निर्णय नं. ६७६५ - लेनदेन

निर्णय नं ६७६५ ने.का.प. २०५६ अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
सम्वत २०५३ सालको दे.पु.नं........३५१०
फैसला मिति : २०५५।१२।१८।४
मुद्दा : लेनदेन ।
पुनरावेदक/प्रतिवादी : जि.वांके वेलमार गा.वि.स.वडा नं ४ वस्ने सहदेव सिंह सिख ।
विरुद्ध
विपक्षी/वादी : जि.वांके इन्द्रपुर गा.वि.स.वडा नं. २ वस्ने काशीराम वर्मा ।
§ राजिनामा रजिष्ट्रेशन पारित गरेको थैली रु.९२२५०। मध्ये ३ खण्डको २ खण्ड अर्थात थैली रु.६१५०० वदर भइसकेपछि लेनदेन व्यवहारको १० नं को व्यवस्था अनुसार लिखत वदर भए जतिको थैली ऐन वमोजिमको व्याज तथा लिखत रजिष्ट्रेशन दस्तुर समेत कपाली सरह असुल गरी लिन पाउने नै देखिन्छ । साथै व्याज के कति पाउने भन्ने सम्वनधमा सो लिखत वदर हुने ठहरी अन्तिम नभएसम्म उक्त जग्गा राजिनामा रजिष्ट्रेशन पारित गरि लिने कै हक भोगमा रहने भै लिखत वदर हुने ठहरी अन्तिम फैसला भएका मिति देखि नै व्याज लिन पाउने देखिएको र रजिष्ट्रेशन दस्तुरका सम्वन्धमा पनि जति खण्ड लिखत वदर हुन्छ सोही आधारमा नै रजिष्ट्रेशन दस्तुर भराई दिनु पर्ने ।
(प्र.नं ११)
पुनरावेदक प्रतिवादी तर्फवाट :×
विपक्षी वादी तर्फवाट : ×
अवलम्वित नजिर :×
फैसला
न्या. केशवप्रसाद उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) अनुसार यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ
२. प्रतिवादीले म वाट रु.९२२५०। वुझि लिई निजका नाउँमा दर्ता रहेको वांके वलभार गा.वि.स. वडा नं ४(ख) कि.नं२०४ को ज.वि. २–१–० जग्गा ०४५।३।२८ गते राजिनामा लेखि पास गरी दिएको उल्लेखित जग्गा मध्ये ३ भागको २ भाग ज्.वि. १–७–७ को लिखत वदर गरी हक कायम गरी पाउँ भनि वादि मान सिंह १, वच्चा सिंह सिख समेत दुई जनाको म वादि कासीराम तथा प्र. सहदेव सिंह सिंख उपर फिराद दायर गरेकोमा लिखत वदर हुने ठहरी ०४६।७।३ गते फैसला भए उपर म वादिले श्री भे.अं अ. मा पुनरावेदन गरेकोमा ०४७।८।१२ मा खिनतम फैसला भएको ज.वि. १–७–७ वदर भएकोले मुलुकी ऐन लेनदेन व्यवहारको १० नं अनुसार २ खण्डको थैली रु.६१५००। र त्यसको ऐन वमोजिमको व्याज र रजिष्ट्रेशन पास गर्दा लागेको दस्तुर समेत प्र.वाट कपाली सरह असुल गरी लिन पाउने व्यवस्था भए अनुसार फिराद गरेको छु । वदर भएको थैली रु.६१५००। र लिखत मिति २०४५।३।२८ ले आज फिराद दायर गर्दाको मिति सम्मको सैकडा १० ले हुने व्याज रु.२५४२०। र रजिष्ट्रेशन दस्तुर रु ६४५७।५० समेत जम्मा रु .९३३७७।५० र लेखदेन व्यवहारको ४ नं अनुसार भरी भराउ मितिसम्मको व्याज समेत भराई पाउँ भन्ने फिराद पत्र ।
३. उक्त विगो मध्ये मैले कि.नं २०४ को ज.वि. २–१–० लाई रु.७२०००। मा खरिद विक्री गरेको हकवालाको ननिखनाउन भन्ने उद्देश्यले कासीराम वर्माले रु.९२२५०। को थैली राखि पारित गराएका हुने रु. ७२०००। को ३ भागको २ भागको रुपैयामा मात्र दावि लिनुपर्ने सो व्याजको सम्वन्धमा वादिले जग्गा आजसम्म भोग चलन गरि आएकोले त्यसको व्याज तिर्न नपर्ने हुँदा इन्साफ पाउँ भन्ने प्रतिउक्तर ।
४. वादि दावी वमोजिाको सांवा र लिखत वदर मुद्दाको अन्तिम निर्णय भएको मिति ०४७।८।१२ देखिको व्याज वादिले प्रतिवादीवाट भराई लिन पाउने ठहर्छ भन्ने वांके जिल्ला अदालतको फैसला ।
५. रजिष्ट्रेशन दस्तुर र दावी वमोजिमको सम्पूर्ण व्याज नभराई लिखत वदर मुद्दाको अन्तिम निर्णय भए पश्चातको मात्र व्याज भराउने ठहरयाएको शुरुको उक्त फैसला त्रुटिपूर्ण हुँदा वदर गरी वादी दावी अनुसार गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत नेपालगंजमा परेको पुनरावेदनपत्र ।
६. रजिष्ट्रेशन दस्तुर नभराएको वांके जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भई फरक पर्न सक्ने हुँदा अ.वं २०२ नं वमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत नेपालगंजको आदेश ।
७. व्याजको दावी सम्वन्धमा शुरु जिल्ला अदालतवाट भएको फैसला मिलेकै देखिएको र वादिले दावी गरेको रजिष्ट्रेशन दस्तुर समवन्धमा विचार गर्दा लेनदेन व्यवहारको १० नं अनुसार रजिष्ट्रेशन दस्तुर समेत जग्गा लिनेले असुल गर्न पाउने व्यवस्था भएको देखिनाले वादिले प्रतिवादीवाट लिखत वदर भए जतिको अर्थात तीन खण्डको दुइ खण्ड रजिष्ट्रेशन दस्तुर समेत भराई लिन पाउने ठहर्छ । शुरु जिल्ला अदालतको फैसला पुनकरावेदन जिकिर वमोजिम सो हदसम्म केहि उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको २०५२।२।३१।४ मा पुनरावेदन अदालत नेपालगंजवाट भएको फैसलमा ।
८. पारित जग्गको उजुरी परी लिखत वदर भएको अवस्थामा लेनदेन व्यवहारको १० नं वमोजिम सम्पूर्ण दस्तुर वादिले पाउन सक्ने होइन रजिष्ट्रेशन दस्तुर भराई दिने भनि फैसला गर्दा अवलम्वन गरिएको आधार कानूनसम्मत नभएकोले पु.वे.अ.को फैसला प्रत्यक्षतः गम्भीर त्रुटिपूर्ण भै वादर भागी भएकोले रजिष्ट्रेशन दस्तुर नपाउने गरी इन्साफ गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी सहदेव सिंह सिखको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
९. नियम वमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल समेत अध्ययन गरी निर्णय तर्फ विचार गर्दा पुनरावेदन अदालतको इन्साफ मिले नमिलेको के रहेछ ? निर्णय दिनु पर्ने देखिन आयो ।
१०. प्रतिवादीले म वाट रु.९२२५०। लिइ ज.वि. २–१–० रजिष्ट्रेशन गरि दिएकोमा सो मध्ये ३ भागको २ भाग वदर भई ३ खण्डको २ खण्ड थैली रु.६१५००। सोको व्याज र रजिष्टेशन दस्तुर रु.६४५७,५० समेत दिलाई पाउँ भन्ने दावी र रु.९२२५० थैली राखि रु.७२०००, मा खरिद गरेकोले सोको ३ भागको २ भाग रुपैया मात्र दावि लिनु पर्ने र वादिले जग्गा आजसम्म भोगेकोले व्याज तिर्नु पर्ने होइन भन्ने प्रतिउत्तर पत्र रहेछ । दावी वमोजिमको सांवा र लिखत वदर मुद्दाको अन्तिम निर्णय भएको मिति २०४७।८।१२ देखिको व्याज भराई लिन पाउने भन्ने शुरु जिल्ला अदालतको फैसला भई दावी अनुसारको सावा र लिखत वदर मुद्दाको अन्तिम फैसला भएका मिति देखिको व्याज भराई पाउने ठहर गरेको मिलेको र शुरुले रजिष्ट्रेशन दस्तुर नभराई दिने गरेको फैसला सो हदसम्म उल्टी गरी ३ खण्डको २ खण्ड रजिष्ट्रेशन दस्तुर समेत लिन पाउने ठहर भई पुनरावेदन अदालतवाट भएको फैसला उपर प्रतिवादीले पारित जग्गाको लिखमत वदर भएको अवस्थामा लेनदेन व्यवहारको १० नं वमोजिम सम्पूर्ण दस्तुर वादिले पाउने होइन, रजिष्टे्र्शन दस्तुर भराई दिने भनि फैसला गर्दा अवलम्वन गरिएको आधार कानूनसम्मत छैन भन्ने व्यहोराको प्रतिवादीको पुनरावेदन जिकिर भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको रहेछ ।
११. प्रतिवादीले वादीलाई मिति २०४५।३।२८ मा गरि दिएको राजिनामा लिखत मध्ये ३ खण्डको २ खण्ड वदर भई उक्त मुद्दा अन्तिम रहेको कुरामा विवाद रहेको देखिएन । राजिनामा रजिष्ट्रेशन पारित गरेको थैली रु.९२२५०। मध्ये ३ खण्डको २ खण्ड अर्थात थैली रु.६१५००। वदर भइसकेपछि लेनदेन व्यवहारको १० नं को व्यवस्थमा अनुसार लिखत वदर भए जतिको थैली ऐन वमोजिमको व्याज तथा लिखत रजिष्ट्रेशन दस्तुर समेत कपाली सरह असुल गरी लिन पाउने नै देखिन्छ । साथै व्याज के कति पाउने भन्ने सम्वन्धमा सो लिखत वदर हुने ठहरी अन्तिम नभएसम्म उक्त जग्गा राजिनामा रजिष्ट्रेशन पारित गरी लिने कै हकभोगमा रहने भै लिखत वदर हुने ठहरी अन्तिम फैसला भएका मिति देखि नै व्याज लिन पाउने देखिएको र रजिष्ट्रेशन दस्तुरका सम्वन्धमा पनि जति खण्ड लिखत वदर हुन्छ सोही आधारमा नै रजिष्ट्रेशन दस्तुर भराई दिनु पर्ने हुन आउँछ । अतः लिखत वदर भए अनुसार ३ खण्डको २ खण्ड थैली भरी लिन पाउने लिखत वदर हुने ठहरी अन्तिम फैसला भएका मिति देखी लेनदेन व्यवहारको ४ नं अनुसार व्याज भराइ लिन पाउने र लिखत वदर भएजति ३ खण्डको २ खण्ड रजिष्ट्रेशन दस्तुर समेत वादिले प्रतिवादीवाट भराईलिन पाउने ठहरयाई पुनरावेदन अदालत, नेपालगंजवाट भएको फैसलमा मिलेकै देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । धरौटी पुनरावेदन हुँदा पुनरावेदकलाई जनाउ दिई मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु।
न्या. दिलीकुमार पौडेल
इति सम्वत् २०५५ साल चैत्र १८ गते रोज ४ शुभम् ....................।