निर्णय नं. ७७३८ - कर्तव्य ज्यान

निर्णय न. ७७३८ ने.का.प. २०६३ अङ्क ७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बलराम के.सी.
माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी
संवत २०६० सालको फौ.पु.नं. ३१२०
फैसला मितिः २०६३।६।३०
मुद्दाः– कर्तव्य ज्यान ।
पुनरावेदक
प्रतिवादीः जिल्ला सुर्खेत लाटी कोइली गा.वि.स. वडा नं. १ रिउले टोल बस्ने कर्णबहादुर रावल
विरुद्ध
प्रत्यर्थी
वादीः आशिषराज योगीको जाहेरीले श्री ५ को सरकार
§ अदालतमा बयान गर्दा जाहेरवाला र प्रतिवादीका बीच झगडा भएको भनी जाहेरी र अदालतमा भएको बयान एक आपसमा बाझिएकोले अदालतमा रिस इविलाग भै बच्चीलाई मार्ने नियत रहेको भन्ने जाहेरवालाको भनाईलाई अन्य प्रमाणको अभावमा विश्वास गर्न नसकिने ।
(प्रकरण नं. ३०)
§ आफुलाई खान भनी राखिदिएको भात कुकुरले खाई दिएको र भोकले सताएको भनेको प्रतिवादीले भातको सट्टामा रोटी टोक्दै गर्दा पुनः सोही कुकुर आई छोरालाई पकाई राखेको लिटो समेत खाई दिएको झोकमा कुकुरलाई हानेको ढुंगा कुकुरको गर्धनमा लागि उछिट्टिएर गएको ढुंगाले बच्ची विद्या योगीको टाउको पछाडि लागेकोमा अगाडि बच्ची सुताई राखेको देखेपछि ढुंगा जस्तो घातक वस्तुले कुकुरलाई हान्दा बच्चीलाई लाग्न सक्छ भन्ने कुरा पुनरावेदक प्रतिवादीले जान्नुपर्ने ।
§ अगाडि बच्ची देख्दा देख्दै ठुलो ढुंगाले हानी बच्चालाई लाग्न गएको कार्यलाई पुनरावेदकको लापरवाही र हेलचेक्रयाई मान्नु पर्छ । प्रतिवादीको ज्यान लिने इविलाग वा मनशाय नभए पनि आफूले गरेको त्यस्तो कार्यले मानिस मर्ला भन्ने विचार गर्नपर्छ । कुनै काम कुरा गर्दा त्यसै द्वारा केही भै कुनै मानिस मर्न गएमा हाम्रो कानूनले त्यस्तो कार्य भवितव्य ठहर्ने ।
§ आफु भन्दा अगाडि बच्चा सुताईरहेको देखिएको अवस्थामा झोलुंगो र आफू बीचमा कुकुर रही सो भन्दा पर झोलुंगो मा बच्चा रहेको अवस्थामा सानो बच्चीको लागी घातक हुन सक्ने ढुंगाले हानेको कारण बच्चीलाई टाउकोमा लागि सोही चोट पीरका कारण बच्ची विद्या योगीको सोही दिन मृत्यु भएको घटनामा प्रतिवादीलाई ज्यान सम्बन्धी महलको ६(२) नं. बमोजिम होस नपुर्याई वा हेलचेक्र्याई गरी कुनै काम गर्दा भवितव्य परेकोमा पाँचसय रुपैया सम्म जरिवाना र २ वर्ष कैदको सजाय समेत हुने ठहराएको फैसला मनासिब ठहर्ने ।
(प्रकरण नं. ३१)
पुनरावेदक प्रतिवादीका तर्फबाटः
प्रत्यर्थी वादीका तर्फबाटः
अवलम्बित नजीरः
फैसला
न्या.वलराम के.सी.: पुनरावेदन अदालत सुर्खेतको मिति २०५७।८।१३।३ को फैसला उपर न्याय प्रशासन ऐन,२०४८ को दफा १२ को खण्ड (क) (ख) बमोजिम मुद्दा दोहोर्याई पाउँ भन्ने प्रतिवादी तर्फबाट पर्न आएको निवेदनमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :-
२. म वन चेक पोष्ट धुलीयाविटमा कार्यरत रहेको हुँदा २०५६।३।७ गते डिउटीमा आई बसेको थिए । श्रीमतीले छोरीलाई पनि नयाँ किनेको घर सुव्वा कुना ल्याएको थिइन सो दिनको ११ बजे कर्णबहादुर रावलले ढुंगाले हानी भागे भन्ने तिलक बि.सी.समेतले खबर गरेपछि छोरीको अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएकोले कानून बमोजिम गरी पाउँ भन्ने जाहेरी दरखास्त ।
घटनास्थल तथा लाश प्रकृति मुचुल्का भई मिसिल सामेल रहेको ।
३. २ तले फुसको छाना भएको घरको पालिमा झोलुंगो बनाई ७ महिनाको बच्चा सुताई रहेको भनिएको ठाउँ र सो ठाउँमा झोलुंगो नरहेको भन्ने जाहेरवालाले देखाए अनुसारको घटनास्थल ठीक छ भन्ने घटनास्थल प्रकृति विवरण ।
४. उक्त मितिको ११ बजे खेतबाट घर आउँदा श्रीमतीले मेरो लागी खाना तपेलीमा र बच्चाको लागी लिटो पकाई राखेको रहेछ खाना पछी खाउला पहिला फरुवाको विड बनाउछु भनि विड बनाउदैको मौकामा ठाडा मगरको कुकुरले खाना र लिटो सबै खाईदिएकोले रिस उठी त्यही भेटेको अं. १÷२ किलो जतिको ढुंगाले त्यस कुकुरलाई हान्दा कुकुरको गर्धनमा लागी उछिटिृ कपडाको झोलुंगोमा सुनाई राखेको बच्चाको टाउकोमा लाग्न गै जाहेरवालाको छोरीको मृत्यृ हुन गएको हो भन्ने प्र. कर्णबहादुर रावलको बयान ।
५. अं.१/२ किलो जतिको तोलको ढुंगा बरामदी भएको भन्ने बरामदी मुचुल्का रहेछ । उक्त मितिमा जाहेरवाली रोएको सुनी के भएछ र ? भनी त्यहां गई सोध्दा कर्णबहादुर रावलले कुकुरलाई हानेको ढुंगा उछिटिृन गई सुताएको बच्चालाई लाग्न गएको हो भन्ने कौशिला रावलबाट थाहा पाएपछि म समेतले बच्चालाई उपचारको लागी बोकी जाहेरवालानिर पुर्याएका हौ पछि मृत्यु भयो भन्ने सुने भन्ने सर्जी बि.क.को कागज ।
६. उक्त मितिको दिनको अं. ११।१२ बजेतिर जाहेरवाली रोइ कराई रहेको देखी त्यहां जाँदा मृतक मुर्छित भएकोले म र सर्जि बि.क. समेतले सो बच्चालाई उपचारको लागी बोकी ल्याई जाहेरवालानिर छोडेर हामी घर फक्र्यौ पछी अस्पतालमा उपचार गराउंदा गराउदै मृत्यु भएछ सो कुरा बुझ्दा प्र.कर्णबहादुर रावलले आफ्नो भात र बच्चाको लिटो समेत कुकुरले खाई दिएको कारण रिसउठी त्यस कुकुरलाई ढुंगाले हान्दा कुकुरको गर्धनमा लागी उछिटृीन गई झोलुंगोमा सुताई राखेको बच्चाको टाउकोमा लागी मृत्यु भएको भन्ने सुनेको हुँ भन्ने व्यहोराको तिलक बि.सी.को कागज ।
७. मिति २०५६।३।७ गते बिहान खाना खाई घर सल्लाह अनुसार म र मृतक छोरीलाई साथमा लिई नयाँ घर सुव्वा कुना गई कपडाको झोलुंगो बनाई सुताई भदैहरु र मैले चुल्लो बनाई रहेको अवस्थामा भदैले तपाई अरु काम गर्नुहोस हामी चुल्हो बनाई दिन्छौ भनेपछि म माथिल्लो तलामा लिप्न लागे सो समयमा कर्णबहादुर रावलले ढुंगा लिएर आएको देखेको हुँ । एकछिनपछि झोलुंगो तिर हेर्दा बच्चाले आंखा फर्काई हात खुटृा तनकाई सकेको देखेर कर्णबहादुरलाई बच्चा मारी हालिस निकाल्दे भन्दा पनि नसुनेर आफ्नो घरको यताउता ढुंगा समाति हिडीरहेको थियो । सर्जि बि.क. समेत आई बच्चा निकालेको थाहा पाउछु पछि म बेहोस भएपछि अस्पतालमा लगेर उपचार गराउँदा गराउदै निज बच्चाको मृत्यु भएछ । पछि म होसमा आउँदा थाहा पाएको हु बच्चालाई जानी जानी मारेकोमा विश्वास लाग्छ भन्ने मृतकको आमा कमला योगीको कागज ।
८. सुने अनुसार उक्त मितिमा जाहेरवालाको छोरी झोलुंगोमा सुताई रहेको अवस्थामा कर्णबहादुर रावलले कुकुरलाई हान्ने बहानामा कुकुरलाई न हानी सिधै ढुंगाले मृतकको टाउकोमा हानी मारेको हो भन्ने सुने बुझेको हुँ । निज प्र.कै कर्तव्यबाट मृतकको मृत्यु भएको हो र विश्वास पनि लाग्छ भन्ने समेत व्यहोराको उमालाल चप्राई समेतका ९ जनाको एकै मिलान हुने गरी गरिदिएको बस्तुस्थिति मुचुल्का ।
९. उक्त मितिको अं. ११ बजेको समयमा म दाजु कर्णबहादुरको घर आंगनमा घासको भारी लिई पुग्दा फरुवाको विड तछिन लाग्नु भएको थियो । घाँसको भारीबाट नाम्लो फुकाउँदा फुकाउदै दाइले हातमा ढुगा समाति मृतकको घर तर्फ कुकुरलाई लखेट्दै गएको केही छिनमा कमला योगी रोएको सुनी त्यहां जाँदा दाई एकातिर थरथरी कापेका थिए बच्चालाई सर्जि बि.क.हरु ले समाई ल्याएका देखि मैले दाई तपाई बच्चालाई अस्पताल लिएर जानुहोस म पैसा लिएर आउँछु भनी दाईलाई अस्पताल पठाए म अस्पताल आउँदा बच्चा मरिसकेको थियो कुकुरले भात खाई दिएको हुँदा सोही रिसले कुकुरलाई हानेको ढुंगाले बच्चालाई लाग्न गई मृत्यु भएकोमा पूर्ण विश्वास लाग्छ भन्ने पोख्रेली भन्ने रुपकला पोख्रेलको कागज ।
१०. निज विद्या योगीको मृत्यु टाउकोमा चोट लागी मस्तिष्कमा रगत जमिएको कारणबाट भएको देखिन्छ भन्ने लाश पोष्टमार्टम रिर्पोट ।
११. उक्त मितिको दिन हामी चुल्लो बनाई रहेका र फुपुले माथी लिपपोत गरी रहेका थिए । म बाहिर आउंदा कर्णबहादुर रावलले हानेको ढुंगाले झोलुंगोमा रहेको विद्या योगीको टाउकोमा लागेको देखेको हुँ । दाजुले बहिनीलाई किन ढुंगाले हाने मलाई केही थाहा छैन भन्ने राजन प्रसाद चपाईको कागज ।
१२. म चुलो बनाउँदा बनाउँदै ढुंगा लिन बाहिर आउँदा बहिनीलाई ढुंगाले लागेको देखेको हुँ । कर्ण ब. आफ्नो घर अगाडि यताउता गरी रहेको देखेको हु । पछी फुपुले प्रकाश बहिनीलाई झोलूंगोबाट झिक भनेपछि झिक्दा टाउकोमा अलिकति सुन्नेको थियो । विद्या योगी झोलुंगोमा सुतेको देखी प्र.ले ढुंगाले प्रहार गरे जस्तो लाग्छ भन्ने समेत व्यहोराको सुर्य प्रसाद चपाइको कागज ।
१३. २०५६।३।७ गतेका दिन म आफ्नै घरमा थिए मेरा श्रीमान खेत जोत्न गएका थिए श्रीमान् घरमा आउँदा म घरपछाडि भांडा माज्दै थिए । सोही समयमा कुकुर आई भात खाई दिएछ र सो कुकुरलाई श्रीमान कर्णबहादुर रावलले लखेट्दै थिए केही समय पछी घटनास्थलमा रोइकराई गरेको सुनी के भएछ भनी हेर्न जाँदा मृतकको आमा रोइरहेको र मानिसहरुले तिम्रो श्रीमानले कुकुरलाई हान्दा बच्चालाई लाग्यो भनेकाले सुनी थाहा पाएको हुँ । कुकुरलाई हानेको ढुंगा उछिट्टिएर विद्या योगीलाई लाग्न गई उपचार गर्दा गर्दै मृत्यु भएको हो जाहेरवालासंग कुनै रिसइवी झै झगडा थिएन भन्ने समेत व्यहोराको प्र.कि श्रीमती कौशिला रावलको कागज ।
१४. घटनास्थल समेतको रेखा चित्र लेखी लेखाई तयार गरीएको रेखा चित्रण मुचुल्का ।
१५. जाहेरी दरखास्त , लाश प्रकृति मुचुल्का, पोष्टमार्टम रिर्पोट , बस्तुस्थितिका मानिसहरुका कागज तथा प्र. कर्णबहादुर रावलको बयान र अन्य संकलित सवुद प्रमाणहरुका आधारमा प्र. कर्ण बहादुृर रावलले कुकुरलाई भगाउन ढुंगा हानेको र सो ढुंगा कुकुरलाई नलागी मृतक विद्या योगीलाई लाग्न गई मृत्यु भएको नदेखिई प्र. कर्णबहादुर रावलले विद्या योगीलाई मार्ने मनसायले ढुंगा प्रहार गरेको र सोही चोट पटकबाट मृत्यु भएकोले निज प्र. कर्ण ब.रावललाई ज्यान सम्बन्धी महलको १ नं. विपरीत ऐ. १३(३) नं. को कसूरमा सोही १३(३) नं. बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको अभियोग मागदावी ।
१६. मैले कुकुरलाई हान्छु भन्ने बहानामा सिधै बच्चालाई हानी मारेको होइन कुकुरले भात खाई दिएको हुँदा कुकुरलाई हान्दा कुकुरलाई लागी सो ढुंगा उछिट्टिई बच्चालाई लाग्न गई विद्या योगीको सोही कारणले मृत्यु भएको हो । प्रहरीमा कागज गर्ने सबै मानिसहरु एमालेका हुन तिनीहरुले सुर्यमा भोट हाल भनेका थिए मैले नदिएको कारण पोख्रेल्नी बहिनीले भनेपछि मैले जानी जानी हानेका हुन भनी लेखाएका हुन । मैले विद्या योगीलाई जानी जानी दुंगाले नहानी कुकुरलाई हान्दा उछिट्टिएर लाग्न गएकोले मलाई अभियोग पत्र बमोजिम सजाय नहुनु पर्ने हो भन्ने प्र. कर्णबहादुर रावलले अदालतमा गरेको बयान ।
१७. उक्त जग्गा मैले जेठानबाट खरिद गरि बसोबास गरिनु अघि यी प्र.ले म किन्छु भनीरहेका थिए मैले किनेपछि सोही रिसइवीको कारण रिसपोख्न जानी जानी विद्या योगीलाई मारेको हो भन्ने जाहेरवाला आशिषराज योगीले अदालतमा गरेको बकपत्र ।
१८. प्र.कर्णबहादुर रावलले आफ्नो भात ठाडा मगरको कुकुरले खाई दिएका कारण सो रिसमा कुकुरलाई हान्दा उक्त ढुंगा उछिट्टिएर विद्या योगीलाई लाग्न गई उपचार गर्दा गर्दै मृत्यु भएको हो निज प्र.ले जानी जानी मार्ने गरी हानेको होइन भन्ने प्र.का साक्षी दिपबहादुर वली र तेजेन्द्र वि.सी. समेतको एकै मिलानको छुट्टा छुट्टै बकपत्र भै मिसिल सामेल रहेको ।
१९. मेरो दाईको जग्गा कर्णबहादुरले किन्न खोजी रहेका थिए । मैले किनेको हुँदा सो जग्गा किन्न पाइएन भन्ने रिसले कि तिमीहरु मछौं कि म मर्छु भनीरहेको र मेरो बच्चा सुताई रहेको देखी देखी मार्ने उद्देश्यले कुकुरलाई हान्दा लाग्न गएको हो भन्ने बहाना बनाई बच्चालाई हानी रिस साध्न खोजेको हो भन्ने मृतककी आमा कमला योगीले अदालतमा गरेको बकपत्र ।
२०. प्र. कर्णबहादुर रावलले कुकुरलाई हान्दा होइन जानी जानी ढुंगाले हानी मारेको हो भन्ने देख्ने मानिस सुर्य प्रकाश चपाई र राजन चपाईको एकै मिलानको अलग अलग भएको बकपत्र ।
२१. तिलक बि.सी. र सर्जि बि.क.को कागज र प्रतिवादीका साक्षीको बकपत्र तथा प्रतिवादीको मौका देखीको बयान र अदालतको बयान समेतबाट कुकुरले मृतकको भात लिटो खाई दिएको कारण कुकुरलाई ढुंगाले हान्दा उछिट्टिएर मृतक विद्या सुतिरहेको झोलुंगोमा मृतकलाई लागी सोही चोट पटकबाट मृतक विद्याको मृत्यु भएको देखिंदा प्रतिवादीले मानिस समेतको विचार नगरी, होस नपुर्याई , हेलचक्रयाई गरी उक्त ढुंगा कुकुरलाई प्रहार गर्दा मृतक विद्यालाई लागी मारेको हुँदा प्र. कर्णबहादुर रावलले ज्यान सम्बन्धी महलको ५ नं. र ६(२) नं. बमोजिम भवितव्यको कसूर गरेको ठहर्छ र निज प्र.कर्णबहादुर रावललाई ज्यान सम्बन्धी महलको ६ नं. को देहाय (२) बमोजिम रु ५००।– जरिवाना र २ वर्ष कैदको सजाय समेत हुने ठहर्छ भन्ने शुरु सुर्खेत जिल्ला अदालतको मिति २०५६।१०।३ को फैसला ।
२२. प्रतिवादी उपरको किटानी जाहेरी, बुझिरहेको मृतककी आमा कमला योगी सर्जि बि.क. र तिलक वि सी.समेतको कागजबाट प्रतिवादीले कुकुरलाई हान्दा मृतकलाई लाग्न गएको हो भन्ने कुरा नपाईनुका साथै प्रत्यक्षदर्शी राजन चपाई तथा कमला योगीले कुकुरलाई हान्दा नभै यी प्र.ले मृतकलाई मार्छु भन्ने मनसायले नै हानी मारेको हो भनी लेखाई दिएकोमा उल्लेखित प्रमाणको मुल्याकंन नगरी गरिएको शुरुको फैसला जग्गा सम्बन्धी पूर्ण रिसइवी कै कारणले मृतक विद्यालाई प्र.ले कर्तव्य गरी मारेका हुन भनी मृतककी आमा कमला योगीको बकपत्र समेतको प्रमाणहरुको मुल्याकंन नगरी गरीएको फैसला र यदी प्र.ले कुकुरलाई हानेको ढुंगाले कुकुरलाई लागी सो ढुंगा उछिट्टिई विद्या योगीलाई लागेको हो भने कुकुरलाई चोट पटक लागेको हुनुपथ्र्यो तर कुनै चोट पटक नभएको भनी कमला योगी समेतले बकपत्र गरी दिएको समेतबाट शुरुको फैसला त्रुटीपूर्ण हुँदा उक्त फैसला बदर गरी अभियोग मागदावी बमोजिम गरी पाउँ भन्ने पु.वे.अ. सुर्खेतमा परेको वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर । .
२३. उक्त मितिमा मृतकको आमा सो नयाँ घरमा पहिलो दिन आएकी रहिछन् र सो दिन भन्दा अघि सो घरमा आई काम गरेको , बस्ने गरेकी र बच्चालाई सुताउने काम गरेकी थिईनन् त्यसमा पनि मृतक खुला अवस्थामा नभै झोलुंगोमा भएको कुरा देखिएकै छ । मैले सो दिन कुकुरलाई ढुंगा हान्नु भन्दा अगाडि त्यस ठाउँमा बच्चा देखेको थिइन । यसबाट मैले बच्चालाई देखी बचावट नगरी कुकुरलाई ढुंगा हानेको होईन यस अवस्थामा मैले मानिसको विचारै नगरी कुकुरलाई ढुंगा हानेको होइन , मानिस नभएको अवस्थामा मानिसको विचार गर्ने भन्ने सवालै आउदैन यस प्रकार मैले मानिसको विचारै नगरी ढुंगाले हान्दा बच्चालाई लाग्न गएको भन्ने शुरुको फैसला र बच्चालाई खान राखेको लिटो र मलाई खान राखेको खाना कुकुरले खाई रहेको देखी रिस उठी थाम्न नसकी ढुंगाले हानेको अवस्थामा मैले होस नपुर्याएको भन्ने शुरु सुर्खेत जिल्ला अदालतको उक्त फैसला उल्टी गरी सम्बन्धित ऐन बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको प्र. कर्णबहादुर रावलको पुनरावेदन अदालत सुर्खेतमा परेको पुनरावेदन जिकिर ।
२४. भात खाई दिएको रिसको आवेगमा कुकुरलाई प्रहार गरेको ढुंगा मृतक बालिकाको टाउकोमा लाग्न गै एउटा कार्यको लागी ढुंगा प्रहार गरेकोमा परिणाम अर्कै हुन गएको भन्ने देखिन्छ । ज्यान सम्बन्धीको ५ नं. तथा ६(२) नं. बमोजिमको भवितव्यको कसुर हुन गएको भनि होस नपुर्याई गरेको कार्यको परिणाम स्वरुप बालिकाको मृत्यु हुन गएकोमा ज्यान सम्बन्धीको ६(२) आकृष्ट हुन सक्ने नै देखियो उक्त ६(२) नं. हेर्दा होस नपुर्याई वा हेलचक्रयाई गरी कुनै काम गर्दा भवितव्य परेकोमा पाच सय रुपैया सम्म जरिवाना वा दुई वर्ष सम्म कैद वा दुवै सजाय हुन्छ भन्ने कानूनी व्यवस्थाको प्रतिकूल हुने गरी फैसला हुन गएको देखिन नआएकोले अपराधको किसिम कसूरको अवस्था र परिणामलाई विचार गरी ज्यान सम्बन्धीको ६(२) बमोजिम रु ५००।– जरिवाना र दुई वर्ष कैद हुने ठहराएको शुरु जिल्ला अदालतको मिति ०५६।१०।३ को फैसला नमिलेको भन्ने पुनरावेदकहरुको पुनरावेदन जिकिर पुनरावेदकहरुका तर्फबाट उपीस्थत विद्वान अधिवक्ताहरुको बहससग सहमत हुन सकिएन , अतः उपर्युक्त सवूत प्रमाणको आधारमा ज्यान सम्बन्धीको ६(२) नं. बमोजिम सजाय गर्ने गरेको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक वादी श्री ५ को सरकारको ज्यान सम्बन्धीको दफा १३(३) अभियोग दावी बमोजिम सजाय हुनुपर्दछ भन्ने समेत पुनरावेदन जिकिर र ज्यान सम्बन्धीको दफा ६(२) अनुसार रु ५००।– जरिवाना र कैद वर्ष दुई समेत अधिकतम सजाय गर्ने गरेको उक्त फैसला मिलेन भन्ने समेतको प्रतिवादी कर्णबहादुर रावलको पुनरावेदन जिकिर समेत पुग्न नसक्ने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत सुर्खेतको मिति २०५७।८।१३।३ को फैसला ।
२५. वारदातको दिन भन्दा अघि सो घरमा बस्ने र बच्चा सुताउने गरेको थिएन । मिति २०५६।३।७ गतेका दिनको अं. १० बजेका समय म खेतबाट काम गरी घरमा आई खानापछि खाउला भनी पहिला फरुवाको विंड बनाउँछु भनी विड बनाई रहेको बखत एक्कासी ठाडा मगरको कुकुरले बच्चालाई बनाई राखेको लिटो र मलाई खान भनी राखेको खाना मेरो घरभन्दा केही पर लिई खाई रहेको देखी रिस उठी थाम्न नसकी नजिकै भएको ढुंगा टिपी मेरो घरको आंगनबाट कुकुरलाई हान्दा कुकुरको गर्धनमा लागि उछिट्टिई कुकुर भएको ठाउँ भन्दा पर टाढा भएको घरको पालिमा झुण्डिएको झोलुङ्गोमा लागेको हो । बच्चा देखेको थिएन । बच्चालाई देखी बचावट नगरी कुकुरलाई ढुंगाले हानेको होइन । मैले मानिसनै नदेखिको अवस्थामा मानिसको विचारै नगरी होस नपुर्याई हेलचेक्र्याई गरी ढुंगाले हान्दा बच्चालाई लाग्न गएको भन्ने सभ्झी भएको फैसलामा ज्यान सम्बन्धी महलको ६(२) नं. को गलत व्याख्या भै सो अवस्थामा सोही महलको ६(५) नं. प्रयोग लागु हुनुपर्नेमा फरक ऐनको गलत प्रयोग गरी मलाई ज्यान सम्बन्धी महलको ६(२) नं. बमोजिम हदैसम्म सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसलामा ने.का.प. २०४५ पृष्ठ ५५५ मा प्रकाशीत सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको उल्लंघंन गरी भएको फैसला दोहोर्याई पाउँ भन्ने प्रतिवादी कर्णबहादुर रावलको तर्फबाट यस अदालतमा पर्न आएको निवेदन पत्र ।
२६. यसमा प्रतिवादी कर्णबहादुर रावलले कुकुरलाई हानेको ढुंगा कुकुरको गर्धनमा लागि उछिट्टीएर र मृतक बच्चीलाई लाग्न गै मृतक बच्चीको मृत्यु भएकोमा प्रतिवादीले असावधानी पूर्वक ढुंगाले हिर्कायो भन्ने मनासिब नहुँदा निजलाई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको ६(१) नं. बमोजिमको सजाय गर्नु पर्नेमा ऐ. ६(२) नं. बमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालत, सुर्खेतको निर्णयमा न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) को (क) र (ख) को अवस्था विद्यमान देखिंदा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्त इजलासबाट भएको आदेश ।
२७. नियम बमोजिम आजको दैनिक मुद्दा पेशी सूचीमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको सम्बन्धित मिसिल अध्ययन गरी निर्णय तर्फ विचार गर्दा पुनरावेदन अदालत सुर्खेतको फैसला मिलेको छ वा छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन पुग्ने नपुग्ने के हो ? हेरी सो को निर्णय दिनुपर्ने देखिन आयो ।
२८. निर्णय तर्फ विचार गर्दा मृतक बालिकाको मृत्यु के कसरी भएको हो भन्ने तर्फ हेर्दा प्रतिवादी कर्णबहादुर रावल अधिकार प्राप्त अधिकारी एंव अदालतमा समेत बयान गर्दा ०५६।३।७ गते अ.दिनको ११बजे खेतमा काम गरी घरमा भात खान आएको अवस्थामा आफूलाई राखेको भात र बच्चाको लिटो समेत कुकुरले खाई दिएको हुँदा रिस उठी करिब आधा किलोको ढुंगाले कुकुरलाई हान्दा ढुंगा कुकुरको गर्धनमा लागि उछिट्टिई बालिका सुताई रहको कपडाको झोलुंगेमा ठोकीन गई मृतक बालिकाको पछाडि टाउकोमा चोट लाग्न गएको र अस्पतालमा लगि उपचार गराई रहेको अवस्थामा बालिकाको मृत्यु भएको हो भनी प्रतिवादी कर्णबहादुर रावल सावित भै बयान गरेको र पोष्टमार्टम रिर्पोटमा पनि मृत्यु हुनाको कारणमा टाउकोमा चोट लागि मस्तिष्कमा रगत जमी मृत्यु भएको देखिएकोले मृतक बालिकाको मृत्यु प्रतिवादी कर्णबहादुर रावलले कुकुरलाई हानेको ढुंगाको चोटबाट मृत्यु भएकोमा विवाद रहेन ।
२९. प्रतिवादी उपर ज्यान सम्बन्धी महलको १ नं. विपरीत कार्य गरी ऐ. को १३(३) नं. बमोजिमको कसुर गरेकोमा सोही १३(३) नं. बमोजिमको सजायको मागदावी भएकोमा माग बमोजिम सजाय नगरी ज्यान सम्बन्धि महलको ५ नं. र ६(२) नं. को भवितव्यको कसूर गरेको ठहर्याई प्रतिवादीलाई ज्यान सम्वन्धी महलको ६ न. को देहाय २ बमोजिम रु.५००।– जरिवाना र २ वर्ष कैद सजाय हुने ठहराएको शुरु जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत सुर्खेतबाट समेत शुरुको इन्साफ सदर हुने ठहर्याएकोमा ज्यान सम्बन्धी महलको ६(५) नं. बमोजिम हुनुपर्नेमा ज्यान सम्बन्धी महल को ६(२) नं. अनुसार सजाय गरेको मिलेन भन्ने प्रतिवादी कर्णबहादुर रावलको पुनरावेदन जिकिर देखिन्छ । सो पुनरावेदन जिकिर तर्फ विचार गर्दा प्रतिवादी कर्णबहादुर रावलले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा मिति २०५६।३।७ गते अं. दिनको ११ बजे खेतमा काम गरी घरमा भात खान आएको अवस्थामा आफूलाई राखिदिएको भात ठाडा भगरको कुकुरले खाई रहेको देखि कुकुरलाई लखेटी धपाएपछि रोटी हाली खाउंला भनी बसेकोमा छोरालाई पकाई राखेको लिटो पनि सोही कुकुर कताबाट आई खाएकोले रिस उठी कुकुरलाई धपाउँदा कुकुर गाडीएको बेन्चमुनी छिरी लुकेकोमा त्यहांबाट धपाउँदा भाग्न लागेको अवस्थामा जमीनमा रहेको करिब आधा किलोको ढुंगाले कुकुरलाई हान्दा कुकुरको गर्धनमा लागी उछिट्टिई बालिका सुताई राखेको कपडाको झुलुंगोमा ठोक्कीन पुग्दा बालिकाको टाउकोमा चोट लाग्न गएको अवस्थामा बालिका रोएकीले बालिकाको आमा कहांछिन भनी खोज खबर गर्दा घरको पछाडि लिपपोत गर्न लागेकी रहीछन् । बच्चा रोएकी सुनी आई बच्चा समाती मुर्छा परिन म पनि आत्तिई काम्न थाले । बालिकालाई अस्पतपाल लगेपछि पुनरावेदक प्रतिवादी पनि अस्पतालमा गई निजले नै रु ७००।– को औषधी किनी उपचार गर्न सहयोग गरेको भनी अधिकार प्राप्त अधिकारी समक्ष बयान कागज गरेको पाइन्छ । त्यस्तै गरी प्रतिवादीले अदालतमा बयान गर्दा पनि अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानलाई समर्थन गरी जाहेरवालाहरुसंग कुनै रिसइवी नभएको र कुकुरलाई ढुंगाले हान्दा बालिका विद्या योगी सुताएको नदेखीने गरी पालीले छेकेको र पहिला मानिस नबस्ने गरेको घरमा उक्त दिन बच्चा सुताएको रहेछ । ढुंगाले कुकुको गर्धनमा लागेपछि मात्र ढुंगा उछिट्टिन गई बच्ची विद्या योगी सुताएको झोलुंगेमा लागि बच्चीको पछाडिपट्टि टाउकोमा लागेको भन्ने बयान गरेको देखिन्छ ।
३०. बच्ची विद्या योगीलाई मार्ने नियत राखी योजना पूर्वक ढुंगाले हानेको होकी भन्नलाई बिहानदेखि खेत जोती थाकेर आएको र भोकाएको अवस्थामा आफूलाई भनी राखेको भात ठाडा मगरको कुकुरले खाएको देखी कुकुरलाई धपाएकोबाट पुन कुकुर आई छोरालाई बनाई राखेको लिटो समेत कुकुरले खाइदिएबाट रिस उठी कुकुरलाई लखेटेको र उक्त कुकुर आफ्नो घरसंगैको घर तिरको जमीनमा गाडीएको बेन्ची मुनी लुक्न गएकोले भुईको करीब आधा किलो जतिको ढुंगा टिपी कुकुरलाई हान्दा कुकुरको गर्दनमा ढुंगाले लागि सोही ढुंगा उछिट्टिएर गई मृतक बच्ची विद्या योगीको टाउकोको पछाडि पट्टी लागेको भन्ने देखिन्छ । मिसिल संलग्न मुचुल्काबाट प्रतिवादी बसेको कुकुर लुकेको र बच्ची सुताएको ठाउँ भनिएको स्थान समेत देखिन्छ । घटनास्थल मुचुल्काबाट प्रतिवादीको बयानलाई समर्थन भएको भन्न पर्ने हुन्छ । यसको साथै जाहेरवालाले प्रतिवादीसंग रिसइवी झै झगडा भएको भनी उल्लेख गर्न सकेको देखिदैन । अदालतमा बयान गर्दा जाहेरवाला र प्रतिवादीका बीच झगडा भएको भनी जाहेरी र अदालतमा भएको बयान एक आपसमा बाझिएकोले अदालतमा रिस इविलाग भै बच्चीलाई मार्ने नियत रहेको भन्ने जाहेरवालाको भनाईलाई अन्य प्रमाणको अभावमा विश्वास गर्न सक्ने आधार देखिएन ।
३१. आफुलाई खान भनी राखिदिएको भात कुकुरले खाई दिएको र भोकले सताएको भनेको प्रतिवादीले भातको सट्टामा रोटी टोक्दै गर्दा पुनः सोही कुकुर आई छोरालाई पकाई राखेको लिटो समेत खाई दिएको झोकमा कुकुरलाई हानेको ढुंगा कुकुरको गर्धनमा लागि उछिट्टिएर गएको ढुंगाले बच्ची विद्या योगीको टाउको पछाडि लागेको भन्ने देखिन्छ । अगाडि बच्ची सुताई राखेको देखेपछि ढुंगा जस्तो घातक वस्तुले कुकुरलाई हान्दा बच्चीलाई लाग्न सक्छ भन्ने कुरा पुनरावेदक प्रतिवादीले जान्नु पर्ने कुरा हो । यसरी अगाडि बच्ची देख्दा देख्दै ठुलो ढुंगाले हानी बच्चालाई लाग्न गएको कार्यलाई पुनरावेदकको लापरवाही र हेलचेक्रयाई मान्नु पर्छ । प्रतिवादीको ज्यान लिने इविलाग वा मनशाय नभए पनि आफूले गरेको त्यस्तो कार्यले मानिस मर्ला भन्ने विचार गर्नपर्छ । कुनै काम कुरा गर्दा त्यसै द्वारा केही भै कुनै मानिस मर्न गएमा हाम्रो कानूनले त्यस्तो कार्य भवितव्य ठहर्छ । भवितव्य भै मानिसको ज्यान मरेकोमा सोही महलको ६ ले विभिन्न सजायको निर्धारण गरेको देखिन्छ । आफु भन्दा अगाडि बच्चा सुताईरहेको देखिएको अवस्थामा झोलुंगो र आफू बीचमा कुकुर रही सो भन्दा पर झोलुंगो मा बच्चा रहेको अवस्थामा सानो बच्चीको लागी घातक हुन सक्ने ढुंगाले हानेको कारण बच्चीलाई टाउकोमा लागि सोही चोट पीरका कारण बच्ची विद्या योगीको सोही दिन मृत्यु भएको घटनामा प्रतिवादीलाई ज्यान सम्बन्धी महलको ६(२) नं. बमोजिम होस नपुर्याई वा हेलचेक्र्याई गरी कुनै काम गर्दा भवितव्य परेकोमा पाँचसय रुपैया सम्म जरिवाना र २ वर्ष कैदको सजाय समेत हुने ठहराएको सुर्खेत जिल्ला अदालतको मिति २०५६।१०।३ को फैसला मनासिब ठहर्याएकोपुनरावेदन अदालत सुर्खेतको मिति २०५७।८।१३।३ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या : ताहिर अलि अन्सारी
इ.अ.लालकाजी श्रेष्ठ
इति संवत २०६३ साल असोज ३० गते रोज २ शुभम–––––––––––––––––––––––