निर्णय नं. ६६७२ - निषेधाज्ञा

निर्णय नं. ६६७२ ने.का.प. २०५६ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
संम्वत २०५२ सालको दे.पु.नं ....२७२०
फैसला मितिः २०५५।३।३२।५
मुद्दाः निषेधाज्ञा ।
पुनरावेदन /विपक्षीः काठमाडौ जिल्ला का.म.न.पा. वडा नं. ३१ वागवजार वस्ने कल्पना कुमारी रावल।
विरुद्ध
प्रत्यर्थी/निवेदकः ऐ.ऐ वडा नं. २५ मखनटोल वस्ने वुद्धि गोपाल रंजित ।
§ बाटो जस्तो कुरामा हस्तक्षेप हुन दिनु कानूनसंगत र न्यायोचित समेत नहँदा खिचोला मुद्दा समेत अन्तिम किनारा नहुँदा सम्म निषेधाज्ञाको आदेश जारी गर्ने गरेको पुनरावेदन अदालतल पाटनको मिति २०५२।१।२७ को निर्णय आदेश मिलेकै देखिँदा मनासिव ठहर्ने ।
(प्र.नं. ७)
पुनरावेदन तर्फवाटःX
विपक्षी तर्फबाटःX
अवलम्वित नजिरः X
फैसला
न्या.कृष्णजंग रायमाझीः पुनरावेदन अदालत पाटनको २०५२।१।२७ को निर्णय आदेश उपर यस अदालतलमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा ठहर यसप्रकार छः
२. मैले का.जि.का.न.पा. वडा नं. ३१ को कि.नं. ११३३ को क्षेत्रफल ०-७-०-१ जग्गा मध्ये पूर्व तर्फवाट कित्ताकाटं भै कायम भएको कि.नं २००६ को क्षेत्रफल ०-१-२-१ जग्गा र सो जग्गामा जान आउनको लागि दाताको नाउँमा सोही कित्ताकांट भई बाँकी कायम भएको पश्चिम तर्फको कि.नं. २००७ को क्षे.फ. ०–५–२–० जग्गाबाट ४ फिटे वाटो सानु राजवाहकले मलाई मा.पो.का. काठमाडौ मार्फत मिति २०४२।२।१७ मा रु २५०००।– मा पारित राजिनामा गरी दिनु भएकोले निर्वाद रुपमा भोग चलन गर्दै आएको र उक्त वाटो हाल विपक्षी कल्पना कुमारीले मेरो दाताको वाँकी जग्गा तथा घर हा.व. बाट प्राप्त गरी मेरो उल्लेखित उक्त बाटोलाई बन्द गर्ने उद्देश्यले पर्खाल लगाई आउन जानबाट बन्चित समेत गरेकोले का.न.पा. मा उजूरी गरी का.न.पा. ले उक्त पर्खाल भत्काउने ठहर समेत भई का.जि. अ. मा पर्खाल भत्काई बाटो खोली पाउँ भन्ने मुद्दा दायर गरी हाल विचाराधिन अवस्थामा रहेको छ, यस्तो अवस्थामा विपक्षीले घर जग्गा विक्रि गर्ने निहुँमा उक्त ४ फिटे वाटो समेत विक्री गरी मेरो कि.नं. २००६ को जग्गालाई निष्प्रयोजन गराउने दुष्टिकोणले ग्राहक खोजी मोल मोलाई समेत गर्दै हिडेकाले मेरो नागरिक अधिकार ऐनद्वारा प्रदत्त अधिकारमा आघात पर्न गएकोले ऐजन ऐनले प्रदत्त अधिकारको प्रयोजनको निमित्त प्रस्तुत निवेदन गर्दै विपक्षीहरुका नाउँमा उक्त ४ फिटे बाटोलाई अतिक्रमण गर्ने कार्य नगर्नु नगराउनु भन्ने व्यहोराको निषेधाज्ञाको आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको निवेदक वृद्धि गोपाल रन्जितको निवेदन पत्र ।
३. निवेदकको माग बमोजिम निषेधाज्ञाको आदेश किन जारी हुन पर्ने होइन ? सम्पूर्ण व्यहोरा खुलाई ऐनका म्यादभित्र लिखित जवाफ पेश गर्नु र लिखित जवाफ पेश भएपछि पुनर्विचार हुने गरी हाललाई विवादित बाटोमा अतिक्रमण हुने कुनै काम कारवाही नगर्नु भन्ने समेत व्यहोराको पुनरावदेन अदालत पाटनको मिति २०५१।१२।१ को आदेश ।
४. विपक्षी निवेदकको निवेदन व्यहोरा झुठा हो उक्त कि.नं. को जग्गामा पक्की बाटो कहिल्यै पनि थिएन र छैन । निवेदनमा उल्लेख भए बमोजिम बाटो दिँदा मेरो घर समेत भत्काउनु पर्ने स्थिति हुदा वस्तुतः उल्लेखित व्यहोरा कपोकल्पीत नै हो तसर्थ विपक्षीको जग्गामा जान आउन बाटो छ, छैन मेरो सरोकारको कुरा होइन साथै का.न.पा बाट मिति ०५०।८।२३ मा मलाई तारिखमा समेत नराखी कानून व्यवसायी राख्ने मौलिक हकमा आघात पर्ने गरी गरेको ठहर उपर पुनरावेदन समेत दायर गरेको हुँदा मैले विपक्षीको नागरिक हकमा आघात पर्ने कुनै कार्य नगरेको हुँदा उक्त निवेदन माग बमोजिम निषेधाज्ञाको आदेश जारी हुनु पर्ने होइन भन्ने समेत व्यहोराको विपक्षी कल्पना कुमारी रावलको लिखित जवाफ ।
५. निवेदकले विपक्षी उपर काठमाडौ न.पा. मा दिएको पर्खाल भत्काई बाटो खुलाई पाउँ भन्ने मुद्दामा का.न.पा. बाट दावी बमोजिम पर्खाल भत्काई बाटो खुलाई पाउने ठहर्याएको निर्णय उपर विपक्षीले यसै अदालतमा पुनरावेदन दिएको भनी लिखित जवाफमा जिकिर लिएको देखिन्छ । यसरी परेको मुद्दा एवं पुनरावेदनको सम्वन्धमा सम्बन्धित मुद्दाकै रोहमा कानून बमोजिम निर्णय हुने कुरा उक्त मुद्दाहरुको अन्तिम निरोपण नभए सम्म निवेदकले लिखितबाट उल्लेख गरी पाएको बाटो जस्तो तत्काल असर पर्ने विषयमा तत्काल अस्तक्षेप हुन दिन पनि नमिल्ने हुनाले उपरोक्त बमोजिमको खिचोला मुद्दा एबं पर्खाल भत्काई बाटो कायम गर्ने सम्बन्धमा पुनरावदेन परेको मुद्दा समेतको अन्तिम किनारा नभएसम्म गैरकानूनी हस्तक्षेप नगर्नु भनी विपक्षीको नाउँमा माग बमोजिम निषेधाज्ञाको आदेश जारी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०५२।१।२७ को निर्णय आदेश ।
६. पुनरावेदन अदालत पाटनको उक्त इन्साफमा चित्त वुझेन विपक्षीले बाटो छ भनी दावि लिएको ठाउँमा बाटो थिएन र अहिले पनि छैन । विपक्षीले २०४९।४।१ मा मेरो जग्गा समेत मिची मेरे जग्गाबाट जान आउन पाउछु कि भनी मेरो जग्गा तर्फ फर्काई वनाएको गेट वन्द गरि दिएको सम्म हुँ । विपक्षीको जग्गामा कुनै किसिमको पक्की घर र बसोवास पनि छैन । हदम्याद नघाई दायर भएको निवदेन उपर कारवाही हुन सक्दैन भन्ने सर्वेाच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरित आदेश भएकोले उक्त आदेश वदर गरी पाउँ भन्ने समेतको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको निर्णय तर्फ विचार गर्दा निवेदक वुध्दि गोपालले सानू राजवहाकबाट २०४२।२।१७ मा राजिनामा पारीत गरि लिएको लिखतको कि.नं. २००६ जग्गा भै उक्त लिखत हेर्दा सो जग्गामा जान दाताको बाँकी रहेको कि.नं २००७ को जग्गाबाट ४ फुटे बाटो दिएको भन्ने देखिन आएको छ । विपक्षी यिनै पुनरावेदकले कि.नं. २००७ को जग्गा उनै दाता सानु राजवहाकबाट मिति २०४६।१।४ मा हालैको वकसपत्र पारित गराई लिएको देखियो । दाताको जग्गामा जे जस्तो हक अधिकार रहेको छ, सो खरिद कर्ताले पनि त्यही हक हस्तान्तरणमा पाउने हो । यसै लगाउको आजै किनारा भएको दे.पु.नं. २८१४ को निषेधाज्ञा मुद्दामा बाटो खुलाई पाउने ठहरी भएको फैसला अन्तिम रहेको भन्ने आधारमा फैसला कार्यान्वयन रोक्न नमिल्ने भनी निषेधाज्ञाको निवेदन खारेज हुने ठहर्याएको खितबाट बाटो पाएको भन्ने देखिन्छ । बाटो जस्तो कुरामा हस्तक्षेप हुन दिनु कानून संगत र न्यायोचित समेत नहुँदा खिचोला मुद्दा समेत अन्तिम किनारा नुहँदा सम्म निषेधाज्ञाको आदेश जारी गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५२। १। २७ को निर्णय आदेश मिलेकै देखिँदा मनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदक जिकिर पुग्न सक्तैन मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.कृष्णकुमार वर्मा
इति संवत् २०५५ साल असार ३२ गते रोज ५ शुभम्.......