शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८६७३ - सम्बन्ध विच्छेद

भाग: ५३ साल: २०६८ महिना: मंसिर अंक:

ने.का.प. २०६८,           अङ्क ८

निर्णय नं. ८६७३

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रेम शर्मा

माननीय न्यायाधीश श्री कमलनारायण दास

०६५CR०६२४

फैसला मितिः २०६७।१२।२३।४

मुद्दाः सम्बन्ध विच्छेद् 

पुनरावेदक प्रतिवादीः ललितपुर जिल्ला, इमाडोल गा.वि.स.वडा नं.४ बस्ने बीपिन्द्र सुवेदी (खत्री)

विरुद्ध

प्रत्यर्थी वादीः ललितपुर जिल्ला, ललितपुर उ.म.न.पा. वडा नं. १३ घर भै का. जि. का. म. न.पा.           वडा.नं. १३ बस्ने बन्दना सुवेदी भने तापनि हाल नुवाकोट जिल्ला कल्याणपुर गा.वि.स. वडा नं. १ बस्ने बन्दना कार्की (भट्ट)

 

शुरु फैसला गर्ने :

मा.जि.न्या.श्री नारायणप्रसाद श्रेष्ठ

पुनरावेदन फैसला गर्ने :

मा.न्या. श्री कृष्णप्रसाद बस्याल

मा.न्या. श्री हरिराम कोइराला

 

§  लोग्ने स्वास्नीबीचमा सम्बन्ध विच्छेद् हुने भएमा अदालतले निजहरू बीच अंशबण्डा गर्न लगाएर मात्र निर्णय गर्नुपर्ने भनी ऐ. को ४(क) नं.मा व्यवस्था गरेको पाइन्छ भने स्वास्नीले अर्कोसँग विवाह गरेमा लोग्नेस्वास्नीको २ नं. ले त्यस्तो लोग्नेस्वास्नीको सम्बन्ध स्वतः विच्छेद् हुने हुँदा त्यस्तोमा अंशबण्डा गर्नुपर्ने गरी कुनै कानूनी व्यवस्था भएको नदेखिने 

(प्रकरण नं.३)

§  सम्बन्ध विच्छेदको प्रश्नसँग अंशबण्डाको प्रश्न समेत निहीत रहेको विवादमा लोग्नेस्वास्नीको १ नं को देहाय २ बमोजिम सम्बन्ध विच्छेदको माँग गर्ने वादी स्वयंले आफूले दायर गरेको मुद्दा अन्तिम टुङ्गो नलाग्दै अर्कोसँग विवाह गरेको र सो सम्बन्धी प्रमाण कागजहरू मिसिल संलग्न हुन आएको स्थितिमा त्यस्ता आधार प्रमाणलाई अनदेखा गर्न नमिल्ने 

(प्रकरण नं.४)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः

प्रत्यर्थी वादी तर्फबाटः

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  लोग्नेस्वास्नीको १, २ र ४(क)

 

फैसला

न्या.प्रेम शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) अनुसार मुद्दा दोहोर्‍याई पाऊँ भनी प्रतिवादीको तर्फबाट निवेदन परी यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्न निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एव ठहर यस प्रकार छः

पति बिपिन्द्र सुवेदीले २०५७।१।७ गते कुटपीट गरी घरबाट निकाला गरेपछि माइती घरमा शरण लिई बस्दै आएको छु । घरबाट निकाला गरेपछि मेरो खोज खबर नगरी बसेकोले मिति २०५९।५।६ मा अंशचलन मुद्दा दायर गरेको छु । अंश मुद्दा दायर गरे पछि जीउज्यानको धम्की समेत दिदै आउनु भएकोले लोग्नेस्वास्नीको सम्बन्ध कायम रहन सक्ने अवस्था नरहेको र खोज खबर नगरी बसेको ३ बर्षभन्दा बढी समय भई सक्दा लोग्नेस्वास्नीको १ नं. को देहाय २ बमोजिम हामीबीचको सम्बन्ध विच्छेद् गरिपाऊँ भन्ने समेत व्यहोराको निवेदन दावी 

हामीबीच प्रेम सम्बन्ध रही लोग्नेस्वास्नीको सम्बन्ध कायम गरेको भए पनि हाम्रो दाम्पत्य जीवन सुखमय रहन सकेन । निजले घर परिवार समेतलाई बेवास्ता गरी आफूखुश नै छाडा भई हिड्डुल गर्ने गरेकोले पटकपटक सम्झाउँदा पनि नमानी म स्वतन्त्र भएर अलग बस्छु, लोग्नेस्वास्नीको सम्बन्ध राखेर बस्न सक्दिन भनी २०५५ माघदेखि नै आफूखुशी घरबाट निस्की गएकी र आफूखुशी नै माइत गई बसेकी हुन् । मैले कुटपीट गरी घरबाट निकाला गरेको होइन । पटकपटक लिन जाँदा पनि आउन नमानेकी हुन् । विपक्षीले पहिले झै सँगैं बसी दाम्पत्य जीवन सुखमय बिताउने इच्छा गरी घरमा बस्न आएमा इज्जत आमदअनुसार खान लाउन दिने छु । वैवाहिक सम्बन्ध विच्छेद् गर्न मेरो मञ्जूर छैन । मुलुकी ऐन लोग्नेस्वास्नीको महलको १ नं. को देहाय २ अनुसार सम्बन्ध विच्छेद् हुनुपर्ने होइन । निवेदन खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकीर 

प्रतिवादी बिपिन्द्र सुवेदीले दिनहुँ कुटपीट, झैझगडा गर्ने गरेकोले २०५७ सालदेखि घर छाडेको हो । वादी प्रतिवादीबीचको सम्बन्ध विच्छेद् हुनुपर्ने हो भन्ने वादीको साक्षी प्रवेश क्षेत्रीले गरेको बकपत्र 

यसमा वादी प्रतिवादी सकेसम्म मिलेर बसेको राम्रो, नसकेमा सम्बन्ध विच्छेद् हुनु पर्दछ भन्ने व्यहोराको प्रतिवादीको साक्षी शशी के.सी.ले गरेको बकपत्र 

यसमा यसै लगाउको दे.दा.नं.२।२७ को माना चामल मुद्दामा वादीले सो मुद्दाको फिराद परेको दिनबाट फैसला हुँदासम्मको अवधिको मासिक रु.५००।का दरले हुने माना चामल प्रतिवादीबाट भराई पाउने ठहरी आज यसै इजलासबाट फैसला भएको हुँदा वादी प्रतिवादीबीचको लोग्नेस्वास्नीको सम्बन्ध लोग्नेस्वास्नीको १ नं. को देहाय २ अनुसार विच्छेद हुने ठर्हछ भन्ने शुरु ललितपुर जिल्ला अदालतको मिति २०६२।४।३१ को फैसला 

वादीलाई मिति २०५७।१।७ मा कुटपीट गरी घरबाट निकालेको भन्ने फिरादी कथन झूठा हुन् । सो फिरादी कथन कहीँ कतैबाट पुष्टि हुन सकेको छैन । पति र घर परिवारसँग बस्न नचाहने हो र सम्बन्ध विच्छेद् गर्न चाहने हो भने त्यसलाई कर बलबाट सँगै राखेर पनि दाम्पत्य जीवन सुखमय हुन सक्दैन । त्यसैले सम्बन्ध विच्छेद् गर्नमा मेरो सहमत नहुँदा नहुँदै पनि सम्बन्ध विच्छेद् गर्न प्रत्यर्थी वादी चाहन्छ भने त्यसमा मैले विशेष जिकीर गरिरहनु पर्ने जरुरी छैन । तथापि प्रस्तुत मुद्दामा फैसला हुँदा माना चामल भराई दिने ठहराएको फैसला र अंश मुद्दामा अंशबण्डा नलाग्ने जग्गा समेतबाट प्रत्यर्थी वादीलाई अंश दिलाई दिने ठहराएको हदसम्म नमिली आजै पुनरावेदन गरेको हुँदा सो मुद्दाहरूको पुनरावेदन जिकीरलाई यस मुद्दाको समेत अभिन्न अङ्ग मानी इन्साफ गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीले पुनरावेदन अदालत पाटनमा गरेको पुनरावेदन पत्र 

यसमा यसै लगाउको अंश चलन मुद्दामा आजै यसै इजलासबाट विपक्षी झिकाउने आदेश भएकोले र प्रस्तुत मुद्दासमेत उक्त मुद्दासँग अन्तरसम्बन्ध भएको हुँदा सोही आधारमा विपक्षी झिकाई आए पछि लगाउको मुद्दा साथै राखी पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश 

यसमा यिनै पुनरावेदक प्रत्यर्थी पक्ष विपक्ष भएको दे.पु.नं. ९।२४ को माना चामल मुद्दामा प्रत्यर्थी वादीले फिराद दायर गरेको मितिबाट फैसला हुँदासम्मको अवधिको मासिक रु.५००।का दरले हुने माना चामल पुनरावेदक प्रतिवादीबाट प्रत्यर्थी वादीले भराई पाउने ठहराएको शुरुको फैसला सदर हुने ठहरिई आजै यसै इजलासबाट फैसला भैसकेको हुँदा प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तथा प्रत्यर्थी वादीबीच लोग्नेस्वास्नीको १ नं. को देहाय २ अनुसार विच्छेद् हुने ठहराएको शुरु ललितपुर जिल्ला अदालतको २०६२।४।३१ को फैसला मिलेकै देखिदा सदर हुने ठर्हछ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०६४।२।६ को फैसला 

विपक्षी वादीले मउपर अंश मुद्दा, मानाचामल मुद्दा र प्रस्तुत सम्बन्ध विच्छेद् मुद्दा समेत दायर गरी मुद्दा चल्दाचल्दैको अवस्थामा बासुदेव भट्टसँग विवाह समेत गरिसकेको अवस्था छ । सो कुरा पुनरावेदन अदालतमा मैले मिति २०६३।११।२२ मा कागज गरी खुलाइदिएको, निज वादीको वतनमा मिति २०६३।१२।१८ विपक्षीका नाउँको म्याद तामेल हुँदा निज वादीको एकाघरको पति भनी निजका पति बासुदेव भट्टले म्याद बुझिलिएको तामेली म्यादको व्यहोराबाट समेत पुष्टि भैरहेको अवस्था छ । यसरी स्वास्नीले अर्कोसँग विवाह गरेमा लोग्नेस्वास्नीको २ नं. को व्यवस्थाअनुसार स्वतः सम्बन्ध विच्छेद् भै विपक्षीलाई अंश दिनु नपर्ने अवस्था हुँदाहुँदै सो प्रमाणलाई बेवास्ता गरी लगाउका अंश र मानाचामल मुद्दामा वादी दावी ठहर गरेको निर्णयउपर मुद्दा दोहोर्‍याई पाउन आजै निवेदन गरिसकेको हुँदा सो समेतलाई प्रमाण लिई प्रस्तुत मुद्दामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क) र (ख) का आधारमा मुद्दा दोहोर्‍याई हेरी पुनरावेदन अदालतको फैसला बदर गरी लोग्नेस्वास्नीको २ नं. बमोजिम स्वतः सम्बन्ध विच्छेद् ठहर गरी फैसला गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको निवेदन 

यसमा यिनै निवेदक बिपिन्द्र खत्री समेत प्रतिवादी र यिनै विपक्षी बन्दना कार्की भट्ट वादी भएको २०६४ सालको निवेदन नं. ०३७१ को अंश चलन मुद्दामा आजै यस इजलासबाट मुद्दा दोहोर्‍याई दिने निस्सा प्रदान भएको र प्रस्तुत मुद्दा समेत सोही मुद्दाको विषयबस्तुसँग अन्तरप्रभावी रहे भएको हुँदा प्रस्तुत मुद्दामा पनि सोही आधार कारणबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) क बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने समेत व्यहोराको यस अदालतको आदेश 

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको मिसिल संलग्न कागजात प्रमाण समेत अध्ययन गरियो 

यसमा वादी दावीबमोजिम प्रत्यर्थी वादी र यी पुनरावेदक प्रतिवादीबीच लोग्नेस्वास्नीको १ नं. को देहाय २ बमोजिम सम्बन्ध विच्छेद् हुने ठहराएको शुरु ललितपुर जिल्ला अदालतको फैसलाउपर पुनरावेदन अदालत पाटनसमक्ष यी प्रतिवादीको तर्फबाट पुनरावेदन परी मुद्दा चल्दाचल्दैको अवस्थामा बासुदेव भट्टसँग विवाह समेत गरिसकेको कुरा मिसिल प्रमाणबाट स्थापित हुन आएकाले सो स्थितिमा लोग्ने स्वास्नीको २ नं. अनुरूप स्वतः सम्बन्ध विच्छेद् हुने ठहर गर्नुपर्नेमा उक्त अदालतबाट शुरु फैसला सदर हुने ठहराएको मिति २०६४।२।६ को फैसला त्रुटिपूर्ण रहेकोले मुद्दा दोहोर्‍याई पाऊँ भनी प्रतिवादीको निवेदन परी यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्न निस्सा प्रदान भएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन ? पुनरावेदन जिकीर पुग्न सक्छ सक्दैन ? भन्ने सम्बन्धमा नै निर्णय दिनु पर्ने देखिन आयो 

२. निर्णयतर्फ विचार गर्दा पुनरावेदक प्रतिवादी र प्रत्यर्थी वादी विच परम्परागत रुपमा विवाह संस्कार सम्पत्र भै लोग्नेस्वास्नीको सम्बन्ध कायम रहेकोमा विवाद देखिदैन । वादी प्रतिवादीबीच विवाहको केही समयदेखि नै सुसम्बन्ध स्थापित हुन नसकेको र पतिले कुटपीट गरी घरबाट निकालेको भनी वादीले सम्बन्ध विच्छेद्को लागि फिराद दायर गरेकोमा प्रतिवादीले सम्बन्ध विच्छेद् हुन नपर्ने सम्बन्धमा ठोस आधार र प्रमाण पेश गर्न नसकेको भनी ललितपुर जिल्ला अदालतबाट लोग्नेस्वास्नीको १ नं. को देहाय २ अनुरूप सम्बन्ध विच्छेद् हुने निर्णय भएको पाइयो । सो निर्णयउपर प्रतिवादीको पुनरावेदन परेको अवस्थामा लगाउको अंश चलन मुद्दा समेतमा पुनरावेदन अदालत पाटनबाट विपक्षी झिकाउने आदेश भै निज वादी बन्दनाका नाउँमा जारी भएको सूचना प्रथम पटक बेपत्ते तामेल भएको र सो सम्बन्धमा यी पुनरावेदक प्रतिवादीले वादीको वतन खुलाई मिति २०६३।११।२२ मा कागज गर्दा निज विपक्षी वादी बन्दना सुवेदी हाल नुवाकोट जिल्ला कल्याणपुर गा.वि.स.वडा नं. १ बस्ने बासुदेव भट्टसँग विवाह गरी गएकोले सोही वतनमा म्याद जारी गरिपाऊँ भनी लेखाई दिएको पाइन्छ । यसरी प्रतिवादीले देखाएको वतनमा मिति २०६३।११।२४ मा जारी भएको सूचना तामेल हुँदा निज बन्दना सुवेदीको नामको उक्त सूचना निजका एकाघरका पति बासुदेवले बुझीलिएको भनी तामेली व्यहोरा उल्लेख गरी म्याद तामेल भएको कुरा उक्त मिति २०६३।१२।१८ को मिसिल संलग्न तामेलीप्रति म्यादबाट देखिन आएको छ भने अर्कोतर्फ यसरी तामेल भएको सूचनाको म्यादभित्र निज वादी अदालतसमक्ष उपस्थित भएको कुरा पुनरावेदन अदालतको रेकर्ड मिसिल संलग्न तारिख भरपाईबाट समेत देखिएको अवस्था छ । त्यस्तै पुनरावेदकले मुद्दा दोहोर्‍याई पाऊं भनी यस अदालतमा दायर गरेको निवेदनको विरुद्ध खण्डमा वासुदेव भट्टकी श्रीमती हाल नुवाकोट जि. कल्याणपुर गा.वि.स. वडा नं. १ बस्ने बन्दना कार्की (भट्ट) भनी उल्लेख गरेको वतनमा निज प्रत्यर्थी वादीका नाउँमा यस अदालतबाट जारी भएको सूचना समेत निज स्वयंले बुझी मिति २०६६।५।४ को मुकरर भएको तारेखका दिन यस अदालतमा उपस्थित हुन आएको मिसिल प्रमाणबाट देखिन आएबाट निज वादीले वासुदेव भट्टसँग विवाह गरिसकेको कुरामा प्रत्यर्थी वादी प्रमाण ऐन, २०३१ को दफा ३४ अनुसार विवन्धित रहेको समेत पाइयो 

३. यसरी प्रस्तुत मुद्दामा एकातर्फ शुरु जिल्ला अदालतबाट भएको सम्बन्ध विच्छेद्मा भएको फैसलाउपर पुनरावेदन अदालतमा पुनरावेदन परी मुद्दा विचाराधीन रहिरहेकै अवस्थामा वादीले अर्को व्यक्ति बासुदेव भट्टसँग विवाह गरिसकेको भनी यी पुनरावेदक प्रतिवादीले विपक्षी वादीको हालको घरद्वार वतनसमेत कागज गरी खुलाइदिएको र सो वतनमा वादीका नाउँमा म्याद सूचना समेत तामेल भई वादी स्वयं अदालतमा समेत उपस्थित हुन आई निजले बासुदेव भट्टसँग दोस्रोे विवाह गरेको कुरालाई अन्यथा भन्न नसकी सो कुरामा प्रत्यर्थी वादी विवन्धित समेत रहेको अवस्थाको विद्यमानताले गर्दा प्रतिवादीको पुनरावेदन जिकीरलाई अन्यथा भन्न मिल्ने पनि देखिएन । त्यस्तै अर्कोतर्फ यी पुनरावेदक प्रतिवादीले प्रत्यर्थी वादीसँग स्वतः सम्बन्ध विच्छद् हुनुपर्ने आधारहरू उल्लेख गरी सोही आधारमा प्रस्तुत मुद्दाका लगाउमा रहेका ०६५CI०७४१ को अंश चलन समेतका मुद्दामा जिकीर लिएको पाइन्छ । यस सन्दर्भमा मुलुकी ऐन लोग्नेस्वास्नीको महलले कुनै लोग्ने र स्वास्नीबीच कानूनी रुपमा सम्बन्ध विच्छेद्का आधारहरू र सोसँग अंशबण्डाको सम्बद्दतालाई हेर्दा लोग्नेस्वास्नीको १ नं. मा उल्लिखित आधारबमोजिम लोग्नेस्वास्नी बीचमा सम्बन्ध विच्छेद हुने भएमा अदालतले निजहरू बीच अंशबण्डा गर्न लगाएर मात्र निर्णय गर्नुपर्ने भनी ऐ. को ४ (क) नं.मा व्यवस्था गरेको पाइन्छ भने स्वास्नीले अर्कोसँग विवाह गरेमा लोग्नेस्वास्नीको २ नं. ले त्यस्तो लोग्नेस्वास्नीको सम्बन्ध स्वतः विच्छेद् हुने हुँदा त्यस्तोमा अंशबण्डा गर्नुपर्ने गरी कुनै कानूनी व्यवस्था गरेको देखिंदैन 

४. यसरी सम्बन्ध विच्छेद्को प्रश्नसँग अंशबण्डाको प्रश्न समेत निहीत रहेको प्रस्तुत विवादमा लोग्नेस्वास्नीको १ नं को देहाय २ बमोजिम यी पुनरावेदकसँग सम्बन्ध विच्छेद्को माँग गर्ने प्रत्यर्थी वादी स्वयंले आफूले दायर गरेको मुद्दा अन्तिम टुङ्गो नलाग्दै अर्कोसँग विवाह गरेको र सो सम्बन्धी प्रमाण कागजहरू मिसिल संलग्न हुन आएको स्थितिमा त्यस्ता आधार प्रमाणलाई अनदेखा गर्न नमिल्ने हुँदा उपरोक्त उल्लिखित बुदा प्रमाण समेतका आधारमा वादी प्रतिवादीबीचको लोग्नेस्वास्नीको सम्बन्ध लोग्नेस्वास्नीको २ नं. अनुसार स्वतः विच्छेद् भएको ठहराउनु पर्नेमा सो नगरी शुरु फैसलालाई नै सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई वादी प्रतिवादीबीच लोग्नेस्वास्नीको २ नं. अनुसार लोग्नेस्वास्नीको सम्बन्ध स्वतः विच्छेद् भएको ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू।

 

उक्त रायमा सहमत छु 

 

न्या.कमलनारायण दास

 

इति संवत् २०६७ साल चैत २३ गते रोज ४ शुभम्

 

इजलास अधिकृतःहरिराज कार्की

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु