निर्णय नं. ६६८७ - निर्णय वदर

निर्णय नं. ६६८७ ने.का.प. २०५६ अङ्क ३
संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री मोहनप्रसाद शर्मा
माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
सम्वत् २०५३ सालको दे.पु. नं. ......३१७७
फैसला मितिः २०५५।६।२६।२
विषयः निर्णय वदर ।
पुनरावेदक/वादीः वा.अ.का.जि.का.न.पा. वडा नं. १० वानेश्वर बस्ने चित्र वहादुर थापा क्षेत्री
विरुद्ध
विपक्षी/प्रतिवादीः ऐ. ऐ. वडा नं. १० बानेश्वर वस्ते उदय वहादुर थापाको मु.स.गर्ने रुद्र कुमारी थापा समेत ३
§ अदालती वन्दोवस्तको ३६ नं. मा ऐनमा हदम्याद नलेखिएको कुरामा मात्र जहिलेसुकै नालिस दिए पनि लाग्ने भनी व्यवस्था गरिएको भएतापनि मालपोत कार्यालयबाट भएको दर्ता वदर गरी पाउने वादीले ने जग्गा पजनीको महलको १७ नं. को आधार लिई फिराद गरेको देखिदा प्रस्तुत मुद्दामा हदम्याद लाग्ने भन्ने कुरा वादी स्वयंले स्वीकार गरेको देखिन्छ । यस्तो अवस्थामा उक्त ज.प.को १७ नं. बमोजिम थाहा पाएको मितिले ६ महिना नाघि सकेपछि मिति ०४९।३।१४ मा मात्र फिराद गरेको देखिँदा हदम्याद भित्रको फिराद भन्न नमिल्ने ।
(प्र.नं. १२)
पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता व्दय श्री लोकभक्त राणा र श्री शम्भु थापा
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अभिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री बलराम सेढाई
अवलम्बित नजिरःX
फैसला
प्रा. न्या. मोहनप्रसाद शर्माः पुनरावेदन अदालत पाटनको मिति ०५१।८।२८ को फैसला उपर वादीको मुद्दा दोहोर्याई पाउँ भन्ने व्यहोराको निवदेन परी यस अदालतको संयुक्त इजलासको मिति ०५३।६।२४ का आदेशअनुसार दोहोर्याई हिर्न निस्का प्रदान भएको प्रस्तुत मुद्दाको व्यहोरा एबं ठहर यस प्रकार छः
२. साविक का.न.पा. वडा नं. ९ कि.नं. २० को जग्गा ०४२ सालको नापीमा कि.नं. ३५ को क्षे.फ. १–११–०–२ नरवढी भै कायम भएको छ । फिरादीको वाजे पदमध्वजको नाममा लुमडी माईको छुट गुठी लगत जाच कार्यालयबाट मिति ०२८।७।११ मा फिरादी चित्र वहादुरको नाममा भएको निर्णय पर्चा अन्तिम भै बसेको छ । विपक्षी उदय बहादुरको एकलौटी फिरादी समेतको अंशियारको वण्डा हुने गरी संयुक्त जोताहा मोही कायम गरी पाउँ भनी दिएको छुट्टाछुट्टै निवेदनलाई एउटै मिसिल कामय गरी कानूनी रायसहितको भु.सु.का. मा पठाउने निर्णय गरी पठाएकोमा भु.सु.का. मा काठमाडौबाट माथि लेखिएको निर्णय ठहर गरि मिसिल फिर्ता आए पश्चात सोही मिसिललाई अनाधिकार गैर कानूनी तवरबाट पुनः कारवाही उठाई भु.स.के.का.ले वादी दावी प्रतिवादी जिकिर भन्दा वाहिर गई दर्तावाला मोही म चित्र बहादुर र जोताहा मोही उदय वहादुर कायम गर्ने गरी मिति २०४७।५।१५ मा निर्णय गरी ऐ. मितिको पत्र प्राप्त भएको मिति ४७।५।१८ मा जोताहा उदय वहादुरलाई क्षतिपूर्ति राख्न लगाई दर्तावाललाई जानकारी दिने भन्ने उक्त कार्यालयले टिप्पणी निर्णय गरेको र सो बमोजिम दर्ता गर्न गराउन पत्राचार गरी मा.प.पो.का. बाट ०४७।५।२६ मा सो बमोजिम दर्ता भएको छ, यसरी गुठी संस्थान केन्द्रीय कार्यालय तथा गुठी लगत तथा तहसिल कार्यालयले आफूलाई भएको अधिकार भन्दा बाहिर गई अनधिकृत निर्णय गरेको आधारबाट गरेको दर्ता समेत वदर गरी मेरो दर्ता यथावत राखी विपक्षीलाई सजाय गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. विवादीत जग्गा साविक देखिनै म उदय बहादुर थापाले एकलौटी रुपमा जोतभोग गरी आएको अवस्थामा गु.स.ऐन (शंशोधन सहित) २०३३ को दफा २६ बमोजिम दर्तावाला मोहीको सम्पूर्ण हक अधिकार समाप्त भै वास्तविक जोताहा मोहीका नाउँमा मोही कायम गर्ने प्रावधान अनुरुप उक्त जग्गा श्री का. गुठीका दर्ता गरी मोहीमा मेरो नाम कायम गरी पाउँ भनी गुठी लगत तथा तहसिल कार्यालयमा मैले निवेदन दर्ता गरेकोमा उक्त जग्गा श्री का. गुठीका नाममा दर्ता गरी मेरा नाममा मोही कायम गर्ने गरी गुठी संस्थान केन्द्रिय कार्यालयबाट भएको निर्णय उपर वा.अं. अ. मा पुनरावेदन गरेको र सो खारेज भएपछि पुनः यो निर्णय वदर मुद्दा गरेका छन् । एकै विषयमा एक पटक गरेको उजुरी खारेज भएपछि पुनः गरेको फिराद खारेजभागी छ । आफ्नो क्षेत्राधिकार भित्र रही सवुद प्रमाणको मुल्यांकन गरी उक्त जग्गाको मोही मेरा नाममा कायम गरी श्री का. गुठीका नाममा ज.ध.कायम गर्ने ग री गु.सं. के.का. समेतबाट भएको निर्णयका आधारमा मा.पो.का काठमाडौबाट मिति ०४७।५।२६ मा भएको निर्णय दर्ता समेत वदर हुनु पर्ने होइन भन्ने समेत व्यहोराको उदय बहादुरको प्रतिउत्तर पत्र ।
४. गुठी संस्थान केन्द्रिय कार्यालयले उदय वहादुरको नाममा जोताहा मोही कायम गर्ने गरी गरेको २०४७।५।१५ को निर्णय र गुठी लगत तथा तहसील कार्यालयको ०४७।५।१८ को निर्णय र मा.पो. का. को ०४७।५।२६ को दर्ता गर्ने गरेको निर्णय कायम भएकोले यी वादीको निर्विवाद हक पुग्न सक्ने स्थिति देखिदैन । पुनरावेदन अदालतको निर्णय उपर पुनरावेदन नपरी पुनः फिराद गर्न पाउने प्रावधान ऐनमा उल्लेख भएको नदेखिएको अवस्थामा वादीको हकदैया नै स्थापित नभएकोले वादीलाई फिराद गर्न हकदैयानै नदेखिएकोले फिराद गर्ने हदम्याद समेत नभएकोले प्रस्तुत फिराद खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौ जिल्ला अदालतको मिति ०५०।९।६ को फैसला ।
५. शुरु अदालतको फैसलामा चित्त वुझेन सो फैसला वदर गरी मेरो वादी दावी बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
६. वादीको अघिको पुनरावेदन खारेज भै सकेपछि कानूनको हदम्याद नघाई जुन निर्णय वदर गरी पाउन पुनरावेदन गरी आफू असफल भएको सोही विषयमा फिराद गर्न आएको हदम्यादको कारणबाट समेत दर्ता समेत हुन नसक्ने देखिएकोले वादीको फिराद खारेज हुने ठहर्याएको सम्म शुरु काठमाडौ जिल्ला अदालतको फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ । हदम्याद गुज्री दायर भएको देखिएकोले मुद्दाको अन्य वुँदातर्फ विचार गर्न नपर्ने हुँदा वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन भने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति ०५१।८।२८ को फैसला ।
७. अड्डाको गल्तीबाट पक्षको हक हितमा असर नपर्ने भन्ने कानूनी सिद्धान्त ने.का.प. २०४६, नि.नं. ३७९३ पृ.सं. ४०३ अंक ४ मा समेत प्रतिवादीत भएको छ । पुनरावदन अदालत पाटनको फैसलाबाट उल्लेखित कानूनी सिद्धान्तको पालना भएको छैन । गुठी लगत तथा तहसील कार्यालयमा मिति ०४५।२।१९ मा भुवनदेवीले दिएको निवेदनमा विवादित जग्गा तीन जनाले नै जोती भोगी आएको, विपक्षी उदय वहादुरले मात्र जोतभोग गरी आएको होइन भन्ने उल्लेख भएको छ, त्यसतर्फ ख्यालै नराखी फैसला भएको छ । भुवनदेवी मोही देखिएको र जग्गाधनीको स्वीकृति विना मोही परिवर्तन गर्न नमिल्ने भनी भु.सु.का. काठमाडौबाट मिति २०४६।८।१८ मा निर्णय भै सो निर्णय अन्तिम भै रहेको अवस्थामा काठमाडौ जिल्ला एवं. पुनरावेदन अदालत पाटनबाट त्यसतर्फ ख्यालै नगरी गरिएको फैसलामा सर्वेाच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्तको समेत पालना भएको नदेखिएको हुँदा मुद्दा दोहोर्याई फिराद दावी बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको निवेदन ।
८. वादी दावी हुने ठहराएको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटन ललितपुरको फैसलामा ने.का. प. २०४६ नि.नं. ३७९३ पृष्ठ ४०३ अंक ४, ने.का.प. २०४४ नि.नं. ४१४७ पृ. ७१३ अंक ७ ने.का.प. २०४५ नि.नं. ३६७९ पृष्ठ १३०० अंक १२ मा प्रकाशित नजिरको त्रुटी देखि आएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (ख) को आधारमा दोहोर्याई निस्सा प्रदान गरिएको छ । भन्ने समेत व्यहोराको यस अदालतको मिति ०५३।६।२४ को आदेश ।
९. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फवाट उपस्थित हुनु भएका विद्धान अधिवक्ता द्वय श्री लोकभक्त राणा र श्री शम्भु थापाले अनाधिकार निकायमा मुद्दा गर्न गएको छ भने त्यस्तो अवस्थामा प्राड.न्याय लाग्दैन (ने.का.प. २०५३ अंक १२ नि.नं ६३०२ पृष्ठ ८३८ भन्ने सिद्धान्त प्रतिपादित भइरहेको हुँदा प्रस्तुत मुद्दामा पनि प्राड. न्याय सिद्धान्त आकार्षित हुने अवस्था छैन । दर्तावाला मोही र जोतहावाला मोही कायम गर्ने अधिकार गुठी संस्थानलाई छैन । गुठी संस्थान ऐनमा हदम्यादको व्यवस्था छैन । प्रस्तुत मुद्दामा हदम्याद को प्रस्न छैन । यो मोही मात्रको विवाद हो । यो विवादको जग्गा वण्डा हुने प्रकृतिक सम्पत्ति हो । यो विवादको सम्पत्तिमा दुवै अंशिको समान हक रहेको हुँदा दुवैले वरावरी गरी खान पाउनुपर्छ र जोताहा भएकै नाताले एक अंशियारले बढी खान पाउने र अर्को अंशियारले पाउदै नपाउने अवस्था हुदैन । वण्डा हुने प्रकृतिको सम्पत्तिमा हदम्याद जादैन । नजिर सधै Prospective हुन्छ ( ने.का.प. २०५० नि.नं. ४६९७ पृष्ठ ९४ ) भनी सिद्धान्त समेत प्रतिपादित भइरहेको समेत अवस्थामा जिल्ला अदालत र पुनरावेदन अदालतबाट भएको फैसला उल्टी भै वादी दावी बमोजिम हुनपर्छ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नु भयो । साथै प्रत्यर्थी प्रतिवादी रामवावु थापा समेतको तर्फवाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री बलराम सेढाइले ज्ञान वहादुर राई समेत विरुद्ध दिल वहादुर राई भएको अंश मुद्दा (ने.का.प.२०५२ अंक ३ पृ. १८५) मा पूर्ण इजलासबाट प्रतिवादित भएको सिद्धान्त यस मुद्दामा आकर्षित हुन्छ । आफैले कानूनको वाटो विराई फिराद दायर गर्छ भने कानूनले बाटो विराई फिराद दायर गर्छ भने कानूनले त्यसलाई मद्दत गर्दैन (सर्वोच्च अदालत निर्णय संग्रह भाग ८ पृष्ठ २३६) भन्ने सिद्धान्त प्रतिपादन भइरहेको अवस्थामा गुठी संस्थानले गरेको निर्णय उपर पुनरावेदन अदालतमा पुनरावेदन लाग्दैन । प्रस्तुत मुद्दामा हदम्याद समेत नरहेको हुँदा जिल्ला अदालत र पुनरावेदन अदालतले गरेको खारेजी फैसला सदर हुनुपर्दछ भनी गर्नु भएको वहस जिकिर प्रस्तुत गर्नुभयो ।
१०. विद्धान कानून व्यवसायीहरुले गर्नु भएको उपर्युक्त वहस जिकिर सुनी फिराद खारेज गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ? भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
११. निर्णयतर्फ विचार गर्दा यस्मा साविक का.न.पा. वाड नं. ९ कि.नं २० हाल कि.नं ३५ को सम्बन्धमा गुठी संस्थान केन्द्रीय कार्यालय र गुठी लगत तथा तहविल कार्यालयको निर्णय बमोजिम मालपोत कार्यालय काठमाडौबाट मिति ०४७।५।२६ मा भएको निर्णय र सो निर्णयका आधारबाट गरिएको दर्ता समेत वदर गरी पाउन वादीको मिति ०४९।३।१४ मा फिराद परेको देखिन्छ । सो फिरादमा मुलुकी ऐन जग्गा पजनीको महलको २(क) र १७ जग्गा मिच्नेको महलको १८ र अदालती वन्दोवस्तको ३६ नं. समेतको हदम्यादको आधार लिएको देखिन्छ । मालपोत कार्यालय काठमाडौको मिति ०४७।५।२६ को निर्णय उपर यिनै वादीले तत्कालीन वागमती अंचल अदालतमा पुनरावेदन गरेको कुरा फिराद लेखवाट समेत देखिन आएकोले वादीलाई उक्त निर्णयको जानकारी भइसकेको कुराको पृष्टि हुन जान्छ । अदालती वन्दोवस्तीको ३६ नं. मा ऐनमा हदम्याद नलेखिएको कुरामा मात्र जहिलेसुकै नालिस दिए पनि लाग्ने भनी व्यवस्था गरिएको भएतापनि मालपोत कार्यालयबाट भएको दर्ता वदर गरी पाउन वादीले नै जग्गा पजनीको महलको १७ नं. को आधार लिई फिराद गरेको देखिंदा प्रस्तुत मुद्दामा हदम्याद लाग्ने भन्ने कुरा वादी स्वयंले स्वीकार गरेको देखिन्छ । यस्तो अवस्थामा उक्त ज.प.को १७ नं. बमोजिम थाहा पाएको मितिले ६ महिना नाघि सकेपछि मिति ०४९।३।१४ मा मात्र फिराद परेको देखिँदा हदम्याद भित्रको फिराद भन्न मिलेन ।
१२. हदम्यादको कारणबाट समेत काठमाडौ जिल्ला अदालतले वादीको फिराद खारेज हुने ठहर्याएको फैसलालाई पुनरावेदन अदालतबाट सदर गरेको देखिन्छ । वादीले यस अदालतमा मुद्दा दोहोर्याई पाउँ भनी दिएको निवेदनमा अड्डाको गल्तीबाट पक्षको हकहितमा असर नपर्ने भनी ने.का.प. २०४६ नि.नं. ३७९३ पृष्ठ ४०३ अंक ४, ने.का.प. २०४४ नि.नं ४१४० पृष्ठ ७१३ अंक ७, ने.का.प. २०४५ नि.नं. ३६७९ पृष्ठ १३०० अंक १२ मा समेत कानूनी सिद्धान्त प्रतिपादित भएकोले पुनरावेदन अदालतबाट भएको फैसला त्रुटिपुर्ण छ भन्ने जिकिर लिएको देखिन्छ । यस अदालत संयुक्त इजलासबाट मिति ०५३।६।२४ मा मुद्दा दोहोर्याई निस्सा प्रदान गरिँदा उल्लेखखित नजिरहरु कै त्रुटि देखिन आएको भनी आदेश भएको देखिन आयो । सो तर्फ दुष्टिगत गर्दा राम चलितर मण्डल विरुद्ध मुलुकी मण्डल धानुक भएको लेनदेन मुद्दामा वृहत पूर्ण इजलासबाट गलत उपायको अनुशरण गर्ने पक्षले पछि कुनै उपचार वा लाभ पाउन सक्तैन भनी मिति ०५२।१।१५ मा र ज्ञान वहादुर राई समेत विरुद्ध दिलबहादुर राई भएको अंश मुद्दा ने.का.प. २०५२ नि.नं. २०६४ पृ. १८५ अंक ३२७ बृहत पूर्ण इजलासबाट नै पक्षले नै ठीक बाटो अवलम्बन गर्नुपर्ने सिद्धान्तसमेत प्रतिपादित भइरहेको अवस्थामा दोहोर्याउने निस्सामा उल्लेखित नजिरहरु बढी न्यायाधीशहरुको पूर्ण इजलासबाट परिवर्तन (Over Rule) भएको देखिन आयो । यस परिप्रेक्षयमा मुद्दाहरु दोहोर्याई निस्सा प्रदान गर्ने सन्दर्भमा आधार लिइएको नजिरहरुमा प्रतिपादित सिद्धान्त कायम रहन सक्ने अवस्था देखिन आएन । साथै रोगाही थारु समेत विरुद्ध मान वहादुर श्रेष्ठ भएको वटैया वाली भराई जग्गाबाट निस्काशन समेत गरी पाउँ भन्ने मुद्दा (सर्वोच्च अदालत निर्णय संग्रह भाग ८ पृष्ठ २६३) मा कानून अनुसार अधिकार प्राप्त निकायमा गई नालिस उजुर गर्नुपर्ने व्यक्तिले अनधिकृत निकायमा गई आफैँले कानूनको बाटो विराई फिराद दर्ता गर्दछ भने त्यसको परिणाम निजले ने भोग्नु पर्छ कानूनले निजलाई कुनै मद्दत गर्दैन भनी मिति ०२९।२०।२० मा पूर्ण इजलासबाट मिति ०२९।१० ।२० मा सिद्धान्त प्रतिपादित भइरहेको समेत देखिन्छ । तसर्थ फिराद खारेज गर्ने गरेको काठमाडौ जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादीले पुनरावेदन जिकिर पुग्न सक्तैन । यस अदालतको मिति ०५३।१२।६ को आदेश बमोजिम रोक्का राखिएको जग्गा फुकुवा गरिदिन भनी सम्बन्धित कार्यालयमा लेखि पठाई मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा मेरो सहमती छ ।
न्या. राजेन्द्रराज नाख्वा
इति सम्वत् २०५५ साल आश्विन २६ गते रोज २ शुभम्................।