निर्णय नं. ७७४१ - वहाल दिलाई घर खाली गरिपाऊँ ।
निर्णय न. ७७४१ ने.का.प. २०६३ अङ्क ७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी
माननीय न्यायाधीश श्री पवनकुमार ओझा
संवत २०६२ सालको दे.पु.नं.........९१२५
फैसला मितिः २०६३।३।२२।५
मुद्दाः वहाल दिलाई घर खाली गरिपाऊँ ।
पुनरावेदक/प्रतिवादीः वांके जिल्ला नेपालगन्ज न.पा.वडा नं. १२ वस्ने मदनवहादुर के.सी.
विरुद्ध
प्रत्यर्थी/वादीः ऐ ऐ वस्ने मिश्रीलाल कुर्मी
§ घर वहाल दिलाई घर खाली गरिपाऊँ भन्ने मुद्दामा घर वहालमा वस्ने र दिने पक्षहरु उही नै भएपनि तथा वहालमा दिए वसेको घर र घर भाडाको दर समेत एउटै भएपनि एक पटक एउटा अवधिको घर भाडा नदिएको अवस्थामा घर भाडा दिलाई घर खाली गरिपाऊँ भन्ने फिराद गरी उक्त विवादको निरुपण भैसकेको स्थितिमा पछि अर्को कुनै समय अवधिको घर वहाल नपाएको अवस्थामा पुनः उही पक्षहरु वीच पहिले मुद्दा दिएको भन्ने आधारमा घर वहाल दिलाई घर खाली गरिपाऊँ भन्ने फिराद दावी गर्नु अ.वं. ८५ नं. नं. को प्रतिकूल हुन नजाने ।
§ घर वहाल भन्ने विषय वहालमा वसेको समयको आधारमा निर्धारण हुने र वहाल वस्नेले वहाल वुझाउनु पर्ने दायित्वसंग सम्वन्धित हुने सन्दर्भमा त्यस्तो दायित्व पुरा नगरेको अवस्थामा वहालमा वस्ने उपर वहालमा दिनेले त्यस्तो दायित्व पुरा गराई माग्न आवश्यकता अनुसार पटक पटक फिराद गर्नुपर्ने अवस्था पनि हुन जाने ।
§ एउटा अवधिको वहालको लागी फिराद गरेको आधारमा पछि अर्को अवधिको वहालमा फिराद गर्न अ.वं. ८५ नं. आकर्षित नहुने ।
(प्र्रकरण नं.११)
पुनरावेदक प्रतिवादीका तर्फबाटः
प्रत्यर्थी वादीका तर्फबाटः
अवलम्बित नजीरः
फैसला
न्या.पवनकुमार ओझाः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदन अदालत नेपालगन्जको मिति २०६०।२।२७।३ को फैसला उपर तारेखमा नवस्ने गरी पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-
२. मेरा नाउँमा दर्ता भएको जिल्ला वांके नेपालगन्ज न.पा.वडा नं. ८(ख) कि.नं. २५ को ज.वि. ०–३–११ जग्गामा भएको घर मध्ये उत्तर तर्फवाट पर्ने दोश्रो कोठालाई यि प्र. र म वीच भएको मौखिक वोल कवोल अनुसार मासिक रु. २००। दिने गरी वसी आउनु भएकोमा वहाल नवुझाएकोले मिति २०४७।११।१ गते वहाल दिलाई घर खाली गरिपाऊँ भनी यसै अदालतमा मुद्दा दिई विचाराधिन अवस्थामा प्रतिवादीले मलाई घरसारमै वहाल दिएकोले प्र. र मेरो वीच मौखिक सहमति भै उक्त मुद्दाको तारेख छाडी उक्त मुद्दा २०४८।१२।२४ गते डिसमिस फैसला भएको थियो । घर व्यवहार चलाउन आवश्यक परी मेरो नाउंको उक्त जग्गा मध्ये केही जग्गा अन्य व्यक्तिलाई हक छाडी दिएकोले हाल म वादीका नाउंमा दर्ता श्रेस्ता रहेको जि. वांके ने.गं.न.पा.वडा नं. ८ (ख) कि.नं. ६७० को ज.वि. ०–१–६ र सो मा वनेको इटाको देवाल खपडा र टिनको छानो भएको घरमा पुनः म र प्रतिवादी वीच मासिक रु. २००। घर भाडा लिने मौखिक वोल कवोल भै २०४८ चैत्र मसान्त देखि वसी आउनु भएकोमा दुवैको वोल कवोल अनुसार २०५६ फाल्गुण मसान्त सम्ममा घर वहाल दिलाई घर खाली गरी दिनुपर्नेमा सो नगरी २०५५ साल वैशाख देखि घर वहाल समेत नदिई घर खाली समेत नगरी चुप लागी वसेका र घर वहाल दिई घर खाली गरी दिनु होस भनी पटक पटक अनुरोध गर्दा पनि अटेर गरी वसेकोले घर खाली गरी दिने वारेको सूचना २०५७।९।२० गतेमा मुलकी ऐन, घर वनाउनेको ९ नं. वमोजिम पठाउंदा पनि हाल सम्म चुप लागी वसेकोले अदालतको शरणमा आएको छु । प्रतिवादीलाई अदालतवाटै तलव गरी २०५५ साल वैशाख देखि प्रति महिना रु.२००। का दरले फिराद दर्ता गर्दा सम्मको २ वर्ष १० महिनाको घर वहाल रु.६,८००। तथा घर खाली नहुन्जेल सम्मको घर वहाल समेत दिलाई भराई घर खाली गरी चलन चलाई समेत पाऊँ भन्ने समेत व्यहोराको वादी मिश्रीलाल कुर्मीले २०५७।११।२ गतेमा दिएको फिरादपत्र ।
३. वादीले दावी गरेको उक्त घर कोठा वादीले निर्माण गरेको नभै मेरो वावु गंगावहादुर के.सी.क्षेत्री जिवित रहेको अवस्थामा रु. ५०००। खर्च गरी २०३३ सालमा वनाई वसी आएका हौं । वादीले घरसारमा मौखिक वोल कवोलमा घर भाडामा दिएको भन्ने कुरा मन गढन्ते हो । वादीलाई मैले घर वहाल दिनुपर्ने कुनै कारण छैन वादीले २०४७।११।१ मा वहाल दिलाई घर खाली गराई पाउंm भन्ने मुद्दा दायर गरी आफूले मुद्दा जित्न नसक्ने देखि मुद्दामा तारेख छाडी डिसमिस भएको सो फैसला उपर पुनरावेदन नगरी चित्त वुझाई वसेका हुन अ.वं. ८५ नं. वमोजिम मेरो उपर मुद्दा दायर नै नहुनु पर्नेमा दायर भएको मुद्दा खारेज भागी छ । २०३३ सालमा आफ्नो श्रम पैसा लगाई २०४२ सालमा आफ्नै नाउंमा विद्युत लाईन जोडी वसी आएको प्रमाणवाट समेत वादी दावी झुठ्ठा र मन गढन्ते हो झुठ्ठा दावी खारेज भागी छ , खारेज गरिपाऊँ भन्ने व्यहोराको प्रतिवादीको प्रतिउत्तर पत्र ।
४. वादी प्रतिवादीका साक्षीले गरेको वकपत्र मिसिल सामेल रहेको ।
५. यसमा प्रमाणमा आएको वादी यिनै वादी मिश्रिलाल कुर्मी एवं प्रतिवादी यिनै प्रतिवादी मदनवहादुर के.सी. समेत भएको सम्वत् २०४७ सालको स.दे.नं. ४४ को वहाल दिलाई घर खाली गरिपाऊँ भन्ने मुद्दामा वादीले तारेख गुजारेको कारण २०४८।१२।२४ मा डिसमिस फैसला भएको भन्ने देखिएकोले सोही विवादको विषयमा पुनः दायर हुन आएको प्रस्तुत फिरादवाट इन्साफ गर्न नमिल्ने भै अ.वं. ८५ नं. वमोजिम खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु वांके जिल्ला अदालतको मिति २०५८।७।१९।२ को फैसला ।
६. यसमा प्रस्तुत मुद्दामा अ.वं. ८५ नं. को आधार लिई मुद्दा खारेज गरिएको छ । अ.वं. ८५ नं. को प्रतिकूल प्रस्तुत मुद्दा दायर गरिएको भए अ.वं. १८४ नं. को प्रावधान अनुसार प्रमाण मुकरर पेशी तोकिएकै दिनमा मुद्दा खारेज हुने थियो तर मुद्दामा प्रमाण वुझ्ने आदेश भै साक्षीको वकपत्र भएको छ । यदी अ.वं. ८५ नं. को आधारमा मुद्दा खारेज हुने भए सो प्रमाण वुझ्ने आदेश उपर विपक्षीको उजुरी परी सो आदेश वदर गराउन सक्नु पर्ने थियो सो आदेश वदर गराउन कानूनी वाटो अवलम्वन गर्नुको साटो आफ्नो साक्षीलाई उपस्थित गराई वकपत्र गराएवाटै पनि अ.वं. ८५ नं. प्रस्तुत मुद्दामा नलाग्ने प्रष्ट छ । सो वुझिएका प्रमाण र अर्न्तकालिन आदेशको अनुचित मुल्याँकन विश्लेषण र विवेचना नै नगरी पूर्णतः आत्मपरक आधारमा भए गरिएको शुरु फैसला कानूनसम्मत र न्याय संगत छैन वदर भागी छ । वदर गरिपाऊँ भन्ने समेत व्यहोराका पुनरावेदन पत्र ।
७. यसमा दावी लिएको घर जग्गा पहिले परेको मुद्दा संग समयावधी, घरको स्थिति आदिमा फरक देखिएको अवस्थामा अ.वं. ८५ नं. आकर्षित गरी खारेज गर्ने गरेको वांके जिल्ला अदालतको २०५८।७।१९ को फैसलामा अ.वं. ८५ नं.को व्याख्यात्मक प्रश्नमा त्रुटि गरेको भै सो इन्साफ फरक पर्ने देखिएकोले अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।
८. यसमा सवुद प्रमाण वुझी दावी वमोजिम हुने नहुने के हो ? ठहर फैसला गर्नुपर्नेमा अ.वं. ८५ न. प्रतिकूलको दावी भनी खारेज गर्ने गरेको शुरु वांके जिल्ला अदालतको मिति २०५८।७।१९ को खारेजी फैसला त्रुटिपूर्ण हुंदा वदर गरी दिएको छ । अव जे जो वुझ्नु पर्छ वुझी ठहर फैसला गर्न भनी दुवै पक्षलाई शुरु वांके जिल्ला अदालतको तारेख तोकी पठाई दिने भन्ने पुनरावेदन अदालत नेपालगन्जको मिति २०६०।२।२७।३ को फैसला ।
९. वांके जिल्ला नेपालगन्ज नगरपालिका वडा नं. ८ (ख) साविक कि.नं. २५ हाल कायम कि.नं. ६८० को घर २०३३ साल देखि मेरो वावुले घर वनाई हाल सम्म वसी आएको घर भएकोमा सोही घर सम्वन्धमा २०४७ सालमा दे.नं. ४४ को घर वहाल दिलाई घर खाली मुद्दा दिएकोमा डिसमिस गराई सकेपछि हाल आएर पुनः सोही विषयमा फिराद दिएको अ.वं. ८५ नं. को प्रतिकूल रहेको, वादीले उक्त घर कहिले वनाएको कही कतै उल्लेख नगरेको र वहालमा दिएको भनेको कुनै करार शर्त कागज पेश गर्न नसकेको , एक पटक विवाद उत्पन भएकोमा पुनः मौखिक शर्तमा वहाल दिएको भन्ने भनाई पत्यार लायक नरहेको, २०३३ सालमा जग्गा पछि पारित गरी दिने सहमतीमा मेरो पिताले घर वनाएको भएपनि जग्गा पारित नगरी दिएको कारण वादीकै नाउंमा दर्ता भएको र साविक कि.नं. २५ हाल कि.नं. ६७० हुंदैमा अ.वं.८५ नं. आकर्षित नहुने गरेको पु.वे.अ.को त्रुटिपूर्ण फैसला वदर गरी शुरु जिल्ला अदालतको फैसला सदर गरिपाऊँ भन्ने पुनरावेदन जिकिर ।
१०. नियम वमोजिम पेशु हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल संलग्न कागजात अध्ययन गर्दा अ.वं. ८५ नं. को आधारमा फिराद दावी खारेज गर्ने गरेको शुरु फैसला उल्टी गरी जो जे वुझी ठहर फैसला गर्नु भनी मिसिल शुरुमा पठाउने ठहर्याएकोपु.वे.अ.नेपालगन्जको मिति २०६०।२।२७।३ को फैसला मिलेको छ , छैन ? पनुरावेदकको पुनरावेदन जिकिर पुग्छ , पुग्दैन ? निर्णय दिनुपर्ने देखिन आयो ।
११. निर्णय तर्फ विचार गर्दा यसमा वादीले निजको नाउंमा दर्ता भएको वांके जिल्ला नेपालगन्ज न.पा.वडा नं. ८(क) कि.नं. २५ को जग्गा मध्ये उत्तर तर्फको कोठा प्रतिवादीलाई मासिक रु. २०० मा घर भाडामा दिएकोमा प्रतिवादीसंग घर वहाल दिलाई घर खाली गरिपाऊँ भनी २०४७।१०।१ मा मुद्दा दिएकोमा सो मुद्दामा तारेख छाडी २०४८।१२।२४ मा डिसमिस फैसला भएको र सोही जग्गा मध्ये केही जग्गा विक्रि गरी हाल वादीका नाउंमा वांकी कि.नं. ६७० को ज.वि. ०–१–६ जग्गा र सो मा वनेको घरमा वसी आएका प्रतिवादीले २०५५ देखि घर वहाल नदिएको र घर खाली पनि नगरी दिएको भनी घर वहाल दिलाई घर खाली गराई चलन चलाई पाऊँ भनी प्रस्तुत फिराद गरेको भन्ने देखिन्छ । प्रतिवादीले उक्त घर २०३३ सालमा वादीको मन्जुरीले वादीको जग्गामा प्रतिवादीका वावुले वनाई वसी आएको भन्ने जिकिर लिई उक्त विवादित घर रहेको जग्गा वादीकै भनी स्वीकार गरी घर सम्म आफ्नो वावुले वनाएको भनी विवाद उत्पन्न भएको देखिन्छ । यस स्थितिमा विवादित घर वादी वा प्रतिवादीका पिता कसले वनाएको हो ? वादी दावी वमोजिम वहाल दिलाई घर खाली गर्नु पर्ने हो, होईन ? भन्ने सम्वन्धमा वादी प्रतिवादीको सवूद प्रमाण वुझी निर्णय फैसला गर्नुपर्ने देखिन्छ । तथापी शुरु जिल्ला अदालतले प्रस्तुत यिनै वादी प्रतिवादी वीच चलेको २०४८।१२।२४ मा डिसमिस फैसला भएको मुद्दामा उठाएको विवादको विषयमा पुनः दायर हुन आएको भनी अ.वं. ८५ र १८० नं. वमोजिम फिराद खारेज हुने ठहर्छ भनी निर्णय गरेको देखियो । घर वहाल दिलाई घर खाली गरिपाऊँ भन्ने मुद्दामा घर वहालमा वस्ने र दिने पक्षहरु उही नै भएपनि तथा वहालमा दिए वसेको घर र घर भाडाको दर समेत एउटै भएपनि एक पटक एउटा अवधिको घर भाडा नदिएको अवस्थामा घर भाडा दिलाई घर खाली गरिपाऊँ भन्ने फिराद गरी उक्त विवादको निरुपण भै सकेको स्थितिमा पछि अर्को कुनै समय अवधिको घर वहाल नपाएको अवस्थामा पुनः उही पक्षहरु वीच पहिले मुद्दा दिएको भन्ने आधारमा घर वहाल दिलाई घर खाली गरिपाऊँ भन्ने फिराद दावी गर्नु अ.वं. ८५ नं. नं. को प्रतिकूल हुन जाने देखिन आउँदैन । घर वहाल भन्ने विषय वहालमा वसेको समयको आधारमा निर्धारण हुने रुपमा वहाल वस्नेले वहाल वुझाउनु पर्ने दायित्व सँग सम्वन्धित हुने सन्दर्भमा त्यस्तो दायित्व पुरा नगरेको अवस्थामा वहालमा वस्ने उपर वहालमा दिनेले त्यस्तो दायित्व पुरा गराई माग्न आवश्यकता अनुसार पटक पटक फिराद गर्नुपर्ने अवस्था पनि हुन जान्छ । अतः त्यस्तो एउटा अवधिको वहालको लागी फिराद गरेको आधारमा पछि अर्को अवधिको वहालमा फिराद गर्न अ.वं. ८५ नं. आकर्षित हुने देखिँदैन ।
१२. तसर्थ, प्रस्तुत मुद्दामा सवूद प्रमाण वुझी वादीको दावी वमोजिम हुने नहुने के हो ? ठहर फैसला गर्नुपर्नेमा अ.वं. ८५ नं. को प्रतिकूलको दावी भनी फिराद खारेज गर्ने ठहर्याएकोशुरु फैसला वदर गरी अव जे जो वुझनु पर्छ वुझी ठहर फैसला गर्नु भनी दुवै पक्षलाई तारेख तोकी शुरु वांके जिल्ला अदालतमा मिसिल पठाउने भनी गरेको पुनरावेदन अदालत नेपालगन्जको मिति २०६०।२।२७ को फैसला मनासिव देखिँदा सदर हुने ठहर्छ । तारेखमा नरहेका पुनरावेदकलाई फैसलाको जानकारी दिई मिसिल नियमानुसार वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.राजेन्द्रकुमार भण्डारी
इ.अ.राजेन्द्र थापा
इति सम्वत् २०६३ साल आषाढ २२ गते रोज ५ शुभम.¬¬¬¬¬–––––