शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७७२८ - जबर्जस्तीकरणी ।

भाग: ४८ साल: २०६३ महिना: कार्तिक अंक:

निर्णय न. ७७२८     ने.का.प. २०६३     अङ्क ७

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय प्रधानन्यायाधीश श्री दिलीपकुमार पौडेल

माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी

२०५९ सालको फौ.पु.नं. ............. ३२४०

फैसला मितिः २०६३।४।२१।१

 

मुद्दाःजबर्जस्तीकरणी ।

 

पुनरावेदक/प्रतिवादीः जि.सुनसरी ईटहरी न.पा.वडा नं.९ बस्ने विश्वकुमार दास

विरुद्ध

प्रत्यर्थी/वादीः बलराम गिरीको जाहेरीले नेपाल सरकार

 

§  एक अबोध नाबालिकालाई ललाईफकाई आफ्नो सुरक्षित स्थानमा लगी जवर्जस्ती करणी जस्तो जधन्य अपराधिक कार्य गरेको स्थितिमा पीडितले तत्काल प्रतिकार गर्न सक्ने अवस्था नहुने ।

§  मौकाको शारीरिक परिक्षणबाट पीडितको हाईमन हल्का च्यातिएको (torn) भन्ने उल्लेख भएको स्थिति हुँदा योनीमा लिङ्ग प्रवेश गर्दा हाईमन पूर्णरुपमा फाटेकै हुनुपर्ने भन्ने तर्क गर्नु मनासीव र स्वास्थ्य विधिशास्त्र अनुकूल नहुने ।

§  जवर्जस्तीकरणी हुनलाई बीर्य योनीभित्र स्खलन भएकै वा योनी बाहिर देखिएकै हुनुपर्ने अनिवार्यता नरहँदा प्रतिवादीले लिएको जिकिर तथ्यसंगत तथा कानूनसंगत नदेखिने ।

§  प्रतिवादीले अभियोग माग दावीबमोजिम नावालिकालाई मुलुकी ऐन जवर्जस्तीकरणीको १ नं. बमोजिम जवर्जस्तीकरणीको अपराध गरेकै देखिँदा ऐ.को ३ नं. बमोजिम सजाय गरी ऐ १० नं. बमोजिम प्रतिवादीको आधा अंश पीडितलाई भराई दिने गरेको पुनरावेदन अदालतको फैसला मिलेकै देखिने ।

(प्रकरण नं.२९)

 

प्रत्यर्थी वादीका तर्फबाटः

पुनरावेदक प्रतिवादीका तर्फबाटः

अवलम्बित नजीरः

 

फैसला

प्र.न्या.दिलीपकुमार पौडेलः शुरु मोरङ्ग जिल्ला अदालतको फैसला केहि उल्टी हुने ठहर्याई पुनरावेदन अदालत विराटनगरबाट २०५९।५।२३ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको यस अदालतमा पुनरावेदन परी पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :

२.   मिति २०५८।३।२१ गते ९ बजेको समयमा हाम्रो घरमा खाना खाने बेला भएको हुँदा छोरी वर्ष १३ की मुन्नाकुमारी गिरी घरमा नदेखि कता गईन् भनी खोज तलास गर्दै मेरो सहयोगी समेत लिई खोजतलास गर्दा छरछिमेकीलाई सोधपुछ गर्दा विश्वकुमार दासले साइकलमा राखी लिई गएको छ भन्ने कुरा थाहा पाई विश्वकुमार दासको टि.भी.तथा रेडियो बनाउने ठाउंको ढोका लगाएको देखि बाहिरबाट ढोका खोली हेर्दा छोरी रोइररहेको र विश्वकुमार तत्काल भागी गएको हुँदा निजलाई पक्राउ गरी कारवाही गरिपाऊँ भन्ने बलराम गिरीको २०५८।३।२२ को जाहेरी दरखास्त ।

३.   बालकृष्ण राईको घर उत्तर हेमराज खड्काको घर दक्षिण पूर्व राजमार्ग पश्चिम हेमराजको घर भनी ४ किल्ला भित्रमा सोनी टि.भि सेन्टर भएको सो कोठाको पश्चिम पट्टि सिमेन्ट ढलाई गरेको भुईमा धुस्सा विछ्याइएको, पीडितले देखाएको घटनास्थलमा उक्त ओछ्यानको धुस्सा माडिएको, सेतो पदार्थको दाग भएको उक्त धुस्सा समेत प्रहरीले बरामद गरी लगेको ठिक सांचो हो भन्ने घटनास्थल प्रकृति मुचुल्का ।

४.   पीडितको स्वाव तथा प्रतिवादीको पेनाइल ल्याव समेत परिक्षण गराउनु पर्ने समेत व्यहोराको जांच  प्रतिवेदन ।

५.  २०५८।३।२१ गते म  बसपार्क वरपर खेल्दै थिएं । प्र. विश्वकुमार दास  साईकलमा आए, मैले साइकल समाएं । निजले मलाई साइकल सिकाइ दिन्छु भनी मलाई साइकलमा बसाई एउटा टि.भि रेडियो मर्मत गने दोकानमा लगी तिमी यहाँ बस भनी कोठाभित्र धुस्सा विछाई बस्न लगायो म त्यही बसे, निज विश्वकुमार दासले उक्त दोकानको ढोका सटर बन्द गरी म भएको ठाउँमा आएपछि अंकल मलाई घर पुर्‍याई दिनुहोस् भने हुन्छ म तिमीलाई घर पुर्‍याई दिन्छु भनी मलाई समाती भुईमा ओछ्याएको धुस्सा माथि लडाई उत्तानो पारी मेरो छातीमा योनिमा समात्न थाले ।  मैले अंकल यो के गर्नु भएको मलाई घरमा लगिदिनुहोस् भनी रुन कराउन लाग्दा त चुपलागी बस केही पनि हुन्न भनी मेरो मुख थुनी पक्र्री उचाली निजले पेन्ट खोली लिंगले मेरो योनीमा प्रयोग गर्न थाले म पिडाले छटपटाई रहेको थिएं । रुन कराउन लाग्दा निज मेरो योनीमा लिंग प्रवेश गराए । त्यसपछि मैले केही थाहा पाइन, व्यहोस भएछु । पछि प्रहरीहरु आएका हुन् भन्ने समेत व्यहोराको पीडित मुन्नाकुमारीको मिति २०५८।३।२४ को कागज ।

६.   म साइकल लिई पश्चिम बसपार्कतर्फ घुम्न भनी गएको थिएँ । मैले पहिले नै चिनाजान भएको पश्चिम बसस्टेशन तिर चिया दोकानगरी बस्ने बलराम गिरीको छोरी वर्ष १३, १४ को मुनाकुमारी गिरीलाई देखि निजले मलाई साइकल चढ्न दिनुहोस भनीन् साइकलमा बस्नुहोस् भनी भन्दा निज साइकलमा बसेकोले मैले आफ्नो टि.भि तथा रेडियो दोकानमा पश्चिमपट्टि कोठामा लगि धुस्सा बस्न ओछ्याई निजलाई करणी गर्दा रुदा हल्ला गर्दा गाउँले समेतले थाहा पाई म ढोका खोली भागेको र पछि पक्राउ परेको हुँ भन्ने समेत व्यहोराको प्र. विश्वकुमार दासले मिति २०५८।३।२९ गते गरेको साविति बयान ।

७.  मेरी छोरी २०५८।३।२१ गते आफ्नो पसलमा कामगरी रहेकी थिइन् । प्र. विश्वकुमार दास पसलमा आई छोरीलाई साइकलमा चढाई लगेछन् र निजको टि.भी. रेडियो पसलको ढोका थुनी जवरजस्ती करणी गरेछन् । गाउँ छिमेकीहरुले हल्ला खल्ला गर्दा म समेत सो स्थानमा गई हेर्दा छोरी रोइरहेको अवस्थामा देखेको हुँ भन्ने समेत व्यहोराको पीडितकी आमा बालु गिरीले गरेको कागज ।

८.   प्रतिवादी विश्वकुमार दासले जाहेरवालाको छोरी मुन्नाकुमारी गिरीलाई ढोका बन्द गरी करणी गरेको अवस्थामा हामी छिमेकीहरुले थाहा पाई ढोका ढकढक्याउंदा खोली हेर्दा पीडितको योनीमा रगत विर्य समेत थियो रुँदै गरेकी थिइन् । विश्वकुमार भागिसकेको थियो । तुरुन्त प्रहरीलाई खवर गरेको हो भन्ने समेत व्यहोराको अरुणकुमार सुब्बा, पुष्प थापा, ठाकुर कृष्ण समेतको एकै मिलानको  कागज ।

९.   वर्ष १३ की मुन्नाकुमारीलाई प्रतिवादी विश्वकुमार दासले जवरजस्ती करणी गरेको हो भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्का ।

१०.  प्रतिवादी विश्वकुमारले जवरजस्ती करणीको १ नं. को कसूर गरेको देखिँदा ऐ. ३ नं. अनुसार सजाय गरी ऐ.ऐनको १० नं. बमोजिम आधा अंश पीडितलाई दिलाई पाउँ भन्ने समेत अभियोग दावी ।

११.  मिति २०५८।३।२१ गते पीडित मुन्नाकुमारी मेरो टि.भि. दोकानमा आएको थिइन । काहाँ हिडेको भन्दा टि.भि. हेर्न आएको भनिन् । मैले राती राती भयो तिमी घरमा जाउ भने, त्यस समयमा मैले नचिनेको ५,६ जना केटाहरु आई मलाई शंका गरी कुटपिट गरी थानामा लगे । मेरो कोठाको धुस्सा कसरी माडियो सेतो दाग कसरी लाग्यो, मैले करणी गरेको होइन । मलाई कुटपिट गरी जवरजस्ती सहीछाप गर्न लगाएका हुन् भन्ने समेत व्यहोराको प्र. विश्वकुमार दासको अदालतमा भएको बयान ।

१२.  मलाई विश्वकुमार दासले जवरजस्ती करणी गरेको हो भन्ने पीडित मुन्ना गिरीले अदालतमा गरेको  बकपत्र।

१३.  जाहेरवालाको छोरी मुन्नाकुमारीलाई प्र. विश्वकुमार दासले जवरजस्ती करणी गरेको हो भन्ने प्रहरीमा कागज गर्ने मनोज कटुवाल, मोहन सुनुवार, पुष्प थापा, अरुणकुमार सुब्बा समेतले शुरु अदालतमा गरेको बकपत्र।

१४.  मेरो छोरी मुन्ना गिरीलाई प्र. विश्वकुमारले २०५८।३।२१ गते प्रतिवादीले टि.भि. कोठामा जवरजस्ती करणी गरेको हो भन्ने जाहेरवाला बलराम गिरीले बकेको  बकपत्र ।

१५.  एकजना बच्ची उभिई रहेकी थिइन् । म टि.भि. हेर्छु भन्थिन्, प्रतिवादीले तिमि घर जाउ भने । निजले जवरजस्ती करणी गरेको होइन भन्ने प्रतिवादीका साक्षी विश्वनाथ महतो र सुन्दर दाहालले बकेको बकपत्र ।

१६.  पीडित मुन्नाकुमारीको भेजिनल स्वाव तथा प्र. विश्वकुमार दासको पेनइलस्याव जाँच भ  ई रिपोर्ट मिसिल सामेल रहेको पाइयो ।

१७.  प्रतिवादीले जवरजस्ती करणीको ५ नं.को कसूरसम्म गरेको देखिंदा यी प्रतिवादीलाई सोही जवरजस्ती करणीको ५ नं. अनुसार ३ वर्ष कैदको सजाय हुने ठहर्छ भन्ने सुनसरी जिल्ला अदालतको मिति २०५८।११।२६ को फैसला ।

१८.  पीडित मुन्नाकुमारी गिरीले अदालतमा आई गरेको बकपत्र, घटनास्थल प्रकृति मुचुल्का बुझिएका मानिसले गरेको बकपत्र पीडितको शारीरिक परिक्षण प्रतिवेदन समेतबाट प्रतिवादीले जवरजस्ती करणी गरेको निर्विवाद स्थापित भै रहेकोमा जवरजस्ती करणीको उद्योगको कसूर कायम गर्ने गरी भएको मोरंग जिल्ला अदालतको फैसला बदर गरी शुरु अभियोग मागदावी बमोजिम सजाय गरी प्रतिवादीको आधा अंश सर्वश्व गरी पीडितलाई दिलाई भराई पाउँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन पत्र ।

१९.  म प्रतिवादीको न्यायालय समेतको बयानलाई मेरा साक्षीको बकपत्रले पुष्टि गरी मेडिकल जांच रिपोर्ट, मेरो पेनाइल स्याव र घटनास्थलबाट उठाइएको टाटा (दाग) परिक्षण रिपोर्ट समेतले पुष्टि गरिरहेको हुँदा म निर्दोष रहेको भन्ने देखिंदा देखिंदै जाहेरवाला पीडित तथा मौकाको कागज गर्ने व्यक्तिको बकपत्र प्रमाणमा लिन नमिल्नेमा तथ्य तथा कानूनको त्रुटि गरी मलाई दोषी ठहर गरी भएको मोरंग जिल्ला अदालतको फैसला बदर गरी सफाई पाउँ भन्ने प्रतिवादीको पुनरावेदन पत्र ।

२०.  शुरु सुनसरी जिल्ला अदालतले जवर्जस्ती करणीको उद्योगको कसूर ठहर्‍याएकोफैसला मिलेको नदेखिएकोले सो फैसला केहि उल्टी भई प्रतिवादी विश्वकुमार दासले जवरजस्ती करणी गरेको ठहर्छ र निजलाई जवर्जस्ती करणीको ३ नं. बमोजिम ६ वर्ष कैद हुन्छ । ऐ को १० नं. बमोजिम प्रतिवादीको आधा अंश सर्वश्व गरी पीडितलाई भराइदिने समेत ठहर्छ भन्ने पुनरावेदन अदालत विराटनगरको मिति २०५९।५।२३ को  फैसला ।

२१.  जाहेरवालाको जाहेरी र अदालतको बकपत्र एकआपसमा वाझिएकोले प्रमाणमा लिन मिल्दैन । वादी पक्षबाट उपस्थित साक्षीबाट पनि वारदात पुष्टि नभएकोले पुनरावेदन अदालतको फैसलामा अ.वं. १८४(क) नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ समेतको त्रुटी भएको छ । डाक्टरी रिपोर्ट समेतबाट जवर्जस्ती करणीको कुनै चिन्ह प्रमाण नभेटिएकोले पनि जवर्जस्ती करणीको अपराध ठहर गर्न नमिल्नेमा कसूरदार ठहर्‍याई सजाय गरेको पुनरावेदन अदालतको त्रुटीपूर्ण फैसला बदर गरी कसूरबाट सफाई पाउँ भन्ने प्रतिवादी विश्वकुमार दासको यस अदालतमा परेको पुनरावेदन पत्र ।

२२.  यसमा शुरु सुनसरी जिल्ला अदालतले पुनरावेदक प्रतिवादी विश्वकुमार दासलाई जवर्जस्ती करणी उद्योगमा तीन वर्ष कैद गर्ने गरी २०५८।११।२६ मा गरेको फैसलामा वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परी पुनरावेदन अदालत विराटनगरबाट निज प्रतिवादीलाई ६ वर्ष कैद हुने ठहर्‍याई २०५९।५।२३ मा फैसला गरेको देखिन्छ । सो फैसला अनुसारको लगत कायम गरी सुनसरी जिल्ला अदालतलाई पुनरावेदन अदालत विराटनगरबाट २०५६।८।१ मा पत्र पठाएको पाइन्छ । पुनरावेदन अदालतको फैसला उपर चित्त नबुझे पुनरावेदन गर्न प्रतिवादी विश्वकुमार दासको नाममा २०५९।८।१५ मा कारागार शाखा मोरङ्ग मार्फत ७० दिने म्याद तामेल भई निजले उक्त कारागार शाखा मोरङ्ग मार्फत ७० दिने म्याद तामेल भई निजले उक्त कारागार शाखा मार्फत गरेको पुनरावेदन २०५९।११।२९ मा यस अदालतमा दर्ता भएको मिसिलबाट देखियो । निजलाई मुद्दा पेशीमा रहेको सूचना २०६१।५।२० मा यस अदालतबाट पठाएको पत्रको जवाफमा निज प्रतिवादी विश्वकुमार दास सुनसरी जिल्ला अदालतको फैसला अनुसार लागेको कैद वर्ष ३।०।० भुक्तान गरी २०६१।३।२३ गते छुटि गएको भन्ने उल्लेख गरी उक्त कारागार शाखाले यस अदालतलाई च.नं. ५०८ मिति २०६१।६।११ को पत्र पठाएको देखिन्छ । तत्पश्चात् प्रतिवादीलाई पुनः पेसीको सूचना दिन यस अदालतबाट उक्त कारागार शाखामा नै २०६१।१२।१९ मा पत्र लेखेको पाईयो । पुनरावेदन अदालतले शुरु फैसला केही उल्टी गरी प्रतिवादीलाई ६ वर्ष कैद हुने फैसला गरी शुरुले राखेको लगत संशोधन गर्न शुरु अदालतमा लेखि पठाई सकेको अवस्थामा पुनरावेदन अदालतको फैसला अनुसारको कैद भुक्तान हुन बांकी छंदै कसरी को कसको आदेशले प्रतिवादी छुटि गएको हो ? सम्बन्धित सबै पक्षसंग जो जे बुझ्नु पर्ने हो, बुझी आवश्यक कारवाही गरी गराई कार्य सम्पन्न भएपछि नियमानुसार पेश गर्नु भन्ने मिति २०६२।१।३० को आदेश ।

२३.  कारागार ऐन, २०१९ को दफा ३(२) बमोजिम रितपूर्वक कैदी पूर्जी मुद्दा फैसला भएको तीन दिनभित्र प्राप्त हुनुपर्नेमा लगभग २ वर्षसम्म पनि रितपूर्वकको संशोधन कैदी पूर्जी प्राप्त नभएको हुँदा निज विश्वकुमार दासलाई शुरु जिल्ला अदालतको कैदीपूर्जी बमोजिम थुनामुक्त गरिएको भन्ने कारागार शाखा मोरङ्गको जवाफ ।

२४. यस अदालतमा रहेको लगत किताब हेर्दा पुनरावेदन अदालत विराटनगरबाट २०५९।५।२३ मा यस अदालतको फैसला उल्टी भै प्र. विश्वकुमार दासलाई छ वर्ष कैद हुने गरी भएको फैसला बमोजिमको लगत कसी कैदीपूर्जी दिन यस अदालतलाई लेखिएको पुनरावेदन अदालत विराटनगरको प.सं. २०५९।०६० च.नं. १७९४ मिति २०५९।८।१ को पत्र यस अदालतमा दर्ता भएको अदालतको दर्ता रेकर्ड नदेखिनुको साथै उक्त पत्रानुसारको कैदी म्याद ठेकी कैदी पूर्जी लगत दिएको नदेखिएको भन्ने सुनसरी जिल्ला अदालतको जवाफ ।

२५. सुनसरी जिल्ला अदालतको चिठ्ठीपूर्जी दर्ता चलानी शाखामा कार्यरत ता.वि. श्रीमती बिमला कर्ण र बहिदार श्रीमती नेत्रकुमारी खतिवडालाई जनही १ (एक) तलव बृद्धि रोक्का गर्ने विभागीय सजाय गर्ने र अभिलेख फांटवाला डि. साराम पराजुलीलाई २ (दुई) तलव बृद्धि रोक्का गर्ने सजाय गर्न पुनरावेदन अदालत विराटनगरका रजिष्ट्रारले लोकसेवा आयोगसंग परामर्श मागेको  पत्रको छायाप्रति समेत मिसिल संलग्न रहेको ।

२६.  नियम बमोजिम दैनिक पेशीसूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा सम्बन्धित मिसिल कागजात अध्ययन गरियो । शुरु अदालतले गरेको फैसला केही उल्टी गरी गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ? भन्ने प्रश्नमा निर्णय दिनुपर्ने देखियो ।

२७. ईन्साफतर्फ बिचार गर्दा मिति २०५८।३।२१ गते साँझ आफ्नी छोरी मुन्नाकुमारीलाई नदेखी खोज्दै जांदा विश्वकुमार दासले अं. राती ९ बजेको समयमा निजको रेडियो, टि.भी. मर्मत गर्ने पसलमा ढोकाभित्रबाट बन्द गरेकोले ढकढक्याउंदा खोली निज फरार भए, छोरी मरें मरें भनी रुंदै कराउंदै गरेकीले सोद्धा निज विश्वकुमारले जवर्जस्ती करणी गरेको थाहा पाएको भनी जाहेरी परेको आधारमा प्रस्तुत मुद्दामा अनुसन्धान तहकिकात भएको देखिन आउंछ । अनुसन्धान तहकिकातबाट प्रतिवादी बिश्वकुमार दासले वर्ष १२ की मुन्नाकुमारी गिरीलाई जवर्जस्ती करणीको अपराध गरेको देखिएको भन्ने आधारमा निजलाई मुलुकी ऐन जवर्जस्ती करणीको ३ नं. बमोजिम सजाय गरी ऐ. १० नं. बमोजिम पीडितलाई आधा अंश भराई पाउन माग दावी लिई अभियोग पत्र दायर भएको पाईन्छ । शुरु जिल्ला अदालतले प्रतिवादीलाई जवर्जस्ती करणीको ५ नं. बमोजिम जवर्जस्ती करणीको उद्योग सम्म गरेको ठहर्‍याई तीन वर्ष कैदको सजायँ गरेकोमा पुनरावेदन अदालतबाट सो फैसला केही उल्टी गरी प्रतिवादीले पीडितलाई जवर्जस्ती करणी गरेको ठहर्‍याई जवर्जस्ती करणीको ३ नं. बमोजिम ६ वर्ष कैद र ऐ. १० नं. बमोजिम प्रतिवादीको आधा अंश सर्वस्व गरी पीडीतलाई भराई दिने गरी फैसला गरेको देखिन आउँछ ।

२८.  मिसिलको अध्ययनबाट मिति २०५८।३।२१ गते साँझ प्रतिवादीले साइकलको क्यारियरमा चढाई निजको घरबाट टि.भि. रेडियो मर्मत गर्ने दोकानमा लगी सटर बन्द गरी जवर्जस्ती करणी गरेको भन्ने पीडितले मौकामा गरेको बयानमा उल्लेख गरिदिएको देखिन्छ । मौकाको उक्त कागजलाई जाहेरवाला तथा पीडितले समर्थन गरी अदालतमा बकपत्र गरिदिएको देखिन आउंछ । पीडितको मौकामा भएको शारीरिक परीक्षणबाट scratch mark on  upper abdomen present भन्ने र हाइमन हल्का रुपमा च्यातिएको (silghtly torn) भन्ने उल्लेख भएको पाईन्छ । प्रतिवादीलाई पोल गरी मौकामा कागज गर्ने पुष्प थापा, मनोज कटुवाल समेतका व्यक्तिले अनुसन्धान तहकीकातको क्रममा व्यक्त गरेको कुरालाई समर्थन गरी अदालतमा बकपत्र गरेका रहेछन् । अनुसन्धान अधिकारी समक्ष कसूर स्वीकार गरी साविती बयान गर्ने प्रतिवादीले अदालतमा बयान गर्दा कसूरमा ईन्कार रहेको देखिन्छ । तथापि पीडित मुन्नाकुमारी गिरी उक्त २०५८।३।२१ गते सांझ आठ बजे आफ्नो टि.भि.दोकान अगाडि रहेको भन्ने उल्लेख गरेकोमा निक्कै टाढा घर भएकी निज पीडित मुन्ना गिरी कथिन टि.भि. हेर्ने नाममा त्यहा किन र कसरी एक्लै आईपुगेकी हुन् भन्ने प्रश्नको जवाफ प्रतिवादीको बयानबाट प्राप्त हुन सकेको छैन । मौकाको कागज, पीडितको भनाई, घट्नास्थल मुचुल्का, पीडितको मौकाको शारीरिक परिक्षण तथा अदालतमा पीडित, जाहेरवाला र मौकामा कागज गर्ने मानिसहरुले आफ्नो मौकाको भनाईलाई समर्थन गरी गरेको बकपत्र समेतबाट प्रतिवादीको अनुसन्धान अधिकारी समक्षको बयानमा उल्लेखित कुरा  मालाकार रुपमा समर्थित भै अदालत समक्षको प्रतिवादीको बयान खण्डित भैरहेको देखिन   आउछ ।

२९.  जहांसम्म प्रतिवादीले यस अदालतमा गरेको पुनरावेदनमा मौकामा पीडितको स्वास्थ्य परिक्षण गर्दा हाईमन नच्यातिएको, वीर्य समेत नपाईएको र शरीरमा अन्य कुनै चोटपटक तत्काल लागेको पनि नदेखिएकोले जवर्जस्ती करणी ठहर गर्न नमिल्ने भन्ने जिकिर लिएको छ, तत्सम्बन्धमा बिचार गर्दापीडितको मौकाको शारीरिक परिक्षणबाट scratch mark on  upper abdomen present तथा Hymen silghtly torn भन्ने उल्लेख भएको पाईएको छ । त्यसैगरी एक अबोध नाबालिकालाई ललाई फकाई आफ्नो सुरक्षित स्थानमा लगी जवर्जस्ती करणी जस्तो जधन्य अपराधिक कार्य गरेको स्थितिमा पीडितले तत्काल प्रतिकार गर्न सक्ने अवस्था हुँदैन । मौकाको शारीरिक परिक्षणबाट पीडितको हाईमन हल्का च्यातिएको (torn) भन्ने उल्लेख भएको स्थिति हुँदा योनीमा लिङ्ग प्रवेश गर्दा हाईमन पूर्णरुपमा फाटेकै हुनुपर्ने भन्ने तर्क गर्नु मनासीव र स्वास्थ्य विधिशास्त्र अनुकूल पनि हुँदैन । त्यस्तै जवर्जस्ती करणी हुनलाई बीर्य योनीभित्र स्खलन भएकै वा योनी बाहिर देखिएकै हुनुपर्ने अनिवार्यता रहदैन । तसर्थ प्रतिवादीले लिएको जिकिर तथ्यसंगत तथा कानूनसंगत देखिन आएन । मिसिल संलग्न उपरोक्त उल्लेखित आधारहरुबाट प्रतिवादी विश्वकुमार दासले अभियोग माग दावी बमोजिम नावालिका मुन्नाकुमारी गिरीलाई मुलुकी ऐन जवर्जस्ती करणीको १ नं. बमोजिम जवर्जस्ती करणीको अपराध गरेकै देखिंदा ऐ.को ३ नं. बमोजिम सजाय गरी ऐ १० नं. बमोजिम प्रतिवादीको आधा अंश पीडितलाई भराई दिने गरेको पुनरावेदन अदालतको फैसला मिलेकै देखिन  आयो ।

३०.  यसका अतिरिक्त शुरु जिल्ला अदालतबाट जवर्जस्ती करणीको उद्योगको कसूरमा तीन वर्ष कैद गरी कारागार शाखामा थुनामा रहेका प्रतिवादीले पुनरावेदन अदालतबाट सो फैसला केही उल्टी भै आफूलाई छ वर्ष कैद समेत हुने ठहरी मिति २०५९।५।२३ मा भएको फैसलाको जानकारी २०५९।८।१५ मा पाएपछि मिति २०५९।११।१२ मा कारागार शाखा विराटनगर मार्फत यस अदालतमा पुनरावेदन गरेको देखिन्छ । तत्पश्चात आफूलाई लागेको कैदमा कमी हुने भएको वा सफाई पाएको केही जानकारी प्राप्त नभएको र सर्वोच्च अदालतमा आफैले दिएको पुनरावेदन पत्र बिचाराधीन रहेको अवस्थामा सो कुरालाई नजरअंदाज गरी जिल्ला अदालतले संशोधित बढी कैद सजायको लगत नपठाएको र कारागारको लगत रेकर्ड अद्याबधिक नभएको फाईदा उठाई कारागारबाट शुरु अदालतले गरेको कैद तीन वर्षको अवधि भुक्तान गरी २०६१।३।२३ मा छुटि गएको भन्ने देखिन आयो । पुनरावेदन अदालतबाट ठहर भएको सो संसोधित कैदको लगत कस्न नपठाई आफ्नो जिम्मेवारी पूरा नगरी लापरवाही गर्ने जिल्ला अदालतका कर्मचारीलाई विभागीय कारवाही भएको भन्ने मिसिलबाट देखिन आउंछ । जहांसम्म प्रतिवादीको सम्बन्धको कुरा छ, निजले समेत आफूलाई पुनरावेदन अदालतबाट बढी कैद सजाय भएको र आफ्नो पुनरावेदन सर्वोच्च अदालतमा बिचाराधीन रहेको कुरालाई लुकाई वेवास्ता गरी कैदबाट छुटी गएको हुँदा अदालतको काम कारवाहीलाई सफा र शुद्ध हृदयले सहयोग गरी पूर्पक्षमा रहन चाहेको देखिएन ।

३१.  तसर्थ शुरु जिल्ला अदालतले पुनरावेदक/ प्रतिवादीलाई जवर्जस्ती करणीको उद्योगको कसूर गरेको सम्म ठहर्‍याई गरेको फैसला केही उल्टी गरी जवर्जस्ती करणीको कसूर गरेको ठहर्‍याई जवर्जस्ती करणीको ३ नं. बमोजिम सजायँ गरी ऐ १० नं. बमोजिम पीडितले प्रतिवादीको आधा अंश भरिपाउने ठहर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरुमा तपसिल बमोजिम  गर्नु ।

                    

तपसिल

माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम शुरु जिल्ला अदालतको फैसला केही उल्टी गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०५९।५।२३ को फैसला सदर हुने ठहरेकोमा सो फैसला बमोजिम प्रतिवादी थुनामा नरही २०५८।३।२२ बाट २०६१।३।२२ सम्म थुनामा रही ऐ.२३ गते छुटी गएको देखिंदा बांकी कैद ३ (तीन) वर्ष समेत लगत कसी असुल गर्नु भनी शुरु जिल्ला अदालतमा लेखिपठाई  दिनु   .. १

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु .......... २          

                                                                  

उक्त रायमा सहमत छु ।

 

न्या.ताहिरअलि अन्सारी

 

इति संवत् २०६३ साल श्रावण २१ गते रोज १ शुभम् ...................

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु