निर्णय नं. ६७६८ - मोही प्रमाणपत्र पाउँ

निमर्णय नं. ६७६८ ने.का.प. २०५६ अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
संवत २०५२ मसालको दे.पु नं............३१३८
फैसला मिति : २०५६।१।१३।२
मुद्दा : मोही प्रमाणपत्र पाउँ ।
पुनरावेदक/वादीः जिल्ला वारा नगवा गा.वि.स. वडा नं १ जिल्ला पर्सा वीरगंग नगरपालिका वडा न. १९ वस्ने गोपाल शाह गोठ
विरुद्ध
विपक्षी/प्रतिवादीः जिल्ला पर्सा वीरगंज नगरपालिका वडा नं .८ वस्ने भोला शाह रौनियार
§ पर्याप्त र निर्विवादहरुको मोही हुन चाहिने श्रेस्तोको प्रमाण नरहेकोमा संदिग्ध प्रमाणको आधारमा सरजमिनका व्यक्तिहरुले भनेको आधरले मात्र पुनरावेदक मोही कायम हुन सक्ने देखिन आएन । तसर्थ पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेकै देखिदा मनासिव ठहर्ने ।
(प्र.नं १०)
पुनरावेदक वादी तर्फमाटः विद्वान अधिवक्ता श्री रामप्रसाद भट्टरार्इ
विपक्षी प्रतिवादी तर्फवाट : विद्वान अधिवक्ता श्री प्रेमवहादुर खड्का
अवलम्विमत नजिर : ×
फैसला
न्या. केदारनाथ उपाध्याय : पुनरावेदन अदालत हेटौडावाट भएको फैसला उपर यस अदालत समक्ष मुद्दा दोहोर्याउने निवेदन परी निस्सा प्रदान भइ पुनरावेदनको रुपमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्थ र निर्णय यस प्रकार छ ।
२. प्रस्तुत मुद्दाको मिसिल हेर्दा विपक्षीका नाम दर्ताको जिल्ला वारा गा.पं. इटियाही वडा नं. को कित्ता नं ४७ को ज.वि. ०।१८।५ दोयम किसिमको दर्तावाला मोही म हुँदा उक्त जग्गा नापी नक्साको अवस्था देखिनै मैले नै उक्त जग्गा आवाद गुरजार गरी आएको र उक्त जग्गाको हुने कुत वाली साल सालै खलैवाट वांडफांड आधि आधि जग्गाधनीलाई वुझाउदै आएको छु । भरपाई साविक देखि लिने दिने गरको छैन । साथै मैले पाउनु पर्ने मोहीको ३ नं. प्रमाण पत्र नपाएकोले नागरिता छुट फिल्डवुक उतार नक्कल साथै राखी निवेदन गरेको छु । यसमा जे जो वुझनु पर्छ वुझी मैले पाउनु पर्ने मोहीको ३ नं. प्रमाण पत्र पाउँ भन्ने समेत वादी गोपाल शाह श्रेष्ठ निवेदन पत्र ।
३. उजूरी निवेदन दावीको जग्गाको मोही प्रमाणपत्र विपक्षीलाई दिनुपर्ने होइन दावीको जग्गा नापीको अवस्थामा देखि मैले जोति आएको भन्ने उजूरी दावी विल्कुल झुठ्ठा तथा काल्पनिक मात्र हो । दावीको जग्गा मेरो कारिन्दा गोपाल राउत कुर्मीले कमाइ आएकोले निजको नाम मेरो फिल्डवुक तथा मेरो जग्गाधनी प्रमाणपुर्जा उल्लेख भएको र निज गोपाल राउत कुर्मी आजले २३,२४ वर्ष अधि नै आफ्नो गाउँ घरवाट हिडी अन्यत्र वसी गाउँ धरमा नभएको र निजको हक खाने हकदार कोही नभएकोले सो जग्गा म जग्गाधनीले आफ्नै तर्फवाट जोतकोड गरी आएको कुरा जग्गा भएको ठाउँ वुझी यकिन हुनेछ । विपक्षीको झुठ्ठा उजूरी दावी खारेज गरी पाउँ भन्ने समेत प्रतिउत्तर पत्र ।
४. निज वादी प्रतिवादी वीच मोही नाम संशोधन गर्न नमिल्ने भनी निर्णय भइसकेकोले माग वमोजिमको जग्गा वादीलाई मोहियानी प्रमाणपत्र दिन मिलेन अ.वं १८० नं. वमोजिम निवेदन दावी खारेज हुने ठहर्छ भन्ने समेत शुरु भूमिसुधार कार्यालाय वाराको निर्णय ।
५. शुरु भूमिसुधार कार्यालय वाराले मिति २०४८।२।१५ को फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादी गोपाल शाह गोठको पुनरावेदन अदालत समक्ष परेको पुनरावेदन ।
६. एकै लगाउको यिनै वादी प्रतिवादी वीच चलेको दे.पु.नं. १४६० को थर संशोधन गरी पाउँ भन्ने मुद्दामा भोला शाह रोनियारको जग्गाधनी प्रमाण पूर्जाको मोही महलमा लेखिएको गोपाल राउत कुर्मीलाई गोपाल शाह गोठ गरी संशोधन गर्न मिलेन भनी ठहर्याएको शुरु भूमिसुधार कार्यालय वारको निर्णय पर्चा मनासिव ठहरी आज यसै इजलासवाट फैसला भएकोले सोही मुद्दाको आधार प्रमाणवाट माग पत्र दिन मिलेन अ.वं १८० नं. वमोजिम निवेदन दावी खारेज हुने ठहर्याएको शुरु भूमिसुधार कार्यालय वाराको मिति २०४८।२।१५।४ को निर्णय पर्चा मनासिव ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको फैसला ।
७. मुलरुपवाट थर संशोधन मुद्दाको फैसलालाइ आधार लिइ प्रस्तुत मुद्दामा इन्साफ भएको र सो फैसला उपर आजै सम्पूर्ण विवरण खोलि मुद्दा दोहोरयाउने निवेदन दिएकोले सो फैसलमा उल्टी हुने नै भएकोले सोही आधारवाट भएको प्रस्तुत मुद्दाको फैसला उल्टी हुने नै छ । सो निवेदन जिकिरलाई यस निवेदनको अभिन्न अंग मानिपाउँ । मेरो मोही जग्गा सम्वन्धमा इन्साफ हुँदा दावी नपुग्ने भनी भूमिसुधार कार्यालय वारावाट भएको फैसला सदर गरिएको छ भने सोही विषयमा परेको यो मुद्दा भुमिसुधार कार्यालय वाराले इन्साफ नगरि खारेज गरेकोमा सोलाई सदर गरी पुनरावेदन अदालत हेटौडाले गरेको फैसला आपसमा नै वाझिएर कानून व्याख्याको प्रश्न उत्पन्न हुन गएको हो सो कारण्मा उल्लेख छैन । सो फैसलामा अ.वं १८० नं को प्रत्यक्ष गम्भिर त्रुटी हुन गएको छ । पुनरावेदन अदालतले वुझ्नु पर्ने प्रमाण नवुझी प्रमाणको मूल्यांकन नगरी कानूनको गम्भिर त्रुटी गरी फैसला गरेको हुँदा मुद्दा दोहोर्याई हेरी पाउँ भन्ने समेत व्यहोराको वादीको तर्फवाट प्रस्तुत भएको निवेदन ।
८. यसमा भूमिसुधार कार्यालय वारावाट भएको एकतर्फि निर्णय पछि निवेदक वादी गोपाल साहको अ.वं.२०८ नं वमोजिम प्रतिउत्तर परेकोमा सो प्रतिउत्तर उपर कुनै विचारै नगरी उक्त निर्णय पर्चा संशोधन गर्न मिलेन भनी गरेको शुरु भूमिसुधार कार्यालय वाराको निर्णयलाई सदर गरी गरेको पुनरावेदन अदालत हेटौडाको फैसलामा प्रमाण ऐन २०३१ को दफा ५४ तथा अ.वं १३९ नं समेतको गम्भिर त्रुटी हुन गइ न्याय प्रशामसन ऐन २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को त्रुटी विद्यमान देखिंदा मुद्दा दोहर्याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतवाट भएको आदेश ।
९. नियम वमोजिम पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फवाट उपस्थित हुनु भएका निव्दान अधिवक्ता श्री रामप्रसाद भटृराईले गोपाल शाह गोठको नाम नै श्रेस्तामा गोपाल राउत कुर्मी लेखिन गएको हो । गोपाल राउत कुर्मी भन्ने छुट्टै व्यक्ति सो ठाउँमा छैन । सरजमिनका अधिकांश व्यक्तिहरुले पनि सोही वमोजिम लेखाइ दिएका छन् । पुनरावेदन अदालत हेटौडाले फैसला गर्दा कानूनको गम्भिर त्रुटी गरेको हुँदा सो फैसला उल्टी गरी वादी दावी वकोजिम मोही प्रमाण पत्र पाउनु पर्छ भनी र विपक्षी प्रतिवादीको तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री प्रेमवहादुर खड्काले विपक्षी वादी मेरो पक्षको मोही नभएको हुँदा निजलाई मोही प्रमाण पत्र दिनु पर्ने होइन किनकि मेरो पक्षको मोही गोपाल राउत कुर्मी हो भने विपक्षी वादीको नाम गोपाल शाह गोठ हो । यसरी नाम थरमा नै फरक परेको अवस्थामा दुवै नाम एकै व्यक्तिको हो भन्ने मिलने देखिदैन । तसर्थ पुनरावेदन अदालतको फैसला सदर हुन पर्छ भनी गर्नु भएको वहस समेत सुनि निर्णय तर्फ विचार गर्दा पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेको छ छैन र वादीको पुनरावेदन जिकिर वमोजिम गर्नुपर्ने हो होइन भन्ने कुरामा निर्णय दिनु पर्ने देखिन्छ ।
१०. यसमा पुनरावेदकवाट ४ नं. अनुसूची वमोजिमको जोताहा निस्सा पेश गर्न सकेको देखिन आउदैन । भूमिसुधार कार्यालय वाराको मिति २०५३।८।६ को पत्रवाट १ नं लगत भरेको फेला नपरेको भन्ने जवाफ प्राप्त भइ २ नं अनुसूची वमोजिमको फोटो प्रतिलिपि पठाएकोमा क्रमसंख्या ३२ मा मगोपाल राउत कुर्मी मोहीको महलमा लेखिएको देखिन आउछ । भूमि सम्वन्धी ऐन, २०२१ को व्यवस्था वमोजिम मोही कायम गर्नको लागि १ नं अनुसूची वमोजिमको लगत भरिएको र २ नं अनुसूची वमोजिमको सोही अनुकूल लगत प्रकाशन भएको र त्यसपछि ४ नं अनुसूची वमोजिमको अस्थायी निस्सा समेत प्राप्त गरेको सवूद प्रमाणवाट देखिनु पर्ने हुन्छ । पुनरावेदकको ४ नं अनुसूची वमोजिम अस्थायी निस्सा पनि नभएको र १ नं वमोजिमको लगत भरिएको भन्ने प्रमाण पनि प्राप्त नभएको २ नं अनुसूची प्रकाशित भएको भनी प्रतिलिपि प्राप्त भएकोमा समेत मोहीको महलमा गोपाल राउत कुर्मी लेखिएको सो गोपाल राउत कुर्मी भन्ने व्यक्ति नै पुनरावेदक गोपाल शाह गोठ हो भन्ने कुराको प्रमाण देखिन आएन । यसरी पर्याप्त र निर्विवादरुपको मोही हुन चाहिने श्रेस्ताको प्रमाण नरहेकोमा संदिग्ध प्रमाणको आधारमा सरजमिनका व्यक्तिहरुले भनेको आधारले मात्र पुनरावेदक मोही कायम हुन सक्ने देखिन आएन । तसर्थ पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गोपालप्रसाद खत्री
इति सम्वत २०५६ साल वैशाख १३ गते रोज २ शुभम् ।