शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८०२ - लेनदेन

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं. ८०२      ने.का.प. २०३१

फुल बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०२९ सालको दे.फु.नं. १२८

फैसला भएको मिति : २०३०।१२।२।६ मा

निवेदक      : ल.पु.जि. नख्खु बस्ने कृष्णलाल तण्डुकार मरी मु.स.गर्ने हरिबहादुर तण्डुकार

विरुद्ध

विपक्षी : काठमाडौं न्होखा टोल बस्ने अष्टरत्न शाक्यसमेत

मुद्दा : लेनदेन

(१)   साझेदारी कायम नहुने भएपछि साझेदारी काममा लगाएको पुँजीको रूपैयाँ फिर्ता दिनु नपर्ने भन्न नमिल्ने ।

            वादी र प्रतिवादी अष्टरत्नको बीचमा भएको ०२२।५।२२ को साझेदारीको शर्तनामामा ढुङ्गाखानीको कामको साझेदारी भई वादीले लगाएको पूँजी वादीले पछि फिर्ता लिन नपाउने भन्ने शर्तनामामा कुनै उल्लेख भएको र व्यवस्था गरेको समेत देखिँदैन । उक्त शर्तनामामा साझेदारी भई काम गरी आउँदा चित्त नबुझे कुनै किसिमको उचित नसम्झेमा २ आना हिस्साबाट जो हुने नाफा नोक्सान हिसाब चुक्ति गरी फर्छ्यार्इ दिने भन्ने उल्लेख भएको देखिन्छ । यस्तो स्थितिमा साझेदारी ऐनको व्यवस्थाले वादी साझेदारी कायम नहुने भएपछि साझेदारी काममा वादीले लगाएको पूँजीको रू.५,०००। प्रतिवादीले फिर्ता दिनु नपर्ने र वादीले फिर्ता पाउँदैन भन्न मिल्ने नदेखिनाले पूँजीवापत भनी प्र. अष्टरत्नलाई वादीले दिएको रू.५,०००। वादीले प्रतिवादीबाट फिर्ता दिलाई पाउने देखिन आउँछ ।  

(प्रकरण नं. १३)

निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल

विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधर

फैसला

     न्या. वाशुदेश शर्मा

      १.     प्रस्तुत मुद्दा दोहर्‍याइपाउँ भन्ने वादी कृष्णलालको निवेदन परेकोमा न्यायिक समितिको सिफारिशले नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्‍याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई मुद्दा दोहरिएबाट यसबेञ्चसमक्ष पेश हुन आएको  रहेछ ।

      २.    मुद्दाको विवरण यसप्रकार छ : अष्टरत्नले ढुङ्गाखानी खोल्ने ठेक्का लिएकोमा २ आना हिस्सा मलाई दिने व्यहोराको अष्टरत्न आगे भई संघरत्न मैत्रीरत्न साक्षी बसी शर्तनामा कबुलियत लेखिदिएकोले मैले हाल्नु पर्ने पूँजीवापतको रू.८,०००। मध्ये रू.५,०००। दिई मलाई तमसुक लिखत गरिदिएको बाँकी रू.३,०००। लिई साझेदारीमा मेरो नाम दर्ता गराइदिनुहोस् भन्दा गरी नदिई म्याद नाघिसकेकोले साझेदारी कायम नभएकोले मसँग लिएको रू.५,०००। फिर्ता दिनुहोस् भनी भन्दा टारवार गरेकोले सो रू.५,०००। विपक्षी ३ जनाबाट भराइपाउँ भन्ने वादी कृष्णलालको फिराद ।

      ३.    वादीले कबुलियत बमोजिम रू.८,०००। बुझाउनुपर्नेमा ५,०००। मात्र बुझाई बाँकी रू.३,०००। नदिई कबुलियतको उल्लंघन गर्नुभएको हो कबुलियतको शर्त भंग गरेपछि कबुलियत बमोजिम २ आना हिस्साको साझेदारीमा भर्ना हुने सवालै उठेन निजले शर्त तोडी काममा हेलचेक्राइँ गरेकोबाट हामीलाई पर्न गएको नोक्सानीमा निजउपर हर्जानामा दावी गर्ने भइरहेको थाहापाई बचनाको लागि नालिस गरेको मात्र हो लेनदेन व्यवहारको ३७ नं. अन्तर्गतको कागज नहुनाले फिराद खारेज हुनुपर्छ भन्ने अष्टरत्न, मैत्रीरत्न, संघरत्नको प्रतिवादी ।

      ४.    पेश भएको कागज व्यहोराबाट सो ठेक्काको काममा लिएको रूपैयाँ वापस वा भर्ना दिनेछु भन्ने नलेखिएको २ नं. को नाफा नोक्सानीतर्फमा वादीको दावा नभएकोले लेनदेन व्यवहारको ३७ नं. को आधारमा फिराद परेको र लिखतैबमोजिम गरिदिनु भन्ने सो ऐनमा उल्लेख भएको र लिखतमा वापस दिने भनी लेखिएको नहुनाले सो ऐनबमोजिम वादीलाई भरिभराउ गरिदिन मिलेन भन्ने समेत ०२३।१०।५ को काठमाडौं जिल्ला अदालतको फैसला ।

      ५.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन ।

      ६.    शर्तनामामा ६ महिनाभित्र साझेदारीमा दर्ता गराइदिनेछु भन्ने लेखिएको दर्ता गराइदिएको देखिएन । साझेदारी ऐनले म्यादभित्र दर्ता नगराए साझेदारी निमित्त कानूनी मान्यता नहुने हुँदा वादी साझेदारीमा कायम रहनुभएन । साझेदारीतर्फबाट उक्त ऐनले दावी गर्न नपाउने देखियो । वादीले रू.५,०००। प्रतिवादी अष्टरत्नलाई तमसुक गराइदिएकोमा वादी साझेदारीमा कायम नरहेपछि लेनदेन व्यवहारको ३७ नं.बमोजिम सो रू.५,०००। नपाउने भन्न मिल्दैन । प्रतिवादीबाट भरिपाउने ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको फैसला ।

      ७.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत अष्टरत्न, मैत्रीरत्नसमेतको पुनरावेदन पत्र ।

      ८.    शर्तनामामा ढुङ्गाखानीको साझेदारी काममा कृष्णलालले लगाएको पूँजी पछि अष्टरत्नबाट फिर्ता पाउने दिने कुनै व्यवस्था भएको नदेखिनाले लेनदेन व्यवहारको ३७ नं. को व्यवस्थाबाट वादीले ढुङ्गाखानीको साझेदारी काममा पूँजी लगाएको रू.५,०००। प्र.अष्टरत्नबाट साहू आसामीको बीचको कर्जा लेनदेन सरह फिर्ता दिलाइपाउँछ भन्न मिलेन । साझेदारी भई काम गरिआउँदा चित्त नबुझे कुनै किसिम उचित नसम्झेमा २ हिस्साबाट जो नै नाफा नोक्सान हिसाब चुक्ति गरी कटाइदिने भन्ने शर्तनामामा उल्लेख भएबमोजिम गरिपाउँ भन्ने फिराद दावी नभएको र सो रू.५,०००। फिर्ता पाउने ठहराएको अञ्चलको निर्णय मिलेको नदेखिएको भनी छलफलमा झिकाउने आदेशबमोजिम हाजिर हुन आएको वादीले सोबमोजिम हुन नपर्ने भन्ने र दिलाई भराई दिन मिल्ने भन्ने अरू थप सबूत प्रमाण नै वादीबाट गुजार्न नसकेकोले यस्तो स्थितिमा पूँजीमा लगाएको रू.५,०००। वादीले फिर्ता नपाउने हुनाले नपाउने ठहराएको का.जि.अ.को इन्साफ मनासिव भराइदिने गरेको बागमती अञ्चल अदालतको इन्साफ बदर हुन्छ भन्ने समेत स.अ.डिभिजन बेञ्चको ०२८।३।३१ को फैसला ।

      ९.    प्रस्तुत मुद्दा दोहर्‍याइदिनु भन्ने बक्स भई आएको हुकूम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिशमा शर्तनामा कबुलियत १ र रू.५,०००। बुझेको कागज १ समेत दुवै कागजमा वादीले काम नगरे उक्त रूपैयाँमा वादीको कुनै हक दावा रहने छैन भन्ने बोली परेको नहुँनाले वादीको हक दावा समाप्त भएको मान्न मिल्दैन रू.५,०००। बुझी गरिदिएको कागज साझेदारी कागज भन्न मिल्दैन सो कागजमा तमसुक गरिदिएँ भन्ने शब्द परेको पाइन्छ । तमसुक भन्ने शब्दले लेनदेनको कागजलाई जनाउने र तमसुक गरी दिएँ भन्ने शब्दले कुनै रूपैयाँ लिई सो रूपैयाँ बुझाउन उत्तरदायित्वसमेत बहन गरें भनी स्वीकार गरेको हुनआउँछ । तमसुक गरिदिएँ भन्ने बोली परेको लिखतमा तिर्छु वा फिर्ता बुझाउँछु भन्ने शब्द नपरेको हुनाले तमसुक गरिदिने व्यक्तिले फिर्ता गर्नुपर्दैन भन्ने अर्थ निक्लन सक्दैन । बरु फिर्ता बुझाउनु पर्ने होइन वा यस किसिमबाट यो रूपले हिसाब गरी वा अन्य कुनै प्रकारले बुझाउने विधि तमसुकमा लेखिएको छैन भन्ने तमसुक गरिदिने व्यक्तिले जुन रूपबाट नगदी बुझी लिएको हो सोही रूपबाट नगद नै फिर्ता बुझाउने अभिभारा बहन गरेको सम्झनु पर्ने हुन्छ । यस्तोमा तमसुक लिखत लेनदेन व्यवहारको ३७ नं. को व्यवस्थाभित्र पर्दैन भनी वादीले भरी नपाउने गर्दा उक्त ऐनको गलत व्याख्या हुनुको साथै कानूनको ठाडै उल्लंघन हुन जान्छ । सर्वोच्च अदालतले आफ्नो अघिको निर्णय जाँच्न आवश्यक देखिएको भन्ने समेत उल्लेख भएको रहेछ ।

      १०.    निवेदक तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले आफ्नो बहसमा विपक्षी प्रतिवादीको ढुङ्गाखानीको काममा साझेदारी भई रू.५,०००। दिएको साहू आसामीको बीचमा हुने लेनदेन व्यवहार जस्तैको रूपमा आय टिकट टाँसी तमसुक भनी लेखिदिएको छ । त्यस्तो तमसुक भनी लेखिदिएकोमा बुझाउँला भन्ने उल्लेख नभएमा त्यस्तो रूपैयाँ पाउँदैन भन्ने लेनदेन व्यवहारको ऐनमा कहीँ व्यवस्था नहुनाले निवेदकले सो रू.५,०००। भरी पाउनेमा नपाउने ठहराएको डिभिजनको मिलेको छैन । प्रतिवादीबाट भरिपाउनु पर्छ भन्ने समेत र विपक्षी प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले ढुङ्गाखानीको काममा निवेदकले लगाउने पूँजी रू.८,०००। मध्ये रू.५,०००। बुझाएकोले साझेदारीको लिखत र पूँजीमध्येको रू.५,०००। बुझेको भरपाई गरिदिएको हो । सो ५,०००। फिर्ता दिने गरी लिखत गरिदिएको नहुनाले निवेदक वादीले त्यस्तो साझेदारी ढुङ्गाको काममा लगाएको पूँजी फिर्ता भरी नपाउने हुँदा भरी नपाउने गरेको डिभिजन बेञ्चको इन्साफ मिलेकै छ । सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।

      ११.    यसमा प्रतिवादी अष्टरत्नले पाएको ढुङ्गाखानीको काममा रू.८,०००। पूँजी लगाउने गरी साझेदारी भई सो लगाउने पूँजीमध्ये मैले रू.५,०००। पूँजी राखेकोमा बाँकी पूँजी रू.३,०००। पनि लिनु साझेदारीमा मेरा नाम पनि दर्ता गरिदेउ भन्दा नदिएकोले सो दिएको पूँजीवापतको रू.५,०००। फिर्ता दिलाइपाउँ भन्ने मुख्य वादीको दावी भएकोले सो साझेदारी कामको निमित्त पूँजीवापत दिएको रू.५,०००। वादीले प्रतिवादीबाट फिर्ता भरिपाउने नपाउने के रहेछ मुख्य त्यसकुराको निर्णय दिनु पर्ने देखियो ।

      १२.   तत्सम्बन्धमा विचार गर्दा प्र.अष्टरत्नले ढुङ्गाखानीको लाइसेन्स पाएको काममा २ आना हिस्सा दिनुभएमा रू.८,०००। पूँजी लगाउँछु भनेकोले २ आना हिस्सादारीमा राख्ने शर्तनामा गरिदिएको छु । ६ महिनाभित्र साझेदारीमा नामसमेत दर्ता गरिदिनेछु । साझेदारी भई काम गरिआउँदा चित्त नबुझे कुनै किसिम उचित नसम्झेमा २ आना हिस्साबाट जो हुने नाफा नोक्सानहिसाब चुक्ता गरी फछ्र्याइदिने भन्ने शर्तनामा १ र शर्तनामाबमोजिम लगाउने भएको पूँजी रू.८,०००। मध्ये ५,०००। बुझिलिएको तमसुक गरी दियाँ भन्ने लिखत १ समेत २ लिखत २०२२।५।२२ मा प्र.अष्टरत्नले वादी कृष्णलाललाई गरिदिएको लिखतहरू पेश भएको देखिन आएको छ । साझेदारीमा वादीको नाम दर्ता गरिदिने भन्ने शर्तनामाअनुसार साझेदारीमा वादीको नाम दर्ता भएगरेको नदेखिएको साझेदारी ऐन, २०२० को दफा ५ मा साझेदारी खडा भएको ६ महिनाभित्र सो साझेदारीलाई यस ऐनबमोजिम तालुक अड्डाको लगतमा दर्ता गराउनुपर्छ तर सोबमोजिम दर्ता नभएको अवधिभित्र सो साझेदारीले वा सो साझेदारीका निमित्त गरेको कुनै काम वा कारोवारलाई यस ऐनबमोजिमको कानूनी मान्यता हुनेछैन भन्ने व्यवस्था भएकोले सोअनुसार वादी कृष्णलालको नाउँ साझेदारीमा तालुक अड्डाको लगतमा दर्ता भएगरेको नदेखिएबाट प्रतिवादी अष्टरत्नले पाएको ढुङ्गाखानीको कामको साझेदारीमा वादी कृष्णलाल साझेदारी कायम नहुने उक्त साझेदारी ऐनको व्यवस्थाबाट प्रष्ट हुन्छ ।

      १३.   वादी र प्रतिवादी अष्टरत्नको बीचमा भएको ०२२।५।२२ को साझेदारीको शर्तनामामा ढुङ्गाखानीको कामको साझेदारी भई वादीले लगाएको पूँजी वादीले पछि फिर्ता लिन नपाउने भन्ने शर्तनामामा कुनै उल्लेख भएको र व्यवस्था गरेको समेत देखिँदैन । उक्त शर्तनामामा साझेदारी भई काम गरी आउँदा चित्त नबुझे कुनै किसिमको उचित नसम्झेमा २ आना हिस्साबाट जो हुने नाफा नोक्सान हिसाब चुक्ति गरी फर्छ्यार्इ दिने भन्ने उल्लेख भएको देखिन्छ । यस्तो स्थितिमा साझेदारी ऐनको व्यवस्थाले वादी साझेदारी कायम नहुने भएपछि साझेदारी काममा वादीले लगाएको पूँजीको रू.५,०००। प्रतिवादीले फिर्ता दिनु नपर्ने र वादीले फिर्ता पाउँदैन भन्न मिल्ने नदेखिनाले पूँजीवापत भनी प्र.अष्टरत्नलाई वादीले दिएको रू.५,०००। वादीले प्रतिवादीबाट फिर्ता दिलाई पाउने देखिन आउँछ ।

      १४.   अब सो रू.५,०००। प्रतिवादी अष्टरत्न संघरत्न, मैत्रीरत्न ३ जनाबाट भराइपाउँ भन्ने वादीले दावी लिएको देखिएबाट तीनैजना प्रतिवादीबाट फिर्ता भराइपाउने हो कि भन्नलाई ढुङ्गाखानीको लाइसेन्स पाउने अष्टरत्नबाट वादीले २ आना हिस्साको साझेदारीको शर्तनामा गराई लिई निज अष्टरत्नलाई नै वादीले रू.५,०००। दिई कागज गरिदिएको देखिएको र प्र.संघरत्न, मैत्रीरत्न लिखतको अन्तरसाक्षीसम्म भएको देखिएकोले त्यस्तो अन्तरसाक्षी हुने संघरत्न, मैत्रीरत्नबाट समेत भरिपाउँछ भन्न मिलेन रू.५,०००। बुझी लिई लिखत गरिदिने कारणी प्र.अष्टरत्नबाट वादीले दावीबमोजिमको रू.५,०००। फिर्ता भरिपाउने ठहर्छ । वादीले फिर्ता नपाउने ठहराएको डिभिजन बेञ्चको ०२८।१।३१ को इन्साफ मिलेको देखिएन । तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

तपसील

माथि इन्साफखण्डमा लेखिएबमोजिम इन्साफ उल्टी भएकोले देहायको कलममा देहायबमोजिमगर्नु भनी कानूनबमोजिम लगत दिने.१

वादी कृष्णलाल मरी मुद्दा सकार गर्ने हरिबहादुर तण्डुकार के देहायको कलममा देहायबमोजिम गर्नु १

प्रतिवादीबाट भरिपाउने ठहरेको विगो रू.५,०००। र सुरूमा रहेको कोर्टफी रू.२२०। अञ्चल अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.३३। मुद्दा दोहर्‍याएबापत राखेको कोर्टफी रू.२२। समेत सो तीनै कलमको जम्मा कोर्टफी रू.२७५। र अरू दस्तुर रू.१।५९ समेत भरिपाउँ भनी प्रतिवादीको जायजात देखाई नेपाल कोर्टफी ऐन, २०१७ को दफा १५।११ को म्याद ३ बर्षभित्र दर्खास्त परे उक्त भरिपाउने कोर्टफी मध्ये प्र.अष्टरत्नले अञ्चल अदालतउपर पुनरावेदन गर्दा स.अ.लगत नगदी विभागमा ०२७।७।१३ मा धरौट दाखिल गरेको कोर्टफी रू.७३।८६ भराई दिई अरू नपुग कोर्टफी अरू दस्तुर विगोसमेत कानूनको रीत पुर्‍याई प्र.अष्टरत्नबाट भराइदिने १

स.अ.डिभिजन बेञ्चको ०२८।३।३१ को फैसलाले कोर्टफी रू.२३। वादी कृष्णलालबाट प्र.अष्टरत्न, मैत्रीरत्नलाई बराबरका दरले भराइदिने गरेको हाल सोबमोजिम गर्न परेन सो लगत काटिदिने..................२

प्र.अष्टरत्न १ मैत्रीरत्न १ लाई निजहरूबाट कोर्टफी रू.१४७।७२ धरौट रहेको बराबरका दरले फिर्ता दिने भनी डिभिजन बेञ्चको फैसलाले फिर्ता दिने गरेकोमा बराबरका दरले भन्नाले जनही रू.७३।८६ का दरले फिर्तापाउने गरेको रू.७३।८६ वादीले भरिपाउने हुन गएकोले त्यसको हकमा व्यहोरा जनाई लगत काटिदिने र प्र.मैत्रीरत्नको हकमा रू.७३।८६ फिर्ता पाउने नै हुँदा कानूनको म्यादभित्र फिर्ता लिन आए कानूनको रीत पुर्‍याई सो डिभिजन बेञ्चको फैसला लगतबमोजिम प्र.मैत्रीरत्नलाई फिर्ता दिने २

बागमती अं.अ.को फैसलाले उल्टीमा जि.न्या.तुंगध्वजको रेकर्ड राख्ने गरेकोमा सोबमोमिज गर्नुपर्दैन भनी बा.अं.अ.मा लेखी पठाई दिने डि.बे.को फैसलाले गरेकोमा हाल सोबमोजिम गर्न परेन भनी बा.अञ्चल अदलतमा लेखिपठाइदिने.............३

 

उक्त रायमा सहमती छ ।

 

न्या. हेरम्बराज

 

न्या.विश्वनाथ उपाध्याको राय

      यससम्बन्धमा प्रतिवादी अष्टरत्नले २०२२।५।२२ मा वादीलाई गरिदिएको दुईवटा लिखतहरू र मुलुकी ऐन लेनदेन व्यवहारको महलको ३७ नं.मा भएको कानूनी व्यवस्था विचारणीय हुन आएका छन् । उक्त दुई लिखतहरूमध्ये शर्तनामा भनिएको लिखतमा वादीले रू.८,०००। पूँजी लगाउन स्वीकार गरेको भन्ने कुरा उल्लेख गर्दै प्रतिवादी अष्टरत्नले आफूले पाएको ढुङ्गाखानीको लाइसेन्स बमोजिमको काममा वादीलाई दुईआना हिस्सा दिन र ६ महिनाभित्र साझेदारीमा नाम दर्ता गराइदिन कबूल गर्नुका साथै साझेदारीमा काम गर्दा वादीको चित्त नबुझे वा वादीले कुनै किसिमसँग उचित नसम्झे साझेदारी ऐन, ०२० बमोजिम दुई आना हिस्साको जो भएको नाफा नोक्सानीको हिसाब गरी फछ्र्याई दिन मञ्जुर गरेको र अर्का लिखतमा सो शर्तनामाबमोजिम वादीले लगाउने भएको पूँजी रू.८,०००। मध्ये रू.५,०००। बुझिलिई तमसुक लेखिदिएँ भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । प्रतिवादीले शर्तनामाबमोजिम वादीको नाम साझेदारीमा दर्ता नगराई दिएमा वादीले लगाएको पूँजी फिर्तापाउने वा नपाउने भन्नेकुराको सम्बन्धमा शर्तनामा कुनै शर्त बन्देजको व्यवस्था भएको पाइँदैन । यसैकुरालाई विचार गरेर डिभिजन बेञ्चले मुलुकी ऐन, लेनदेन व्यवहारको महलको ३७ नं. को आधारमा वादीले उक्त रू.५,०००। फिर्ता पाउन नसक्ने ठहर गरेको देखिन्छ । साथै डिभिजन बेञ्चले उक्त निर्णयमा शर्तनामाबमोजिम दुई आना हिस्साबाट नाफा नोक्सान हिसाब फछ्र्याइपाउँ भन्ने वादी दावी नभएको भन्ने पनि उल्लेख गरेको पाइन्छ । प्रतिवादीले वादीसँग रू.५,०००। बुझेर गरिदिएको लिखतमा परेको तमसुक भन्ने शब्दको उल्लेख गर्दै न्यायिक समितिले आफ्नो सिफारिशमा डिभिजन बेञ्चको उक्त रायको विपरीत तर्कहरू प्रस्तुत गरेको छ । तमसुक भन्ने शब्दले लेनदेनको कागजलाई जनाउँछ । तमसुक गरिदिने व्यक्तिले आफूले लिएको रूपैयाँ बुझाउने उत्तरदायित्वसमेत बहन गरेको हुन्छ । तमसुक गरिदिउँ भन्ने बोली परेको लिखतमा तिर्छु वा फिर्ता बुझाउँछु भन्ने शब्द नपरेको हुनाले तमसुक गरिदिने व्यक्तिले फिर्ता गर्नु पर्दैन भन्ने अर्थ निस्कन सक्दैन भन्ने न्यायिक समितिको तर्क छ वादीतर्फका विद्वान अधिवक्ताले पनि बेञ्चका समक्ष आफ्नो बहसमा यस्तै जिकिर लिनु भएको छ । प्रतिवादी अष्टरत्नले आफ्नो कबूलबमोजिम वादीको नाउँ साझेदारीमा दर्ता गराई नदिएकोले वादीबाट प्रतिवादी अष्टरत्नले लिएको रू.५,०००। फिर्ता गर्नुपर्छ भन्ने कुराको लागि उक्त लिखतलाई तमसुक भन्ने संज्ञा दिन खोजिएको छ । तर मेरो रायमा सो कुरा न त उचित छ न आवश्यक नै कुनै पनि लिखतको प्रकृति त्यसमा परेको कुनै एउटा शब्दमा मात्र निर्भर गर्दैन । साथै तमसुक भन्ने शब्दले लेनदेन व्यवहारको जुनसुकै लिखतलाई जनाउँदैन । खरीद बिक्री दान दातव्य, बन्धकी, सट्टापट्टा, ऋण इत्यादि विभिन्न प्रकारका लेनदेन व्यवहार हुन्छ । तमसुक भन्ने शब्दले धितो बन्धक राखी वा नराखी आसामीले साहूलाई गरिदिएको ऋणको लिखतलाई मात्र जनाउँछ । प्रस्तुत मुद्दामा प्रतिवादी अष्टरत्नले वादीलाई गरिदिएको उक्त लिखतलाई तमसुक भन्ने संज्ञा दिनु कुनै तर्कसंगत आधार छैन । कुनै लिखतको प्रकृति के कस्तो हो भन्ने छुट्याउनलाई त्यसको कुनै एउटा शब्दलाई मात्र विचार नगरी लिखतको व्यहोरालाई समष्टिगत रूपमा हेर्नुपर्छ । लिखतको अन्य व्यहोराबाट त्यो लिखत अर्कै व्यहोराको लिखत हो भन्ने देखिन्छ भन्ने त्यसमा तमसुक भन्ने शब्द उल्लेख भएको कारणलेमात्र त्यो लिखतले तमसुकको रूप लिन सक्दैन । प्रतिवादीले वादीबाट रू.५,०००। बुझी गरिदिएको २०२२।५।२२ को उपर्युक्त लिखतमा तमसुक शब्द परेको भए पनि यो लिखत यथार्थमा भरपाइको प्रकृतिको लिखत हो भन्ने कुरा सो लिखतका अन्य व्यहोराहरू र प्रतिवादीले गरिदिएको शर्तनामा भनेको अर्को लिखतबाट प्रष्ट हुन आउँछ । प्रतिवादी अष्टरत्नले वादीबाट कर्जा लिएको होइन, आफूले लाइसेन्स पाएको ढुङ्गाखानीको काममा वादीलाई प्रतिवादीले दुईआना हिस्सा दिने र सोबापत वादीले प्रतिवादीलाई रू.८,०००। बुझाउने बोलकबोल भएअनुसार सो रू.८,०००। मध्येको रू.५,०००। वादीले प्रतिवादीलाई बुझाएको र प्रतिवादीले सो बुझी लिएको व्यहोराको कागज गरिदिएको हो भन्ने कुरा उक्त दुवै लिखतहरूको अध्ययनबाट प्रष्ट हुन्छ । यस्तो लिखतबाहेक अरू केही भन्न सकिन्न । यथार्थमा प्रतिवादी अष्टरत्नले आफ्नो कबूलबमोजिम वादीको नाम साझेदारीमा दर्ता गराई नदिएकोले वादीबाट प्रतिवादी अष्टरत्नले लिएको रू.५,०००। फिर्ता गर्नुपर्छ भन्नालाई लिखतको प्रकृतिलाई यसरी तानतुन गरेर व्याख्या गर्न आवश्यक पनि छैन । डिभिजन बेञ्चले मुलुकी ऐन लेनदेन व्यवहारको ३७ नं. ले छेकवार लगाएको छैन । उक्त ३७ नं.मा यस महलका अरू नम्बरहरूमा व्यवस्था नभएको अन्य कुनै व्यवहार शर्तनामा, कबुलियत वा सम्झौताको लिखत रहेछ र सो लिखतमा लेखिएको कुरा कानूनविरुद्ध रहेछ भने लिखतबमोजिम हुन्छ भन्ने व्यवस्था भएको छ । सो लिखतमा लेखिएको कुरा कानूनविरुद्ध रहेनछ भने लिखतैबमोजिम हुन्छ भन्ने कुरालाई दृष्टिगत गरेर डिभिजन बेञ्च प्रतिवादीले वादीबाट बुझेको रू.५,०००। फिर्ता बुझाउने कुरा उल्लेख नभएको र दुई आना हिस्साबाट नाफा नोक्सानीको हिसाब फछ्र्याइपाउँ भन्ने वादीको दावी नभएको भन्ने तर्कको समर्थन गर्दै वादीले प्रतिवादीबाट उक्त रूपैयाँ फिर्ता नपाउने निर्णय गरेको छ । जहाँसम्म शर्तनामामा उल्लिखित नाफा नोक्सानीको हिसाब फर्छ्याउने शर्तको कुरा छ, साझेदारी खडा भएपछि वादी साझेदारीमा बस्न नचाहेमा साझेदारी ऐन, २०२० बमोजिम नाफा नोक्सानीको हिसाब फर्छ्याउने कुरा त्यसमा उल्लिखित छ । प्रतिवादीले आफ्नो कबूलबमोजिमको वादीको नामसमेत तालुक अड्डामा दर्ता गराई साझेदारी ऐन, २०२० बमोजिम साझेदारी कायमै गरी नदिएकोले शर्तनामको उक्त शर्तको पालन हुन सक्ने अवस्थै नरहेको हुँदा वादीले सोबमोजिम नाफा नोक्सानीको हिसाब फछ्याई पाउँ भनी दावी गर्ने प्रश्नै उठ्दैन । त्यसमाथि पनि उक्त ऐनको दफा ५ अनुसार ६ महिनाभित्र तालुक अड्डाको लगतमा दर्ता नभएको साझेदारीको काम कारोवारको कानूनी मान्यतासमेत नहुने भएकोले सो ऐनले नै कानूनी मान्यता नहुने कुरामा अदालतले शर्तनामाअनुसार सो ऐन लागू गरी नाफा नोक्सानीको हिसाब गराइदिने स्थिति पनि छैन । शर्तनामामा लगाएको पूँजी फिर्ता गर्ने शर्त नभएको भन्ने डिभिजन बेञ्चको तर्कको हकमा कसैले कुनै काम कुरा गर्न कबूल गरी यसैबाट रूपैयाँ लिन्छ तर कबूल पूरा गर्दैन भने आफूले लिएको रूपैयाँ निजले फिर्ता गर्नुपर्छ यसको निमित्त शर्तनामामा रूपैयाँ फिर्ता गर्ने शर्त प्रष्टरूपमा लेखिनु आवश्यक छैन, सो कुरा व्यवहारमा निहित रहेको सम्झनुपर्छ शर्तनामामा किटानीसाथ अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो रूपैयाँ फिर्ता गराइदिन अदालतलाई मुलुकी ऐन लेनदेन व्यवहारको महलको ३७ नं. ले रोक पनि लगाउँदैन । तसर्थ वादीले प्रतिवादी अष्टरत्नबाट रू.५,०००। पाउने ठहर्छ । सहयोगी माननीय न्यायाधीशज्यूहरूको बहुमतको ठहरको निष्कर्षसँग म सहमत भए पनि माथि उल्लिखित छुट्टै तर्कहरूको आधारमा म उक्त निष्कर्षमा पुगेकोले आफ्नो राय छुट्टै व्यक्त गरेको छु ।

 

 

इति सम्वत् २०३० साल चैत २ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु