुद्दाले धितो वदर नहुने भनि अन्तिम फैसला भएको मितिवाट रजिष्ट्रेशन पारित नभएको लिखतको थैलीमा दावी गर्ने हदम्यादको गणना गर्न मिल्ने देखिदैन । लेनदेन व्यवहारको २ नं अन्तर्गतको हदम्यादभित्र नपरको ०३४।३।२५ को कपाली तमसुक उपरको नालीस खारेज हुनेमा इन्साफ गरेको शुर सप्तरी जिल्ला अदालतको मिति ०४६।११।१५ को इन्साफ उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति ०४९।३।२४ को फैसला ।

    ८.   पुनरावेदन अदालत राजविराजवाट भएको उक्त फैसलामाचित्त वुझने सर्वोच्च अदालतको फैसला पश्चात मिति २०४६।५।९ मा परेको मेरो नालिसलाई लेनदेन व्यवहारको २ नं. लागू गरी हदम्याद भित्रको नभएको भनि भएको पुनरावेदन अदालत राजविराजको इन्साफ उल्टी गरी शुरु इन्साफ यस अदालतमा परेको पुनरावेदन पत्र ।

    ९.   लिखत पास हुन ठहरी २०३६।४।७ मा पास पूर्जि पाएकोमा सो पास पूर्जि वमोजिम पास गर्ने समय ३५ दिन समेत गर्दा २०४६।५।९ सो १० वर्ष भित्रै पर्ने देखिएको त्यसमा पनि आफ्नो लिखत पासगरी पाउन वादीले चलाएको धितो वदर मुद्दा सर्वोच्च अदालतवाट २०४५।१०।९ मा मात्र अन्तिम निर्णय भै लिखत पास नहुने कुराको अन्तिम टुंगो लाग्न गएको प्रस्तुत मुद्दाको अवस्थामा हदम्याद नाघेको भन्न नमिल्ने हुँदा अ.वं २०२ नं. वमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भनने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५०।११।२२ को आदेश ।

    १०.  धितो लिखत वदर मुद्दा टुंगो नलाग्दै धितो लिखत वदर नभएसम्म वादीलाई त्यस्तो लिखत कपाली हुने कुरा थाहा जानकारी पनि नहुने र सो लिखतलाई कपाली मान्नु पर्छ भन्ने कानूनी प्रावधान रहे भएको पनि पाइदैन । तसर्थ वादीलाई पारित हुने ठहरीएको राजिनामा लिखतमा हस्तान्तरण गरिएका जग्गाहरु विषयकै धितो लिखत वदर मुद्दा वदर नभएपछि मात्र कपाली अन्तर्गत सांवा व्याज भराई माग्न दावी लाग्ने स्पष्ट छ । राजिनामा गरी लिएको जग्गाहरु आफ्नो स्वामित्वमा पूर्णरुपमा ल्याउने न्यायको निम्ति प्रारम्भकालदेखि नै वादी सचेत तथा जागरुक रही निरन्तर प्रयत्नशिल रहेको यस स्थितिमा राजिनामा लिखत भएको मितिलाई कपाली लिखत भएको मिति सरह मानी सोही मितिदेखि लेनदेन व्यवहारको २ नं वमोजिम १० वर्षको हदम्याद कायम गरी सो हदम्याद नाधी अवधारणाको सामिप्यमा समाविष्ठ हुन नसकी सकारात्मक एवं विकशित नव अवधारणालाई विश्राव चिन्ह लगाई सो विचारधारामा अनिकाल पार्ने तर्फ उन्मुख हुन दिनु कानून र न्याय दुवै दृष्टिकोणले नमिल्ने कुरा हुन जान्छ । राजिनामा लिखत वमोजिमको जग्गाहरु पारित हुने ठहर भै लिखतमा लेखिएका जग्गाहरु पारित हुने ठहर भै लिखतमा लेखिएका जग्गा धितो रोक्का पारित हुन नसकी परिणामतः कपाली हुन गएको लिखतको सन्दर्भमा लेनदेन व्यवहारको महलमा अन्यत्र हदम्यादको प्रावधान गरेको नदेखिएकोले लेनदेन व्यवहारको महलको ४० नं अनुसार हदम्याद २ वर्ष लाग्ने छलङ्ग छ । अतः एवं मिति २०४५।१०।९ मा श्री सर्वोच्च अदालतवाट धितो लिखत वदर मुद्दामा धितो वदर नहुने अन्तिम फैसला भएको मितिले मिति २०४६।५।९ मा लेनदेन व्यवहारका महलको ४० नं. अनुसार २ वर्ष भित्र फिराद परेको देखिदा हदम्याद नाघी फिराद परेको भन्न मिल्ने देखिएन । दावी वमोजिमको लिखतमा लेखिएको रकम सम्पूर्ण वा आशिक वुझाई सकेको छु भन्ने प्रतिवादीको कथन नभएको स्थितिमा सांवा व्याज समेत भरी पाउने ठहर्‍याए सम्मको शुरु सप्तरी जिल्ला अदालतको इन्साफ मुनासिव ठहर्छ । हदम्याद खिलाफको भनि पुनरावेदन अदालत राजविराजले गरेको खारेजी फैसला नमिलेकोले उल्टी हुन्छ । पुनरावेदन अदालत राजविराजको फिराद खारेज गरेकोलाई सदर गरेको माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको रायसंग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम (३)१)(क) वमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको मानीय श्री ओमभक्त श्रेष्ठको राय ।

    ११.  धितो वदर मुद्दा परी धितो वदर नहुने ठहरी मिति २०४५।१०।९ मा यस अदालतवाट फैसला भए पश्चात प्रस्तुत मुद्दाको फिराद लेनदेन व्यवहारको २ नं तथा रजिष्ट्रेशनको ६ नं लाई आधार लिई २०४६।५।९ मा परेको देखिन्छ । रजिष्ट्रेशनको ६ नं. मा लिखत वमोजिमको सम्पत्ति भोग गर्न नपाएकोमा भोग गर्न नपाए जतिको कानून वमोजिमको व्याज समेत कपाली सरह भराई लिन पाउने व्यवस्था रहेको र लेनदेन व्यवहारको २ नं मा तमसुक भएका मितिले दश वर्ष भित्र नालिस गर्नुपर्ने स्पष्ट कानूनी व्यवस्था रहेकोछ । वादी दावीको राजिनामाको लिखत रजिष्ट्रेशन पारित हुने फैसमला वमोजिम पास पूर्जि लिई वादी मालपोत कार्यालय सप्तरीमा जांदा कृषि विकास वैकमा धितो रही रोक्का रहेको कारणवाट रजिष्ट्रेशन हुन नसकेको लिखत रजिष्ट्रेशनको ६ नं. ले कपालीमा परिणत हुने देखिन्छ तर सो रजिष्ट्रेशनको ६ नं को हदम्यादको व्यवस्था गरेको नदखिंदा कपाली तमसुकको हकमा लेनदेन व्यवहारको २ नं को हदम्यादको व्यवस्था आकर्षित हुने देखिन आयो र उक्त २ नं. मा तमसुक भएका मितिले दशवर्ष भित्र नालिस गर्नुपर्ने स्पष्ट कानूनी व्यवस्था रहे भएको पाइन्छ । लेनदेन व्यवहारको २ नं अन्तर्गतको हदम्याद भित्रको भनि २०३४।३।३५ को गलत लिखत उपर मिति २०४६।५।९ मा नालिस परेको छ प्रस्तुत विवाद सम्वन्धी लिखत २०३६।३।७ को पासपूर्जि वमोजिम पारित हुन नसकी रजिष्ट्रेशनको ६ नं ले कपाली सरह भएको देखिन्छ । यसवाट पनि दश वर्षभित्र नालिस परेको भन्ने कुरा देखिन आएन । यसका अतिरीक्त कुनै लेनदेनको लिखत पारित हुन नसकी परिणामतः कपाली हुन आएको लिखतका सम्वन्धमा लेनदेन व्यवहारको ४० नं को दुईवर्षको हदम्याद लाग्ने भनि यस अदालत पूर्ण इजलासवाट ने.का.प. ०४८,पृष्ठ ८५४ मा प्रकाशित निर्णय नं ४४३६ को कपालीमा व्याज समेत दिलाई पाउँ भन्ने मुद्दामा सिद्धान्त प्रतिपादित भएको समेत देखिएको हदम्याद नत्थी नालिस परेको भनि नालिस खारेज गरेका पुनरावेदन अदालत राजविराजको इन्साफ मुनासिव ठहर्छ । शुरु इन्साफ सदर गरी पुनरावेदन अदालत राजविराजको इन्साफ उल्टी गरेको माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको रायसंग म सहमत नहुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) वमोजिम पूर्ण इजलासमा पेश गर्नु भनने समेत व्यहोराको माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५१।८।९ को फैसला ।

    १२.  विवादिन लिखत नगद रुपैया लिने दिने शर्तमा भएको नभै जग्गाको हक हस्तान्तरण गरी दिने शर्तमा प्रतिवादी अशोककुमारले रु.१४,०००। वादीवाट वुझिलिएको देखिन आएवाट सो लिखत वमोजिमको कृया पुरा भएको भए प्रस्तुत मुद्दाको फिराद गर्नुपर्ने अवस्था पर्ने नै निएन सो मिति २०३४।३।२५ को लिखत रजिष्ट्रेशन पारित हुने ठहरी मिति ०३६।४।७ मा वादीले पास पूर्जि लिई सो पूर्जि वमोजिम पास गराउन जाँदा पास हुन नसकेवाट प्रस्तुत नालेश गर्नुपर्ने अवस्थामा श्रृजना भएको देखिन आउंछ । उक्त पास पूर्जीको म्याद ०३६।५।११ सम्म रहेकोवाट सो मिति पछि नै लिखत कपाली भएको माननुपर्ने हुन्छ । सो मितिले १० वर्षभित्र २०४६।५।९ मा प्रस्तुत फिराद पर्न आएको देखिएकोले लेनदेन व्यवहारको २ नं. को हदम्याद नाघी फिराद परेको भन्न मिलेन । फिराद २०३६।३।११ वाट लिखत कपाली सरह भएको मितिवाट हदम्याद भित्रै परेको देखिन आउंछ । फिराद दावी हदम्याद भित्रकै देखिन आएको भन्ने आधारमा वादी दावी वमोजिमका सांवा ब्याज भराउने ठहर गरेको सप्तारी जिल्ला अदालतको इन्साफ सदर गरी पुनरावेदन अदालत राजविराजको फैसला उल्टी हुने ठहर्‍याएको माननीए न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय मनासिव ठहर्छ तर ने.का.प. २०४८, नि.नं ४४३६, पृष्ठ संख्या ८५४ को मुद्दामा यस अदालत पूर्ण इजलासवाट लिखत कपाली भएको मितिले लेनदेन व्यवहारको ४० नं. को हदम्याद भित्र नालेश गर्नुपर्ने भनी प्रतिपादित सिद्धान्तसंग को इजलास सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(२) वमोजिम प्रस्तुत मुद्दा तीनजना भन्दा वढी न्यायाधीशहरुको पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत पूर्ण इजलासवाट मिति २०५५।५।९ मा भएको फैसला ।

    १३.  नियम वमोजिम पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फवाट रहनु भएका विद्धान अधिवक्ता श्री शतिस कृष्ण खरेलले राजिनामाको लिखत भएको मितिवाट नभै राजिनामा लिखत कपालीमा परिणत भएको मितिवाट लेनदेन व्यवहारको २ नं अनुसार १० वर्षको हदम्याद शुरु हुनु पर्छ, त्यसैले हदम्याद भित्रको फिराद मानी शुरु हुन पर्छ त्यसैले हदम्याद भित्रको फिराद मानी शुरु सप्तरी जि.अ.ले सांवा व्याज भराई लिन पाउने ठहर्‍याएको फैसलालाई सदर गरेको पूर्ण इजलासको मिति २०५५।५।१९ को फैसला कायम हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नु भयो ।

    १४.  उपर्युक्त वहस जिकिर समेत सुनी प्रस्तुत मुद्दाका संपूर्ण मिसिल कागजात अध्ययन गरी हेर्दा मिति २०३४।३।२५ मा गरिएको राजिनामा लिखत विपक्षीले पारित गरी नदिएकोले मुद्दा परी लिखत पास पूर्जि २०३५।४।७ मा पाएकोमा सो जग्गा कृषि विकास वैकलाई धितो दिएकोवाट पूर्जि वमोजिम पारित हुन सकेन । सो धितो वदर गरी पाउँ भनी मुद्दा गरेकोमा सर्वोच्च अदालतवाट २०४५।१०।९ मा धितो वदर नहुने गरी अन्तिम फैसला भएवाट उक्त लिखत कपाली हुन गएकोमा सांवा व्याज भराई पाउँ भन्न मुख्य माग दावी लिई फिराद परेको प्रस्तुत मुद्दामा वादीलाई रुपैया वुझाउन वांकी छैन रुपैया वुझाउनु पर्ने होइन हदम्याद नाघी फिराद परकोले फिराद खारेज हुनुपर्छ भन्ने नै प्रतिवादीको प्रतिवाद रहेको देखिन्छ । वादी दावी वमोजिम सांवा भराई दिने गरी शुरु सप्तरी जिल्ला अदालतले फैसला गरेकोमा पुनरावेदन अदालत राजविराजले लेनदेन व्यवहारको २ नं. अन्तर्गतको हदम्याद भित्र नपरेको कपाली तमसुक उपरको नालिस खारेज हुनेमा इन्साफ गरेको भनी शुरु सप्तरी जि.अ. को फैसला उल्टी गरेको देखिन्छ । सो उपर यस अदालतमा पुनरावेदन परेकोमा यस अदालत सयुक्त इजलासमा निजै पक्ष विपक्ष वीच चलेको  दोहोरो लिखत वदर गरी पाउँ भन्ने मुद्दामा २०४५।१०।९ मा यस अदालतवाट अन्तिम निर्णय भएको मितिवाट लेनदेन व्यवहारको ४० नं. को मयाद  अर्थात २ वर्ष भित्रकै नालेश भएकोले सांवा व्याज भरी पाउने ठहर्छ भभन्ने र लिखत मितिले १० वर्षको हदम्कयाद नघाई फिराद परेकोले खारेज हुन्छ भन्ने पृथक राय भई पूर्ण इजलास समक्ष पेश हुन आएको र तीन जना न्यायाधीशहरुको पूर्ण इजलासवाट लिखत कपाली भएको मितिले १० वर्ष भित्र नालेश गर्नुपर्ने सिद्धान्त कायम गरि फिराद दावी वमोजिम सा.वा व्याज भराउने ठहरगरेको सप्तरी जि.अ. को इनसाफलाई नै सदर गरेको देकखिन्छ । तर पूर्णइजलासवाट ने.का.प. २०४८ नि.नं ४४२६ पृष्ठ ८५४ को मुद्दामा लिखत कपाली भएको मितिले लेनदेन व्यवहारको ४० नं को हदम्याद भित्र नालेश गर्नुपर्ने भनी यस अघिपूर्ण इजलासले प्रतिपादन गरेको सिद्धान्तसंग सहमत हुन नसकेको भनी प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको अवस्था छ । यस स्थितिमा लिखत भएको मिति वा कपाली सरह भएकोमा लिखत भएको मिति वा कपाली सरह भएको मिति मध्ये कुन मितिले नालिश गर्ने हदम्याद शुरु हुने हो ? त्यस्तोमा लेनदेन व्यवहारको २ नं वा ४० नं मध्ये कुन आकर्षित हुने हो ? भन्ने जस्ता प्रश्नहरुको निरुपण गरी प्रस्तुत मुद्दा टुङ्गो लगाउनु पर्ने देखिन्छ ।

    १५.  प्रथमतः यस सम्वन्धमा के कस्तो कानूनी व्यवस्था रहेछ भनी हेर्दा लेनदेन व्यवहारको २ नं मा तमसुक भएका मितिले दश वर्ष भित्र केही व्याज असुल पनि नभएको भाखापत्र पनि नगराएकोमा सो म्यादपछि नालिस लाग्न सक्तैन । दश वर्षको वीचमा भाखापत्र गराएको वा केही व्याज असुल गरेको रहेछ भने सो मितिले फेरी दश वर्षको म्याद पाउँछ भन्ने र ऐ.को ४० नं मा यस महलमा अन्यत्र हदम्याद लेखिएको वा हदम्याद लाग्दैन भनेको कुरामा वाहेक अरुमा भए गरेको मितिले दुई वर्ष भित्रनालिस नदिए लाग्न सक्तैन भन्ने उल्लेख भएको पइन्छ । त्यस्तै रजिष्ट्रेशनको ६ नं. मा रजिष्ट्रेशन गराउनु पर्ने घरायसीको लिखत यस्त महलको ५ नम्वर वमोजिम रजिष्ट्रेशन गराई लिन सकेको रहेनछ भने त्यस्तो लिखतवमाट कुनै अंचल समपत्ति पक्री दावी गरेको नालिस लाग्न सक्तैन । थैली परेकोमा सो थैली र लिखत वमोजिमको सम्पत्ति भाग गर्न नपाएकोमा भोग गर्न नपाए जतिको कानून वमोजिमको व्याज समेत साहुले कपाली सरह भराई लिन पाउँछ भन्ने उल्लेख भएको पाइन्छ । लेनदेन व्यवहारको महलले कपाली लिखत र कपाली सरहको लिखतमा तात्विक अन्त गरेको पाइदैन । कपाली सरह भराई लिन पाउँछ भन्ने वाक्यले पाउँछ भन्ने वाक्यले कपाली लिखतमा अवलम्वन गरिने प्रकृयावाट नै भरी पाउने भन्ने जनाउँदछ, कपाली सरहको लिखतलाई कपाली लिखतको परिधिभन्दा वाहिर राखेको देखिदैन । कपाली सरह भरी पाउने भन्ने शव्दावलीले भरी पाउने समवन्धी सवै कुरालाई अंगाल्ने हुँदा हदम्यादलाई मात्र वाहेक गरेको अर्थ गर्न मिल्दैन । तसर्थ कपाली सरहको लिखतमा पनि कपाली लिखतमा आकर्षित हुने लेनदेन व्यवहारको २ नं नै आकर्षित हुने भई नालिश गर्न १० वर्षको हदम्याद लाग्ने हुँदा त्यस्तोमा लेखिए देखि वाहेकको अवस्थालाई संकत गर्ने लेनदेन व्यवहारका ४० नं ले निर्धारित गरेको २ वर्षको हदम्याद लाग्ने भएन ।

    १६.  जग्गा राजिनामा गरी दिने गरी साहु असामी वनी रुपैया लिनुदिनु गरी भएको लिखत पारित हुने अवस्थाको छैन वा पारित हुन सक्दैन भने त्यो लिखत कानूनले नै कपाली सरह हुन्छ र कपाली भएपछि सो मा उजूर गर्ने हदम्यमाद लेनदेन व्यवहारको २ नं. ले १० वर्षको हुन्छ । लेनदेन व्यवहारको ४० नं आकर्षित हुदैन भनी ध्यान वहादुर राई विरुद्ध वखत वहादुर भएको लेनदेन मुद्दामा यस अदालतको तीन जना न्यायाधीश रहेको पूर्ण इजलासवाट सिद्धान्त (ने.का.प. २०५२ अंक ५, नि.नं. ५०९९ पृ.३८१) कायम भएको समेत देखिन्छ । हदम्यादको गणना कहिले भएको समेत देखिन्छ । हदम्यादको गणना कहिले देखि गर्ने भन्ने सम्वन्धमा विचार गर्दा विवादित लिखत सम्वन्धी मुद्दाको अन्तिम टुङ्गो लाग्ने समयावधी भने पक्षको अधिनमा नहुने हुँदा लिखत मितिलाई नै हदम्यादको गणना हुने मिति  मान्दा कपाली सरह भरी पाउने नालिसं गर्ने म्याद व्यतित भै सकेको अवस्था पनि पर्न सक्दछ । यसवाट पारित हुने लिखत कपाली सरह भएको वा कपालीमा परिणत भएको मितिलाई नै नालिश गर्नुपर्ने हदम्याद शुरु हुने मिति मान्नु कानून सम्मत औचित्यपूर्ण एवं न्यायोचित समेत देखिन्छ ।

    १७.  प्रस्तुत विवादमा राजिनामा लिखत पारित हुने ठहरे पनि पारित हुने ३५ दिने पास पुर्जि २०३६।४।७ को भई २०३६।५।११ सम्मको म्याद हुँदा २०३६।५।१२ मा उक्त राजिनामा लिखत कपाली सरह भएको मितिवाट १० वर्ष भित्रै २०४६।४।९ मा विराद परेको हुँदा त्यस्तो फिरादलाई म्यादभित्रै परेको मान्नुपर्ने भयो । प्रस्तुत मुद्दासंग सम्वन्धित दोहोरो लिखत वदर मुद्दाको फैसलाको मितिवाट हदम्याद कायम गर्नु उपयुक्त एवं कानूनसंगत देखिदैन । तसर्थ केशर जहादुर राजभण्डारी विरुद्ध पूण्यविक्रम राणा भएको कपाली सांवा व्याज समेत भराई पाउँ भन्ने मुद्दामा लिखत पारित हुन नसकी कपाली सरह भएकोमा लेनदेन व्यवहारको ४० नं.ले २ वर्षको हदम्याद कायम गरेको तीन जना न्यायाधीश रहेको पूर्ण इजलासको सिद्धान्त ने.का.प. २०४८ अंक १२, नि.नं ४४३६ पृष्ठ ८५४) संग सहमत हुन सकिएन । लिखत पारित नभई कपाली सरह भएको मितिवाट १० वर्षको हदम्याद कायम गरी वादीले सांवमा व्याज भरी पाउने ठहर्‍याएको शुरु सप्तरी जि.अ.को इन्साफ सदर गरेको हदसम्मको तीन जना न्यायाधीश रहेको पूर्ण इजलासवाट मिति २०५५।५।१९ मा भएको फैसला मिलेकै देखिदा मनासिव ठहर्छ । अरु तपसिल वमोजिम गर्नु।

तपसिल

पुनरावेदक वादी अनिलकुमार सिंह के माथि इन्साफ खण्डमा लेखिए वमोजिम वादी दावी पुग्ने ठहरेकोले पुनरावेदन गर्दा यस अदालतमा राखेको कोटफि रु.१६६।५० प्रतिवादीवाट भराई पाउँ भनी यसै सरहदको जायजेथा देखाई कानूनका म्यादभित्र वादीले दरखास्त लिए प्रचिवादीवाट वादीलाई भराइ दिनु शुरु सप्तरी जिल्ला अदालतमा लेखि पठाई दिनु ...................... १

माथि इन्कसाफ खण्डमा लेखिए वमोजिम पुनरावेदन अदालत राजविराजको फैसला उल्टी भई फिराद दावी वमोजिम वादीले प्रतिवादीवाट सांवा व्याज भराई लिन पाउने ठहर्‍याएको शुरु सप्तरी जिल्ला अदालतको फैसला सदर हुने ठहरेकोले पुनरावेदन अदालतको फैसलाको तपसिल खण्डको देहाय २ वमोजिमको लगत राख्नु परेन उक्त लगत कटृा गरी शुरु सप्तरी जिल्ला अदालतको फैसलाको तपसिल खण्डको देहाय लेखि पठाई दिनु ...............................२

दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ...............  

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या. हसिप्रसाद शर्मा

न्या. केदारनाथ आचार्य

न्या भैरवप्रसाद लम्साल

न्या. ज्ञाइन्द्रवहादुर श्रेष्ठ

 

इति सम्वत् २०५६ साल वैशाख २३ गते रोज ५ शुभम्.....................।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु