शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८०१ - ...........

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं. ८०१            ने.का.प. २०३१

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री झपटसिंह रावल

सम्वत् २०२९ सालको दे.फु.नं. १२३

फैसला भएको मिति : २०३०।९।२०।६ मा

निवेदक : का.जि. तलाछी टोल बस्ने त्रिरत्न तुलाधर

विरुद्ध

विपक्षी : ऐ. ठमेल बस्ने चौथीमान माली

(१)   कारोवार लेनदेन भन्नाले कर्जा लेनादेना बाहेकको अन्य कुनै कारवाहीलाई संकेत गर्ने हुनाले साहू आसामी बनी कर्जा लिनुदिनु गरेको व्यवहार हो भन्न नमिल्ने र यस्तोमा साहू आसामीको ३८ नं. को २ बर्षभित्रमा नालिस गर्नुपर्ने ।

            यसमा साविक मुलुकी ऐन साहू आसामीको २ नं.बमोजिम १० बर्षको या ऐ.३८ नं. बमोजिम २ बर्षको कुन हदम्याद लाग्ने हो भन्ने प्रारम्भिक प्रश्नउपर नै सर्वप्रथम विचार गर्नुपर्ने हुन आएको छ, यस प्रसङ्गमा हेर्दा साविक मुलुकी ऐन साहू आसामीको नं.१ मा कर्जा लेनदेन गर्दा ऐनको रीत पुर्‍याई तमसुक खाता बहीसमेतको लिखतपत्र केही नगरी नगर्नु भन्ने र ऐ.२ नं.मा १० बर्षको बीचमा भाखापत्रको कागज गराएको या ब्याज नखाएकोमा तमसुक लिखत पास भएको मितिले १० बर्षभित्र नालिस गर्नुपर्ने समेत व्यवस्था भएको पाइन्छ, उक्त साहू आसामीको १२ नं. को तात्पर्यको लागि साहू आसामी बनी कर्जा लिनुदिनु गरेको व्यवहार हुनु पर्ने प्रष्ट छ । वादीले नालिसमा विपक्षीले मसँग कारोवार गरी आएकोमा २०१०।३।१।१ मा हिसाब गरी मेरो बाँकी ठहर्न आएको कं.रू.१९७८। को कागज लेखिदिएको भन्ने उल्लेख गरेको र वादी दावीको ०१०।२।१।१ को लिखतमा पनि त्रिरत्न तुलाधरसँगको कारवार लेनादेना तमाम हिसाब गरी आजसम्मको मैले बुझाउनु पर्ने कं.रू.१९७८। भन्ने लेखिएको कारोबार लेनादेना भन्नाले कर्जा लेनदेन बाहेकको अन्य कुनै कारवाईलाई नै संकेत गर्ने हुनाले साहू आसामी बनी कर्जा लिनुदिनु गरेको व्यवहार हो भन्न मिल्ने देखिएन तसर्थ कर्जा लिनुदिनु बाहेकको यस्तो लिखतको रूपैयाँ भराइपाउँ भन्ने कुरामा साहू आसामीको २ नं.बमोजिम १० बर्षको हदम्याद लागू हुन नसक्ने र साहू आसामीको ३८ नं.बमोजिम २ बर्षको हदम्याद भित्रै नालिस गर्नुपर्नेसमेत हुँदा उक्त साहू आसामीको ३८ नं. को म्याद २ बर्षभित्र नालिस नपरेको भनी ०२८।१२।३०।३ को डिभिजन बेञ्चले खारेज गर्ने गरेको मनासिव ठहर्छ कोर्टफी राखेकोले निवेदक वादीलाई मुद्दा दोहर्‍याएकोमा अरू सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाइदिनु ।

(प्रकरण नं. ११)

निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधर

विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे

फैसला

     प्र.न्या. रत्नबहादुर विष्ट

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२९।४।६ को हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ ।

      २.    तथ्य यसप्रकार छ : उक्त विपक्षले मसँग कारवार गरिआएकोमा २०१०।३।१।१ मा हिसाब गरी मेरो बाँकी ठहर्न आएको भा.रु.१९७८। र त्यसको ब्याज ल्हासाको चलनअनुसार सयकडा १६ का दरले ब्याजसमेत ६ महिनामा चुक्ति गरी बुझाउँला भनी निजका हस्ताक्षरले कागज लेखिदिएकोमा आजसम्म नदिएकोले नेपाल कानून चलनअनुसार सयकडा १० ले हुने ब्याज र सावाँसमेतमा रू.३९५०। को भा.रू.१००। को ने.रू.१६०। का दरले हुने ने.रू.६३२०। भराइपाउँ भन्ने वादी ।

      ३.    वादीको र मेरो ल्हासामा व्यापारसम्बन्धी कारोवार व्यापार भएको एकपटक हामी २ जना मिली कपडासमेत किनी वादीको घरमा राखेका थियौं ०१०।४।२ गते ल्हासा वकिल अफिसको सामुन्नेमा बसी यो दावीको रूपैयाँ रू.१९७२ पाइसकें भनी सहिछाप गरी लेखिदिएको कागज हाल म नेपाल आउँदा ल्हासा बस्ने नेपाली साहू पूर्णबहादुर जिम्मा दिएको छु । बढी ब्याज खाने लिखत भएको समेत हुँदा नालिस खारेज गरिपाउँ भन्ने समेत प्रतिवादी ।

      ४.    लिखतमा सयकडा १६ दरले ब्याज बुझाउने शर्त भए पनि ऐनबमोजिम सयकडा १० ले ब्याज पाउँ भन्ने वादी दावी भएकोले सावाँ ब्याज ने.रू.६३२०। वादीले प्रतिवादीबाट भरिपाउने ठहर्छ भन्ने का.इ.अ.को ०२१।७।२५ को फैसला ।

      ५.    सोउपर चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन ।

      ६.    रूपैयाँ बुझाएको भरपाई छ भन्ने पुनरावेदन जिकिर भएको दाखिल गर्न नसकेकोले शुरू ईन्साफ मनासिव छ भन्ने बा.अं.अ.को ०२६।१।१२।५ को फैसला ।

      ७.    सोउपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

      ८.    कागज र फिरादपत्रको लेखबाट समेत सो कागज भएको मिति ०१०।३।१।१ गते रूपैयाँ लेनदेन भएको नभई अघिको व्यापारको हर हिसाबमा कागज भएगरेको देखिन आएको छ । व्यापार सम्बन्धमा कागज भएको हुनाले हदम्याद २ बर्षको कायम मान्नु पर्ने सो म्याद नाघिसकेपछि फिराद परेको देखिनाले खारेज हुने ठहर्छ शुरू र बागमती अञ्चल अदालतले इन्साफ गरेको मिलेको देखिएन भन्ने ०२८।१२।३०।३ को डिभिजन बेञ्चको फैसला ।

      ९.    प्रस्तुत मुद्दा दोहर्‍याउनेबारे बक्स भएको हुकूम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिश व्यहोरामा लिखत हेर्दा व्यापार भन्ने शब्द कतै उल्लेख भएको पाइँदैन भरपाइमा कारोवार लेनादेना भन्ने उल्लेख भएको छ र सो कारोवार लेनादेना अघिकै भए पनि त्यो सबको हरहिसाब गरी मैले बुझाउनु पर्ने भा.रू.१९७८। ठीक हो भनी आसामीले ०१०।३।१ मा भरपाई कागज गरी दिएको छ भने यस्तो लिखतलाई प्रचलित मुलुकी ऐन साहू आसामीको २ नं.भित्र पर्दैन भन्न मिल्ने ठाउँ नै छैन । उक्त भरपाई कागजलाई तमसुक लिखतपत्र होइन भन्न कदापि मिल्दैन । नालिस गर्ने हदम्याद साहू आसामीको २ नं. अनुसार १० बर्षको हुँदैन ३८ नं. अनुसार २ बर्षभित्र नालिस नपरेकोले खारेज हुन्छ भन्ने निर्णय भएकोबाट कानूनको गलत व्याख्या र प्रष्ट उल्लंघन हुन गएको छ । सर्वोच्च अदालतले आफ्नो अघिको निर्णय जाँच्न आवश्यक देखिएको भन्ने समेत उल्लेख भएको ।

      १०.    यस बेञ्चसमक्ष निवेदक वादीतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले वादी दावीको लिखतमा व्यापारसम्बन्धी कारोवार लेनादेना भन्ने कतै उल्लेख भएको छैन । साहू आसामीको रूपमा सावाँ ब्याजसमेत बुझाउने लिखत भएकोलाई व्यापारको कारोवारको लिखत भन्न मिल्दैन यस्तोमा साहू आसामीको ३८ नं. को २ बर्षको हद नलाग्ने र उक्त ऐनको २ नं. को म्यादभित्र उजूर परेकै हुँदा डिभिजन बेञ्चले खारेज गरेको बदर भई दावीबमोजिम सावाँ ब्याज भरिपाउनुपर्छ भन्ने समेत र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्रीकृष्णप्रसाद घिमिरेले यो साहू आसामी बसी रीतपूर्वक तमसुक गरी कर्जा लिएदिएको व्यवहार नभई व्यापारसम्बन्धी कारोवार लेनादेनाको हरहिसाबको लिखत हो भन्ने कुरा लिखत व्यहोराले नै प्रष्ट गर्छ । यस्तोमा साहू आसामीको ३८ नं.बमोजिम २ बर्ष म्याद लाग्ने हुँदा डिभिजन बेञ्चले खारेज गरेको कानूनसंगत छ भन्ने समेत बहस गर्नुभयो ।

      ११.    यसमा साविक मुलुकी ऐन साहू आसामीको २ नं.बमोजिम १० बर्षको या ऐ.३८ नं. बमोजिम २ बर्षको कुन हदम्याद लाग्ने हो भन्ने प्रारम्भिक प्रश्नउपर नै सर्वप्रथम विचार गर्नुपर्ने हुन आएको छ, यस प्रसङ्गमा हेर्दा साविक मुलुकी ऐन साहू आसामीको नं.१ मा कर्जा लेनदेन गर्दा ऐनको रीत पुर्‍याई तमसुक खाता बहीसमेतको लिखतपत्र केही नगरी नगर्नु भन्ने र ऐ.२ नं.मा १० बर्षको बीचमा भाखापत्रको कागज गराएको या ब्याज नखाएकोमा तमसुक लिखत पास भएको मितिले १० बर्षभित्र नालिस गर्नुपर्ने समेत व्यवस्था भएको पाइन्छ, उक्त साहू आसामीको १२ नं. को तात्पर्यको लागि साहू आसामी बनी कर्जा लिनुदिनु गरेको व्यवहार हुनु पर्ने प्रष्टछ । वादीले नालिसमा विपक्षीले मसँग कारोवार गरी आएकोमा २०१०।३।१।१ मा हिसाब गरी मेरो बाँकी ठहर्न आएको कं.रू.१९७८। को कागज लेखिदिएको भन्ने उल्लेख गरेको र वादी दावीको ०१०।२।१।१ को लिखतमा पनि त्रिरत्न तुलाधरसँगको कारवार लेनादेना तमाम हिसाब गरी आजसम्मको मैले बुझाउनु पर्ने कं.रू.१९७८। भन्ने लेखिएको कारोबार लेनादेना भन्नाले कर्जा लेनदेन बाहेकको अन्य कुनै कारवाईलाई नै संकेत गर्ने हुनाले साहू आसामी बनी कर्जा लिनुदिनु गरेको व्यवहार हो भन्न मिल्ने देखिएन तसर्थ कर्जा लिनुदिनु बाहेकको यस्तो लिखतको रूपैयाँ भराइपाउँ भन्ने कुरामा साहू आसामीको २ नं.बमोजिम १० बर्षको हदम्याद लागू हुन नसक्ने र साहू आसामीको ३८ नं.बमोजिम २ बर्षको हदम्याद भित्रै नालिस गर्नुपर्नेसमेत हुँदा उक्त साहू आसामीको ३८ नं. को म्याद २ बर्षभित्र नालिस नपरेको भनी ०२८।१२।३०।३ को डिभिजन बेञ्चले खारेज गर्ने गरेको मनासिव ठहर्छ कोर्टफी राखेकोले निवेदक वादीलाई मुद्दा दोहर्‍याएकोमा अरू सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाइदिनु ।

 

हामीहरूको सहमती छ ।

 

न्या. धनेन्द्रबहादुर सिंह,         

न्या. झपटसिंह रावल

 

 

इति सम्वत् २०३० पुस २० गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु